वार्ता

उम्मेदवार उवाच

विकास हेर्ने हो भने पर्वत जाऔँ भन्‍ने बनाउनेछु

सदिक्षा आचार्य |
कात्तिक १८, २०७९ शुक्रबार ७:२५ बजे

आगामी मंसिर–४ मा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुँदै छ । देशभरिका १६५ निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभा गरेर ५ हजार ६ सय ३६ उम्मेदवार छन् । प्रदेश सभामा मात्रै कुल २ हजार ४ सय १२ उम्मेदवार छन् । सात प्रदेशको मध्यभागको गण्डकी प्रदेशका ११ जिल्लामा १६ लाख ६२ हजार २ सय ४६  मतदाता छन् । जसमा ८ लाख ६९ हजार ५ सय ३८ महिला मतदाता, ७ लाख ९२ हजार ६ सय ९७ पुरूष मतदाता र ११ अन्य मतदाता छन् । नेपाली कांग्रेस पूर्व मुख्यसचिव एवं पटकपटक महाधिवेशन प्रतिनिधि रहेका ऋषिकेश तिवारीले गण्डकी प्रदेश (ख)मा गठबन्धन तर्फबाट उम्मेदवारी दिएका छन् । २०५६ मा पर्वतबाट डिल्लीराज शर्माले जितेका थिए । उनको निधनपश्चात् पुन:स्थापित संसद्का सदस्य बनेका ऋषिकेश तिवारीले आफ्नो राजनीतिक तपस्याको परीक्षाका रूपमा यसपटकको निर्वाचनलाई लिएको बताउँछन् । उनै तिवारीसँग सदिक्षा आचार्यले गरेको कुराकानी :

के–कस्ता चुनौती भोग्दै तपाईं अझै राजनीतिमा हुनुहुन्छ ?
२०३२ सालको विद्यार्थी आन्दोलनदेखि राजनीति सुरू गरेको हुँ । २०३५ सालको देशव्यापी आन्दोलन जसले राजालाई जनमत संग्रह गराउन बाध्य बनायो । त्यति बेला पृथ्वीनारायण क्याम्पसको अभियन्ता थिएँ । आन्दोलनको नेतृत्व मैले सम्हालेको हो । पछि एमालेको सोमनाथ प्यासी आउनुभयो । विद्यार्थीका माग पूरा भए पनि सम्झौतामा टुंगिएन । पञ्चायती व्यवस्थाका विरोधी रहेछन् भनेर मलाई छात्राबासमा एट्याक गरिएको थियो । मलाई मारेर सेतीमा लगेर फाल्ने योजना बनाइएको थियो । साथीहरूले मलाई बचाए । ३६ घण्टापछि गण्डकी अस्पतालमा मैले नयाँ जीवन पाएँ । त्यति बेलादेखि राजनीतिमा निरन्तर छु ।


प्रदेश सभाले पहिलो कार्यकाल भर्खर पूरा गर्दै छ । संघ र स्थानीय जसरी प्रदेश चर्चामा किन छैन ? 
संघीय निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभा छन् । जसरी गाउँ विकास समितिलाई गाउँपालिका बनाइएको छ । त्यस्तै विकास क्षेत्रलाई प्रदेश भनेर भनिएको अवस्था छ । काम गर्न सजिलो होस् भनेर हो भनौं । संघ र स्थानीय तहको बीचमा रहेर काम गर्ने निकाय भनौं न । त्यति धेरै भूमिका नभए पनि समन्वयको काम गर्न सक्छ । परिणाम पनि सकारात्मक नै आउँछ जस्तो लाग्छ ।

कस्तो परिणामको अपेक्षा गर्नुभएको छ ? 
मेरो उम्मेदवारीले धेरै युवाहरूमा आशा जगाएको छ । पुराना मित्रहरूको सहयोग पनि उल्लेख्य छ भनौं । ऋषिकेशले टिकट पहिल्यै पाउनुपर्ने थियो भनेको सुनेको छु । मेरो इमानदार ‘इमेज’ले आशा जगाएको छ । विगतका सांसदहरूले केही गरेनन् । चुनिएर गए मात्रै ।

घरदैलोमा जाँदा तपाईं पनि त्यस्तै गर्नुहुन्छ कि ? भन्‍ने प्रश्न पनि आएका छन् । म यसो गर्छु, उसो गर्छु भन्‍ने । वाचा गर्ने । अनि फर्केर नआउने त होला नि । यस्ता कुराहरू सुनियो । हाम्रो जवाफमा  हामी यस्तो गर्नेमा पर्दैनौँ भनेका छौं ।

हामी काम गर्ने व्यक्ति हौँ । पटकपटक अरूलाई जिताउनुभयो यसपटक हामीलाई जिताएर हेर्नुहोस् भनेका छौँ । यदि त्यस्तो भयो भने खबरदारी लिन तमतयार छौँ । तपाईंहरूका गुनासो सुन्‍न सधैँ तयार भनेका छौँ । हामी विकासवादी सोच भएका छौँ ।

आफूलाई विकासवादी भन्‍नुभयो, विकास के हो तपाईंको नजरमा ? 
हामीलाई विकास भनेर भौतिक विकास मात्रै बुझाइएको रहेछ । मैले कोणसभाहरूमा भनेको छु, घरदैलोमा जाँदा भनेको छु । भौतिक कुराहरू विकासका लागि चाहिने पूर्वाधार त हुन् तर त्यही मात्रै विकास होइन ।

जब उत्पादनमा वृद्धि हुन्छ, जब गरिबको चुलो पनि खुसीले बल्छ, जब सबै समानरूपमा शिक्षाले ओतप्रोत हुन्छन्, त्यही नै विकास भएको अवस्था हो । संस्कार संस्कृतिको प्रर्वद्धन पनि विकास हो । कृषिमा आधुनिकीकरण गर्दै समग्र उत्पादन र उद्योगको कार्यक्षमता बढाउनु विकास हो ।

टिकट पाउन तपाईंलाई किन यतिका वर्ष लाग्यो ?
तीन महिनाका लागी सांसद त म भएकै हो । पार्टीको मुख्यसचिब पनि भएकै हो । तर पनि जनताले अनुमोदन गर्ने मौका ३० वर्षपछि प्राप्त गरेको छु । 
म निश्चित छु । म जित्छु । म काम गर्छु । मेरो क्षेत्रलाई म जसरी पनि राम्रो बनाउँछु । यो मेरो संकल्प हो ।

यति लामो समयदेखि विद्यार्थी भए पनि पहिलो पटक परीक्षा दिँदै हुनुहुन्छ, तयारी कस्तो छ ? जाँचमा के लेख्नुहुन्छ ?
म जाँचको लागि पहिल्यै तयार थिएँ । मसँग जाँच पास गर्ने गरी प्रसस्त क्षमता र तयारी छ । गरिबहरूले नि:शुल्क स्वास्थ्य परीक्षण गर्न पाउनुपर्छ । यसका लागि एउटा राम्रो स्वास्थ्य संस्था बनाउने सपना छ ।

एउटा प्राविधिक स्कुल जहाँ युवाहरूले सीप सिक्ने मौका प्राप्त गरून् । सीप बिक्री भएपछि स्वरोजगारको अवसर हुने भयो नि । रोजगार सिर्जना हुन्छ । बाटोघाटो त हुँदै जान्छन् । कृषि उद्यमशीलता पनि हुनुपर्नेमा मेरो जोड छ । ‘इको टुरिजम’, ‘होमस्टे’का लागि मेरो सदैव प्रयत्न रहनेछ । मेरो फोकस भनेको पर्वत जिल्लालाई नै कृषि उत्पादनको एउटा नमुना जिल्लाका रूपमा चिनाउने हो । यो मेरो २० वर्षदेखिको सपना हो । विकास हेर्ने हो भने पर्वत जाऔँ भन्‍ने नारा साकार बनाउन लागिपर्छु ।

‘इको टुरिजम’ त भन्‍नुभयो, के हो यो ? के गर्नुहुन्छ ? 
पर्वतमा अग्ला पुल छन् । बन्जी छ । आन्तरिक पर्यटक बढिरहेको अवस्था छ । हामीले पर्वत जिल्लाका गाउँहरूमा विभिन्‍न किसिमका उत्पादन प्रवद्र्धन गर्न जोड दिनेछौँ । यहाँबाट हिमालका अति मनोरम दृश्य देखिन्छन् । बाख्रापालन देखि जडिबुटी प्रशोधन केन्द्रसमेत बनाउन जोड दिनेछु । जैविक प्रांगारिक उत्पादनमा  जोड दिनेछु ।

सबैजसो नेता संघ नै ताक्छन्, तपाईं किन प्रदेश परीक्षामा आउनुभयो त ? 
मैले त संघकै उम्मेदवारी चाहेको थिएँ । पार्टीले प्रदेशको टिकट दियो । संघमा तीनतीन पटक जित्नुभएको अनुभवी अर्जुनप्रसाद जोशी हुनुहुन्छ । उहाँले पनि भौतिक पूर्वाधारमा निकै राम्रो गर्नुभएको छ । उहाँको त्यो अनुभव र मेरो उत्पादन र उद्यमशीलता मिलेपछि पर्वत नमुना बन्‍नेछ ।

तपाईंको पहिचान लेखकको पनि छ, लेखक हुनुको नाताले सांसद बन्‍न थप केही सजिलो पनि छ ? 
ठीक भन्‍नुभयो, म सामाजिक र आर्थिक रूपान्तरण कसरी गर्न सकिन्छ भनेर बीसौँ वर्षदेखिको अध्ययनमा छु । केही अनुभव पनि छ । मैले ‘सामाजिक उद्यमशीलता’ नामक पुस्तक पनि लेखेको छु । मेरो पुस्तकलाई नेपाली काँग्रेसको प्रशिक्षण विभागले ‘रिफ्रेन्स बुक’का रूपमा लिएको छ । पुस्तकका अतिरिक्त मैले विभिन्‍न विषयमा लेख पनि लेखेको छु । कार्यपत्रहरू पनि पेस गरेको छु । 


Author

थप समाचार
x