वार्ता

पहिले गरेका वाचा पूरा गरेकाे छु, थप विकासका लागि फेरि उभिएँ

इकागज |
कात्तिक २२, २०७९ मंगलबार २१:४ बजे

विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसको राजनीति सुरु गरेका तीर्थबहादुर लामा काभ्रेका सभापति हुन् ।  संविधानसभा निर्वाचनमा सांसद भएका उनी आउँदाे मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका छन् । उनी काभ्रेकाे क्षेत्र न १ काे प्रदेश सभा ख का गठबन्धनका साझा उम्मेदवार हुन् ।

संविधान बनाउन योगदान गरेका, काभ्रेको भूगोल बुझेका, विकासलाई हरेक बस्तीसँग जोड्न सक्ने विकासप्रेमी, युवामाझ लोकप्रिय उनैसँग गरिएकाे कुराकानी यहाँ प्रस्तुत गरिएकाे छ । 


यहाँको राजनीतिक यात्रा कहाँबाट कसरी सुरु भयो ? 

जब स्कुले जीवन प्राथमिक तह पूरा गरेर माध्यमिक तह सुरु भयो २०४५ सालबाट । त्यो ताका काभ्रे जिल्लामा मंगल जन विजय माध्यमिक विद्यालयमा अध्ययन गर्दै थिएँ । नेपालमा बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको पुनःस्थापनाको निमित्त आन्दोलन भएको थियो । त्यही समयमा सदस्यता लिएर २०४६ सालबाट मेरो राजनीतिक जीवन सुरु भएको हो ।

हुन त मेरो पिताजी पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । ज्यादात्तर उहाँबाटै प्रेरित भएर ममा राजनीतिक चेतना जागृत भएको जस्तो लाग्छ र बीचमा विभिन्न राजनीतिक संगठनमा रहेर काम गरे, विभिन्न देश घुमे र म एउटा निष्कर्षमा पुगे कि विश्वको उत्कृष्ट व्यवस्था नै प्रजातन्त्र रहेछ । त्यसपछि म नेपाली कांग्रेस प्रवेश गरेर आज यो ठाउँमा आइपुगेको हुँ ।

काभ्रेका विकट क्षेत्रका जनताका लागि के गर्नुभयाे?

जब मैले नेपाली काँग्रेसको राजनीति सुरु गरे । विस्तारका लागि गाउँ-गाउँ, टोल-टोल र बस्तीमा पुगेँ । साे क्रममा त्यहाँका जनताको जीवनस्तरसँग जोडिन पुगेँ । त्यहाँको बाटो, शिक्षा, खानेपानी, स्वास्थ्य लगायतका क्षेत्रमा त्यहाँको समस्यालाई नजिकबाट नियाल्न पाएँ ।

त्यहाँको कष्टकर जीवनलाई कुन ढंगले सहज बनाउन सकिन्छ भन्ने क्रममा सबभन्दा पहिला बाटोको खानेपानीको सारा समस्याहरूसँग मैले केही हदसम्म सहज बनाउन सफल भएँ । महाभारत, तेमाल, रोशी, चौरीदेउराली जस्ता धेरै गाउँपालिकाको वडाहरूमा मैले धेरै गरेको छु । मूल्यांकन त्यहााका जनताले गर्नुभएकाे छ ।

लामो समयपछि काभ्रे काँग्रेसमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरण पनि भएको छ । काभ्रे काँग्रेसको नेतृत्वमा तपाई आएपछि कसरी व्यवस्थित गर्नुभएको छ ?

म १४ औ महाअधिवेशनपछि नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति भएँ । एक वर्षमा पार्टीलाई संस्थागत, सुदृढ र सशक्त बनाउने प्रयास गरेको छ । विभिन्न अभियान सञ्चालन भएका छन् । यो बीचमा धेरै चुनावहरू, पार्टी अधिवेशन, स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको छ । संघ र प्रदेशको चुनाव हुन गइरहेको छ । वास्तवमै मैले काम गर्ने पूरा समय व्यवस्थापन गर्न सकिरहेको छैन । अब केही समयपछि, यो चुनावपछि व्यापक रूपमा काभ्रे काँग्रेसलाई सशक्त बनाउनेछु । 

यति खेर हामी संघ र प्रदेशको निर्वाचनमा होमिएका छौं । यो निर्वाचनमा कांग्रेसलाई र गठबन्धनलाई अत्यधिक बहुमतले विजयी गराउनुस हामी काभ्रे कांग्रेसलाई अझ सशक्त बनाउँछौ ।

तपाईले यतिबेला नेपाली काँग्रेसलाई विजय गराउन सहयोग गर्नुपर्छ भन्नुहुन्छ । यति बेला यही पार्टीलाई जिताउनुपर्ने अथवा जित्नुपर्ने कारण चाहि के छ ?

नेपाली काँग्रेसलाई मात्र होइन लोकतान्त्रिक-बाम गठबन्धनलाई जिताउने हाम्रो उद्देश्य हो । सो अनुरूप काँग्रेस गठबन्धन भित्रको एउटा नेतृत्व गर्ने दल भएको कारणले काँग्रेस मात्र होइन गठबन्धन भित्रको सबै उम्मेदवारलाई जिताउनुपर्ने हाम्रो दायित्व छ ।

नेपाली जनताले धेरै वर्षको आन्दोलनबाट पाएको संविधान, वि.पि. कोइरालाले २००७ सालमा परिकल्पना गरेको संविधानसभा, नेपाली जनताले नेपाली जनताबाट अनुमोदित प्रतिनिधिले लेखेको संविधानले मात्र नेपालको विकास समग्र रूपमा जनताको जीवन स्तर उकासिन्छ भन्ने जुन उहाँको कल्पना वास्तवमै आज नेपाली जनताले त्यसको शाब्दिक अर्थ पुष्टि हुन गइरहेको अवस्थामा त्यत्रो जनताको रगत पसिनाले लेखेको संविधान माथि नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष के.पी. ओलीको नेतृत्वको सरकारले जुन संविधानको मूल मर्म माथि प्रहार गर्ने काम भयो, संविधानको धज्जी उडाउने काम भयो, त्यसकारण यो गठबन्धन दलको शीर्ष नेताहरूले यो कुराको पूर्ण रूपमा अनुभूति गरेर नेपालको अग्रगामी पार्टीहरू एक भएर प्रतिगामीको विरूद्ध साझा प्रतिवद्धता गर्दै, संविधान मास्नेहरुलाई निस्तेज गरेर एउटा जिम्मेवारीको अभियान अन्तर्गत काँग्रेसले लोकतान्त्रिक बाम गठबन्धन अगाडि बढेको छ ।

त्यसकारण म लोकतान्त्रिक बाम गठबन्धनको काभ्रे प्रतिनिधि सभा १ ख को उम्मेदवार हुँ । हामीसँग आदरणीय सूर्यमान दोङ जी पनि हुनुहुन्छ । लोकतान्त्रिक बाम गठबन्धनको पक्षमा सारा जनताहरू उर्लेका छन् । त्यसकारणले काँग्रेसले जित्नुपर्छ, समुन्नत काभ्रेका लागि लोकतान्त्रिक बाम गठबन्धनले जित्नुपर्छ भन्ने हाम्रो मान्यता छ । एकै वाक्यमा भन्नु पर्दा संविधान बनायौं, अब काभ्रेको विकास गछौं ।

के का लागि हाे गठबन्धन ?

गठबन्धन नेपाली काँग्रेसको लागि मात्र होइन । आम नेपाली जनताको जीवनस्तर उकास्नुपर्ने लोकतान्त्रिक परिपाटीमा जुन हस्तक्षेत गरेको छ, त्यसलाई रोक्नको निम्ति । के.पि. ओलीको नेतृत्वले, संविधानको मर्ममा, कोटी नेपालीको भावनामा प्रहार गरेको छ, यसलाई रोक्नको निमित्त हो पहिलो कुरा, अनि दोस्रो कुरा, समुन्नत नेपालको जुन परिकल्पना नेपाली जनताले गरेका छन् यसलाई मुर्त रूप दिनको निमित्त यो गठबन्धनको मुख्य उदेश्य हो ।

यहाँ काँग्रेसले जित्ने मात्र मुख्य कुरा होइन, काँग्रेसले मात्र जित्ने हो भने काँग्रेस एक्लैले पनि जित्ने अवस्था थियो तर पनि काँग्रेसले सबै यो देशका अग्रगामी पार्टीहरूलाई एकिकृत गरेर लोकतान्त्रिक बाम गठबन्धन गरेर सबै दलका अग्रगामी पार्टीहरूलाई एकै ठाउँमा उभ्याएर पछिसम्म गठबन्धन गर्दै यो देशलाई विकास र नेपाली जनतालाई सुशासनको अनुभूति गराउनका निमित्त काँग्रेसले गठबन्धन गरेको हो । काँग्रेस जित्नको लागि मात्र हो भने जित्न सकिन्थ्यो । तपाईले भने जस्तो कम्युनिष्ट पार्टी एमालेले भनेको कुराहरू स्वाभाविक नै हो ।

प्रजातान्त्रिक व्यवस्थामा स्वतन्त्रतालाई कुण्ठित पनि गर्न सक्दैनौ । रोक्न पनि सक्दैनौ त्यसकारणले उहाँ कम्युनिष्ट पार्टी नेताहरूको एक किसिमको अधिकार पनि हो उहाँहरूले बोल्न पाउने अधिकार संविधान प्रदत्त उल्लेख भएको कारण हामीले उहाँहरूलाई आलोचना गर्ने, उहाँहरूले विपक्षी पार्टी आम लोकतान्त्रिक गठबन्धन पार्टीलाई यसको औचित्य माथि बेग्लै ढंगले व्याख्या गर्ने त्यसलाई अन्यथा पनि लिनु हुँदैन । तर समग्रमा भन्नु पर्दा चुनाव जित्न मात्रै यो गठबन्धन होईन, निरंकुशता र अधिनायकवादलाई टाउको उठाउन नदिन र संविधान प्रदत्त जनताको लोतकान्त्रिक अधिकार रक्षार्य गरिएको गठबन्धन हो ।

भोट माग्दै गर्दा जनताको समस्या समाधान गर्न कस्तो खालको योजना बनाउनुभएको छ ?

काभ्रेको १ सय ३५ वटै वडाबारे मलाई राम्रोसँग थाहा छ । कुन गाउँमा के समस्या छ । कुन वडामा के अप्ठ्यारो छ भन्ने कुरा मलाई राम्रोसँग थाहा छ पहिलो कुरा, दोस्रो कुरा, अहिलेको वर्तमान परिस्थितिमा गाउँघरतिर समस्या भनेको बाटोको, स्वास्थ्यको, विद्यालयको, खानेपानीको आधारभूत समस्याहरू छन् । त। बिस्तारै यो पुरा हुने बाटोमा गइसकेको छ । मुख्यतः साँच्चिकै नेपाल बस्न योग्य बनाउनु छ भने हाम्रो लक्ष्य, उदेश्य भनेको आम नेपाली युवाहरूलाई यो देशमै रोजगारको अवसर सिर्जना गरिदिनुपर्छ।

खाडी मुलुकमा, युरोपमा, अमेरिकामा गइरहेको युवाहरूलाई रोकेर देश निर्माणको लागि समृद्धिको बाटोतर्फ डोहो¥याउन आवश्यक छ । योजनावद्ध ढंगले अगाडि बढ्नुपर्ने छ । तपाईले भने जस्तो यहाँका जनताका समस्याहरू लगभग लगभग अबको केही वर्षभित्रमा पूर्ण हुन्छ जस्तो मलाई लाग्छ । यहाँको कच्ची बाटोहरू, स्वास्थ्य, खानेपानी, सिँचाई, कृषि यावत् कुराहरू पूर्णतातर्फ उन्मुख गराएर काभ्रेको गाउँ गाउँमा केही वर्ष पछि सम्पन्न गर्न सकिन्छ जस्तो मलाई लाग्छ ।

युवाहरूलाई स्वदेशमै रोजगार सिर्जना गर्न कस्तो खालको योजना बनाउनुभएको छ ?

 यो वास्तवमै मेरो मात्र परिकल्पना हो । यो देशका शीर्ष नेताहरूले, राष्ट्र निर्माण गर्ने प्लानरहरूले योजना बनाउनुपर्यो । प्रोजेक्ट तयार पार्नु पर्यो । यो देशलाई कस्तो बनाउने भन्ने सन्दर्भमा एउटा मास्टर प्लान बनाएर अगाडि बढ्नुपर्ने मैले देखेको छ । जलस्रोतमा धनी छौँ । पर्यटकलाई आकर्षण गर्न सक्ने सगरमाथालगायत अन्य प्राकृतिक तथा मानव निर्मित स्रोत साधनहरू प्रशस्त मात्रामा रहेको छ । जल जंगल र कृषि योग्य उर्वर भूमि नेपालमै छ ।

यी स्रोत साधनलाई आधुनिक तरिकाले परिचालन गरेर यसबाट प्रशस्त लाभ लिन सकिने अवस्था छ । यसका लागि नेपालको राजनीतिक दलका नेताहरूले अर्थविद्हरूले राम्रोसँग पहिचान गरेर परिचालन गर्न सकिन्छ । त्यति मात्र होइन यहाँ बन्न सक्ने उद्योग कलकारखाना निर्माण गरेर, विद्युत उत्पादन गरेर, नेपाली लेबर कस्ट सस्तो भएको कारणले ठूला ठूला कम्पनी निर्माण गरेर यहाँका वस्तुहरूलाई विदेशमा समेत निर्यात गर्न सकिन्छ । यसरी यहाँका लाखौ युवाहरूलाई रोजगार दिलाउन सक्ने सम्भावना प्रचुर सम्भावना रहेको छ । यो सम्भावनालाई साकार बनाउन निर्वाचन पछि बन्ने गठबन्धनको सरकारले स्पष्ट योजना बनाएर कार्यान्वयनमा ल्याउनेछ ।

तपाईले २०७० सालमा संविधानसभा सदस्य जित्नुभयो । देखिने काम के के गर्नुभयो ? र, के गर्न बाँकी छ ?

२०७० सालको चुनाव जित्दा मैले त्यतिखेर भन्दै आएको थिएँ । नेपाली काँग्रेसको नेतृत्वमा संविधान लेख्नको निमित्त नेपाली काँग्रेसलाई बहुमत दिनुपर्छ भन्ने सन्दर्भमा मैले पार्टी समितिमा पार्टीको केन्द्रीय तहमा गरेको कुराहरूलाई पार्टीको तल्लो लेभलसम्म भन्दै आएको थिएँ । नेपाली काँग्रेसलाई बहुमतले मत दिनुस जनतालाई पहिलो संविधान सभाबाट चार जना कम्युनिस्ट पार्टीका प्रधानमन्त्रीको नेतृत्वमा दिने नसकेको संविधान दिन्छौं भनेका थियौं त्यो काम गर्न मेरो सहभागितामा सफल भयो । नेपाली जनतालाई संविधान दिन सकिन्छ भन्ने काँग्रेसको घोषणा पत्रमा थियो । त्यो कुरा मुताविक काभ्रेको जनताले मत दिनुभयो । काँग्रेसको नेतृत्वमा सरकार आयो ।

नेपाली काँग्रेसको शीर्ष नेता आदरणीय सुशील कोइरालाको नेतृत्वमा नेपाली जनतालाई २०७२ को संविधान प्रदान गर्न सकियो । त्यो एउटा कुरा हो अर्को कुरा चाहि, काभ्रेको विकट क्षेत्रमा कच्ची मोटरबाटो पु¥याउँछु । डाडाँपारीको सबै वडाहरूमा मोटर बाटो पु¥याउछु । जुन जुन ठाउँमा मोटर बाटो पुगेको त्यो त्यो क्षेत्रमा मोटर बाटो पु¥याउँछु भनी मैले चुनावी अभियानमा बोलेको थिएँ । त्यसरी बोले अनुरूपको काम गरेको छु, सबै ठाउँमा कच्ची मोटरबाटो पुगेको छ । संविधान लेख्न सफल भयौँ । डाँडापारीको कुनैपनि वडामा बाटो नपुगेको ठाउँ कहि पनि छैन । यसको स्तरोन्नतरी गर्ने काम भए होलान् । हुनै पनि पर्छ, तर सुरुवात मैले गरेको हुँ । त्यसकारणले काँग्रेसले जे बोलेको छ त्यो काम पूरा गरेको मलाई अनुभूत भएको छ । बाँकी विकास निर्माणका काम गर्छौं र जनपक्षीय नीति र कानुन बनाएर जनताको समस्या हल गर्छाैं ।

तपाईले जितको सम्भावना कस्तो देख्नुभएको छ ? र के के आधारहरू छ तपाईले जित्छु भन्नेमा ?

जित्ने आधार त पहिलो कुरो त जनमत नै हो । जनमत नेपाली कांग्रेसमा नभए अन्त कहाँ हुन्छ ? अर्काे मुख्य कुरा भनेको लोकतान्त्रिक बाम गठबन्धनले गरेको काम र उद्देश्य हो । यो उद्देश्य, यो आन्दोलन र गठबन्धनले गरेको इस्युहरूलाई जनताले बुझिसकेको छ । दोस्रो आधार भनेको नेपाली काँग्रेसको संगठन हो । तेस्रो आधार बाम लोकतान्त्रिक गठबन्धन भएपछि सारा नेपाली जनताहरू बाम लोकतान्त्रिक गठबन्धनको पक्षमा उभिसकेको छ । सारा माहोल छाइसकेको छ त्यसकारण जित्ने आधारहरू वास्तवमै यहि हो । २ वटा प्रतिनिधि सभा र ४ ओटा प्रदेश सभामा गठबन्धनको उम्मेदवारहरूले जित्ने सम्भावना १०० प्रतिशत जस्तै भइसकेको छ ।

यहाँले जित्ने त भन्नुभयो, जनताले यहाँलाई नै भोट किन दिने त यतिबेला ?

म जनताको निमित्त लागिरहेको छु, जनताको सेवामा लागिरहने, जनताकै सुख दुःखमा उभिरहने मान्छे भएको कारणले पहिलो कुरा जनताले मलाई मत दिनुहुन्छ भन्ने कुरामा पूर्ण विश्वस्त छु । दोस्रो कुरा मैले जे बोल्छु त्यो गरेको छु । झुटा आश्वासन र फटाहा कुरा बोल्न चाहन्न । त्यही आधारमा मैले जित्छु भन्ने कुरामा विश्वस्त छु । १३५ वडा मध्ये काभ्रेको प्रतिनिधि सभा १ को ६९ र वडा म उठेको ३३ वडामा संगठन अत्यन्तै बलियो छ । वडा स्तरमा संगठन छ । टोल स्तरमा संगठन छ । जुझारु होनाहार युवा साथीहरू काँग्रेसको पक्षमा र काँग्रेसको संगठनमा छन् । विकाससँगै संगठनमा पनि म जनतासँग सँगै छु । त्यसकारण जनताले मलाई भोट दिने आधारहरू हुन र म जित्छु भन्नेमा पूर्ण विश्वस्त पनि छु ।

गठबन्धनको जितपछि जनताले के पाउँछन् ?

गठबन्धनको जितपछि नेपाल अगाडि बढ्ने बाटो खुल्छ । यो देश समृद्धितर्फ उन्मुख हुन्छ । सबै वर्ग तथा युवावर्गहरू नेपालमै रहने अवस्था रहन्छ र नेपाली जनताले सोचेको गाउँ, ठाउँ, समाज बन्नेछ भन्ने आम नेपालीहरूको चाहना छ । त्यसकारण यो गठबन्धन दलको नेतृत्व आयो भने, सारा नेपाली जनताले सुखको सास फेर्न सकिन्छ । सुशासनको अनुभूति गर्न पाउनेछन् ।

अन्त्यमा आम नागरिकलाई तपाईको सुझाव के छ ?

काभ्रेली आमाबुबा, दिदीबहिनी दाजुभाइलाई आव्हान गर्न चाहन्छु, म प्रतिनिधि सभा १ को ख को उम्मेदवारको रूपमा आएको छु । नेपाली काँग्रेसको तर्फबाट, बाम गठबन्धनको तर्फबाट आम मतदाताहरूलाई अनुरोध गर्न चाहन्छु । लोकतान्त्रिक बाम गठबन्धनको यो काभ्रेका २ प्रतिनिधि सभा र ४ वटा प्रदेशमा लोकतान्त्रिक बाम गठबन्धनको उम्मेदवारलाई जिताउनको निमित्त म हार्दिक अनुरोध र अपिल गर्न चाहन्छु । 


Author

थप समाचार
x