वार्ता

'जनता, लोकतन्त्र, संविधान र मानवअधिकारविरुद्ध लाग्नेको पक्षमा काँग्रेस कहिल्यै पनि हुँदैन'

इकागज |
कात्तिक २९, २०७९ मंगलबार २०:९ बजे

नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर बाँके क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेस नेतृत्वको गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि चुनावी मैदानमा छन् । नेविसंघको नेतृत्वपछि बाँके, बर्दियामा पार्टी राजनीतिमा लामो समयदेखि क्रियाशील नेता राठौर सुशील कोइरालापछि बाँकेको प्रतिनिधित्व गर्ने काँग्रेस शीर्ष नेता हुन् । उनीसँग गठबन्धन, राजनीति र निर्वाचन एवं मुद्दाबारे इकागजले गरेकाे कुराकानी :

अहिले यहाँहरू गठबन्धन गरेर निर्वाचनमा होमिनु भएको छ । बहुमत नपुग्दा सरकार बनाउन गठबन्धन त ठीकै होला तर निर्वाचनमै गठबन्धन के का लागि ? 


कतिपय बुद्धिजीवीले काँग्रेसले सत्तामा जानका लागि नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीसँग गठबन्धन गरेको हो भनिरहेका छन् । त्यसरी भन्नेमा विपक्षी निकट बुद्धिजीवीको संख्या बढी छ । एक अर्थमा उनीहरूले भनेको कुरा पनि गलत छैन किन भने सत्तामा नगइ आफ्नो घोषणापत्र, योजना कार्यान्वयन गर्न सकिँदैन । नीति तथा कार्यक्रम बनाएर देशलाई विकास एवं सुशासनको बाटोमा हिँडाउन सत्तामा जानै पर्छ । संघ र प्रदेशबाट सम्बन्धित क्षेत्रमा बजेट हाल्न सकिँदैन ।

तर, सत्तामा जानमात्र गठबन्धन गरिएको होइन । वीपी कोइरालाले २००७ सालको क्रान्तिपछि संविधानसभाबाट संविधान बन्नुपर्छ भन्नु भएको थियो । तर, संविधानसभाबाट संविधान बन्न झण्डै सात दशक कुर्नु पर्‍यो । नेताले कुनै कुरा बोल्दैमा तत्काल पूरा हुन सक्दैन । त्यसका लागि परिवेश तयार हुनुपर्छ । जनताको चेतना विकास हुनुपर्छ । ७० वर्ष लगाएर संघर्ष गरेर, करोडौं खर्च गरेर २–२ पटक संविधानसभाको चुनाव गराएर ल्याइएको संविधान धरापमा पार्न केपी ओलीले जसरी २–२ पटक असंवैधानिक रूपमा संसद् विघटन गर्नुभयो । मुलुकलाई नै गम्भीर अनिश्चयको बाटोमा लैजाने प्रयत्न गर्नुभयो ।

तपाईँलाई थाहा छ, सात दशकको संघर्षपछि हामीले समावेशी संविधान बनाएका हौं । मधेशी, मुस्लिम, जनजाति, थारु, अल्पसंख्यक सबैको हकहित र निश्चित प्रतिनिधित्व सुनिश्चित भएको संविधान मासिन्थ्यो । सबै समुदाय फेरि अधिकारविहीन बनाइन्थे । अर्को अराजकताको अभ्यास हुन्थ्यो । काम गरेर वातावरण हुँदैनथ्यो । सशस्त्र द्वन्द्वले हामीलाई कति पछाडि पारेको छ । तत्काल नेपाली काँग्रेसको नेतृत्वमा केपी ओलीको असंवैधानिक कदमको विरोधमा दलहरू एकजुट नभएको भए आज मुलुक कुन अवस्थामा पुग्थ्यो कल्पना गर्नुस् त । त्यसबाट मुलुकलाई जोगाएर समृद्ध र समुन्नत नेपाल बनाउने अभियानमा भएका दलहरूले अहिले गठबन्धन गरेका हौं । अर्को कुरा हाम्रो संवैधानिक व्यवस्थाअनुसार अहिले एउटै दलको बहुमत नआउने देखिन्छ । त्यसैले गठबन्धनमार्फत् नै सरकार चलाउनु पर्ने र मुलुकलाई स्थिरता दिनु पर्ने दायित्व पनि हामीमाथि छ । निर्वाचनपछि हाम्रो गठबन्धनले सरकार बनाउँछ र संविधानको जगेर्ना र कार्यान्वयनमार्फत् सुशासन र समृद्धिसहितका आवश्यकता पूरा गर्छ । 

एमालेले अहिले काँग्रेसले आफूविरुद्ध घेराबन्दी गरेको आरोप लगाएको छ । यहाँ काँग्रेसको केन्द्रीय नेता हुनुहुन्छ । के भन्नुहुन्छ ? 

काँग्रेस कसैको विरुद्ध छैन । नेपालमा प्रजातन्त्र र बहुदलीय व्यवस्था स्थापना काँग्रेसकै नेतृत्वमा भएको हो । विभिन्न दलहरूले जनतासामु विभिन्न एजेण्डा लिएर जाउन् र जसले बहुमत ल्याउँछ उसैले सरकार चलाओस् र दोश्रो शक्ति प्रतिपक्षमा रहोस् भन्ने काँग्रेसको मूल मान्यता हो । तर, के चाँहि स्पष्ट हो भने, जनताको, लोकतन्त्रको, संविधानको, मानवअधिकारको विरुद्ध लाग्नेको पक्षमा काँग्रेस कहिल्यै पनि हुँदैन ।

२०६४ सालको संविधानसभामा माओवादीसहित कम्युनिष्ट दलसँग अत्यधिक बहुमत थियो । त्यतिबेला संविधान बन्न सकेन । मुलुक एकखाले अनिश्चिततामा जाने अवस्था बन्यो । प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाएर दोश्रो संविधानसभा निर्वाचन गरियो । निर्वाचनपछि हाम्रो आदरणीय नेता सुशील कोइरालाको नेतृत्वदायी पहलमा संविधान जारी भयो । वर्तमान संविधानले सबै नेपालीलाई अधिकार सम्पन्न बनाएको छ । मुलुकलाई नयाँ गति दिने मार्गरेखा कोरेको छ । यद्यपि, यो संविधान पूर्ण छ भन्ने हाम्रो पनि ठम्याई होइन । मधेशीका, थारुका, मुस्लिमका, दलित, महिला आदिवासी, पछि पारिएका समुदाय, विभिन्न क्षेत्र पक्षका कतिपय विषय नपुगेका होलान् । संविधान अपरिवर्तनीय दस्तावेज होइन । समय र आवश्यकताका आधारमा परिवर्तन गर्दै लैजाने विषय हो । अहिलेसम्मका परिवर्तनलाई जोगाउँदै भएका कमी कमजोरी हटाउँदै अघि बढ्ने हो । 

केपी ओलीले संविधान नै ध्वस्त गर्ने, प्रणाली नै सखाप पार्ने खालका क्रियाकलाप गरेर सुधारको बाटो बन्द गर्नेमात्र होइन प्राप्त उपलब्धि नै सखाप पार्ने प्रयास गर्नुभयो । त्यो अवस्थामा उहाँकै पार्टीका ठूलो संख्याका सांसदसहित काँग्रेस र अरू पार्टी मिलेर ओलीको त्यो अनधिकृत प्रयासमा रोक लगाएको हो । त्यसैले हामी कसैका विरुद्ध छैनौं । प्राप्त उपलब्धि संस्थागत गर्दै सुशासनसहित समुन्नति र विकासमा अघि बढ्नेहरूका साथमा छौं । 

यहाँहरूले चाँहि संविधानको संरक्षण, प्राप्त उपलब्धि संस्थागत गर्दै सुशासनसहित समुन्नति र विकासमा अघि बढ्ने कुराको सुनिश्चितता कसरी गर्नुहुन्छ त ?

हाम्रा आदरणीय नेता सुशील कोइरालाको नेतृत्वदायी भूमिकामा संविधान जारी भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुभयो । उहाँले स्थानीय तहको, प्रदेशको र संघको निर्वाचन गरेर संविधान कार्यान्वयन गर्नुपर्ने, मुलुकलाई गति दिनु पर्ने थियो तर उहाँले त्यसो गर्न सक्नु भएन । नेपाली काँग्रेसको १३ औं महाधिवेशन सम्पन्न भएपछि नेता शेरबहादुर देउवा सभापति हुनुभयो । सभापति भएपछि उहाँले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाएर स्थानीय तहको निर्वाचन अघि बढाउनु भयो र मधेश प्रदेशसहित बाँकी स्थानीय तह तथा प्रदेश, प्रतिनिधिसभा एवं राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गराइ संविधान कार्यान्वयन गर्दै मुलुकलाई अघि बढाउनु भयो ।

निर्वाचनमा एमाले नेतृत्वको वाम गठबन्धनले झण्डै दुई तिहाई मत ल्यायो । सरकार बनायो । जनतालाई देखाइएको सुख र समृद्धिको सपना पूरा गर्नु पर्नेमा उक्त सरकारले मुलुकलाई भड्खालोमा हाल्ने प्रयत्न गर्‍यो । प्रधानमन्त्री ओलीले मुलुकको विकासलाई वर्षौं पछि धकेल्नु भो । देशलाई मात्र होइन आफ्नै पार्टीका नेताहरूमाथि समेत तानाशाही लाद्नु भयो । सहयात्री,सहकर्मीमाथि समेत षड्यन्त्र गर्नु भयो । उहाँकै पार्टी विभाजित भयो । र, उहाँको पार्टीका वरिष्ठ नेताहरूसहित गठबन्धन बनाएर संविधानको रक्षा र सरकार सञ्चालन गर्नु परेको सबैलाई जानकारी नै छ । भोलिका दिनमा पनि संविधान र व्यवस्थाको संरक्षण गर्नु हाम्रो पहिलो काम हो । 

दोश्रो यहाँ अहिले जे जति विकास भएका छन् । शिक्षाको क्षेत्रमा, स्वास्थ्य, कृषि, सहकारी, यातायात, सञ्चारको क्षेत्रमा त्यो अधिकांश २०४८ सालको निर्वाचन जितेर काँग्रेसले सरकार बनाएर ल्याएको नीतिको परिणाम हो । २०४८ सालअघि नेपालमा कतिवटा टेलिभिजन थियो ? आज कति छन् ? हिजो कतिवटा एयरलाइन्स थियो ? आज कति छन् ? हिजो कतिवटा बैंक थियो, आज कति छन् ? यी उदाहरण हुन । सबै काँग्रेस नेतृत्वले लिएको आर्थिक नीति र सुरु गरेको उदारीकरणका कारण हो । 

नेपालको इतिहासमा सबैभन्दा बलियो दुई तिहाईको शक्तिशाली सरकारको नेतृत्व गर्नु भएका केपी ओलीसँग संविधानमा भएका कमीकमजोरी हटाएर जनतालाई थप अधिकार दिलाउने र मुलुकलाई विकासको मार्गमा अघि बढाउने अवसर थियो । तर, उहाँले जनतालाई उखानटुक्का सुनाएर महत्वपूर्ण अवसर खेर फाल्नुभयो । उहाँको कार्यकालमा कुनै पनि विकासका संरचनाहरू अगाडि बढेनन् । नयाँ विकास त बढेनन् नै हिजो हामीले बनाएको बाटाघाटा खाल्डा परेका छन् । संरचना जीर्ण भएका छन् । यसलाई नयाँ जीवन दिँदै मुलुकलाई विकासको मार्गमा लैजान वामलोकतान्त्रिक गठबन्धनले जित्नुपर्छ भन्ने मेरो भनाई हो । 

यहाँले काँग्रेसले यसो गर्‍यो, उसो गर्‍यो भनिरहँदा कहिँ न कहिँ काँग्रेसले गर्नु पर्ने काम गर्न सकेन, गरेन । नेताहरू भ्रष्टाचारमा, आफन्तवादमा केन्द्रित भए । मुलुकको अपेक्षित विकास हुन नसक्नुमा काँग्रेस पनि दोषी छ भन्ने आवाज ठूले सुनिन्छ । के यहाँहरूले ती आवाज सुन्नुभएको छैन ? के काँग्रेस सच्चिनु जरुरी छैन ? 

हेर्नोस् । काँग्रेस सच्चिनु त जरुरी छ । वीपी कोइरालाले जीवन भनेको पाठशाला हो भन्नुभएको छ । उहाँले मर्ने कुराको मलाई अनुभूति भयो पनि भन्नुभएको छ । उहाँले बनाएको पार्टी हो यो । अर्का नेता सुवर्ण शम्शेरले आफ्नो १६ हजार विघा जमिन राष्ट्रिय करण गरेर भूमिसुधार लागू गरेर अघि बढाएको पार्टी हो नेपाली काँग्रेस । वीपी कोइराला, सुवर्ण शम्सेर, गणेशमानजी, किसुनजी जति पनि हाम्रा नेताहरू हुनुहुन्थ्यो । उहाँहरू खान पुग्ने परिवारकै सदस्य हुनुहुन्थ्यो । कठोर राणा शासनमा जीवन नै जोखिममा राखेर किन उहाँहरूले २४/२५ वर्षकै उमेरमा नेपाली काँग्रेस पार्टी खोल्नुभयो । माननीय हुनलाई, मन्त्री प्रधानमन्त्री हुनलाई उहाँहरूले पार्टी खोल्नुभएको होइन । जनतालाई अधिकार सम्पन्न बनाउनका लागि, गरिब दुःखीहरूको हितका लागि हो । वीपी कोइरालालाई राजाले पञ्चायतकालमा पनि प्रधानमन्त्रीको अफर गरेकै हो । प्रजातन्त्र मास्ने राजाको अफर वीपी कोइरालाले अस्वीकार गर्नुभयो । २०४६ सालको आन्दोलन सफल भएपछि प्रधानमन्त्री बन्न राजाले आग्रह गर्दा गणेशमान सिंहले आफूले छोडेर कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउनु भएको हो । 

यत्रो संघर्ष गरेर आएको । हिजो राणा फालेको, पञ्चायत फालेको, राजा फालेको पार्टी काँग्रेस । त्योसँगै सहकार्य गरेका अन्य पार्टीहरू जनताको मनमा बस्नु पर्ने हो । तर, किन बस्न सकेका छैनन्, अलोकप्रिय भैरहेका छन् ? यो सोचनीय प्रश्न हो । नेताले झुठ बोलेका कारण, ढाँटेका कारण दलहरू, नेताहरू अनपपूलर भैरहेको परिस्थिति छ । गर्न नसक्ने काम गर्छु भनेर नेताहरू जनतालाई झुठ बोलेका कारण आज त्यत्रो संघर्ष गरेर आएका पार्टीहरू, नेताहरू भरोसायोग्य कम भएको तपाईँ हामी सबैले सुनिरहेका छौं, देखिरहेका छौं । नेताले गर्न सक्ने काम गर्छौँ भन्ने । नसक्ने काम यति समयमा सक्छौं वा यो काम सकिँदैन भनेर जनतालाई स्पष्ट भन्ने हो भने जनतामा भ्रम हुँदैन । 

तपाईँले काँग्रेसमा सुधारको प्रश्न गर्नुभयो । काँग्रेसले गरेका कामहरूलाई, विकासका आधारहरूलाई एउटा निष्कर्षमा पुर्‍याउनु छ । हामी कानुनी राज्यका लागि, सुशासनका लागि लडेका हौं । जनताले खोजेकोजस्तो सुशासन, कानुनी राज्यको निर्माणमा कहिँ न कहिँ समस्या छ भन्ने हाम्रो बुझाई छ । त्यो पूरा गर्नुपर्छ । आफ्नो ठाउँबाट यसका लागि म प्रतिबद्ध छु । 

यहाँ बाँके क्षेत्र नम्बर ३ बाट जनअनुमोदित हुन गठबन्धनका तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार हुनुहुन्छ । बाँके ३ नै किन रोज्नुभयो भन्ने प्रश्नहरू पनि उठाइएका छन् । के भन्नुहुन्छ यहाँ ? 

म सल्यानमा जन्मेको । काठमाडौँमा स्कुल र कलेज पढेको । काठमाडौँमै विद्यार्थी राजनीति गरेको । नेपाल विद्यार्थी संघको नेतृत्वमा पुगेको व्यक्ति । मैले सुखको राजनीति गर्न चाहेको भए काठमाडौँमै पनि गर्न सक्दथेँ । तर, पनि बाँके–बर्दियालाई मैले आफ्नो राजनीतिक क्षेत्र बनाएको छु । पार्टीको संगठन सुदृढ गर्न र विकासमा अघि बढाउन मैले २० वर्षदेखि बाँके–बर्दियामा राजनीति गरिरहेको छु । सुशील दाई र मेरो निर्वाचन क्षेत्र एउटै पर्ने भएकाले बर्दियाको सबैभन्दा पछि परेको राजापुर क्षेत्र रोजेको हुँ । हिजो सदरमुकामसँग, मुलुकसँग नजोडिएको राजापुर क्षेत्रमा अहिले देशको सबैभन्दा लामो पुल बनेको छ । त्यहाँ जति पनि विकासका बनेको छ त्यो मेरो नेतृत्वमा, मेरो पहलमा भएको हो ।

तर, गठबन्धनका कारण त्यो क्षेत्र छाड्नु परेकाले नेपालगञ्जको काखमा रहेको ३ नम्बर क्षेत्र विकासमा निकै पछि परेको क्षेत्र रोजेको हुँ । विमानस्थल सारिएपछि यो क्षेत्रले कान्ति गुमाएको छ । कृषिको सम्भाव्य क्षेत्र भए पनि गति पाउन सकेको छैन । भौतिक विकास समस्याग्रस्त छ । त्यसैले यो क्षेत्रको विकास मेरो प्राथमिकता हो ।

विकासका कामचाँहि के-के र कसरी-कसरी गर्छु भनेर यहाँले मत मागिरहनुभएको छ ? यहाँका स्थानीय चुनावी मुद्दा, योजनाहरू के-के छन् ? 

हिजो मैले बर्दियाको राजापुर क्षेत्रमा राजनीति सुरु गर्दा त्यस क्षेत्रका जनतालाई टिकापुरमा, गुलरियामा, नेपालगञ्जमा घर बनाउन नपर्ने अवस्थाको सिर्जना गर्छ‘ भनेको थिए । आज त्यो पूरा भएको छ । बाँकेको क्षेत्र नम्बर ३ मा पहाडबाट झरेका गरिबहरू, दलितहरू बस्दछन् । त्यसैगरी, आदिवासी थारुहरू, मधेशी, मुस्लिम त्यसमा पछि परेको समुदायको यस क्षेत्रमा बसोबास छ । यहाँका स्थानीयलाई नेपालगञ्जमा र कोहलपुरमा घर बनाउन पर्ने अवस्थाको अन्त्य गर्छु । 
१० वर्षदेखि एमालेले जितेको यो क्षेत्रमा विकासको काम शून्यप्राय: छ । यहाँ कृषि, शिक्षा, स्वास्थ्य, यातायात लगायतका क्षेत्रमा विभिन्न आवश्यकता देखिएको छ ।

यहाँ अधिकांश किसानहरूको बसोबास भएकाले निर्वाहमुखी खेतीलाई व्यवसायिकतासँग जोड्नु आवश्यक छ । यहाँ सिक्टा र बबईको पानी ल्याएर सिँचाइ प्रबन्ध गर्ने आवश्यकता छ । मानखोलामा तटबन्धनको आवश्यकता छ । त्यसको व्यवस्थापनका लागि पहल गर्छु । नेपालगञ्जको धम्बोझीदेखि गुलरियासम्म ४ लेनको सडक बनाउन मेरै पहलमा प्रक्रिया अघि बढेको छ । त्यसलाई २ वर्षभित्र सम्पन्न गर्ने, परसपुरदेखि गौघाटसम्मको सडक निर्माणको प्रक्रिया एक वर्षभित्र सम्पन्न गर्ने बैजनाथको सम्झनाचोकदेखि खजुरा आउने बाटो सम्पन्न गर्ने मेरो प्रतिबद्धता छ । खजुराको ३ र ४ नम्बर जोड्ने पेडारी नालाको पुल लगायत विभिन्न पुल पुलेसा निर्माण गर्ने लगायतका अन्य विभिन्न प्राथमिकता मैले तय गरेको छु ।


Author

थप समाचार
x