नयाँ पार्टीहरूले पाएको जनमत बहकिने खालको हो
शेखर–गगन समूहले माओवादीलाई भोट नहाल्न तलसम्मै निर्देशन दियो
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । अधिकांश मत परिणाम आइसकेको छ भने केही स्थानमा मतगणना जारी छ । समानुपातिकतर्फको मत परिणाम पनि अन्तिम चरणमा पुगेको छ । अहिलेसम्मको मत परिणामअनुसार कुनै एक पार्टीको मात्रै बहुमत पुग्ने स्थिति देखिँदैछ । नेपाली कांग्रेस र नेकपा एमाले पहिलो पार्टी बन्ने प्रतिस्पर्धामा अझै छन् भने तेस्रो पार्टीका रूपमा नेकपा (माओवादी केन्द्र) हुने प्रायः निश्चित छ । राष्ट्रिय स्वतन्त्र पार्टी देशको चौथो ठूलो पार्टी बन्दैछ । राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौं स्थानमा प्रतिनिधि सभामा देखिने लगभग पक्का छ । यस्तो अवस्थामा वाम गठबन्धन भएर कम्युनिस्टहरूको सरकार बन्छ वा अहिलेकै गठबन्धनले नयाँ सरकारको नेतृत्व गर्छ ? भन्ने प्रश्न पनि यतिबेला आम जनमानसमा छ । माओवादी केन्द्रका सचिव डिलाराम आचार्यले काँग्रेसको शेखर–गगन समूहले (माओवादी केन्द्र) लाई भोट नहाल्न तलसम्म नै निर्देशन दिएको आरोप लगाए । उनले माओवादीले प्रत्यक्षमा नै ४० सिटमाथि जित्ने आँकलन गरे पनि त्यसो नभएको बताए । नयाँ पार्टीहरूले पाएको जनमत बहकिने खालको भएको र उत्तेजनामा मतदान गर्नेकुरा स्वाभाविक नरहेको उनले तर्क गरे । उनले माओवादीले सरकारको नेतृत्वमा दाबी गर्ने पनि बताए । यसै विषयमा केन्द्रित रहेर आचार्यसँग गरिएको सम्वाद :
निर्वाचन मत परिणामलाई कसरी लिनुभएको छ ?
सामान्य रूपमा हेर्दा अस्वाभाविक छ । किनभने हाम्रो अनुमानअनुसार ४० सिटजति आउनपर्दथ्यो । तर के देखियो भने माओवादीको भोट गठबन्धनका अन्य दलमा सजिलोगरी गयो । कांग्रेसको भोट सजिलैगरी हामीतिर 'सिफ्ट' भएन भन्नेकुरा निर्वाचनको परिणामले देखाउँछ । यसको गहिरो विश्लेषण त होला । कांग्रेसको एउटा पक्षले हामीलाई भोट नहाल्नु भनेर भन्ने कुरा काठमाडौं आएपछि जानकारी पाएँ ।
कांग्रेसले इमान्दार भएर भोट दिए भन्न खोज्नुभएको हो ?
परिणामले त्यो देखाउँछ । मत हिसाब गर्दा माओवादीले ४० जति सिटमा जित्नुपथ्र्यो । समानुपातिकसमेत गरेर पुरानो पोजिसन भन्दा यसपटक कम हुन्न भन्ने हाम्रो आँकलन थियो । तर अहिले प्रत्यक्षमा आधा बढीको फरक पर्यो । मत सहज रूपले हामीतिर 'सिफ्ट' भएन भन्ने कुरा देखिन्छ ।
कांग्रेसको भोट किन 'सिफ्ट' भएन त ?
शेखर–गगन समूहको तर्फबाट केही न केही निर्देशन तल गएको भन्ने बुझिन्छ । ठ्याक्कै प्रमाण त छैन । तर घटनाहरूले त्यस्तो देखाउँछ । कांग्रेसको संस्थापन पक्षले मुलतः इमान्दारी साथ भोट हाल्ने कोशिस गरेको देखिन्छ । फेरि अर्को समस्या के रहेछ भने कांग्रेस हाम्रो जस्तो 'क्याडरबेस' पार्टी भएन । मासबेस पार्टी हो । मासले आफ्नो किसिमले सोच्ने कुरा पनि भइहाल्यो । तर कांग्रेसको एउटा पक्षले माओवादीलाई जानि बुझिकन भोट नहाल, बरु अरुअरुसँग हातेमालो गर भन्ने दिशामा गएको हो कि भन्ने घटनाले त्यस्तो देखाउँछ ।
संसद्मा नयाँ-नयाँ पार्टीहरूको उदय भएको छ । यसलाई कसरी हेर्नुभएको छ ?
नयाँ पार्टीहरू आउने कुरा नराम्रो होइन । प्रजातन्त्रको फूलबारी हो । यसमा सबै किसिमका फूलहरू फुल्न पाउँछन् । तर जनताले विश्वास गर्दा ती नयाँ पार्टीहरूको सिद्धान्त के हो ? राजनीति के हो ? कार्यदिशा के हो ? भोलि कहाँ लैजाने हुन् ? भन्ने कुरा हिसाब नगरिकन भोट हाल्ने जुन 'ट्रेण्ड' देखिएको छ नेपालमा यो खतरनाक छ । किनभने हामीले उनीहरूलाई भोट हाल्ने भनेको त उनीहरूका नीति, कार्यक्रममाथि आधारित भएर हो । व्यक्तिको अनुहार हेरेर होइन । व्यक्तिको अनुहारले त धोका दिनसक्छ । लिखित प्रतिवद्धता, सिद्धान्त, राजनीति, कार्यनीति, अर्थनीति, परराष्ट्र नीति, नेपालको विकास सम्बन्धी उनीहरूको अवधारणा यी सबै कुरालाई विश्लेषण गरेर भोट हाल्नुको सट्टा नेपाली जनमानसमा सतही खालको फेसबुके विश्लेषणको आधारमा बहकिने जुन चिज देखिएको छ, यो राम्रो छैन । हामी फेसबुकको वरिपरी नाचिरहेका छौँ । फेसबुकका राम्रा कुराका वरिपरि पनि नाचिरहेका छौँ । नराम्रा र भ्रमपूर्ण कुराहरूको वरिपरि पनि हामी नाचिरहेका छौँ । क्षणिक आवेग, उत्तेजनामा निर्णय गर्ने कुराहरू केही मात्रामा हाबी भएको देखिन्छ । यो राम्रो कुरा होइन । जुन जनमत उनीहरूले पाएका छन् त्यो जनमत पाउनुमा हाम्रो जनमत बहकिने खालको छ, उत्तेजक नाराहरूमा केन्द्रित हुने खालको छ । पुराना पार्टी र उनीहरूका केही कमी, कमजोरीहरूको उजागर गर्ने र एकोहोरो गाली गर्ने बाहेक उहाँहरूको आफ्नो के हो ? उहाँहरू के चाहानुहुन्छ ? भन्नेकुरा उहाँहरूले भन्न सक्नुभएको छैन । त्यो नगरी उत्तेजनामा मतदान गर्ने जुन कुरा राम्रो र स्वाभाविक छैन ।
चुनावी परिणामसँगै आगामी सरकारबारे पनि चर्चा हुन् थालेको छ । सम्भवनाहरू केके छन् । माओवादीले के गर्छ ?
गठबन्धन तलमाथि पार्ने बारेमा कुनै छलफल भएको छैन । गठबन्धन यथावत नै रहला भन्ने अनुमान गर्नसक्छौँ । एक/दुई दिनमा बैठक बस्ला र त्यसबारेमा गम्भिरतापूर्वक छलफल होला । तर नेतृत्वको प्रश्नमा त एकचोटी खुलेरै छलफल गर्नुपर्ने हुन्छ । किनभने मतदाताहरूले राजनीतिक नेताहरूको जीवन सुखमय हुने । आम जनताको जीवन नबदलिने किन भयो भन्ने एउटा प्रश्न गरेका छन् । नयाँ पार्टीमा मत जानुको कारण के पनि जनताको जीवन बदलिएन भन्न हो । यसको निम्ति हामीले शेरबहादुरलाई प्रयोग गरेर हेर्यौँ । शेरबहादुरजीले नयाँ किसिमले नेतृत्व गर्नुहुन्छ भन्ने पनि देखिन्न । कांग्रेसभित्र पनि आधा दर्जनको दाबी छ । हामीले नेतृत्व गर्छौं भन्ने ठाउँ पनि हाम्रो असाध्यै थोरै छ । यद्यपि हामी निर्णयात्मक छौँ । यदि हाम्रो पार्टीले नेतृत्व गर्न पाए चुनावमा देखिएका जनताका आक्रोश, आलोचना, गुनासा र विरोधहरू छन् । यी सबै समेटेर देशको अवस्थालाई परिवर्तन गर्ने दिशामा जान प्रतिवद्ध छौँ । माओवादीसँग जनताले आशा गर्ने कुरा पनि जायज छ । जनतालाई अहिले उठेको आक्रोशलाई शान्त पार्न हाम्रो नेतृत्व अपरिहार्य छ । कांग्रेसबाट या अरु कसैबाट यो कुरा सम्भव छैन ।
प्रचण्डको नेतृत्वमा सरकारमा जान तपाईहरूको दाबी हो ?
यो त चुनाव अगाडिको पनि दाबी हो । अहिले पनि हाम्रो दाबी रहन्छ । तर हामीले नेतृत्व पाए हुन्छ नत्र हुन्न भन्ने तहसम्म जान्न । किनभने नेपालजस्तो गरिब देशले तुरुन्तै अर्को मध्यावधि चुनाव घोषणा गर्न सम्भव छैन । त्यसैले अहिले आएको परिणामलाई जोगाएर सरकार सञ्चालन र सरकार निर्माणमा केन्द्रित हुनुपर्छ । तर माओवादीले कमसेकम १०/१५ वर्ष सरकारको नेतृत्व गर्न पायो र देश र जनताको जीवनको परिवर्तन गरेन भने बल्ल माओवादीलाई डस्टबिनमा फाल्नुहोस् । हामी सजाय भोग्न तयार छौँ ।
संसदीय अंक गणितमा कांग्रेसबाहेकको सरकार हुने भयो भने तपाईहरू एमालेसँग सत्ता सहकार्य गर्न तयार हो कि होइन ?
अहिले नै हामीले त्यसबारेमा कुनै निर्णय गरेका छैनौँ । आज देशमा जुन अवस्था आएको छ, नयाँ शक्तिहरू सल्बलाएका छन् । परिवर्तन विरोधि शक्तिहरू, गणतन्त्र मन नपराउनेहरू, संघीयता मन नपराउनेहरू सल्बलाइरहेका छन् । त्यपछाडिको कारक तत्व त फेरि केपी ओली हो । उहाँलाई दुई तिहाइ बहुमतसहितको प्रधानमन्त्री हामीले बनाएका हौँ । त्यसलाई लगेर उहाँले विघटनमा हालिदिनुभयो । पार्टी विभाजनमा हालिदिनु भयो । त्यसकारण अहिलेको सन्दर्भमा फेरि उहाँसँग सहकार्य गरेर जान्छौँ कि जान्नौँ भन्ने बारेमा त यो पार्टी भित्रको छलफल, बहस र प्रस्तावको विषय हुनसक्छ । हुँदै हुन्न भन्ने कुरा पनि भएन ।
संसद्मा राष्ट्रिय प्रजातन्त्र पार्टी पनि बलियो र निर्णायक शक्तिको रूपमा आएको देखिन्छ, यसलाई कसरी लिनुहुन्छ ?
राप्रपा आउनुको पछाडि त म ओलीजिलाई जोड्छु । ओलीजीले काँधमा बोकेर हिँड्नुभयो। राजेन्द्र लिङदेन र कमल थापालाई बोकेर हिँड्नुभयो । त्यसमध्येका केही मान्छेहरू छचल्किएर आएका हुन् । आफ्नो तागत र बलबुताबाट आएका होइनन् । ओलीजीले यसको जिम्मा लिनुपर्छ । जनताको गुनासाहरू साँचो हुन् । तर परिवर्तन विरोधि शक्ति हाबी भइराखेका छन् । त्यो त केपी ओलीले बोकेर ल्याउनुभएको हो । त्यसो उहाँले किन गर्नुभयो । त्यसको जवाफ त उहाँले नै दिनुहोला । हिजो राजाका विरुद्ध एउटा नारा लगाउँदा कयौँ पटक गिरफ्तार हुने, जेल पर्ने मान्छे हामी हौँ । सारा देशका हजारौँ मान्छेहरू हुन् । राजतन्त्रको विरुद्ध बोल्नुपर्दा मर्नुपर्ने हाम्रा कयौँ साथीहरू हुन् ।
सुदूरपश्चिम प्रदेशमा (माओवादी केन्द्र) 'क्लिनस्वीप' भयो, मधेश प्रदेशमा एक सिट मात्रै आयो । सुदूरपश्चिम र मधेश प्रदेशमा पार्टी किन कमजोर ?
नढाँटीकन भन्दा बाहिर मिडियामा पनि आएको छ । मधेशमा विभिन्न गुटहरूले पार्टी भित्रमै खुट्टा तानातानले त्यहाँ पुर्याएको भन्ने एउटा तर्क छ । माओवादीलाई भोट नहाल भन्ने कांग्रेसभित्रको एउटा पाटोले पनि त्यहाँ काम गर्यो भन्ने देखिन्छ । सबभन्दा धेरै उत्पीडन भएको ठाउँ मधेश हो । गरिब र धनीको धेरै ठूलो खाडल भएको ठाउँ पनि मधेश हो । त्यसो हुँदा सबभन्दा बलियो कम्युनिष्ट पार्टी निर्माण हुनसक्ने ठाउँ मधेश हो । तर त्यहाँ एकतिर आपसी मनमुटावहरू र अर्कोतिर कांग्रेसको एउटा पाटोले भोट नहाल माओवादीलाई भन्ने सन्देशको प्रभाह गरेका कारण अवस्था त्यस्तो भएको हो । सुदूरपश्चिममा पाँच वर्ष सरकार सञ्चालन गर्दा कति राम्रो कति नराम्रो गर्यो मसिनो गरी मैले बुझेको छैन । तर जनअपेक्षा अनुसार काम हुन सकेन । सुदूरपश्चिम हाम्रो आधार हो । त्यहाँ हामीले पाँच वर्ष सरकार सञ्चालन गर्यौँ । तर परिणाम आउँदा जिरोमा आउने वा मधेश जहाँ वर्ग संघर्षको केन्द्र हुनसक्छ । आजको सन्दर्भमा नेपालमा कम्युनिष्ट पार्टी सबभन्दा बलियो हुने ठाउँ हो । त्यहाँ हाम्रो उपस्थिति कमजोर हुने कुरा दुर्भाग्यपूर्ण छ ।
संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको संख्याका कारण अस्थिरता आउने हो कि भन्ने आशंकाहरू उब्जिएको छ । संसद्को अहिलेको अंक गणितले यसको पूर्ण कार्यकालमा कस्तो असर पार्ला ?
पुरानो पाँच दलीय गठबन्धनले निरन्तरता पायो र सरकार निर्माणमा गयो भने यो पाँच वर्ष जान्छ । पाँच वर्ष जाने भनेको एकै जनाको नेतृत्वमा नभएर दलहरूको बीचमा केही समय नेतृत्व परिवर्तन गरेर भए पनि पाँचै वर्ष जान्छ र जानुपर्छ । नेपालजस्तो देशले हरेक वर्ष मध्यावधि चुनाव गरेर खर्बौं रुपैयाँको व्ययभार व्यहोर्न सक्दैन । त्यसकारण पनि यसलाई पाँच वर्ष लैजानुपर्छ । धेरै पार्टीको उपस्थितिले राम्रै पनि गर्नसक्ला । सबैको उपस्थितिले सकारात्मक विषयहरू, जनताका विषयहरू सदनभित्र उठ्छन् । जनताको संसद्प्रतिको आशा बढेर जानपनि सक्ला । त्यो लडाईंमा हामीले आफूलाई सही साबित गर्ने चुनौती त छँदैछ । तर गठबन्धन दलहरूभित्र आपसी खिचातानी हुने, विभाजित हुँदै जाने र देश अझ अन्यौलता, अस्थिरतातिर जाने पनि हुनसक्छ । हामी सदनलाई तलमाथि हुन र तुरुन्तै मध्यावधिमा देशलाई धकेल्ने दिशामा जाँदैनौँ । न्युज एजेन्सी नेपाल
* यसअघि यही अन्तर्वार्तामा डिलाराम आचार्यको नाम र तस्बिर हुनुपर्नेमा भूलवस अन्यथा पर्न गएकोले सच्याइएको छ । यसबाट पर्न गएको असुविधाप्रति क्षमापार्थी छौँ । - सम्पादक
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया