इसंवार्ता
‘नयाँ दलहरू खहरे हुन्, खहरेले सिँचाइ हुँदैन’ (अन्तर्वार्ता)
प्यूठानबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सूर्य थापाले बिहीबार पद तथा गोपनीयताको सपथ लिए । नेकपा एमालेका पोलिटब्यूरो सदस्यसमेत रहेका थापा पहिलोपटक संसद् प्रवेश गरेका हुन् ।
तिनै थापासँग इकागजकर्मी कमल विष्टले संसद्मा उनको भूमिका, त्यहाँ उठाउने अजेण्डा, नयाँ दलको उदय, वाम एकतालगायत विषयमा कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश;
पहिलोपटक संसद् प्रवेश गर्नुभएको छ ? कस्तो महसुस भइरहेको छ ?
२०४६ सालपछि नेपालमा संसदीय परिपाटी पुनर्स्थापित भयो । मैले त्यसलाई नजिकबाट नियालेको छु । २०४८ पछि बनेको संसद्लाई पनि मैले सञ्चारकर्मीका रूपमा नजिकबाटै हेर्ने अवसर पाएँ । फरक यतिमात्र हो, अहिले म प्रतिनिधिसभा सदस्यको हैसियतमा आइपुगेको छु । प्यूठानका सचेत तथा विवेकशील मतदाताको सहयोग र समर्थनले यो अवसर प्राप्त भएको छ । यसकारण, मैले धेरै भिन्न अनुभव गरेको छैन । यसलाई स्वभाविक रूपमा लिएको छु । जनप्रतिनिधिका रूपमा यो मेरो नयाँ जिम्मेवारी, भूमिका हो ।
नागरिकलाई नयाँ सांसदहरूबाट बढी अपेक्षा छ । ती अपेक्षा पूरा गर्न तपाईंको भूमिका कस्तो रहन्छ ?
यो प्रतिनिधिसभा त्रिशंकु अर्थात् हङ्ग पार्लियामेन्टका रूपमा आएको छ । पहिलो आवधिक निर्वाचनबाट आएको संसदभन्दा यो बढी अस्थिर हुने देखिन्छ । अस्थिरताका निम्ति खेलमैदान बन्ने निश्चित छ । हङ पार्लियामेन्टमा सांसदहरूका योग्यता र क्षमताभन्दा कमजोरीहरूले बढावा पाउँछ । हामीले ५१ देखि ५६ सालसम्म त्रिशंकु संसद् भोगिसकेका छौँ । यो त्यसैको पुनरावृत्ति हो । यस्तो अवस्थामा हामीले विकृत, विसंगती र विडम्बनाहरूबाट देशको राष्ट्रिय हितलाई रक्षा गरेर अगाडि बढ्नुपर्ने हुन्छ ।
हामी के कुरामा संवेदनशील हुनुपर्छ भने यो संसदीय प्रणालीका लागि विभिन्न पार्टी तथा नेतृत्वहरूले ८० वर्ष संघर्ष गरेका छन् । हामी तिनका प्रतिनिधि पात्रका रूपमा जोडिएका छौँ । त्यसो त लोकतन्त्र तथा संसदीय परिपाटीका लागि हामीले पनि संघर्ष गरेका छौँ । तर, यसका लागि हामीभन्दा अघिल्लो पुस्ताको बढी भूमिका छ । पहिलोचोटी निर्वाचित भएर आउनेहरूले पुरानो पिढी केही होइन, हामी नै सबथोक हौँ भन्ने ढंगले कुरा गर्नु हुँदैन ।
यहीँ पार्लियामेन्टमा ८ पटक निर्वाचन लडेर हारजितका उकालीओराली भोगेर आउने माननीयहरू पनि हुनुहुन्छ । संसद्मा ४८ सालदेखि अपराजित रहँदै आउनुभएका शेरबहादुर देउवाजी पनि हुनुहुन्छ । नागरिकबाट एकपटक बाहेक अनुमोदन भएर आउनुहुने हाम्रा अध्यक्ष कमरेड ओली पनि हुनुहुन्छ । रामचन्द्र पौडेलजी पनि एकपल्ट मात्र पराजित हुनुभएको थियो । अहिले पुन: निर्वाचित भएर आउनुभएको छ । हाम्रा लागि त्यो पिढीको मार्गदर्शन र अनुभव अत्यन्तै महत्वपूर्ण छ ।
तर, आजको पुस्ताले नागरिकका महत्वाकांक्षा, अजेन्डा, सपना र राष्ट्रिय हितलाई ध्यानमा राखेर अगाडि बढ्नुपर्छ । नयाँले यी कुरालाई आत्मसात गरेर पुरानो पुस्ताको भन्दा अझ धेरै योग्यतम ढंगले अगाडि बढ्न आवश्यक छ । हामी संसद्मा आइरहँदा हामीले यसलाई अझ महत्व दिएका छौँ ।
यो निर्वाचनबाट संसद्मा केही नयाँ दलहरूको उदय भएको छ । एमालेलगायत पुराना दलबाट आजित भएर मतदाताले नयाँलाई राेजेका हुन् ?
पार्टी विभाजनका बाबजुद एमालेले २०७४ को निर्वाचनकै हाराहारीमा मत पाएको छ । हामीले त्यतिबेला ३१ प्रतिशत मत पाएका थियौँ, अहिले पनि त्यसकै हाराहारीमा छ । यद्यपि नागरिकमाझ बहुमतको सरकार बनाउँछौँ भनेर गरेको दाबी पूरा भएन ।
२०७४ मा पाएको लोकप्रिय मतमा अहिले थोरै मात्र कमी आएको छ । तैपनि हामी कांग्रेसभन्दा सवा लाख बढी मतले अगाडि छौँ । एमाले २८ लाख ४५ हजार ६ सय ४१ मतसहित पहिलो पार्टी हो । हामीले प्रत्यक्षमा झन्डै एक दर्जन सिट अत्यन्तै न्यून मतान्तरले गुमाउनुपर्यो । एक ठाउँमा तीन मतले त एक ठाउँमा ६ मतले पराजित भयौँ । तर, तुलनात्मक रूपमा हामीलाई भन्दा कांग्रेस, माओवादी केन्द्रलगायतलाई बढी क्षति भएको छ । कांग्रेसले १३ र माओवादी केन्द्रले ७ प्रतिशत मत गुमाएका छन् ।
१० वर्ष जनयुद्ध गरेर, १७ हजार मान्छे मारेर आएको माओवादी केन्द्रले १८ सिट मात्रै जित्दा चार महिनाअगाडि खुलेको स्वतन्त्र पार्टीले समग्रमा २० सिट जितेर जित्यो । घन्टी बजेको सत्य हो, यसलाई नकार्न मिल्दैन । यसअर्थमा नयाँ पार्टीको उदयको कुरा आंशिक सत्य हो, पूर्ण होइन ।
घण्टी एमालेविरुद्ध बजेको होइन भन्न खोज्नुभएको हो ?
घन्टीप्रति तटस्थ मतदाता आकर्षित भएका हुन् । गठबन्धनका दलहरूभित्रको असन्तुष्टि र रवैयाविरुद्ध पनि घण्टी बजेको हो । कांग्रेसले १३ र माओवादीले ७ प्रतिशत लोकप्रिय मत गुमाउनु यसैको उपज हो । यद्यपि पार्टी विभाजनका कारण हामीले पनि केही सिट गुमायौँ । तर, हामीलाई १० सिट पनि जित्दैनन् भनेर खिसीट्ँयुरी गर्नेहरूका अगाडि हामीले क्रान्ति नै गरेका हौँ । हामी लोकप्रिय मतमा पहिलो र प्रत्यक्षमा दोस्रो भएको कुराले गठबन्धनका मान्छेहरूलाई रनाहा पारेको छ । उनीहरूले तोरीकै फूल देखेका छन् ।
नवआगन्तुक दलहरू टिक्छन् या टिक्दैनन् ? यो उनीहरूको व्यवहार र भूमिकामा निर्भर हुनेछ । अहिलेलाई भने उनीहरू वर्षाको खहरेका रूपमा आएका छन् । वर्षाको खहरेले सिँचाइ हुन्न । उनीहरू नहर वा कुलोमा परिणत हुन्छन् कि हुँदैनन् ? त्यो हेर्न बाँकी नै छ ।
ती दलहरू कुलो र नहरमा परिणत हुँदै सांगठनिक रूपमा बिलयो भएर देश र जनतको हितका निम्ति काम गर्छन् भने कोही दुःखी हुनुपर्ने कारण छैन । तर, यसको अर्थ पुराना दलहरूप्रति नागरिकको मोहभंग भयो, उनीहरू अलोकप्रिय भए भन्ने होइन । तर, उम्मेदवार चयनमा ढंग नपुर्याइएका, जनताले ज्यादती भयो भन्दाभन्दै पनि जबरजस्ती गरिएका ठाउँहरूमा चाहिँ नागरिकरूले बडो विवेकपूर्ण र न्यायपूर्ण फैसला गरेका छन् । यसपालिको निर्वाचनको यो उल्लेख्य पक्ष रहेको छ ।
गत निर्वाचनमा पहिलो बनेको एमाले यसपालि दोस्रोमा खुम्चियो । समानुपातिकमा पहिलो बने पनि प्रत्यक्षमा झन्डै ३६ सिट गुमायो । यसबारे पार्टीमा संस्थागत समीक्षा भएको छ ?
हाम्रो केन्द्रीय कमिटीको बैठक बसेको छैन । सचिवालयको बैठकमा समीक्षा भएको छ । जिल्ला जिल्लाबाट समीक्षा रिपोर्टहरू आइरहेका छन् । एमाले अरुको भन्दा आफ्नै कारणले कैयौँ ठाउँमा पराजित भएको छ । आफ्नै ढिलासुस्ती, संरचनात्मक परिचालनका कमीलगायत विभिन्न कारणले पछाडि परेको छ । एमालेले गठबन्धनलाई जहाँ चिर्न सकेन त्यहाँ पराजित भयो, जहाँ सक्यो त्यहाँ प्रतिकूलता बाबजुद विजयी भएको छ ।
मैले अघि पनि भनेँ हामी बहुमतको सरकार बनाउँछौँ भनेर दाबी गरेका थियौँ, त्यो पूरा भएन । अघिल्लो निर्वाचनमा प्राप्त सिट संख्यालाई पनि कायम गर्न सकेनौँ । तर, हाम्रो तुलनामा अरु धेरै खस्किएका छन् । २३ सिट लिएर गएको एकीकृत समाजवादी कांग्रेस र माओवादीको समर्थन पाउँदा पनि राष्ट्रिय पार्टी बन्न सकेन । नागरिकले उसलाई राष्ट्रिय पार्टीका निम्ति पनि योग्य ठानेनन् ।
यति ठूलो गठबन्धन बनाएर जाँदा कांग्रेसले बहुमत ल्याउनुपर्थ्यो, तर ल्याउन सकेन । लोकप्रिय मतमा एमालेभन्दा पनि पछाडि पर्यो । जनताले सबैभन्दा रुचाएको र आशा गरेको पार्टी त हामी नै हौँ भन्ने तथ्यले देखाएको छ ।
एमाले डेढ वर्षयता प्रतिपक्षीमा छ । प्रतिपक्षीले के डेलिभरी गर्नू रु तर, यहाँ त एमालेले आफू सरकारमा हुँदा अगाडि सारेका कामहरू अझै सम्पन्न भएका छैनन् । पुसमा सकिसक्नुपर्ने कामहरू अझै अलपत्र छन् ।
मुल कुरा के हो भने परामदेशको सरकारले संविधान च्यात्ने काम गर्यो । सभामुख सभामुख जस्ता भएनन् । यसले नागरिकमा निराशा बढायो । त्यसको असर त स्वाभाविक रूपमा पुराना दलहरूलाई परेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले भीम रावल, घनश्यामलगायत केही नेतालाई टिकट नदिएको कारण पनि एमालेले निर्वाचनमा धेरै सिट गुमायो भन्ने विश्लेषण राजनीतिक वृत्तमा छ । यसलाई पार्टीले कसरी हेरेको छ?
भीम रावलजीले अन्तिममा पत्रकार सम्मेलन गरेर नै पार्टीविरुद्ध केही गर्न बाँकी राख्नुभएन । उहाँका कारणले दुई–तीन सिटमा पार्टीलाई क्षति भयो होला, तर आम रूपमा उहाँको भूमिका पार्टीको पक्षमा रहेन । पार्टी छाडेर जानुभएन, तर पार्टीमै सबेर अन्तरध्वंस मच्चाउनुभयो र पार्टीका उम्मेदवारलाई हराउनका निम्ति भूमिका खेल्नुभयो भन्ने रिपोर्ट आएको छ । पार्टीघातीको रोल खेल्नुभयो ।
अब घनश्यामजीको के कुरा गर्नु ? उहाँको सिद्धान्तमा सुकेनाश नै लाग्यो । पार्टीमा टिकट नपाइसकेपछि अत्यन्तै निकृष्ट ढंगले पदलोलुपताको अभ्यासमा जानुभयो र प्रचण्ड कहाँ जानुभयो । गठबन्धनसँग साँठगाँठ गरेर गठबन्धनको उम्मेववार बन्नुभयो । गठबन्धनबाट उहाँ रूपन्देही–१ मा एमालेको उम्मेदवारविरुद्ध लड्नुभयो । तर, उहाँले चुनाव हार्नुभयो । हाम्रा कामरेड छविलाल विश्वकर्माले जित्नुभयो । घनश्यामको सिद्धान्त ढोंग, पाखण्ड र पदलोलपुता रहेछ भनेर व्यवहारले देखायो । उहाँको कारणले पार्टीलाई थोरै पनि क्षति भएको छैन ।
सत्ता गठबन्धन सरकार बनाउने गृहकार्यमा जुटिसकेको छ । एमाले यो रेसमा सहभागी हुन्छ कि हुँदैन ?
एमालेले कुनै पनि पद माग गरेको छैन । राष्ट्रिय शक्तिको हिसाबमा हामी दोस्रो पार्टी हौँ । लोकप्रिय मतमा भने पहिलो । एमालेको उपस्थिति कहाँ हुन्छ भन्ने सन्दर्भमा दलहरूबीच छलफल गरेर जाँदा एउटा सिनारियो बन्ला । तर, गठबन्धन बनाएर जाँदा पनि उहाँहरूले बहुमत ल्याउन सक्नुभएन । उहाँहरूले सरकार बनाउन अध्यादेशलाई अस्त्रका रूपमा अगाडि बढाउनुभयो । जुन बाटोको उहाँहरूले हिजो विरोध गर्नुभएको थियो, अहिले आफैँ त्यही बाटोमा निर्लज्जतापूर्ण हिँडिरहनुभएको छ । उहाँहरू कसरी सत्ताको लिस्नो चड्ने भन्ने कोशिसमा हुनुहुन्छ । उहाँहरूले सरकार सके बनाउनुहोस् । हामी पर्ख र हेरको अवस्थामा छौँ ।
हामी कसैसँग गठबन्धन गरेर पनि सरकार बनाउन सक्ने स्थितिमा छैनौँ । यस्तो अवस्थामा हाम्रा स्वाभाविक रूपमा दुईटा भूमिका हुन्छन् । पहिलो, सबैले स्वीकार गरे हाम्रा अध्यक्ष कमरेड ओलीको नेतृत्वमा सरकार बनाउने । त्यो सम्भावना पूर्ण रूपमा टरिसकेको पनि छैन । तर, हामी सरकार बनाउनकै निम्ती गठबन्धन जस्तो अनेक प्रकारका सेटिङ गर्ने पक्षमा चाहिँ छैनौं ।
दोस्रो, प्रतिपक्षीको भूमिका निर्वाह गर्ने । हामीलाई प्रमुख प्रतिपक्षीको हैसियत नागरिकले प्रदान गरेकै छन् । त्यसैले हामी सत्ता केन्द्रित चलखेल र सेटिङमा लाग्दैनौँ । यसरी नै नागरिकले सेवा गर्नेछौँ । अध्यक्ष कमरेड ओलीले पनि जनताको सेवामा लाग्न निर्देशन दिनुभएको छ ।
संघीय सांसद विधायकीको भूमिकामा हुन्छ । तर, चुनावी अभियानमा लगभग सबै उम्मेदवारले मतदातालाई विकासको सपना बाँडे । तपाईं पनि मज्जैले विकासको एजेन्ट बन्नुभयो नि ?
हामी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा छौँ । भन्नुको अर्थ देशको शासकीय स्वरूप निश्चित भइसकेको छ । केन्द्र, प्रदेश र स्थानीयगरी तीनै तहका सरकारबाट नागरिकलाई विकासको अपेक्षा छ । नागरिकहरू पूर्वाधार विकास होस्, दुर्गम ठाउँहरू सुगम होस्, देखिने गरी परिवर्तन होस्, आफ्नो जीवन सहज होस् भन्ने चाहन्छन् । मलाई लाग्छ जोकोही उम्मेदवारबाट पनि नागरिकले यही अपेक्षा गरेका छन् ।
मैले ६४ वटै वडाका प्यूठानीको माग संकलन गरेको छु । उहाँहरूले आफ्ना अपेक्षा मलाई लिखित रूपमै दिनुभएको छ । मतदाताले राज्य संरचना र नीतिका सवालमा विरलै माग गर्नुभएको छ । किनभने संरचना संविधान बनिसकेपछि निश्चित भइसक्यो । त्यसैले, विषय विकास नै हो ।
धुलाम्मे बाटाहरू कालोपत्रो होऊन्, पर्यटकीय क्षेत्र विकास होस्, सांस्कृतिक सम्पदाका पूर्वाधारहरू बनून्, स्कुल तथा कलेज राम्रा होऊन्, स्वास्थ्यमा सबैको सुलभ र सरल पहुँच होस् भन्ने कुराहरू नै नागरिकको प्राथमिकता हो । उनीहरूले आफ्नो वर्तमान र भविष्यसँग जोडिएका कुराहरू प्रतिनिधिसँग अपेक्षा गर्नु स्वभाविक नै हो ।
हो, सांसद्हरूको भूमिका नीति निर्माणमा बढी हुन्छ । तर, हाम्रो जस्तो विकाशोन्मुख मुलुकमा नागरिकहरूले त्यसरी बुझेका हुँदैनन् । उनीहरूलाई के मात्र थाहा हुन्छ भने, सांसदको पहुँच सिंहदरबारसम्म हुन्छ, उनीहरूले चाहे पनि हाम्रो ठाउँमा विकास हुन्छ ।
भनेपछि विकासको अजेन्ट बन्नु तपाईंहरूको बाध्यता हो ?
बाध्यता होइन । गाउँमा समस्या छन्, त्यसलाई समाधान गर्नका निम्ति भूमिका त खेल्नैपर्यो नि । मेरो गाउँमा बिजुली चाहिएको छ । प्यूठान जिल्लाभरीमा खबाङ, स्याउलिबाङ, रजवारा र अर्खा चारवटा वडामा बिजुली पुगेको छैन । यस्तो अवस्थामा म कानुन बनाउन जाने हो भनेर उल्टो कुरा त गर्नुभएन नि । बिजुली ल्याउन मैले अगुवाइ गर्छु । गर्छु भनेर नै आएको हुँ ।
चुनावमा अनपेक्षित हार व्यहोरेपछि कम्युनिस्टहरूबीच वाम एकताको गाइँगुइँ फेरि चलेको छ । वाम गठबन्धनको सन्दर्भमा एमालेभित्र छलफल भएको छ कि छैन ?
यसमा मेरा दुइटा विचार छन् । एउटा व्यक्तिगत र अर्को पार्टीगत ।
व्यक्तिगत रूपमा भन्नुपर्दा म वाम एकताको पक्षमा छैन । मलाई हराउन सबैभन्दा बढी सक्रिय नेपालका वामहरू नै थिए । नेकपा मसाल, राष्ट्रिय जनमोर्चा, नेकपा एस, माओवादी केन्द्रलगायतहरू । यिनीहरूका सबै खाले हर्कतलाई पराजित गरेर आएको मान्छे हुँ । त्यसैले, पाँच थरी उपियाँ जम्मा गरेर वाम एकता गरौँ भन्ने पक्षमा म छैन । यसको अर्थ पनि छैन ।
अब पार्टीगत कुरा गरौँ । पार्टीले यसबारे कुनै छलफल गरेको छैन । विचारधारात्मक रूपमा म वाम एकताको सम्भावना देख्दिनँ । मलाई के लाग्छ भने एमाले र कांग्रेस मिलेर देशलाई स्थिरता दिनू सबैभन्दा उचित बाटो हुन्छ । जनमतका हिसाबले पनि पहिलो र दोस्रो पार्टी मिलेर जाँदा देशलाई फाइदा हुन्छ । नागरिकको अथक त्याग र समर्पणले स्थापित सिस्टमलाई सफल बनाउन एमाले र कांग्रेस मिलेर जानुपर्छ । यसो गर्दा सानातिना समूहका नाममा च्याँखे थाप्नेहरूका च्याँखे पनि बन्द हुन्छन् । बल्लबल्ल एक सिट जित्ने, दुई सिट जित्ने, १७ सिट जित्नेहरूलाई प्रधानमन्त्री चाहिएको छ । नेपालको विकास, समृद्धि र पद्धति बसाल्नका लागि यी च्याँखेहरू बन्द हुनुपर्छ ।
म नेपालमा टु पार्टी सिस्टमको पक्षमा छु । एमाले र कांग्रेस आजमात्र होइन, ८० वर्षदेखि सँगै छन्, जुम्ल्याहा सन्तान र दाजुभाइका रूपमा । कहिले एमाले दाइ हुन्छ, कहिले कांग्रेस दाइ । त्यसैले, दुवै मिलेर जानुपर्छ ।
तस्बिर : अनुज बज्राचार्य/इकागज
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया