वार्ता

क्रियाशील सदस्यता वितरणमा सभापति र उपसभापतिको प्रभाव भएका ठाउँमा खेल भयो

इकागज |
बैशाख १६, २०७८ बिहीबार १५:१९ बजे

कांग्रेसका नेता रामचन्द्र पौडेलले आफ्‍नै पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लोकतान्त्रिक व्यवस्था समाप्त पार्न लागेको गम्भीर अभियोग लगाएका छन् । ओलीले विघटन गरेको प्रतिनिधि सभा सर्वोच्च अदालतको आदेशले प्रतिनिधिसभा पुनःस्थापना भएपछि प्रधानमन्त्रीलाई राजीनामा गराउने वा अविश्वासको प्रस्ताव दर्ता गराउनुपर्ने कर्तव्यबाट कांग्रेस च्यूत भएको टिप्पणी उनको छ । उनले पार्टीले संस्थागत रूपमा आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरिसक्दा पनि नेतृत्वले त्यसतर्फ पहल कदमी नगरेको भन्दै राज्यसत्ता र पार्टी सत्ता दुवैको नेतृत्वमा रहेकाहरूबाट लोकतान्त्रिक विधि र प्रक्रियालाई उल्लंघन गर्ने काम गरेको  टिप्पणी गरे । उनले पार्टी सभापति देउवा पार्टीको अस्तित्व समाप्त पार्ने दिशामा अग्रसर भएको आरोप लगाए । प्रस्तुत छ, नेता पौडेलसँग गरिएको कुराकानीको सारसंक्षेप :

कोभिड १९ को दोश्रो लहर चलेको छ । सरकारको तयारीबारे तपाईको प्रारम्भिक टिप्पणी के छ ?


आज भन्दा ३ हप्ता अगाडि प्रधानमन्त्रीले बालुवाटारमा सर्वदलीय बैठक गर्नुभएको थियो । त्यत्तिबेला मैले सरकारलाई अब तुरुन्तै तयारीमा जुट्नुपर्‍यो । आइसीयू, भेन्टीलेटर बढाउनुपर्‍यो । अस्पतालहरूको प्रबन्ध राम्रो गर्नुपर्‍यो । स्वास्थ्य उपकरण, सुरक्षा उपकरणहरूको व्यवस्था तुरुन्त गरिहाल्नुपर्‍यो र सिमानाका व्यवस्थित गर्ने काम सबैभन्दा पहिला ध्यान दिनुपर्‍यो भन्‍ने सुझाव दिएको थिए । तर सरकारले त्यसलाई गम्भीरतापूर्वक लिएन । त्यसले गर्दा अहिले आइसीयू वेड अभाव, भेन्टिलेटरको अभाव भइरहेको छ । सिमाबाट मानिसहरू अन्धाधुन्ध प्रवेश गरेका छन् । सिमानाकामा चेक नहुँदा गाउँमा पसेर रोग फैलाउने काम भइरहेको छ । यो राज्यको लापर्बाही हो । यसले गर्दा जनता कोभिडको मारबाट त्रसित भएका छन् ।  

अब पार्टी राजनीतिको कुरा गरौ, एकजनामा कोभिड-१९ को संक्रमण देखिएको थियो, तर ठूलो आशा गरिएको केन्द्रीय समितिको बैठक नै स्थगित भयो । के भन्‍नुहुन्छ ?

यो बैठकबारेमा मेरो उपसभापतिसँग कुरा पनि भयो । मैले त्यत्तिबेलै भनेको थिएँ, सानो सानो निहुँमा महाधिवेशनको मुखमा आएर कति महत्वपूर्ण निर्णयहरू गर्नुपर्नेछ । महाधिवेशनलाई असर पार्ने कुराहरू छन् । यतिखेर बैठक किन स्थगित गर्ने भन्दाखेरी उहाँहरूले तपाई संवेदनशील हुनुभएन भन्ने कुरा गर्नुभयो । मैले भनेँ-संवेदनशिल त किन नहुनु ? तर सामाजिक दूरी कायम गरेर अन्त त काम त चलाइराखेकै छन् नि त ।  सरकार पनि त चलिराखेकै छ । क्याबिनेटका मिटिङहरू पनि भइराखेकै छन् ।

हाम्रो कार्यसमितिलाई अलिकति डिस्टेन्स मिलाएर, एक दुई जना जसलाई देखिएको छ उनीहरू बाहिर बसेर केन्द्रीय कार्यसमिति बैठक सञ्‍चालन गरौ भन्दा रोकिएको छ । मैले ३ वर्ष अगाडि नै हाम्रो पार्टीको महाधिवेशनका लागि आउन सक्ने समस्याहरूलाई बुझेर नै अहिलेदेखि नै कार्यतालिका बनाएर काम गर्न थालौं । हामीले समयबद्ध भएर काम गरौ भनेर कार्यसमिति र महासमितिमा पनि प्रस्ताव राखेकै थिएँ । तर त्यो बेलामा त्यसलाई महत्व नदिई पन्छाउने कुरा गरियो । आज आएर साढे ५ वर्षमा अधिवेशन हुन्छ भनेर सभापतिले त्यही बेलामा जसरी भन्नुभयो र मेरो प्रस्तावलाई तर्काउनुभयो । यत्रो संकटमा हामी पुगिसकेका छौ ।

महाधिवेशन समयमै सम्पन्न गर्ने काममा सभापति देउवाले सक्रियता नदेखाउनुको कारण के देख्नुहुन्छ ?

नेपालमा सबैभन्दा ठूलो चिन्ता भनेको लोकतन्त्रमाथि यत्रो खेलवाड भइरहेको छ । सत्ता हत्याएपछि, सत्तामा पुगेपछि, चाहे त्यो पार्टीको सत्ता होस् चाहे त्यो राज्यको सत्ता, जब सत्तामा पुग्छन् अनि त्यहाँ बसेर अन्धाधुन्ध कमिसनको खेल चल्छ  । अर्बौका खेलहरू हुन्छन् । जसरी पनि आफु सत्तामा टिकिरहने, जसरी पनि सत्तालाई आफ्नो ग्रिपबाट उम्कन नदिने र लोकतान्त्रिक मूल्यमान्यता र नैतिकता भन्ने कुरा केही पनि नराख्‍ने । प्रधानमन्त्री आफूले गरेको विघटन (प्रतिनिधि सभा)लाई जब अदालतले फर्काइदियो उनी एक मिनेट बस्‍नुहुन्थेन । उनले तुरुन्तै राजीनामा गर्नुपर्थ्यो । उल्टो उनी नकचरो भएर के भनिरहेका छन् भने- यो संसदको के काम ? यसले त विकृति ल्याउँछ ।

पार्टी प्रवेशको नाममा मनपरि ढंगले क्रियाशील सदस्यता बाँड्ने र पार्टी कब्जा गर्ने प्रयास भइरहेको छ । 

विकृति कसले ल्याईरहेको छ ? विकृति त अहिले सत्तामा रहेका मुठ्ठीभर केही नेताहरू, चाहे पार्टी सत्ता होस्, चाहे केन्द्रीय सत्ता होस्, सरकारको राज्यसत्ता होस्, तिनीहरूले देशमा विकृति ल्याएका छन् । चुनावमा जानुपर्छ, यो संसद काम छैन भन्ने प्रधानमन्त्री अहिले पोखरामा के गर्दैछन् ? लुम्बिनी प्रदेशमा के गरे ? केन्द्रमा के गर्दैछन् ? अनहोली (अप्राकृतिक गठबन्धन) एलाइन्स गर्दैछन् । लोकतन्त्र भनेको त मर्यादापूर्ण व्यवस्था हो । जीवनपद्धति हो । तर त्यतापट्टी त वास्तै छैन । मूल्य मान्यताप्रति वास्तै छैन । देश र जनतामा के असर पर्छ भन्‍ने वास्तै छैन । आम जनतामा राजनीति र व्यवस्थाप्रति नै वितृष्णा फैलाउने काम नेताहरूले गरिरहेका छन् । त्यसो भएको हुनाले हाम्रो पार्टीभित्र पनि देशको राज्यसत्ता भित्र पनि अहिले जुन खेलहरू भइरहेको छ , यसले चिन्तित बनाएको छ मलाई ।

तपाईंको बुझाई हाम्रा लोकतान्त्रिक प्रक्रिया र अभ्यासहरू अंगिकार गर्नुपर्ने कुराबाट कांग्रेस र प्रधानमन्त्री केपी शर्मा ओली दुवै च्यूत हुँदैछन् भन्‍ने हो ?

पार्टीभित्र परेको खटपटलाई आधार बनाएर जसरी प्रधानमन्त्रीले संसद्माथि प्रहार गर्नुभयो, संविधानमाथि जसरी प्रहार गर्नुभयो र उहाँले चालेको कदमपछि गलत सावित भयो । त्यो कदम गलत सावित भइसकेपछि कांग्रेसले प्रधानमन्त्रीलाई तुरुन्तै राजीनामा गर भन्‍नेपर्ने र राजीनामा नगरेपछि अविश्‍वासको प्रस्ताव सदनमा पेस गर्नुपर्ने थियो । संख्या जतिसुकै होस् कर्तव्य र दायित्व त पूरा हुन्थ्यो नि । हामी चाँहि यहाँ जोखना हेरेर बस्ने ? जोखना हेरेर बस्दा पहिलो अवसर गुम्यो । जुन बेलामा एमाले र माओवादी बनाएर अदालतले फैसला गरेको थिएन । त्यो अवस्थामा कम्युनिष्ट पार्टी आफैमा विभाजित भएर बहुसंख्यकले अविश्वासको प्रस्ताव अगाडि बढाएका थिए । त्यो बेला नै कांग्रेसले हाल्नुपर्ने (अविश्वासको प्रस्ताव) थियो । त्यो बेलाको अवसर गुम्यो ।

त्यो अवसर जानी जानी गुमाइयो ।  के हो भित्र साँठगाँठ थाहा छैन । त्यसपछि अहिले पनि पछाडि आएर कांग्रेसले जसरी तदारुकताका साथ धर्म निभाउनुपथ्र्यो, त्यो धर्म निभाएको छैन । पार्टी नेतृत्वले त्यो धर्म निभाएको छैन । त्यो क्रियाशिलता र कर्तव्यपरायणता देखाएको छैन । हाम्रो नेतृत्वमा सरकार बनाउने केपी ओलीलाई राजीनामा गर्न लगाउने अथवा  हटाउने भनेर हाम्रो पार्टीमा हामीले निर्णय त गर्यौ । केपी ओली हटाउने भनेर पार्टीले निर्णय गर्ने, पार्टी नेतृत्वले चाहीँ आलटाल गरेर बस्ने काम भयो । त्यसो भएको हुनाले मैले के देखिराखेको छु भने– जो नेतृत्वमा छन्, राज्यको नेतृत्वमा अथवा पार्टी नेतृत्वमा उनीहरू लोकतान्त्रिक मुल्य मर्यादाप्रति संवेदनशील भएनन् । उनीहरूलाई आफ्नो सत्ताको मात्रै चिन्ता भयो । त्यसले गर्दा मुलुकमा लोकतन्त्रमाथि चिन्ता छाउन थाल्यो । यो अहिलेको चिन्ताको विषय हो ।

कोभिडका कारण महाधिवेशनका कार्यतालिकाहरू क्रमशः प्रभावित हुदै जान्छन्, भदौमा महाधिवेशन नगर्दा बैधानिक रुपमा नै कांग्रेस रहन्न । महाधिवेशन गर्ने बाटो के हुन्छ त ?

वैधानिकता र अवैधानिकता बारे हाम्रो पार्टीको नेतृत्वले परवाह नै गर्न छोड्यो । यस्ता कुरामा चिन्ता नै भइराखेको देखिन्न । हाम्रो पार्टीको कार्यकाल सकिएको त डेढ वर्ष भइसक्यो । अहिले पनि मानिसहरूलाई चिठ्ठी काटिदै छ । नियुक्ति बाडिँदै छ । देशभरी त यो विभागको, प्रतिष्ठानको, उपशाखाको सदस्य भइस् भन्दै मान्छेहरूलाई अन्धाधुन्द अवैधानिक तरिकाबाट पत्र काट्ने काम भइरहेको छ । अहिले पनि भ्रष्ट र विकृत तरिका अपनाएर पद दिएर आफ्नो पक्षमा जनमत बनाउने घिनलाग्दो खेलहरू चलिराखेको छ । अहिले सबै क्षेत्रमा स्मुथल्ली क्रियाशील सदस्यता वितरण भयो तर जहाँ सभापति र उपसभापतिको प्रभाव छ त्यहाँ खेल भयो । पार्टी प्रवेशको नाममा मनपरि ढंगले क्रियाशील सदस्यता बाँड्ने कब्जा गर्ने खालको नितिनियत लिइएको छ । त्यसैले यो पार्टी कसरी बचाउने भन्ने संकटमा हामी छौ ।

पार्टी सभापतिले विधिविधान मिचेर गनु नहुने काम गर्नुभयो भनेर दोष लगाएर मात्रै त हुदैन होला नि ? ट्रयाकमा त ल्याउनुपर्ने होला ? कसरी ल्याउन सकिन्छ ?

पार्टीलाई ट्रयाकमा ल्याउन हामीले गर्ने कुरा गरिरहेका छौ । तर, नेतृत्वले ठिक ढंगले अधिवेशन गराउने कुरामा इमान्दारीता नदेखाउने हो भने हामी मात्रै बाहिर कराएर अधिवेशन समयमा सम्पन्न नहुन सक्छ । अधिवेशन भएन भने पार्टीको वैधानिकता नै संकटमा पर्छ । पार्टी विधानमा त संकट परिसक्यो । पार्टीको विधानले त हामी सदस्य नै होइनौँ । शेरबहादुर जी सभापति पनि होइन । म केन्द्रीय सदस्य पनि होइन । अब देशको संविधान अनुसार भदौ भन्दा उता हामी कोही पनि सदस्य रहदैनौ । कोही पनि पदाधिकारी रहदैनौं । हाम्रो कुनै पनि दाबी पार्टीमा हुँदैन । त्यसकारण अराजक स्थिति जन्मन्छ । त्यस्तो अवस्था आउँछ भने अल्टरनेटिभ उपाय सोच्ने कुरा हामी विचार गर्दैछौं । अहिले म भन्दिनँ कुन चाही अल्टनेटिभ हुन्छ भनेर तर पार्टीको अस्तित्व त बचाउनुपर्‍यो । कांग्रेस त यो देशमा बच्‍नुपर्‍यो । लोकतन्त्रको पहरेदार कांग्रेसलाई लोकतान्त्रिक मूल्य, मान्यता अनुसार बचाएर राख्‍ने कुरामा हामी प्रयत्‍न गर्छौ ।


तपाईंहरूले आफु पक्ष मात्रै छलफल हो कि केन्द्रीय समितिमा बैकल्पिक बाटो के हुन्छ भनेर छलफल गर्नुभएको छ ?

केन्द्रीय समितिमा कुनै छलफल भएको छैन । हुन त मैले आफ्ना कुरा समितिमा थोरै प्रवेश त गराएको छु । अहिले विकल्पबारे छलफल गर्ने बेला भएको छैन । अहिले त यही अधिवेशनलाई नै सम्पन्‍न गर्नेमा हामी छौ ।


Author

थप समाचार
x