वार्ता

‘केन्द्रले ‘ग्राउन्ड’ नबुझी निर्णय गर्‍यो’

अन्तर्विरोध भए पनि हामी केन्द्रकै निर्णय कार्यान्वयन गरेर जान्छौं

अनिष भट्टराई |
बैशाख १८, २०७८ शनिबार १८:५० बजे

राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले गएको वैशाख १ मा वक्तव्यमार्फत् गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई दिएको समर्थन फिर्ताको घोषणासहित नेपाली कांग्रेसको नेतृत्वमा दर्ता हुने अविश्‍वास प्रस्तावमा सहयोग गर्ने निर्णय सार्वजनिक गरे । त्यो एकल निर्णय भन्दै राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश संसदीय दलका नेता कृष्ण थापाले प्रदेश संसदीय दलको औचित्य नभएको प्रतिक्रिया दिए । आफूहरूको इच्छाबिना केन्द्रको निर्णय अनुसार ‘कम्फर्टेबल’ सरकार बनाउन सहयोग गर्ने उनले बताए । केन्द्रीय अध्यक्ष केसीले गरेको निर्णयमा थापाको स्पष्ट असहमति थियो, तर पार्टीको निर्णयविरुद्ध जान अनुशासनले नदिने उनले बताएका थिए । थापामा मात्र होइन, केन्द्रले गरेको निर्णयमा कार्यकर्ताहरूको पनि असहमति रह्यो । यसबारेमा इकागजकर्मी अनिष भट्टराईले बागलुङ जिल्ला जनमोर्चा अध्यक्ष अमर थापासँग कुराकानी गरेका छन् :

केन्द्रले गरेको अविश्‍वास प्रस्तावसम्बन्धी निर्णयमा तपाईंको धारणा के छ ?


अविश्‍वास प्रस्तावमा मत त सांसदहरूको विषय भयो । सांसदहरूले अविश्‍वासको पक्षमै मतदान गर्छौं भन्‍नुभएकै छ । सांसदहरूले गर्ने, पार्टी नेतृत्वले गर्ने निर्णयमा हामीले सहमति त गर्नु नै पर्‍यो । तर पार्टीमा ठीक/बेठीक भन्‍ने बहस भइहाल्छ । कार्यकर्ताले पनि यो सही छैन भन्‍ने हुनु अस्वाभाविक भएन ।

बागलुङमा २०४८ को चुनावदेखि जनमोर्चा र एमालेबीच सहकार्य हुँदै आएको छ, यो निर्णयले पछि आउँदा चुनावलाई असर गर्दैन ?

एमालेसँग हाम्रो धेरै लामो सहकार्य छ । २०६४ को संविधानसभा निर्वाचनमा छुट्टै उठ्यौं, ७० मा पनि छुट्टाछुट्टै उठ्यौं । हामी छुट्टाछुट्टै उठेका पनि छौं, मिलेर गएका पनि छौं । ७० मा हामी छुट्टाछुट्टै उठेपछि ३ सिट कांग्रेसले जित्यो । ६४ मा एमालेसँग तालमेल नभए पनि परी थापा, लीलबहादुर थापाहरूले अर्को पार्टी खोल्नुभयो । तर उहाँहरूसँगै गठबन्धन गर्‍यौं ।

अनि उहाँहरूले १ नम्बरमा जित्दा हामीले २ नम्बर क्षेत्रमा जित्यौं । हामीसँग मिश्रित अनुभव पनि छन् । पार्टी फरक भएपछि आ-आफ्ना कार्य हुने, आ-आफ्ना दाउपेच हुने स्वाभाविक भए । तर विचार मिल्ने, नीति, कार्यक्रम, सिद्धान्त मिल्ने भएको हुँदा हामीसँगै जाँदा उपयुक्त हुन्छ भनी सँगै गएका छौं । परिणाम के छ भन्दा हामी छुट्टिँदा हारेका छौं, जुन बेला हामी मिलेर गएका छौं त्यति बेला हामीले सफलता बढी पाएका छौं ।

पार्टीमा जुन बेलासम्म ठीकै गरिरहेको हुन्छ, त्यति बेलासम्म पार्टीका अन्तसंघर्षहरू बाहिर आउने कुरा भएन । पार्टी अनुशासनभित्रै रहनुपर्ने बाध्यता पनि भयो । अब एमाले र हामी नमिल्ने हो भने अबको चुनावमा कांग्रेसले सबै सिट लैजाने देखिन्छ । यसले पनि कार्यकर्तामा असन्तुष्टि जगाएको हो । कार्यकर्ताहरूले सामाजिक सञ्‍जालमै पनि लेखिरहेका छन् । लडाईँ झगडा पार्टीमा त हुने नै भयो, तर कति बाहिर ल्याउने कि लुकाउने भन्‍ने कुरा मुख्य हो ।

केन्द्रले प्रदेशको मनसाय नबुझी, कार्यकर्ताको भावना नबुझी निर्णय गरेको भन्‍ने आरोपमा कति सत्यता छ ?

वर्तमान राजनीतिमा देखिएको समस्या निराकरण गर्न यो खाले निर्णय भएको हो । तर फिल्डको ग्राउन्ड चाहिँ बेग्लै हो । हामी यो कार्यकालका लागि सँगसँगै निर्वाचन लडेको हो । एउटै उद्देश्य पूर्ति गर्न हामी तालमेल गरेर लडेका थियौं । त्यसैले कार्यकर्तामा केन्द्रले गरेको निर्णयमा तौरतरिका मिलेन कि भनेर शंका हुनु स्वाभाविक हो । तर हामी त केबल तालमेल मात्र गरेको हो ।

‘सांसद, कार्यकर्तामा असन्तुष्टि छ, हामीलाई झूठा मुद्दामा फसाउने कांग्रेससँग सहकार्य गर्नुपर्‍यो’

उहाँहरू एमाले र माओवादी केन्द्र त एकतै गरेर जानुभएको हो । एकता गरेर गएका पार्टीमा त काटाकाट मारामारको अवस्था छ भने हामी त चुनावी तालमेल मात्र गरेको समूह भयौं । त्यही पनि कम्तीमा वर्ग मिल्ने, विचार मिल्ने भन्दै तालमेल गरेर चुनावमा गएको हुनाले कार्यकर्तामा यस्तो नगरिदिए हुन्थ्यो भन्‍ने भावना छ । कार्यकर्ताहरूले प्रतिक्रिया पनि दिइराखेकै छन् । तर जहाँसम्म कार्यान्वयनको कुरा हो, केन्द्रले जे भन्छ हामी त त्यही पूरा गरेर जाने हौं । 

पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारले कामै गर्न नसकेको हो त ?

केन्द्रले गण्डकी प्रदेशबारे राजनीतिक रूपले निर्णय गरिदिएको छ । प्रदेश सरकारबारे भएको निर्णय राजनीतिक हो । प्रधानमन्त्री ओलीले गरेको कामलाई लिएर गण्डकीको धरातल फरक भए पनि निर्णय भएको हो । केन्द्रमा केपी शर्मा ओलीले जुन संसद्को विघटन गर्नुभयो, त्यसविरुद्धमा हामीले आन्दोलन पनि गर्‍र्यौं । अदालतले त्यसलाई सच्चयाइदिएको अवस्था पनि हो ।

अब गण्डकीको सन्दर्भमा के हो भने, त्यही प्रतिगमन गरेको पार्टीको एउटा महत्वपूर्ण नेता भएकाले उहाँ (मुख्यमन्त्री गुरुङ)ले पनि प्रतिगमनमा सहयोग गर्नुभयो कि भन्‍ने हो । त्यही आशयले कुरा आएका हुन् । तलका कार्यकर्तामा यसले अलिक बढी चित्त नबुझेको हो । यसरी राजनीतिक निर्णय नलिइदिएको भए हुने भन्नेछ । प्रतिगमनलाई सघायो भन्‍नेबाहेक त उहाँको अरु कुनै दोष छैन । कार्यकर्तामा यही कारण असन्तोष छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्रीले यहाँ/यहाँ बिगार्नु भएको छ, यहाँ/यहाँ बद्‍मासी गर्नु भएको छ भनेर भन्‍ने ठाउँ हामीसँग छैन । उहाँका काममा राजनीतिक रूपमा हामीले प्रतिवाद पनि गरेका छैनौं । काममा विरोध नभए पनि केन्द्रको निर्णयले विरोध गर्नुपर्दा कार्यकर्तामा अन्तर्विरोध भएको हो भन्‍ने म बुझ्छु । अन्तर्विरोध भए पनि हामी केन्द्रकै निर्णय कार्यान्वयन गरेर जान्छौं । 

एकता गरेर गएका पार्टीमा त काटाकाट मारामारको अवस्था छ भने हामी त चुनावी तालमेल मात्र गरेको समूह भयौं ।

कांग्रेससँग सम्बन्ध कस्तो छ ?

बागलुङको सन्दर्भमा एमाले र हामीबीच सकारात्मक सम्बन्ध अलिक बढी नै छ । कांग्रेस र हाम्रो सम्बन्ध अलि तिक्ततापूर्ण छ । समस्या यहीँ नेर हो । कांग्रेसले हामीलाई लगाइदिएका ३ दर्जन मुद्दा छन् । काटमार भन्‍नेसम्मका आदेश गर्थे कांग्रेसका गृहमन्त्रीहरू खुमबहादुर खड्का, गोविन्दराज जोशीहरूले । घटना धेरै घट्ने गरेका छन्, कांग्रेस र हामीबीच । हाम्रा सय/डेढ सय कार्यकर्ताले कांग्रेसले लगाएका झुठा मुद्दाका कारण सास्ती खेपिरहेका छन् । यी स्थितिले गर्दा तनावपूर्ण स्थिति छ । त्यसैको असर पनि छ । सांसदहरूलाई नै चित्त नपरेको अवस्था हो । 
 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x