वार्ता

शत प्रतिशत करदाताको रुजू अनलाइनमार्फत मात्र हुन्छ, म्यानुअल लिदैंनौं

इकागज |
बैशाख २०, २०७८ सोमवार १५:११ बजे

आन्तरिक राजश्व विभागले निषेधाज्ञा जारी भएका जिल्लाका करदाताहरु कर तिर्नकै लागि कार्यालयमा भौतिक रुपमा उपस्थित हुनुनपर्ने बताएको छ । करदाताले विद्युतीय माध्यमबाट कर तिर्न सक्ने विभागले जनाएको छ । विभागले प्रविधिसँग जानकार नभएका व्यक्तिले निषेधाज्ञाका कारण समयमा कर नबुझाउँदा दण्डित हुन नपर्ने व्यवस्था मिलाउन लागेको आन्तरिक राजस्व विभागका महानिर्देशक झक्कप्रसाद आचार्य बताउँछन् । आचार्यसँगको कुराकानीः 

कोभिडको दोश्रो लहरका कारण धेरै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । यस्तो अवस्थामा करदाताले कसरी कर तिर्ने ?


५६ जिल्लामा हाम्रा कर कार्यालयहरू छन् । एकाध बाहेक अधिकांश ठाउँमा कर कार्यालयहरूमै बैक काउण्टर पनि छन् । दोश्रो चरणको निषेधाज्ञाको समयमा पनि हाम्रा सेवाहरुमा कुनै पनि किसिमको असर नपर्ने गरि आलोपालो मिलाएर भएको जनशक्तिबाट अधिकतम सेवा प्रदान गर्ने हाम्रो उद्देश्य छदैँछ । कर तिर्नका लागि कुनै समस्या छैन । निषेधाज्ञा नभएको ठाउँमा त समस्या नै भएन । जहाँ निषेधाज्ञा छ, त्यहाँ कर तिर्नका लागि विद्युतीय प्रविधिको प्रयोग गर्न सकिन्छ । एनसिएचएल (नेपाल क्लीयरिङ्ग हाउस लिमिटेड) बाट पनि हामी एक पटकमा १० लाख रुपैयाँसम्म कर भुक्तानी गर्न सक्छौं । एक दिनमा १० लाख रुपैयाँ कर तिर्नुपर्ने करदाताहरु हाम्रोमा अहिले कमै छन् । एउटा कारोबारमा १० लाख रुपैयाँ तिर्ने हो, उहाँहरुले २–३ पटक गरेर उक्त भुक्तानी गर्न चाहेको खण्डमा ३० लाख रुपैयाँसम्म पनि राजश्व तिर्न सक्छन् । सानातिना करहरु तिर्नका लागि हाम्रा सबै अफिसहरुमा बैकका काउण्टरहरू पनि छन् । बैक अत्यावश्यक सेवा अन्र्तगत रहेकाले कर्मचारीहरू तैनाथ छन् । करदाताहरूले त्यहीँबाट पनि झनै सजिलोसँग कर तिर्ने वातावरण छ ।

मानिसहरूलाई हिंड्न नै निषेध गरिएको स्थिति छ, यस्तोमा करदाताहरू कर कार्यालयमा रहेका बैंकका काउन्टरसम्म पुग्ने  स्थिति रहन्छ र ? 

अहिले भेरिफिकेसन विवरण शत प्रतिशत अनलाईन गरिएको छ । शत प्रतिशत करदाताहरुले घरमै बसेर विवरण बुझाउनुहुन्छ । हामी एउटा पनि विवरण म्यानुअल लिदैं लिदैनौ । अब रह्यो कर भुक्तानीको पक्ष । हाम्रा करदाताले कर तिर्नका लागि घरमै बसेर उल्लेखित विद्युतीय भुक्तानीका माध्यममार्फत् बुझाउन सकिन्छ । त्यसैले राजश्व तिर्नका लागि त कुनै समस्या नै छैन । उहाँहरु घरमै बसेर पनि तिर्न सक्नुहुन्छ । केही कारणले प्रविधि उपयोगमा समस्या आयो अथवा केही कारण समस्या भयो भने करदाताहरुलाई सहजीकरण गर्छौं । गत वर्ष पनि हामीले सहजीकरण गरेका थियौं । महामारी र निषेधाज्ञाका कारण समयभित्र कर बुझाउन नसकेकोमा करदाता दण्डित हुनुपर्दैन । 

विधुतीय भुक्तानीप्रति अझै कतिपयले विश्वास (ट्रष्ट) गर्दैनन् । ट्रष्ट बढाउन प्राविधिक पक्षमा के–के सुधार भएको छ त ? 

करदाताले विधुतीय भुक्तानी माध्यमबाट कर बुझाएर सरल र सहज सेवा लिनुभएको छ । यसमा उहाँहरूको विश्वास विस्तार हुँदै गएको छ । जसले एकपटक विधुतीय माध्यमबाट भुक्तानी गर्छ, ऊ अर्कोपटक धाएर कर कार्यालयसम्म आउँदैन । लेखापरिक्षण र अनुसन्धानका काम गर्दा हाम्रा अधिकृतले खोजी गरेको खण्डमा कागजात (डकुमेन्ट) बुझाउनुपर्ने अवस्थामा बाहेक र स्थायी लेखा नम्बरको सक्कल प्रमाणपत्र लिन बाहेक करदाता कर कार्यालयमा आउनुपर्ने अवस्था छैन । यसको मतलब हाम्रो ९० देखि ९५ प्रतिशत कामहरु अनलाईनबाटै हुन्छ । विवरण बुझाउने, कर तिर्ने, वार्षिक २० लाख रुपैयाँसम्मको कारोबार गर्नेहरुले कर चुक्ताको सर्टिफिकेट पनि अनलाईन बाटै लिनसक्छन् । घरबाटै विवरण पठाएर बैंकबाट भुक्तानी पनि गरिदियो भने ई–टिडिएस रिटर्न पनि घरबाटै हुन्छ । हाम्रा कदरदाता सूचना प्रविधि मैत्री नभएका कारण कार्यालय आउने गर्नुहुन्छ तर सामान्यतयाः आउनुपर्दैन । केही नयाँ सुधारहरु के–के गर्न सकिन्छ भनेर केही तयारी हामी गर्दैछौ । ‘जिरो ट्याक्स’ विवरण मोबाईलबाटै भर्न सकिन्छ । हामीले भारतमा जस्तै सबै कारोबारलाई ‘फेसलेस’ बनाउने हो । त्यसमा हामीले पनि अब खरिद खाता बिक्रि खाता प्रमाणित गर्नुपर्ने परम्परागत प्रणाली छ । त्यसलाई पनि प्रतिस्थापन गरेर आधुनिकीकरण कसरी गर्न सकिन्छ भन्ने बारेमा पनि गृहकार्य गरिरहेका छौ । 

अन्य सरकारी कार्यालयमा संक्रमण जोखिम न्यूनीकरणकालागि एक तिहाई कर्मचारीबाट काम गर्ने भनिएको छ । कर कार्यालयमा कसरी काम गर्दै हुनुहुन्छ ? 

हाम्रा कुनै न कुनै कार्यालयमा एक एक जना कर्मचारीहरु कोरोना संक्रमति भईरहेको सूचना आईरहेको छ । त्यसैले हामीले स्थानीय प्रशासनसँग समन्वय गरेर कार्यालय बन्द नहुने गरि अत्यावश्यक सेवाहरु प्रभावित नहुने गरी सबै कार्यालयहरू खुला राखेका छौं । सरकारको निर्णय अनुसार, सकेसम्म नभई नहुने कर्मचारीहरु आलोपालो गरि उपलब्ध गराउने काम भएको छ । निषेधाज्ञा जारी नभएका स्थानहरुमा पनि सकेसम्म मान्छेहरुको भौतिक उपस्थितिलाई कसरी कम गर्न सकिन्छ, त्यसमा सजगता अपनाउनुहोस् भनेर उहाँहरुलाई निर्देशन गरिएको छ । सबै कर्मचारीहरूलाई स्वास्थ्य सुरक्षा मापदण्ड अनुसरण गर्दै सुरक्षित रहेर काम गर्न आग्रह गरेका छौं । 
 


Author

थप समाचार
x