वार्ता

पूर्वस्वास्थ्य मन्त्रीसँग कोभिड-१९ संवाद

अहिलेको तयारी र काम गराइले हामीले ठूलो मानवीय क्षति व्यहोर्नुपर्छ

मधुसुधन भट्टराई |
बैशाख २१, २०७८ मंगलबार २२:३३ बजे

कोभिड-१९ को संक्रमितहरूको संख्या दिनप्रतिदिन बढ्दै छ । तर, सरकारको काम गर्ने शैली फेरिएको छैन । अब संक्रमणको ‘चेन ब्रेक’ गर्न सरकारले के गर्नुपर्छ भनेर हामीले पूर्वस्वास्थ्य मन्त्री प्रतिनिधि सभा सदस्य तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापासँग टेलिफोन संवाद गरेका छौं । प्रस्तुत छ  पूर्वस्वास्थ्यमन्त्री थापासँग  मधुसुधन भट्टराईले गरेको संवाद :

यहाँले पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्रीको हिसाबले कोभिड-१९ महामारी नियन्त्रणका लागि सरकारलाई के सुझाव दिनुहुन्छ ? 


सबैभन्दा पहिला सरकारको राजनीतिक नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ संक्रमण नियन्त्रण तथा न्यूनीकरणका सन्दर्भमा व्यक्तिगत रूपमा र प्रधानमन्त्रीका रूपमा यो भन्दा अगाडि अनेकन गल्ती कमजोरी भएका छन भन्ने स्वीकार्नुपर्छ । स्वीकारेपछि मात्रै भएका गल्ती कमजोरी सच्याउने कुराको प्रारम्भ हुन्छ । प्रधानमन्त्रीले सोमबार राष्ट्रको नाममा गर्नु भएको सम्बोधनको प्रारम्भ कोभिड-१९ को पहिलो लहरको बेलामा नेपालले गरेको अभूतपूर्व कामको कारणले गर्दा महामारी नियन्त्रण भयो भन्नेबाट गर्नुभयो । अहिले पनि उहाँलाई त्यही लागिरहेको छ, त्यसले हुँदैन । सबैभन्दा पहिला त यो शैली सच्याउनु पर्छ ।

 

प्रधानमन्त्रीको प्राथमिकताका कोभिड पर्ने अवस्था आयो भने बल्ल परिणाम आउँछ । अहिले उहाँको प्राथमिकतामा कोभिड-१९ छैन । उहाँलाई पर्सी बैशाख २७ गते संसदको सामना गर्नुछ ।

दोस्रो, हाम्रो राजनीतिक नेतृत्वको औपचारिक प्राथमिकतामा महामारी नियन्त्रण गर्न भित्री मन/अन्तर्यदेखि राज्यको सम्पूण शक्ति लगाएर काम गरिरहेको छ कि छैन भन्ने हेर्‍यो भने आजको दिनमा प्रधानमन्त्री चालकको सिटमा हुनुहुन्छ । प्रधानमन्त्रीको प्राथमिकताका कोभिड पर्ने अवस्था आयो भने बल्ल परिणाम आउँछ । अहिले उहाँको प्राथमिकतामा कोभिड-१९ छैन । उहाँलाई पर्सी बैशाख २७ गते संसदको सामना गर्नुछ । प्रदेश सरकारका विषयहरू छन् । बाहिर सोमबार राष्ट्रको नाममा सम्बोधन गर्नुभएको भएता पनि दैनिकी हेर्‍यो भने महामारी प्राथमिकतामा परेको छैन । 

तेस्रो, यो कुनै एउटा निकायले सम्बोधन गर्न सक्ने विषय होइन । हामी यति संकटमा परिसक्यौं कि यो संकट मोचनका निम्ति सरकार चलाउने मानिसको सम्पूर्ण ध्यान कोभिडमा भयो भने क्षति केही न्यून गर्न सक्छौं । 

चौथो, हामीले थुप्रै कामहरू गर्न भनेर सूची बनाएका छौं । त्यी सूचीबारे मन्त्रिपरिषद्बाट निर्णय र आदेश भएको छ । निर्णय र आदेशबाट परिणाम आउने भए धेरै पहिला आइसक्थ्यो । नआएकोले समस्या भएको हो । सरकारले स्थानीय सरकारहरूलाई नै परिक्षण गर्ने, पोजिटीभ देखिएकालाई आइसोलेशनमा राख्ने काम हेर्नुपर्छ भनेको छ । प्रदेश सरकारलाई मापदण्ड तोकेर यतिसम्मको अस्पतालको व्यवस्थापन त्यहाँबाट गर्नुपर्छ भनेको छ । हामीले एक वर्षदेखि उठाउँदै आएको ठूला-ठूला मेडिकल कलेजलाई कोभिड अस्पताल बनाउनु पर्छ भन्ने मागलाई अहिलेमात्रै कार्यान्वयन गर्न निर्णय गरेर कार्य प्रारम्भ गरेको छ । निर्णयमात्रै गरेर परिणाम आउँदैन, काम सुरु गरेपछि मात्रै आउँछ ।

निषेधाज्ञा कतिसम्म गर्‍यो भने संक्रमणको ‘चेन ब्रेक’ गर्न सकिन्छ ? 

अहिले हामीले गरेको निषेधाज्ञा, मन परे पनि नपरे पनि दुई महिना जान्छ । एक साता गरेर अल्मल्याउनु भन्दा सरकार पनि तयार हुनुपर्‍यो । मैंले दुई महिना लम्ब्याउनु पर्छ भनेर नागरिकलाई पनि यसको निम्ति तयार राख्नु पर्‍यो । अबको दुई-तीन दिनपछि मानिसमा भोक र रोगको समस्या आउन थालिहाल्छ । लामो समयसम्म निषेधाज्ञा गर्नु पर्ने भएकाले अघिल्लो पटकबाट सिकेर यी विषय नदोहरिउन भन्न के-के गर्ने, कुन निकायले गर्ने तय गरिनु पर्छ । सिडिओलाई जिम्मा लगाएर उम्किएर समस्याको समाधान हुँदैन । दुई महिना निषेधाज्ञा लगाउने भनेको संक्रमणको दरलाई कम गर्ने कोसिस गरेको हो । संक्रमणको दर अहिलेको संख्यामा परीक्षण गरेर कम हुँदैन । १० गुणा परिक्षण बढाउनु पर्छ ।

 

लामो समयसम्म निषेधाज्ञा गर्नु पर्ने भएकाले अघिल्लो पटकबाट सिकेर यी विषय नदोहरिउन भन्न के-के गर्ने, कुन निकायले गर्ने तय गरिनु पर्छ । सिडिओलाई जिम्मा लगाएर उम्किएर समस्याको समाधान हुँदैन ।

परिक्षणपछि संक्रमित भएर घरमा बसेका मानिसहरूलाई उचित सेवा दिन सक्यौँ भने ठूलो संख्यामा मानिसहरू अस्पताल जान पर्ने अवस्था आउँदैन । अस्पताल जाने मानिसको संख्या घटायौं भने त्यहाँको दबाब घट्छ । ठूला मेडिकल कलेजलाई कोभिड अस्पतालमा रुपान्तरण गर्‍यौ भने अहिलेको भन्दा १० गुणा बढी सेवा दिन सकिन्छ ।

निषेधाज्ञाले धेरै मानिसको संगत टुटेर संक्रमणको चेन टुट्छ । परीक्षण गरेर संक्रमण अरुलाई फैलनबाट रोक्छौं । घरमा राखेर उपचार गर्दा, उनीहरूको अवस्था बिग्रन दिन्नौं  र अस्पतालको क्षमता बढाउँछौ भनेर काम गर्‍यौ भने क्षति र मृत्यु कम गर्न सक्छौ । अहिलेको हिसाबले अघि बढ्यौ भने प्रत्येक दिन अहिलेको भन्दा खराब समाचार सुन्नुपर्ने अवस्था आउँछ । 

अहिलेको सरकारको निर्णय र काम गराइले नियन्त्रण हुने सम्भावना कत्तिको देख्नुहुन्छ ?

निर्णय गरेर कार्यान्वयन गर्ने काम अहिलेकै तरिकाबाट अगाडि बढ्यो भने केही पनि अवस्था परिवर्तन हुँदैन । सामान्य संरचनाबाट सम्बोधन हुन नसक्ने भएपछि मन्त्रिपरिषद्‍मा वा संकट मोचन गर्ने तहमा लगेर निर्णय गरेका छौं । हिजोको मन्त्रिपरिषद्को निर्णयमा स्थानीय र प्रदेश सरकारले गर्ने काम उल्लेख छ । यसरी गर्‍यो भने कही पुगिदैंन । निर्णय र काम एकैपटक अगाडि बढाउनुपर्छ । 

काम कस्तो तरिकाले कसरी अगाडि बढाउनुपर्छ ?

पहिला सिस्टम बनाउनु पर्छ । अब निषेधाज्ञालाई कडा बनाउनु पर्छ । निषेधाज्ञा कडा भयो भने जनताको जीवन अस्तव्यस्त बनाउँछ, त्यो अस्तव्यस्ताबाट कसरी मुक्त गर्ने भनेर पहिलो पटकबाट पाठ सिकेर ठोस योजना बनाउनुपर्छ । नागरिकलाई दुई महिना घरमा बस्न परेपछि अप्ठेरो हुन दिन्न । पेट खाली हुन दिन्न भनेर विश्वास दिलाउन सक्नुपर्छ ।

लामो निषेधाज्ञा लैजादैँ गर्दा सरकारले के थाहा पाउनु पर्‍यो भने यसलाई अनिश्चितकालसम्म लम्ब्याउन सक्दैनौं भन्ने बुझ्न पर्‍यो ।

बजारमा आपूर्ति व्यवस्था पनि सहज हुन्छ र पैसा नहुनेलाई सरकारले नगद नै राहत गराउँछ भन्ने सुनिश्चित हुनुपर्‍यो । यसो गर्‍यो भने मात्रै नागरिकले सरकारले गर्ने निषेधाज्ञालाई इमान्दार भएर पालना गर्छ । आज ७ हजार बढीमा संक्रमण देखिएको छ । यो क्रम विस्तारै एक सातासम्म बढ्छ । त्यसपछि निषेधाज्ञा लागू भयो भने विस्तारै कम हुँदै जान्छ । लामो निषेधाज्ञा लैजादैँ गर्दा सरकारले के थाहा पाउनु पर्‍यो भने यसलाई अनिश्चितकालसम्म लम्ब्याउन सक्दैनौं भन्ने बुझ्न पर्‍यो । स्थानीय सरकारले ठूलो मात्रामा परीक्षण गर्ने, संक्रमितको सम्पर्कमा आएका मानिसलाई अरुसँगको सम्पर्कबाट अलग गर्ने र फैलन नदिने काम गर्नुपर्छ । 

अहिले दिइरहेको भन्दा सेवा बढी दिन के गर्नुपर्छ ?

अहिलेभन्दा हामीले १० गुणा बढी सेवा दिन सक्छौं, हामीसँग निजीस्तरमा रहेका मेडिकल कलेजमा कार्यरत योग्य जनशक्तिको राम्रोसँग व्यवस्थापन गर्न सक्यो भने । अहिले दिएको ५० प्रतिशत भत्ता काटेर होइन, प्रोत्साहित गर्न सक्नुपर्छ । हामीसँग नेपालभित्र रहेको तर नीजि क्षेत्रमा रहेको जनशक्तिलाई उचित तरिकाले उपयोग गर्न सक्नुपर्छ । सही ढंगले नेतृत्व गर्न सकियो भने अहिलेको भन्दा १० गुणा बढी मानिसलाई अस्पतालमा उपचार दिन सकिन्छ ।

हामीसँग नेपालभित्र रहेको तर नीजि क्षेत्रमा रहेको जनशक्तिलाई उचित तरिकाले उपयोग गर्न सक्नुपर्छ ।

अस्पतालमा जाने मानिसको संख्या घटायौं, होम आइसोलेशनमा बसेको मानिसलाई सेवा दियौं र अस्पतालमा अहिलेको भन्दा १० गुणा बढी मानिसलाई सेवा दिन सक्ने पूर्वाधार बनायोैं भने मुलुकले थेग्न सक्छ । अहिले हाम्रा साथीहरू अस्पतालमा सेवा नपाएर मरिरहेका हुन् । बाहिरबाट हेलिकोप्टरमा बिरामी काठमाडौँ ल्याउने, तर बेड नपाएर अस्पताल, अस्पताल कुदाउँदै गर्दा मृत्यु भएको छ ।

सेवा दिने अस्पतालको क्षमता बढाउने र सेवा लिन आउने मानिको संख्या घटायौं भने मात्रै न्यूनीकरण गर्न सकिन्छ । अहिले सेवा दिने अस्पतालको क्षमता बढाउन सकिरहेका छैनौ, बिरामीको पनि संख्या घटाउन नसकेपछि त आठ/दश दिनपछि त फुट्छ/फुट्छ नि । गर्ने भनेको संक्रमितको संख्या घटाउने र अस्पतालको क्षमता बढाउने हो ।     
 


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x