वार्ता

पुस्तकालय-अन्तर्वार्ता

अमेरिकी दूतावासका सेक्रेट चिज पनि मैले नै टाइप गर्थें

इकागज |
बैशाख २५, २०७८ शनिबार ६:३३ बजे

तस्बिर : वरिष्ठ पत्रकार रवि मानन्धर

प्रसिद्ध गायक संगीतज्ञ प्रेमध्वज प्रधानले अमेरिकी पुस्तकालयमा ३३ वर्ष काम गरेका थिए । उनीसँग नेपाल-अमेरिका सम्बन्ध, नेपालमा अंग्रेजी भाषाको विस्तार, पठन र पुस्तकालयसँग जोडिएका उनका रोचक अनुभव यस वार्तामा पढ्नुहोस् :

‘घुम्तीमा नआऊ है’, ‘तारा मात्र हैन तिमीलाई’, ‘यो नेपाली शिर उचाली संसारमा लम्किन्छ’, ‘गोरेटो त्यो गाउँको’, ‘राजमती कुमती...’ जस्ता लोकप्रिय गीत आज पनि नेपालीका ओठ ओठमा झुण्डिएका छन् । नेपालमा अंग्रेजी भाषाको प्रभाव आजभोलि सर्वत्र छ तर विसं २००८ तिर अत्यन्त थोरै मान्छे मात्र यो भाषा बोल्न/लेख्‍न सक्थे । तिनै थोरैमध्ये प्रेमध्वज प्रधान एक थिए । काठमाडौँमा जन्मिए पनि उनको बाल्यकाल संघर्षमय रह्यो । आमा-बुवाबीचको खटपटले अभिभावकको जोडी लामो समय एकै छानोमुनि बस्न सकेन । आमाबुवा छुट्टिएको प्रभाव बालक प्रेमध्वजमा प्रत्यक्ष पर्‍यो । जुद्ध सालिक नजिकैको बुवाको कपडा पसलमा दिउँसो पुग्ने प्रेमध्वज राति आमाको काखमा पुग्थे । अलि ठूलो भएपछि उनमा आर्थिक जिम्मेवारीसमेत थपियो । आमा र आफ्नो दैनिकी चलाउन कमाउनैपर्ने बाध्यताले छोप्यो । यस्तै अवस्थामा उनमा गायक बन्‍ने महत्वाकांक्षा बढेर जान्छ । दरबारमा गीत गाउने आमा र आमाका साथीहरूको प्रभावले एक ठिटो गायनको मोहमा फसेपछि पुस्तकालयको जागिरले उसलाई निष्फिक्री गायनमा जम्‍न दिएको कथा कम रोचक छैन । अमेरिकी सूचना केन्द्र काठमाडौँमा पुस्तकालयकर्मी भएर नेपाली सुगम संगीतका क्षेत्रमा प्रेमध्वजले तहल्का मच्चाए । उनै गायक प्रधानसँग रमेश निरौलाले गरेको कुराकानी :

दाइ त पुस्तकालयकर्मी हुनुहुँदो रहेछ । गायनको रंगीन दुनियाँले सेवामूलक पेसालाई ओझेल पारिदियो नि ?
हो म नेपालमा अवस्थित अमेरिकी पुस्तकालयमा लामो समयसम्म कार्यरत रहेँ । अझ स्पष्ट रुपमा भन्‍नुपर्दा त मेरो गाउने सोखलाई पुस्तकालयले मलजल गरिदियो । त्यसैले पनि म पुस्तकालय र यस क्षेत्रलाई अझ पवित्र मन र स्वच्छ भावनाले हेर्छु । आफूले ३३ वर्षसम्म एउटै पेसामा रहेर हजारौँ मान्छेलाई सेवा दिन पाएकामा उत्तिकै सन्तोष लाग्छ । 


तपाईंले पुस्तकालय क्षेत्रमा कसरी काम गर्ने अवसर पाउनुभयो ?
मेरो बुवाआमाको बिछोडपछि म रेडियो नेपालमा गीत गाउन जान्थेँ । त्यहाँ महिनामा एउटा गीत गाउन दिन्थ्यो, करारमा । मैले राम्रो गाएँ, पछि महिनामा ४ वटासम्म गीत दियो । एउटा गीतको ५ रुपैयाँ दिन्थ्यो । ट्यूसन पढाएर महिनामा ३६ रुपियाँ कमाउँथेँ । त्यही पैसाले आमा र मेरो दैनिक गुजारा चल्थ्यो । त्यसबेला काठमाडौँमा पढेलेखेका मान्छेको जमघट र अध्ययन गर्ने थलो अमेरिकी पुस्तकालय थियो । भर्खरै खुलेको र पुस्तक पाउने कारण प्रायः सबै मान्छे त्यहाँ पढ्न पुग्थे । म पनि त्यहाँ जान्थेँ । मेरो दुईजना चिनेको मान्छे अमेरिकी दूतावासमा काम गर्थे । उनले पुस्तकालयमा जागिर पाइन्छ जानू भनेका थिए, म गएँ । तर त्यो समयमा कुनै पद खाली नभएकाले पछि आफैँ सम्पर्क गर्छौं भनियो । आमाबुवा छुटेको हुनाले म आफैँ आमालाई समेत पाल्नुपर्ने जिम्मेवारीमा थिएँ । बुवाकहाँ म गइरहन्थेँ ।

वहाँले हप्तामा ५ पैसा दिनुहुन्थ्यो । करारमा गीत गाएर रेडियो नेपालबाट पाउने केही रकम नियमित आउन्‍नथ्यो । त्यसैले मैले १२ रुपैयाँ लिएर ३ ठाउँमा ट्यूसन पढाउने काम गरेँ । २ महिना त त्यसरी नै चल्यो । त्यससमय म त्रिचन्द्र क्याम्पसमा आइएस्सी पढ्थेँ । सुरुमा केही समय स्वयंसेवी रूपमा काम गरेपछि अमेरिकी पुस्तकालयले आवश्यक परेमा जागिर दिने आश्वासन दियो । पछि जागिर पनि दियो । जहाँ मैले ३३ वर्ष काम गरेर ५५ वर्षको उमेरमा रिटायर्ड भएँ । 

अमेरिकीहरूले अंग्रेजीको जग बसालिदिएकै कारण हामी उनीहरूलाई अंग्रेजीमै गाली गर्न सक्ने भएका छौँ ।

मैले गीत गाउने क्रम जारी राखेँ । पछि एकजना साथीसँग मिलेर बम्बई जाने र त्यहाँ संगीत सिक्ने तयारी गर्न लागेँ । पहिला पनि बम्बई गएर केही गीत गाइसकेको थिएँ । साथीले ३ सय रुपैयाँ र मैले २ सय रुपैयाँ जम्मा गर्‍यौँ । त्यसबेला न्यूरोडगेटबाट साझाबस चल्थ्यो । हामीले ५ मोहोर प्रतिगोटा वीरगन्ज पुग्‍ने टिकट अघिल्लै दिन काट्यौँ । बिहान ५ बजे न्यूरोड पुग्नुपर्ने थियो । बसको टिकट काटेर घर पुग्दा आमालाई खबर गरिएको रहेछ काम गर्न भोलिदेखि नै अमेरिकी पुस्तकालय आउनू । म असमञ्जस्यमा परेँ । पाएको जागिर खाएर गायनलाई विश्राम दिनु वा बम्बई गएर सपना साकार पार्न मिहिनेत गर्नू । बम्बई जान झोला बोकेर बिहान ५ बजे नै न्यूरोड पुगेँ, साथी आइसकेको रहेछ । साथीलाई सुनाएँ, अमेरिकी पुस्तकालयमा जागिर पाएको कुरा । दुवै जनाले निष्कर्ष निकाल्यौँ, जागिर खानु नै बेस छ । साथी पनि नजाने भयो, ५ रुपियाँको टिकट माया मारियो ।

बडो रोचक रहेछ अघिल्लो प्रसंग । पुस्तकालयमा काम सुरु गरेपछिको सन्दर्भ जोड्नुस् न । म अमेरिकी पुस्तकालयमा काम गर्न गएकै दिन अन्तर्वार्ता लिइयो । म छनौट भएँ, उनीहरूले सोधे, कहिलेबाट काम गर्ने ? मलाई जागिर चाहिएको थियो, आजैबाट गर्छु भनेँ । दूतावासमा हप्ताको ५ दिनमात्र काम गर्नुपर्ने । शनिबार र आइतबार छुट्टी हुन्थ्यो । त्यो समय म गीत गाउनतिर लागेँ । मेरो उद्देश्य त गायक हुनु थियो । गायक हुन मन गरेको आफ्नै रहरले हो । त्यो बेला त आजको जस्तो गायक/गायिकाको महत्व थिएन, तर मलाई गाउने ठूलो सोख भएकाले त्यसैमा मिहिनेत गर्न लागेँ । 

दाइ त पुस्तकालयको प्रविधिक ज्ञान हासिल नगरेको मान्छे पुस्तकालयमा के कस्ता काम गर्नुहुन्थ्यो ?
हो, त्यसअघि मैले पुस्तकालय क्षेत्रको प्राविधिक ज्ञान औपचारिक रुपमा लिएको थिइनँ । तर त्यहाँ जगदीश माथेमा र प्रेमलाल सिंहलाई मैले चिनेको थिएँ । उनीहरूले नै जागिर पाइन्छ भनेर सम्पर्कमा गएकै बेलादेखि बेलाबेलामा स्वयंसेवीका रूपमा काम गरिदिन्थेँ । मनमोहन दाइ भन्‍ने हुनुहुन्थ्यो त्यो सेक्सनको प्रमुख उहाँलाई भेटाएपछि उहाँले आवश्यक परेमा बोलाउने आश्वासन दिनुभएको थियो । मनमोहन दाइले पनि मलाई गायकका रूपमा चिन्‍नुभएको रहेछ । त्यसैबेलादेखि स्वयंसेवी भएर मलाई टाइप पनि गर्न लगाइन्थ्यो । टाइप एकदमै छिटो गर्ने भएकाले त्यसैबेला केही टाइप पनि गरिदिएको थिएँ । पुस्तकालयका सामग्रीहरू फाइलिङ गरिदिन्थेँ र पाठकलाई पनि केही सहयोग गरिदिन्थेँ । पछि जागिर सुरु गर्दा पनि तिनै काम मेरा भागमा परे । त्यसैले कतिपय सिक्दै र कतिपय जानेकै काम गर्थेँ । 

तपाईं काम गर्न गएपछि नै अमेरिकी सूचना केन्द्र (यूएसआइएस) खुल्यो । त्यसको कथा के थियो ?
अमेरिकी दूतावाससँग सुरुमा धेरै सेवा थिएनन् । २००८ (सन् १९५१) मा एकजना सहायक प्रमुख आएर सुरु भएको पुस्तकालयले सेवा त दिन्थ्यो तर त्यसको विस्तार भएकै थिएन । पुस्तकालयले विभिन्‍न कार्यक्रम सञ्चालन गर्न सक्छ भन्‍ने कुरामा तत्कालीन दूतावास सकारात्मक थियो । तर त्यसको विस्तार कसरी गर्ने भन्‍ने योजनाबाहिर आइसकेको थिएन । उनीहरूले मेरो नियुक्ति पनि सूचना केन्द्रको काममा सहयोगी हुने देखेर गरेका रहेछन् । पुस्तकालयकै सदस्यहरू समेटेर रिडर्स क्लब, बुक क्लब, साइन्स क्लब आदि गठन गरियो । २०१६ (सन् १९६०) मा सूचना केन्द्र खुलेको हो । सूचना केन्द्रले अंग्रेजी भाषा कक्षा सुरु गर्‍यो, अंग्रेजीका सामग्री ट्रान्सलेसन्स् र प्रकाशन हुन थाल्यो, अन्य कार्यक्रम पनि लागू भए ।

नेपालमा अंग्रेजी भाषाको द्रुत विकास हुनु र नेपालको बाँकी विश्वसँग सम्पर्क बढ्नुमा तत्कालीन अमेरिकी र ब्रिटिस पुस्तकालयको महत्वपूर्ण भूमिका देखिन्छ । तपाईं आफैँ कार्यरत रहेकाले बताइदिनुस् न, यो क्षेत्रमा कसरी काम भएका थिए ? 
दोस्रो विश्वयुद्धपछि अमेरिकीहरू आफ्नो विविध कार्यक्रममार्फत बाँकी विश्वसँग साक्षात्कार गर्न अगाडि बढे । यस क्रममा उनीहरूले भाषा र संस्कृतिमार्फत आफ्नो प्रभाव फैलाएका हुन् । कतिपयले यसलाई राज्यविस्तारको नीति पनि भनेका छन् तर नेपालको सन्दर्भमा त्यो लागू हुँदैन । अमेरिकीहरू नेपालमा आएर नेपालका लागि धेरै अवसर बढेका छन् । आज नेपालीहरू पनि अमेरिका र बाँकी विश्वका ठूला विश्वविद्यालयमा अध्ययन गर्न सक्षम छन् । प्राध्यापक, डाक्टर, एकेडेमिसियन, विषयविज्ञ बनेका छन्, त्यसका लागि तत्कालीन अमेरिकी पुस्तकालयले ठूलो योगदान गरेको छ । आगामी युग अंग्रेजीको युग हुनेछ भन्‍ने अनुमान गरेर वा योजना बनाएर त्यसमा नेपालीलाई सक्षम बनाउनु चानचुने विषय थिएन । अमेरिकीहरूले अंग्रेजीको जग बसालिदिएकै कारण आज हामी उनीहरूलाई अंग्रेजीमै गाली गर्न पनि सक्ने भएका छौँ, त्यतातिर सोच्‍नुपर्छ । 

बम्बई जान झोला बोकेर बिहान ५ बजे नै न्यूरोड पुगेँ, साथी आइसकेको रहेछ । साथीलाई सुनाएँ, अमेरिकी पुस्तकालयमा जागिर पाएको कुरा । दुवै जनाले निष्कर्ष निकाल्यौँ, जागिर खानु नै बेस छ । साथी पनि नजाने भयो, ५ रुपियाँको टिकट माया मारियो । 

पुस्तकालय चलिरहेकै थियो । तपाईंले भन्‍नुभएझैँ पछि यूएसआइएस भाषा र अन्य सांस्कृतिक कार्यक्रम लिएर प्रस्तुत भयो । भाषा कक्षा सुरु भयो, संस्कृति आदानप्रदानका धेरै कार्यक्रम भए, छात्रवृत्ति खुले, स्थानीय भाषामा प्रकाशन सुरु गरियो । लामो समय चलेको स्वतन्त्र विश्वले प्रकाशनका क्षेत्रमा र अंग्रेजी संस्कृति बुझाउन नेपालमा महत्वपूर्ण भूमिका खेल्यो । पुस्तकालयले हरेक किसिमका पुस्तक उपलब्ध गराउँथ्यो । त्यो समयमा नेपालीलाई पुस्तक किनेर पढ्ने जानकारी नै थिएन । अझ भनौँ, नेपाली विद्यार्थी पुस्तक किनेर पढ्ने हैसियतमै थिएनन् । यस्तो हैसियत दुई कारणले थिएन । पहिलो, आर्थिक कारण र दोस्रो, उपलब्धता । पुस्तकालयले आफ्ना सदस्यहरूलाई पढ्न निःशुल्क पुस्तक उपलब्ध गराउँथ्यो । क्षमता अभिवृद्धिका विविध कार्यक्रम पनि सम्पन्‍न गर्थ्यो । अंग्रेजी भाषामात्र नभई विश्व ज्ञान नै प्रचारप्रसार हुन्थ्यो तत्कालीन अमेरिकी पुस्तकालयमार्फत । 

कुनै समय अमेरिकी, ब्रिटिस लाइब्रेरीको सदस्यता नभएको विद्यार्थीको हैसियत सदस्यता भएकासँग दाँज्‍न योग्य हुँदैन भन्‍ने प्रचलन सुनिन्थ्यो रे, यस्तो अवस्था कसरी भएको हो ?
मैले पनि पुस्तकालयमै काम गर्दा केही व्यक्तिले यस्तो भन्छन् भन्‍ने कुरा सुनेको हुँ । पढन्तेहरू पुस्तकालयका सदस्य भएकै हुन्थे । कोही नभएको भए तिनका दृष्टिमा त्यो नाजायज भयो होला भन्‍ने अनुमान लगाउन सकिन्छ । किनकि, ज्ञानका क्षेत्रमा प्रतिस्पर्धा हुनु र त्यसमा सामेल हुन कसैले चुनौती दियो भने त्यसलाई सकारात्मक रूपमा लिन सक्नु पनि ज्ञानी मान्छेकै चरित्र हो । कोही अमेरिकी पुस्तकालयको सदस्य भएकामा गर्व गथ्र्यो र आफैँ अरुलाई त्यसका लागि उत्प्रेरित गर्ने अवस्था थियो । मैले अनुमान गरेअनुसार, काठमाडौँमा पढेको र काठमाडौँ बाहिरबाट आएका विद्यार्थी जो यस्ता पुस्तकालयका सदस्य भैसकेका हुँदैनथे, तिनीहरूबीचमा केही दूरी अवश्य थियो । तर पछिल्लो समयमा काठमाडौँ बाहिरबाट आएका विद्यार्थीले पनि पुस्तकालय संस्कृति बुझेर त्यसैमा समाहित भए, ज्ञानको दायरा फराकिलो बनाए ।

अमेरिकी दूतावास तलबका हिसाबले ठूलो महत्वको स्थान मानिन्छ, सुरुदेखि नै कस्तो तलबमान कायम थियो ? 
मान्छेहरूले डलरमै तलब दिन्छ, सबै खर्च व्यहोरिदिन्छ रे जस्ता कुरा पनि गर्दा रहेछन् । तर वास्तविकता अलि फरक हो । मैले नियुक्ति पाउँदा मासिक ७५ भारुमा काम गर्ने गरी करार भयो । सबैलाई भारुमा तलब दिइन्थ्यो अमेरिकी दूतावासले । ६ महिनाको करार सकिएपछि र मेरो काममा सन्तुष्ट भएपछि मलाई २४० रुपैयाँ नेपाली दिन थालेको हो । भारु ७५ दिँदा भारुको भाउ पनि कम नै थियो, आजको जति थिएन सायद । त्यसबेला दूतावासका सबै कर्मचारीलाई भारुमै तलब दिइन्थ्यो । तर म रेडियोमा गीत गाएर अलिअलि र ट्यूसन पढाएर महिनाको ३६ रुपैयाँ कमाउने र त्यसैले पनि राम्रो गुजारा चल्नेका लागि ७५ भारु आकर्षक तलब थियो ।

म नेपालको एक भाग्यमानी गायक पनि हुँ, जसले बिनारोकटोक आफ्नो क्षमता तिखार्न पायो ।

दूतावासले अझ राम्रो तलब सुविधा दिने अवस्था थियो । तर तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका कारण कम दिने व्यवस्था भयो । कोइरालाले कामदारलाई धेरै पैसा दियो भने सुविधाभोगी हुन्छन् भन्‍ने कुतर्क गरेर कम तलबको नीति लिएका थिए । नाममा प्रजातान्त्रिक भनिए पनि कांग्रेसका नेता मातृका मजदुरका लागि खराब मानिस थिए । उनको कम तलब दिने नीति तत्कालीन मिसनसम्म पनि लागू भयो । भर्खर काम गर्न थालेका र नेपालको कानुनभित्रै रहने दूतावासहरूले पनि मातृकाको निर्देशनलाई नाघ्‍न सकेनन्/चाहेनन् । मजदुरका नेता भइसकेका मातृकाले मजदुरलाई नै तलब कम दिने नीति ल्याउनु ज्यादै लज्जास्पद विषय थियो ।

तत्कालीन नेपालमा भारु तलब दिनुको मूल कारण के थियो ? अमेरिकीले नेपाललाई हेर्ने कस्तो दृष्टिकोणका कारण हो ? 
होइन, भारु दिनुमा रमाइलो कारण छ । सुरुमा अमेरिकीहरू व्यापारको माध्ययमबाट भारतमा पसेका थिए, पछि कूटनीति पनि सुुरु भयो । अमेरिका गहुँ उत्पादनका लागि त्यससमय संसारभर प्रख्यात थियो । उत्पादित गहुँ उनीहरू भारतसम्म ल्याएर बिक्री गर्थे । त्यही गहुँ बेचेको पैसामध्ये केही यसै क्षेत्रमा दूतावास, पुस्तकालय, र विभिन्‍न काममा प्रयोग गर्थे । हामीले पाउने पैसा पनि अमेरिकामा करबाट उठेको छुट्टै पैसा नभई गहुँ बिक्रीबाट आएको रकम नै हुन्थ्यो । पिएल ४८० नामको एक फन्ड (कोष) मा पैसा जम्मा गर्ने र स्थानीय व्यक्तिलाई त्यसैबाट तलब दिने, तथा कार्यालयको दैनिक खर्च गर्ने गरिन्थ्यो । काम सुरु गर्दा मलाई दिनको ५ मोहोरको हिसाबले पैसा दिइन्थ्यो । बिल क्लिन्टन राष्ट्रपति भएपछि चाहिँ उल्लेख्य रूपमा तलब बृद्धि भएको हो अमेरिकी मिसनमा । 

पुस्तकालयमा जागिरे हुनु र गीत-संगीतमा जम्नुमा कस्तो सम्बन्ध रह्यो ? 
यो ज्यादै रोचक पक्ष हो, मेरो जीवनमा । कोही पैसा कमाइ भएपछि आफ्नो मुख्य लक्ष्य बिर्सन्छन् तर मेरा हकमा संगीत मेरो रौँरौँमा पसेको थियो । आर्थिक हिसाबले म सक्षम भएसँगै अन्य कामबारे चिन्ता रहेन, मेरो मुख्य चिन्ता नेपाली गीत गाउनु थियो । तत्कालीन समय नेपाली कलाकारहरू पनि हिन्दी गीत गाएर हिट हुन्थे । तर मेरो सोच अलि फरक थियो । गीत त नेपाली पो गाउनुपर्छ भन्‍ने भाव आयो । नेपाली गीत पनि हुन्छ र भन्‍ने समयमा मैले नेपाली गीत नै गाएर सफल हुने सपना देखेँ । नेपाली गीत सुन्‍ने माहोल बन्दै गयो । पहिलोपटक मैले अमेरिकाबाट २ सय रुपैयाँमा गितार मगाएँ । त्यससमय स्टेजमा गएर लाइभ गीत गाउने चलन थियो । हामी केही साथी मिलेर माइक भाडामा लिन्थ्यौँ, एकदमै सस्तो थियो ३ रुपैयाँमा । नेपालमा पहिलो पटक गितारमा स्टेज शो गर्‍यौँ । 

पुस्तकालयमा काम गरेर यहाँले कति सन्तुष्टि पाउनुभयो ? किनकि, यहाँ आफैँ त संगीतको नशा भएको मान्छे हुनुहुन्थ्यो । 
आजका दिनमा आइपुग्दा पुस्तकालयले मलाई सबै कुरा दियो । मेरो जुन उचाइ छ, त्यो पुस्तकालयमा काम गर्दा कहिल्यै घटेन । ज्ञान बाँड्ने स्थानमा काम गर्न पाउनु र आर्थिक हिसाबले पनि म सुरक्षित रहेकाले छनौटका गीत गाउन पाएँ, मिहिनेत गर्न प्रेरणा पाएँ, अझ भनौँ सफलता भेट्न कोसिस गरेँ र त्यो प्राप्त गरेँ । त्यस अर्थमा म नेपालको एक भाग्यमानी गायक पनि हुँ, जसले बिनारोकटोक आफ्नो क्षमता तिखार्न पायो । कुनै समय पनि पुस्तकालयको कामले मेरो संगीत क्षेत्रलाई सहयोग नै गर्‍यो । तसर्थ पुस्तकालय क्षेत्र मेरा लागि सिक्ने, प्रयोग गर्ने र सफलता पाउने माध्यम बन्यो । अमेरिकी पुस्तकालयमा काम गर्न पाएर नै मैले संसार चियाउने मौका पाएँ र संसारका परिवर्तन पनि देखेँ । 

पुस्तकालयमा काम गर्दाका केही रोचक पक्ष साट्न सक्नुहुन्छ ?
म पुस्तकालयमा काम गर्ने भए पनि त्यहाँ धेरै डकुमेन्ट टाइप मैले नै गर्नुपथ्र्यो । म त्यहाँको नम्बर एक टाइपिस्ट कहलिएँ । मेरो टाइपिङ छिटो भएकाले कुनै अत्यावश्यक कुरा टाइप गर्नुपर्दा जतिसुकै सेक्रेट चिज भए पनि मैले नै टाइप गर्नुपथ्र्यो । त्यसलाई मैले जहिल्यै कुशलतापूर्वक र गोप्य रूपमै सम्पन्‍न गरेको छु । त्यसैकारण हुनसक्छ, म आफूले काम गरेका अन्तिम दिनसम्म पनि सबैको विश्वासपात्र थिएँ ।

म पुस्तकालयमा काम गर्ने भए पनि त्यहाँ धेरै डकुमेन्ट टाइप मैले नै गर्नुपर्थ्यो । म त्यहाँको नम्बर एक टाइपिस्ट कहलिएँ । मेरो टाइपिङ छिटो भएकाले कुनै अत्यावश्यक कुरा टाइप गर्नुपर्दा जतिसुकै सेक्रेट चिज भए पनि मैले नै टाइप गर्नुपर्थ्यो ।

२०४७ सालको आन्दोलनमा आन्दोलनकारी लखेट्न प्रहरीले अश्रुग्यास हान्दा एक दिन पूरै पुस्तकालय धूवाँले भरिएको थियो । न्यूरोडमा हाल एभरेस्ट बैंक भएको स्थानमा थियो, प्रारम्भमा अमेरिकी पुस्तकालय । पछि ज्ञानेश्वरमा सरेको हो । हाल त दूतावासभित्रै स्थानान्तरण भइसक्यो महाराजगञ्जमा ।

स्वतन्त्र विश्व दूतावासको प्रकाशन थियो । यो प्रकाशन गर्नुमा त्यस्तो के उद्देश्य देख्नुहुन्छ ?
पछि यो बन्द पनि गरियो । यो मुख्यतः यूएसआइएसको मुखपत्र जस्तै थियो । सांस्कृतिक लेखहरू रहने र विभिन्‍न गतिविधि समेट्ने यो प्रकाशनले अंग्रेजी भाषा सिक्न र अमेरिकी संस्कृति बुझ्‍न नेपालीहरूलाई ठूलो सहयोग गरेको छ । आज धेरै नेपाली युवकयुवती अमेरिकामा बसोबास गर्छन्, अध्ययन गर्छन् वा व्यापार व्यवसाय गर्छन् । तिनीहरू त्यहाँ पुग्‍न र त्यहाँको वस्तुस्थिति बुझ्‍न स्वतन्त्र विश्वको ठूलो योगदान छ जस्तो लाग्छ ।

दूतावासले अझ राम्रो तलब सुविधा दिने अवस्था थियो । तर तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका कारण कम दिने व्यवस्था भयो । कोइरालाले कामदारलाई धेरै पैसा दियो भने सुविधाभोगी हुन्छन् भन्‍ने कुतर्क गरेर कम तलबको नीति लिएका थिए ।

भियतनाम युद्धपछि अमेरिकामा आर्थिक मन्दी आयो । त्यसैले अमेरिकी प्रकाशन स्वतन्त्र विश्व बन्द भएको हो । आर्थिक हिसाबले धान्‍न गाह्रो भएको हुनुपर्छ । अझ गहिरिएर हेर्ने हो भने स्वतन्त्र विश्वको प्रकाशन नेपाली भाषामै हुनुपर्ने युगको समाप्ती पनि भयो होला । नेपालीहरू अंग्रेजी भाषामै लेख्‍न, बोल्न, कुराकानी गर्न सक्ने भैसके भन्‍ने कुरा महसुस गरेर प्रकाशन बन्द भएको हुनसक्छ । 

अमेरिकी पुस्तकालयमा काम गर्दाका सहकर्मीहरूलाई सम्झनुहुन्छ ?
म कार्यरत रहँदा कृष्णमान मानन्धर पुस्तकालय प्रमुख हुनुहुन्थ्यो । आजभोलि धेरै भयो भेट नभएको । उहाँ पनि रिटायर्ड जीवन बिताइरहनु भएको छ । वहाँ त घरबार सबै त्यागेर भिक्षु हुनुभएको रहेछ । गुम्बामा बस्नुहुन्छ । अर्को एकजना महिला साथी पनि रिटायर्ड भएपछि अमेरिकातिरै बस्न थाल्नुभएछ । म भने नेपालमै बसिरहेको छु र संगीत क्षेत्रमा नै लागिरहेको छु । आजभोलि गीत त गाइन्छ, तर एल्बम निकाल्न छोडियो । त्यसैले गाएका गीत युट्यूबमा जेठो छोराले अपलोड गरिदिने प्रक्रियामा छ । दुईजना छोराहरू पनि अमेरिकामै बस्छन् । तर मलाई नेपालमै बस्ने रहर छ । बागबजारमा हामी श्रीमान् श्रीमती बसिरहेका छौँ । 

बिर्सन लागेका कुरा अन्तरआत्माबाट सम्झिएर हामीलाई सुनाइदिनु भएकामा दाइप्रति आभार व्यक्त गर्छु । अन्त्यमा पुस्तकालय र यससँग सम्बन्धित विषयमा केही भन्‍न बाँकी भए राखिदिनु होला ।
आजभोलि पुस्तकालयहरू समृद्ध र प्रविधिमैत्री भएका छन् । यहाँहरू जस्तो उत्साही र अध्ययनशील नयाँ पुस्ताको आगमन भएको छ । यो पुस्तकालय क्षेत्रका लागि ज्यादै उर्वर समय हो । मैले पुस्तकालयमा काम गर्न थाल्दा पाठकहरू आकर्षित गर्न विभिन्‍न कार्यक्रम ल्याउनुपर्थ्यो । पढ्नकै लागि भनेर पुस्तकालय आउनेको संख्या कम थियो । तर आजभोलि पुस्तकालय र पठन संस्कृतिको विकास भएकाले पुस्तकालय क्षेत्रमा काम गर्न पनि रमाइलो होला । काठमाडौँमा मात्र नभएर नेपालका विभिन्‍न भागमा राम्रा पुस्तकालय सञ्चालनमा आइसकेका खबर सुन्‍ने गरेको छु, यस्ता समाचारले मन आनन्दित हुन्छ । गायकका रूपमा चर्चा बटुलेको मेरा लागि जिन्दगीभर गरेको सेवामार्फत चिनाउने पहल गर्नुभएकामा तपाईं निरौला भाइलाई मेरो धन्यवाद छ ।

यो पनि : 


Author

थप समाचार
x