वार्ता

'विधान र विधिले तय गरेको बाटो हिँड्ने हो भने पार्टी एक भएर जान्छ'

'अहिले एमालेको आमा नै अदालत हो'

विनोद देवकोटा |
बैशाख २५, २०७८ शनिबार ८:२२ बजे

आउदो सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन प्रतिनिधि सभाको विशेष अधिवेशन आह्वान भएको छ । संसद्‍मा विश्वासको मत लिन प्रधानमन्त्री ओलीले दौडधुप बढाएका छन् । आफ्नै दल (नेकपा एमाले) लाई एकीकृत राख्न नसकेका ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत भेटेर विश्वासको मत दिन आग्रह गरे । जुन कांग्रेसले अस्वीकार गर्‍यो । तर, आफ्नै पार्टीका सबै सांसदले विश्वासको मत लिनेमा भने ओली आफै विश्वस्त छैनन् । मूल नेतृत्वसँग असन्तुष्ट रहेका माधवकुमार नेपाल पक्षका नेताहरूले संसदमा विश्वासको मत नदिन सक्ने भय ओलीलाई छ । यद्यपि  यस विषयमा नेपाल पक्षले कुनै निर्णय गरेको छैन । 

यसअघि जिम्मेवारीविहीन बनाउनेदेखि पार्टीबाट निस्कासन गरेका र स्पष्टीकरण सोधका नेताहरूलाई मनाउन ओली पछिल्लो समय निरन्तर छलफलमा छन् । बुधबारदेखि निरन्तर छलफलहरू भइरहेका छन् । के पछिल्लो दौडधुपले ‘विभाजनउन्मुख’ एमालेलाई एकीकृत राख्न मद्दत गर्ला ? यसै विषयमा केन्द्रित रहेर एमाले नेता विरोध खतिवडासँग इकागजकर्मी विनोद देवकोटोले कुराकानी गरेका छन् । प्रस्तुत छ खतिवडासँग गरिएको कुराकानीको सम्पादित अंश :
 
पछिल्लो समय एमाले नेताहरूको जुन दौडधुप देखिएको छ, यसको संकेत के हो ? 
-यो स्वाभाविक हो । पार्टीलाई राम्रो बनाउन, विश्वासको मत प्राप्त गर्नलाई पार्टीका नेताहरूले मेहेनत गर्नुलाई स्वाभाविक रूपमा लिनुपर्छ । जे गरेका छन् राम्रो गरेका छन् । चाडो गर्नुपर्थ्यो बरु ढिलो गरे । 


पार्टीलाई एक ढिक्का बनाएर लिने जिम्मेवारी संस्थापनकै हो । एमालेलाई एकढिक्का बनाएर जानुपर्ने दायित्व अध्यक्षको हो । पुस ५ गतेबाट बिथोलिएका घटनाक्रम हुन् । फागुन २३ गते अदालतले एमाले माओवादी छुट्याएर पुनःस्थापना गर्‍यो । ठीक/बेठिक के गर्‍यो बहसको विषय छँदै छन् । तर, त्यही बेलादेखि पार्टीलाई एकीकृतभन्दा पनि विभाजनको दिशातिर लैजाने काम भयो । घटनाक्रम र व्यवहारले त्यही देखायो । फागुन २८ गते उहाँले आफ्ना पक्षीय केन्द्रीय सदस्य बोलाएर अथवा चलनचल्तीको भाषामा गुटको बैठक राखेर एकपक्षीय चाहिँदा–नचाहिँदा निर्णय गरेर पार्टीलाई विभाजनउन्मुख बनाउने विन्दूमा पुर्‍याउनुभयो । 

त्यसलाई सुधार गरेर सर्वोच्चले फागुन २३ पुनःस्थापित गरेको नेकपा एमालेको २०७५ जेठ ३ अगाडिको अवस्थामा अध्यक्ष, उपाध्यक्ष, महासचिवसहित  पहिलो केन्द्रीय कमिटीको बैठक बस्यो भने पार्टी एक रहन्छ । त्यो बैठकले महाधिवेशन गर्ने हो कि, कसैलाई थप्ने हो कि, कार्य विभाजन कसरी गर्न हो भनेर थालनी गर्ने हो भने पार्टी एक रहन्छ । त्यो मात्रै आधार छ । त्योभन्दा आधार छैन । त्योभन्दा गुटगत भेलाबाट पार्टीको निर्णय मान्य हुँदैन । सुरुदेखि हाम्रो भनाइ त्यही हो । सुधार एकताको लागि पार्टीलाई विधान, पद्धति र विधिसम्मत चलाउने कुरामा प्रयत्न भएको हो भने सकारात्मक रूपमा लिनुपर्छ । 

यसले कुनै सुखद नतिजा दिनेमा कत्तिको विस्वस्त हुनुहुन्छ ? के कुनै सहमतिको बिन्दु पहिलिएको छ ?
-अनुमान नगरौं । अहिलेसम्म केही गरेको छैन । २७ गते भोट आयो । त्यसपछि कुत्कुती लाग्यो होला । अस्तीसम्म भोट नभए पनि हुन्छ । उनीहरू नभए पनि हुन्छ । म एक्लै जानसक्छु भन्ने मानसिकता थियो । अब २७ गते भोट चाहिने भएपछि अनुरोध गर्नुपर्‍यो । आफूले गरेका गल्ती कमजोरीमा आत्मालोचना हुनुपर्‍यो । सुधार्नुपर्‍यो । त्यो मनसायसहितको दौडधुप हो भने राम्रै मान्नुपर्छ । 

त्यसले वामपन्थी आन्दोलन र एमालेका समर्थक र शुभेच्छुकमा उत्साह नै भर्छ । होइन, यो पनि एउटा जालझेलको पाटो हो । अल्मल्याएजस्तो गर्ने, फेरि झुक्याउने, फेरि पेल्ने, फेरि कारबाही गर्ने भित्र मनमा राखेर बाहिर मुखमा मह दलेर गरेको मुस्कानको कुनै अर्थ रहदैन । यस्तो जालझेलहरू धेरै भइसक्यो । पहिले मानिसहरूमा नेताको बोलीमा विश्वास हुन्थ्यो, आश्वासनमा विश्वास हुन्थ्यो । भनाइमा विश्वास हुन्थ्यो । अब त्यो चिजहरू टुट्दै गएको छ । अगाडि भएका लिखित सम्झौताहरू लागू भएनन् । नेकपा एक हुँदै गत भदौ २६ गते कार्यदलले प्रतिवेदन दियो । त्यसलाई अन्तरपार्टी सर्कूलरका रूपमा जारी गरियो । त्यो लागू भएन । दुई पार्टी एकता हुँदा कोटको खल्तीमा देखाउने एउटा नदेखाउने एउटा सम्झौता भयो । त्यो लागू भएन । त्यसका कराण अहिले गरिने सम्झौता भनेको होला, हेरौं, गरौंला भन्ने तहबाट यस्ता कुरा हुँदैनन् । 

किटानीसाथ फागुन २३ को फैसलापछिको एमाले, ब्यूँतिएको एमाले, २०७५ जेठअघिको एमालेका कमिटीहरू सबै बसेर निर्णय गर्नुपर्छ । साझा बाटो त्यही हो । ढोकाबाट हिँड्नुपर्छ । झ्यालबाट हुँदैन । पर्खाल नाँघेर हुँदैन ।  विधान र विधिले तय गरेका बाटो हिँड्ने हो भने कुनै ठूलो विवाद छैन । अहम् र अहंकार छोड्नुपर्‍यो । मूल रूपबाट नेतृत्व अध्यक्षले गर्नुपर्‍यो । 

भनेपछि तत्कालीन नेकपा एकताअघिको अवस्थामा फर्किनुको विकल्प छैन ? यहाँहरूले पनि समानान्तर कमिटीहरू बनाउनु भएको छ नि ?
-पूराना कमिटी सबै सिद्धिन्छन् । समानान्तर किन ? पार्टीमा बस्न नदिएपछि बनेका हुन् । प्रवेश निषेध गरेपछि पो समानान्तर कमिटी बनाउन थाल्या हो । हामीले पहिले समानान्तर बनाएको हो र ? उहाँले पहिले गुटको बैठक राखेर नेताहरूलाई जिम्मेवारीविहीन बनाउने काम गर्नु भएको हो । जिम्मेवारी खोसेर काम गरेपछि एमाले जोगाउन हामीले कमिटी बनाएको हो । पार्टी विधि र विधानअनुसार चलेपछि त्यसै पनि निस्तेज भइहाल्छन् नि ।  आफै खारेज हुन्छन् ।

‘आफू डुब्ने भएपछि तिमीलाई पनि डुबाउँछौ’ भन्ने आशयका साथ यहाँहरू पक्षका कतिपय नेताहरूले टिप्पणी पनि गर्नुभयो । एक रहने अवस्था रहेन भने कसरी अगाडि बढ्नुहुन्‍छ ? 
-कसले के भन्यो त्यता नजाऔं । घरमुलीले घरमा बस्न दिएन । स्वतः जसले पनि बुझ्ने कुरो छ । अर्को घर बनाएर बस्छन् । मूल नेतृत्वले समेटेर लिएर सक्यो कि सकेन ? घरबाट निकालेपछि, घरमा बस्न दिएन भने अर्को घर बनाउन परहाल्यो नि । एमालेलाई ध्वस्त बनाउन थाल्या हुनाले । हामी एमाले बचाउन हिँड्छौं । 

तर, मूल प्रश्न कहाँ हो भने नेतृत्वले पार्टीलाई, कार्यकर्तालाई एकीकृत एमाले बचाएर लिन सक्यो कि सकेन ? समेटेन लिएर हिँड्दाहिँड्दै हिँड्यो भने अपराध हुन्छ । घरबाट निकालेपछि अर्को घर बनाउन परिहाल्यो नि । एकीकृत एमालेलाई बचाएर राख्ने मूल नेतृत्वको जिम्मेवारी हो । यो एमालेलाई कुनै ओली वा मैले जिन्दावाद, मूर्दावाद, एमाले ब्युँताइदे भनेर जुलुस निकालेर ब्युँतिएको होइन । केपी ओलीसहित हामीले एमाले मारेर, पोलेर नेकपा बनाएको हो । त्यो नेकपा पार्टीलाई फुटाएर अदालतले एमाले जन्माएको हो । यसको आमा भन्ने हो भने अहिले अदालत हो । 

एमाले ब्युँतिएपछिको अध्यक्ष म भनेर बसेपछि उपाध्यक्ष को थियो ? महासचिव को थियो ? सचिव को थियो ? स्थायी समितिमा को-को थिए ? लडाइँ त्यहाँ हो ।  म अध्यक्षलाई सर्वोच्चले ब्यूँताइदियो, तँलाई ब्यूँताएन भनेर गलत ब्याख्या गरेपछि, हाम्रो लडाइँ त्यहातिर हो । त्यो लडाइँमा विधि, पद्धतिमा आउने हो भने पार्टी एक भएर जान्छ । होइन, मेरो गोरुको बाह्रै टक्का हो । मेरो आदेश पालना गर्नुपर्छ । जय जयकारभन्दा बेगर मेरो आलोचना, सुधार, मेरा विषयमा केही पनि टिप्पणी गर्न पाइदैन भन्ने, निकाल्दै स्पष्टीकरण सोध्दै, २७ गते झुक्याएर भोट लिन्छु । २८ गते दसैंको खसी जस्तो बनाउँछु भनेर भित्र कुटिलता राखेर बाहिर आइरहेको भन्ने कुरा अनुमान छ । त्यो स्थिति हो भने पार्टी एक भएर बस्छ कि बस्दैन भनेर सोधिरहनै परेन ।
 
एमाले एक रहन सकेन भने माओवादीसहितको नयाँ पार्टी बन्ने चर्चा पनि छ । स्वयं माआवादी अध्यक्ष प्रचण्डले पनि यसविषयमा सार्वजनिक टिप्पणी गर्नु भएको छ । यहाँहरूको तयारी के छ ?

-माधव नेपालले पार्टी बनाउनुहुन्छ र त्यसमा म मिसिन्छु भन्नु भएको होला । तपाईंले गलत सुन्नुभयो । कसले के भने भन्नेमा धेरै टिप्पणी गर्न उपयुक्त हुँदैन । मेरो पार्टीको विषयमा मैले भन्ने हो । कसले के भन्यो त्यता नजाऔं । को कहाँ मिल्ने ? कुनै बेला माओवादी र कांग्रेस मिले, कुनै बेला एमाले माओवादी मिले, कुनै बेला कांग्रेस र एमाले मिलेर सरकार बनेको थियो । बहुदलीय व्यवस्थामा भोलि के हुन्छ ? को कता मिल्छ । कोसँग गठबन्धन गरे चुनाव लड्छ । यस्ता प्रश्नमा गयौं भने हामी बेकारमा अन्यौलमा जान्छौं । 

अहिलेको कुरो २०७५ जेठ ३ अगाडिको एमाले ब्यूँतिनु पर्‍यो केन्द्रदेखि जिल्लासम्म । यदि हुन्छ भने पार्टी एक भएर जान्छ । त्यो हुँदैन भने, पार्टी कमिटी भंग गरिन्छन्, जिम्मेवारीविहीन बनाइन्छन् भने त्यो पार्टी कहिल्यै पनि एकीकृत पार्टी बन्न सक्दैन । एकीकृत पार्टी बन्न नसकेपछि स्वभावैले पार्टीबाट निस्कासन गरिएका, पार्टीमा हेपिएका, काम गर्न नदिएकाहरूले पार्टी बचाउन अलग बाटो समात्छन्, त्यो जे पनि हुनसक्छ । नयाँ पार्टी पनि हुनसक्छ । फ्लोर क्रस पनि हुनसक्छ । विश्वासको मत दिने पनि हुनसक्छ । जे पनि हुनसक्छ ।


Author

विनोद देवकोटा

समसामयिक/राजनीतिक विषयमा कलम चलाउने देवकोटा सिनियर करेस्पोन्डेन्ट हुन्।


थप समाचार
x