वार्ता

अब थपिने निषेधाज्ञामा अझ कडाइ गरिन्छ

अतिन आचार्य |
बैशाख २८, २०७८ मंगलबार १२:४२ बजे

उपत्यकालगायत धेरै जिल्लामा कोभिड-१९ संक्रमित बढेकाले अधिकांश जिल्लामा निषेधाज्ञा छ । कोभिड नियन्त्रण गर्न काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रशासन प्रमुखले केही साताअघिदेखि निषेधाज्ञा गरेका छन् । यहीँ समयमा कालोबजारी तथा निषेधाज्ञा उल्लघंनका घटनासमेत बढेका छन् । सबै घरभित्र बस्न बाध्य छन् । निषेधाज्ञा उल्लघंनका घटना र कालोबजारी रोक्न के कस्तो पहल भइरहेको छ, नियन्त्रणबारे प्रशासन कार्यालयले के गरिरहेको छ, स्वास्थ्य मापदण्डको कडाइमा के काम भइरहेको छ ? काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रमुख कालीप्रसाद पराजुलीसँग इकागजका अतिन आचार्यको संवाद :

उपत्यकामा कोभिड संक्रमितको संख्या बढेपछि निषेधाज्ञा छ । निषेधाज्ञाको प्रभावकारीता खासै देखिएको छैन । दिन प्रतिदिन संक्रमणको ग्राफ उकालो लागिरहेको छ, संक्रमण न्युनिकरण गर्न निषेधाज्ञा कत्तिको उपलब्धीपूर्ण रहयो ?
संक्रमण बढेकाले उपत्यकामा तीनै जिल्लाका प्रशासन प्रमुख बसेर केही समयका लागि निषेधाज्ञा गर्ने निर्णय गर्‍यौ । कोभिड नियन्त्रणका लागि निषेधाज्ञा अन्तिम विकल्प होइन । तर, बाध्य भएर निषेधाज्ञा गर्‍यौ । दुई चरणमा निषेधाज्ञा हुँदा धेरै कुराहरू लागू भएका छन् । आवतजावतमा कमी भयो तर बिहानको समयमा मानिसको चाप बढिरहेको छ । नागरिकको जनजीवन सहज बनाउन खाद्यान्नका पसलहरू खोल्न अनुमति दिँयौ तर भिडभाड बढ्यो । त्यसलाई व्यवस्थापन गर्न सकेनौ । भिडभाड व्यवस्थपन पहिलो प्राथमिकतामा राखिन्छ । जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधिलाई सक्रिय गराइ नागरिकको चहलपहल घटाउन मद्दत पुर्‍याउने आशा राखेका छौ । अर्को महत्त्वपूर्ण कुरा चाहिँ सोचे अनुरुप संक्रमण दरमा नियन्त्रणमा आएको छ । समयमा नै गरेकाले केही नियन्त्रणमा आएको हो ।


महामारीमा औषधि तथा अत्यावश्यक वस्तुहरूको अभाव र कालोबजारी भइरहेको छ, त्यसलाई नियन्त्रण  गर्न के गरिरहनु भएको छ ?
बजार अनुगमन गर्न सहायक जिल्ला प्रमुख अधिकारीको नेतृत्त्वमा टिम बनाएका छौँ । वाणिज्य विभागसँग सहकार्य गरी अनुगमन गरी कारबाही गरिरहेका छौं । केही अस्पताललाई स्पष्टीकरण पनि लिएर काम कारबाही गर्ने तयारीमा छौँ । तीन जनाको बेग्लाबेग्लै टिम बनाएर एकजनाले अत्यावश्यक सामग्री तथा औषधिको अनुगमन,  अक्सिजनको अवस्था बजारमा कत्तिको अभाव छ त्यसको तीव्र रूपमा अनुगमन भइरहेको छ । दैनिक उपभोग्य खाद्यान्न सामग्री बिक्रिवितरणबारे अनुगमन गरी प्रतिवेदन बुझाउन बजार अनुगमन तीव्र रूपमा भइरहेको छ ।

बेलुका बाटोमा उपत्यका छोडनेहरूको भिड देखिन्छ । त्यस्ता मानिसहरूलाई जहाँ छन त्यहीँ बस्न किन अनुरोध नगर्नु भएको ?
सुरुको समयमा उपत्यका छोडन चाहननेलाई समय दिएका थियौँ । जो-जसलाई जरुरी थियो, त्यतिखेर उपत्यका छोडेर गइसकेका छन् । आवश्यक र अति जरुरी  भएकाहरू पनि गइसकेका छन् । बिरामी भएकालाई बाहिर जान दिएका छौँ । सामाजिक र धार्मिक रीति-रिवाजका क्रियाकलापमा सहभागी हुनेलाई पनि पासको सेवा उपलब्ध गराएर जाने व्यवस्था मिलाएका छौँ । उपत्यका छोड्न चाहनेले आफू बसेका स्थानीय तहका जनप्रतिनिधिलाई सम्पर्क गरी समस्या भएमा राहत उपलब्ध गराइदिन लागि हामीले आग्रह गरेका छौँ । कोभिडको संख्या नघटेकाले आफू बसेका ठाउँमा बस्नुपर्छ । आवत-जावत बढी भएकाले संक्रमण फैलिएकले यात्रामा हामीले कडाइ गरेका हौं ।

पुनः निषेधाज्ञा थप्ने तयारीमा हुनुहुन्छ । अबको निषेधाज्ञा कस्तो हुन्छ ?
मैले यसअघि पनि भनिसकेको छु, मानिसको आवतजावत बढेको कारण संक्रमण फैलिएकाले निषेधाज्ञा गर्न बाध्य भएका हौँ। अब थपिने निषेधाज्ञामा अझ कडाइ हुन्छ । अहिले धेरै मानिसहरू घर अगाडि बाटोमा गफ गरिरहेका छन् । त्यस्ता कार्यलाई पुरै निरुत्साहन गर्छौ र पूर्ण कारबाही गरिन्छ । कतिपय स्थानमा जरिवानासमेत गरिसकेका छौँ । खाद्यान्नलगायतका सामग्रीहरू खरिद गर्न समय दिने र त्यसमा कडाइका जनस्वास्थ्यका मापदण्ड पालना गराइन्छ ।

निषेधाज्ञा कहिलेसम्म थप्ने योजनामा हुनुहुन्छ ? 
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार तत्कालै निषेधाज्ञा खुलाउने अवस्था छैन । स्वास्थ्य मन्त्रालयका विज्ञहरूले संक्रमण तीव्र रुपमा बढिरहेकाले र जेठ महिनामा अझ बढने संकेत गरिरहनु भएको छ । यो समयमा निषेधाज्ञा नगरेको भए मुलुकमा अझ नाजुक अवस्थामा हुन्थ्यो । निषेधाज्ञाले केही हदसम्म नियन्त्रण भएको छ । संक्रमण बढ्न नदिन यो निषेधाज्ञा कोषेढुंगा बनेको छ । तत्कालका लागि दुई साता निषेधाज्ञा थपिन्छ । निको हुने दर बढ्यो र मृत्युदर घटेमा केही सोच्ने छौँ । दुई हप्तामा के हुन्छ त्यसालई समिक्षा गरी निर्णय गरिन्छ ।

होम आइसोलेसनका संक्रमितहरू बजारमा खुलेआम हिडिरहका छन भनेर जनप्रतिनिधिहरूले भनिरहेका छन् । संक्रमण झन फैलने त्रास भएको छ त्यसलाई कसरी रोक्नुहुन्छ ?
सुरक्षा अधिकारीसँग निरन्तर छलफलमा छौ । निषेधाज्ञाको अवस्था कस्तो छ भनेर नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीले एकसाथ अनुगमन गरिरहेका छन् । अनुगमन गरेर भिडभाड नियन्त्रण गर्ने काम भइरहेको छ । तर, यसका लागि सबै नागरिकरू सचेत हुनुपर्छ । जिल्लाका सबै स्थानीय तहका प्रतिनिधिलाई पनि भनेर हरेक टोल-टोलमा आवश्यक स्वयंसेवक खटाएर सूचना र सन्देश जारी गर्न निर्देशन दिएका छौं ।

सडकमा प्रशस्तै सवारीसाधन सञ्चालन भएको हेर्दा त निषेधाज्ञा जस्तो पनि देखिदैन । कसरी यतिका धेरै सवारीसाधनमा सञ्चालनमा आए ?
सडकमा धेरै सवारी साधन सञ्चालनमा आएको पक्कै हो । तर निषेधाज्ञा उल्लघंन गरेका सवारीसाधनलाई कारबाही पनि गरिएको छ । ट्राफिकले १८ हजार भन्दा बढी सवारी साधनलाई 'होल्डिङ' गरेर कारबाही गरेको छ । ट्राफिक प्रहरीको ८० ठाउँमा चेकिङ पोइन्ट, सशस्त्र प्रहरीको ३३ ठाउँमा चेकिङ पोइन्ट, नेपाल प्रहरीको १३३ ठाउँमा चेकिड पोइन्ट राखि कडा चेकजाँच गरिएको छ । यसका लागि चार हजार पाँच सय जनशक्‍ति परिचालन गरि निषेधाज्ञालाई कडा बनाउने प्रयास गरिएको छ । बिना पास अनावश्यक आवतजावत गर्ने सेवा सुविधा कसैलाई पनि दिएका छैनौ । यति गर्दा पनि हामी सन्तुष्ट छैनौ र अझै कडाइका साथ निषेधाज्ञा लागू गर्ने नीति लिएका छौँ । अब थप्ने निषेधाज्ञमा त्यो हुन्छ । 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x