वार्ता

'सुध्रिएन भने कांग्रेस पार्टीकाे भविष्य छैन'

उपेन्द्र अर्याल |
बैशाख २८, २०८० बिहीबार १५:५० बजे

नेपाली कांग्रेसका युवा नेताका रूपमा परिचित छन्, गुरुराज घिमिरे । लामो समयदेखि पार्टीभित्रको विधि र पद्धतिका विषयमा विभिन्न कुरा उठाइरहेका उनले पार्टीभित्र रूपान्तरणका लागि तेस्रो धारका साथीहरूसँग मिलेर देशभर छलफलको अभियान सुरु गरेका छन् । उनी नेपाली  कांग्रेसका पूर्वकेन्द्रीय सदस्य पनि हुन् । नेपाल विद्यार्थी संघको पूर्वकेन्द्रीय अध्यक्षसमेत रहेका घिमिरे  गत महाधिवेशनमा कोशी प्रदेशको सभापतिमा उद्धव थापासँग पराजित भएका थिए । गत निर्वाचनमा  कोशी प्रदेशसभा सदस्यमा मोरङ-४ (१) बाट उम्मेदवारी दिएका घिमिरे एमालेका जयप्रकाश चौधरीसँग पराजित भएका थिए । उनै नेता घिमिरेसँग उनीहरूले सुरु गर्न लागेको कांग्रेस रूपान्तरको अभियान, कांग्रेस पार्टीको वर्तमान अवस्था र भविष्यका बारेमा इकागजका उपेन्द्र अर्यालले कुराकानी गरेका छन् । प्रस्तुत छ, उक्त कुराकानीको सम्पादित अंशः

तपाईंहरूले पार्टी रूपान्तरण र सुधारका लागि नयाँ अभियान सुरु गर्न लाग्नुभएको रहेछ । यो कस्तो अभियान हो ?


हामीलाई बोलेको वा लागेको कुरा के हाे भने नेपालको राजनीति ८० काे दशकसम्म आइपुग्दा दुई ठूलठूला राजनीतिक परिवर्तन भए । प्रजातन्त्रको स्थापना भयो । त्यसपछि लोकतन्त्र/ गणतन्त्रको स्थापना भयो । दलहरू खुला भए । जनताको इच्छा चाहना अनुसार जनप्रतिनिधिहरू छानिए । सरकारको नेतृत्वमा दलहरू पालैपालो गए । प्रेस स्वतन्त्रतादेखि लिएर राजनीतिक स्वतन्त्रता सबैको विकास भयो । जनताले आफूलाई लागेको बोल्न, भन्न, आफूलाई लागेको व्यापार–व्यवसाय गर्न स्वतन्त्रता पाए । कसैको त्रासमा रहनुपरेन । थोर बहुत केही विकास पनि भएकै छ । तर, राजनीतिक दलप्रति जनताको भरोसा बिस्तारै घट्दै गएको छ । राजनीतिक दलहरूले मुलुकलाई उँभो लगाउँदैनन्, जनताको जीवनलाई समुन्नत बनाउँदैनन् भन्ने  आशंका बलियो हुँदै गएको छ । कम्तीमा गणतन्त्रपछि मुलुकले समृद्धिको लय समात्छ भन्ने अपेक्षा थियो । तर, दुःखका साथ भन्नुपर्छ यी कुनै विषयमा पनि अपेक्षाकृत उन्नति हुन सकेन ।

अर्को पक्ष, पार्टीहरूको सञ्चालन पद्धति लोकतान्त्रिक भएन । लोकतन्त्रको मन्त्र चै जप्यौँ । तर, हामी लोकतान्त्रिक आचरण व्यवहारमा प्रदर्शन गर्न सकेनौँ । सीमित व्यक्तिको हातमा पार्टीको प्रभुत्व गयो ।  पार्टीले प्राप्त गरेका अवसर न्यायोचित रूपमा वितरण भएनन् । पार्टीमा व्यक्तिको लगानी, उसको योग्यता, संगठनमा उसको आवश्यकताको मूल्यांकन गरिएन । मूल्यांकन मनोगत र गुटप्रधान गयो । नेता खुसी भयो भने उसले केही अवसर प्राप्त गर्ने भयो । बारम्बार असफल भएको व्यक्ति पनि नेता रिझाएर पटकपटक दोहोर्याएर तेहर्याएर भूमिकामा आइरहने अवस्था आयो । योग्यता भएको र राम्रो काम गरेको मान्छेले कहिल्यै पनि अवसर पाएन । यसले धेरै कार्यकर्तालाई दुःखी बनाएको छ । नयाँ पुस्ताका साथीहरूमा वितृष्णा पैदा गर्यो । यी सबै कुराहरूको पृष्ठभूमिमा हामीलाई कस्तो नेपाली कांग्रेस चाहिएको हो ? यस विषयमा छलफल गर्न खोजेका हौँ ।

भनेपछि यसलाई कांग्रेस पार्टीको रूपान्तरणको प्रयास भन्न मिल्छ । तर, हुन्छ भन्नेमा कति विश्वस्त हुनुहुन्छ ?

नेपाली कांग्रेसको सदस्य भएकाले यही पार्टीलाई जरैदेखि सुधार गर्ने भन्ने हो । बिपीले हरेक नेपालीकाे घरमा एउटा दुहुनु गाई हुनुपर्छ भन्नुहुन्थ्यो । तर, अहिलेको नयाँ पुस्तालाई दुहुनु गाई भन्दा हुन्छ कि हुन्न ? के चाहिएको छ नयाँ पुस्तालाई ? त्यो बुझ्नुपर्छ । पार्टीका सन्दर्भमा गरिएको पुरानो व्याख्यालाई पुन:परिभाषित गर्नुपर्ने भएको छ । संगठनलाई तलैबाट पुनर्संगठित गर्नुपर्ने भयो । अहिले क्रियाशील सदस्यता  वितरण प्रणाली  ठीक छैन । दुई किसिमको सदस्यता प्रणाली राख्ने कि एउटा मात्रै सदस्यता प्रणाली राख्ने ? सदस्यता वितरण कसरी गर्ने ? यही कुराबाट प्रश्न गर्न थाल्नुपर्छ । अहिलेसम्मको आधार हेर्दा आफूलाई मत हाल्नेलाई मात्रै क्रियाशील सदस्यता दिने परिपाटी छ ।

कांग्रेसका बहुमत सदस्य मत हाल्ने मात्रै भए । त्यसमा सिन्डिकेट प्रणाली हुर्कियो । पार्टी बीचमा हुर्केको, भिजेको र राम्रो काम गरेको प्रजातन्त्र बुझेको, पार्टीको आदर्श र मर्मलाई बुझेकोलाई सदस्य बनाउनुपर्छ । वर्तमान सदस्यता प्रणाली भद्दा भयो । यसलाई बदल्नुपर्छ । हामीलाई क्रियाशील सदस्यता नचाहिन पनि सक्छ । त्यसलाई खुला गरेर अनलाइन सदस्यता दिने प्रावधान राख्नुपर्छ । सदस्यको योगदानका आधारमा उसले अवसर पाउने ग्यारेन्टी गर्नुपर्छ । हाम्रो वर्तमान निर्वाचन प्रणाली पनि फेर्नुपर्छ । बेलायतमा टोनी ब्लेयरको ‘न्यू लेबर’ भनेजस्तै ‘न्यू कंग्रेस’ बनाउन सक्यौँ भने नेपाली कांग्रेसको भविष्य सुरक्षित राख्न सकिन्छ । होइन भने हाम्रा चुनौतीहरू थपिँदैछन् । कम्युनिष्ट पार्टीहरू हाम्रो कांग्रेस पार्टीलाई कमजोर बनाउन लागेका छन् । अब नयाँ डेमोक्रेटिक पार्टीहरू पुराना पार्टीहरूलाई विस्थापित गर्न चाहान्छन् । तीन थरिको चुनौती छ । यो विषयमा वृहत् अन्तर्क्रिया अभियान हो, हाम्रो अभियान ।

यो रूपान्तरणको बहस कहाँबाट कसरी सुरु हुँदैछ ?

 बिहीबार हामी बुटवल जाँदैछौँ । जेठ १ बाट प्रारम्भ हुन्छ । हाम्रो डकुमेन्टेसन फाइनल चरणमा छ । हामी सबै मस्यौदा प्रस्तुत गरेर सात प्रदेशमा जान्छौँ । सातै प्रदेशका संयोजक तोकिसकेका छौँ । केन्द्रमा एउटा समिति बनाएका छौँ । प्रदेशमा गएपछि हामी जिल्ला तहमा जान्छौँ । र त्यसलाई अन्तिम रूप दिन्छौँ । मलाई लाग्छ यो काम हामी जेठ भित्रमा सक्छौँ । असोजदेखि त्यसलाई जिल्ला तहमा लैजान्छौँ । त्यसलाई अन्तिम रूप दिन्छौँ । र पार्टीको आन्तरिक जीवनलाई आमूल परिवर्तन गर्ने अवस्थाका लागि हाम्रो आधार हुन्छ ।

तपाईंहरूले अहिले तयार गरिरहनुभएको दस्तावेजमा के छ ?

मुलुकको अवस्था र संगठनको समस्या र समाधान केन्द्रित विषयहरू समेटिएको छ । अहिले हामीलाई लागेको कुरा लेखिएको छ । तर, त्यो अन्तिम होइन । अब हामी जहाँ गएर संवाद गर्छौँ, हामीलाई प्राप्त भएका प्रतिक्रियाबाट त्यसलाई समृद्ध बनाउँछौँ । अहिले एउटा अवधारणापत्रका रूपमा मात्रै जान्छ । 

अभियानमा पार्टीका पदाधिकारीहरू पनि सहभागी हुनुहुन्छ कि तपाईंहरू मात्रै हुनुहुन्छ ?

पदाधिकारी साथीहरूको पनि पार्टी पद्धतिप्रति विभिन्न प्रतिक्रिया आइरहेको छ । कि पार्टी रूपान्तरण गर्छौँ कि विद्रोह गर्छौँ भन्नुभएको छ । यो १५/१६ महिनाको अनुभवका आधारमा उहाँहरू जुन अनुभव वा जुन प्रतिक्रिया व्यक्त गर्नुभयो त्यसले हामीलाई बल पुर्याएको छ । उहाँहरूलाई पनि पार्टीको पद्धतिमा चित्त बुझेको छैन भन्ने देखिएको छ । हामीले यो कुरालाई धेरै अघिदेखि उठाउँदै आएका थियौँ । आज पदाधिकारीले नै भनिदिनुभएपछि यो कुरा प्रमाणित नै भएको छ ।

पार्टीमा त अहिले पनि त विधान छ नि । भोलि तपाईंहरूले छलफल गरेर अर्को विधान बनाउनुहोला । तर, त्यो विधानपनि त सभापतिले मान्छन् भनेर कसरी विश्वस्त हुन सकिन्छ ?

त्यो त मान्न बाध्य हुन्छन् । एउटा डेमोक्रेटिक पार्टीले पार्टीको विधान नमानी सुखै छैन ।  पार्टीको विधान नमान्न कसैलाई पनि सुविधा छैन । लोकतान्त्रिक शासन प्रणालीमा सरकार मुलुकको संविधान मान्न जसरी बाध्य हुन्छ, त्यसरी पार्टी सदस्य पनि मान्न बाध्य हुन्छन् । विधान त महाधिवेशनका सदस्यले हामी यो प्रक्रिया मान्छौँ, यसभित्र रहेर काम गर्छौँ भनेर हामीले गरेको संकल्प हो । त्यो संकल्प तोड्छौँ भने हामी प्रजातान्त्रिक रहँदैनौँ । 

त्यसो भए वर्तमान सभापति चैँ किन विधानअनुसार नचल्नुभएको ?

उहाँ परम्पराबाट थिचिनुभयो । पञ्चायत कालमा समझदारीबाट चल्यो । त्यो विधान गौण भयो । किनभने त्यसबेला प्रतिबन्धित थियो । अहिलेका सभापतिले पनि त्यसकै निरन्तरतामा पार्टी अगाडि बढाउन खोज्नुभयो । त्यसो गर्न पाइँदैन । अहिले हामीमाथि बन्देज छैन, प्रतिबन्ध छैन । हामीले खुला छलफल गरेर हामी विधि–विधान अनुसार काम गर्न सक्छौँ । विधान नमान्ने अनि मनोगत रूपबाट संस्थाहरू चलाउने कुरा त अब सम्भव नै हुँदैन । त्यसैले पुरानो प्रतिकूल परिस्थितिमा जसरी हामीले पार्टी चलाउनु पर्यो, त्यस्तै तरिका अहिले हामीले अपनाइरहेका छौँ । त्यो उपयुक्त भएन । 

भर्खरै महाधिवेशन सम्पन्न गरेर नयाँ पदाधिकारीहरू आउनुभएको छ । उहाँहरूले पनि काम गर्न सक्नुभएन कि ? विधानमै उहाँहरूलाई अधिकार दिइएको छैन कि ? सभापतिकै एकोहोरो पेलान भयो ?

सभापतिले पनि पार्टीमा आफ्नो पुरातन प्रक्रिया परिवर्तन गरेर, प्रश्नहरू आए भनेर नयाँ ढंगले चल्नुपर्ने थियो ।  तर, सभापति परम्परागत पथमै हिँड्नुभयो । र, पदाधिकारी पनि परम्पराबाट थिचिनुभयो । सभापतिले गर्नुहोला भन्दाभन्दै पर्खिनुभयो । तर, सभापतिले जसरी पार्टीलाई बढाउनुपर्छ भन्ने आम चाहना थियो, त्यसरी लैजान सक्नुभएन । त्यसैले धैर्यता टुट्यो । हामीले बाहिरबाट बुझ्ने भनेको पदाधिकारीको हातमा तालाचाबी छ भन्ने हो । उहाँहरूले राम्रो गर्नुपर्छ भन्ने अपेक्षा हाम्रो थियो । तर, पार्टीभित्र समन्वय, समझदारी, विधानको पालना हुन सकेन । महाधिवेशनको डेढ वर्षसम्म पनि केन्द्रीय समितिले पूरा भएन, संगठन र विभाग गठन भएनन् । भ्रातृसंस्थाको अवस्था लथालिंग छ । अवसर पाउने मान्छेले पार्टीको पनि लिएको छ, सरकारको पनि लिएको छ । एकथरी मान्छेले पार्टीमा निरन्तर काम गर्नुपर्ने, तर अवसर आउँदा रमिते हुनुपर्ने अवस्था छ । यो कुरालाई बुझेर महामन्त्री र अन्य पदाधिकारीले काम गर्ने कोसिस गर्नुभयो । तर, उहाँहरूको प्रयास सार्थक भएन । त्यसैले आफ्नो कुरा राख्नुभयो । 

पहिले पनि देउवाले तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग विद्रोह गरेर पार्टी फुटाउनु परेको थियो । महामन्त्रीहरूको संकेत पनि त्यस्तै हो कि ? कसरी बुझ्ने ?

त्यही अवस्था आएको हो जस्तो लाग्दैन मलाई । महामन्त्रीहरू त्यही अवस्थामा पुग्नुभएको जस्तो लाग्दैन । उहाँहरूले सुधारको प्रयत्नका लागि यसो गर्नु भएको हो भन्ने मैले बुझेको छु । कम्तीमा म के कुरामा खुसी छु भने हामीले उठाएका कुरा जायज हुन भन्ने कुरा उहाँहरूको अभिव्यक्तिबाट प्रमाणित भयो । उहाँहरूको विद्रोह भने पार्टीभित्रै हुन्छ भन्ने विश्वास गर्छु ।

सभापतिले पार्टीभित्र निर्वाचित भएर आएकालाई बेवास्ता गर्दै अनिर्वाचितसँग छलफल गरेर पार्टी चलाउन मिल्छ त ?

पुरानै धङधङी । पुरातनवादी सोच । पुरानै माइन्डसेटले यसरी चलेको हो । पदाधिकारी निर्वाचित भएर आइसकेपछि ल पार्टी चलाउनुहोस्, कार्यक्रम बनाउनुहोस् भन्ने हो नि । निर्वाचितका पनि भनाइ सुन्नुपर्यो । केन्द्रीय सदस्यको पनि सुन्नुपर्यो । नत्र कसरी चल्छ । अवसर जति सप्पै गैर निर्वाचित र आफ्नो प्रशस्ति गाउनेहरूलाई दिने अनि अरु मुकदर्शक हुने हुनु हुँदैन ।

पार्टी अब कहिलेसम्म यस्तै परम्परागत ढंगले जाला त ?

यसरी जानुहुँदैन । जुन हामीले सुरु गर्न लागेको अभियान छ यो त पार्टीको मुल नेतृत्वले गर्नुपर्छ । नेतृत्व समूह बसेर गर्नुपर्ने काम हो यो । हामीले गर्ने काम होइन । पार्टीको केन्द्रीय समितिले गर्नुपर्ने हो । कार्यसमिति सबै पक्ष बसेर अहिलेको समस्यामा छलफल गरेर अगाडि बढ्नुपर्ने हो नि त । त्यो काम त अहिले भएको छैन । हामीले सुधारका निम्ति दबाब दिने त हो ।

यस्तै गतिमा पार्टी चले आगामी निर्वाचनमा पार्टी कस्तो होला ?

पार्टी सुध्रिएन भने पार्टी रहँदैन । हाम्रो पार्टीको भविष्य छैन । हामीले आजैबाट सुधार अभियान सुरु गरेर आम मानिसलाई व्यवहारबाटै सुधार गर्दै छौँ भन्ने विश्वास दिलाउनुपर्छ ।

 
 


Author

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
x