वार्ता

इकागज संवाद

दुई तिहाईको प्रधानमन्त्री हुँदा त जनपक्षीय काम नगर्नेले अल्पमतको हुँदा काम गर्नुहुन्छ भनेर कसरी आश गर्ने ?

मधुसुधन भट्टराई |
जेठ १, २०७८ शनिबार ६:५४ बजे

केपी शर्मा ओलीले शुक्रबार संविधानको धारा ७६ (३) अनुरुप प्रतिनिधि सभामा ठूलो दलको नेताका हैसियतमा अल्पमतको सरकारको प्रधानमन्त्रीको शपथ लिएका छन् । संसद्मा विश्वासको मत प्राप्त गर्न नसकेपछि पदमुक्त भएका ओली राष्ट्रपतिले बुहमतीय सरकार बनाउन दिएको समयमा कसैले बहुमत पुर्‍याउन नसकेपछि अल्पमतको प्रधानमन्त्री बनेका हुन् । अर्थात्, ओली दुई तिहाई नजिकबाट अल्पमतमा झरेका हुन् । बहुमतको सरकार बनाउन प्रयास गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणसँग हामीले के कारणले तपाईहरूले बहुमत पुर्‍याउन सक्नु भएन भनेर सोधेका छौं । सरकार गठनको प्रयास, राष्ट्रिय राजनीति र सरकारले अब राख्नु पर्ने प्राथमिकताका विषयमा खाणसँग इकागजका मधुसुधन भट्टराईले गरेको संवादको सार :

नेपालको संविधानको धारा ७६ को उपधारा (२) अनुसार वैकल्पिक सरकार बनाउने खुबै प्रयास गर्नुभयो । तर, बहुमत पुर्‍याउन सक्नुभएन, के कारणले सक्नुभएन ?
हामीलाई नेपाली कांग्रेसको पहलमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन पर्‍यो भन्‍ने पार्टीका नेता कार्यकता तथा अन्य विपक्षी पार्टी र नागरिक समाजबाट चर्को दबाब थियो । तर, अविश्वासको प्रस्ताव ल्याएन सकिरहेका थिएनौं । तर, पछिल्लो पटक प्रधानमन्त्री ओली आफैले विश्वासको मत लिने घोषणा गर्नुभयो । तर, असफल भयो । प्रधानमन्त्री फेरि चाहे आम नागरिकको जीवन रक्षाको विषयमा होस, चाहे राज्य सञ्चालन गर्ने कुरामा होस, चाहे राजनीतिक प्रशासनीक कुरामा होस, चाहे अन्तरराष्ट्रिय सम्बन्धको हिसाबले होस्, विश्वभर फैलिएको र नेपाल पनि अछुतो नरहेको कोभिड-१९ रोकथाम नियन्त्रण गर्न बिरामीको उपचार, चिकित्सक स्वास्थ्यकर्मीको व्यवस्थापन र अक्सिजन आपूर्तिमा सरका असफल भएको छ । यी काम गर्न सरकार चुकेकै हो । प्रमुख प्रतिपक्षीको धर्म निभाउन हामीले विश्वासको मतको विपक्षमा मतदान गर्न पर्‍यो । तसर्थ, विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गर्‍यौं । 


विपक्षी पार्टीले विश्वासको मतको विपक्षमा मतदान गर्न विपक्षी राजनीतिक दल र सांसदहरूलाई आह्वान गर्नु स्वभाविक नै भयो । प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न सक्नुभएन । विश्वासको मत प्राप्त नभएपछि प्रधानमन्त्री स्वतः पदमुक्त हुने अवस्था छ । त्यसपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न आह्वान गर्नुभयो । प्रधानमन्त्रीलाई विश्वासको मत नदिने पक्षको संसदमा बहुमत नदेखिएको कारणले कांग्रेसले प्रधानमन्त्रीमा दावा गर्नु स्वभाविक थियो । त्यही स्वभाविक दाबा गर्दै बहुमत पुर्‍याउने प्रयास गरेका हौं ।

बहुमतको प्रधानमन्त्रीका लागि कांग्रेसले प्रधानमन्त्री ओली अध्यक्ष रहेको एमालेको असन्तुष्ट माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीसँग पटक-पटक छलफल गर्‍यो, के विषयमा कुरा मिल्न सकेन ?
एमालेमा माधवकुमार नेपालसहित उहाँको समूहमा रहेका साथीहरूको नेपालको प्रजातान्त्रिक आन्दोलनमा अहं भूमिका छ । एमाले निर्माणमा पनि उहाँहरूको महत्वपूर्ण भूमिका छ । एमालेभित्र उहाँहरू शक्ति संघर्षमा हुनुहुन्थ्यो, अहिले पनि हुनुहुन्छ । सैद्धान्तिक र वैचारिक अडानमा पनि हुनुहुन्थ्यो । प्रधानमन्त्री र अध्यक्ष ओलीको सरकार सञ्चालन र पार्टीभित्रको स्वच्छाचारिता, सर्वसत्तावाद र निरंकुशताको खिलापमा उहाँहरू लडिरहनु भएको थियो ।

उहाँहरूले लोकतन्त्र र संविधानको रक्षार्थ संविधान अनुकूल सरकार निर्माण गर्ने क्रममा सहयात्रा हुन सक्छ भनेकाले हामीले सरकार निर्माण गर्ने पहल अनुरुप वार्ता गरेका हौं । उहाँहरूले भनेको कुरालाई कांग्रेसले विश्वास गर्‍यो । तर, उहाँहरू अन्तिम अवस्थासम्म अड्न सक्नुभएन । अन्तिम अवस्थामा उहाँहरूले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीसँग संवाद गरेर पार्टी भित्रैबाट ओलीलाई सुधार्ने कोसिसमा लाग्नुभयो । भोलि उहाँहरूले सुधार्नु हुने हो कि ओलीजीले समय र मौसम अनुकुल उहाँहरूलाई सक्नुहुन्छ त्यो उहाँहरूले जान्‍ने कुरा हो । अहिले पनि हाम्रो अपिल संविधान र लोकतन्त्रको रक्षाका लागि सबै राजनीतिक शक्तिहरू जुन जुन पार्टीमा भए पनि सहयात्रा गरेर अगाडि बढ्नुपर्छ भन्‍ने हाम्रो आग्रह हो ।

हामीलाई अझै पनि नेकपा एमालेको नेपाल समूह, माओवादी र जसपासँग तालमेल हुन सक्छ भन्‍ने विश्वास र भरोसा छ । कतिपय मुद्दामा आज एकमत भएन, भोलि एकमत हुन सक्छ ।

जनता समाजवादी पार्टी पनि लोकतन्त्र र संविधानप्रति प्रतिबद्ध छ । २०४६ सालको जनआन्दोलन सफल भएर बहुदलीय शासन व्यवस्था स्थापित भएपछि उहाँहरूले पनि पार्टी खोलेर अगाडि बढ्नु भएको हो । उहाँहरू विधानको प्रस्तावना र उद्देश्यमा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध छौं भनेर लेखिएको छ । पछिल्लो पटक राजा ज्ञानेन्द्रको क्रियाकलापको खिलापमा सात दलीय मोर्चा बनाएर लड्दा तत्कालीन सदभावना पार्टी लगायतका मधेश केन्द्रित दलहरू र हामी सँगै थियौं । अहिलेको ओलीको निरंकुशताको खिलापमा पनि उहाँहरू ढिलोचाडो लड्नुहुन्छ भन्‍ने हाम्रो विश्वास हो ।

त्यो पार्टीमा धेरै साथीहरू प्रजातान्त्रिक आन्दोलनमा विभिन्‍न पार्टीमा अहम भूमिका निर्वाह गरेर आफूलाई स्थापित गरेका हुनुहुन्छ । तसर्थ, जनता समाजवादी पार्टीले पनि आफूलाई अझै लोकतान्त्रीकरण गरोस् । र, लोकतन्त्रप्रति दृढ भएर अगाडि बढोस् भन्‍ने हाम्रो आग्रह छ ।

तर, जनता समाजवादी पार्टीका नेताहरूले उनीहरूले उठाएका मुद्दालाई कांग्रेसले समर्थन गरेन भन्‍ने आरोप लगाइरहेका छन नी ?
उहाँहरूले केही पहिचानका र केही मधेसका मुद्दाहरू उठाइरहनु भएको । ती मुद्दामा त नेपाली कांग्रेस जहिले पनि सकारात्मक छ । मधेस मुद्दाको हकमा संविधान संशोधन गर्ने क्रममा हाम्रो पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएकै बेलामा संविधान संशोधन गर्ने कोसिस गरेको जगजाहेरै छ । उहाँहरू जतिबेला स्थानीय निर्वाचनमा भाग नलिने अवस्थामा हुनुहुन्थ्यो, त्यतिबेला हाम्रो गठबन्धन सरकारले सघन वार्ता गरेर विश्वासिलो वातावरण बनाएपछि मात्रै उहाँहरूले निर्वाचनमा भाग लिनुभएको हो । आमनिर्वाचनमा पनि गठबन्धन सरकारसँगको वार्तापछि मात्रै आउन तयार हुनु भएको हो । लोकतान्त्रिक पार्टी भएको कारणले कांग्रेसले कुनै पनि पार्टीलाई शत्रुवत व्यवहार गर्दैन ।

निर्वाचनमा प्रतिष्पर्धी पार्टी होला, तर वृहत नेपालको राष्ट्रियताको सवालमा, नेपाली जनताको जीवन रक्षाको सवालमा, संविधानको सम्वर्धन र रक्षाको सवालमा, संघीय लोकतान्त्रिक गणतन्त्रको सवालमा हामी सबैको धारणा बेला बेलामा एउटै हुने गरेको छ । तसर्थ हामीलाई अझै पनि उहाँहरूसँग तालमेल हुन सक्छ भन्‍ने विश्वास र भरोसा छ । कतिपय मुद्दामा एकमत भएन होला, भोलि एकमत हुन सक्छ । लोकतन्त्र र बहुदलीय बहुलवादमा आधारित शासन व्यवस्था बचायौं भने मात्रै सबै दलको भविष्य सुनिश्चित हुने हो ।

ओलीको चिन्तन, सोच र दृष्टिकोण सर्वसत्तावादी र अधिनायकवादी खालको छ ।

दलहरू जनतामा गएर स्थापित र अनुमोदित भएर आउने हो । त्यसपछि मात्रै सरकार निर्माण गर्ने र सत्तामा जाने प्रक्रियामा सामेल हुने हो । लोकतान्त्रिक मूल्य पद्धति र शासन व्यवस्था नै कमजोर भयो भने राजनीतिक दलहरू पनि कमजोर हुँदै जान्छन् । कांग्रेस पुरानो पार्टी हो । कांग्रेसमा हुर्केका, संघर्षमा कांग्रेसमै लागेर अघि बढेका साथीहरू अरु पार्टीमा पनि हुनुहुन्छ । जहाँ रहेता पनि उहाँहरू लोकतन्त्रको पक्षमा रहिरहनु हुनेछ भन्‍ने हाम्रो विश्वास हो । जसपाको एउटा समूह हामीसँग नजिक आयो । अर्को समूह प्रधानमन्त्री ओलीसँग नजिक रहेर संवादमा छ । कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले कांग्रेससँग सहकार्य गर्न सबै पार्टीलाई सहज हुन्छ । ओलीजी एमालेको अध्यक्ष हुनुहुन्छ । ओलीको चिन्तन, सोच र दृष्टिकोण सर्वसत्तावादी र अधिनायकवादी खालको छ । आफूलाई परेको बेलामा उहाँले जे पनि म गर्छु भन्‍नुहुन्छ । जुन दिन जसको उपादेयता सिध्दिन्छ, त्यसलाई मिल्काउनुहुन्छ ।

आफ्नै पार्टीभित्र एउटै पद सबै नेताहरूलाई बाड्नुहुन्छ । तसर्थ कतिपय राजनीतिक दल र नेताहरू भ्रममा पर्न सक्छन् । दीर्घकालमा संविधान र लोकतन्त्रको रक्षाका लागि सबै राजनीतिक दलहरू फेरि गोलबद्ध हुने दिन आउँछ । त्यस्तो नेतृत्व र अगुवाइ २००७ सालमा पनि नेपाली कांग्रेसले गरेको थियो, ०४६ सालमा पनि कांग्रेसले गरेको हो । २०६२/०६३ को दोस्रो जनआन्दोलनको नेतृत्व पनि तत्कालीन कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले गर्नु भएको हो । अहिलेको विषम अवस्थालाई पार लगाउन पनि कांग्रेसले नै अगुवाइ गर्छ । खाली सरकार निर्माणका लागि मात्रै होइन, जनताको जीवन रक्षा, मुलुकमा मुलभूत समस्या सम्बोधन, अन्तर्राष्ट्रिय शक्ति सन्तुलन, नेपालको अर्थतन्त्रको विकास, जनतालाई भरोसा र विश्वास दिलाउने कामको अगुवाइ र नेतृत्व नेपाली कांग्रेसले गर्छ । आशा छ, हामी जोसँग मिल्न सकेनौं, भोलिका सदनमा मिलेर अगाडि बढौँला ।

वैकल्पिक सरकार बनाउन भन्दै नेकपा (माओवादी केन्द्र) र जसपाको एउटा धारसँग गरेको सहकार्य निरन्तर रहन्छ कि रहँदैन ?
प्रधानमन्त्री आफैले विश्वासको मत लिँदा आवश्यक संख्या पुर्‍याउन नसकेपछि बाध्यात्मक परिस्थितिमा हामी अगाडि बढेका हौं । विश्वासको मतमा ओली पराजित भएपछि त नयाँ सरकार बन्‍ने प्रक्रिया अगाडि बढाउनै पथ्र्यो । त्यो सरकार बनाउने प्रक्रियामा हामी लाग्यौ । अन्तिम समयसम्म प्रयास गर्दा पनि बहुमत पुर्‍याउन नसकेपछि हामीले राष्ट्रपतिसमक्ष दाबा पेस गरेनौं । हामीले ब्रोडर सेन्समा संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान, लोकतान्त्रिक मूल्य पद्धति जनताको जीवन रक्षा गने लगायतका महत्वपूर्ण विषयमा उहाँहरूसँग सहकार्य गर्छौ । जुन राजनीतिक दलहरू हाम्रो अभियानमा सहयात्रा गर्नु भएको छैन, भविष्यमा उहाँहरूसमेत हाम्रो साथमा आउनुहुनेछ भन्‍ने हाम्रो विश्वास छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान, लोकतान्त्रिक मूल्य पद्धति, जनताको जीवन रक्षालगायतका महत्वपूर्ण विषयमा सबैसँग सहकार्य हुन्छ ।

ओली जहज बहुमतको सरकारबाट झरेर अहिले अल्पमतको सरकार बनाउनु भएको छ । अब प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतकको हैसियतमा अहिलेसम्म सरकारले के गर्नु पथ्र्यो, के गर्‍यो । आगामी दिनमा के गर्नुपर्छ भन्‍नुहुन्छ ?
२०७४ सालको निर्वाचन सम्पन्‍न भएपछि प्रधानमन्त्री बन्दा उहाँ दुई तिहाई मतका साथ बन्‍नु भएको थियो । सरकार बनेको केही दिनपछि उहाँ बहुमतमा झर्नुभयो । अस्ति आफूमाथि विश्वासको मत छ भनेर विश्वासको मत लिँदा अल्पमतमा पर्नुभयो । अहिले दुई तिहाईको प्रधानमन्त्रीले अल्पमतको प्रधानमन्त्रीका रूपमा शपथ खानु भएको छ । सरकार धेरै कमजोर भइसक्यो । तथापि सरकारले काम गर्न सकोस् हाम्रो शुभकामना छ । तर, दुई तिहाईको प्रधानमन्त्री हुँदा त जनपक्षीय काम नगर्नेले अल्पमतको हुँदा काम गर्नुहुन्छ भनेर कसरी आश गर्ने ?

अब सरकारको पहिलो प्राथमिकता दिनानुदिन बढिरहेको कोभिड-१९ को महामारी कसरी नियन्त्रण गर्ने, कसरी यसको व्यवस्थापन गर्ने, संक्रमितहरूको उपचार कसरी व्यवस्थापन गर्ने भन्‍नेमा केन्द्रित हुनुपर्छ । अस्पतालमा औषधोपचारको राम्रो व्यवस्था छैन । भएका डाक्टरहरू पनि संक्रमित भएर बसेका छन् । तसर्थ आम नेपाली नागरिकको जीवन रक्षा कसरी गर्ने भन्‍ने विषयलाई केन्द्रमा राखेर काम गर्नुपर्छ । तत्काल मुलुकमै अक्सिजन प्लान्ट स्थापना गर्नुपर्‍यो । नीजि अस्पतालले अक्सिजन प्लान्ट स्थापना गर्छन् भने उनीहरूलाई अनुदान दिन पर्‍यो । विदेशबाट औषधि ल्याउन पर्‍यो । केही स्वास्थ्य सामाग्री आयातकर्ताहरूले विदेशमा किनेर राखेको स्वास्थ्य सामाग्री र उपकरण नेपाल ल्याउन सक्नुभएन । किनकि उहाँरूसँग ढुवानी गर्ने साधन भएन । त्यस्तो अवस्थामा सरकारले मद्दत पुर्‍याएर नेपालसम्म ल्याउने व्यवस्था मिलाउनु पर्छ । बरु पर्ने भाडा लिँदा भयो । तर, सामाग्री नेपाल ल्याउने व्यवस्था सरकारले गर्नुपर्छ ।


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x