संसद्मा नयाँ अनुहार
रास्वपा सांसद विनिता कठायतलाई प्रश्न : के सांसदलाई तलबभत्ता नपुगेकै हो ?
२०७९ साल मङ्सिर–४मा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन सम्पन्न भयो । प्रत्यक्ष तर्फका सांसदहरूको टुङ्गो लागेपश्चात् समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची तयार भयो । देशभरबाट निर्वाचित भएका विभिन्न पार्टीका प्रतिनिधिसहित समानुपातिकतर्फको–को सांसद राख्ने भनेर पार्टीहरूले नाम तयार पारे । राजनीतिको सुरूवात नै प्रतिनिधि सभामा निर्वाचित भएर सुरु भएका केही अनुहारलाई हामीले अनुभवकै सेरोफेरोमा केही प्रश्नोत्तरको श्रृङ्खला तयार गर्ने जमर्को गरेका छौँ ।
तिनै अनुहार मध्ये एक हुन् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट खसआर्यतर्फ समानुपातिकमा निर्वाचित सांसद विनिता कठायत । जुम्लाको खलङ्गा बजारमा जन्मेकी विनिताको औपचारिक शिक्षा डिप्लोमासम्मको छ । कर्णालीकी विनिता राजनीतिमा जोडिनु पूर्व मिडियामा थिइन् । उनले ‘चपली हाइट २’, ‘चिसो मान्छे’ आदि चलचित्रहरूमा ‘कस्ट्युम स्टाइलिस्ट’ भएर काम गरिसकेकी छिन् । ‘ग्यालेक्सी फोर के’ टिभीमा प्रसारण हुने ‘पर्खाइ बाहिरको नेपाल’को प्रोड्युसर रहेकी कठायतको औपचारिक राजनीतिक यात्रा भने प्रतिनिधि सभाबाट सुरु भएको छ । राजनीतिको बाटोमा हिँड्न आफ्नो बाबाको पूर्ण साथ पाएकी कठायतले सांसदको सपथ लिँदा बाबाको अनुहारको सम्झना आएको बताउँछिन् । उनै कठायतसँग इकागजका लागि सदिक्षा आचार्यले गरेको कुराकानी :
राजनीतिमा आउने हरेक व्यक्ति परिवर्तनलागि भन्ने जवाफ दिन्छन् । परिवर्तन ल्याउन राजनीतिमा नै आउनुपर्ने रहेछ ? तपाईं त मिडियामा समेत आवद्ध भएको व्यक्ति, त्यहाँबाट परिवर्तन सम्भव थिएन ?
परिवर्तन ल्याउनलाई राजनीतिमा नै आउनुपर्ने त पक्कै पनि होइन । आ–आफ्नो ठाउँबाट सबैले परिवर्तनको प्रयास गर्न सक्छन् । मिडिया मेरो क्षेत्र हो । पहिले नै निर्णय गरेकी पनि थिइनँ । राजनीतिमा म संयोगवस आएकी हुँ ।
कस्तो संयोग ?
राजनीतिमा आउने कुनै पूर्व तयारी थिएन । परिवारको राजनीतिक पृष्ठभूमि छ, त्यो अलग हो । म आफैँ राजनीति गर्छु भनेर सोचेकी थिइनँ । मेरो सम्पूर्ण ध्यान मिडियातर्फ थियो । एकवर्ष भन्दा बढी म ग्यालेक्सी फोर केमा रवि लामिछानेसँग काम गर्थे । उहाँले गरेका काम देखेकी थिएँ ।
मिडियामा बसेर त यत्तिको परिवर्तन ल्याउन सक्ने रवि जीलाई राजनीतिमा पनि साथ दिनुपर्छ भन्ने लाग्यो । युवा आउनुपर्छ भन्ने एउटा अभियाननै चल्दै थियो । यसपछि राजनीतिमा जोडिएँ । फलस्वरूप प्रतिनिधिसभामा छु ।
राजनीति थालेको छोटो समयमा नै संघीय सांसद हुनुभयो । सांसदको भूमिकामा आफूले आफूलाई कत्तिको अटाएँ जस्तो लाग्छ ?
म अटाइसकेकी छैन । अटाउने कोसिस गर्दै छु । सोचेको भन्दा भिन्दै हुने रहेछ । जनताको आशा निकै धेरै छ । हामी पनि पहिले आम नागरिक भएर हेर्दै गर्दा यस्तो त्यस्तो भन्ने लाग्थ्यो तर सांसदको पदीय मर्यादा सीमित हुने रहेछ । पहिलेका सांसदहरूले सीमा नाघेर, कर्तव्यभन्दा पर पुगेर होला निकै भद्रगोल छ, अस्तव्यस्त छ । कार्यकारीहरूले कार्यकारीकै सीमा थाहा नभएर नै यस्तो भएको हो जस्तो लाग्छ । संसद् भवनको दृश्य बाहिरबाट हेरेको भन्दा फरक छ ।
कस्तो फरक ?
सामाजिक सञ्जालको ‘एक्सपेक्टेसन भर्सेज रियालिटी’ जस्तै । पार्टी सभापतिले डायरी र पेन राख्ने, आखाँ बन्द गरे पनि कान खुल्ला राख्ने भन्नुभएको थियो । ठूला नेताहरूले बोलेका कुराहरू लेख्ने भन्नुभएको थियो । हामी रास्वपाका हरेकले सोही कुरा लागु गर्दै आएका छौं । के सिक्न, के कति लेख्ने भन्ने कुरामा भने प्रश्न चिह्न खडा गर्न मिल्छ ।
तपाईं नयाँ सांसद, संसद् भवन भित्र यस्तो गर्नुपर्छ भनेर पार्टीबाट तालिम पाइयो ?
पार्टी सभापतिले धेरै कुरा सिकाउनुभएको छ । बाँकी हामी रास्वपाका हरेक सांसदले सदनमा बोल्दै गर्दा पूर्वतयारी गरेर बोल्छौं । यो हाम्रो पार्टीको राम्रो काम मध्येको एक हो । रास्वपा सांसदले पूर्व तयारी गरेरै बोल्छन् भनेर हामीलाई अन्य पार्टीका सदस्यले पनि भनिरहनु भएको हुन्छ ।
समानुपातिक सांसद अनि महिला पनि । अन्य पार्टीका सांसदहरूबाट गरिने व्यवहार कस्तो हुन्छ ?
पक्कै पनि फरक फरक व्यवहार पाएको छु । निकै दुःखलाग्दो कुरा लाग्छ मलाई यो । मान्छेको बनावट र शरीर अनुसार व्यवहार हुने रहेछ यहाँ । ख्याउटे, बच्चा समेत भनेको सुनेकी छु,मैले । यस्ता धेरै अनुभव छन् । तर मलाई यस्ता कुराले फरक पर्दैन । राज्य पनि प्रत्यक्ष र समानुपातिक सांसद भनेर विभेद गरेकै छ । सांसद विकास कोषको संरचना हेर्ने हो भने यो कुरा झनै स्पष्ट हुन्छ ।
मुलुक आर्थिक संकटको मारमा छ । यस्तो अवस्थामा सांसद विकास कोष नै गलत हो भन्ने आम धारणा छ । परिवर्तनलागि राजनीतिमा आएको भन्नुहुन्छ ? अनि देशको ढुकुटी सक्ने कुरामा भाग पाइएन भन्ने गुनासो पनि गर्नुहुन्छ ? कुरा मिल्यो त ?
मैले व्यक्तिगत रुपमा यसको समर्थन गरेको होइन । तर यदि प्रत्यक्षबाट जिते पनि समानुपातिकबाट आए पनि सांसद त सांसद नै हो नि । राज्यले विभेद किन गरेको भन्न मात्र खोजेकी हुँ ।
जायज नै नभएको संसदीय विकास कोषका बारेमा सदनमा आवाज उठाउनु भयो ?
मलाई यो कुरा कत्ति पनि चित्त बुझेको छैन् । पैरवी पक्कै पनि गरिएला । सांसद विकास कोषको इतिहास हेर्दा पाउनुपर्ने मान्छेले पाएको हो कि के हो भन्ने कुरा नै अन्योलपूर्ण छ । बजेट पनि उस्तै छ, विभेदकारी ।
बजेट विनियोजनका छलफलमा आफ्नो प्रत्यक्ष उपस्थिति जनाउनुभयो । कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
छैन् । सिस्टमले गएकै छैन् । विभेदकारी छ । सत्तापक्षका सांसदले नै भएन भन्नुभएको थियो । संशोधन हुनुपर्थ्यो । चित्त बुझ्ने छैन् ।
जुम्लाका के–कस्ता विषय सदनमा उठाउनुभएको छ ? सदनमा उठाउनुभएका विषय सुनुवाइ हुन्छन् त ?
जुम्लाको इतिहास अनि शिक्षा । सिन्जाको इतिहास । जुम्लाको मौलिकता झल्किने रूपमा त्यो ठाउँलाई पुनर्निर्माण गर्न सकेमा पर्यटकीय रूपमा पनि निकै लाभदायक छ ।
सरकार कसको छ भन्ने कुरामा सबैभन्दा ठूलो भूमिका हुने रहेछ । कुराहरू सुनुवाइ नभएका पनि होइनन् । अझै सुनुवाइ हुनुपर्थ्यो जस्तो लाग्छ । सरकार आफ्नो हुँदा तपाईंका कुरा आइहाल्छन् । नहुँदा नआउने रैछन् । मन्त्रीपरिषद् भित्र रहनु भएका सम्पूर्णले समग्र देशका लागि सोच्नुपर्छ, होइन भने उसको पार्टीको त्यो कुरा, मेरो पार्टीको यो कुरा भनेर नै समग्र कुरा बिग्रन्छ ।
कति कुरामा चित्त नबुझेर संशोधन हाल्छौं तर अन्तिममा बहुमतमा कुरा रोकिन्छ । हुन्छ/हुँदैन भन्ने शब्दमा सीमित हुन्छ । राम्रो विषयमा संशोधन हाल्दापनि सरकार पक्षहरूले नमानिदिने प्रवृत्ति छ । यसले सबै कुरा बिग्रने रहेछ । तर विपक्षी नै सही, राम्रो कुरा गरेको छ भने ताली पनि पिटेको छु । कसैले समग्र देशलाई हित हुने कुरा गर्छ भने हामी त्यस्ता मुद्दालाई पूर्ण समर्थन गर्छै । पार्टीको यही लचिलोपनाले गर्दा नै हामी यहाँसम्म पुगेका छौं ।
पार्टीको वार्षिकोत्सव भर्खरै मनाउनुभयो, तपाईंहरूको पार्टीको सिद्धान्त अझै प्रष्ट छैन् भन्छन्, के हो रास्वपाको सिद्धान्त ?
भाद्रको दोस्रो हप्तासम्ममा हाम्रो पार्टीको सिद्धान्तको खाका तयार हुन्छ । त्यसपछि सार्वजनिक गर्ने तयारीमा छौं । हालसम्म हाम्रा गतिविधि हेर्नुहोस् हामी डेमोक्रेसीको सर्वोच्चतालाई मान्ने पार्टी हौं ।
एजेन्डा के–कस्ता छन् ? अहिले कुन एजेन्डामा काम गरिरहनु भएको छ ?
घरदैलो गर्दा मेरो क्षेत्रका व्यक्तिहरूको अपेक्षा धेरै थिएनन् । शिक्षा, स्वास्थ्य र रोजगार मात्रै हो । यहाँ जनताका आँखामा छारो हाल्ने काम मात्रै भएको छ । ठूलठूला योजनाहरूको आश्वासन भन्दापनि जनताहरूलाई उनीहरूका बालबच्चालाई राम्रो शिक्षा र स्वास्थ्यको सेवासुविधा दिँदा मात्रै पनि पुग्ने रहेछ । कृषि समितिमा बसेर काम गर्दै छु । हामीले बेलाबेलामा मिटिङ बसौँ भनेर दबाब दिएका हुन्छौँ । सरकारको मात्रै मुख ताकेर बस्दा नहुने देखेर नै कामतर्फ अग्रसर रहेका हौं । युवाहरूको सबल पक्ष नै एकैठाउँमा जम्मा हुने हो । जुम्लामा शिक्षाका लागि काम गरेकी छु । दुई चारवटा कुराहरू प्लान गरिरहेका छौं । समय आएपछि सार्वजनिक हुन्छ ।
केही सांसदहरूले तलबभत्ता नपुगेको गुनासो गरेको देखिन्छ । तपाईंको धारणा के छ यसमा ?
त्यो साँच्चै नै हो । सरकारले एउटा स्वकीय सचिव तोकिदिएको छ । उसको तलब निर्धारित छ । धेरैले स्वयंसेवक भएर पनि काम गरिदिनु भएको छ ।
संसद् भवन प्रवेश गरिसकेपछिको सबैभन्दा अविस्मरणीय क्षण के हो ?
सपथ ग्रहणको दिन आफ्नो पहिचान झल्किने पोसाक अर्थात् खसआर्यको पोसाक लगाएकी थिएँ । त्यो कुराले ठूलो रुप लिन्छ भन्ने मलाई लागेको थिएन । त्यो कुरालाई समग्र खसआर्य नेपाली जनताले मनपराइदिनुभएको थियो । मेरो लागि संसद् भवन प्रवेश गर्दैगर्दाको उक्त कुरा अविस्मरणीय छ ।
तत्काल कुन संसदीय समितिमा हुनुहुन्छ ? छलफलका गतिविधि के कस्ता छन् ?
रास्वपाबाट माननीय अशोककुमार चौधरी र म कृषि समितिमा छौं । समग्रमा उक्त समितिमा विभिन्न पार्टीबाट २५–२६ जना सांसद हुनुहुन्छ । के–कस्ता सुधार गर्ने भनेर छलफल भइरहेको छ । समितिमा कृषि, सहकारी, वन तथा वातावरण छ । कृषि भन्ने बित्तिकै सिँचाइ र वन तथा वातावरण भन्ने बित्तिकै प्राकृतिक स्रोत आउँछ । जल तथा उर्जाका कुरा आउँछन् । कृषि, वन तथा वातावरण, जल तथा उर्जा एकआपसमा अन्तर्निहित छन् । यस्ता अन्तर्निहित कुराहरू पनि छुट्टयाइएका छन् । हामीले सभामुखसमक्ष यही कुरा राखेका छौं । कृषि र सिँचाइ एक सिक्काका दुई पाटा हुन् तर जलस्रोत पूर्वाधारमा राखिएको छ । यो चित्तबुझ्दो छैन । अघिल्लो समितिमा सँगै भएको जलस्रोत र कृषि अहिले के कारणले अलग गरिएको हो भनेर प्रश्न गरेका छौँ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया