वार्ता

'कतारले नेपालीलाई नराम्रो गरेको छैन'

अतिन आचार्य |
साउन २, २०८० मंगलबार १३:५३ बजे

कतारमा नेपाली श्रमिकहरूको उपस्थिति ठूलो संख्यामा छ । वर्षेनी कतारबाट करोडौँ रेमिटयान्स भित्रिन्छ । त्यहीँ कतारको रेमिटयान्सले धेरै नेपालीले माना र छाना फेरेका छन् । त्यहाँ रहेका नेपालीको अवस्था कस्तो छ र कस्ता कस्ता काम गर्छन् ? यही सन्दर्भमा करिब दुई दशकदेखि कतारमा बस्दै आएका र 'मैले देखेको कतार' पुस्तकका लेखक मोहम्मद रमजान अली मियासँग इकागजकर्मी अतिन आचार्यले गरेको कुराकानी :

तपाईँ कतारमा बस्नु हुन्छ । अहिले के कामले नेपाल आउनु भएको हो ?


केही समयदेखि नेपालमा छु । पछिल्लो पटक नेपाल आउनुको कारण ईदको कारणले पारिवारिक मिलन तथा अन्य भेटघाटको लागि आएको हुँ । विशेष यही गरिरहेको छु भनेर भन्नलाई केही छैन । केही वर्षअघि कतार र नेपालबीच मानव अधिकारको सम्मान गर्ने र त्यसको पालना गर्ने सम्झौता भएको थियो । त्यसलाई अन्तिम रुप दिन गृहकार्य गरेँ । नेपालले कतारबाट कस्तो खालको मानव अधिकारको अपेक्षा गरेको छ त्यसको पनि अध्ययन गरिरहेको छु ।

साहित्य र भाषामा रुचि राख्नुहुँदो रहेछ । मैले देखेको कतार पुस्तक सार्वजनिक भएको छ । यसमा कस्ता विषयवस्तु समेटिएका छन् ?

कतारमा बिताएका समयको भारीहरू यस पुस्तकमा समावेश गर्ने कोशिस गरेको छु । कति समेट्न सके कति सकिँन तर पनि कतार र नेपालबीचको सम्बन्धलाई उजागर गर्ने प्रयास गरेको छु । पुस्तक कतारको साहित्य, समाज र परिवेश बारे बोल्छ । यसले कतारमा रहेका नेपालीका कथा-व्यथा मात्र छ भन्दैन । कतार कसरी बन्यो र यसका आयाम तथा ऐतिहासिकताका बारेमा पनि यसले बुझाउनेछ । कतार र नेपाललाई श्रमले मात्र जोडेको छैन । भाषा, साहित्य र संस्कृतिले पनि नेपाल-कतारबीच सम्बन्ध रहेको छ । श्रमले भन्दा भावनाले जोड्न सिकाउँछ भनेर पनि पुस्तक ल्याएको छु ।

कतारलाई नेपालीको वैदेशिक रोजगारका लागि मुख्य गन्तव्य मानिन्छ । यो पुस्तकले नेपाली श्रमिकका समस्याको कुरा कति बोल्छ ?

सन् १९८० को दशकदेखि नेपालीहरू कतार जान थालेको अभिलेख छन् । सन् २००६ देखि कतारको आकाश मुनि नेपाली बाक्लिँदै गए । अहिले त कतारी भन्दा नेपाली श्रमिक बढी भएको अवस्था छ । भारतीयहरू करिब १० लाख छन् । कतारमा नेपाली श्रमिक मात्र समस्यामा छैनन् । सबै मुलुकका कामदार उत्तिकै समस्यामा छन् । परदेशमा आफ्नो खोज्दै पुगेकाहरूलाई स्वेदशमा जस्तो सहज नहोला तर, हामीले महसुस गरेको भन्दा कयौँ दुःख पनि छन् । दुःखै नभएका पनि छन् । सन् २०१६ मा सञ्चारमाध्यमा आएका खबरले ठूलो संख्यामा नेपाली श्रमिकहरूको मृत्यु भइरहेको कुराले तरंग पैदा गर्यो ।  कतारले गरेको विश्वकपको प्रोजेक्टमा सञ्चारमाध्यममा आएका जस्ता खबरहरू छैनन् । निराधार कुराहरू पनि बाहिर आएका छन् । समस्या नभएका होइनन् छन् । नेपालीका सुख र दुःखका कथा छन् । सबैभन्दा बढी कतार बनाउनेहरूका कथा लेखिएका छन् । परदेशमा पुगेपछि श्रमिकले दुःख पाउनुका कारण के हो त्यो पनि समावेश गरेको छु ।

कतारमा पुगेका धेरै नेपालीले दुःख पाइरहेका छन् भन्नुभयो । दुःख पाउनुमा सबैभन्दा बढी जिम्मेवार को देख्नुहुन्छ ? नेपाल सरकार वा श्रमिक आफैँ ?

परदेशमा सबैभन्दा महत्त्वपूर्ण कुरा भाषाले राख्छ । नेपाली श्रमिकले भाषा मात्र जानेर कतार गएमा उनीहरूले पाउँने धेरै दुःख आफैँ कम हुन्छ । नेपाली ठगिनुमा भाषा र सीप मुख्य कारण हो । भाषा नजान्नु र आफूमा सीप नहुनु  पनि कमजोरी नै हो । दोस्रो मुलुकमा जाँदा त्यो मुलुकको भाषा र संस्कृति जान्नुपर्छ । आफूलाई परेको समस्या श्रमिकले स्थानीय भाषामा राखेमा सम्बन्धित निकायले बुझ्दथे । समस्या बुझाउने पहिलो माध्यम भाषा हो । भाषा जानेमा श्रमिकलाई सहज हुन्थ्यो । त्यसका लागि सरकार गम्भीर हुनुपर्छ । सरकारले भाषा र सीप सिकाएर मात्र दोस्रो वा तेस्रो मुलुक पठाउने प्रक्रिया अगाडि बढाउनुपर्छ । जसरी सरकराले कोरिया र इजरायलमा सामान्य सीप र भाषाको ज्ञान दिएर पठाउने गर्छ त्यसरी अरब मुलुकमा पठाएमा सहज हुने थियो । अदक्ष कामदार पठाएका छौ । दक्ष कामदार पठाएमा मुलुक र श्रमिकलाई सहज हुन्थ्यो ।

नेपालबाट प्रत्येक दिन कतारका लागि मात्र भनेर दैनिक एक हजार श्रमिकले मुलुक छोड्छन् । नेपाली श्रमिकहरू कस्ता-कस्ता ठाउँमा काम गरिरहेका छन् ?

कतारमा नेपालीको ठूलो संख्यामा उपस्थिति रहेको छ । कतारको ठूला-ठूला गौरवका आयोजनामा नेपालीको पसिना बगेको छ । तर दुःखलाग्दो कुरा के छ भने अधिकांश नेपाली अदक्ष छन् । आफूले गरिरहेको श्रम अनुसार पारिश्रमिक पाउँछन् र पाइरहेका छन् । कतारमा सीप भएको कामदारको रुपमा ड्राइभरलाई मात्र लिन सकिन्छ । अन्य कामदार भने अर्धदक्ष छन् । निर्माणाधिन क्षेत्रमा काम गर्ने कामदारलाई अर्धदक्ष कामदारको रुपमा लिइन्छ । बढी नेपाली यही क्षेत्रमा छन् । यो कामको लागि दक्ष कामदार आवश्यक पर्दैन । सीपको आवश्यक नपर्ने ठाउँमा नेपाली श्रमिकको संख्या बढी छ । त्यसैगरी, विभिन्न कम्पनीमा सुरक्षा गार्ड, होटलमा कुक, वेटर, मेकानिक छन्, सुपरमार्केटमा सेल्सम्यानको रुपमा र क्लिनर मुख्यतया नेपालीलाई देखिने यस्तै काममा हो । फिलिपिन्सबाट पनि श्रमिक आउँछन तर उनीहरू तालिम प्राप्त हुन्छन् । अब नेपालीले प्राविधिक कामदार पठाउन सक्नुपर्छ । जसले गर्दा राज्य र श्रमिकलाई फाइदा पुग्न सक्छ ।

कम्पनीले कामदारलाई समयमा पारिश्रमिक नदिएको सुनिन्छ । कतार सरकार र कम्पनीको तारतम्य नमिलेर हो वा श्रमिकको समस्यालाई बेवास्ता गरेर हो ?

कतारको जति समस्या छ त्यो भन्दा बढी बढाएर बाहिर ल्याउने गरिएको छ । कतार सानो मुलुक भएकाले श्रमिकको गुनासो र दुःखका कुराहरू चाँडो बाहिर आउने गरेका छन् । कतारमै बसेर धेरै नेपाली धनाढ्य भएर बसेका छन् । ति नेपालीका कुराहरू बाहिर आउँदैनन् । श्रमिकको थोरै समस्या पनि समस्या हो । समस्या देखिना साथ चाँडै फैलिने गरेको छ । कतारको सर्वत्र आलोचना भएपछि श्रम ऐन परिवर्तन गरेको छ । श्रमिक आफैँले पासपोर्ट राख्‍न पाउँछन् । कामदारले पैसा नपाएको गुनासो आएपछि सबै कामदारको पारिश्रमिक बैंकिङ प्रणालीबाट भुक्तानी गर्ने व्यस्था गरेको छ । १० जनाभन्दा बढी कामदार भएका कम्पनीले अनिवार्य रुपमा बैंकबाट श्रमिकलाई पारिश्रमिक दिनुपर्ने व्यवस्था लागू गर्‍यो । श्रमिकको समस्या सुनुवाई गर्न अदालत तथा वर्कर कमिटी गठन, वर्कर सपोर्ट फन्ड गठन भयो ।

धेरै नेपालीहरू अवाञ्छित गतिविधिमा संलग्न रहेको सुनिन्छ । कतारमा नेपालीको व्यवहार कस्तो पाउनु भएको छ ?

कतारमा रहेका नेपाली समुदायमा सामाजिक विचलन छाउन थालेको छ । एकआपसमा विवाद र झैझगडा गर्न पनि उनीहरू अगाडि देखिएका छन् । परदेश पुगेको तीन महिनामै उसले स्वदेशमा आफूले भोगेको दुःख बिर्सेर अर्कै दुनियाँबाट आए जस्तो गरेर व्यवहार देखाउन थाल्छन् । पुरुष वा महिला श्रमिक कतार पुगेपछि उनीहरूको जीवनशैली परिवर्तन भएको देख्छु । परिवर्तनलाई नराम्रो भन्न खोजेको हैन । नेपाली समाज वा आफ्नो आँगन सुहाउँदो व्यवहार देखाएमा के बिग्रन्थ्यो र ? अनैतिक सम्बन्धमा र साइबर अपराधमा  पनि नेपाली संलग्न देखिन्छन् । आर्थिक हैसियत बदलिएपछि मानवीय स्वभावमा परिवर्तन आएको छ ।

श्रमिकले आफ्नो पारिश्रमिक नपाएर लामो समयसम्म अदालत धाइरहेका हुन्छन् । श्रम अदालतमा पुग्दा पनि न्याय पाउन नसकेका कुराहरू बेलाबेलामा सार्वजनिक भइरहन्छन् । यस्ता कुराहरूको समाधान किन छिटो हुँदैन लाग्छ तपाइलाई ?

पहिले-पहिले श्रमिकहरूले अदालती प्रक्रियाबाट पनि न्याय नपाएको गुनासो आइरहन्थ्यो । तर, अहिले भने विश्वकप भएदेखि यस्ता समस्याको समाधान तीव्र रुपमा हुने गरेको छ । अहिले विदेशी श्रमिकले पाउने दुःख र समस्या धेरै कम भएका छन् । समाधान विदेशीहरूको व्यवस्थापनमा सञ्चालित रहेका कम्पनीमा यस्ता समस्याहरू सुनिने गरेका छन् । समयमा तलब नपाउने र कामदारले विभिन्न ढंगबाट समस्या पाइरहेका घटनाहरू सार्वजनिक भइरहन्छन् । उनीहरू कारबाहीमा पनि परेका छन् । कतारका धेरै प्रोजेक्टहरू विदेशीले सम्पन्न गरेका छन् । सरकारी वा निजी सबै योजनाहरू विदेशीले निर्माण सम्पन्न गरेका छन् । कतारीहरूको व्यवस्थापनमा चलेका कम्पनीमा पारिश्रमिकको समस्या आउँदैन ।

कतारमा रहेका नेपालीले न्युनतम र अधिकतम कति पारिश्रमिक पाइरहेका छन् ?

न्युनतम बेसिक १ हजार, खानाका लागि ३ सय र बस्न भनेर ५ सय गरी कुल १८ सय रियाल दिने कतारी श्रमिक ऐनमा उल्लेख गरिएको छ । अधिकतमा कतारी १० हजार रियलदेखि माथि पाउने छन् । पहिलो पटक अन्तर्राष्ट्रिय बजारमा सबै कामदारलाई १८ सय रियाल दिने घोषणा समेत गर्यो । कतारमै आइएलओको कार्यालय स्थापना गरिएको छ । जसले कतारमा श्रमिकले भोगिरहेका पीडाहरूको अनुगमन गर्ने गर्छ । तर त्यसरी आइएलओले श्रमिकहरू आफ्नो अधिकारबाट वञ्चित हुन नपरोस् भनेर पनि अनुगमन गर्दा श्रमिकहरू पीडामा नरहेको पाएको छ । श्रमिकका गुनासो सुनिएका छैनन् । निर्माणाधीन धेरै संरचनाहरूको काम पनि सकिएको छ । विश्वकप अघि संरचनाहरूको निर्माण धेरै भइरहेको थियो ।

नेपाली दूतावासले श्रमिकलाई सहयोग गरेनन भन्ने सुनिन्छ । दूतावासको पनि धेरै आलोचना हुन्छ ?  

कूटनीतिक नियोगको सम्बन्ध भनेको दुई देशको सम्बन्धलाई थप मजबुत बनाउनु हो । सँगसँगै श्रमिक पुगेका देशमा दूतावासले फरक भूमिका निभाउनुपर्छ । श्रम सहचारीले श्रमिकको गुनासो सुन्न सक्ने क्षमता र ज्ञान हुनुपर्छ । नेपालबाट कर्मचारी पठाउँदा राम्रो तालिम र त्यहाँको सब समस्या बुझाएर पठाउनुपर्छ । भाषा, कानून र श्रमसँग सम्बन्धL जानकारी राख्नुपर्छ । कम्पनीको बारेमा, नेपालीले कस्ता कस्ता ठाउँमा गएका छन् त्यस बारेमा थाहा पाउनुपर्छ । दूतावासका कर्मचारीहरू श्रमिक भएका ठाउँमा जानुपर्छ ।

तीव्र रुपमा कतारको विकास भइरहेको छ । यसबाट नेपालले के सिक्न सक्छ ?

नेपाल र कतारमा धेरै अन्तर छैन । कतारमा जनसंख्या धेरै छैन । नेपाल पनि भौगोलिक हिसाबले कम जनसंख्या भएको राष्ट्र हो । कतार र नेपाल धेरै कुरामा समान छन् । मुख्य कुरा कतारबाट नेपालले सिक्ने भनेको राजनीतिक स्थायित्त्व र सरकार सञ्चालन गर्नेमा स्थिरता छायो भने पक्कै पनि नयाँ कुरा दिन सकिन्छ । विभिन्न समुदाय छन् तर तिनीहरू राष्ट्रियताको विषयमा एक छन् । कतारमा जमिन छ तर, त्यसलाई राज्यले जे बनाउन चाह्यो त्यहीँ बनाएर विकासका पूर्वाधार निर्माण गरेको छ । त्यसलाई उचित क्षतिपुर्ति दिएर आफ्नो बनाउने गरेको छ । राष्ट्र निर्माण गर्ने क्रममा सबै जना जिम्मेवार हुनु पर्‍यो । राजनीतिक अस्थिरताले हाम्रो देशको विकासमा अवरोध आएको छ । स्वास्थ्य, शिक्षा र प्राकृतिक रुपमा उत्पादन हुने वस्तुहरू निःशुल्क गर्नुपर्छ ।

कतारले दिनप्रतिदिन आर्थिक क्षेत्रमा प्रगति गरिरहेको छ । कतारको लगानी नेपालमा भित्र्याउन के गर्नुपर्छ होला ?

कतारले पश्चिम सेतीमा लगानी गर्न चाहेको थियो । यसमा के भयो सरकारलाई थाहा होला । बेलाबेलामा उनीहरू यहाँको ऐन कानुन जटिल छ भन्ने कुरा गरिरहन्छन् । लगानी गर्नका लागि वातावरण सुरक्षित छैन भन्ने पनि छ । लगानी गर्न चाहनेलाई प्रस्ताव लिएर जानुपर्छ । तर, सरकारको जागरुकता एकदमै कम देखिन्छ । विदेशस्थित रहेका नियोगले यसका लागि ठूलो पहल गर्नुपर्छ । यसका लागि व्यवस्था बुझाउन सक्नुपर्छ । कूटनीतिक तवरबाट बुझाएर सबै पक्षलाई सहकार्य गर्न आग्रह गर्नुपर्छ । कतार एयरवेज नेपालको हवाइक्षेत्रसँग जोडिन चाहेको छ । नेपालको गरिबी निवारण गर्न पनि उत्तिकै चासो दिएको छ । नेपालले अलि सक्रियता जनाउनु पर्छ ।

कतार र नेपाललाई अझ मजबुत रुपमा सम्बन्ध बनाउन कसले पहल थाल्नुपर्छ ? 

सबैभन्दा पहिले आवतजावतमा सहज बनाउनुपर्छ । नेपालीलाई जान र कतारीलाई नेपाल आउन पनि राम्रो वातावरण बनाइनुपर्छ । उनीहरू वर्षमा एक पटक घुम्न जान्छन् । त्यो बेलामा उनीहरूलाई नेपाल ल्याउने वातावरण बनाउनुपर्छ । उनीहरू विभिन्न मुलुकको पर्यटकीय स्थल पुग्छन् त्यसका लागि नेपालले पनि आफ्नो पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्नुपर्छ । कतारले आधुनिक कृषि सुरु गरेको छ । नेपालले त्यसको सिको गर्नुपर्छ । कतारसँग विभिन्न ढंगबाट व्यापारिक सम्झौता गर्नुपर्छ । उताको वस्तुहरू सहजै आयात गर्नलाई राजश्वमा केही सहजीकरण गरिदिनुपर्छ । नेपालबाट पनि पठाउनलाई विशेष चासो दिनुपर्छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x