वार्ता

केपी ओली नै प्रधानमन्त्री रहिरहनुपर्छ भन्‍ने सोचले ग्रस्त हुँदा समस्या भयो

पुष्पराज आचार्य |
जेठ ६, २०७८ बिहीबार २१:२३ बजे

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रक्रिया अर्थात् संविधानको धारा ७६ (५) अनुसार सरकार गठनका लागि आह्वान गरेपछि मुलुकमा राजनीतिक उष्णता व्याप्त छ । वैशाख २७ मा अल्पमतको सरकारका प्रधानमन्त्री मनोनित भएका प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत नलिदैं अर्को प्रक्रिया शुरु गरेकोमा कानुनविद्हरूले विधि र प्रत्रिया पटक-पटक मिचिएको भन्दै यसले लोकतान्त्रिक व्यवस्थाको संस्थागत स्थायित्वमा गम्भीर खतरा पैदा भएको भनेका छन् । यसै विषयमा वरिष्ठ अधिवक्ता शम्भु थापासँग इकागजले गरेको कुराकानीः 

संविधानको धारा ७६ (५) अनुसार राष्ट्रपतिले सरकार बनाउन आह्वान गर्नुभएको छ । प्रधानमन्त्री पदमुक्त नै नभइ अर्को व्यवस्थाबाट सरकार गठनका लागि आह्वान गर्न मिल्छ र ? 


यहाँ के मिल्छ, के मिल्दैन भन्नु र ! उहाँहरू विधिसम्मत चल्न छोडिसक्नुभयो । यो त अति नै भइसक्यो । यहाँ अहिले तीनजना मान्छे (संस्था) ले जे गरे पनि हुन्छ भन्‍नेछ । यसलाई शब्दले व्याख्या गरेर भ्याउने कुरै छैन । न त यहाँ संस्था बन्‍ने कुरा छ । न संविधान कार्यान्वयन हुने, प्रजातन्त्र दीगो र बलियो हुने या नागरिक अधिकार स्थापित हुने नै कुरा छ । सरकारमा खालि केपी ओली नै रहनुपर्ने हिसाबले के संवैधानिकता हुन्छ र ? केपी ओली नै सरकारको नेतृत्वमा रहिरहनुपर्छ भन्‍ने सोचले ग्रस्त हुँदा यी सबै समस्या निम्तिएका हुन् । विधि पद्धतिबाहिर जाने राष्ट्रपति पनि के राष्ट्रपति, प्रधानमन्त्री पनि के प्रधानमन्त्री ! 

यस्ता सनसनीपूर्ण काम किन भइरहेका होलान् ? 

अहिले जङ्गबहादुरले घटाएका पर्वहरूको पुनरावृत्ति हुन खोजेको देखिदैंछ । सबै दृष्टिकोणले त्यही देख्छु । 

सबै दृष्टिकोणले भनेको ...? 

त्यो भनेको अब के नै गर्न बाँकी छ र ! जे मन लाग्यो त्यही भइरहेको छ । प्रधानमन्त्रीलाई कस्तो अवस्थामा संसद विघटन हुन्छ, कुन अवस्थामा हुँदैन भन्‍नेथाहा छैन । संसदको सदस्य नभएको व्यक्तिलाई पटक-पटक मन्त्री बनाउन पाउँछु भन्‍नेछ । संविधानको धारा ७६ (३) अनुसारको प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ । त्यो भएन र अर्को प्रक्रियामा जानुपर्‍यो भने राष्ट्रपतिले सर्वदलीय बैठक बोलाउनुपर्छ । त्यसको एउटा प्रक्रिया छ नि ! त्यो राष्ट्रपतिले पनि पालन गर्नुपर्छ । अर्कोतर्फ, देश कोभिड–१९ महामारीले आक्रान्त छ । राष्ट्रपतिलाई पनि उक्त पद टीका लगाएर पाएको जस्तो भएको छ । प्रधानमन्त्रीलाई पनि सर्वेसर्वा म नै हुँ भन्‍ने दम्भ छ । 

राष्ट्रपतिले प्रधानमन्त्रीलाई ‘ड्रप अफ अ ह्याट’ गरिदिदाँ समस्या भयो भन्‍नेआम बुझाइ छ, यहाँले पनि समान धारणा राख्नुभयो । राष्ट्रपति त व्यक्तिमात्र होइन, संस्था हो नि ! त्यो संस्थाको गरिमा वर्तमान राष्ट्रपतिले राख्नुपर्दैन र ? 

राख्नुपर्ने हो । नराखेपछि संसदका सदस्यहरू जागरूक हुनुपर्‍यो नि त ! प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव दर्ता गरेर संसद मर्न दिनुभएन । राष्ट्रपतिलाई महाअभियोग लगाउने हो कि ! यो सांसदहरूको निरिहता हो । लोकतान्त्रिक पद्धतिमा जनताको प्रतिनिधि सर्वोच्च संस्था भनेको त संसद हो । खै उनीहरूको केही भूमिका देख्नुभएको छ त ? त्यही सांसदहरूले अर्को सरकार दिदैंनन् । लोकतन्त्र जोगाउन राजनीतिक दलहरूको पनि भूमिका हुन्छ । तिनले अर्को व्यक्तिको नेतृत्वमा सरकार बनाउनुपर्ने हो । सांसदहरू नै निरिह भए वा आफ्नो भूमिका बुझेनन् ।  केपी ओलीसँग एमालेका जति सांसद छन् तिनलाई जिताउन त माओवादीको पनि भूमिका छ । उनीहरू सहकार्य गरेर एउटै घोषणापत्र लिएर चुनाव लडेका हुन् । अब माओवादीतिर पनि एमालेको सहयोगले चुनाव जितेका सांसद छन् भन्लान् । तर उनीहरू सहकार्य गरेर चुनाव नलडेको भए एमालेका अहिलेजति सांसद हुने थिएनन् भन्‍नेत सबैले बुझेकै कुरा हो । 

प्रधानमन्त्री ओलीप्रति राष्ट्रपति नतमस्तक अनि अदालतले पनि सहयोग पुर्‍याएको हो कि भन्छन् ? 

‘भन्छन्’ मात्र होइन । यो त प्रमाणित नै भइसकेको छ । 

यहाँ २०६२/६३ को आन्दोलनमा नागरिक समाजबाट सक्रिय हुनुभयो । लामो समयदेखि मुलुकको राजनीतिलाई नियाल्नुभएको छ । अहिले यो व्यवस्था, संविधान मास्न विदेशी शक्ति लागेका छन् । त्यही इशारामा यहाँले भन्नुभए जस्तो केही संस्था/व्यक्तिले काम गरिरहेका छन् भनिन्छ ? 

विदेशी शक्तिले खेले खेलेनन् भनेर के चर्चा गर्नु छ र ! हाम्रा राजनीतिक दलहरूमा नै लोकतन्त्र बचाउनुपर्छ, परिवर्तनको रक्षा गर्नुपर्छ भन्नेमा छैनन् । सांसदहरू निरिह छन्, संसदको भूमिका प्रभावकारी छैन । जब प्रधानमन्त्रीले म तिमी (संसद)बाट चल्न सक्दिन, विश्वास छैन भनेर विघटन गर्‍यो । अनि संसद पुनर्स्थापना भएपछि दलको अर्को व्यक्तिलाई प्रधानमन्त्री चुन्न संसद तयार हुनुपर्ने होइन र ? आफैंले विघटन गरेको संसदमा जाने हैसियत नभएर उनले यसो विश्वासको मत लिएजस्तो गरिटोपलेका हुन् । यस्तो तमासा छ, के बोल्ने ?

संसदीय पद्धतिमा दलको ह्वीप मान्नुपर्छ भन्छन् नि ? 

संसद नै फाल्नेले अह्राएको ह्वीप, के को ह्वीप !


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x