वार्ता

झन्-झन् बढ्दैछ मानसिक समस्या, यस्ताे हुन्छ उपचार पद्धति

इकागज |
भदौ ९, २०८० शनिबार १३:१७ बजे

पछिल्लो केही समय यता मानसिक समस्या भएका बिरामीको संख्या बढ्दो क्रममा छ । मनोचिकित्सकहरूका अनुसार सामान्यतया मानव मस्तिष्कले गर्ने विभिन्न कार्यहरू बोली, चेतना, भावना, विचार, स्मृति, स्मरण शक्ति आदि कार्यमा गडबडी हुनु मानसिक समस्या हो । मानिस पूर्ण रुपमा स्वस्थ रहनको लागि शारीरिक, मानसिक र सामाजिक रुपमा स्वस्थ हुनुपर्छ । कुनै देखिने रोग मात्रै पूर्ण स्वस्थताको अवस्था होइन ।

कुनै व्यक्ति शारीरिक रुपमा स्वस्थ भइकन मन, विचार, सोच, व्यवहारमा तादम्यता राख्छ, व्यक्तिले आफू, परिवार, समाजमा सामञ्जस्यता कायम गरेको छ, व्यक्तिको व्यवहार, सोच त्यो सँग मेल खान्छ, आफ्नो पोटेन्सियल, स्ट्रेन्थ, कमजोरपन सहज रुपमा चाल पाउँछ, त्यसलाई मनन गर्नसक्छ, आफू, परिवार र समाजलाई केही योगदान गर्नसक्छ भने त्यो अवस्थामा व्यक्तिको मानसिक रुपमा स्वस्थ भएको बुझिन्छ । मानसिक समस्याका कारण र समाधान लगायत विषयमा केन्द्रित रहेर ललितपुरस्थित मानसिक अस्पतालका निर्देशक डा. अनन्तप्रसाद अधिकारीसँग कुराकानी गरेका छौं । प्रस्तुत छ मानसिक अस्पतालका निर्देशक डा. अधिकारीसँग  गरेको कुराकानीको सम्पदित अंश । 


मानसिक रोग भनेको के हो ?

मानिस पूर्ण रुपमा स्वस्थ रहनको लागि शारीरिक, मानसिक र सामाजिक रुपमा स्वस्थ हुनुपर्छ । कुनै देखिने रोग मात्रै पूर्ण स्वस्थताको अवस्था होइन । कुनै व्यक्ति शारीरिक रुपमा स्वस्थ भइकन उसको मन, विचार, सोच, व्यवहारमा तादम्यता राख्छ, व्यक्तिले आफू, परिवार, समाजमा सामञ्जस्यता कायम गरेको छ, व्यक्तिको व्यवहार, सोच त्यो सँग मेल खान्छ, आफ्नो पोटेन्सियल, स्ट्रेन्थ, कमजोरपन सहज रुपमा चाल पाउँछ,त्यसलाई मनन गर्नसक्छ, आफू, परिवार र समाजलाई केही योगदान गर्नसक्छ भने यो अवस्थामा व्यक्तिको मानसिक रुपमा स्वस्थ भएको बुझिन्छ ।

मानसिक रोग भनेको यो अवस्थाबाट विचलित भएको अवस्था हो । व्यक्तिको मन, वचन, कर्म, व्यवहार आपसमा तादम्यता राख्दैन । सोच अर्कै खालको छ, उसको सामान्य मानिसको भन्दा व्यवहार अर्कै खालको छ, जसले उसलाई, परिवार, समाजलाई अफ्ठ्यारो पार्‍यो । सामाजिक पेशागत काममा अफ्ठ्यारो पर्न थाल्यो भने व्यक्ति मानसिक रुपमा स्वस्थ छैन भनेर बुझ्नुपर्छ ।  

अस्पतालले कस्ता–कस्ता खालका सेवा प्रवाह गर्दै आएको छ ?

मानसिक स्वास्थ्यका समस्याहरू धेरै खालका हुन्छन् । मानसिक स्वास्थ्यको आयाम एकदमै वृहत छ । सामान्य अवस्थामा भोक, निन्द्रा गडबड हुनेदेखि लिएर कडा खालको विक्षिप्तता उत्पन्न गराउने रोगसम्म मानसिक समस्याले ओगट्छ । ती धेरै हजारौं समस्याहरू मध्ये हाम्रो अस्पताल चाहिँ केन्द्रीय मानसिक अस्पताल भएको हिसावले अलि कडा खालका मानसिक रोगीहरूको उपचारमा बढी केन्द्रित छ । भनाइको मतलव अन्य अस्पतालहरूमा पनि मानसिक समस्याको उपचार त हुन्छ । ती अस्पतालहरूमा उपचार हुन नसकेर अथवा केन्द्रीय मानसिक अस्पतालको हिसावले यो समस्याको उपचार गर्न मानसिक अस्पतालमै लैजानुपर्छ भन्ने हिसाबले सोचेर ल्याइएका बिरामी अलिक गम्भिी प्रकृतिका मानसिक रोगका बिरामीहरू आउनुहुन्छ ।

जस्तो डिप्रेसनमा पनि अलिक कडा खालका डिप्रेसनका समस्याहरू, एन्जाइटीमा पनि त्यस्तै खालका, विक्षिप्तता उत्पन्न गराउने रोगहरू डिसअर्डर, साइकोसी समूहमा पर्ने सिजोफ्रेनिया लगायतका रोगहरू, लागुपदार्थ दुर्व्यसनीका कारणले गर्दा आएका कडा खालका मानसिक रोगहरू, छारे रोगका समस्याहरू यी यस्ता खालका समस्याको उपचार यस अस्पतालमा हुन्छ ।

मानसिक रोगको उपचार पद्धति कस्तो हुन्छ ? 

यो स्वास्थ्यको समस्या हो भनिसकेपछि यसको उपचार त पक्कै पनि छ । मानसिक रोग स्वास्थ्यका अन्य समस्याहरू जस्तै हो । अलिकति केही फरक त छ । मुख्य रुपमा हाम्रो अस्पतालबाट प्रवाह हुने सेवा भनेको औषधि उपचारकै सेवा हो । कडा खालका मानसिक रोगहरू उपयुक्त समयमा  उपचारको पहुँचमा आउनुभयो भने निको हुन्छ । र, हामीले अपनाएको मुख्य उपचार पद्धति भनेको औषधि उपचार हो । त्यो बाहेक केही मानसिक स्वास्थ्य समस्याहरू जसलाई मनोपरामर्श भनिन्छ । साइकोलोजिकल उपचार पद्धतिको उपचारले पनि केही हद सम्म फाइदा गर्नसक्छ । त्यो उपचार पद्धति पनि हामीसँग उपलब्ध छ ।

अनि कतिपय अवस्थामा औषधि उपचारबाट त्यति प्रभावकारी नभएका रोगहरू हिजो आज विज्ञान प्रविधिको विकासले न्युरोमोडुलेसनमा आधारीत उपचार पद्यति भित्र्याएका छौं । ती उपचार पद्धतिमा हामीले जस्तो पहिलेदेखि सुन्ने गरिएको विद्युतीय उपचार पद्धति, म्याग्नेटिक उपचार पद्धति पनि छ । औषधि उपचार, मनोवैज्ञानिक उपचार र न्युरोमोडुलेसन यो तीन वटा मुख्य उपचार पद्धति हामीले अवलम्वन गरेका छौं ।

नेपालमा मानसिक रोगको अवस्था कस्तो पाउनुभएको छ ?

मानसिक स्वास्थ्यको समस्या विगतमा पनि थियो । अहिले पनि छ, पछि पनि रहन्छ । मानसिक स्वास्थ्यका समस्याहरू बढ्दैछन् । मानसिक स्वास्थ्यलाई मान्छेले हेर्ने दृष्टिकोण पनि बिस्तारै परिवर्तन हुँदै आएर जागरुक पैदा भएर स्वास्थ्यको ख्याल गर्ने हिसाबले मेन्टल हेल्थको जगेर्ना गर्ने र उपचारमा आउने प्रवृत्तिपनि बढेको छ । यसरी हेर्दा मानसिक स्वास्थ्यका समस्या बढ्दै पनि छन् । र, औषधि उपचारका लागि अस्पताल आउने क्रम पनि बढ्दैछ ।

कस्ता खालका मानसिक समस्या भएका बिरामीहरू यस अस्पताल आउने गर्नुहुन्छ ?

यस अस्पतालमा कडा खालका मानसिक रोगीहरू उपचारका लागि आउनुहुन्छ । समाजमा कस्ता खालका रोगहरू बढी छन् भन्ने कुरा गर्न जरुरी छ । हाम्रो समाजमा व्याप्त मानसिक समस्यामा धेरैमा एन्जाईटी डिस्अर्डर, डिप्रेसन, लागूपदार्थ दुर्व्यसनसँग सम्बन्धित स्वास्थ्य समस्या व्यापक रुपमा छ । अहिले कडा खालको मानसिक रोग बढ्दो क्रममा छ । जस्तोः साइकोसी समूहका, एपिलेप्सी, बालबालीकामा देखिने मानसिक स्वास्थ्यका समस्याहरू लगायत । अहिले हाम्रो औसत आयु बढ्दै गएको अवस्थामा वृद्धवृद्धामा देखिने मानसिक स्वास्थ्यका समस्याहरूपनि धेरै छन् । अस्पतालमा आउने बिरामीको कुरा गर्नुपर्दा यी रोगहरूमा पनि अलिकति कडा खालका रोग । डिप्रेसनमा पनि सिभियर खालको डिप्रेसन, एन्जाईटिमा पनि एक्स्ट्रिम एन्जाइटी, प्यानिक डिस्अर्डर यस्ता खालका आउँछन् । यस्तै, साइकोसी, एपीलेप्सीमा छारे,मीर्गी भएकाहरू पनि आउनुहुन्छ ।  

मानसिक समस्या भन्ने कि मानसिक रोग ?

विश्व स्वास्थ्य संगठनले के भन्छ भने मेन्टल एण्ड बिहेभियर डिस्अर्डर भन्छ । अहिले आएर नयाँ माहोल पनि आएको छ, मेन्टल हेल्थ कन्डिसन भन्नुपर्छ भन्ने पनि आएको छ । मानसिक स्वास्थ्यको अवस्था वा अस्वस्थताको अवस्था भन्ने कुराहरू पनि अगाडि आइरहेको छ । कुरा जे भए पनि मानसिक स्वास्थ्यको समस्या समस्या नै हो । जसका केही कारणहरूपनि छन् । जसको निराकरण, समाधानका उपायहरू पनि छन् । यसको रोकथाम गर्न सकिन्छ । कारणलाई हामीले आइडेन्टीफिकेसन गर्नसक्यौं र त्योबाट टाढा रहनसक्यौं भने मानसिक स्वास्थ्यको समस्याबाट जोगिन सकिन्छ । स्वास्थ्यको समस्या आइसकेपछि उपचार पनि छ ।

मानसिक समस्याका बिरामीहरू बढ्दै गएका हुन् ?

मानसिक स्वास्थ्यको समस्याका कारणहरू त्यहाँ भित्र अन्तर निहीत समस्याको जड के हो भनेर पनि केलाउन जरुरी छ । स्वास्थ्यका अरू समस्याहरू जस्तैः व्याक्टेरिया, भाइरस पर्टीकुुलर चिज हुँदैन यसमा । बायोलोजिकल कारणमा जैविक कारण भनौँ न मान्छेको शरीरको संरचना, मस्तिष्कको संरचना, मस्तिष्कमा हुने न्युरो केमिकल ब्यालेन्सको कुराहरू एउटा हुन्छन्, अनुवंशिकताका कुराहरू एउटा हुन्छन् ।

सामाजिक कारणहरू पारिवारिक विखण्डन, वैदेशिक रोजगार, लागूपदार्थ दुर्व्यसनी, मानिसहरूको महत्वाकांक्षी धेरै हुने, त्यसको फुलफिल कम हुने, बेरोजगारी यी सबै कुराहरू सामाजिक कारणहरू हुन् । त्यसै गरेर साइकोलोजिक कारण पनि हुन्छ, जस्तो व्यक्तिले समस्यालाई हेर्ने दृष्टिकोण, व्यक्तिको व्यक्तित्व यी कुराहरू पनि हुन्छन् । जसले गर्दा मानसिक रोग निम्तिन्छ । यसलाई चाहिँ हाम्रै अस्पतालमा होस् या समुदायमा होस् जहाँसुकै पनि निराकरण गरेर उपचार गर्नका निम्ती बायोलोजिकल, साइकोलोजिकल र सोसल यी सबै कुराहरूबाट अप्रोच गर्नुपर्छ । यो मेजर हेल्थको इस्युु त हो ।

सँगसँगै यहाँ सोसोलोजिकल पनि जोडिन्छ । समाजको संरचना कस्तो छ ? त्यहाँका नीति नियम, कानुनहरू कस्तो छ ? लागूपदार्थको दुर्व्यसनी कत्तिको हुन्छ ? तनाव व्यवस्थापनको स्थिति के छ ? राज्य कत्तिको कल्याणकारी छ ? यी कुरामा पनि भर पर्छ । त्यसैले बायोलोजिकल कारणलाई हेल्थ इस्युबाट एड्रेस गर्नुपर्‍यो । रोगका लक्षण देखिएपछि उपचार गर्नुपर्‍यो । कारण पत्ता लगाउनुपर्‍यो । निश्चित समय अवधिसम्म औषधि सेवन गराउनुपर्‍यो । निको भएको छ की छैन वाच गर्नुपर्‍यो भने सामाजिक कारणहरूमा त भूमिका सबैको छ नि । राज्यको पनि छ, समाजको पनि छ । यो कुरामा सबै जना लाग्नुपर्छ ।

साइकोलोजिकलमा चाहिँ व्यक्तिको सहन गर्ने क्षमता,व्यक्तित्व विकासका कुराहरू फेरि समाजसँगै जोडिएर आउँछ । कस्तो परिवारमा बच्चा हुर्केको छ ? बुवा आमा बीचको सम्बन्ध कस्तो थियो ? विद्यालयमा शिक्षकले कस्तो व्यवहार गर्नुहुन्छ ? साथी साथी बीचको सम्बन्ध । समग्रमा सबै कुरा हेर्नुपर्छ । र राज्यको नीति पनि त्यतै जानुपर्छ जस्तो लाग्छ । समाजमा अमनचयनको स्थिति कायम हुने, बेरोजगारीको स्थिति नहुने, पारिवारिक विखण्डन नहुने स्थिति, यी कुराले पनि मानसिक स्वास्थ्यको जगेर्नामा भूमिका खेल्छन् । सोसल मिडियाको अत्यधिक प्रयोगले केही कुराहरू फाइदापनि ल्यायो । बेफाइदापनि सँगसँगै भइरहेको छ । यसले पनि मान्छेलाई मानसिक रुपमा अस्वस्थ बनाउने कुरा भएको छ । सोसल मिडियाको प्रयोग होसियारीपूर्वक गर्नुपर्छ । रिलायबल कुराहरू मात्रै हेर्ने गर्नुपर्छ । लामो समय लागूपदार्थ दुर्व्यसनी हुने हिसाबले सोसल मिडियामा लत पर्ने हिसाबले प्रयोग गर्नुहुँदैन ।

कुनै पनि व्यक्तिले पनि रचनात्मक काममा भाग लिने, तनाव व्यवस्थापन गर्ने कुराहरू, पर्याप्त मात्रामा सुत्ने, पोषिला खानेकुराहरू खाने, आफन्तहरूसँग टचमा रहने, मनका कुराहरू सेयर गर्ने, गफ गर्ने, यी कुराहरूको पनि त्यत्तिकै महत्व हुन्छ ।  कडा खालको मानसिक रोग लाग्यो भने आफूलाई याद हुँदैन । परिवारले उहाँहरूलाई तुरुन्तै स्वास्थ्य संस्थामा लिएर जानुपर्छ । र, आफूलाई पनि मन, व्यवहार, वचनमा तादम्यता छैन, केही असहज महसुस हुन लाग्यो, दिग्दारीले छाउन लाग्यो, बिना कारण डर लाग्न थाल्यो, निराशाजनक सोच आउन थाल्यो, जीवन प्रतिको मोह हराउँदै गयो भने कतै म मानसिक रोग, डिप्रेसनको सिकार त भएको होइन भनेर परामर्श लिन जानुपर्छ, हच्किनु हुँदैन । लुकाउनुपर्ने कुरो छैन नि यो ।

परामर्शले मानसिक रोगको समाधान हुन्छ ?

बायोलोजिकल उपचार, साइकोलोजिकल उपचार र सोसल एप्रोच सबै मिल्यो भने अधिकांश मानसिक रोगहरू निको हुन्छन् अथवा नियन्त्रणमा आउँछन् । र, मान्छेले आफ्नो जीवन सहज रुपमा बनाउन र पेसा व्यवसाय गरेर जीवनलाई इन्ज्वय गर्नसक्छ । विभेद गर्न जरुरी छैन । उचित उपचार, मनोपरामर्श र सामाजिक सहयोग पाएको खण्डमा मानसिक समस्याको पूर्ण रुपमा उपचार सम्भव छ ।

हरेक व्यक्तिको जीवनमा सधैं खुशी मात्रै आउँछ भन्ने छैन । कहिले तनाव हुन्छ, कहिले निराशा हुन्छ, त्यो भन्दैमा व्यक्तिमा मानसिक रोग लाग्यो भन्न मिल्दैन । मनोरोगका लक्षणहरू केही आउँदापनि डिस्अर्डर वा रोग हो भन्नलाई केहि क्राइटेरीया फुलफिल हुनुपर्छ । जसलाई डायग्नोसिस गर्ने काम फिजिसियनहरूले गर्नुहुन्छ । कतिपय अवस्थामा दैनिक रुपमा हुने तनाव व्यवस्थापन गर्न व्यक्ति आफैँ सक्षम हुन्छ । जस्तो कुनै उपलब्धिमा हामी धेरै खुशी हुन्छौँ, आफन्तहरू गुमायौं भने तनावमा हुन्छौँ, पीर पर्छ त्यो मानसिक रोग होइन । त्यो नर्मल इमोस्नल रियाक्शन भयो । यो बाट व्यक्तिबाट अगाडि बढ्यो र उसको सोसियल, अकुपेसन, फङ्सनिङमा समस्या पर्न थाल्यो भने अलिकति सामान्य जीवनबाट फरक देखिन थाल्यो भने मानसिक रोग भनेर जान्नुपर्‍यो । आफूले वा आफन्तले पहिचान गर्नुपर्‍यो । छिट्टै उपचारको दायरमामा, मनोपरामर्शको दायरामा आउनुपर्‍यो । हरेक कुराको समाधान छ ।

अस्पतालको आगामी योजना छ, कसरी बिरामीहरूले सेवा पाइरहेका छन् ?

यो अस्पताल केन्द्रीय अस्पताल हो । नेपालको जनसंख्याको अनुपातमा शैय्या संख्या अपुग छ । यसलाई स्तरोन्नति गर्न ढिला भइसकेको छ । हाम्रो ५० शैय्याको अस्पताल हो । ओपिडीमार्फत हामीले यथेस्ट सेवा दिएका छौं । अस्पतालमा आउने बिरामीलाई मनोचिकित्सकले हेरेर जाँच पड्ताल गर्नुहुन्छ र, उपचार प्रक्रिया अघि बढाउनुहुन्छ । भर्ना हुनका लागि जति भर्ना हुनुपर्ने बिरामी आउनुुहुन्छ, सबैलाई  एकैचोटी भर्ना गर्नसक्ने स्थिति छैन ।

ओपिडीको हिसाबले १३ जना साइक्याट्रिक्स हुनुहुन्छ । दुई जना साइकोलोजिस्स्ट हुनुहुन्छ, काउन्सिलर हुुनुहुन्छ । दैनिक एक सय ५० देखि दुई सय जनाले ओपीडी सेवा लिनुहुन्छ । लागूपदार्थ दुर्व्यसनीहरूलाई पनि सब्स्टीच्युस्नल उपचार पद्धतिबाट पनि सेवा प्रवाह गरेका छौँ । इमरजेन्सी सेवामा ६ वटा शैय्या रहेको छ । एउटै मात्रै केन्द्रीय अस्पताल भएका कारण हाम्रो अस्पताललाई स्तरोन्नति गरेर राष्ट्रिय स्तरको मानसिक स्वास्थ्य प्रतिष्ठानको रुपमा विकास गर्ने योजना छ ।

त्यसको लागि मानसिक अस्पतालको अहिलेको संरचना अपुग हुन्छ । यो अस्पताल हाता भित्रै १५० शैय्या पुर्‍याउने लक्ष्य छ । सायद यो वर्ष काम सुरु हुनसक्छ । प्रतिष्ठान बनाउन जग्गाको खोजि गरिरहेका पनि छौँ ।  मानसिक रोगको पनि उपचार छ । उपचार गरेपछि राम्रो जीवनयापन बिताउन सकिन्छ । खुलेर आफ्नो समस्या बताउने र उपचार लिने गर्नुपर्छ । वार्षिक रुपमा ओपिडीमार्फत ३० हजार जनाले सेवा लिनुहुन्छ । एक वर्षको अवधिमा ७ सय जनाको भर्ना गरेर उपचार गर्छौं । मानसिक रोगले उमेर लिङ्ग कसैलाई छोड्दैन । रोगमा देखिने लक्षण फरक पर्न सक्छन् । हाम्रो अस्पतालमा आउने अधिकांश बिरामीहरू निको भएर स्थिर भएर घर जाने गर्नुभएको छ । 

न्यूज एजेन्सी नेपालसँग गरेकाे कुराकानीमा आधारित


Author

थप समाचार
x