वार्ता

इकागज संवादमा भोला रिजाल

गर्भधारण गर्नलाई यो उपयुक्त समय होइन

सृजना खड्का |
जेठ ११, २०७८ मंगलबार १३:१२ बजे

कोभिड-१९ को संक्रमणबाट बच्‍न यति बेला हामी घरभित्रै छौँ । त्यस्तै, घरभित्र छन्, गर्भवती, सुत्केरी र नवजात शिशु पनि । जो यो समयमा अत्यन्तै जोखिम वर्गमा पर्दछन् । चिकित्सकहरूका अनुसार अरुको तुलनामा उनीहरूलाई कोभिड संक्रमण हुँदा गाह्रो बनाउँछ, क्षति पुर्‍याउन सक्छ । यसै सन्दर्भमा ‘कोभिड र गर्भधारण’, ‘कोभिड र नवजात शिशु’, ‘कोभिड र स्तनपान’, ‘कोभिड, गर्भवती महिला र भ्याक्सिन’ आदि विषयमा वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजालसँग इकागजकी सृजना खड्काले गरेको कुराकानी :

कोभिडको यो महामारीमा ‘बेबी प्लान’ गर्नुहुन्छ कि हुँदैन ? यो जिज्ञासा अहिले धेरैमा छ ।
सबैभन्दा पहिला त हामीले के बुझ्नुपर्छ भने, कोभिड सबैलाई लाग्छ । यसले कसैलाई छाड्दैन । जसले सतर्कता अपनाउँदैन, नियमको पालना गर्दैन उसलाई त झनै लाग्छ । नराम्रोसँग लाग्छ । तर, अरुको तुलनामा सुत्केरी, गर्भवती र नवजात शिशुलाई कोभिड लाग्यो भने उनीहरूलाई गाह्रो बनाउँछ, क्षति पुर्‍याउँछ । यस्तो बेलामा सुरक्षित हुन निकै कठिन छ । त्यसैले यो गर्भधारण गर्ने उपयुक्त समय होइन । 


कामकाजी (करिअर ओरिएन्टेड) जोडीका लागि यो ब्रेक गर्भधारणका लागि उपयुक्त समय पनि त हुन सक्छ नि, होइन र ?
यो बेलामा गर्भधारण गर्नु आपत्ति छैन । तर, गर्भवती भइसकेपछि भने विभिन्‍न समस्या आउन सक्छ । चाहिएको बेलामा आफूले सोचेका चिकित्सक नभेटिन सक्छन् । अप्ठ्यारो परेको बेला तुरुन्तै अस्पताल जान नसकिने अवस्था आउन सक्छ । अस्पताल जाँदा आफैँ संक्रमित हुन सक्ने सम्भावना पनि उत्तिकै हुन्छ । संक्रमण भइहाल्यो भने त झन् अप्ठ्यारो हुन्छ, जोखिम हुन्छ । त्यसैले, यो समयमा सकेसम्म बच्चा प्लान नगरौँ ।

जो गर्भवती छन्, उनीहरू यस्तो बेला संक्रमणबाट कसरी जोगिने ?
गर्भवतीले अरु बेलामा भन्दा यस्तो महामारीको बेलामा आफ्नो विशेष ख्याल राख्नुपर्छ । सामान्य अवस्था जस्तो अस्पताल गइराख्‍ने गर्नुहुँदैन । सामान्य अवस्थामा गर्भवती हुँदा आठ-दशपटक अस्पताल जानुपर्ने हुन सक्थ्यो भने यस्तो अवस्थामा सकेसम्म जरुरी परेको खण्डमा मात्रै अस्पताल जानुपर्छ । अप्ठ्यारो पर्‍यो भने चेकअप गराइरहेको डाक्टरसँग फोन सम्पर्कमार्फत काउन्सिलिङ लिनुपर्छ । अस्पताल चेकअपमा जाँदा जोगिएर जानुपर्छ । यस्तो बेलामा उनीहरू बाहिरको वातावरणसँग जति कम घुलमिल हुन्छन्, उति संक्रमणबाट जोगिन्छन् ।

जोगिँदा-जोगिँदै पनि संक्रमणले भेटिहाल्यो भने नि ?
पहिलो कुरो त सकेसम्म संक्रमण हुनबाट जोगिनुपर्छ । तर, जोगिँदा जोगिँदै गर्भवतीलाई कोभिड संक्रमण भएमा आत्तिहाल्नु पर्दैन । अरुलाई कसरी नसार्ने त्यसतिर ध्यान दिनुपर्छ । सावधानी अपनाउनुपर्छ । आइसोलेसनमा बस्नुपर्छ । यस्तो बेलामा उनीहरूले पटक-पटक ज्वानो पानी, गुर्जो पानी, बेसार पानी, दालचिनी पानी, चिया, कफी के-के खान मन लाग्छ खानुपर्छ ।

गर्भवती र सुत्केरीलाई निराश र डिप्रेस्ड हुन दिनु हुँदैन । यो बेलामा उनीहरूलाई हाम्रो राम्रो बोली, व्यवहार र सहयोगको खाँचो छ ।

तातो झोलिलो खाने कुराहरू प्रशस्त खानुपर्छ । दिनको तीन-चार पटक तातो पानीको बाफ लिनुपर्छ । श्वासप्रश्वाससम्बन्धी एक्सरसाइज गर्नुपर्छ । मास्क लगाउने, हात धुने, स्यानिटाइज गर्ने, भौतिक दूरी कायम गर्ने जस्ता कुरालाई भुल्नु हुँदैन । भरसक कसैसँग पनि भेट्नु हुँदैन । काम पर्‍यो भने फोनमा कुरा गर्नुपर्छ । भेट्नै पर्‍यो भने पनि टाढा बसेर कुराकानी गर्नुपर्छ । यति गर्ने हो १२-१३ दिन भित्रमा उनीहरू पहिला जस्तै सामान्य हुन्छन् । सामान्य भएपछि आफ्नो काम आफैँ गर्ने, बगैँचातिर निस्किने, छतमा गमला राखेर आफूलाई मन लागेका चिज उमार्ने, तिनलाई स्याहार गर्ने र भर्‍याङ अलि-अलि तलमाथि गर्ने जस्ता क्रियाकलाप गर्न सकिन्छ ।  

गर्भवतीलाई कोभिड हुँदा त्यसले बच्चालाई असर गर्छ कि गर्दैन ?
गर्दैन । गर्भवतीलाई संक्रमण भएर पछि निको भयो भने त्यसले बच्चालाई असर गर्दैन । तर, आफूलाई कोभिड भएकै कारण कोही गर्भवतीलाई त्रास र चिन्ता छ भने त्यसले गर्भको बच्चालाई असर गर्न सक्छ । २०७२ सालमा भूकम्पको जाँदा धेरै गर्भवती महिलाहरूमा यस्तो समस्या देखिएको थियो । उनीहरूलाई देखिएको त्रास र चिन्ताले बच्चालाई निकै असर गरेको थियो । 

संक्रमित आमाबाट जन्मिएको बच्चा संक्रमित नै हुन्छ कि संक्रमित नहुन पनि सक्छ ?
नेपालमा धेरै कोभिड संक्रमित आमाहरूको डेलिभरी भएको छ, अप्रेसन भएको छ । प्रसुति गृहमा मात्रै ३५-४० जना संक्रमित आमा सुत्केरी भइसके । त्यस्तै, अरु अस्पतालले पनि संक्रमित आमाको डेलिभरी गराउँदै आएका छन् । कोभिड पोजेटिभ आमाबाट जन्मिएका सबै बच्चाहरू पोजेटिभ नै हुन्छन् भन्‍ने छैन ।

धेरै गर्भवती महिला कोभिडविरुद्धको भ्याक्सिन लगाउने कि नलगाउने भनेर दोधारमा हुनुहुन्छ, उहाँहरूले भ्याक्सिन लगाउन मिल्छ कि मिल्दैन ?
गर्भवतीले भ्याक्सिन लगाउने भन्दा पनि भाइरसबाट भरसक जोगिने उपाय अपनाउनु पर्छ । गर्भावस्थामा भ्याक्सिन लगाउनु हुँदैन । तर, बच्चा पाइसकेको केही समयपछि भने लगाउँदा पनि हुन्छ । 

संक्रमित आमाले आफ्नो बच्चालाई स्तनपान गराउन मिल्छ कि मिल्दैन ?
मिल्छ । तर, बच्चालाई संक्रमणबाट जोगाएर सकिन्छ कि सकिँदैन विचार पुर्‍याउनुपर्छ । आमाले निकै नै सावधानी अपनाउनुपर्ने हुन्छ । तर, बच्चा पाइसकेपछि आमामा कोभिड इन्फेक्सन देखिएको छ भने स्तनपान नगराउँदा बेस हुन्छ । राम्ररी सावधानी अपनाउन नसक्दा बच्चामा सर्न सक्छ । आमालाई नेगेटिभ नआउँदासम्म बच्चा र आमालाई अलग राखेको राम्रो ।

बच्चालाई नै कोभिड देखियो भने चाहिँ के गर्ने ?
बच्चालाई पनि सकेसम्म जोगाएर राख्‍ने हो । तर, कोभिड भइहाल्यो भने पनि उनीहरूलाई स्याहार गर्दा सुरक्षित हुनुपर्छ । मास्क र पन्जा लगाउनुपर्छ । यस्तो बेलामा गर्भवती, सुत्केरी वा नवजात शिशुमा कोभिड भयो भने आत्तिनु हुँदैन । मनोबल उच्च राख्नुपर्छ । मनोबल उच्च राख्नु नै अहिलेको अवस्थामा सबैभन्दा ठूलो औषधि हो । गर्भवती र सुत्केरीलाई निराश र डिप्रेस्ड हुन दिनु हुँदैन । यो बेलामा उनीहरूलाई हाम्रो राम्रो बोली, व्यवहार र सहयोगको खाँचो छ ।


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x