इकागज संवादमा डा. बाबुराम भट्टराई
'विचार मिल्नेसँग नयाँ ध्रुवीकरण गर्नुपर्छ, फेरि माओवादी बनाउन व्यावहारिक हुँदैन'
विचार र आदर्श मिल्नेहरू बस्ने हो, नमिल्नेहरू आफ्नो बाटो लाग्छन्
चार वर्षअघि ‘वैकल्पिक राजनीति’को अभियानमा होमिएका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई अहिले परम्परागत राजनीतिक किचलोमा फसेका छन्। १० वर्षे सशस्त्र द्वन्द्वमा नेतृत्वदायी भूमिका निर्वाह गरेका डा.भट्टराई नेपालको संविधान जारी भएपछि वैकल्पिक राजनीतिक यात्रामा होमिएका थिए। पार्टीलाई साधन नभइ साध्य मान्ने भट्टराई नयाँ शक्तिदेखि समाजवादी हुँदै जसपासम्म आइपुग्दा पनि आफूलाई तेस्रो धारको समाजवादी दाबी गर्छन् । ‘वैकल्पिक राजनीति’ गर्न हिँडेका डा.भट्टराई अन्ततः परम्परागत राजनीतिको गाेलचक्करमा भासिएपछि पुन: नयाँ ध्रुवीकरणको कुरा गरिरहेका छन् । डा.भट्टराईले पछिल्लो समय ‘भेडा भेडातिर र बाख्रा बाख्रातिर’ लाग्नुपर्ने धारणा सार्वजनिक गरेका छन्। यही सन्दर्भमा डा.भट्टराईसँग इकागजका विनोद देवकोटाले गरेको संवाद :
आइतबार राति सामाजिक सञ्जाल ट्वीटरमा यहाँले एउटा ट्वीट गर्नुभयो । ‘अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामूहिक विघटनको अभिव्यक्ति हो । नयाँ निर्माण निम्ति पुरानो भत्कनैपर्छ । समयले नयाँ ध्रुवीकरण खोज्दै छ । अतः मान्छे तानातान र किनबेचको तमासा नगरौँ ! भेडा भेडासँग र बाख्रा बाख्रासँग हुन दिऊँ । हात मिलाएर आ-आफ्नो बाटो लागौँ ! हिँडिरहे फेरि भेट हुनेछ !’ यसलाई कतिपयले जसपा विभाजनको औपचारिक उद्घोषका रूपमा समेत अर्थ्याए । यसको अन्तर्य र आशय के हो ? कसलाई भन्नु भएको हो ?
होइन, मैले कुनै एउटा दललाई मात्रै इंगित गरेको होइन । अहिले विभिन्न दलमा समस्या देखिएको छ । सबैलाई संकेत गरेको हुँ । त्यो भनेको क्रान्तिपछि क्रान्तिकारी ऊर्जा स्वतः मत्थर हुँदै गएको छ । प्रतिगामी शक्ति र प्रतिक्रान्तिहरू बलियो हुँदै जान्छन् र पार्टी टुटफुट हुन्छन्, यो नियमै हो । यस्तो बेलामा त्यसलाई वैचारिक रूपमा दृढ हुनेहरूले आफू उभिने, त्यसैले मैले विचार मिल्नेहरू एक ठाउँमा हुने र नमिल्नेहरू अर्कोतिर जान्छन् भनेको हुँ । फेरि त्यहाँ अर्को चरण आउँछ ध्रुवीकरण हुँदै जान्छ भन्ने अर्थमा मैले भनेको हो । एउटालाई मात्रै होइन, सबैलाई भनेको हो ।
तर, अलि बढी जोर जसपातिर परेको हो कि ?
होइन, त्यहाँ मात्रै होइन । अरु पार्टीमा पनि त्यस्तो छ । तत्कालीन नेकपा नै तीन भइसक्यो । एमाले दुई समूहमा छ । कांग्रेसभित्रै पनि जुधेर बसेका अलग–अलग धार छन् । त्यसैले यस्तो बेला मान्छे तानातान गर्ने, किनबेच गर्ने, गालीगलौज गर्नुको औचित्य हुन्न । वैचारिक ढंगले हाम्रो नीति, योजना कार्यक्रम र लक्ष्य के हो ? पार्टी भनेको त एउटा विचारको संगठित संस्था हो । त्यसैले विचार मिल्नेहरू र आदर्श मिल्नेहरू बस्न हो । नमिल्नेहरूले आफ्नो बाटो लिने हो । मैले जनरल अर्थमा भनेको हो । जसपालाई पनि हो, अरुलाई पनि हो ।
त्यसमा यहाँले केही विम्ब प्रयोग गर्नुभएको छ । ‘भेडाभेडासँग बाख्रा बाख्रासँग’ कसलाई संकेत गर्नुभएको हो ? नयाँ ध्रुवीकरण र हात मिलाएर आ–आफ्नो बाटो लागौँ भन्नेले त विभाजनको औपचारिक उद्घोष गर्छ नि, हैन ?
भेडा र बाख्रा अलगअलग प्रजाति हुन् नि त । मैले विचारको प्रजातिको कुरा गरेको हुँ । त्यसलाई अन्य अर्थमा बुझ्नु हुँदैन, जाति वा रङको कुरा गरेको होइन । विचार मिल्नेहरू एक ठाउँमा हुनुपर्छ । विचार नमिल्नेहरूले आफ्नो विचारअनुसारको गर्नुपर्छ । राजनीति भनेको समाज अभियानको एउटा यात्रा हो । त्यो यात्रामा लाग्ने क्रममा कतिपयसँग भेट हुन्छ । केही समय छोटो यात्रा पनि हुन्छ । निरन्तर लागि राखेपछि आफ्नो गन्तव्यमा जानेहरू एक ठाउँमा हुन्छन् । यो मैले आम रूपमा भनेको हो र सत्य पनि हो । बेकार फोहोरी खेल खेल्ने, तानातान गर्ने, किनबेच गर्ने, लगेर रिसोर्टमा राख्ने, यस्तो फोहोरी काम गर्नु हुँदैन । त्यसकोविरुद्ध आन्दोलन गरेर आएका हामीले नै त्यसो गर्न थालियो भने राम्रो गर्दैन । त्यसमा मेरो विचार दृढ छ ।
अबको हाम्रा तीन एजेन्डा: एक, प्रतिगमनविरुद्धको संघर्ष । दुई, चुनावी तालमेल । तीन, विचार मिल्नेहरूबीच पार्टीगत ध्रुवीकरण ।
जसरी रातारात यहाँहरू एक हुनुभएको थियो नि, त्यसै गरी सजिलै अगल पनि हुने भइयो हैन त ? कुनै वैचारिक वा सैद्धान्तिक मतभेद त छैन । एक हुन र अगल हुन नेपाली राजनीतिमा केले काम गर्दो रहेछ ?
त्यो सत्य होइन । हामी एकाएक वा रातारात एक भएका होइनौँ । आम रूपमा हेर्ने होइन । त्योभन्दा एक वर्षअघिदेखि नै म नयाँ शक्तिमा हुँदादेखि नै चारवटा पक्षबीच एकता गरौँ भनेर मैले कार्यालयमा राखेर बोलाएर छलफल गरेको हुँ । मिडियामा पनि आयो त्यति बेला । पछि गर्दा अलिकति ढिलो मात्रै भएको हो । त्यो सत्य होइन ।
विचारका निम्ति गरेको हो । अर्काले एकता गरिदिने र फुटाइदिने कहीँ हुन्छ ? म त यत्रो समाज परिवर्तनका अभियानमा लागेको मान्छे । हामीले नयाँ शक्ति हुँदै, समाजवादी र जसपासम्म आउनुको अर्थ त नेपाल भनेको हिमाल, पहाड र तराई, मधेसका विभिन्न जाति समुदायले बनेको मुलुक हो । त्यसैले सबैको राष्ट्रिय पार्टी हुनुपर्यो । यहाँ एकथरी पहाडमा मात्रै पार्टी, एकथर मधेसका मात्रै पार्टी छन् । जनजातिका पार्टी यसो गरेर राष्ट्रिय एकता सृदृढ हुँदैन र एउटा न्यायपूर्ण राज्य पनि बन्दैन भन्ने मान्यता हो ।
अर्को वैचारिक ढंगले यो व्यक्ति, बजार र राज्यको उचित भूमिका हुने एउटा नयाँ समाजवादी बाटो चाहिन्छ भन्ने हाम्रो वैचारिक धार हो । तेस्रो कुरा राजनीति यति फोहोर भो, किनबेच हुने सत्ताको निम्ति जे पनि गर्ने भइराखेको छ, त्यो हुनु हुँदैन भन्ने मूल मान्यताले यो जसपा बनेको हो ।
यही बेलामा केपी ओलीले किनबेचको जुन अभियान चलाएका छन्, सत्ताको लालसा देखाएर मान्छेलाई तान्ने जुन काम गरेका छन् र रिसोर्टमा लगेर मान्छे राख्ने । यो मान्छेले यो बुझेका छन् । त्यो पहिलेको संसदीय कालकोभन्दा पनि बढी फोहोर भयो । आफूलाई कम्युनिस्ट भन्ने ? यस्ता खालका हर्कत गर्ने र हामी पनि एउटा मुक्ति आन्दोलन भनेर लाग्ने, मधेसी जनताको मुक्ति भन्ने अनि यस्तो प्रवृत्ति ठीक भएन । यसबाट बचेर अगाडि बढ्नुपर्छ भन्ने नै हाम्रो भनाइ हो ।
अहिले जसपामा देखिएको मतभेद अथवा अन्य दलमा देखिएको मदभेदमा कुनै वैचारिक वा सैद्धान्तिक मतभिन्नता छैन । वैचारिक र सैद्धान्तिक खाडल वा मेल नभइकनै दलहरू एक हुने वा विभाजन हुने गरेका छन् । यस्तो किन हुन्छ ?
समाज रूपमान्तरको लक्ष्य लिएरै पार्टी बनेका हुन् । नत्र त पार्टी नै चाहिँदैन । समाजमा ठीक र बेठीकबीचको जुन निरन्तर संघर्ष चल्छ, त्यो त्यसको व्यवस्थापन गर्न राज्य चाहिने हो र राज्य सञ्चालन गर्न पार्टी चाहिने हो । त्यसलाई सञ्चालन गर्ने एउटा विचार हुन्छ । अहिले चाहिँ हिजो त्यत्रो संघर्षबाट आएका चाहे कांग्रेस हुन वा कम्युनिस्ट माओवादी र अहिले जसपासम्मका पार्टीहरू हो । यी सबै आन्दोलनबाट आएका पार्टीहरू हुन् । तर अहिले आन्दोलन र मुद्दा र एजेन्डाप्रति मान्छेको चासो छैन । कसले पद पाए र पाएनन् मात्रै चासो भएको छ । त्यसलै यो विघटन हुनपर्छ भनेको । यो विघटनले नयाँ रूप लिन्छ । पुरानो वृक्ष वा बिरुवा चाहिँ फल दिएर पुरानो भइसकेपछि त्यो त ढल्नैपर्छ । त्यसका कारण नयाँ रोपिनुपर्छ । राजनीति र पार्टी पनि त्यस्तै हो । मैले फेरि यसलाई अन्यथा मानेको छैन । यो पुरानोको विघटन हो । पुरानो आफैं ढल्ने प्रक्रियातिर गइरहेको छ । फेरि नयाँ उम्रन्छ र विचार मिल्नेहरूले फेरि नयाँ ध्रुवीकरणमा लाग्नुपर्छ । त्यतातिर लाग्नुपर्छ भन्ने मेरो भनाइ हो ।
मधेस आन्दोलनका बेलाका नेताहरू वेदानन्द झा भए । जनजाति आन्दोलनका नेताहरू गोरेबहादुर खपांगीहरू भए । कम्युनिस्ट आन्दोलनका नेताहरू केशरजंग रायमाझी भए । कांग्रेसका नेताहरू तुलसी गिरीहरू भए ।
दलहरूबीच तीव्र एकता, विभाजन अथवा गठबन्धन भइरहन्छ । छिट्टै बन्छन् र भत्किन्छन् पनि । यसमा नेपाली राजनीति मात्रै जिम्मेवार छ कि अरु कुनै तत्त्वले पनि काम गर्छ ?
त्यो त स्वतः हो । अहिलेको युगमा, पहिले पनि ठूला साना शक्तिहरूको प्रभाव पर्थ्यो । तर, आन्तरिक ठूलो प्रमुख कुरा हो । बाह्य प्रभाव पनि पर्छ । फेरि अहिलेको विश्व त यति सूचना, सञ्चार र अर्थतन्त्र यी सबै हिसाबले गर्दा छ । मैले के मात्रै भन्छु भने उत्पीडित जनताका निम्ति लड्ने जुन आन्दोलन हुन्छ । समुदाय वा वर्गको आन्दोलन हुन्छ । त्यसलाई देशभित्रका र बाह्य शक्तिले केन्द्रले आफ्नो स्वार्थमा बलि चढाइदिने स्थिति जहिले पनि आउँछ । त्यसकारण नेताहरू सिद्धान्त र आदर्श र निष्ठा भएनन् भने ती नेताहरूलाई किनेर सत्ताको चास्नी देखाएर आन्दोलनलाई धराशयी पार्ने हामीले हिजोदेखि देखेका छौँ ।
मधेस आन्दोलनका बेलाका नेताहरू वेदानन्द झा भए । जनजाति आन्दोलनका नेताहरू गोरेबहादुर खपांगीहरू भए । कम्युनिस्ट आन्दोलनका नेताहरू केशरजंग रायमाझी भए । कांग्रेसका नेताहरू तुलसी गिरीहरू भए । यस्ता शक्तिहरू पतन भएर जान्छन् । आफ्नो निष्ठा र आदर्शमा रहेर आन्दोलनलाई डोर्याउनुपर्छ । अहिले पनि जसपा वा नेकपाभित्र जुन भइराख्या छ, आफ्ना आदर्शलाई बिर्सेर स्वार्थका निम्ति लड्ने र त्यसलाई भित्र र बाहिरका शक्ति केन्द्रहरूले प्रयोग गर्ने जुन भइराख्या छ । यो गलत हो । यसबाट लेसन लिएर अगाडि बढ्नुपर्छ । नयाँ ध्रुवीकरण गर्नुपर्छ ।
नयाँ निर्माण निम्ति पुरानो भत्कनैपर्छ । समयले नयाँ ध्रुवीकरण बन्नुपर्छ भन्नुभएको छ । त्यो अहिले सत्ता निकट र इतरमा बनेको छ । यहाँले संकेत गरेको पनि त्यही हो कि कुनै नयाँ ?
हो । अहिले त ओलीको नेतृत्वमा नेपालको पुरानो सत्ता केन्द्रित भइराखेको छ । ओलीले आफू कम्युनिस्ट भने पनि उहाँका जुन नीति छन् त्यसमा कुनै कम्युनिस्ट निष्ठा, आदर्श, वर्गीय, जातीय उत्पीडनविरुद्ध नभएर पुरानो सत्ताकै एउटा विरासत बोक्ने नेता भन्छु म त । पञ्चायती शासन व्यवस्थाकै परिवर्तित रूपमा उनले नेतृत्व गरिराखेका छन् । संसद्लाई पटक पटक विघटन गर्ने, लोकतन्त्रलाई नष्ट गर्ने उनको जुन निरन्तरको प्रयत्न छ । यसले पनि के देखाउँछ भने लोकतन्त्र उल्ट्याएर निरंकुशतातिर लिएर जाने, जनताले बनाएको संविधानलाई भत्काउने दिशातिर उनी छन् । त्यसकारण यसविरुद्धमा नेपाली कांग्रेस, माओवादी, जसपा, एमालेभित्रैकै एक तप्का र राजमोलगायतका शक्तिहरू जुन एक ठाउँमा आइराखेका छन् । या चाहिँ कमसेकम लोकतन्त्रको रक्षा गर्नका निम्ति बन्दै गरेको एउटा नयाँ समीकरण हो । मेरो संकेत यता पनि हो । त्यसकारण हामीले यथास्थितिवादी र प्रतिगमनकारी एकतिर र अग्रगमनकारी र लोकतन्त्रवादी अर्कोपट्टि हुन्छ । र हुनुपर्छ ।
यो ध्रुवीकरण सत्ता समीकरण वा बाहिर चर्चा भएको जस्तो चुनावसम्मको समीकरणमात्रै हुन्छ कि फेरि कुनै नयाँ शक्ति/नयाँ दल बन्नेसम्मको हुन्छ ?
होइन, हामी बहुदलीय प्रणालीमा छौँ । बहुदलीय प्रणालीमा संविधान, लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रका रक्षाका लागि दलहरू एक ठाउँमा आउने राजनीतिक वैचारिक धुव्रीकरण एउटा र दोस्रो त्यसभित्रको फेरि विचार मिल्नेहरू पनि छ नजिक हुनसक्छन् नि त । जस्तो कांग्रेसले एक कित्ताको प्रतिनिधित्व गर्छ । एमाले चाहिँ पुरानो रायमाझी पथमा परिणत भएर अथवा पञ्चायतको नयाँ संस्करणको रूपमा परिणत हुँदै छ । एमालेभित्रका अलिकति अग्रगामी शक्तिहरू, माओवादीभित्रका पनि क्रान्तिकारी शक्तिहरू, जसपाका परिवर्तनकामी शक्तिहरू र अन्य जुन विभिन्न आन्दोलनसँग जोडिएका लगायतका शक्तिहरू आन्दोलनमा सहकार्य पनि गर्ने, चुनावमा तालमेल पनि हुनसक्छ । विचार मिल्नेहरूसँगको नयाँ ध्रुवीकरण पार्टीका रूपमा पनि नयाँ एकता पनि हुनसक्छ । यो तीन तहबाट जान्छ भन्ने मैले बुझेको छु । तत्काल प्रतिगमनविरुद्धको संघर्ष, दोस्रो चुनावी तालमेल र तेस्रो विचार मिल्नेहरूबीचको पार्टीगत ध्रुवीकरण ।
अहिले एमालेको एउटा पक्षले पनि नयाँ समीकरण खोजिरहेको छ । कतिपयले विपक्षी समीकरणमा माओवादी, एमालेको एउटा पक्ष र यहाँहरूबीचको एकताका विषयमा पनि चर्चा गर्छन् । सम्भावना छ ?
होइन, अहिले त त्यो कुरा भएन । अहिले त ओलीको प्रतिगमनविरुद्ध कांग्रेसलगायत सबै शक्ति एक भएर जानुपर्छ । त्यसपछि यो घटनाक्रम कसरी जान्छ । चुनाव त कुनै बेला गर्नैपर्छ । अहिले त ओलीले नगर्लान् । तर, एक दिन हुन्छ । ढिलो चाँडो चुनावमा त जानुपर्छ । त्यस्तो बेला प्रतिगमनकारी र निरंकुशतावादी शक्तिविरुद्ध विभिन्न पक्षमा चुनावी तालमेल हुनसक्छ । त्यसपछिको चरणमा फेरि विचार मिल्नेहरूसँग नयाँ पार्टीगत एकता पनि हुनसक्छ भन्ने हो । तर, अहिले हामी प्रतिगमनविरुद्ध छौँ । अहिले अरु कुरा गर्ने बेला भएको छैन ।
कतिपयले माओवादी ध्रुवीकरणका विषयमा पनि पछिल्लो समय निकै चर्चा गर्छन् । व्यक्तिगत रूपमा यहाँले धेरै प्रयोग गरिसक्नु भयो । नयाँ शक्ति बनाउनु भयो । त्यसलाई समाजवादी बनाउनु भयो । समाजवादी जनता समाजवादीमा परिणत भयो । तर, अहिले त्यो पनि अपेक्षाकृत हुन सकेन । विभाजनको संघारमा छ । अब फर्केर हेर्दा माओवादी ध्रुवीकरण वा कतिपयको शब्दमा पुरानै घर फर्किनुपर्छ भन्ने लागेको छैन ?
होइन, त्यसरी बुझ्नु हुँदैन । पार्टी भनेको साधन हो, साध्य होइन । त्यसरी हेर्दा एउटा पुँजीवादी कित्ताको पार्टी कांग्रेस नै हो । एउटा खुला बजार, उदारवादी लोकतन्त्र । अर्को राज्य नियन्त्रित व्यवस्थाको वकालत गर्ने कम्युनिस्टहरू हुन् । त्यसमा अत्यन्त भद्दा रूपमा ओलीजी प्रकट हुनु भएको छ । अरु कोको हुन सक्छन्, हामी समाजवादी धार भनेको तेस्रो धार हो । जुन समावेशी र समानुपातिक लोकतन्त्रमा आधारित छ । र सामाजिक न्यायसहितको एउटा समाजवादी धार हो । यो नयाँ शक्तिदेखि समाजवादी हुँदै जसपा बनेको हो । नामकरण मात्रै फरक हो । विचार एउटै हो । हामीले जुन ‘पाँच स’ (‘शान्तिबाट संविधान, संविधानबाट सुशासन, सुशासनबाट समृद्धि र समृद्धिबाट समाजवाद’) भनेका थियौँ त्यही हो । त्यो हाम्रो कोर भ्यालू हो । त्यसरी हेर्खाखेरि समाजवादी धार तेस्रो र नयाँ धार हो । फेरि पुरानै पार्टीमा फर्केर कम्युनिस्ट पार्टी बनाउने वा माओवादी बनाउने भन्ने व्यावहारिक हुँदैन । तर, नयाँ समाजवादी ध्रुवीकरणका निम्ति हाम्रो प्रयत्न रहन्छ । त्यसमा को-को आउँछन्, अहिले भन्न सकिँदैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया