अन्तर्वार्ता
‘रक्सीका बोतल, फुटेका सिसाले धेरै गाह्रो बनाएको छ’
कुहिने र नकुहिने फोहोर छुट्याए लिच्चड आउँदैनथ्यो
काठमाडौँको बालाजुबाट २० किलोमिटर पर गएपछि पुगिन्छ धादिङको धुनीबेसीस्थित कुडुले-बञ्चरेडाँडा ल्याण्डफिल साइट । यहाँको आफ्नै कथा छ । आफ्नै दैनिकी छ । यहाँका स्थानीय युवाहरू बिहानैदेखि काठमाडौँले पठाएको फोहोर व्यवस्थापनमा लागिरहेका हुन्छन् । काठमाडौँबाट आउने दुई सयजति टिपरलाई दैनिक व्यवस्थापन गर्नु उनीहरूको जिम्मेवारी छ । काठमाडौँको फोहोर के कसरी व्यवस्थापन गरिएको छ भनेर हामी शनिबार बिहानै यता लाग्यौँ । बाटोभरि फोहोर बोकेका टिपर भेटिए । शनिबार मध्यान्ह १२ बजेसम्म मात्रै फोहोर बोकेका टिपर यहाँ पुगिसक्नुपर्ने रहेछ । अन्य दिन भने २ बजेसम्म टिपरहरू यहाँ पुग्ने रहेछन् । यहाँ पुगेपछि देखिने फोहोरका पहाड अनि फोहोरबाट निस्कने लिच्चडले यहाँ पुग्ने जो कोहीलाई पनि एक पटक सोच्न बाध्य बनाउँछ । फोहोर व्यवस्थापनसँग सम्बन्धित भइरहेका कामबारे स्थानीयसँग इकागजकर्मी शुरज थपलियाले कुराकानी गरेका छन् ।
फोहोर व्यवस्थापन कस्तो छ ?
स्थिति धेरै नाजुक छ । पहिलाभन्दा सुधार भएको छ । काठमाडौँ महानगरले केही नगरेपछि स्थानीय युवाहरू नै यसलाई व्यवस्थित गर्न फोहोर व्यवस्थापनमा लागेका छौं ।
तपाईँलाई कसले राखेको यहाँको स्थानीय तह वा महानगर ?
स्थानीय त म आफैँ स्थानीय नै हुँ । काठमाडौँ महानगरको कर्मचारी पनि हुँ ।
काठमाडौँ महानगरका मेयर बालेन शाह आएपछि फोहोर व्यवस्थापनमा केही परिवर्तन भएको महसुस गर्नु भएको छ ?
ठीक ठीकै छ । बालेन आउनुभन्दा मात्रै पनि गाउँकै मानिस फोहोर व्यवस्थापनमा लागेपछि अझै सुधार भएको छ । जो आए पनि त्यहीँ हो । यहाँबाट ३ सय मिटरमाथि मेरो घर छ । म लगायत हामी स्थानीय आफैँ लागि परेका छौं । यहाँ हाम्रो आफ्नै कथा र व्यथा छ ।
दुई वर्षलाई गरेको सम्झौता दुई दशक भइसकेको छ अझ कति वर्ष यो ठाउँले फोहोर धान्छ होला ?
भन्न त ५० वर्षसम्म फ्याँक्न मिल्ने भनेको छ । तर, मलाई लाग्छ त्यति वर्षसम्म नथेग्ला । लगभग दुई वर्षमै यो लिच्चडको खाल्डो भरिन लागिसक्याे, अब हेरौँ कति वर्षसम्म थेग्छ । वर्षाको समयमा सबै लिच्चडले दुर्गन्धित हुन्छ । टिपरहरू फसेर फोहोर फाल्ने ठाउँमा पुग्न सकिँदैन । भरिन लागेको लिच्चड नि सबै निस्कन्छ ।
धादिङको फोहोर नआएर यहाँ काठमाडौँको फोहोर आउँछ तपाईँलाई स्थानीय भएकाले कस्ताे लाग्छ ?
यहाँको फोहोर व्यवस्थापन व्यवस्थित छ । तर, काठमाडौँको फोहोरले दु:ख दिएको हो । त्यो समयमा नेताहरूले गाउँका स्थानीयलाई फकाएर राम्रो सेवासुविधा पाउने आशामा फोहोर फ्याँक्न दिए । त्यसको असर एउटा पुस्ताले मात्रै हाेइन सात पुस्तासम्मले त्यहीँ पीडा भोग्नुपर्ने निश्चित छ । दिने सुविधा र लिने सुविधामा धेरै फरक छ । आश्वासन धेरै छ हामीले केही पाएका छैनौँ ।
दैनिक कति फोहोर आउँछ ?
दैनिक लगभग दुई सय टिपर आउँछन् । काठमाडौँ, ललितपुर महानगरपालिका, भक्तपुर उपमहानगरपालिका र अन्य १० स्थानीय तहका फोहोर यहाँ आउँछ । अझ बढी होला कम भने छैन ।
फोहोर व्यवस्थापनका लागि सरकारले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?
सरकारलाई के भन्ने । हामीलाई फोहोर चाहिएको हैन । अन्तै लगेर व्यवस्थित गरे त्यसै राम्रो । कमसेकम अलि व्यवस्थित गर्नुपर्यो मानिस स्वस्थ हुनुपर्यो । फोहोरबाट चुहिरहेको लिच्चडलाई व्यवस्थित गर्नुपर्यो । फोहोरलाई रिसाइकल गर्ने भनिएको थियो । त्यो पनि भएको छैन । कमसेकम फोहोरको गन्ध नआओस् । फोहोरको गाडी बाटोमा गुड्दा गन्धै नआओस् । फोहोरको गाडी गुड्दा फोहोरको गाडी नै हैन जस्तो होस् । अहिले टिपरमा फोहोर ल्याइन्छ । विदेशतिर जस्तो फोहोर नै नदेखिने गाडी होस् । कुहिने नकुहिने फोहोर छान्ने भनेको थियो । अहिले सराबरी आइरहेको छ । त्यो मात्रै छानिदिए पनि हुन्थ्यो । रक्सीको बोतल, फुटेका सिसा आदिले यहाँ काम गर्ने मान्छेहरूलाई धेरै गाह्रो भएको छ ।
कुहिने नकुहिने फोहोर महानगरले छुट्याउने भनेको थियो नि ?
छुट्टिएर आएको छैन । सराबरी आइरहेको छ । हस्पिटलको सिरिन्जहरू जस्ता फोहोर चाहिँ अहिले बन्द छ । कुनै कुनै गाडीले ल्याएमा कारबाही गरेका छौं ।
काठमाडौँ महानगरबाहेक अरूले सहयोग गरेको छ ?
छैन । काठमाडौँ महानगरले लिएको ठाउँ हो । महानगरले अन्य स्थानीय तहसँग समन्वय गरेर मिलाएको छ । हामीलाई पनि खासै जानकारी छैन ।
फोहोर व्यवस्थापन गर्दा के सुरक्षाहरू अपनाउनुहुन्छ ?
खासै त्यस्तो केही छैन । फोहोर टिपिरहनेहरूलाई अलि व्यवस्थित गर्न पाए हुने । हाल्ने बित्तिकै फोहोर पुर्नु ठूलो कुरा हो । अहिले चाहिँ फोहोर ल्याएपछि माटोले पुर्ने गरिएको छ । त्यसले गन्ध कम भएको छ । ६/७ महिना भयो फोहोर पुर्न थालेको नत्र पहिला बाटोभरि फोहोर देखिन्थ्यो । लिच्चड बाटोभरि चुहिन्थ्यो । बरू दुई घण्टा बढी समय लागे पनि फोहोर पुरेर व्यवस्थित गरेपछि मात्रै छाड्ने गरिएको छ ।
बाटो कस्तो छ ?
बाटो हिउँदमा त सफा नै हुन्छ र गाह्रो वर्षाको तीन महिना हो । वर्षामा पनि खाशै त्यस्तो असर नहोला व्यवस्थित गर्न लागिपरेका छौं ।
फोहोर पुर्न माटो कहाँबाट ल्याउनुहुन्छ ?
महानगरले अतिक्रमण गरेको जग्गा छ । उसको भइसकेको जग्गा भनौँ न । त्यहाँबाट माटो ल्याएर पुरिन्छ ।
फोहोर बोक्ने गाडीले नै माटो ल्याएर पुर्छ ?
अन्य प्राइभेट सेक्टरको गाडीको कुरा त भएन । महानगरको गाडी ८/१० वटा कति छ । तिनीहरूले ल्याउँछन् । उनीहरूले यहाँ आएर लोकल टिप गर्छन् ।
तपाईँहरूलाई महानगरले के-के सुविधा दिएकाे छ ?
हामीलाई तलबबाहेक अरु दिएकाे छैन । जागिर खाइहालौँ भनेर मरिहत्ते गर्ने सोच त थिएन । फोहोर व्यवस्थित गर्दा चिया खर्च भए पनि होस् न भनेर हो । दिनकै आएर त्यतिकै फोहोर व्यवस्थापन गर्न त सकिँदैन । सेवा पनि भयो घरकाे गर्जाे पनि टर्छ भनेर हाे । सुरुकाे चार महिनासम्म हामीले केही सुविधा लिएनौँ पछि महानगरलाई अप्ठ्यारो भएपछि गाउँकै १२ जनालाई रोजगार दियाे ।
कर्मचारी कति हुनुहुन्छ ?
नयाँ १२ जना र पुराना २५ जना छौं । १५ जनाले चाहिँ रेगुलर यही बसेर काम गर्छौं ।
फोहोर व्यवस्थापन गर्न मेसिनहरू पनि प्रयोग हुन्छ ?
मेसिनहरूमा दुई वटा स्काभेटर, दुई वटा फोहोर ठेल्ने बुल डोजर छ । र, एउटा सानो जेसिबी छ ।
सहजताका लागि स्थानीय तहले के गर्दिए हुन्थ्याे ?
फोहोर उतैबाट छानेर कम आइदिए अझ व्यवस्थित गर्न सजिलो हुन्थ्यो । सराबरी फोहोर आएको छ । कति बेला के रोग लाग्छ नै थाहा हुँदैन । बिहान ग्याँसले बस्न सकिँदैन ।
बोराहरुमा के भरेको ?
यो कवाडी हो । यतैबाट छानेर काठमाडौँ जान्छ अनि बेचबिखन हुन्छ । यसले गर्दा मानिसहरूको जीविकोपार्जन भइरहेको छ । खासमा कवाडी संकलन गर्न नदिने भनेको हो तर धेरैको परिवार नै यहीँबाट पालिएको छ । त्यसैले रोक्न सकेको छैन ।
प्लाष्टिक जस्ता नकुहिने फोहोर छान्ने कति छन् ?
होलान् लगभग दुई सय जना जति । अझै माथि होला । फोहोर टिपरले खन्याउँदै गर्दा सामान खोज्न आइपुग्छन् । फोहोर फाल्दा चाहिँ पुरिएलान् भन्ने चिन्ता छ । त्यसको लागि व्यवस्थित गर्न जरुरी छ । काठमाडौँको होल्डिङ स्टेसनमै छानिएर आए राम्रो हुने थियो । जे पनि फोहोर आउँछ । कुहिने फोहोर उतै छानेर मल बनाए हुने । सबै फोहोर सँगै आउँदा लिच्चड निस्किएको छ ।
(अन्तर्वार्ता दिने फोहोर व्यवस्थापनमा संलग्न युवाको नाम उहाँकै अनुरोधमा गोप्य राखिएको छ।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया