सबै पार्टी विचार शून्य भए, जनताले विकल्प रोज्न सक्छन् :नरहरि आचार्य (अन्तर्वार्ता)
नेपाली काँग्रेसका नेता सुशील कोइरालाको निधन भएकाे सात वर्ष बितेको छ । निधन आफैँमा दुःखद हो । कुनै पनि व्यक्तिको निधनमा सबैभन्दा बढी आफन्तजन, प्रियजन र शुभचिन्तकलाई पीडा हुन्छ । सुशील कोइरालाको निधनमा पीडा सहन नसकेर बेहोस भएका व्यक्ति हुन्, नरहरि आचार्य । मृत्यु खबर सुन्नासाथ कोइराला निवास पुगेका आचार्य बेहोस भएर ढलेका थिए । कोइरालाको निधनमा बेहाेस भएका आचार्यले उपचारका क्रममा लामो समय अस्पतालमा बिताए । अहिले उनी घरमै समय बिताइरहेका छन् । राजनीतिक मञ्चमा देखिँदैनन् तर उनी लेखन र पढाइमा भने विगतमा जस्तै सक्रिय छन् । आचार्य अहिले शारीरिक अशक्तताका कारण घरमै बसेर समय बिताइरहेका छन् । उनी जीवनलाई अब पनि भोग्ने र सक्रिय बनाउने भन्दा पनि अवलोकनको अवस्थामा पुगेको बताउँछन् । भन्छन्, 'जीवन कसरी बित्दो रहेछ त्यसका सारा कुराहरू अवलोकन गरिरहेको छु ।'
आचार्य राजनीतिमा क्रियात्मक र सैद्धान्तिक विषय महत्वपूर्ण भएको बताउँछन् । तर, पनि प्राथमिकतामा सैद्धान्तिक कुराहरू नै रहने बताउँछन् । उनी वर्तमान संविधानलाई सफल भएको मान्छन् । तर, उनी विरोध गर्नेहरू पनि संविधान अनुसार नै आफ्ना कुरा राखिरहेको बताउँछन् । उनी राजनीतिक दलहरू नसुध्रेमा जनताले विकल्प खोज्ने अधिकार सुरक्षित रहेकाे बताउँछन् । दुई दशकभन्दा बढी राजनीतिमा सक्रिय, प्राध्यापकसमेत रहेका आचार्यसँग इकागजकर्मी अतिन आचार्य र दुर्गा आचार्यले गरेको कुराकानी:
कुनै बेला तपाईँ काँग्रेसको केन्द्रविन्दु जस्तै हुनुहुन्नथ्यो । अहिले गुपचुप हुनुहुन्छ । समय कसरी बिताइरहनुभएको छ ?
समयको उपयोगलाई लिएर भन्ने हो भने पहिले र अहिले धेरै फरक छैन । खुसीसाथ बिताएको छु । शारीरिक सक्रियता नभए पनि संख्यात्मक रूपमा साथीहरूसँग गर्ने भेटघाट छ । तुलनात्मक रूपमा भने एकदमै कम छ । सक्रिय राजनीतिदेखि बाहेकका मानिससँग छलफल गरिरहेको हुन्छु ।
आज भोलि पहिलेकै जस्तो बाक्लो भेटघाटको अवस्था पक्कै छैन । नेता कार्यकर्ताबाट टाढा भएको महसुस भएको छैन ?
म विश्राममा छु भन्ने लागेको छ । सक्रियताको जीवन निक्रियतामा गयो । बिस्तारै सक्रिय बन्दैछु । बढी सक्रिय हुन शरीरले पनि साथ दिँदैन । मनले पनि सक्रियता खोजेको छैन । जीवनलाई भोग्ने, सक्रिय भन्दा पनि अवलोकन गर्ने अवस्थामा पुगेको छु । मानिसका जीवन कसरी बित्दो रहेछ त्यसका सारा कुराहरू अवलोकन गरिरहेको छु । अहिले गरेको कर्म पनि आवश्यक ठानेको छु । भोगिरहेको उपलब्धतालाई ठीकै मान्छु ।
सक्रिय हुँदैछु भन्नुभयो । यो सक्रियताको अर्थ अब राजनीतिमा पुनः सक्रिय हुने इच्छा राख्नु भएको हो ?
मैले भन्नुपर्दा सुरुमा पनि राजनीतिमा थिइन । १७ वर्ष प्राध्यापक थिए । धेरैले राजनीति गरिरहेको छ भन्थे । विश्वविद्यालयका पदाधिकारीले काँग्रेस ठान्थे । २०४६ सम्म काँग्रेसको सदस्यसमेत थिइन । सबैले काँग्रेस भन्थे । मैले आफ्नो कर्म गरिरहेको थिए । अकस्मात् राजनीतिक भूमिकामा आए । काँग्रेसले मलाई आमन्त्रण गर्यो । मनोनीत भए पनि निर्वाचित हुनुपर्ने पदमा बोलाइएको थियो । २५ वर्षसम्म राजनीतिमा सक्रिय रहेर त्यतै हराएछु । विश्राममा छु । यो जीवनको कर्म विविधता रहेछ । धेरैले मलाई बीचको अवधिमा मात्र चिन्ने र देखेका छन् । यस्तो उस्तो भन्छन् मैले सबथोक भोगेर र व्यहोरेर आएकाले मलाई त्यस्तो केही लाग्दैन ।
तपाईँँ राजनीति र दर्शन बुझेको व्यक्ति हुनुहुन्छ । मान्छेहरूको जिज्ञासा केमा धेरै देखिन्छ ?
भेटघाट गर्ने मानिसका आन्तरिक इच्छा र चाहनाका बारेमा बोध हुँदैन । भेटघाटका क्रममा मानिसलाई आफ्ना कुरा र अनुभवहरू सुनाइरहेको छु । त्यहीँ कुरालाई लिएर मानिसले मलाई भेट्न चाहन्छन् होला जस्तो लाग्छ । मैले अवसर दिन सक्दिनँ र किन भेट्न चाहन्छौं भनेर पनि कसैलाई सोध्दिनँ । भेट्न आउनेलाई भेटिरहेको हुन्छु ।
भेटघाटमा कस्ता–कस्ता विषयमा कुराहरू हुन्छन् ?
मेरो पहिलो जीवनलाई देखेका मानिसहरू आउने गरेका छन् । पछिल्लो जीवनलाई सबैले अवश्य देखेका छन् । दुवै जीवन देखेका मानिसहरूमध्ये कोहीले अहिलेको जीवन कस्तो छ भनेर प्रश्न राख्ने गर्छन् । बिरलै भेट भएको मानिसहरूले समय कसरी बिताउनु भएको छ भन्छन् । सामान्यतया राजनीति र पहिलो जीवनका बारेमा सोध्ने गर्छन् । राजनीति र पहिलो जीवन भनेर छुट्याउन मिल्दैन । पहिलो जीवन राजनीतिबाट मुक्त थियो भन्न मिल्दैन । सक्रिय राजनीतिको कुराहरू सोध्ने कम हुन्छन् । सैद्धान्तिक राजनीतिका बारेमा मानिसले बढी चासो राख्ने गरेका छन् ।
तपाईँँले राजनीतिक जीवनमा के पाउनुभयो ? प्राध्यापन पेसा छाडेर राजनीतिमा प्रवेश गरेपछि बौद्धिक भूमिकाबाट टाढा भएजस्तो लाग्दैन ?
राजनीतिमा रहनु र बौद्धिक हुनुमा फरक देखिन्छ । तर, मुख्य कुरा प्राथमिकतामा हो । राजनीतिलाई मानिसले छुट्याउँदा रहेछन् । राजनीतिमा क्रियात्मक र सैद्धान्तिक हुँदोरहेछ । राजनीतिमा भए पनि प्राथमिकतामा सैद्धान्तिक कुराहरू रहने गर्छ ।
प्राध्यापन र राजनीति कुन क्षेत्रमा बढी लाग्नुभयो । एउटा समय व्यतीत गर्नुभयो त्यसमा लागिरहँदा के पाए वा गुमाए जस्तो महसुस कहिले भएन ?
पठनपाठनलाई जुन रफ्तारमा लगेको थिए । राजनीतिमा आएपछि त्यो क्रियालाई गुमाए भन्ने लाग्छ । दैनिक गर्नुपर्ने कर्मलाई सार्थकता दिन सकिन । म सँगै प्राध्यापन सेवामा रहेकाहरू सेवा निवृत्त भइसकेका छन् । अहिले त्यो पेसामा रहेको भए हुन्थ्यो भनेर सोच्दा पनि हुन्छ । सन्तोष भन्ने कुरा केहीमा पाइने रहेन छ । सन्तोष जे कुरामा लिन सकिन्छ । राजनीतिमा लागेर खत्तम भए भन्ने भएन । राजनीतिमा रहँदा आफूलाई मन लागेको कुरा गरे । मनमा नलागेका कुरा कहिले पनि गरिन । सबै समय रमाइलोसाथ बिताए । प्राध्यापक रहँदा जागिरे मात्र रहिन । मन लागेको कुराहरू त्यस बखत पनि गरे । जीवनमा जे गरे जीवन एकदमै सन्तोषपूर्ण छ ।
मानिसले हरेक पेसामा रहँदा समीक्षा गर्छन् । तर, तपाईँँलाई राजनीतिमा लाग्नु गलत रहेछ भन्ने महसुस त भएको छैन नि ?
प्राध्यापनमा रहँदा सफल थिए । राजनीतिमा लाग्नु भनेको असफलता भन्ने हुँदैन । आफूलाई लागेको कुरा भन्न सकियो भने त्यो भन्दा अरू सफलता के हुन्छ र । केहीमा संकोच रहेन र भनिरह्यो भने त्यो पनि सफलताको सूचकको हो भन्ने लाग्छ । राजनीतिमा लागेर गलत गरेको जस्तो लाग्दैन । राजनीतिमा लाग्नु भनेको गलत महसुस गर्नु होइन । जीवन सधैँ एउटै रफ्तारमा हिँड्छ भन्ने हुँदैन । सक्रिय मानिस पनि जीवनको उत्तरार्द्धमा पुगेपछि एकान्तमा बस्नुपर्छ । एकान्तमा बस्ने अभ्यास गरे भने जीवन सार्थक हुन्छ ।
संविधान सभाको निर्वाचन देख्नुभयो । संविधान पारित गर्दा तपाईँँ सक्रिय हुनुहुन्थ्यो । तर, संविधान बनेको भोलिपल्टदेखि सडकबाट विरोध सुरु भयो । संविधानलाई कसरी लिनुहुन्छ ?
अहिलेको संविधानलाई सफल भएको मान्छु । त्यो बेलामा बाहिरबाट आन्दोलन गरिरहेकाहरू यो संविधानमा समावेश भइसकेका छन् । संविधान बनाउँदा जुन विधि अपनाइयो बढी संख्या भयाे । त्यो भनेको सबैको प्रतिनिधित्व खोज्दा त्यस्तो भएको हो । संविधान सभा थोरै संख्याका पनि हुन्छन् । भारतमा नेपालमा भन्दा कम सदस्य थिए । भारतको संविधानमा ७० प्रतिशत बढी मानिसले विरोध गरेका थिए । अहिले त्यो विरोध हट्दै गयो । नेपालमा धेरैको समर्थन थियो । केही विरोध थियो, तिनै विरोध गर्नेहरू संविधानलाई स्वीकार्दै सरकारमा सहभागी भइसकेका छन् । विरोध गर्नेहरू भन्दा बाहिरका समूहहरू दोस्रो पटकको निर्वाचनमा यहीँ संविधानलाई मान्दै सहभागी भइसकेका छन् । संविधानको लागि असहमत हुनेहरू पनि संविधान अनुसार असहमत भइरहेका छन् ।
सरकारमा बसेकाहरूले बेलाबेलामा संविधानमाथि खतरा छ भनेर भनिरहेका हुन्छन् । के संविधानमाथि खतरा हुन लागेकै हो ?
संविधानमाथि कोहीबाट खतरा छैन । खतरा भनेका मानिसहरूबाट पनि खतरा छैन । हामी संविधान परिवर्तन गर्छौ भन्ने मानिससँग झन खतरा देखेको छैन । संविधानलाई संशोधन मात्र गर्छौ भनेका हुन् त्यसलाई खतरा भनिन्छ र ? सरकारमा बसेका मानिसले खतरा भनेका होलान् । उनीहरूले भाषण गरेका होलान् । खतरा भन्दैमा कोही डराउँछन् ? खतरा लाग्नेले सरकार छोड्नुपरो नि । किन खतरा भन्दै बस्नुपरो । राजनीतिक अभिप्रायले भनिएको कुरा हो ।
काँग्रेसको केन्द्रीय समितिको बैठकमा पहिलो पटक गणतन्त्रको एजेण्डा उठाउँदा आलोचित पनि हुनु भयो । हिजो गणतन्त्रका कुरा उठाउँदा तपाईँँले सोच्नुभएको मुलुकको अवस्था र अहिलेको सत्ता सञ्चालनमा तालमेल देख्नुहुन्छ कि हुन्न ?
मेरो सबै भन्दा बढी आलोचना काँग्रेस पार्टीमा हुन्छ । अरूको आलोचना गर्न चाहन्नँ । काँग्रेस सार्थक बनोस् भन्ने मेरो अभिप्राय भएकाले काँग्रेसको आलोचना गर्छु । काँग्रेस भएकाले पहिले र अहिले पनि आफ्नै पार्टीको आलोचना गरिरहेको हुन्छु । म अहिले यो भएन त्यो भएन भनेर आलोचना गर्दिनँ । गरेर देखाउन म असमर्थ छु । हामीले कल्पना गरेजस्तो छैन होला । फेरि कल्पना गरे जस्तो भएन भन्दैमा प्रेरित गराउन छाड्नु त भएन । संघीयता ठीक भएन भन्नेहरू अहिले विभिन्न रूपमा प्रदेशमा प्रतिनिधित्व गरेका छन् । संघीयता सैद्धान्तिक रूपमा ठीक भएन भन्न पाइन्छ । तर, संविधानमा भएको संघीयता हटाउन संसदमा दुई तिहाइ मत ल्याउनुपर्छ ।
काँग्रेस पार्टीको गतिविधि तपाईँँले कल्पना गरेको बाटोमा छ ? छैन भने किन ? पार्टीमा समस्या कहाँ देख्नुहुन्छ ?
मेरो कल्पना भन्दा बाहिर पार्टी छ । आफ्नो काम गर्न सकेन । सही ढंगले काम गर्न सकेन । ३३२ स्थानीय तहमा काँग्रेसले विजय हासिल गरेका छन् । चार प्रदेशमा काँग्रेसका मुख्यमन्त्री छन् । सबै तहमा पहिलाे भएर जिते पनि केन्द्रीय संसदमा काँग्रेसकाे आफ्नो संख्या थाेरै छ । बहुमतबिनाको ठूलो पार्टी भनेर भनेको छ तर त्यसको के अर्थ ? काँग्रेसले मात्र केही गर्न सक्दैन । जनताले छानेको ठाउँमा मात्र राम्रो काम गर्न सक्नुपर्छ । विजय हासिल गरेको ठाउँमा मात्र राम्रो काम गरे हुन्छ ।
काँग्रेस विचारको राजनीतिमा छ कि छैन ?
पार्टी लगभग विचारहीनको अवस्थामा पुगेको छ । विचारमा कोही पनि छैनन् । वैचारिक भिन्नता र एकता कुनै पार्टीमा छैन । दलहरूमा विचार प्रधानता छैन । दलहरू विचारशून्य भइसकेका छन् । निर्वाचनमा स्वतन्त्रले निर्वाचन धेरै जितेनन् । त्यो अर्थमा दलहरूले जिते भन्न सकिन्छ । संगठित रूपमा प्रस्तुत हुने खुबी भए पनि धेरै क्षय भएको छ । दलहरू बहुमत ल्याउन सक्ने अवस्थामा छैनन् । वैचारिक प्रष्टता भएकाले एक–दुई सिट ल्याएका छन् । तर त्यो मात्र प्रर्याप्त हुँदैन ।
निर्वाचन परिणामले विचार भन्दा व्यक्ति प्रधान देखिएको छ । यसलाई कसरी लिनुहुन्छ ?
विचार भन्दा व्यक्तिले प्रस्तुत गरेको विचारलाई पनि महत्व दिनुपर्यो भन्ने हो । मानिसमा यस्तै धारणाको विकास भएको साँचो हो । कुनै समय थियो बीपी, सुवर्ण शम्शेर, कृष्णप्रसाद भट्टराईको नाम लिँदा पनि मान्छेहरू काँग्रेसप्रति ठूलो भरोसा गर्थे । त्यो अवस्था अहिले छ कि छैन ? अहिले पनि दलमा आशा गरिएका मानिसहरू छन् । उनीहरूको व्यवहारले आशा गरेको जस्तो गर्न सकेनन् भन्ने छ । उनीहरूको क्रियाकलापले नागरिकलाई आशातीत बनाउन सकेनन् भन्ने हो । नागरिकको मूल्यांकन गर्ने शैली समय अनुसार बदलिरहेको हुन्छ ।
अहिले पार्टीमा विनोद चौधरी जस्ता उद्योगी र व्यापारी मात्र होइन ठेकेदार र विचौलियाको प्लेटफर्म जस्तो देखिएको छ । दुःख गरेका र इमान भएका मान्छे बिस्तारै पाखा लाग्दै गएको देखिन्छ । काँग्रेसका सांसद र मन्त्रीहरू सामाजिक सञ्जालमा भाइरल हुन रुचाएको देखिन्छ । मुलुकको वृहत्तर हितका लागि नीति निर्माणमा उनीहरूको योगदान देखिँदैन नि होइन ?
काँग्रेसले नागरिकको भावनालाई बुझ्न सकेन भने नयाँ दलको जन्म हुन्छ । नयाँ–नयाँ दलको जन्म भइ पनि रहेको छ । अहिले पुराना दल समाप्त नहोला तर कालान्तरमा अवश्य हुन्छन् । जनताले सधैँभरि काँग्रेसलाई मन पराउँछन् भन्ने छैन । त्यो कुरा संविधानमा लेखिएको छैन । संविधानमा नागरिकको मात्र अधिकार हुन्छ । संविधान कुनै दलको पनि होइन । तिनीहरू जनताको प्रतिनिधि भएर गएका हुन् । काँग्रेस सक्षम भएन जनताले विकल्प खोज्छन् । मानिस कहिले पनि विकल्प विहीन हुँदैनन् । लोकतन्त्रमा विकल्पहरूको छनोट गर्न पाइन्छ । दललाई चिन्ता हुनुपर्ने जनतालाई छ । जनताले झकझकाइरहेका छन् । सिद्धान्त र विचार बुझेकाले काँग्रेसलाई सप्रन सल्लाह दिन्छन् । आगामी निर्वाचनको परिणामले झन झन अंक गणित बदल्न सक्छ ।
दलहरू बदलिएर संसदभित्र जुनसुकै बाटो अपनाएर जानेको संख्या बढ्दैछ । यसलाई कसरी लिनुहुन्छ ?
दलले जनतालाई सधैँभरि झुक्याउन मिल्दैन । उनीहरूले अर्को बाटो लिन सक्छन् । छनौटमा नपर्न सक्छन् । दलहरूको थोरै क्षय भइरहेको छ । सबैले क्षय भएको महसुस गरेका होलान् । जनताले विकल्प खोज्छन् र कतिपय अवस्थामा खोजिसकेको भनेर बुझ्न सकिन्छ ।
काँग्रेसमा पैसा भएकाले मात्र टिकट पाउने चलन पुरानो नै हो । गत निर्वाचनमा मनोनयन र निर्वाचित भएका उम्मेदवारको अनुहारले बताइसकेको छ । यस्तो चलन अब कहिलेदेखि हराउँछ र किन यस्तो हुन्छ ?
तीन सय जनामा १०/१२ जना परिरहन्छन् । जहिले पनि पर्छ । तिनीहरूलाई नपार्न कोसिस गर्न सकेनन् होला । सबैले न्यूनीकरण गर्न पहल गर्नुपर्छ । सबैले आ–आफ्नो ठाउँबाट आवश्यक भएसम्म विरोधका लागि सुरु गरौँ । काँग्रेसले विधान अनुसार पार्टी चलाउन सकेन । संविधान अनुसार संसद चल्न सकेन । त्यस्ता कुराहरू महत्वपूर्ण हुन् । सामान्य लाग्ने महत्व पनि कोही बेला ठूलो महत्व राख्छ ।
काँग्रेसले सत्तामा पुग्न गरेको गठबन्धन कति औचित्यपूर्ण छ ?
निर्वाचनपछि बहुमत आएन भने गठबन्धन गर्ने हो । सरकार बनाउनका लागि गठबन्धन गर्नुपर्ने हो । निर्वाचन अगाडि गठबन्धन गर्नु वाहियात कुरा हो । निर्वाचनमा बहुमत आएन भने गठबन्धन गरिएन भने सरकार बन्दैन । जनताको म्यान्डेट गठबन्धन भएमा ठीक छ । निर्वाचन अगावै गठबन्धन गर्नु भनेको अरुमाथि निषेध गर्नु हो त्यसलाई स्वस्थ राजनीति मान्न सकिन्न । यसलाई राजनीति भन्न सकिँदैन । चुनावमा गठबन्धन गर्नेहरूले पार्टी एउटै बनाए भइगो नि ।
संगठनबाट सत्ता प्राप्त हुन्छ कि सत्ताबाट संगठन निर्माण हुन्छ ? यो विषयमा काँग्रेसको धारणा व्यक्तिपिच्छे नै फरक छ हो ?
निर्वाचनमा संगठित हुनैपर्छ । घोषणापत्र र संगठित अनुसार काम गर्नुपर्छ । तर, सत्ता भन्दा अगाडि गठबन्धन नगर्ने भनेका छन् । केही मानिसले भनेका छन् तिनीहरू आफ्नो बोलीमा अडिन्छन् या अडिँदैनन् त्यो हेर्न बाँकी छ ।
अहिले गणतन्त्रकाे विरोध गर्दै हिन्दु धर्मको माग गरिरहेका छन् । पूर्वराजा ज्ञानेन्द्रले जनतालाई बुझाएको नासो फिर्ता गर्ने समय आएको बताउन थालेका छन् । यसलाई कसरी हेर्नु भएको छ ?
अहिले भएका क्रियाकलापहरूलाई लिएर उठिरहेका यी विचारहरूले राजनीतिक दलले सम्बोधन गर्नुपर्छ । सम्बोधन गर्न सक्ने अवस्थामा उनीहरू छैनन् । सत्तामा जान गठबन्धन गर्छन् । अरू सैद्धान्तिक कुरामा बेवास्ता गर्नु हुँदैन । यस्ता कुरामा दलहरू समयमा सचेत हुनुपर्छ । जनताको मत र हावा कता बगेको छ भनेर कसबाट आँकलन गर्ने हो ? दुई–चार हजारले नारा लगाउँदै हिँडे त्यो उनीहरूको कुरा हो । त्यो संख्या मात्र हो । अहिलेको अवस्थामा चिन्तित भएर बस्नु भन्दा आफ्नो कुरा गर्नेमा ध्यान दिनुपर्छ । आफ्नो काम नगर्ने अरूले यसो भनेका र गरेका छन भनेर आलोचना गरेर बसेका छन् । सत्तामा बसेकाले यसरी आलोचना गरेर बसेको सुहाउँदैन ।
सरकारी पेसा भनौँ वा अन्य जुनसुकै पेसामा रहेका मानिस निश्चित समय आएपछि सेवा निवृत्त हुन्छन् । राजनीतिमा लागेका मानिसका निम्ति यो अवस्था लागू हुँदैन हो ?
सेवा निवृत्त कि त पार्टीले गराउने हो या व्यक्तिको सोचाइ र इच्छामा भर पर्छ । व्यक्ति विशेषले नसक्ने दलले आफ्नो उमेर र कार्य क्षमतालाई हेरेर एउटा व्यवस्था लागू गर्नुपर्याे । सबैलाई लागू गराउन हामी शासक होइनौँ । पार्टीले तानाशाह प्रवृत्ति बनाएर नियम लाद्न सक्छ । यति उमेरसम्म भएपछि जिम्मेवारी पदमा उम्मेदवारी दिन नपाइने भनेर नियम बनाउन पाइन्छ ।
अन्त्यमा तपाईँँले संगत गर्नुभएको धेरै प्रधानमन्त्रीहरू मध्ये अहिले कसलाई सम्झनुहुन्छ ?
मैले अहिले सम्झने प्रधानमन्त्रीको रूपमा कुनै पनि व्यक्तिको नेतृत्वमा मन्त्री भइँन । सक्रियताको हिसाबले गिरिजाप्रसाद कोइरालालाई सम्झन सक्छु । उहाँले पनि मेरो चित्त बुझाउन सक्नु भएको थिएन । त्यसैले उहाँसँग राजनीतिक विषयमा असहमति पनि प्रकट गरे । तर, पनि मैले सम्झने गिरिजाप्रसादलाई नै हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया