वार्ता

अन्तर्वार्ता

यस वर्ष वैशाख-जेठमा बढी गर्मी, वर्षा याममा बाढी पहिरोले धनजनको क्षति बढी

सुभद्रा धिताल |
चैत २६, २०८० सोमबार १०:११ बजे

काठमाडौँ- नेपालमा यस वर्ष औसतभन्दा बढी गर्मी हुने सम्भावना देखिएको छ । सामान्यतया अरू बेलामा पनि गर्मी हुने भएपनि अब भने सामान्यभन्दा बढी अर्थात आगामी वैशाखदेखि जेठ महिनासम्म औसतभन्दा बढी गर्मी हुने अनुमान गरिएको छ ।

अघिल्ला वर्षको तुलनामा यस वर्ष छिट्टै 'लू' चल्ने सम्भावना धेरै छ । आजसम्मको अवस्थामा पूर्वी र मध्य भारतमा 'लू' चलिसकेको छ । 'लू' बाट मानिसको जनजीवनमा ठूलो असर पर्ने भएकाले यसबाट बच्नका लागि पूर्व तयारी गर्नुपर्ने देखिन्छ । हाल र आगामी मौसमको अवस्थाबारे जलवायुविज्ञ डा. धर्मराज उप्रेतीसँग इकागजकर्मी सुभद्रा धितालले गरेको कुराकानीको संक्षिप्त अंश : 


समग्रमा हालको मौसमी अवस्था कस्तो छ ?
अहिले हामी 'प्रि मनसुन' को अवस्थामा छौं । फागुन महिनाको १८ देखि जेठको १८ गतेसम्मको अवधिलाई 'प्रि मनसुन' अर्थात मनसुनको पूर्वको अवस्था भनिन्छ । जेठको १९ गतेदेखि मनसुन सुरु हुने भएपनि नेपालमा मनसुन असार १ गतेदेखि सुरु हुन्छ भन्ने गरिन्छ । नेपालमा अङ्ग्रेजी महिना जून १३ देखि मनसुन भित्रिन्छ । भारतमा जुन १ तारिखबाट मनसुन विकास हुन्छ । भारतबाट मनसुन विकास भएर नेपालमा भित्रन्छ । यस कारण मनसुन आउनु पूर्व फागुन-जेठ महिनाको अवधिमा हुने मौसम बदलीबारे थाहा पाउनुपर्छ । 

मनसुनले पार्ने असरहरू के-के होला ?
पहिलो भनेको हावाहुरीको तीव्रता बढ्छ । हावाहुरी बढी चल्छ, अधिकांश दिउँसो चल्छ । त्यसपछि असिना पानी पर्छ । अनि असिना पानी र चट्याङले वातावरण अनुकूल भई हानी-नोक्सानी गर्छ । कुनै बेला यसको प्रणाली कमजोर हुन पुग्छ र धेरै असर गर्दैन यस्तो प्रणालीले चिसो गराउँछ तर बेफाइदा भने गर्दैन । यदि कुनै बेला बलियो प्रणालीसहितको मनसुन आयो भने त्यसले ठूलो धनजनको क्षति गर्छ । जस्तै पश्चिम वायु आयो भने त्यसले असिना पानीसहित पहाडी क्षेत्रमा हिमपात गराउँछ । सामान्य खालको आयो भने खासै असर गर्दैन ।

कहाँबाट आउँछ मनसुनी वायु ?
अफगानिस्तान, पाकिस्तान, भारतको जम्मुकस्मिर, हिमाञ्चल प्रदेश, उत्तराखण्ड हुँदै मनसुनी वर्षा नेपालमा प्रवेश गर्ने हो । यसरी आउँदै गर्दा कहिले सुदूरपश्चिसम्म पुग्यो भने यही टुंगिन्छ । कहिलेकाहीं कर्णालीसम्म पुग्छ । कहिले गण्डकीसम्म पुग्छ । ठूलो प्रणाली आयो भने जस्तै केही दिन अगाडि मात्र आएको थियो । त्यसैले नेपालमा आयो । र, काठमाडौँमा ठूलो हावाहुरी ल्यायो । जसबाट देशका विभिन्न ठाउँहरूमा रुख बिरुवा ढलेर दुई/तीन जना मान्छेको मृत्यु पनि भयो । 

यो मनसुनी प्रणाली खासगरी भारतको आसाम मेघालयमा गएर टोर्नाडोमा परिणत भयो । र, त्यहाँ ठूलो धनजनको क्षति पनि गर्‍यो । भारत सरकारले यसको लागि समवेदना पनि निकाल्यो । खासगरी भूमध्य सागरबाट आएको मनसुनी प्रणाली आसाम मेघालयमा गएर समाप्त भयो र ठूलो धनजनको क्षति गर्दै ल्यायो । यसलाई बलियो सिस्टम भनिन्छ । सामान्यतया अरू बेला पनि आउँछन् यस्ता सिस्टमहरू तर ती कमजोर सिस्टम हुन्छन् । जसबाट सामान्य अर्थात् हल्का वर्षा हुन्छ । 

हल्का र भारी वर्षा कसरी छुट्याउने ?
हल्का वर्षा भन्नाले १ देखि ५ मिलिमिटरसम्मको मात्र हुने अवस्थालाई बुझिन्छ । भारी वर्षा भनेपछि २४ घण्टामा ६० मिलिमिटर पानी पर्नु हो । घण्टाको हिसाबले हेर्ने हो भने १ देखि ५ मिलिमिटर प्रतिघण्टा भयो भने हल्का वर्षा, ५ देखि १५ मिलिमिटर प्रतिघण्टा भयो भने मध्य वर्षा, १५ देखि ६० मिलिमिटरसम्म प्रतिघण्टा भयो भने भारी वर्षा हुन्छ ।

जेठ महिनासम्म औसतभन्दा बढी गर्मी हुँदैछ । 'लू' चल्ने सम्भावना धेरै छ ।

तर, बढ्दै गयो भने एक घण्टामा ६० मिलिमिटर पानी पर्‍यो भने त्यो पनि भारी वर्षा, ८० मिलिमिटर पानी ३ घण्टामा पर्‍यो भने त्यो पनि भारी वर्षा, १०० मिलिमिटर पानी १२ घण्टामा पर्‍यो भनेपछि त्यो पनि भारी वर्षा । यसरी हुँदै गएर १४० मिलिमिटर पानी २४ घण्टामा पर्‍यो भने त्यो पनि भारी वर्षा नै हुन्छ । 

यस वर्ष यस्तो खालको भारी वर्षा भयो कि भएन ?
यस प्रकृतिको वर्षा यस वर्ष 'प्रि मनसुन'मा नेपालमा गोरखाको बारपाकमा मात्र देखियो अरू ठाउँमा भएन । त्यहाँ असाध्यै भारी वर्षा भयो । यहाँ ३ घण्टामा लगभग ८० मिलिमिटर जति वर्षा भयो । यो अत्यधिक भारी वर्षा हो । सामान्यतया 'प्रि मनसुन'मा यस्तो वर्षा हुँदैन । तर, अहिलेको अवस्थामा अप्राकृतिक रूपले यस्तो वर्षा भइरहेको हुन्छ । यो भनेको 'प्रि मनसुन'को गुण हो । जुनमा अहिले हामी छौं । 

अब आउँदै गरेको 'प्रि मनसुन'मा कस्तो छ मौसमी अवस्था ?
यसपाली गर्मी औसतभन्दा बढी हुन्छ । सामान्यतया गर्मी त सधैं हुन्थ्यो तर अब सामान्यभन्दा बढी अर्थात यो जेठ महिनासम्म औसतभन्दा बढी गर्मी हुँदैछ । 'लू' चल्ने सम्भावना धेरै छ ।

गर्मी छल्नका लागि बिहान र साँझको समयमा काम गर्ने परिपाटीको विकास गर्नुपर्छ । साथै दिउँसो काम बन्द गरिदिनुपर्छ ।

आजसम्मको अवस्थामा पूर्वी र मध्य भारतमा 'लू' चलिसकेको छ । भारत सरकारले 'लू' को वार्निङ दिइसकेको छ । धेरै ठाउँहरूमा तापक्रम ४० डिग्रीभन्दा माथि नाघेको अवस्था छ । यसबाट पनि धेरै बेफाइदाहरू हुन जान्छ । 

नेपालमा यस वर्ष कस्तो रहला गर्मीको अवस्था ?
नेपालमा पनि यस वर्ष औसतभन्दा बढी गर्मी हुन सक्छ । चैत महिनाको अन्त्यतिरदेखि गर्मी सुरु हुन्छ । वैशाख र जेठ धेरै क्रिटिकल मानिन्छ गर्मीको हिसाबले । यसबेला औसतभन्दा बढी गर्मी हुनसक्छ । र, वैशाखको मध्यमा तराईका जिल्लाहरूमा 'लू' चल्न सक्छ । जुन जेठसम्म चल्नेछ । यो 'लू' चलेको चलै हुने होइन ।

तराईका क्षेत्रहरूमा ४० डिग्री वा सोभन्दा बढी अर्थात् ४३ डिग्रीसम्म तापक्रम भयो वा दुई वा दुई दिनसम्म लगातार रह्यो भने राज्यले 'लू' को घोषणा गर्नुपर्छ ।

आउने जाने हुन्छ । एक हप्ता रहन्छ फेरि कम हुन्छ । फेरि एकखालको मौसमी प्रणाली आउँछ फेरि चल्छ । मान्छेको जीवनमा ठूलो असर पार्ने मध्यमा 'लू' पनि एउटा कारक हो । 

लूबाट हुने असरहरू के-के हुन् ?
'लू' चल्नाले गर्मी धेरै हुने र पसिना आउने हुन्छ । जसबाट मान्छेको शरीरमा पानीको मात्रा घटाउँछ । अङ्ग्रेजीमा त्यसलाई डिहाईड्रेसन भनिन्छ । जसबाट मान्छेमा मुटु बिरामी भएकाहरूलाई हृदयघात हुन सक्छ, गर्भवती महिलालाई साह्रै गाह्रो बनाउन सक्छ, बालबालिकाहरूलाई धेरै असर गर्न सक्छ । साथै दीर्घरोगीहरूलाई 'लू' ले असर गर्न सक्छ । र, नर्मल मान्छेलाई पनि गाह्रो बनाउन सक्छ ।

गर्मी सहन सक्ने क्षमता हरेक मानिसमा फरक-फरक हुन्छ तर विज्ञानले दिएको परिभाषाअनुसार नेपालको सन्दर्भमा तराईका क्षेत्रहरूमा ४० डिग्री वा सोभन्दा बढी अर्थात् ४३ डिग्रीसम्म तापक्रम भयो वा दुई वा दुई दिनसम्म लगातार रह्यो भने राज्यले 'लू' को घोषणा गर्नुपर्छ । 

'लू' को घोषणा किन गर्नुपर्छ ?
राज्यले 'लू' को घोषणा गर्‍यो भने मान्छेले त्यही अनुसार आफ्नो जीवनयापनमा परिवर्तन ल्याउनुपर्ने हुन सक्छ । जस्तै ठाउँ-ठाउँमा खानेपानी बाँड्ने, शीतलताका लागि पानीको फोहोरा छोड्ने जस्ता काम नगरपालिका, गाउँपालिका वा राज्यले गर्नुपर्ने हुन्छ । साथै मान्छेले खानपिनमा चिसो पेय पदार्थ प्रयोग गर्ने हुन सक्छ । यस्तै दिउँसो ११ देखि ३ बजेको समय चरम गर्मीको अवस्था मानिन्छ । यस बेला धेरै गर्मी हुन्छ । यस समयको गर्मी छल्नका लागि बिहान र साँझको समयमा काम गर्ने परिपाटीको विकास गर्नुपर्छ । साथै दिउँसो काम बन्द गरिदिनुपर्छ । तर, यस्तो परिपाटीको विकास नेपालमा भएको छैन । 

राज्यले यस्ता कामहरू लागू गर्नुपर्छ । जल तथा मौसम विभागले जुन दिन 'लू' को घोषणा गर्छ त्यसको दोस्रो दिन गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम प्राधिकरणले यस्ता सुझाव र सल्लाह सबैतिर जारी गर्नुपर्ने हुन्छ । यसै कारण नै राष्ट्रिय विपद् जोखिम प्राधिकरण गृहमा राखिएको हो ।

राज्यले ७७ जिल्लामा सिडिओको अन्तर्गतमा जिल्ला विपद् व्यवस्थापन समिति हुन्छ र यही समितिले स्थानीय सरकार, त्यहाँका सरोकारवालाहरूलाई यसबारे जानकारी गराएर जनताको ज्यान बचाउनतिर लाग्नुपर्ने हुन्छ । 

विश्वका धेरैजसो देशहरूमा तापक्रम औसतभन्दा बढी भयो भने ठाउँ-ठाउँमा खानेपानीको व्यवस्था गरिएको हुन्छ । पसिना धेरै जाने भएकाले मान्छे प्यासी हुन्छ स्वच्छ पानी नपाएपछि मान्छे मर्न सक्छ त्यसैले राज्यको दायित्व भनेको आफ्नो जनतालाई स्वच्छ पानी प्रदान गर्नु हो । यस अर्थमा राज्यको काम पनि त्यतिकै छ । व्यक्ति आफैँ पनि जिम्मेवारी छ । त्यसपछि समाजको, समुदायको, घरको पनि छ । घरबाहिर जाँदा गर्मीबाट बच्ने उपाय अपनाउनुपर्छ । 

पोहोर साल पानी परेन खासै यसपालि बाढीपहिरो र यसबाट धनजनको क्षति बढी हुँदैछ । बर्खा सुरु असार १ गतेदेखि भए पनि यस पटक साउन र भदौमा धेरै पानी पर्छ ।

जलवायुको हिसाबले हामी एसी राख्नुस् त भन्दैनौँ तर पनि अर्को विकल्प नहुँन्जेलसम्म त्यो पनि एउटा चिसोमा बस्ने उपाय गर्न सकिन्छ । गर्मी छल्न रुखको छहारीमा बस्ने, घरको छानामा खर राख्ने र घरको छतमा सेतो पेन्ट पनि लगाउन सकिन्छ । जसले तापक्रम कम गराउन मद्दत मिल्छ । यसले ३/४ डिग्री तापक्रम घटाउँछ । सरकारले यस्ता उपायहरू अपनाउनतर्फ ध्यान दिनुपर्ने हुन्छ । खासगरी तराई क्षेत्रमा यसलाई प्रयोग गर्न प्रोत्साहन राज्यले गर्नुपर्छ । काठमाडौँ पनि हिट आइल्यान्ड जस्तो भइसकेको छ । घरैघर निर्माणका कारण तापक्रम बढ्दो पनि छ । यहाँ पनि यस्ता उपाय अपनाउन सकिन्छ । 

विश्व तापक्रम पहिलेभन्दा अहिले बढी रहेको छ । विश्व तापक्रम १.१ डिग्री भन्थ्यौँ पहिला, अहिले १.२ डिग्री पुगेको अवस्था छ । भनेपछि विश्व तापमान पनि बढी राखेको, कार्बनको इमिसन पनि बढी राखेको, हरित गृह ग्यासको इमिसन पनि बढी राखेको र हामीले जति पनि जैविक ऊर्जा खपत गर्छौं त्यो पनि नघट्ने । भारतले ७० प्रतिशत कोइलाबाट बिजुली निकालिराखेको अवस्था छ । नेपालमा जति पनि हामी चुलोदेखि गाडीसम्म डिजेल, पेट्रोलको प्रयोग गर्छौं विकल्पमा जान सक्ने अवस्था छैन । अनि धनी देशहरू धनी हुने होडबाजीमा पेट्रोलियम पदार्थ बढी प्रयोग भइरहेको छ । यसले विश्व तापमानलाई बढाइराखेको अवस्था छ । 

विश्व तापमानमा नेपालको भूमिका कति छ ?
नेपाल दुई वटा देशको बीचमा छ चीन र भारत । हरित गृह ग्यास उत्सर्जनमा संसारभर चीनको भूमिका ३० प्रतिशत छ भने भारतको ७ प्रतिशत छ । विश्वभर भारत तेस्रो हो, चीन पहिलो हो र अमेरिका दोस्रो हो । नेपाल कहाँ छ भने पहिलो र तेस्रोको बीचमा । तर, नेपालको भूमिका कति छ भने ०.२७ प्रतिशत मात्र । यो अवस्थाले पनि नेपालको हिमालहरूमा ठूलो असर परिरहेको छ । 

यस्तै यस वर्षको बर्खा अथवा मनसुनमा औसतभन्दा बढी पानी पर्ने अनुमान गरिएको छ । पोहोर साल पानी परेन खासै यसपालि बाढीपहिरो र यसबाट धनजनको क्षति बढी हुँदैछ । बर्खा सुरु असार १ गतेदेखि भए पनि यस पटक साउन र भदौमा धेरै पानी पर्छ ।


Author

थप समाचार
x