वार्ता

काठमाडौँ महानगर

राजश्व विभागका प्रमुख काफ्लेलाई प्रश्न : ठमेलका व्यवसायीलाई मात्र मनोरञ्‍जन कर लिन लागिएको हो ?

इकागज |
असार २७, २०८१ बिहीबार १५:१६ बजे

पछिल्लो केही सातादेखि काठमाडौँ महानगरपालिकाले तीव्र रूपमा मनोरञ्जन प्रदायक व्यवसायीसँग मनोरञ्जन कर असुल्न थालेको छ । सार्वजनिक सूचना गरेर करदातालाई मनोरञ्जन कर बुझाउन आग्रह गरिरहेको छ । बागमती प्रदेश सरकारको आर्थिक ऐनमा भएको व्यवस्था अनुरुप मनोरञ्जन कर उठाएको महानगरले दाबी गर्दै आएको छ । महानगरले केही व्यवसायीलाई सहुलियत प्रदान गरी अन्यलाई भेदभाव गर्दै आइरहेको गुनासो आएको छ । त्यसैगरी ठमेल क्षेत्रका व्यवसायीसँग मात्र मनोरञ्जन कर संकलन गर्न लागेको भनेर एकथरी व्यवसायी मर्कामा परेको गुनासो सुनिन थालेको छ । यसै सन्दर्भमा काठमाडौँ महानगरपालिकाका राजश्व विभागका प्रमुख ध्रुब काफ्लेसँग इकागजकर्मी अतिन आचार्यले गरेको कुराकानीको अंश:

काठमाडौँ महानगरपालिकाले ठमेल क्षेत्रका व्यवसायीसँग मात्र मनोरञ्जन कर संकलन गर्न लागेको हो ?     


काठमाडौँ महानगर क्षेत्र भित्रका सबै मनोरञ्जन प्रदायक सेवा तथा व्यवसायीहरू मनोरञ्जन करका करदाता हुन् । त्यस मध्य ठमेल, लाजिम्पाट, क्षेत्रपाटी सुन्धारा जस्ता क्षेत्रमा ६० प्रतिशतभन्दा बढी संख्या करदाता रहेकाले ती क्षेत्रमा मात्र भन्ने भान भएको हो । कुल मनोरञ्जन करदाता मध्ये जुन क्षेत्रमा बढी व्यवसायी हुन्छन् त्यस क्षेत्रमा कर संकलकले अनुगमन गरि करको दायरामा ल्याउनुपर्ने हुन्छ ।

ठमेल क्षेत्रका व्यवसायीलाई मात्र कर उठाएको भनेर गुनासो गरिरहेका छन् । के महानगरले अन्य क्षेत्रकालाई व्यवसायीलाई ताकेता नगरेकै हो ?

महानगर सबै क्षेत्रमा सक्रिय छ । करदाता फाट्टफुट्ट भएकोमा हल्लाखल्ला कम हुने भएर त्यस्तो बुझिएको हो । ठमेल लगायतका स्थानमा प्रत्येक ४ घर मध्ये १ घरमा मनोरञ्जन करदाता भएकाले यस्तो बुझिनु स्वाभाविक हो ।

केही व्यवसायीलाई निश्चित रकम तोकेर कर लिएको भन्ने गुनासो आइरहेको छ । यो कसरी सम्भव भयो तथा मनोरञ्जन कर संकलनमा भेदभाव गरिएकै हो र ?

मनोरञ्जन करको दर दायरा र क्षेत्र बागमती प्रदेशको सालबसाली आर्थिक ऐनले तोके बमोजिम कर संकलन गरिन्छ । आफूखुसी कसैलाई थोरै वा धेरै लिन पाइँदैन । कानुन बमोजिम किस्तामा कर तिर्ने व्यवस्था भएकाले करदाताले दामासाहिमा कर बुझाउनु हुन्छ र वार्षिक हिसाब मिलान गर्दा नपुग रकम एकमुष्ट बुझाउनुपर्छ ।

महानगरले कस्ता-कस्ता क्षेत्रका व्यवसायबाट मनोरञ्जन कर संकलन गरिरहेको छ ?

डिस्को क्लब, डान्स बार, दोहोरी, सिनेमा हल, फन पार्क, र स्पा आदि । मानिसहरूले मनोरञ्जन प्राप्त गर्ने जुनसुकै व्यवसायबाट मनोरञ्जन कर असुल गर्ने व्यवस्था छ ।

आर्थिक वर्षको अन्त्य भएर अहिले हतारो बनेर मनोरञ्जन कर उठाउनु परेको हो ?

वर्षभरि नै कर उठाउने हो । जुन व्यवसायीले नियमित कर तिर्दैनन् तिनलाई ताकेता गर्ने हो । त्यो आर्थिक वर्षको अन्त्यमा नै हुन्छ ।

 केलाई आधार बनाएर व्यवसायीसँग कर संकलन हुँदैछ ?

प्रवेश शुल्क र कारोबारको आधारमा आर्थिक ऐनले तोकेको रकम र प्रतिशतमा कर संकलन हुन्छ र करदाताले त्यसलाई नै आधार मानेर बुझाउनुपर्छ ।

कति दरमा कर संकलन गर्नु हुँदैछ ?

व्यवसाय ३-५ प्रतिशतसम्म कर असुल गर्नुपर्ने व्यवस्था छ । फरक-फरक व्यवसायीको भने प्रवेश शुल्कमा ३०-५० प्रतिशतसम्म तोकेको छ । बागमती प्रदेशको आर्थिक ऐनमा हेर्न सकिन्छ ।

मनोरञ्जन कर वडा कार्यालयमा बुझाउने हो वा केन्द्रमा बुझाउनु पर्ने हो ?

मनोरञ्जन कर काठमाडौँ महानगरपालिकाको राजश्व विभागमा बुझाउनुपर्छ । यो कर विभाज्य कोषमा जम्मा गरेर प्रदेश र महानगरपालिकाले बाँडफाँट गर्ने हो ।

 व्यवसायीले महानगरबाट केही सुविधा पाइएन मनोरञ्जन कर तिर्नुपर्छ भनिरहेका छन्, यसलाई कसरी लिनुहुन्छ ?

व्यवसाय गर्ने अनुमति, व्यवसाय स्थलको सुरक्षा, व्यवसाय स्थलमा पुग्ने मार्ग स्तरोन्नति, ढलको व्यवस्था, सन्तानको शिक्षा स्वास्थ्य सरसफाइ जस्ता सेवा सुविधा तिनै करदाता नागरिकहरूका लागि हो ।

 अन्तिममा समग्र व्यवसायीलाई मनोरञ्जन करको विषयलाई लिएर संशय पैदा भइरहेको अवस्थामा तपाई केही भन्न चाहनु हुन्छ ?

नागरिकले नै भोट र नोट सहित सत्ता र शक्ति आफ्नो प्रतिनिधि मार्फत दिई आफूले छानेका प्रतिनिधि मार्फत सरकार सञ्चालन गर्ने हो । करको दरमा मार्का परेको अवस्थामा सम्बन्धित निकाय र अधिकारी समक्ष गुनासो तथा सुझाब पुर्याउने संयन्त्र सरकारले बनाएको छ । प्रदेश, स्थानीय सरकार र संघ सरकारमा राजश्व परामर्श समितिको व्यवस्था गरेको छ र त्यस समितिमा निजी क्षेत्रका व्यवसायी संघ संस्थाको अनिवार्य प्रतिनिधित्व हुन्छ । सहभागितामुलक निर्णय प्रक्रिया अन्तर्गत राजश्वको दर दायरा र क्षेत्र सिफारिस निर्णय हुने हुँदा । त्यस्ता विषयमा व्यवसायी स्वयं सचेत हुन जरुरी छ । कर नतिरी वा अटेर गरेर वा अन्य प्रक्रिया अवलम्बन गरेर कर तिर्न आलटाल गर्नु बुद्धिमता पूर्ण व्यवहार मानिँदैन ।


Author

थप समाचार
x