वार्ता

हामी ‘टिम वर्क’ र ‘पावर शेयरिङ’ गरेर जान्छौं : प्रकाशमान (अन्‍तर्वार्ता)

'उहाँ(रामचन्‍द्र पौडेल)को व्यक्तित्वलाई सुहाउँदो ठाउँमा पुर्‍याउन हामी सहयोग गर्छौँ'

इकागज |
असार १६, २०७८ बुधबार १४:५८ बजे

नेपाली कांग्रेसका नेता निवासमा राजनीतिक ‘लञ्च मिटिङ’ बाक्लिएको छ । अनि ‘लञ्च मिटिङ’ मा कांग्रेसका संस्थापक नेता पुत्रहरूको सक्रियता बढी छ । त्यही क्रममा चाक्सीबारीमा गणेशमानसिंह पुत्र प्रकाशमान सिंहले ‘लञ्च मिटिङ’ आयोजना गरे । जहाँ उपसभापति विमलेन्द्र निधि र महामन्त्री सशांक कोइराला पाहुना थिए । त्यसो त, उनीहरू आउँदो महाविधेशन ‘टिम मिलाएर’ जाने र सकेसम्म ‘आफ्नै नेतृत्व’ मा जाने रस्साकस्सीमै छन्, तीनै जना । पार्टी सभापतिनिम्ति तीनैजना आकांक्षी हुँदाहुँदै कसरी ‘टिम’ बन्छ भन्ने अन्यौल छ । कांग्रेस महाधिवेशनकै सेरोफेरोमा रहेर मंगलबारका ‘लञ्च मिटिङ’ का आयोजक प्रकाशमान सिंहसँग इकागजले गरेको कुराकानी ।

आउँदो महाविधेशनलाई लक्षित गर्दै कांग्रेसका संस्थापक नेताका उत्तराधिकारीहरू ‘लञ्च–मिटिङ’ मा सक्रिय हुनुहुन्छ, तपाईँको निवासमा भएको मिटिङमा कुनै निस्कर्ष पुग्नुभयो कि भएन ? 


- हामीहरूबीच पार्टीलाई चुस्त, दुरुस्त र संस्थागत गर्न संयुक्त रूपमा मिलेर जानुपर्छ भन्ने विषयमा केन्द्रित रहेर कुराकानी भयो । मुलुकको पुरानो पार्टी कांग्रेसलाई जोगाउनुपर्छ र विधि–नियमअनुरूप हिँडाउनुपर्छ भन्ने विषयमा छलफल गर्‍यौँ । यतिखेर कांग्रेसमा क्रियाशील सदस्यतामा विवाद देखिएको छ । त्यसअतिरिक्त कांग्रेसमा अरु पार्टीबाट प्रवेश गरेकाहरूलाई विधि–प्रक्रियाअनुरुप मात्र सामेल गर्नुपर्छ भन्ने मान्यता रह्यो । कोही आफ्नो मानिस भयो भने विधि–प्रक्रिया नचाहिने काम गर्नु भएन भन्नेमा हाम्रो राय मिलेको छ । यसमा विमलेन्द्र निधिले पनि मान्नुभयो । उहाँको धारणा पनि विधि–प्रक्रियाबाटै अघि बढ्नुपर्छ भन्ने रह्यो । अब कांग्रेसमा इतिहासका विषय मात्र उठाएर हुँदैन । अब पार्टीलाई मजबुत तुल्याउन र संस्थागत गर्न सक्ने क्षमतावानहरु नेतृत्वमा चाहिन्छ । त्यसनिम्ति टीम राम्रो हुनुपर्छ भन्ने हाम्रो मत छ ।

क्रियाशील सदस्यता विवाद चाहिँ कस्तो खालको विवाद हो ?
- क्रियाशील सदस्यताका कुनै डकुमेन्ट प्रस्तुत हुँदैन । कुनै प्रक्रिया पूरा नगरीकन क्रियाशील सदस्यता दिनुपर्छ भन्नेमा लागिरहेका छन् । हाम्रो भनाइ के हो भने पार्टीको विधानअनुरुप सबै चल्नुपर्छ भन्ने हो । त्यसैमा विवाद परिरहेको छ । अस्ती पनि यसमा लामो छलफल भएको थियो ।

कांग्रेसका महाधिवेशनकै मुखमा सँधैभरि क्रियाशील सदस्यता विवाद बल्झिन्छ, कांग्रेसमा परम्पराजस्तै बनेको छ, यसको कारणचाहिँ के हो ?
- कांग्रेसको तेह्रौ महाधिवेशन सकिएपछि पार्टीले तय गरेका र निर्देशित गरेका कामहरू समयमै नगरेको हुँदा समस्या पैदा भएको हो । क्रियाशील सदस्यतासम्बन्धी काम हरेक वर्ष गर्नुपर्ने हो । महाधिवेशन लाग्नु ६ महिनाअघि नै क्रियाशील सदस्यता टुंग्याइनुपथ्र्याे । अन्तिममा यसरी काम गरेपछि समस्या उत्पन्न भएको हो । महाधिवेशन हुनु ६ महिनाअघि यस्ता काम गर्नु हुँदैन भन्ने विधानमै छ । कांग्रेसमा विधानअनुरुप चल्न नखोज्ने, त्यसमा काम नगर्ने र आफूअनुकूल ‘म्यानुपुलेट’ गर्न खोजेपछि विवाद पैदा भएको हो । त्यसमा हाम्रो धारणाचाहिँ त्यो स्वतन्त्र र निष्पक्ष शैलीमा सदस्यता प्रदान गरिनु पर्‍यो, विधि–प्रक्रिया सबैले पालना गर्नुपर्‍यो भन्ने हो ।

आउँदो महाधिवेशनमा तपाईँका योजना र एजेण्डा चाहिँ के छ त ?
- कांग्रेसको सिद्धान्त, आदर्श मात्र होइन कि संघर्षको इतिहास पनि छ । कम्युनिष्टहरूले गर्न नसकेका काम कांग्रेसले नै गरेर देखाएको छ, पटक–पटक । कम्युनिष्ट पार्टीका सरकार हुँदा संविधान जारी हुन सकेन, कांग्रेस नेतृत्वकै सरकार हुँदा मात्र संविधान जारी भयो । पहिलो संविधानसभामा मतदाताले कम्युनिष्टहरूलाई कार्यादेश (म्यान्डेट) दिएकै हुन् । कम्युनिष्ट पार्टीबाटै चारजना प्रधानमन्त्री हुँदा पनि संविधान जारी हुन सकेन । आखिरमा कांग्रेसकै नेतृत्वमा सरकार हुँदा संविधान जारी भएको हो । कम्युनिष्टहरूले गर्न नसकेका काम कांग्रेसले गरेर देखायो । त्यो संविधानलाई संस्थागत गर्ने मत माग्न जाँदा मत पाएन । त्यसो हुनुमा कांग्रेस नेतृत्वमा कमजोरी रहेछ भन्ने त देखाउँछ । मतदाताका चाहना कांगे्रसको केन्द्रीय नेतृत्व परिवर्तन गरेर आएको खण्डमा मत दिन्छौँ भन्ने स्पष्ट देखिन्छ । नागरिकको भावनाअनुरुप हामी नेतृत्व परिवर्तन गर्नु आवश्यक छ भनी हामी लागिरहेका छौँ । आदर्श र सिद्धान्त राम्रो भए पनि कांग्रेसको मूलभूत चुनौती भनेको संस्थागत हुन नसक्नु हो । कांग्रेस तेह्रौँ महाधिवेशनपछि कमजोर भयो । कांग्रेस कमजोर भएकै कारणले गर्दा कम्युनिष्टहरुले फसाद गर्न थालेका हुन् । 

कांग्रेसको नेतृत्वमा जारी भएको संविधानलाई तोडमोड मात्र होइन क्षतविक्षत बनाउने खेल भइरहेकै छ । त्यसो हुनुमा कांग्रेस बलियो हुन नसक्नु पनि हो । अब चौधौँ महाधिवेशनमा कांग्रेसलाई वडा तहदेखि केन्द्रसम्म नीति–नियमअनुरुप चल्ने बनाउँछौँ । नागरिकको चाहना जुन छ, संविधानबाट जुन अधिकार प्राप्त भएको छ, त्यसको कार्यान्वयनमा संस्थागत गर्दै आउने दिनमा हरेक नेपालीको जीवन र जीविकोपार्जनलाई सहज तुल्याउने गरी अघि बढ्छ । पार्टी संरचनागत तवरमै चुस्त र संस्थागत नभइकन नागरिकका चाहना पूर्ति गर्न सकिँदैन । आउँदो निर्वाचनसम्म हामीले नागरिकलाई आश्वस्त पार्न नयाँ नेतृत्व चाहिन्छ । नागरिकलाई अधिकार दिलाउन मात्र होइन कि तिनको कार्यान्वयनमा सक्रियता साथ आएको छ भनी उत्साह जगाउनुपर्छ ।

त्यसो भए, कांग्रेस कमजोर हुुनुमा तेह्रौँ महाधिवेशनपछिको नेतृत्व कमजोर भयो भन्ने तपाईँहरूको निस्कर्ष हो ?
- तेह्रौँ महाधिवेशनपछि कमजोर भएकै हो । देश यसरी संकटमा पर्दा आमनागरिकले नेपाली कांग्रेस कहाँ छ भनी हेरिरहेका छन् । 

तपाईँहरू तीन जनासँगै मिलेर जानेमा कति सम्भावना छ ?
त्यो सम्भावना देखेकै कारण त हामीहरू कुराकानीमा बसिरहेका छौँ । कुनै कुराकानी नगरीकन त टिम बन्दैन नि त ? महाधिवेशनमा टिम बनेर जान सक्ने सम्भावनाकै कारण हामी बसिरहेका छौँ । पार्टीलाई संस्थागत रूपमा अघि बढाउन, विधि–नियमअनुरुप पार्टी चलाउन, नेपाली कांग्रेसको छवि चम्किलो पार्न ‘टिम वर्क’ र ‘पावर शेयरिङ’ गरेर जानुपर्छ भन्ने हाम्रो मान्यता हो ।

तेह्रौँ महाधिवेशनका प्रतिस्पर्धी बरिष्ठ नेता रामचन्द्र पौडेलको हकमा चाहिँ के हुन्छ त ?
- उहाँ हाम्रो बरिष्ठ नेता हुनुहुन्छ । उहाँको व्यक्तित्वअनुरुप पार्टीले उहाँलाई सम्मान गर्छ । उहाँ नेपाली कांग्रेसको अभिभावकको रूपमा रहनुहुन्छ र पार्टीलाई अभिभावकत्व दिनुहुन्छ । उहाँको व्यक्तित्वलाई सुहाउँदो ठाउँमा उहाँलाई पुर्‍याउन उन हामी सहयोग गर्छौँ । 

त्यसो भए, तेह्रौँ महाधिवेशनमा निर्वाचित नेतृत्वविरुद्ध तपाईँहरूको संस्थागत नेतृत्व हुन्छ र टिम बन्छ भन्ने हो ?
- हामी त्यही तयारीमा छौँ । त्यही बाटोमा हिँड्छौँ ।


Author

थप समाचार
x