वार्ता

इकागज संवादमा गगन थापा

मन्‍त्रिमण्डलले एक महिना घरभित्र बस्छु भन्दा पनि कुनै फरक पर्दैन

सभापति लड्‍न तयार छु

चन्द्रशेखर अधिकारी | मधुसुधन भट्टराई |
मंसिर १४, २०७७ आइतबार २१:१७ बजे

‘इन्टेन्ट र कन्टेन्ट दुवै नभएको सरकार हामीले पाएका छौँ । ठूलो अवसर थियो तर औसत सरकारले अझै पनि काम गर्न सकेन,’ पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका युवा तथा जुझारु नेता गगन थापाले भने । उसो त उनी आफूलाई युवा नेता भन्‍न नै लाज लाग्‍ने अवस्था आइसकेको बताउँछन् । ४५ वर्ष पार गरिसकेको व्यक्तिलाई कसरी युवा भन्‍नु, उनी भन्छन् । अध्ययनशील थापा जे बोल्छन्/लेख्छन्, त्यसले बहस सिर्जना गर्छ । नेपाली कांग्रेस संसद्को प्रमुख प्रतिपक्षी दल हो कि थापा एक्लै संसद्‍मा प्रतिपक्षी हुन् ? बुझ्‍न कठिन छ । लामो अध्ययन र विश्लेषणपछि उनी धाराप्रवाह नै बोल्छन् । त्यो संसद्‍मा पनि देखिएको छ । पछिल्लो पुस्ताका नेतामध्येका अध्ययनशील र सिर्जनशील उनी विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका हुन् । कांग्रेसको १३औँ महाधिवेशनमा महामन्त्रीको प्रत्यासी थापा १४औँ महाधिवेशनमा दरिलो नेता नदेखिए सभापति नै उठ्ने तयारीमा छन् । उनै नेता थापासँग इकागजका चन्द्रशेखर अधिकारीमधुसुधन भट्टराईले गरेको संवाद :

२०४६ पछिको सबैभन्दा शक्तिशाली सरकारको कार्यशैलीलाई कसरी लिनुभएको छ ? 
यो सरकारले अकल्पनीय अवसर प्राप्त गरेको थियो । तर, यसले औसतको अवस्था जति पनि कार्य सम्पादन गर्न सकेन । संविधानले कल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था, राजनीतिक पक्षमा काम गर्ने विषयमा यो सरकार पूर्ण त चुकेको छ । गणतन्त्रलाई बलियो बनाउने विषय, राजनीतिक परिवर्तनको पक्षलाई नै बलियो बनाउने क्रममा झन् गिरेको छ । जनताको जनजीविकासँग होस् या आम नागरिकको आर्थिक पाटोलगायतका पक्षमा काम गर्न पनि चुक्दै गएको छ । धेरैलाई त्यसमा काम गर्ने आस थियो । त्यसमा काम हुन सकेन । सरकार निकम्मा देखियो । मलाई आस त थिएन तर केही गर्छन् कि भन्‍ने थियो । तर, निष्कर्ष निकाल्न पनि छिटो भयो कि भन्‍ने लागेको थियो । तर संघीय गणतन्त्रात्मक लोकतान्त्रिक सरकार निर्माण र लोकतन्त्रको जग बलियो बनाउन यो सरकार पूर्णतः ‘अनफिट’ छ । डेलिभरीमा पनि केही पनि फरक देखिएन । यसबाट स्पष्ट छ, यो सरकारलाई अरू १० वर्ष नै काम गर्न दिए पनि केही गर्न नै सक्दैन । यो सरकार नियत, इच्छाशक्ति नभएको सरकार देखिन्छ । यो इन्टेन्ट (उद्देश्य) र कन्टेन्ट (विषयवस्तु) दुवै नभएको सरकार हो । औसत काम पनि गर्न नसक्ने सरकार हो । यो सरकारले भन्दा त यसअघि बनेका मिलीजुली सरकारहरूले धेरै काम गरेका थिए ।


सरकारले संसद्लाई बेवास्ता गर्दै संसदीय व्यवस्था नै प्रभावित पार्न खोजेको हो कि झैँ लाग्दैन ?
संसदीय व्यवस्थाको सन्दर्भमा हामीले हेर्नुपर्ने पाटो भनेको हाम्रो सन्दर्भमा भएको मौलिक व्यवस्थाको पाटो नै हो । संवैधानिक उदारवादको पाटोमा हामीले नियाल्नुपर्छ । यसमा तीनवटा पक्ष रहन्छन् । विधिको शासन, संविधान आफैँले लिएको अधिकारको सीमितता र नागरिकको स्वतन्त्रतालाई ध्यान दिएर अघि बढ्न आवश्यक छ । नागरिकको स्वतन्त्रतामा संकुचित गर्नेतर्फ यो सरकार उन्मुख छ । बलियो सरकार, दुई तिहाइको सरकार भनेको विधिको शासनभित्र नबस्ने भन्न खोजेको हो । संविधानले तोकेको सीमा हुन्छ । त्यसमा सरकारको पनि सीमित अवसर हुन्छ । त्यसका किन संवैधानिक परिषद्‍ भित्र सीमा तोकेको छ । यो सरकारको नेतृत्व बिगार्नेले मानिरहनु भएको छैन । कहिले प्रधानन्यायाधीश, कहिले आफूलाई प्रधानसेनापति, कहिले अख्तियार प्रमुख, कहिले प्रतिपक्ष दलको नेता नै आफैँ हुँ भन्‍ने ठान्‍नुहुन्छ । संवैधानिकभित्रका विभिन्‍न अवयवमध्ये सरकार एक हो । सबै थोक सरकार होइन । संसदीय व्यवस्थाको फर्म्याटभित्र सरकार एक भएको उहाँ मान्‍नै तयार नभएको देखिन्छ ।

सत्तारूढ दलभित्रको आन्तरिक किचलोले पारेको प्रभावको परिणाम जनताले किन भोग्‍नु र ? त्यसमा के गर्न सकिन्छ ?
दलभित्रको किचलोलाई भिन्‍न रूपमा हेर्ने इच्छा छ । संसदीय व्यवस्था र पार्टी व्यवस्थालाई एकरूपता दिनुपर्छ कि पर्दैन भनेर हेर्नुपर्छ । म नेकपाभित्रको मानिस त होइन । तर, मैले कसरी हेर्छु भने पार्टी ठूलो कि नेकपा भनेर पहिला स्पष्ट हुन जरुरी छ । हामी पनि यही कुरा व्यहोरेर आएका हौँ । प्रधानमन्त्री संसद्‍मा निर्वाचित भएर आएका व्यक्ति हुन् । प्रधानमन्त्री दलभित्र धागोहरूबाट बाँधिएका हुन्छन् । कसरी कार्य गर्ने भन्‍ने त्यो दलभित्रको कुरा होला । तर, त्यसलाई लोकतान्त्रिक अभ्यासमा अघि बढ्दा समस्या छैन । तर, नेकपा नामको पार्टी हो कि होइन वा बनेको छ कि छैनभन्दा म भन्छु त्यो पार्टी नै बनेको छैन । यो दलभित्र ठूलो अलमल छ । घरेलु राजनीतिक कुरामा अलमल, विदेशीसँगको सम्बन्धमा अलमल, सरकार सञ्‍चालनमा अलमल, समस्या सम्बोधनमा अलमल छ । सबै अलमलको बीचमा प्रधानमन्त्री पर्नु भएझैं लाग्छ । यस्तो स्थिरताको अवस्थामा प्रधानमन्त्रीले लैजान सक्ने सम्भावना थियो । उहाँ जनतामाझ हाईहाई हुने अवस्था थियो । तर, तानिएर कहाँ जानु भएको छ भन्‍ने कुरा हामी देखिरहेका छौँ । दुई पार्टी एक भएको देखिए पनि त्यो सिंगो पार्टी बन्‍न गठन भएको होइन । पूर्वएमाले एक्लै लड्दा महत्वाकांक्षा पूरा नहोला भन्‍ने आशंका र पूर्वमाओवादीले अघि बढ्न सकिँदैन भनेर बनेको स्वार्थ केन्द्रित दल हो । यसमा खासगरी डर र लोभले बनाएको पार्टी हो । नियतिले पनि त्यही भोगेको देखिन्छ । यसमा ध्यान दिन जरुरी छ । अनि स्वार्थ, डर र लोभ भएपछि कसरी पार्टी अघि बढ्छ र ?  

वर्तमान सरकारले जे चाहन्थ्यो त्यही गर्न सक्थ्यो । लगभग तीन वर्ष ओली सरकारले गरेका कामलाई प्रमुख प्रतिपक्षी दलको सांसदका रूपका कसरी टिप्पणी गर्नुहुन्छ ?
संसदीय व्यवस्थाका लागि ‘अनफिट’ छ, वर्तमान नेतृत्व । संसदीय प्रणालीमा उहाँलाई किन यति धेरै डर त ? यहाँ प्रधानमन्त्रीसँग सबै संसद् हुँदा पनि यो व्यवस्थामा विश्‍वास गर्न नसक्नु नै उनको दोष हो । संसदीय प्रणालीमा विश्वास गर्नेले प्रतिपक्षको नम्बर हेर्दैनन् । प्रतिपक्षलाई हेर्ने दृष्टिमा नै दोष छ । भारतमा अटलबिहारी बाजपेयी एक्लो संसद् हुँदा पनि सरकारमा रहने कंग्रेस आईले उहाँको आवाजलाई कसरी जनताको आवाज ठानेर सम्मान गर्थ्यो त्यो सोचौँ र अहिलेको हाम्रा प्रधानमन्त्रीको सांसदलाई हेर्ने दृष्टिकोण हेरौँ । संसद्लाई दुत्कार्ने, हेप्‍ने, सबैलाई अज्ञानी देख्‍ने तरिका नै हेरौँ न । उहाँ त संघको प्रधानमन्त्री हो । त्यसमा उहाँको बुझाइ नै हेरौँ । म सुरुदेखि स्पष्ट थिएँ । संख्याको सुविधा प्रदान गरे पनि उहाँले नतिजा दिनुहुन्‍न भन्‍नेमा । उहाँको पृष्ठभूमि नै काम गर्ने मुलुकलाई बनाउने खालको छैन । उहाँको उदय झापा काण्डदेखि नै हेरौँ । जेल बसेको विषयको व्याख्यान सुनौँ । पछिल्लो घटनालाई नियाल्ने हो भने घटना र प्रतिक्रियाबाट भएको हो । प्रतिक्रियाबाट जन्माएको नेताको सीमा हुन्छ । उहाँले कार्यसम्पादन गर्नुहोला भन्‍ने लागेको कत्ति पनि थिएन भने यति तल जानुहोला भन्‍ने पनि त लागेको थिएन । उहाँको ‘परफर्म’ राम्रो छैन । यहाँ कैँयन्ले केपी ओलीलाई महान् भनेका थिए, अब त ती सबैको भ्रम टुटेको छ । 

आजभोलि त मेरो अनुरोध छ, मलाई युवा नै नभनिदिनुस् । युवा भन्‍ने विषयले हामीलाई हाम्रो तागतभन्दा कमजोर बनाएको छ ।

पूर्वस्वास्थ्यमन्त्रीका रूपमा विश्‍वभर फैलिएको कोभिड-१९ को महामारी रोकथाम, नियन्त्रणमा सरकारको काम कसरी लिनुभएको छ ?
फागुनमा जतिबेला कोभिडको पहिलो केस देखिएपछि नै एउटा प्रस्ताव संसद्‍मा नै लगेको थिएँ । प्रधानमन्त्रीसमक्ष पुग्‍ने गरी पनि लगेको थिएँ । राम्रोसँग अध्ययन गरेर तयार गरेको उक्त प्रस्तावले केही परको अझ भनौँ अहिले देखिएको समस्याको सम्बोधन हुने खाले नै थियो । कोभिडबारे सुनेको र थाहा भएको विषय पनि थिएन । त्यो प्रस्ताव २०/२२ दिन मेहनत गरेर बनाएको थिएँ । स्वास्थ्य मन्त्रालय, पब्लिक व्यक्तित्वसँग काम गरेर त्यो अध्ययन बुझाएको थिएँ । सरकारले पर्याप्त वित्त र विज्ञताका आधारमा काम गर्नुपर्छ । कमान्ड कन्ट्रोल हुनुपर्छ । साइन्स एभिडेन्सको विश्‍वास हुनुपर्छ । यो तीनै आधारको उपयोग भएन । यतिबेला हामी लाओस, न्युजिल्यान्ड, दक्षिण कोरियाबारे कुरा गर्छौँ । रिसोर्स भएको देशले सफलता प्राप्त गरेको छ, दक्षिण कोरिया । तर, अमेरिका विफलझैँ छ । न्युजिल्यान्डले सफलता पाएको छ । त्यहाँको लिडरसिपले अध्ययन गरेको, साइन्सको विश्‍वास गरेको छ । एभिडेन्समा विश्वास गरेन । कमान्ड कन्ट्रोल गरेको छ । भगवान् भरोसे छ । कोभिड-१९ नियन्त्रण तथा जनतालाई दिइएको राहतको कोणबाट हेर्ने हो भने सरकार नै छैन । यस्तो सरकार त कहिल्यै पनि थिएन । यतिबेला प्रधानमन्त्रीले दलभित्र झगडा छ मलगायत सबै मन्त्रिमण्डल एक महिना घरभित्र बस्छु भन्दा पनि कुनै फरक पर्दैन । किनकि सरकारले केही काम नै गरेको छैन । नेपालमा अहिले सरकार नै नभएको अवस्था छ । कोभिडमा पूर्ण असफल छ ।

सरकार कोभिड नियन्त्रणमा पूण विफल नै हो त ?
एकदम पूर्णरूपमा नै असफल छ । सरकारले आफूभन्दा निम्सारोलाई दाँज्दै गर्दा मन शान्ति होला । तर, फागुनमा सरकारले गरेको कार्य र त्यसपछि आउन सक्ने अवस्थाबारे कुनै अध्ययन नगरेको विषय स्पष्ट छचल्केको छ । स्वास्थ्य सामग्री खरिदमा लडाइँजस्ता विषय स्मरण गराउन चाहन्छु । त्यतिबेला मेरो एक अध्ययन टिमले तयार गरेर लगेको प्रस्ताव हेरेर त्यसमा शंका लागे आधार बनाएर आफैँले काम गरे पनि हुन्थ्यो नि । त्यो के के छ, के के गर्न सकिन्छ भनेर काम गर्न सकिन्छ भनेर गएको थिएँ । कोभिडमा जनतालाई हित हुने गरी गजब परफर्म गर्ने अवस्था थियो । तर, जनतालाई सुरक्षित गर्ने र क्षति कम गराउने सम्भव थियो । 

कोभिडको मामलामा सरकार कहाँ चुक्यो र कहाँ सच्याउन सक्थ्यो ?
अहिलेसम्मको अवस्था नियाल्दा सबै स्थानमा सरकार चुकेको देखिन्छ । कसैले पनि यस प्रकारको महामारीको अवस्थामा तयारी अवस्थामा रहेका हुँदैनन् र स्रोत पनि हुँदैन । कतिपयमा समय पनि हुँदैन । हामीकहाँ अन्य कुराको अभाव भए पनि समय प्रशस्त थियो । त्यसमा स्वास्थ्यकर्मीलाई कसरी परिचालन गर्ने कस्तो स्थानमा सम्बोधन गर्ने भन्‍ने नै हो । जिम्मेवारी चयन गर्ने थियो । ढुकुटीभित्र भएको पैसाले मात्र काम हुने होइन । नागरिकको विश्‍वास लिने पनि हो । सरकारले लकडाउन गर्दा मानिस घर बसेकै थिए । सरकारको आज्ञा मानिदिएका थिए । जनताले पूर्ण सहयोग गर्दा पनि सरकारले केही गर्न नै सकेन । आफूसँग भएको लिमिटेड रिसोर्स छ । नपुगेपछि नसकेपछि हामीले यहाँनेर गर्न सकेन भन्‍ने हुन्छ । पाकिस्तानको इमरान खानको भाषण सम्झन्छु : मेरो रिक्सा चालकले के गर्ला भनेर मद्दत गरेको भनेको सुनेको कुरा भुल्न हुन्‍न । यसरी नै नागरिकसँग कम्युनिकेट गर्ने हो । मन्त्रालयको प्रवक्तालाई सरकारको अनुहार बनाएर भाग्‍ने काम गर्न भएन । मैले एउटा सेडुअल बनाएर हेरेँ । १८ घण्टा काम गर्नुभयो, वामदेव गौतम, माधव नेपाल, पुष्पकमल दाहाललगायतलाई भेट्नुभयो । भाषण गर्नुभयो । सामाजिक सञ्‍जाल पनि हेर्नुभयो । गाली गर्नेलाई रिस पोख्‍नसमेत भ्याउनुभयो । उहाँले आफ्नालाई ट्‍वीटमा उत्तर दिनसमेत लगाउनुभयो । तर कोभिड-१९ को विषयमा हेर्दा त्यसमा कतै बहस र छलफल भएको देखिएन । त्यसका लागि तत्कालीन रक्षामन्त्री हाल मन्त्रिपरिषद्‍मा रहेका ईश्‍वर पोखरेललाई जिम्मा दिनुभयो । तर, प्रधानमन्त्रीले काम नै गर्नु भएन ।

मन्त्रालयको प्रवक्तालाई सरकारको अनुहार बनाएर भाग्‍ने काम गर्नु भएन । 

आफूले के गर्न सकिन्छ भन्‍ने स्पष्ट पार्ने कि ?
कोभिडको लडाइँमा के भनिन्छ भने राजनीतिक नेतृत्व भाइरसभन्दा अघि दौडियो भने त्यो जित्यो । तर भाइरसको पछि पर्‍यो कि, त्यो हार्‍यो । फागुनमा नै सरकारलाई भारतलगायत अन्य मुलुकबाट नेपाली नागरिक आउँछन् र उनीहरूलाई पहिलो क्‍वारेन्टाइनमा राखेर भित्र ल्याउनुपर्छ । त्यसमा काम गरौँभन्दा यहाँ कोभिड फ्री-को नारा घन्काइयो । त्यो सर्न र फैलन सुरु हुन्छ भनेका थियौँ । त्यसमा क्‍वारेन्टाइन बनाउन आवश्यक रहेको जानकारी दिए । त्यसरी होइन । अब के गर्न सकिन्छ ? तीन महिनापछि के हुन्छ ? योजना के छ ? कोभिडमा रणनीति के छ ? थाहा छैन । राष्ट्रिय योजना बनाउने अनि त्यसमा प्रदेश पनि आउँछ । माघ-फागुन महिनामा यस्तो गरेको छ । मेरो ड्युटी यसरी । पाँच हजार जना आइसोलेसन सेन्टरको रूपमा विकास गरेर काम गर्न जिम्मा दिने । कन्ट्याक्ट ट्रेसिङ गर्ने जिम्मा दिने हो । हेर्ने स्थानबाट जानुपर्‍यो । आजको हेरेर होइन । केही समयपछि आउने अवस्थालाई हेरेर ध्यान दिनुपर्थ्यो । भ्याक्सिनबारे अध्यादेश बनाएको छ, निर्णय गरेको छ । त्यो ठीक छ । यसमा केही दूरदृष्टि राखेको देखिन्छ । अलि पछाडि आउने भ्याक्सिनबारे सरकारले अहिले सोच्यो । ठीक छ । तर अब यो ल्याएर कसरी कहाँबाट लाउने कसलाई लाउने तयारी थाली हाल्न पर्‍यो । भ्याक्सिनमा गरेको कुरा मात्र होइन, अन्य विषय पनि सोचिदिएको भए राम्रो हुन्थ्यो । भएकै स्रोतबाट बेस्ट बनाउने हो । चीनले एक हजार बेड एक सातामा बनायो भन्‍ने छ । काठमाडौँमा छ, सात वटा मेडिकल कलेज लिजमा लिएर कोभिड अस्पताल बनाएको भए के हुन्थ्यो ? चीनले एक साता लागेको हामी एक दिनमा सक्थ्यौँ । तर किन सकेनौँ ? त्यहाँ कि भिजन पुगेन कि स्वार्थ मिलेन । समन्वय गर्ने विषय भनेको नेगोसियसन मात्र थियो ।

हाम्रा कूटनीतिक सम्बन्धबारे पनि बोलिरहनुहुन्छ, अहिलेको अवस्थालाई कसरी लिनुभएको छ ?
हाम्रो घरभित्रको विषयमा जति मतान्तर रहेको भए पनि नेपालले अरू देशसँग राख्‍ने सम्बन्धमा भने एकमना धारणा राख्‍ने सोच हो । त्यसमा हामी अडिग छौँ । नेपाललाई अरूले वास्ता गर्‍यो भनेर डराउनु हुँदैन । बेवास्ता गरेमा रोइकराइ गर्ने पनि होइन । हामीले चाहेको भनेको विश्‍वले ‘मार्क’ गरोस् हामी देखिऔँ भन्‍ने हो । हुन त सरकारले पनि देखिने र सुनिने भनिएको छ । तर खै कता देखियौँ, कता सुनियौँ त्यति थाहा पाउन सकेको छैन । चीन, भारत, अमेरिकाजस्ता मुलुकको सूचीभित्र पर्नु सकारात्मक हो । ध्यान दिनुपर्ने भनेको राजनीतिक दलभित्रको समस्या हो । राजनीतिक दलभित्रको शक्ति संघर्षभित्र त्यो भेटघाट मिसियो भने फरक हुन्छ । हामीलाई महत्व दिएको अवस्था छ । हाम्रो अर्को पक्ष के हुनसक्छ भने पार्टीभित्रको शक्ति संघर्षमा कसरी लैजाने भन्‍नेमा छ । पहिलेपहिले पनि धन्दा गर्ने थियौँ यो बढ्नेछ । भिजिबलको मौका अभिशाप हुन सक्छ । सम्बन्ध सीधा लाइनमा जान्छ । न कुनै सूत्रमा नै अघि बढ्छ । यो राजनीति हो । सम्बन्धहरू तलमाथि हुन्छ । यसमा डर निकै छ । पछिल्लो समय छिमेकमा संवाद नै नभएको, जथाभावी बोलेर बिग्रिएको र बरालिएको अलमलिएको ठाउँबाट भेटघाट सुरु भएको छ । यो ठीक छ । योभित्रको झगडामा त्यो सम्बन्धको व्याख्या गर्ने र प्रयोग गर्नेतर्फ गएको देखिएको छ । यसले राम्रै गर्छ तर त्यो विषय उनीहरूको दलभित्रको झगडामा प्रवेश गर्‍यो भने गाह्रो छ ।

उसो भए हामी बहुपक्षीयताको लबीमा नै अघि बढ्ने हो त ?
बहुपक्षीयतामा नै जानुपर्छ । सम्बन्ध खुला र पारदर्शी हुनुपर्छ । दोहोरो मापदण्डमा हिँड्न हुँदैन । बाहिर एक थोक भन्‍ने, भित्र अर्को थरी वार्ता गरेर झुक्याउने समय अहिले छैन । यसमा नेतृत्व सचेत हुनुपर्छ । परिपक्‍व सम्बन्ध राखेर अघि बढ्न सक्नुपर्छ । हामीले सबैसँग समान व्यवहार र मुलुकपिच्छेको सम्बन्ध राखेर अघि बढ्नुपर्छ । कुनै फोरमबाट बाहिर निस्कन पनि हुँदैन । हामी कैँयन् विषय अन्तर्राष्ट्रिय फोरममा प्रतिबध्दता जनाउँछौँ तर यहाँ अघि बढाउन अल्छी गर्छौं यसले विश्‍वसनीयता घट्छ । हामी विश्‍व समुदायबाट बाहिरिनेछौँ ।
 
कांग्रेसको अघिल्लो महाधिवेशन पार्टी विधानअन्तर्गत हुन नसकेर, संविधानमा रहेको संक्रमणकालीन अवस्थालाई अन्तिम अस्त्रका रूपमा गुहार्दै भएको थियो, फेरि पनि त्यस्तै हुने निश्‍चित जस्तै छ । यस्तो किन हुन्छ ?
समय घर्काउने कांग्रेसको पुरानै रोग भयो । पार्टी सञ्‍चालनका थुप्रै विषयहरूसँग यो जोडिएको छ । हामीले योभन्दा पहिला पनि पार्टी विधानमा जे जे गर भनेको थियो, केही पनि गरेनौँ, नगर भनेको सबै गर्यौँ । जसका कारण ६ महिना म्याद थप्‍नुपर्ने भयो । यसमा पार्टीको कुनै एउटा अमूक व्यक्तिलाई दोष लगाएर पनि हुँदैन । हामी सबै त्यसको भागीदार हौँ । कांग्रेसभित्र खासगरी विधानको पालना गर्ने सन्दर्भमा हाम्रो बुझाइ गलत भयो । राजनीतिक दल सबै विधानमा उल्लिखित अक्षर-अक्षरमा चल्ने कुरा मात्रै होइन, राजनीतिक दलको त राजनीतिक निर्णय हुन्छ भन्दै गर्दा हामीले के बिर्स्यौ भने राजनीतिक दल भनेको ठूलो संगठन पनि त हो । संगठन विधिले चलेन भने दुर्घटनामा पर्छ । हामी विधिले चल्न नसक्दै एकपछि अर्को निर्णय गर्दा समस्या थुप्रिए । त्यसले समस्या झन् बढाउँदै लग्यो । त्यसमाथि कोभिड-१९ को संक्रमण बढ्दै गएपछि हाम्रो कार्यतालिका तलमाथि भयो । यो हामी सबैले गरेको गल्ती हो । सच्याउने तरिका भनेको हामी फागुन त नाघ्छौँ नाघ्छौँ । जेठ महिनासम्ममा अधिवेशन गरेनौँ भने हामी अकल्पनीय दुर्घटनामा पर्न सक्छौ ।

२०७४ सालको निर्वाचनमा कांग्रेसले अप्रत्याशित पराजय व्यहोरेपछि तपाईंलगायतका सात युवा केन्द्रीय सदस्यले अर्ली महाधिवेशन भनेर एउटा ध्यानाकर्षणपत्र नेतृत्व र केन्द्रीय समितिमा बुझाउनुभएको थियो । बाहिर भन्‍न अर्ली, गर्न चाहिँ ‘लेट्ली’ भएको हो ?
रमाइलो कुरा हामीले अर्ली महाधिवेशन माग्दा प्रदिप गिरिले शेरबहादुर देउवाले नेतृत्व गरेको कांग्रेसको महाधिवेशन तपाईंहरूले टाइममा गरेर देखाउनुस्, तपाईंहरूलाई सलाम गर्छु भनेर हामीलाई व्यंग्य गरेको अझै पनि म सम्झन्छु । त्यो हाम्रो प्रस्तावमा म अझै पनि अडिग छु । त्यो प्रस्ताव महाधिवेशनका कुनै घटनासँग जोडिएर मात्रै ल्याइएको होइन, कांग्रेसलाई संसदीय व्यवस्थासँग मिल्ने बनाउन ल्याइएको हो । त्यो भनेको पार्टी महाधिवेशन र आमनिर्वाचनलाई जोड्नु पर्‍यो भन्‍ने हो । पार्टीको महाधिवेशनबाट नेतृत्व आउँछ, त्यो नेतृत्वले पार्टीलाई एउटा सिध्दान्तसँग लगेर गाँस्ने विषय छँदै छ । कार्यक्रमसँग बाँध्छ । विश्‍वास दिन्छ, चुनावमा होम्छ । चुनावमा जित्यो भने पार्टीको नेतृत्वले देश पनि चलाउन पर्यो । बोरिस जोन्सन बेलायतमा कन्जरभेटिभ पार्टीको प्रधानमन्त्रीको उम्मेदवार तय गरेर गएको जस्तै भारतमा नरेन्द्र मोदीलाई प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जाओस् । त्यो नेतृत्वको नेतृत्वमा निर्वाचनमा जाँदा पार्टी हार्यो भने उसले स्टेप डाउन गरोस् । त्यतिबेलाको हाम्रो व्याख्या के थियो भने शेरबहादुर देउवा पार्टी सभापति हुनुहुन्छ । रामचन्द्र पौडेलसहित दुई जना नै हाम्रा नेता हो । सभापतिको नेतृत्वमा पार्टी निर्वाचनमा होमिँदा पार्टीले चुनाव हार्यो । चुनाव हारेपछि स्टेप डाउन गर्नुपर्छ । स्टेप डाउन गर्ने अधिवेशनबाट हो । त्यसैले चाँडो अधिवेशन गरौँ भन्ने एउटा विषय थियो । अर्को त्यतिबेला पार्टीका साथीहरूको धेरै नै मनोबल गिरेको थियो । अधिवेशन गरेर पुनर्जागरण ल्याएनौँ र नवीकरण गरेनौँ भने टालटुले कामबाट मात्रै साथीहरूको गिरेको मनोबल उठ्दैन भनेका थियौँ । अहिले त्यस्तै भइरहेको छ । तर, त्यसका लागि हाम्रो पनि तागत र बल पुगेन । क्षमताले भ्याएन होला । अब त पाँच वर्षमा त हुँदैन नै त्यसपछि थपिएको ६ महिनामा पनि अधिवेशन हुँदैन कि भन्‍ने डर पैदा भएको छ ।

काठमाडौँमा छ-सात वटा मेडिकल कलेज लिजमा लिएर कोभिड अस्पताल बनाएको भए के हुन्थ्यो ? 

फागुनमा महाधिवेशन भएन भने कांग्रेसमा अहिले दुईवटा कुरा सुनिएका छन् । एउटा पक्ष भदौमै पुर्याउन पर्छ भनिरहेको छ । अर्को पक्ष फागुनमा नभए पनि जेठ अन्तिमसम्म जसरी पनि गर्नुपर्छ भनिरहेको छ ?
फागनुमा अधिवेशन गर्ने भन्‍ने कुरा असम्भव भइसक्यो । फागुनमा अधिवेशन हुन पुस ६ गतेबाट हामीले वडा समितिको निर्वाचन सुरु गर्नुपर्छ । त्यो असम्भव छ । मेहनत गर्यौ भने जेठमा बकाइदासँग अधिवेशन गर्न सकिन्छ । जेठभन्दा पर अधिवेशनको मिति लग्यौ भने हाम्रो बदनियत हुन्छ । जेठको कुरा प्राक्टिकल कुरा हो । जेठमा गर्न पनि दुई कुरा गर्नुपर्छ । एउटा जुन जुन कारणले गर्दा हाम्रो कार्यतालिका प्रभावित भयो, ती कारणलाई जस्ताको तस्तै राख्यो भने फेरि पनि प्रभावित हुन्छ । पहिलो केन्द्रदेखि जिल्लासम्म कसैले पनि समयमा काम नगर्ने शैली बदल्नुपर्छ । अर्को प्लान बी बनाउनु पर्छ । जस्तो काठमाडौँका कोरोनाका कारण जेठमा अधिवेशन गर्न नसक्ने अवस्था भयो भने सरकारले अगाडि सोचेन भने जस्तै हामीले पार्टी जेठमा गएर सोचेर हुँदैन । त्यसमा अमेरिकाको निर्वाचनको उदाहरण दिन उपयुक्त हुन्छ । डेमोक्र्याटिक पार्टीको निर्वाचन मेनियापोलिसमा थियो, जहाँ ५० हजार मानिस उपस्थित बनाउने योजना थियो । जसले जो बाइडनलाई राष्ट्रपतिको उम्मेदवारका रूपमा इन्डोर्स गर्यो । तर, कोरोनाका कारण ती मान्छे जम्मा हुने अवस्था नभए पनि ५० औँ स्थानमा गरेर करिबकरिब दुई सय मानिसमात्रै जम्मा गरेर अधिवेशन सम्पन्न गरे । हामीले काठमाडौँमा अधिवेशन गर्दा ५० हजार मानिस जम्मा हुन्छन् । पाँच हजार त मतदाता हुन्छन् । जेठमा भृकुटीमण्डपमा ५० हजार मानिस जम्मा भएको हामीले कल्पना गरौं त । अहिले हामीले मास्क लगाएका छौँ । २५/३० जनाभन्दा बढी मानिस जम्मा नहुने र सामाजिक दूरी कायम गर्ने भनेका छौँ । जेठसम्म म्याक्सिन आउने ग्यारेन्टी छ ? हुन सक्छ सजिलो बाटो आयो भने हुन सक्छ । हुँदैन भनेर अधिवेशन रोक्ने होइन, हामीसँग १ सय ६५ निर्वाचन क्षेत्र छन् । तीनै क्षेत्रबाट कांग्रेसका महाधिवेशन प्रतिनिधि आउने हुन् । एफएनसीसीआईले त तीन ठाउँमा बुथ राखेर गर्छ भने, कांग्रेसले १ सय ६५ ठाउँमा राख्छ । जुन जिल्लाका मान्छे हुन्, त्यही बसेर बारको निर्वाचनमा जस्तै मतदान गर्छन् । यो तयारी पनि सँगसँगै गर्नुपर्छ हामीले मितिको मात्रै कुरा गरिरहेका छौँ ।


यो सरकारले भन्दा त यसअघि बनेका मिलीजुली सरकारहरूले धेरै काम गरेका थिए ।

अहिलेसम्म २०७२ को संविधानमा व्यवस्था गरिएको शासकीयस्वरूप अन्तर्गतका संरचना कांग्रेसले अहिलेसम्म बारा, सप्तरी र सिन्धुपाल्चोक गरी तीन जिल्लामा बनाउन सकेको छैन । संरचना बने पनि सोलुखुम्बुमा पार्टी सदस्यताको ठेली केन्द्रीय कार्यालयले पठाएको छैन । तर, मंसिर मसान्तसम्म सदस्यतासम्बन्धी सम्पूर्ण विवरण केन्द्रमा पठाउनु भनेर गत २ गते सर्कुलर जारी भइसक्यो, यो विधि कसरी उपयुक्त हुन सक्छ ?
अस्तिको केन्द्रीय समितिले मेरै प्रस्तावमा निर्णय गरेको हो । पार्टी अधिवेशनका सन्दर्भमा केही मतभेद थिए । मतभेद टुंग्याउन हामी लगातार अनौपचारिक बैठक बस्यौँ । धेरै मतभेद टुंगिने अवस्थामा गए । तर, त्यसलाई हामीले औपचारिकता दिन भ्याएनौँ । पार्टी उपसभापतिलगायतका नेता आइसोलेसनमा हुनुहुन्थ्यो । त्यसबेला छठलगत्तै शृंखलाबध्द अनौपचारिक बैठक बसी मतभेद टुंग्याएर नयाँ कार्यतालिका बनाउने भन्ने अनौपचारिक सहमति भएको हो । त्यो बेलामा मैले त्यो गर्दागर्दै मंसिर पनि बित्छ । हामीले केही भनेनौँ भने समस्या नभएका जिल्लाका साथीहरू पनि मस्तले बस्‍नुहुन्छ । मंसिरभित्र भन्‍ने निर्णय गर्यौँ भने समस्या नभएका जिल्लाका साथीहरू त चलायमान हुनुहुन्छ । अहिले भएको पनि त्यही छ, थुप्रै जिल्लामा साथीहरू बैठक बस्‍ने क्रियाशील सदस्यता बाँड्ने काम गरिरहनु भएको छ । तर, छठपछि बस्‍ने भनिएको बैठक बस्‍न सकेको छैन । अब आफ्नोभन्दा नेकपाको बैठकतिर हाम्रो ध्यान जान थालेको छ । त्यसले समय खेर गइरहेको छ । यसमा हामीले ध्यान पुर्याएनौँ भने जेठमा भ्याउन पनि गाह्रो हुन्छ । हाम्रो अनौपचारिक सहमति मंसिरभित्र सदस्यतासम्बन्धी सबै विवाद टुंग्याउने र दुई-तीन महिना लगातार काम गरेर पार्टीलाई अधिवेशनमा होम्ने भन्‍ने सहमति भएको हो । म अलि ढिलो भएको देखिरहेको छु ।

राजनीतिक दलभित्रको शक्ति संघर्षभित्र कूटनीतिक भेटघाट मिसियो भने फरक हुन्छ । 

महाधिवेशन सार्ने विषयमा पार्टी नेतृत्वले तपाईंसँग कति पटक छलफल गर्यो ? तपाईं पार्टी केन्द्रीय सदस्य, प्रतिनिधिसभाको सांसद पनि हुनुहुन्छ ?
अगाडिका छलफलमा म थिइनँ, पछिल्ला १०/१२ ओटा अनौपचारिक बैठकमा बसेको हुँ । यी बैठकमा मेरो इम्प्रेसन सभापति, वरिष्ठ नेता सानातिना मतभेदमा आफ्नो पोजिसनलाई कम्प्रोमाइज गरेर भए पनि पार्टीलाई अधिवेशनमा लगेर जानुपर्छ भन्‍ने ओरिन्टेसन म पाउँछु । जे भए होस्, मैले भनेको भएन भने हुँदैन भन्‍ने अवस्थाबाट नेताहरू बरु मेरो पक्षमा नभए नहोस् अधिवेशन भएन भने पार्टी बर्बाद हुन्छ भन्‍ने अवस्थामा पुगेको मैले पाएको छु । अलिकति छलफल गरेमा मंसिरभित्र सबै विषय टुंगिने अवस्था म देख्छु ।

तर, वरिष्ठ नेता रामचन्द्र पौडेलले सार्वजनिक रूपमै सभापति पार्टीलाई कोल्याप्स गर्ने बाटोमा अघि बढिरहनु भएको छ । महाधिवेशन फागुनबाट सारेर एकै पटक भदौमा पुर्‍याउन खोज्दै हुनुहुन्छ भनिरहनुभएको छ नि ?
फेरि रामचन्द्र पौडेलले नै पार्टी सभापतिको घरमा भएको बैठकमा तपाईंले मैले अधिवेशनका सम्बन्धमा राखेका जुन असन्तुष्टिहरू छन्, कम्तीमा त्यसलाई सुन्ने सौहार्दता र साहस देखाउनु भयो । केपी शर्मा ओलीभन्दा बेटर देखिनुभयो, यति देखाएपछि त अरू कुरा मिलाउन सकिन्छ भनेको सुने । त्यो प्वाइन्ट टर्निङ प्वाइन्ट पनि थियो । मतभेदहरू छन्, ती रहिराख्छन्, अधिवेशन गर्नुपर्छ भन्‍ने सन्दर्भमा एक ठाउँमा छौँ । कहिलेकाहीँ कुनाकुनाबाट म पनि भदौभदौ भनेको सुनिरहेको छु । यत्तिकै आएको हो भने कसैलाई जेठमा सकिन्‍न भदौमा गरौँ भन्‍ने लाग्‍न सक्छ । होइन, भदौमा नै गर्नुपर्छ भन्‍ने योजनाअन्तर्गत साथीहरूले त्यो कुरा चुहाउन थाल्नुभएको हो भने डरलाग्दो हुन सक्छ । भदौमा हामीले गर्न सकेनौँ भने संविधानले दिएको सीमा हामीले नाघ्छौँ । त्यसपछि हामी अहिले लौ न हाम्रो सरकार जोगाइदेऊ भनेर केपी शर्मा ओली हाम्रो घरमा आए जसरी हामी लौ न हाम्रो पार्टी जोगाइदेऊ भनेर सरकारको ममतामा बस्‍नुपर्ने हुन्छ ।

तपाईंले मतभेद भन्‍नुभयो, मतभेद मात्रै छ कि मनभेद पनि छ ?
अधिवेशनको नजिकनजिक भएकाले मतभेद गहिरो, बाक्लो र फराकिलो हुनु स्वाभाविक हो । मनभेद पनि छ । नेतृत्वले पार्टी सही ढंगले सञ्‍चालन गरेन, पार्टी सञ्‍चालन गर्ने कुरामा मलाई सहयोग नै भएन भन्‍ने कुरा छन् । त्यसलाई धेरै अस्वाभाविक ठान्दिनँ । एक त अधिवेशनबाट नयाँ नेतृत्व छान्‍ने कुरा, त्यसमाथि यत्रो ठूलो अपार असफलता । धेरै साथीहरूले बुझिरहनु भएको छैन, यो अधिवेशनले १३ अधिवेशनदेखि अहिलेसम्मको हाम्रो यात्राको हिसाबकिताब वा छिनोफानो गर्ने हो कि, १४औँदेखि १५औँ अधिवेशनसम्मको हाम्रो यात्रालाई उचाइ र ऊर्जा दिने हो ? म १५औँतिर फोकस हुनुपर्छ भन्छु । हाम्रो अधिवेशनलगत्तै नेपाल निर्वाचनमा होमिन्छ । हामीले निर्वाचनमा जान्छ त भनिरहेका छौँ, यो सरकारले निर्वाचनमा कम्युनिस्ट पार्टीले लगेन भने के गर्ने ? त्यो निर्वाचन वामदेव निर्वाचन भयो भने के गर्ने ? एक मुलुकलाई निर्वाचनमा लैजानु छ । दुई मुलुकलाई वामदेव निर्वाचन हुनुबाट जोगाउनु छ । तीन कांग्रेसले पार्टी गठन भएदेखि आजसम्म प्राप्त गरेको मतले कम्युनिस्ट पार्टीलाई पुग्दैन । त्योभन्दा बढी मत प्राप्त गर्नुछ । मधेसमा दुई पार्टी एक भएका छन् । जताबाट पनि प्रहार कांग्रेसमाथि भएको छ । सहरमा आएका नयाँ पार्टी, जसपा र नेकपा सबैले कांग्रेसलाई खोतलिरहेका छन् । यस्तो अवस्थामा कांग्रेसले आफ्नो भोट जोगाएर मात्रै हुँदैन, आफ्नो पहिचान थप्नुपर्नेछ । यी तीन च्यालेन्जबाट पार्टीलाई पार लगाउने नेतृत्व हामीले अधिवेशनबाट खोज्‍नु पर्नेछ । पुराना कुरा खोतलेर हुँदैन । हामीले नयाँ नगरेर पुरानोतिर अल्मलिँदा मनभेदतिर पुग्छौँ । अब के गर्ने भन्‍ने विषयमा जानुपर्छ ।

नयाँ भन्‍नुभयो, यसको मतलब युवा अगाडि आउनुपर्छ, पुराना नेता टेस्टेड भइसके भन्‍ने हो ?
यसमा मेरा दुई तर्क छन् । एउटा पार्टी नेतृत्वलाई कहीँ न कहीँ आम निर्वाचनसँग जोड्ने पध्दति बसालौँ । कतिपय स्थानमा हामीले दुई पटकभन्दा बढी नेतृत्व लिन नपाउने भनेका छौँ । अन्यत्र अन्य केही व्यवस्था गरिएका छन् । केही न केही जवाफदेहिता हुनैपर्छ । पार्टीको चुनाव हारे पनि डराउनु नपर्ने, पार्टीले देशको चुनाव हारे पनि डराउनु नपर्ने भनेको जवाफदेही हुनु नपर्ने भनेको हो । पार्टीको यो परम्परालाई हामीले बदल्नुपर्छ । सिस्टम बदल्दै गर्दा बूढा आउन पनि सक्छन्, युवा आउन पनि सक्छन् । जस्तो म यो अधिवेशनमा पार्टी सभापति लडेर हारेँ भने, मैले स्टेप डाउन गरेर छोड्नुपर्छ । किनभने मैले प्रयास गरेँ सकिनँ, त्यसपछि म वरिष्ठ नेता भएर बस्‍ने होइन । छोडेर हिँड्ने हो । त्यसबेलामा युवा बूढा भन्‍ने हुँदैन । कुनै न कुनै बिन्दुमा खोज्‍नुपर्छ भन्‍ने लाग्छ । दोस्रो, सय मतदातामध्ये ३०/३१ मतदाताले कांग्रेसलाई मत हाल्छन् । बाँकी ७० को हाराहारीले कांग्रेसलाई मत हाल्दैनन् । अब यस्तो नेतृत्व चाहियो, ३० त जुन नेतृत्वमा आए पनि मत आउँछ, त्यो ३० यथावत् राखेर कम्तीमा पनि १० थप्‍न सक्ने नेतृत्व हामीले चुन्‍नुपर्छ । १० थप्‍ने सबैभन्दा ठूलो ब्लक अहिलेसम्मको १०० मा नभएका थपिने मतदाता हुन् । जुन बीसौँ लाखको संख्यामा थपिँदै छन् । पहिलो मत हाल्नेलाई अपिल गर्न सक्ने नेतृत्व कांग्रेसमा आउनुपर्छ । कांग्रेसमा अहिले मेरा लागि पनि श्रध्देय, जसको सिध्दान्त र मान्यतालाई आत्मसाथ गर्दै म कांग्रेस भएँ, उहाँहरू नेतृत्वमा हुनुहुन्छ । अब उहाँहरूले मभन्दा पनि २० वर्ष पछाडिका युवाहरूलाई अपिल गरेर कांग्रेसको पक्षमा ल्याउन सक्नुहुन्छ, अबको प्रश्न त्यो हो ? उहाँहरूले डेलिभर गरेर मेरो भविष्य बनाउनुहुन्छ भनेर ती युवा मतदाता कांग्रेसको पक्षमा आउँछन् ? ती युवा मतदाता नआइकन हाम्रो ३० को बास्केटलाई बढाउन सकिन्छ ? सयमा ३० मात्रै मत ल्याएर कांग्रेसले कहाँबाट जित्छ त ? अब यो एंगलबाट बहस गरौँ नयाँ पुरानो छोडिदिऊँ ? किनकि कांग्रेसमा नयाँ, पुराना दुवै चाहिन्छ ।

मन्त्रिमण्डल एक महिना घरभित्र बस्छु भन्दा पनि कुनै फरक पर्दैन । किनकि सरकारले केही काम नै गरेको छैन ।

त्यसो भए तपाईंले किन सभापतिको घोषणा नगर्ने त ? अब म सभापतिको उम्मेदवार हुन्छु भनेर सार्वजनिक रूपमा किन नभन्‍ने त ?
नयाँ मतदातालाई अपिल गर्न सक्ने मबाहेक अरू पनि थुप्रै साथीहरू हुनुहुन्छ । हामीले सामूहिक शक्ति लगाएर गर्ने हो । परिस्थिति त्यस्तै आयो, पार्टीभित्र पुराना नेताहरूलाई च्यालेन्ज गर्ने आँट कसैले गरेन अहिले प्रतिस्पर्धा आएका कुनै पनि फेसबाट नयाँ मतदातालाई अपिल हुन सक्दैन भन्‍ने लाग्यो भने सभापति लड्ने हो । मेरो हिसाबकिताब यसपटक आफू के हुने भन्‍ने विषय गौण हो । साथीहरू नभन्‍नुस् भन्‍नुहुन्छ, म भन्छु, यस्तै पर्यो भने म केन्द्रीय सदस्य मात्रै पनि उठ्न सक्छु । किनकि म तेस्रो पटक सांसद भएँ, काम गर्ने मौका पाइरहेको छु, अरू साथीहरूको तुलनामा मैले अवसर पनि पाएको हो । अहिले म गहन रूपले नियाल्दै छु, अहिले नेतृत्वमा पुग्छु भनेर लागेकाहरूले मुलुकभर कांग्रेसको पक्षका लहर ल्याउन सक्छ । राष्ट्रका लागि केही गर्छ भन्‍ने लाग्यो भने त्यसको पछि झोला बोकेर मुलुकभर पुग्‍न म तयार छु । कसैले त्यो प्रतिस्पर्धा गर्ने आँट गरेन भने पहिला महामन्त्री लड्न गएकै हो, अहिले सभापति लड्न पनि तयार छु ।

तर, पहिला सात भाइ भनेर हिँड्नु भएको थियो । एक भाइलाई लगेर पार्टी प्रवक्ता बनाइदिएपछि तितरबितर हुनुभयो । अहिले पनि युवा युवा भन्‍ने र अन्तिममा बूढा नेताकै पछि लाग्‍ने त होइन ?
पहिला हामी एउटा विषयमा प्रस्ट हुनुपर्छ । के युवायुवाबीच प्रतिस्पर्धा हुँदैन । हुन्छ । हाम्रो सोचाइ पो एउटै हुन सक्छ । हामी सात जना बसेर कसलाई सभापति बनाउने भन्‍ने विषयमा साझा धारणा बन्‍न सक्छ । कि त मान्‍न पर्यो रामचन्द्र पौडेल र शेरबहादुर देउवा त एउटै पुस्ताको हो नि त । उहाँहरू पनि कुनै बेला युवा हुनुहुन्थ्यो । उहाँहरूको बीचमा निर्वाचन भएपछि हाम्रो बीचमा पनि हुन्छ । अहिले कांग्रेस मतको हिसाबमा हेर्ने हो भने इतिहासकै च्यालेन्जिङ अवस्थामा छ । कांग्रेसलाई यसरी कम्युनिस्ट पार्टीसँग कहिल्यै पनि जुध्नुपरेको थिएन । यस्तो बेलामा कांग्रेसलाई नेक्स्ट लेबलमा कसरी लगेर जाने, के के गर्ने भन्‍ने विषयमा युवाहरू एकजुट भएर एउटा धारणा बनाउनु पर्छ । मुलुकभर घुम्दै गर्दा आम नागरिकसँग कांग्रेस डिस्कनेक्टेड छ । हामी प्रतिपक्षमा हुँदा नागरिकतिर आउनुपर्ने हो । तर, विचित्र छ, जो मान्छे सरकारसँग रिसाएको छ, त्यो मान्छे प्रतिपक्षसँग पनि रिसाएको छ । हुँदाहुँदा हामीसँग सरोकारै नभएको काण्ड सरकारले घटाउँछ र प्रतिपक्ष तानिएर आइपुग्छ । पछिल्लो समय नेकपाको झगडा त हाम्रो सरोकारको विषय होइन नि, त्यहाँ पनि हामी तानियौँ । प्रधानमन्त्रीसँग बालुवाटारमा सभापतिले भेटेपछि हामीमाथि प्रश्‍नैप्रश्‍न आएका छन् । हामी साझेदारी गर्न गएका होइनौँ । तर, तानियौँ । पार्टी सञ्‍चालनको तरिका नै खोटपूर्ण भयो । हामी युवा भन्‍नेहरू यसलाई कसरी सच्याउने भन्‍नेतर्फ जानुपर्छ । यस्ता विषयमा हाम्रो कार्यगत एकता हुनुपर्छ, सँगै काम गर्नुपर्छ । तर, सबैजना एकै ठाउँमा उभिन्छौँ, सबैले एकअर्कालाई स्वीकार्छौँ भन्‍ने कुरा अनरियालिस्टिक कुरा हुन्छ ।

म वरिष्ठ नेता भएर बस्‍ने होइन । छोडेर हिँड्ने हो । त्यसबेलामा युवा बूढा भन्‍ने हुँदैन ।

कांग्रेस समयसापेक्ष तरिकाले गतिशील हुन सकेन भन्ने विषय उठिरहन्छ, युवा भनिएका यहाँहरू स्वयम्ले उठाउनुहुन्छ । तर, कसरी समयसापेक्ष बनाउने भनेर युवाहरूबीच मन्थन हुँदैन । अब महाधिवेशनबाट समयसापेक्ष तरिकाले हिँड्न सक्ने नेतृत्व कसरी ल्याउने, अनटेस्टेट नेताहरू कसरी ल्याउने, यो विषयमा यहाँको धारणा के छ ?
ठ्याक्कै योजना भन्‍ने त छैन । आजभोलि त मेरो अनुरोध छ, मलाई युवा नै नभनिदिनुस् । युवा भन्ने विषयले हामीलाई हाम्रो तागतभन्दा कमजोर बनाएको छ । किन कमजोर बनायो भने हामी युवा भनेको हाम्रा नेताहरूलाई ख्यालै भएन । कांग्रेसमा अनुभवका हिसाबले, उमेरका हिसाबले र हामीले काम गरेका हिसाबले नेतृत्वयोग्य भइसक्यौँ । हाम्रो उमेरमा हामीले लिन खोजेको जिम्मेवारी अहिलेका नेताहरू सबैले लिएर आइसक्नु भएको हो । दोस्रो हामीले प्रतिस्पर्धा जहाँ गरे पनि, संगठित जता भए पनि संगठन सुधार्न, पार्टीलाई सुधार्न, विचारशील, गतिशील बनाउन, नागरिकसँग जोड्न जसरी एकताबध्द तरिकाले हस्तक्षेप गर्नुपथ्यो, त्यो गर्न हामी चुकेकै हो । अहिले हामीले साथीहरूबीच पहिलो अधिवेशन हुने, नहुनेमा रहेको अन्योल चिर्ने काम गरौँ, दोस्रो अधिवेशन गर्न अझै कम्तीमा ६ महिना लाग्छ, यो बीचमा पार्टीको विपक्षीय भूमिकालाई खार्ने कुरामा काम गरौँ । तेस्रो केन्द्रमा मात्रै होइन प्रदेश, जिल्ला र नगरमा पनि नागरिकले रुचाउने मानिसलाई ल्याउने वातावरण बनाऔँ । कोही मलाई मन पराउने होलान्, कोही अर्कोलाई मन पराउने होलान् । किनभने यो अधिवेशनलगत्तै हामी निर्वाचनमा जानु पर्नेछ । कब्जा गर्ने नियतले नसोचौँ । कुनै जिल्लामा ए आउँदा निर्वाचन जित्‍न सक्छ । तर, बी आउँदा मेरो पकड बढी हुन्छ । कुनै बेला मेरा लागि बी अनुकूल हुन्थ्यो भने अहिले यस्तो बेला छ कि बरु मेरा लागि अनुकूल हुने बी नआओस् । मेरा लागि व्यक्तिगत रूपमा प्रतिकूल हुने तर, पार्टी उसको नेतृत्वमा निर्वाचनमा गयो भने जित्‍ने अवस्था छ भने खुला छलफल गरौँ भनेर हामी लागिरहेका छौ । त्यसले अब आउने अधिवेशनको छनोटमा पनि आम साथीहरूलाई ऊर्जा प्रदान गर्छ । समूह छोडौँ, जो मान्छे आउँदा कांग्रेसको नेतृत्व सही देखिन्छ । र भोलि त्यसको नेतृत्वमा निर्वाचनमा जाँदा कांग्रेसले चुनाव जित्‍न सक्छ, त्यसलाई छानौँ ।

अब अधिवेशनमा सभापतिको उम्मेदवार बनेर सभापति जित्‍नुभयो । तपाईंको नेतृत्वमा कांग्रेस निर्वाचनमा होमियो, त्यो निर्वाचन पनि जित्‍नुभयो भने, तपाईंले पार्टी चलाउनु हुन्छ कि सरकार ? कि कांग्रेस र सरकार दुवै चलाउनु हुन्छ ? के गर्नुहुन्छ ?
म बिस्तारै पार्टी सिस्टमलाई नै संसद्सँग टाइअप गरेर लैजानुपर्छ, अलगअलग गर्नुहुन्‍न भन्‍ने पक्षमा हो । मैले भन्दासाथ हुने कुरा होइन । त्यसो गर्न सकिएन भने मानिसका फरकफरक चाहना हुन्छन् । मेरो चाहना, मेरो रुझान भनेको पार्टीको भन्दा सरकारको फाँट नै मेरो रुचि हो । मलाई संयोग पनि भयो, अनुभव पनि धेरै गर्न पाए संसद्, संसदीय समिति र सरकारमा बसेर । खासगरी केपी शर्मा ओली नेतृत्वको सरकारको असफलता पछाडि छोटो समय मन्त्रालय सम्हालेको अनुभवका आधारमा भन्‍ने हो भने नेतृत्वको असफलता हो । यसबाट लोकतन्त्र नै खराब हो । सबै नेता काम लाग्दैनन् भन्न खोजिरहेका छौँ, त्यो पूर्णतया गलत हो । मौका पाएको नेतृत्वले अहिले काम गर्न नसकेको मात्रै हो । त्यसलाई गलत प्रमाणित गर्न सरकारको फाँटमा गएर काम गर्नुपर्छ । सरकारमा बसेर काम गर्ने रुचि भएको मानिसले अहिलेदेखि नै तयारी गर्नुपर्‍यो । नीतिका विषयमा चासो दिनुपर्यो । त्योअनुसारको नेटवर्क बनाउनु पर्‍यो । त्योअनुसारले आफूलाई माझ्दै जानु पर्‍यो ।

म भएँ भने यसरी मुलुक चलाउँथेँ भन्‍ने आउँछ होला नि ? ओलीले यसरी चलाइरहेका छन्, देउवा, गिरिजाप्रसाद कोइरालाले त्यसरी चलाएका थिए, म भए यसरी चलाउँछु भन्‍ने ?
नेपालको राजनीतिक नेतृत्वले दुई विषय हेर्नुपर्ने हुन्छ । एकातिर राजनीतिक रेटोरी छ । हामीले वर्षौं राजनीतिक दलमा काम गरेका हुन्छौँ । विचारधाराको एउटा पक्ष हुन्छ । राजनीतिक कार्यक्रम हुन्छ । हाम्रो व्यस्तता, रुचि, ध्यानले गर्दा समस्या समाधान गर्न माहिर हुन्छौँ । तर, हाम्रो समस्या भनेको दलभित्रको झगडा भइदिन्छ । पार्टी पार्टीबीचको झगडा भइदिन्छ । हाम्रो शक्ति र समय त्यसमा गएको हुन्छ । अर्कोतिर जब तपाईं सरकारको डेलिभरीको कुरा गर्नुहुन्छ भने आवधिक निर्वाचनमा निर्वाचित भएर निश्‍चित समयका लागि मैले मौका पाउने हो । त्यो मौका पाउँदा पनि मैले निश्‍चित संरचनाभित्र रहेर काम गर्ने हो । आफ्नो मनलाग्दी गर्न पाउने होइन । कसैले बनाएको चित्र पहिल्यै छ र कलम मसी पनि निश्‍चित छ । त्यहीभित्र मैले सुन्दर आकृति बनाउनुपर्छ । मैले नयाँ फुलस्केप ल्याएर बनाउन पाउँदिनँ भन्‍ने कुरा सत्तामा पुग्‍नेहरूले बिर्सन्छन् । र, पाँच वर्षमा रेल ल्याउँछौँ, चन्द्रमामा पुग्छौँ भन्छौँ र असफल हुन्छौँ । म चाहिँ यी दुवै कुराबाट बाहिरिनुपर्छ भन्छु । कांग्रेसले २०७९ मा निर्वाचन जित्‍ने हो भने २०७९ को फागुनदेखि २०८३ को मंसिरसम्म सत्ता सञ्‍चालन गर्ने हो । त्यसबेलामा पनि प्रशासन, प्रहरी र अदालत यही हो । छिमेक र सम्बन्ध यही हो, यसैमा बसेर काम गर्नुपर्छ । त्यो समयमा के गर्ने भन्‍ने तयारी अहिलेदेखि नै गरियो भने डेलिभरी दिन सकिन्छ । हाम्रो राजनीतिक नेतृत्वले डेलिभरी दिन सक्नुको कारण शिक्षा, स्वास्थ्यबारे ध्यान नै पुगेन । विदेशमा नागरिक किन जान्छन्, भन्‍नेमा हामीले ध्यानै दिन्‍नौँ । विदेशमा युवा नेपालमा काम नपाएर मात्रै पनि जान्‍नन्, त्यसको समाजशास्त्रीय पक्ष पनि छ । त्यस विषयमा ध्यान दिँदैनौँ ।     


 


 


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x