इकागज संवादमा डा. देवेन्द्रराज पाण्डे
प्रधानमन्त्री-मन्त्रीको कुरै नगरौँ, उहाँहरू मान्छे नै हो कि होइन भन्ने भइसक्यो
‘ठूलो मान्छे हुन लगन, मेहनत, इमानदारी नचाहिने भयो’
तस्बिर स्रोत : फाइनप्रिन्ट
बीपी कोइराला सरकारका पालामा लोक सेवा आयोग पास गरेर राजा महेन्द्र कालदेखि जागिर सुरु गरेका डा. देवेन्द्रराज पाण्डे (८२) को आत्ममन्थन पुस्तक ‘एक ज्यान, दुई जुनी’ गत वर्ष प्रकाशित भयो । पुस्तकमा उनले आफू ४० कटेपछि रमाएको अर्थात् अर्थसचिवबाट राजीनामा गरेपछि ‘काठमाडौँ मानसिकता’बाट मुक्त भएको बताएका छन् । पेन्सन हुनु एक वर्षअघि सचिव छोडेका उनलाई दशकपछि उही अड्डाको मन्त्री बन्ने मौका जुर्यो । राजनीतिक दल खोलेर आफैँ नेता हुन हिँडेका उनी कालान्तरमा नेता त भए, नागरिक नेता । २०४६ सालको १६ वर्षपछि २०६२ मा लोकतन्त्र र शान्तिका लागि सडक संघर्षमा होमिएका पाण्डे २०६२ को पनि १६ वर्षपछि यो २०७८ मा कस्तो आन्दोलन देखिरहेका होलान् ? मानव अधिकार, सुशासन, सहभागितामूलक लोकतन्त्रका पक्षमा लेखेर होस् या बोलेर वा संस्था खडा गरेर सक्रिय रहेका डा. पाण्डे अचेल भने चुपप्रायः छन् । क्रिकेट भएको भए ट्वीटरमा रमाइलो अपडेट दिइरहेको पनि देखिँदो हो, तर अहिले फुटबलको मौसम जो छ । श्रीमती पद्मा अर्यालसँगै लट्ठी टेक्दै डुलिहिँड्ने पाण्डे कोभिडकाल लम्बिँदै जाँदा विशालनगर निवासमा कैद वा सोसरह छन् । पाण्डेलाई ‘सोसल डिस्टेन्स’ सुन्दासुन्दा यहाँ भौतिक दूरी मात्र होइन, राजनीतिक दूरी, कूटनीतिक दूरी, बौद्धिक दूरी बढ्तै बढेको लागिरहेको छ । अन्तर्वार्ताभर ‘सामुदायिक भावना’ शब्दावली धेरै प्रयोग गरेका उनै @DRP39 सँग विमल आचार्यले गरेको सस्यानो कुराकानी :
मिडियातिर, ट्वीटरतिर, नागरिक आन्दोलन चलिरहेको छ त्यतातिर कतै देखिनुभएको छैन त, किन होला ?
दुई-तीनवटा कारण छन् बा । (पाण्डेले धेरै पल्ट भन्ने ‘बा’ यसपछि हटाइएको छ । धेरैजसो प्रश्नपछि ‘हाहा’ गरेर हाँसेका पनि हुन्, तर ब्राकेटमा (हाँस्दै) भनेर संवादभर लेखिएको छैन । अनि वाक्यको अन्तिरतिर ‘क्या’ भन्ने उनको थेगो पनि हटाइएको छ ।) । म मौन बस्ने कारण के छन् भने, एउटा त उमेरले पनि बोलिरहने होइन म अब । मुलुकको परिस्थिति यस्तै छ । कोरोना सोरोना भन्छन् । कोही कसैसँग भेटघाट छैन । कतै जानु-भेट्नु छैन । अब शान्तिपूर्वक बस्ने भनेको हो तर शान्ति नपाइने रहेछ । राजनीतिक व्यक्तित्वको कुरै नगरौँ । जति गर्यो त्यति ग्लानि हुन्छ । ग्लानिभन्दा पनि पीडा हुन्छ । त्यसैले घरैमा चुप बसेको हुँ ।
‘आत्ममन्थन’ आइसकेपछि किताब नै बोलोस् भनेर पनि हो कि ?
त्यस्तो होइन । म ८२ वर्ष पूरा हुने बेला भयो । जीवनमा ठीक-बेठीक जे जस्तो गरेँ, त्यो मैले गरेँ । आफ्नो जीवनलाई लिएर अचाक्ली गौरव पनि छैन, ठूलो गुनासो पनि छैन । मूल्यांकन गर्ने काम अरुको हो । मैले ‘एक ज्यान दुई जुनी’मा आफूलाई लागेका कुुरा, देखे-भोगेका कुरा सबैजसो लेखेँ ।
कस्तो प्रतिक्रिया पाउनुभयो त ?
कसले पढ्छ यहाँ ? यहाँ लेख्ने-पढ्ने, चासो राख्ने समुदाय छ र ? मैले आफ्नो कर्तव्य गरेँ । त्यो मेरो अहं तुष्टि पनि होला । किताबका कुरा कति होलान्, कोही सोध्दा पनि सोध्दैन । यस्तो किन लेखेको पनि भन्दैन । थप कुरा गरौँ भनेर कोही सोध्दा पनि सोध्दैन । कसैलाई कसैको चासो छैन यहाँ । यति चाहिँ बुझियो ।
तर, तपाईंको किताबबारे अखबार-अनलाइनतिर समीक्षा-वार्ता पनि आएका थिए त ? इकागजमा समीक्षा पनि छापिएकै हो ।
आयो होला । रिभ्यु पनि गरे होलान् । छँदै छैन भन्न खाजेको हैन । मेरो मात्र कुरो गरेको हैन । समग्रतामा हेर्दा चिन्तन गर्ने, मनन गर्ने, सोचविचार गर्ने, प्रश्न गर्ने, आलोचना गर्ने प्रणाली कम भइरहेको देखिरहेको छु । म गलत पनि हुन सक्छु । तर, मैले महसुस गरेको कुरा भनेको हुँ मैले ।
लामै समयदेखि चार दिवारभित्र एक्लै-दुक्लै बस्दा मनमा के खेलिरहेको छ त ? कस्ता प्रश्न...
प्रश्न धेरै छन् ।
जस्तै...
कुरा मात्रै खेल्ने हो, मेरो नियन्त्रणमा के पो छ र ? आफूले गरेर प्रभाव पार्न सक्ने म अब केही देख्दिनँ । त्यही पनि यस्तो त हुनु नपर्ने भन्ने लाग्छ । राजनीतिक क्षेत्रको आफ्नो कुरा होला । तर, यत्रो संघर्षपछि संविधानसभाबाट संविधान आएको छ । लोकतान्त्रिक गणतन्त्र आएको छ । संघीयता आएको छ । अलिकति भए पनि उन्नति–प्रगतिको अपेक्षा थियो र छ पनि । तर, शासकहरूको मनस्थिति, प्राथमिकताक्रम, जीवनको उद्देश्य देख्दा, यो सब के हो, के भइरहेको हो भन्ने लाग्छ । राजनीति त छँदै छ, बढ्ता मलाई समाजबारे नै सोच्न मन लाग्छ । सञ्चार क्षेत्रबारे पनि म सोच्छु । मिडिया हेर्दा पनि विचित्र लाग्छ । राष्ट्रिय–अन्तर्राष्ट्रिय कुरा हेर्छु । कोरोना हेर्छु । हामीले सामान्य खोपको पनि समयमै बन्दोबस्त गर्न नसकेको हेर्छु । किन यस्तो भएको होला भन्ने लाग्छ । यिनै हुन्, मेरा दिनकटनीका प्रश्न ।
खोप आएन भन्नुभयो तर हाम्रा प्रधानमन्त्री-मन्त्रीहरू दुनियाँमै उदाहरणीय काम गर्यौँ भनिरहनुभएको छ, राष्ट्रपति चिठी लेखेको लेख्यै हुनुहुन्छ त ?
प्रधानमन्त्री-मन्त्रीको कुरै नगरौँ । उहाँहरू मान्छे नै हो कि होइन भन्ने भइसक्यो मलाई, कहाँ प्रधानमन्त्री हुनु ? मानवीय संवेदनशीलता हुन्छ, सामाजिक दायित्व हुन्छ, सामुदायिक भावना हुन्छ । मनुष्यको तहमै यी सब हुन्छ, राजनीतिज्ञ वा शासकको तहमा छोडिदिनुस् । दायित्व–उत्तरदायित्व के, के बोल्ने–के नबोल्ने भन्ने लगाम केही छ यहाँ ? मैले के बोलेँ, त्यसअनुसार के असर पर्यो, त्यसअनुसार मैले क्रिया-कर्म गरेँ कि गरिनँ ? खै, म त कुनै गम्भीरता देख्दिनँ ।
उल्टो हिँडाइलाई सुल्टो भन्ने प्रवृत्ति देख्नु-सुन्नुपर्ला भन्ने मलाई लागेको थिएन ।
हामीले वैदेशिक सम्बन्धमार्फत के गर्यौँ त ? यत्रा मित्रराष्ट्र छन्, उनीहरूसँग सम्बन्ध मजबुत बनाएर ल्याउन मिल्ने हो खोप, त्यो पनि भइराख्या छैन । विदेश नीति वा सम्बन्ध जे भन्नुस्, त्यसमा पनि ठूलै विचलन भएको म देख्छु । खोपकै अवस्थाको कुरा गर्दा म उत्साहित हुने वातावरण केही देखिरहेको छैन । अहिले भर्खर आउला आउला जस्तो त छ तर यो नेपालको ऐतिहासिक गरिमा र अरु मुलुकले पाएको महत्वको तुलनामा धेरै नै ढिलो र अपुग हो ।
यत्रो पटक व्यवस्था परिवर्तन भए, तपाईं आफैँ पनि लाग्नुभयो, निराश सुनिनुहुन्छ किन ?
म निराश नै चाहिँ त छैन । तर, उत्साही हुनुपर्ने वातावरण चाहिँ बनेको छैन, बन्नेतिर प्रयाससमेत भएको देखिरहेको छैन । लोकतन्त्र भने पनि, गणतन्त्र भने पनि, संस्था, संस्कृति, पद्धति र प्रणालीको कुरा महत्वपूर्ण हो । हामी जे जस्तो परम्परा संस्कारमा हुर्केका छौँ, त्यसमा हामी अभ्यस्त हुन समय लाग्छ भन्ने त मलाई जहिल्यै पनि लाग्थ्यो तर प्रयास नै नहुने, उल्टो बाटोमा हिँड्ने, सर्वथा उल्टो हिँडाइलाई सुल्टो भन्दै हिँड्ने, यस्तो प्रवृत्ति पनि देख्नु-सुन्नुपर्छ भन्ने मलाई लागेको थिएन । अहिले भइराख्या यही छ ।
खोपकै कुुुरा गर्दा कुनै पनि मित्रराष्ट्रले हामीलाई गम्भीरतापूर्वक लिएको देखिएन । लिने पनि किन भन्नुस्त, जब हामी आफैँले आफैँलाई गम्भीरतापूर्वक लिँदैनौँ । जे मनमा लाग्यो बोलिदिन्छौँ, उत्तरदायित्वको भावना केही आउँदैन शासक तहमा । ताली बजाउने मान्छे जति पनि पाइहालिन्छ । खास गरी राज्यशक्ति–साधनको दुरुपयोग गरेपछि त्यही दुरुपयोगको बलमा म ठूलो मान्छे भएँ, इतिहासमा छाप छोड्छु भन्ने भ्रममा रत्तिने परम्परा बलियो भएको देखियो ।
विदेश सम्बन्धमा छाप छोड्न गाह्रो हुन्छ नि, किनभने धेरै पहिलेदेखि सुन्दै आएको कुरा विदेश सम्बन्ध वा नीति भनेको पनि आफ्नो मुलुकको आन्तरिक नीति र सम्बन्धकै विस्तारित रूप हो । राज्यव्यवस्था के कस्तो छ, स्वतन्त्रता वा खुला विचार राख्ने भावना के छ, नियन्त्रित शैली छ कि उदार वातावरण छ, समानता र न्यायमा राज्यको कस्तो पहल छ, इतिहासदेखिका विकृतिलाई हामी कसरी हेर्छौं, यस्ता कुराले मित्रराष्ट्रसँगको सम्बन्ध कायम र निर्धारित हुन्छ । त्यस हिसाबले हेर्दा हाम्रो आन्तरिक स्थिति गडबडिएपछि मित्रराष्ट्रबाट सम्मान नपाउनु अन्यथा भएन । उनीहरूले हामीलाई गम्भीरतापूर्वक लिएको देखिएन । यो सबैभन्दा चिन्ताको विषय हो ।
मित्रराष्ट्रहरूले हामीलाई भर गर्न मिल्छ कि मिल्दैन भनेर हेरिरहेका हुन्छन् । हाम्रो पनि स्वार्थ छ, तिनको पनि स्वार्थ छ । पारस्परिक हितका लागि सहकार्य गर्ने वातावरण बन्छ कि बन्दैन, त्यसले दीर्घ कालसम्म प्रभाव पार्न सक्छ कि सक्दैन, यीे मामिलामा कुनै पनि मित्रराष्ट्रले हामीलाई भरपर्दाे ठानेको म देख्दिनँ । जुन मेरा निम्ति नितान्त नौलो र दुःखदायी अनुभव हो ।
यस्तो किन भयो त ?
हो, नेपाल गरिब थियो, हामीसित क्षमता थिएन, कहिले के शासन व्यवस्था, कहिले के शासन व्यवस्था भए पनि हामीलाई हेर्ने अन्तर्राष्टिय सद्भाव राम्रो थियो । नेपाल स्वतन्त्र मुलुक हो दक्षिण एसियामा, दुई ठूला मुलुकको बीचमा छ, यसको आफ्नै इतिहास छ, नेपालीहरू परिश्रमी छन्, इमानदार छन्, हम्बल छन्, बिस्तारै गरेर मुलुक बनाउँछन् भन्ने हुन्थ्यो नि त, अहिले सबै हरायो जस्तो लाग्यो । अरु एसिएन–अफ्रिकन मुलुकले खोप पाउने, नेपालले खोप नपाउने यस्तो कसरी भयो ? चाहे अमेरिका, बेलायत, भारत, डेनमार्क होस् वा जो कोहीले पहिले त हामीलाई अवहेलना नै गरेको हो नि । एक प्रकारले यो पीडादायक छ ।
कोरोनाका बेला हामी उसै पनि दुःखी भइराखेका छौँ । भैँचालोको बेला पनि धेरै सहायता, सद्भाव आएको हैन नि त, हामीकहाँ । किन आउँदैन भन्ने राज्य यही हो, सरकार यही को, कर्ता यिनै हुन्, अविश्वसनीय छन् । नेतृत्व यही हुन्, समाज यही हो, नेपाल सरकारले आफ्नो समस्या गम्भीरतापूर्वक लिँदैन भने हामी के गर्न सक्छौँ र भन्ने पनि उनीहरूलाई लाग्यो होला । यो अहिलेको मेरो दुःखाइको ठूलो घाउ-चोट हो ।
सयभन्दा बढी मुलुकसित हाम्रो सम्बन्ध छ, दूतावास थपिएका थपिएकै छन्, भीडमा हामी एक्लो हुँदै कसरी गयौँ ?
एक्लो भन्दा पनि हामी अवहेलित भयौँ ।
के कारणले ?
यसमा राजनीतिक चरित्र, सत्ताको चरित्र, नेतृत्वको चरित्रको कुरा नै प्रधान हो । यहाँ उत्तरदायी व्यवहारको अभाव भयो । पारदर्शिताको अभाव, भ्रष्टाचार बढी नै भयो । स्रोत-साधनको दुरुपयोगको त अहिले पराकाष्ठै छ । कूटनीतिको अर्थ नबुझ्नेहरू नै कुर्सीमा बसेको पनि देखियो । यी सबै कारणले हामी विश्व समुदायमाझ कमजोर हुँदै गएका छौँ ।
राजनीतिबाहेक अरु क्षेत्र चोखो छ त ?
हो, म यही भन्दै थिएँ । समाजका अरु वर्ग, तप्का, समुदाय पनि म शिथिल देखिरहेको छु । हाम्रो सञ्चार क्षेत्र, बौद्धिक वर्ग, प्राज्ञिक समुदाय, कतै पनि भरपर्दाे, ऊर्जा भएको, नयाँ विचार आउने, नयाँ तरिकाले सोच्ने स्थिति विकास होला भन्ने देखिएन ।
चिनियाँ पार्टीको सय वर्षको यता पनि हर्षबढाइँ छ, प्रशिक्षण-सहभागिता मञ्च बढेका छन्, जुझारु चीनको संगतले चमत्कार हुन्छ कि त अब ?
चीनले पनि हामीलाई न्यानोपनले हेरेको जस्तो लाग्दैन मलाई । एक त उनीहरूको दृष्टिकोण नै व्यापारिक छ, लेनदेनका कुरा बढी हुन्छन् । अर्काे यी नेपालीहरू कामै नगर्ने, उसले ऊसँग उसले ऊसँग लुट्ने (लुट्ने शब्द मलाई मन पर्दैन), यस्ता प्रकारका मान्छेलाई पनि के-कसरी मद्दत गर्ने भन्ने पनि आउँछ होला । म यो विषयमा कुनै विज्ञ होइन । मैले मनमा लागेका कुरा मात्र गरेको हुँ ।
समाज शिथिल भयो भन्नुभयो, शिथिलपनका कारण अनेक छन्, शिथिलपन कम गर्ने उपाय के देख्नुहुन्छ ?
सामान्य रुपमा हेर्दा मुलुक बनाउन त धेरै मेहनत पो चाहिन्छ त । नयाँ विचार चाहिन्छ, नयाँ ऊर्जा चाहिन्छ, शक्ति चाहिन्छ, सामुदायिक भावना चाहिन्छ, सांगठनिक पद्धति चाहिन्छ । केही पनि पद्धति बसाल्न नसक्ने, जसले पायो उसले भ्यायो, खायो जस्तो मात्र देखिन्छ यहाँ दैनिक रूपमा । मुलुक बनाउन आवश्यक मूर्त प्रयास देखिँदैन । युवाहरूमा फ्रस्टेसन पनि होला । आफ्नो नियन्त्रणबाहिरको कुरा भनेर कतिपयमा मौनता पनि होला । अर्काे के मानसिक रोग (रोग नभनौँ मानसिक अवस्था) उत्पन्न भयो भने मानिसलाई ठूलो हुन लगन, मेहनत, इमानदारी नचाहिने भयो । हरेक क्षेत्रमा । पत्रकार पनि नेता भइसकेको देख्छु म । यो मिडिया यसमा राम्रो, यो ठीक भनेर पत्याउन लायक पनि देख्दिनँ । सबै वरिष्ठ । सबै ठालु ।
को बौद्धिक, को पत्रकार, को लेखक, को प्राध्यापक, को व्यापारी, को राजनीतिज्ञ, सबै मान्छे सबै भइरहेको देखिन्छ । छुट्याउनै गाह्रो ।
अर्काे त हाम्रो जीवनशैली पनि होला । जीवनशैली महँगो भयो । दैनिक जीवन निर्वाहमा खर्चपर्च थोरैतिनोले पुग्दैन हिजोआज । को बौद्धिक, को पत्रकार, को लेखक, को प्राध्यापक, को व्यापारी, को राजनीतिज्ञ, सबै मान्छे सबै भइरहेको देखिन्छ । छुट्याउनै गाह्रो । कसरी प्राज्ञिक भइन्छ, कसरी राजनीतिक भइन्छ, कसरी व्यापारी भइन्छ, कुनै छिनोफानो देखिँदैन । हरेक क्षेत्रमा लाभ-हानिका कुरा मात्र प्रधान भए । नमिल्दा कुरा धेरै भए ।
प्रतिपक्ष दल, प्रतिपक्ष समूह पानीमाथिको ओभानो छ त, आत्मालोचना गरेको, शब्दमै भए पनि खास कुनै प्रतिबद्धता जनाएको देखिएन नि ?
यो कुनै नौलो कुरै होइन । कसैले पनि आफ्नो गल्ती-कमजोरी यहाँ सजिलै स्वीकारेको छैन । हाम्रा दलका नेताहरूलाई राजनीतिक दल भनेको के हो, दलको वैचारिक आधारशिलाको महत्व के हो, देशको ऐतिहासिक आकांक्षा के हो भन्नेबारे कुनै चिन्ता छैन । चिन्तनमनन गर्दै त्यसअनुसारको संगठन, नेतृत्व, प्रणाली व्यवस्था गर्नेबारे केही कसैले सोचेकै देखिएन । नसोचेपछि काम के हुन्छ र ? राजनीतिक दलहरूका प्रिय मठ र भक्त छन्, ती पूजापूज-कुदाकुद गर्छन् । आफ्ना आफ्ना क्षेत्रका लागि काम गर्ने भनेर ‘माफिया’ संगठन छन्, असामाजिक स्वार्थ हुन्छन् तिनका । अब ती स्वार्थ समूह र दलहरूबीच केही फरक देखिएन ।
वैचारिक कुरा त हुनै छोडिसक्यो । खालि पद र कुर्सीको भागबन्डामै त छ सबको ध्यान । गणतान्त्रिक संविधान हामीले अंगिकार गरेपछि त्यसअनुसारको शैली, प्रणाली, कार्यशैली, पारस्परिक सम्बन्ध, दायित्वबोध, नयाँ संस्कृतिको प्रयास नै भएन । जसलाई गणतन्त्रै मन परेको छैन र थिएन, तिनीहरूले नै गणतान्त्रिक शासन व्यवस्थामा हालिमुहाली गर्नुपरेको छ, उनीहरूको पीडा बेग्लै छ । सांस्कृतिक चेतनाको तहमा परिवर्तन देखिएन । देखिएन मात्र होइन, प्रयास नै समेत भएन ।
सत्तासीन पार्टीका नेता जो प्रधानमन्त्री निकट पनि छन्, अब यति बेला धर्म निरपेक्षता, संघीयतामा बहस गरौँ भनिरहेका छन् । के अब हामीलाई पछाडि नै फर्किनुपर्ने भएको हो ?
मलाई यी नेताहरूको अहिले नाम पनि लिन मन लाग्दैन । यिनीहरूले गणतन्त्र कहिले स्वीकारेका थिए र अहिले स्वीकार्छन् ? हाम्रो विडम्बना, हाम्रो नियति के भयो भने यो संविधानलाई जसरी पनि बाहिर निकालौँ भनेर प्राकृतिक जन्म हुन दिइएन, हतार हतारमा अपरेसन गरेर बच्चा निकालियो । हाम्रो जनआन्दोलनका बेला अहिलेका यी शासकहरूले के बोलेका थिए, त्यो भुलिएको छ र ? यिनको आलोचना गरेर पार लाग्ने कुरा होइन हो, विकल्प निस्किनु पर्यो नि ?
विकल्प के हो र को हो त नि ?
राजतन्त्र, हिन्दूतन्त्र चाहियो भन्न पाइन्छ । तर हामीले यो सबै देखेको होइन र ? यसले मुलुकलाई कहीँ पुर्याउने होइन, बरु पछि धकेल्ने हो । लोकतान्त्रिक गणतन्त्रको विकल्प बढी लोकतन्त्र हो, बढी जनसहभागिता नै हो, नागरिक चेतना, सत्तामा नागरिक निगरानी–नियन्त्रण नै हो । राजाकै बढी सान थियो भन्ने कुण्ठाका अभिव्यक्तिले पनि कहीँ पुगिँदैन । राजा वा राष्ट्रपतिको सान–मानको कुनै अर्थ छैन, जनताको सान–मान के कस्तो अवस्थामा संरक्षित वा प्रवद्र्धन हुन्छ, त्यो मूल कुरा हो ।
सम्भावनाको केही कुरा गर्नुहुन्छ कि ?
सम्भावना चाहिँ पछाडि फर्केर आउँदैन । पछाडि फर्के त उही बासी, सडेगलेका कुरा मात्र आउँछन् । पछाडि फर्काउने प्रयास नेपाल मात्र होइन, सबैतिर भइराख्या छ । निर्वाचित अधिकनायकवादी सरकार भारतमै छ । हाम्रा आँखा थाप्लोको अगाडिपट्टि छन्, पछाडि छैनन् । हामीले हेर्ने अगाडि हो । अगाडि हिँड्दा खोलानाला, पहाड, भीर आउँछ । कुनै राजा आएर, कुनै हिन्दू मठाधीश आएर बाटो देखाउँदैन, नयाँ सोच र उपाय लिएर अघि बढ्नुपर्छ निरन्तर । मुलुकले कुनै एउटा नयाँ राज्यपद्धतिको होस्, राज्य संस्कृतिको होस्, सामाजिक चेतनाको होस्, सामुदायिक भावनाको होस्, समता, न्याय र चेतनाको नयाँ बाटो समाउनैपर्छ । तर, समग्रमा मानवीयताको पहिचान गराउने उपयुक्त बाटो समाउने प्रयाससम्म नगरेको र यो क्षमता नराखेको देख्दा दिक्कै भने लाग्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया