इकागज संवादमा डा. शम्भुराम सिम्खडा
हरेक दल विदेश मामिलामा एक हुनुपर्छ
मुलुकको प्रतिनिधित्व गर्दै विदेशी भूमिमा पुगेर दुईपक्षीय तथा बहुपक्षीय सम्बन्ध विस्तारमा काम गरेका पूर्वराजदूतहरूको दुई फरक-फरक संस्था छन् । यद्यपि उनीहरू एकै छातामुनि बसेर मुलुक हितमा अध्ययन-अनुसन्धानमा लाग्नुपर्ने हो । परराष्ट्र मन्त्रालयमा जागिर खाएर राजदूत हुनेहरूको एउटा संगठन (एसोसियसन अफ फर्मर करिअर एम्बास्डर्स अफ नेपाल अर्थात् अफ्कान छ । राजनीतिक दलसँग नजिक रहेर वा विद्वताको आधारमा राजदूत हुनेहरूको अर्को संगठन (एसोसियसन अफ फर्मर एम्बास्डर्स अफ नेपाल अर्थात् आफ्ना) बनेको छ । अहिले बनेको संगठनले भने सबै खाले राजदूतलाई प्रतिनिधित्व गर्न सक्छन् । परराष्ट्रबाट सेवानिवृत्त भएकाहरूले घेरा साँघुरो पारेपछि अर्को खोल्ने बाध्यता आइपरेको अनुभव पुराना राजदूतहरूको छ । अफ्कानलाई परराष्ट्रअन्तर्गतको विभागमा कोठासमेत दिइएको छ । तर, आफ्नाले भने दर्ता हुन नै ठूलो संघर्ष गर्न परेकाले कोठा पाउने निकै परको विषय देखिन्छ । संगठनको उद्देश्य, नेपालको कूटनीतिक सम्बन्ध र अहिलेको पछिल्लो अवस्थाबारे आफ्नाका संस्थापक अध्यक्ष एवं पूर्वराजदूत डा. शम्भुराम सिम्खडासँग इकागजका चन्द्रशेखर अधिकारीले गरेको संवाद :
यहाँहरूको लामो समयदेखिको प्रयास सफल भएछ, छुट्टै पूर्वराजदूत क्लब बनाउनु भएछ नि ?
राजदूत भन्ने ओहोदा नै अत्यन्त शिष्ट र मर्यादित पद हो । भनिन्छ नि, नर्क लैजान पनि फकाएर लान सक्नुपर्छ । यसको मतलब दुईपक्षीय विश्वासमा काम गर्न सक्नुपर्छ । हामी यही पदमा रही काम गरेर आयौँ । अहिले यो पदलाई साह्रै न्यूनीकरण गर्ने काम भएको छ । मर्यादा अनुसारको नियुक्ति नगर्ने अनि आचरण पनि नगर्ने हुनाले यसलाई कसरी मर्यादित गर्न सकिन्छ भन्नेमा हामी चिन्तित छौँ । सबै पूर्वराजदूतहरूलाई एउटै मञ्चमा ल्याएर अनुभव आदानप्रदान गर्ने, अनि कूटनीतिको महत्व मात्र होइन, राजदूत पदको मर्यादाका विषयमा सचेत गराउने लगायतका महत्वपूर्ण विषय उठान गर्न हामीले यो संस्था स्थापना गरेका हौँ । पहिला यस किसिमको प्रयास खासै अघि बढ्न सकेको थिएन । अहिले भने अघि बढेको छ । हाम्रो अभियानमा पुराना राजदूतहरू डा. भेषबहादुर थापा, डा. सूर्यप्रसाद श्रेष्ठ, केदारभक्त माथेमा लगायत हुनुहुन्छ । उहाँहरूकै सल्लाह र सुझाव बमोजिम मेरो अध्यक्षतामा कार्यसमिति बनेको छ । उपाध्यक्षमा डा. चोपलाल भुषाल, सचिवमा लक्की शेर्पा, सदस्यहरूमा प्रा.डा. विश्वम्भर प्याकुरेल, डा. अर्जुन कार्की, डा. विजयकान्त कर्ण, डा. ऋषिराज अधिकारी र युवनाथ लम्साल हुनुहुन्छ ।
फेरि पनि राजदूत हुन ‘लबिङ’ गर्न पो यस्तो क्लब बनेको हो कि ?
यस्तो पटक्कै होइन । लबिङ नगरीकन क्षमताका आधारमा राजदूत छनौट हुनुपर्छ भन्ने हाम्रो धारणा हो । बरु भएका अनुभवलाई यहाँ प्रस्तुत गर्ने हाम्रो सोच हो । कोही आफ्नो अवधिभन्दा बढी बसेर आएका साथीहरू हुनुहुन्छ, कोही आफ्नो अवधि पूरा गरेर त कोही अनाहकमा फर्कनु परेका साथीहरू हुनुहुन्छ । समाज र राज्यबाट केही पनि अपेक्षा नराखीकन आफ्नो अनुभव र कार्यक्रमबाट राज्य र समाजलाई योगदान दिन बनेको संस्था हो । पहिला हामीले दर्ता गर्ने क्रममा अनौपचारिक छलफल नै त्यसैबाट सुरु भएको हो । हुनत हामीले आरम्भ गर्दा पनि त्यसबाट दुई जना (नीलाम्बर आचार्य र उदयराज पाण्डे) राजदूत भएर जानुभयो । हुनत हामीले आरम्भ गर्दा पनि त्यसबाट दुई जना (नीलाम्बर आचार्य र उदयराज पाण्डे) राजदूत भएर जानुभयो । त्यो कुनै लबिङ थिएन । सरकारले पत्याएका कारण उहाँहरू राजदूत बन्नुभएको हो ।
हाम्रो संस्थाले लबिङ गर्दैन । बरु सरकारले कस्ता प्रकारका राजदूत पठाउनुपर्छ र कसरी कूटनीतिलाई उपयोग गरी नेपालको पक्षमा लबिङ गर्ने भन्ने विषयमा हामी सुझाव दिन्छौँ । अन्यत्र सरकार फेरिनेबित्तिकै राजदूतहरू फेरिन्छन् । हामी पनि त्यस्तै अभ्यास गर्ने कि, वा ती राजदूतलाई फिर्ता नबोलाउने भन्ने विषयमा बहस गर्ने र सुझाउने हो । अहिले नेपालमा राजदूतको सबभन्दा ठूलो समस्या भनेको शक्ति ग्रहण गर्ने भएको छ । यो गलत हो । हामीले त पद्धतिमा जोड दिन सक्नुपर्छ । आफ्ना अनुभवलाई परराष्ट्र नीति र कूटनीतिसँगै राजनीतिमा पनि उपयोगी बनाउन आवश्यक देख्छु ।
यस्तै क्लब त अर्को पनि छ नि, होइन र ?
हो, अर्को पनि छ । हाम्रो चाहिँ सबै राजदूतका लागि खुला राखिएको छ । हुन पनि यस्तो संगठन एउटै मात्र हुनुपर्ने हो । हामी उहाँहरूलाई स्वागत गर्न आतुर छौँ । राजदूत जताबाट भए पनि पद उही हो । किन यो वा त्यो भनिरहनु पर्यो र ? कर्मचारी र गैरकर्मचारी भन्दै विभाजन गर्न आवश्यक छैन । सरकारले पत्याएर पठाउने पद हो । यसमा कर्मचारीबाट गएका हुन् कि राजनीतिक दल वा अन्य कुनै क्षेत्रमा बसेर अनुभव हासिल गरी, त्यस मुलुकबारे बुझेर काम गर्न सक्ने भएरै सरकारले पठाएको हुन्छ । यो कुरा बुझेर अघि बढ्नुपर्छ ।
राजदूतहरूलाई मलुकको प्राथमिकताबारे बुझाउन निकै हम्मे-हम्मे परेको हुन्छ । कूटनीतिमा यो पार्टी, जात, वर्ग, लिंग यो वा त्यो वाद भन्ने हुँदैन । राज्यले तय गरेको नीतिमा सबैले एक्ट गर्ने हो । शैली मात्र फरक हुन सक्छ ।
अखिर जताबाट गए पनि संसारभरि राजदूत पद उही हो । राष्ट्राध्यक्ष र प्रधानमन्त्री दुवैलाई विदेशी भूमिमा प्रतिनिधित्व गर्ने पद हो । यो पदलाई हल्का बनाउने काम कतैबाट पनि हुनुहुँदैन । मर्यादित पदका रूपमा यसलाई विकास गर्न आवश्यक छ । राजनीतिक नेतृत्वले पनि यो तथ्य बुझेर अघि बढ्नपर्छ । नातागोताभन्दा पनि काबिल व्यक्ति चयन हुनुुपर्छ । कहिलेकाँहि राजदूत नियुक्ति गर्दा असहज हुन्छ । सोचेर बुझेरमात्र राजदूत सिफारिस गर्न सक्नुपर्छ । राजदूतलाई फिर्ता बोलाउँदा र त्यहाँ खाली राखिरहँदा हाम्रा मित्र राष्ट्रलाई नेपालमा राजनीतिक अस्थिरता छ भन्ने सन्देश जान्छ । यस्ता विषयमा ध्यान दिन जरुरी छ । कतिपय मुलुकमा कार्यकारी प्रमुख फेरिनेबित्तिकै सबै मुलुकमा रहने राजदूतले समेत राजीनामा दिने चलन छ । अनि पछि उनीहरूलाई आवश्यकताअनुसार नयाँ कार्यकारीले पुन: जिम्मेवारी दिनसक्छ । कार्यकारीको भरपर्दो व्यक्ति नै राजदूत हुने हो, चाहे परराष्ट्र सेवाबाट होस् या अन्य क्षेत्रबाट । अमेरिकाले आफ्नो ठूलो कारोबार र राजनीतिक चासो रहने मुलुकमा व्यापारी वा राजनीतिक व्यक्तिलाई नै राजदूत बनाएर पठाउँछ ।
यहाँहरूले त यस्तो क्लबभन्दा पनि आफू निकटका पार्टीकै विदेश विभागअन्तर्गत रहेर काम गर्दा राम्रो होइन र ?
सबै दलभित्र यो प्रकारको थिति बस्ने र सबैले यसमा ध्यान दिने भए हामी यसरी कराउन र बुझाउन संगठित हुनै पर्दैन थियो । २०४८ पुस ३ मा मैले लेखेको आर्टिकल यतिबेला पनि सम्झिरहेको छु । त्यो बेलादेखि र अहिले पनि उस्तै अवस्था छ । हामीले बुझ्नपर्छ । कूटनीतिक क्षेत्रमा २०४६ को परिवर्तन पछि धेरै काम भएका छन् । धेरै काम हुँदा केही स्थानमा अनावश्यक कदम पनि उठाइए होलान् तर पञ्चायत र बहुदलको बीचमा विदेश नीतिको फरक के भन्ने विषयमा गहन अध्ययन र विश्लेषण गरौँ न । २०४८ मा बनेको सरकाले पठाएको राजदूत हेरौँ र अहिले गएकालाई नियालौँ । यही कुरा भन्न बुझाउन र आगामी दिनको अवस्था जनाउन पनि संगठित हुन बाध्य भएका हौँ । बहुदलीय व्यवस्थामा आन्तरिक सत्ताका लागि भएको प्रतिस्पर्धा विदेश नीति र सुरक्षा नीतिमा प्रतिनिधित्व हुन गएमा असहज हुने हो ।
हाल यही भइरहेको छ । जुन आरम्भमा थिएन । त्यसैले कूटनीति र राष्ट्रिय सुरक्षा नीतिको हिस्सामा न्यूनतम सहमति हुन आवश्यक छ । राजदूतहरूलाई मलुकको प्राथमिकताबारे बुझाउन निकै हम्मेहम्मे परेको हुन्छ । कूटनीतिमा यो पार्टी, जात, वर्ग, लिंग यो वा त्यो वाद भन्ने हुँदैन । राज्यले तय गरेको नीतिमा सबैले एक्ट गर्ने हो । शैली फरक हुन सक्छ । किनकि राजदूत देखिँदा नेपालको मुहार प्रस्तुत भएको हुन्छ । यस्तो महत्वपूर्ण र सम्मानित पदमा जसलाई मन लाग्यो उसलाई पठाउन हुँदैन । पार्टीेले पनि यसमा ध्यान दिन जरुरी छ । हरेक दल विदेश मामिलामा एक हुन सक्नुपर्छ, भलै विचार र कार्यशैली नमिल्ला तर एक हुनैपर्छ ।
नेपालको विदेश नीति कस्तो हुनुपर्छ ?
हाम्रो भूगोल नै यस्तो छ कि चाहेर वा नचाहेर पनि विश्वकै आँखा लाग्छ । विश्वको नजरमा पर्नु नराम्रो पनि त होइन । तर त्यसलाई व्यवस्थापन गर्न सक्नुपर्छ । विदेशीको चासो व्यवस्थापन गर्न नसक्दा अफगानिस्तानको अवस्था अहिले कस्तो छ ? त्यहाँबाट हाम्रा नेतृत्वले पाठ सिक्न जरुरी छ । त्यही भएर हामीले पूर्वराजदूतहरूले हासिल गरेको महत्वपूर्ण अनुभवहरू र योगदानलाई नेपालको राष्ट्रिय हित, एकता, मुलुकको स्वाधीनता, मातृभूमिप्रतिको गौरव, स्वतन्त्रता सद्भावसहित, परिवर्तित सन्दर्भमा नयाँ ढंगको अन्तर्राष्ट्रिय कूटनीति सम्बन्ध स्थापित गर्न सरकार तथा बहालवाला राजदूतहरूलाई सरकारमार्फत सहयोग गर्ने उद्देश्य लिएका छौँ । संविधानका निर्देशक सिद्धान्तलाई कार्यान्वयनमा सहयोगी भाव राख्दै नेपालका पूर्वराजदूतहरूको प्राज्ञिक, बौद्धिक र कूटनीतिक क्षेत्रमा हासिल गरेको अनुभव र योगदानलाई संगठित एवं व्यवसायीकरण गर्ने, नीति निर्माण र कार्यान्यवन गर्ने विषयमा लागेर त्यसलाई कार्यान्वन तहमा लैजान सक्ने नीति अख्तियार गर्न आवश्यक छ । अझैसम्म पनि कूटनीतिक संयन्त्र थितिमा छैन ।
किन त्यो व्यवस्थित हुन नसकेको होला ?
यसको कारण हो, दलीय द्वन्द्व । संक्रमणकालीन राजनीतिमा दिशानिर्देश गर्ने निकायको मियो कमजोर हुनाले असहजता आएको हो । मुलुकको अन्य क्षेत्रको अवस्था पनि नाजुक बनाउने काम भएको छ । आन्तरिक राजनीतिको छायाँ अन्यत्र पुगिसकेको छ । राजदूतको विषयमा पनि जथाभावी गरिएको छ । यसलाई सहज रुपमा लैजादै शिक्षित र काविल युवाहरूलाई पठाउने कार्यहरू गर्नुपर्ने देखिन्छ ।
यहाँहरूको क्लबले आगामी दिनमा फरक काम के गर्छ ?
हामीले हाम्रो उद्देश्य डकुमेन्टेन्स गरेका छौँ । त्यसमा नै क्रमिक रुपमा काम गर्नेछौँ । आधिकारिक दर्ता लिने काम भएको छ । अब सबै पूर्वराजदूतको भेला बोलाउनेछौँ । यसलाई व्यवस्थित गर्दै अघि बढ्न आवश्यक छ ।
मुलुकको अवस्थालाई कसरी नियाल्नुभएको छ ?
मुलुक त अलमलिएको छ । कूटनीतिक मामिलामा धेरैले चासो राखेर वा बुझेर पनि होला, त्यसमा नै मुलुक घुमिरहेझैँ लागेको छ । हामी ठिक्कको साइजको मुलुकले दुई ढुंगाको तरुलभन्दा पनि डाइनामिक ब्रिज वा अन्य रुपमा यसलाई अघि बढाउन आवश्यक छ । सबैसँग मित्रतामा जोड दिने हो । म लेखिरहेको हुन्छु, हाम्रो कूटनीति विकास कूटनीति नै हो भनेर । त्यसमा नै अडेर हाम्रो कूटनीतिलाई प्रभावकारी बनाउन आवश्यक छ । श्रम कूटनीतिमा ध्यान दिनुपर्ने देखिन्छ । राष्ट्रसंघमा नेपालको उपस्थिति के हो ? पहिलोपटक नेपाल निर्वाचित भएर उक्त पदमा के गर्ने भन्ने स्थिति थियो । यहाँ अनेक कुरा गरेर जालझेल नगरौँ । बाह्य कूटनीतिमा जालझेल नगरौँ । आफैँमा तँछाड मछाड हुँदैन । त्यसैको प्रतिफल अहिले हो । ग्रुमिङ हुनुपर्छ । यदुनाथ खनालको नाम किन लिन्छौँ ? बोल्ने र आफ्नो कुरा राख्ने काम गर्नुहुन्थ्यो उहाँ । अमेरिका, चीन, भारतमा राजदूत हुनुभयो । अहिले त प्रशंसा होइन राम्रो अनि क्यालिभर भएकालाई नंग्याउने काम हुन्छ । आन्तरिक राजनीतिको कुरा त म गर्न चाहन्नँ । कूटनीतिले आन्तरिक राजनीतिलाई नै चलाउन थाल्नु राम्रो होइन यहाँ त्यही भइरहेको छ । राम्रा मानिसहरू पत्ता लगाएर पठाउन सक्नुपर्छ ।
कूटनीतिक क्षेत्रमा अब हुनपर्ने सुधार के-के हुन् ?
खास गरेर यसमा सुधार गर, भन्ने हो । लेख्ने हो । तर पढ्दैनन् त के गर्ने? हामीले किताब लेखेका छौँ । लेख लेखेका छौँ । भिडको दबाब र शक्तिशालीको भाषा सुन्छ, सरकार । सही कुरा सन्दैनन्, कोही । मेरो पुस्तकमा मैले लेखेको छु- अन्तर्राष्ट्रिय सम्बन्धका मुद्दा के-के हुन् ? अन्यले पनि लेख्नु भएकै छ । भारत र चीन सम्बन्धमा देखिने जटिलता के के हुन् ? नेपाल-भारतबीच जनस्तरको सम्बन्ध छ तर चीनसँग सीमापारी बाहेक अन्यको कार्य सम्बन्ध छैन । यस्ता विषयमा छलफल हुनुपर्छ ।
सुधार गर्न कसले रोक्यो त ?
राजनीति खिचातानी र आफ्नो उसको मानिस भन्न शैलीले नै रोकेको हो । हुनत वर्तमान प्रधानमन्त्री अनुभवी र चेतनशील हुनुहुन्छ । पाँचौँ पटक प्रधानमन्त्री हुनुभएका उहाँमा अनुभवको कमी छैन । उहाँले महाकाली सन्धिदेखि अहिलेसम्मको अवस्था राम्रोसँग नियाल्न जरुरी छ । चेतना आउला र अनुभवले सिकाउला भनेर मात्र हुँदैन । जति अनुभव भए पनि पहिला जे गर्नुभएको छ, त्यही गर्नुभयो भने इतिहास दोहोरिन्छ । हामीले सिकेर र बुझेर मात्र हुँदैन । नेतृत्वले सिक्नुपर्छ, बुझ्नुपर्छ ।
एक जना पूर्वराजदूतको नजरमा नेपालको भविष्य कस्तो छ र आगामी दिनमा नेपालले के गर्न सक्ला ?
एकाथरी मानिसलाई के लाग्छ भने हाम्रै जेनेरेसन सबै राम्रो होस् । हामी पनि त्यही भनिरहेका छौँ । जव हामीले विगतकालाई मात्र राम्रो भन्नु पर्ने अवस्था आउँछ त्यसबखत युवाहरू आफैँ अलमलिने छन् । अहिले त्यही भइरहेको छ । जस्तै, डा. भेषबहादुर थापाको करिअर हेर्ने हो भने हामीलाई लोभ लाग्छ । अनि हाम्रो करिअर हेर्दा यहाँहरूको पुस्तालाई लोभ लाग्न सक्ला ।
अहिले नेपालमा राजदूतको सबभन्दा ठूलो समस्या भनेको शक्ति ग्रहण गर्ने भएको छ । यो गलत हो । हामीले त पद्धतिमा जोड दिन सक्नुपर्छ । आफ्ना अनुभवलाई परराष्ट्र नीति र कूटनीतिसँगै राजनीतिमा पनि उपयोगी बनाउन आवश्यक देख्छु।
नेपालको आन्तरिक राजनीति नियाल्दा नेपाल आशा र चिन्ताको द्विविधामा छ । यो जेनेरेसनले गरे हुन्छ तर कहाँबाट सुरु गर्ने ? अन्योल छ । सन् १९६६ देखि आनन्दले बसूँ भन्ने थियो तर अझ यथास्थितिमा राख्ने हो कि भन्नै लागेर यसमा हाम फालेका हौँ । म आशावादी पनि छु । यो जेनेरेसनसँग अनुभव छैन तर ज्ञान छ ।
यो क्षेत्र यति बेला पश्चिमा र उदाउँदा शक्तिको केन्द्रविन्दु नै बनेको छ । भारतको उत्तर र हिमालको दक्षिण भागको पछाडि भन्ने आइसकेको छ । त्यसैले हाम्रो शासन पद्धति ठीक राख्न आवश्यक छ । कूटनीति सफल भएन भने हामी अफगानिस्तानको बाटोमा हुनेछौँ । कूटनीतिमा आउने सहयोग परिचालन गर्न जानेमा त्यो सहयोग, नजानेमा हस्क्षेप बन्नेछ । अहिलेसम्म नेपाल महत्वपूर्ण विदेशी मामलामा तटस्थ देखिएको छ । भविष्यमा नेपाल तटस्थ रहनसक्ने अवस्थामा हुन्छ वा हुँदैन भन्ने, नेपाल कसरी अघि बढ्छ र सरकारको नीति के हुनछ भन्नेमा निर्भर रहन्छ ।
यहाँहरूले आगामी दिनमा कसरी काम गर्नुहुन्छ ?
कूटनीतिक क्षेत्रमा दलीय राजनीति नगर्ने, यसलाई सबै दलको समान धारणासहित व्यवसायीकरण गर्न आवश्यक छ । कर्मचारीले पनि यो कुरा बुझ्न आवश्यक छ । कूटनीति विधाको महत्वपूर्ण पाटो भनेको राजदूतले गर्ने कार्यशैली कस्तो रहन्छ भन्ने हो । राजदूत भन्ने पदको मर्यादा हुन्छ, त्यसलाई हदैसम्मको कर्मचारीकरण, आफन्तीकरण र राजनीतीकरण गर्नु भएन ।
नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र नीतिसम्बन्धी विभिन्न विषयमा छलफल गरेर नेपालको स्वाधीनता र राष्ट्रिय स्वार्थका पक्षमा स्वतन्त्र र संस्थागत धारणा सार्वजनिक गर्न सक्नुपर्छ । यस विषयमा हामीले काम गर्नेछौँ । अन्तराष्ट्रिय स्तरमा नेपालको गरिमा स्थापित गराउन राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरका विविध विषयहरूमा छलफल परामर्श र संवाद गर्दै सरकारलाई सुझाव दिनेछौँ । कूटनीतिक प्रशिक्षणमा पनि जोड दिने हाम्रो योजना छ ।
मुलुक र अन्तर्राष्ट्रिय स्तरमा अभ्यास भएका कूटनीतिक सम्बन्ध र वर्तमान विश्वमा अभ्यास भइरहेको परराष्ट्रनीतिसम्बन्धी विषयमा अध्ययन-अनुसन्धान गरी सुझाव दिनेछौँ । अन्तर्राष्ट्रिय भाइचाराका लागि आवश्यक कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्न आवश्यक छ । यसमा पनि हामीले सरकारको ध्यानआकर्षण गराउनेछौँ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया