इकागज सम्वादमा कुलप्रसाद केसी
संघीय सरकारमा झैं स्पष्ट रोडम्यापसहित लुम्बिनीको गठबन्धन अघि बढ्छ
छिट्टै विश्वासको मत लिदैंछु
लुम्बिनीमा शंकर पोख्रेल नेतृत्वको प्रदेश सरकारलाई विस्थापित गरेर चार दलीय गठबन्धनले नयाँ सरकार बनाएको छ । माओवादी केन्द्रका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् । शिक्षकका रूपमा गिरिजाप्रसाद कोईराललाई कोलोझण्डा देखाउँदा जागिर गुमाएर युद्धमा होमिएका केसी लडाकू कमाण्डर हुँदै मुख्यमन्त्रीसम्म भए । पोख्ररेलकै कार्यकालमा झण्डै ३ वर्ष उनीसँगै सहयात्रा गरेका केसी उनैलाई हटाएर मुख्यमन्त्री बनेका हुन् । संकटका बेला मुख्यमन्त्री बनेका केसीसामु चुनौतीका चाङ छन् । महामारीका बेला जनअपेक्षित काम गर्नुपर्ने चुनौती त छँदैछ, गठबन्धनलाई टिकाइ राख्नुपर्ने बाध्यता पनि उनीसँग छ । पदभार ग्रहणपछि मुख्यमन्त्री केसीसँग लुम्बिनीस्थित इकागज प्रतिनिधि विक्रम खड्काले गरेको कुराकानीः
निकै रस्साकस्सीबीच सरकारको नेतृत्व सम्हाल्नुभएको छ, कसरी अघि बढ्नु हुन्छ ?
पहिलो त विधि प्रक्रियालाई सुव्यवस्थित गर्ने हुन्छ । विधि र प्रक्रियालाई व्यवस्थित गर्ने र स्थापित गर्ने हामी काम गर्छौं । प्रदेशको संरचनालाई बलियो र व्यवस्थित गर्ने काम गर्छौं । नेपालको संविधानअनुसार हाम्रो साझा नीति तथा कार्यक्रम बन्छ । प्रदेशका जनताले के अपेक्षा गरेका छन् ? देखिनेगरी परिणाममुखी कार्यक्रमहरू कार्यान्वयनको चरणमा अघि बढाउँछौं । गठबन्धनको चाहनाअनुसार सरकार अघि बढ्छ ।
जिम्मेवारीसँगै चुनौती पनि धेरै छन् नि ! के के देख्नुभएको छ ?
राजनीतिक रूपले पछिल्लो समय लोकतन्त्रमाथि आक्रमण गर्ने काम भयो । त्यसलाई सही ट्रयाकमा ल्याउन नै हामीले संघर्ष गर्नु पर्यो । नेपालको संविधानमाथि नै प्रश्न उठ्नेगरी अस्थिरता पैदा भयो । विशेषतः पछिल्लो ६ महिना चुनौती भयो । यो अकल्पनीय थियो । यसले यसअघिका स्थायित्वलाई कसरी व्यवस्थित गर्ने भन्ने कुरा राजनीतिक पार्टीका निम्ति पनि स्वयम् एउटा इस्यु नै भयो । लोकतन्त्र र संविधानको रक्षा र संघीयताको व्यवस्थापनको जुन चुनौती थियो, त्यो कानुनी र संवैधानिक रूपले ट्रयाकमा आइपुग्यो । यसलाई कार्यात्मक रूप दिनका लागि आगामी नीति, कार्यक्रम र रणनीति बनाएर अघि बढ्छौं । यसमा नागरिक समाज सरोकारवाला पक्ष सबैको राय सल्लाहलाई पनि मनन् गर्ने छौं ।
गठबन्धनको सरकार छ, यसलाई टिकाइराख्ने चुनौती पनि छ नि हैन ?
गठबन्धनभित्र आफ्नो राजनीतिक पार्टीअनुसारका सोँच फरक हुने कुरा त भइहाल्यो । गठबन्धन भनेको एउटा पार्टीको नीति सिद्धान्तमा बस्ने कुरा हुँदैन । फरक–फरक सिद्धान्त र विचार भए पनि एउटा विषयमा एकठाउँ आएकै कारण गठबन्धन बनेको हो । संविधानको रक्षा र अतिवादलाई पराजित गर्ने उदेश्यले हामी एक ठाउँमा आएका थियौँ । लोकतन्त्र, गणतन्त्रलाई मजबुत बनाउनुपर्छ भन्ने कुरा हो । संविधानको कार्यान्वयनलाई सुव्यवस्थित गर्नुपर्छ भन्ने नै छ । त्यसमा गठबन्धन प्रतिबद्ध छ । हामीले स्पष्ट रोडम्याप नै बनाएर अघि बढ्ने भनेका छौं । त्यसैले खासै समस्या आउला जस्तो लाग्दैन ।
प्रदेश सभाको यो कार्यकाल अब धेरै बाँकी छैन । तर, यही अवधिमा पनि मुख्यमन्त्रीमा आलोपालोको कुरा आइरहेको छ नि ?
हाम्रो आपसी समझदारी जे छ त्यसलाई सुव्यवस्थित गर्ने र संस्कार स्थापित गर्ने कुरा हो । कुर्सीमा आइसकेपछि कुर्सी सिध्याउने मान्छे आफू बाँच्ने लोकतान्त्रिक अभ्यास गर्ने राजनीतिक शक्ति पनि त देख्नुभयो नि । त्यो संस्कारबाट जनतालाई डेलिभरी दिन योग्य प्रतिस्पर्धा पनि आवश्यक हो। यो कुरा पनि हामीले सोचेका छौं । हामी गठबन्धन बनाउदादेखि नै क्लियर भएर सहयात्रा गरेका छौँ । संस्कार देखाउने विषयमा हामी पहिलाका साथीहरूभन्दा अब्बल नै छ ।
पूर्ववत् सरकारले ल्याएको नीति कार्यक्रम र बजेट के हुन्छ ?
बजेट र नीति कार्यक्रम संशोधन त स्वभाविक हुन्छ । त्यसलाई अन्यथा लिनुपर्दैन । जुन पार्टीले संविधानको सर्वोच्चतालाई अपहेलना गरेर अध्यादेशबाट जारी गर्यो, त्यो त गलत मनसाय नै भयो । त्यसरी त जानै हुँदैन । संघीय सरकारले पनि त्यसो गर्यो र नयाँ गठबन्धन सरकारले त्यसलाई प्रतिस्थापन गर्दैछ । यहाँ त पेश गर्ने अनि भागेर हिड्ने गरेको हो । त्यसको त तपाईंहरू आफै साक्षी हुनुहुन्छ, यो त लोकतान्त्रिक अभ्यासभित्र पर्दैन । यो त जनताको निर्वाचित संस्थाले यसलाई सिस्टममा ल्याउनुपर्छ । त्यसकै निम्ति त संसदीय परिपाटी राखिएको हो । त्यहाँभन्दा बाहिर बसेर गर्ने प्रक्रिया त संस्कारगत ढंगले पनि ठीक होइन । यो दुराशययुक्त हो । हामीले प्रदेशको सबै पक्षलाई समेटेर साझा दस्तावेज बनाउने छौं । त्यसमै धेरै कुरा पर्ने छन् ।
मन्त्रिमण्डलले पूर्णता कहिले पाउँछ र विश्वासको मत कहिले लिनुहुन्छ ?
विशेष अधिवेशन टुंगिएपछि नियमित अधिवेशन बोलाउँछौं । त्यसमा नियमित विधेयकहरू ल्याउँछौं । सँगै विश्वासको मत लिन्छौं । यो छिटै नै हुन्छ । यसमा पनि हामी छलफल गरेर छिट्टै निर्णयमा पुग्ने छौं । हामी सदनभन्दा बाहिर गएर कुनै क्रियाकलाप गर्ने पक्षमा छैनौँ ।
स्थायी राजधानीको संरचना निमार्णको काम कसरी अघि बढ्छ ?
जुन प्रक्रिया अघि बढेको छ त्यसलाई डेडलाईन बनाएर टुंग्याउँछौं । जहाँ जहाँ समस्या छ अहिले अस्थायी रूपमै भए पनि कर्मचारी व्यवस्थापन गरेर परिणाम दिनु पर्छ । सुरु भएका कामहरू अवस्यकताअनुसार परिमार्जन गरेर अघि बढ्छन् । समस्याहरू छन् भने बसेरै समाधानको काम खोज्ने छौँ ।
प्रदेश सरकारले संसदमा पठाएको मिडियासम्बन्धी विधेयकको चोतर्फी आलोचना छ, त्यो के हुन्छ ?
सरोकारवाला पक्षसँग बसेर छलफल गरेपछि समस्याहरू समाधान हुन्छन् । त्यसका लागि हाम्रो ध्यानाकर्षण भएको छ । संसदको विशेष समितिमा पुगेको विधेयका विषयमा सरकारले त्यसको सुधारका लागि पहल गर्ने छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया