वार्ता

अन्तर्वार्ता

उमेर पुगेपछि सक्रिय शासन गर्ने रहर छोड्नुपर्छ

विमल आचार्य |
साउन २९, २०७८ शुक्रबार १३:५९ बजे

पत्रकार तथा लेखक भैरव रिसालको आज ९४ औँ जन्मदिन । लामो समय पत्रकारिता गरेका, राजनीति गरेका, उज्यालो कर्णाली अभियान चलाएका, यो उमेरमा पनि लेखपढ गरिरहने शताब्दी लामो समयका जीवन्त संग्रहालय रिसालसँग उनको जन्मदिनको बिहान गरिएको सानो कुराकानी :

यहाँलाई जन्मदिनको धेरै शुभकामना । 
धन्यवाद बाबु, म बिहानैदेखि शुभकामना पाउन व्यस्त छु, आज । खुसी छु । 


यहाँको स्वास्थ्य कस्तो छ ? 
ठीकै छु । उमेरअनुसार मेरो स्वास्थ्य ठीकठाक नै छ । 

अनि यो महामारी कस्तो लाग्यो तपाईंलाई ? 
मलाई त पछि मात्र थाहा भयो- मलाई कोभिड भएछ । म सात दिन ह्याम्स अस्पताल बसेँ । अहिले ठीक छु । 

सुशीला आमा (भैरव पत्नी) लाई पनि भयो ? 
हो, उनलाई पनि भयो । उनी चाहिँ घरमै बसिन् । त्यस्तै एक डेढ महिना पहिले । 

अहिले दुवैलाई ठीक छ नि ?
ठीक छ । 

अस्पताल बस्दा तपाईंको मनमा के कुरा खेले ? 
म रोगसँग डराइनँ । तर परिवारबाट एक्लो भएँ भनेर डराएँ । 

परिवार-सन्तान भन्‍नु के रहेछ ? 
माया गर्ने मान्छे ।

पत्‍नी सुशीलाको साथमा भैरव रिसाल ।

श्रीमान्-श्रीमतीको माया के रहेछ ? 
सबैभन्दा ठूलो सहारा, आड, भरोसा । धेरै माया । 

उमेर के रहेछ त ? 
यो बिस्तारै थाक्दो रहेछ । जाँगर हराउँदो रहेछ । पढ्ने-बिर्सिने हुँदो रहेछ । 

जीवन के रहेछ ? 
क्रियाशीलता । 

अब हजुरको याेजना के छ ?
त्यस्तो केही छैन । 

केही काम पूरा गर्न पाइनँ भन्‍ने छ कि ? 
पत्रकार हुँदा मैले नौ जना प्रधानमन्त्रीसँग प्रत्यक्ष कुराकानी, काम गरेँ । म किताब लेख्‍न चाहन्थेँ । खै, अहिले अलि सकिरहेको छैन । 

तपाईंले त शरीरदान गरिसक्नुभएको छ क्यारे...
हो, हामी दुईले पाटन स्वास्थ्य विज्ञानका नाम हाम्रो शरीरदान गरेका छौँ । 

तपाईं ९४ वर्षमा पनि सक्रिय नै हुनुहुन्छ, तपाईंका छोरा उमेरका ७० वर्षकाले देश चलाएर देश बिग्रियो भन्छन्, के भन्‍नहुन्छ ? 
हो नि त, उमेर पुगेपछि सक्रिय शासन गर्ने रहर छोड्नुपर्छ । उहाँहरुले अब बल नगरे हुने हो । यसमै देशको, उहाँको, उहाँहरुको पार्टीको हित हुन्छ । 

पत्‍नी सुशीलाको साथमा भैरव रिसाल ।

अनि आफू ९४ मा पनि सक्रिय हुने, हामीलाई निष्क्रिय बस् भन्‍ने, भन्लान् नि ?
मैले जागिर छोडेको आज हो त ? म लेखपढ पो गरिरहेको छु, पदमा बसेर जागिर त खाएको छैन नि । उहाँहरुले लेखपढ गर्नुपर्छ, परिवार, सन्तानलाई समय दिनुपर्छ । पदमा नबसेर पनि राज्यलाई योगदान गर्न सकिन्छ, यो सोच्‍नुपर्छ जस्तो लाग्छ है मलाई । 

तपाईं राणा, राजा, प्रजातन्त्र, पञ्चायत, लोकतन्त्र, गणतन्त्र, संघीयता सबै देख्नु-भोग्‍नुभयो । एक शताब्दी लामो अनुभव छ यहाँसँग । अझै पनि व्यवस्थाकै लडाइँ लड्नुपर्छ भन्छन् कोही, के भन्‍नुहुन्छ ? 
लोकतन्त्र वा प्रजातन्त्रबाट अघि वा पछि जानु हुँदैन । यसैका खराबी कम गरेर यसैमा अघि बढ्नुपर्छ । 

छाडापन आयो पनि भन्छन् त ? 
यो नबुझ्नेले भन्छन् । हामी सानो हुँदा सिंहदरबार वरिपरि हिँड्न पाइँदैनथ्यो । अहिले पृथ्वी सालिक छ नि, त्यहाँ हिँड्न पाइँदैनथ्यो । सिंहदरबार-भद्रकाली मुनिबाट हिँड्नुपर्थ्यो । हामीले त्यस्तै यानतावाला शासन खोजेको हो त ? 

नेपालको भविष्य कस्तो देख्नुहुन्छ ? 
पात्र फेरिए उज्ज्वल देख्छु । नफेरिए झन् झन् अँध्यारो । 


Author

विमल आचार्य

सामाजिक विषयमा कलम चलाउने आचार्य अप-एड तथा फिचर ब्यूरो चिफ हुन्।


थप समाचार
x