इकागज संवादमा सुरेन्द्र चौधरी
घर-घरमा पैसाबाहेक अर्को कुरै हुन छोडेको छ
भारतसँग जोडिएको नेपालको प्रमुख व्यापारिक नाका हो, वीरगन्ज । त्यही सहर अर्थात् पर्सा जिल्लाबाट बौद्धिक र प्रजातान्त्रिक राजनीति गर्छन्, सुरेन्द्रप्रसाद चौधरी । प्रजातन्त्रका निम्ति आठ वर्ष जेल जीवन खेपेका उनी २०४६ यता पटक-पटक सांसद अनि मन्त्रीसमेत बने । एक पटक उनले कांग्रेससँगै वितृष्णा पोख्दै पार्टीबाटै राजीनामा समेत दिएका थिए । पछिल्लो समय मुलुक बौद्धिकभन्दा पनि ‘लठैत’हरूको कब्जामा गएको टिप्पणी गर्छन्, चौधरी । उनी भन्छन्, ‘अध्ययन–अनुसन्धान केही छैन, कसरी हुन्छ, कमाऊँ भन्नेतिर अधिकको ध्यान हुँदा मुलुकले यो संकटपूर्ण अवस्था झेल्नुपरेको हो ।’ उनी नेपाल मात्र होइन कि पछिल्लो समय विश्व नै ‘लठैत’ पपुलिस्टहरूको कब्जामा गइरहेकोले चिन्ता व्यक्त गर्छन् । राजनीतिशास्त्र, अंग्रेजी साहित्यका तेजिला उनै कांग्रेस नेता चौधरीसँग विश्वपरिवेश, नेपालको राजनीति र कूटनीतिमा बदलिँदो सन्दर्भमा केन्द्रित रहेर इकागजका चन्द्रशेखर अधिकारीले गरेको संवाद :
अधिकांश समय अध्ययनमा नै हुनुहुन्छ, विश्व राजनीतिमा नेपाललाई कहाँ पाउनु भएको छ ?
विश्वमा यतिबेला ‘लिबरल अर्डर’ कमजोर हुँदै गएको छ । भू-राजनीति (जिओ-पोलिटिक्स) फेरि फर्किएको झैँ आभास भएको छ । यो फर्कनु भनेको उग्रदक्षिणपन्थी, बिग्रिएको वामपन्थी र पुरातनवादीहरू हाबी हुनु हो । म शीतयुद्धपछि हराउँदै गएको ‘जिओ पोलिटिक्स’को पुनरागमन भएको देख्छु । जसले विश्वलाई क्षेत्रीय द्वन्द्वतिर धकेल्दै छ । लोकतन्त्र भनेको विधिको शासन (रुल अफ ल) हो । तर ‘जिओ-पोलिटिक्स’ शक्तिमा आधारित (पावर वेस्ट) नै हो । यसले शक्ति शक्तिबीच द्वन्द्व बढाउँछ । क्षेत्रीय शक्तिको चलखेल बढी भएको छ ।
नेपाल पनि त्यसमा अछुतो रहन सकेको छैन । संसारभर जसरी यो क्षेत्रीयता र भू-राजनीतिक प्रभाव बढ्दो छ, त्यसबाट नेपाल बाहिर रहन सक्दैन । अमेरिका होस् या छिमेकी भारत सबै जस्तो स्थानमा ‘लिबरल अर्डर’ कमजोर हुँदै गएको छ । यो ‘ग्लोबल फेनोमेनन’ नै हेर्ने हो भने स्पष्ट हुन्छ कि विश्व राजनीतिमा ‘पाराडाइम सिफ्ट’ नै हुँदैछ । बाह्य सम्बन्ध पनि विधि, सिद्धान्त र विचारका आधारमा चलेको छैन । मुलुक मुलुकबीचको सम्बन्धमा ‘नेसनल इन्ट्रेस्ट’ लाद्ने कार्य भएको वा हाबी भएको देखिन्छ । विचारको राजनीति (आइडोलोजिकल पोलिटिक्स) पाखा लागेको छ । जसका कारण हामी नयाँ विश्व व्यवस्था होइन कि नयाँ विश्व अव्यवस्था (डिसअर्डर)तिर गइरहेका छौँ ।
यस्तो विश्वमा नेपाल कहाँ छ र प्रभाव के छ ?
यही अवस्थाको फाइदा उठाउँदै नेपालमा शक्तिको चलखेल बढी नै भएको छ । यहाँ क्षेत्रीय शक्तिको खेल बढेको छ । नेपालको राजनीतिक पार्टीहरूमा ‘आइडोलोजिकल न्यारेटिभ्स’हरू ओरालो लागेका छन् । नयाँ खुलेकाहरूको पनि त्यस्तो ‘न्यारेटिभ्स’ र ‘भ्यालू सिस्टम’ देखिँदैन । नेपालमा यतिबेला ‘आइडोलोजी’ नै छैन । केवल व्यक्तिवादी राजनीतिलाई सर्वाधिक महत्व दिइएको छ । त्यस्तै राजनीतिमा रम्नेहरू हाबी भएका छन् । यसले गर्दा सबै मन्त्री हुन खोज्ने सबै सत्ता–शक्तिको पछि लाग्नैपर्ने अवस्था आएको छ । राजनीति गर्ने भनेकै पद पाउन र पैसा कमाउन जस्तो भएको छ । राजनीति पद र पैसा मात्र हुँदै होइन, तर त्यसलाई नै स्थापित गर्न खोजिँदै छ । नयाँ पुस्तालाई पनि त्यसमा ढाल्ने काम भएको छ ।
जातीय, क्षेत्रीय, धार्मिक राजनीतिक सबैतिर ‘फल्ट-लाइन’ अर्थात् ‘क्र्याक’हरू देखापरेको छ ।
यहाँ त सांसद भएर आउने र मन्त्री हुने अनि पैसा कमाउने भन्ने ध्येय पलाएको मात्र देख्छु । जसले अर्थको व्यवस्था गर्न सक्छ वा त्यो व्यवस्थापनमा निपुण हुन्छ ऊ नै मन्त्री हुने अवस्था आइसकेको छ । यसलाई राजनीतिमा ‘मौद्रिकीकरण’ भनिन्छ । आज मुलुकका राष्ट्रिय संवैधानिक निकाय ध्वस्त भएका छन् । आजको न्यायालयमा सुधार हुन आवश्यक छ । त्यहाँ हुने ‘मौद्रिकीकरण’लाई रोक्न आवश्यक छ । राजनीति अपराधीकरणको मारमा परेको छ । राजनीतिक अपराधीकरण बढ्दो छ । न्याय कमजोर भएको छ । निर्वाचन लड्न करोडौँ रुपैयाँ खर्च गर्नुपर्ने अवस्था आएको छ ।
यहाँको आशय राजनीति सही दिशामा नजाँदा भ्रष्टाचार मौलायो भन्ने हो ?
यसमा कुनै शंका नै छैन । भ्रष्टाचार त राजनीतिको एउटा ‘लाइसेन्स’ जस्तो भइसकेको छ । राजनीति गर्नेहरू आफ्नो सचिवालय खडा गरी मुलुकको अवस्थाबारे अध्ययन गर्छन् । राजनीति गर्नेहरु विद्वान्हरूसँग कसरी अघि बढ्ने भन्ने सोच्छन्, तर यहाँ त्यो कतै देख्नुभएको छ ? राजनीति सेवामा आधारित हुनुपर्ने तर ‘मनिटाइजेसन’ अर्थात् ‘मौद्रिकीकरण’ भयो । नेपालको राजनीति मौद्रिकीकरण हुनमा विश्व परिवेश र छिमेकको प्रभाव पनि पक्कै छ । यहाँ त जतिसुकै असल र विद्वान नेता नै किन नहोस्, पैसा नभए निर्वाचन नजित्ने अवस्था आयो ।
कांग्रेस नेता चौधरी
हुन त, घर–घरमै पैसाको बाहेक अर्को कुरा हुन छाडेको छ । पढ्ने भनेको ज्ञान हासिल गर्न होइन, पैसा कमाउनेकै लागि मात्र हो भन्ने थिति बसिसक्यो । समाज नै यस्तो भइसकेको छ कि दलाली गरेर पैसा कमाउनेको इज्जत हुने तर दुःख गरी अध्ययन गर्ने, रिसर्च गर्ने नयाँ नयाँ विषयमा विश्व राजनीतिको बहस गर्नेहरू ओझेलमा पर्ने गरेका छन् । अनि मुलुक कसरी बन्छ ? जबसम्म मुलुकमा बौद्धिकताको खाँचो औँल्याइँदैन तबसम्म मुलुक यस्तै लठैत पाराले अघि बढ्नेछ । केही वर्षदेखि मुलुक लठैतहरूको कब्जामा हुँदा यस्तो अवस्था आएको हो । भ्रष्टाचार बढेको हो । बिचौलियाहरूको बिगबिगी भएको हो ।
मुलुकमा असल नेता नै कोही भएनन्, सबै कमाउनतिरै लागे भन्ने हो यहाँको विश्लेषण ?
हो, त्यही नै हो । निर्वाचन जितेर म ‘बेस्ट पार्लियामेन्टेरियन’का रूपमा काम गर्छु भन्ने सोच भएको सांसद मलाई देखाउनुस् त ? आफूलाई समाजले ‘बेस्ट पार्लियामेन्टेरियन’को रूपमा चिनोस् भन्ने त हुनुपर्यो नि । नयाँ पुस्तामा झन् त्यो धैर्य मैले देखेको छैन । मुलुकको गरिबीको अन्त्य, कोभिडबाट छुटकारा, कमजोर बनेको न्याय, अस्तव्यस्त शैक्षिक व्यवस्था, स्वास्थ्य क्षेत्रको सुधार लगायतका विषयमा कहाँ बहस भएको छ ? नेता वा मन्त्री त्यो हुनुपर्छ, जो पार्लियामेन्टमा आफ्ना कुरा राख्छ, सुधारको योजना सुनाउँछ । मुलुकको चिन्तन गर्छ । त्यस्तो व्यक्ति सरकारमा देखिनुपर्ने हो । तर, त्यो भइरहेको छैन । हामी यहाँ नयाँ व्यवस्थामा छौँ । त्यसलाई कसरी चलाउने ? संवैधानिक निकायबीच सन्तुलन कायम कसरी गर्ने, आमनागरिकलाई न्याय कसरी दिलाउने जस्ता विषयमा सांसदहरूको ध्यान खोई ?
भ्रष्टाचारी, जाली नोटको कारोबार गर्ने, अवैध धन्दा गर्ने, कालो धनलाई सेतो बनाइदिन सक्नेहरू राष्ट्रिय राजनीतिमा उदय भए, जसको सजाय हामी नेपालीले भोग्नुपरेको छ ।
मुलुकको व्यवस्था नियाल्न अन्यत्र जानै पर्दैन । एउटा घरमाथि बसेर सडक हेर्नुहोस् त्यहा देखिने बेथिति अनि एउटा सरकारी अस्पताल पुग्नुहोस् र उसले पाउने सरकारको रकम बुझ्नुहोस्, त्यति भए सबै छर्लङ्ग हुन्छ । मुलुकको व्यवस्था । आफूलाई सधैँ अब्बल ठान्ने ओली महोदयले पनि कुरा मात्र गरे । उपदेश धेरै दिए, उपदेशअनुसार आफू उदाहरण बनेनन् । यहाँ वरिष्ठ चिकित्सकसमेत आफ्नो ड्युटीमा हुँदैनन् । अनि, विधिको कुरा र मुलुक सुधार गर्ने कुरा मुखले मात्र गरेर हुन्छ ? जनतालाई खोप दिन नसक्ने अनि सुरुमा केही थान खोप ल्याएर ‘पपुलिस्ट’ काम गरेर भाषण ठोकेर मुलुक बन्छ ? अघिको सरकारले गर्न नसकेको कुरा यो सरकारले गर्नुपर्नेमा यो पनि गफमा नै अलमलिएको देख्छु । सरकार विस्तारसमेत हुन नसक्नुले सरकारको चरित्र पनि बाहिर आउँदै छ । खोप...खोप... भनेपछि त्यसको व्यवस्थापन र समन्वय हुनुपर्यो । मुलुकभित्र तीन तहको सरकार छ, त्यसको समन्वय हुन सकिरहेको छैन ।
संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय भएन भन्न खोज्नुभएको हो ?
हो, झट्ट हेर्दा मुलुकमा तीन थरीका सरकार छन् । तर अराजकता पनि उत्तिकै छ । सबै तहमा रहेका सरकारकै अराजकताले नागरिक हैरानीमा छन् । चारैतिर भ्रष्टाचार मौलाएको छ । तीन सरकार हुनेबित्तिकै असल शासन हुन्छ भन्थ्यौँ, त्यो देखिएन । उल्टो भ्रष्टाचार मौलाएको पो देखिन थाल्यो । असल शासनको ‘थेओरी’ नै छ, ‘सरकारको संख्या धेरै भएर असल शासन हुने होइन । व्यवस्थित र कानुनी शासनमा आधारित एकै सरकारले नै त्यसलाई असल शासनको संज्ञा दिनेछ ।’ नागरिकले भ्याक्सिन पाएका छैनन् ।
गाउँ र प्रदेशमा अर्बौं बजेट पुगेको छ । तर त्यसको सुपरभिजन खोई ? सबै नेता मन्त्री बन्न तलुवा खियाइरहेका छन् । बिहानै शक्ति केन्द्रमा धनुष्टंकार गरिरहेका छन् । अनि कसरी असल शासन कायम हुन्छ ? पाँच वर्षअघि सात खर्बको ऋण थियो । मुलुकमाथि १७ खर्ब ऋणको भार पुगेको छ । अनि हामी त्यस्तो ऋण बोकेर संघीयता चलाउने, घरपिच्छे मन्त्री बनाउने ? सबै राजनीतिज्ञ हुने ? कसैले काम गर्नु नपर्ने ? आदर्श र सिद्धान्तविहीन राजनीतिमा हामी कहिलेसम्म अघि बढ्ने ? नेपालमा यही तवरले सबै अघि बढ्ने हो भने राजनीतिक अराजकता थप बढेर जाने देखिन्छ ।
यहाँले त पछिल्लो परिवर्तनले मुलुकलाई थप संकटमा लगेको पो देखाउनु भयो त ?
मुलुकमा गलत ‘न्यारेटिभ्स’ र ‘डिस्कोर्स’ फैलाएर परिवर्तन गराइएको हो । द्वन्द्व चर्काउन जुन गलत ‘न्यारेटिभ्स’ र ‘डिस्कोर्स’हरू उपयोग भए, त्यहीअनुरूप मुलुकलाई ढाल्न खोज्दा मुलुकमा अधिक ‘फल्ट–लाइन’ देखिन थालेको छ । जब मुलुकमा ‘फल्ट-लाइन’ देखिन्छ, तब विदेशी शक्तिले खेल्छ । जातीय, क्षेत्रीय, धार्मिक राजनीतिक सबैतिर ‘फल्ट-लाइन’ अर्थात् ‘क्र्याक’हरू देखापरेको छ । राजनीतिकभन्दा जातीय बैठक हुन्छ, धार्मिक बैठक हुन्छ । राजनीतिक दलको बैठकमा पनि त्यही विषय प्रमुख बन्छ । द्वन्द्व चर्काउन जातपात र धर्मको नाममा द्वन्द्व गरियो । अझै पनि त्यसैले निरन्तरता पाएको छ । जात ‘मल्टिनेसनल’ भनियो । लेनिनले सत्ता कब्जा गर्न मल्टिनेसनल बहस चिरेका थिए, त्यहीकारण सोभियत संघ टुक्रिएको हामीले भुल्यौँ । हरेक जात राष्ट्र हो भने किन एकै स्थानमा हुन्छन् त ? लेनिनले कुनै परिस्थितिमा भनेको विषय नेपालमा व्याख्या गरेर मुलुकलाई ध्वस्त पार्ने काम भयो, १० वर्षे द्वन्द्वमा ।
नेपालमा राष्ट्रिय सुरक्षा व्यवस्था, विकास व्यवस्था, न्याय व्यवस्था, सामाजिक व्यवस्था, स्वास्थ्य व्यवस्था लगायत सार्वजनिक विषय अलपत्र छन् । चालकविहीन गाडीझैँ देखिएको छ, नेपाल ।
नेपाल भनेको बहुसांस्कृतिक, बहुधार्मिक, बहुभाषिक हो । त्यसलाई ध्यानमा राखेर हामीले राष्ट्रियताको सूत्रमा बाँध्नुपर्छ । नेपाल हाम्रो हो भन्ने भावना खण्डित होइन, मण्डित गर्न आवश्यक छ । राष्ट्रिय स्वार्थभन्दा पनि जातीय, धार्मिक, साम्प्रदायिक, क्षेत्रीय स्वार्थ ठूलो भन्ने भावनाले कुनै पनि मुलुक बलियो बन्न सक्दैन । यसले ‘फल्ट–लाइन’हरू धेरै पार्ने हुनाले सचेत हुनैपर्छ । भारतमा आठ सय वर्षसम्म मुस्लिमले शासन गरे । दुई सय वर्ष बेलायतीले शासन गरे । त्यहाँ देखिएको सामाजिक व्यवस्थाको ‘फल्ट-लाइन’लाई ‘क्यापिटलाइज’ गरेर भारतमा उनीहरूले शासन गरेका थिए । यतिबेला नेपालमा पनि त्यस्तै ‘फल्ट-लाइन’ देखिन थालेको छ । जातीय व्यवस्थाहरू भारतको राजनीतिमा विखण्डित थियो । युद्धकालीन व्यवस्थामा महाजनपथ थिए । साना-साना राजतन्त्र थिए । त्यहाँ ‘फल्ट-लाइन’हरूले गर्दा विदेशी शासकहरूले शासन गर्न थाले । नेपालमा गलत ‘न्यारेटिभ्स’ बनाउँदै जातीय व्यवस्थाको ‘फल्ट-लाइन’ तयार गर्ने काम भइरहेको छ । यो हाम्रा लागि निकै गलत कार्य हो । यसमा सचेत हुनैपर्छ ।
उसो भए हाल देखिएका ‘फल्ट–लाइन’मा टेकेर विदेशी आइरहेका छन् र खेलिरहेका छन् ?
हो, यहाँ विदेशी आएका मात्र छैनन् कि मलुकको ‘सोसियल इन्जिनियरिङ’ नै उनीहरूले आफू अनुकूल बनाइरहेका छन्, नेतृत्वमा रहेका वा उनका अघि–पछि लाग्ने लठैतहरूलाई उपयोग गरेर खेलिरहेका छन् । विश्वमा पुरानो शासन व्यवस्था ध्वस्त हुँदै गर्दा नयाँ विश्व व्यवस्था पनि बनिसकेको छैन । यसले गर्दा क्षेत्रीय राजनीति हाबी भएको छ । त्यसको प्रभाव यहाँ पनि परिरहेको छ । नेपाल कोभिड-१९ को संकटमा छ । ग्लोबल ट्रेड वार (चीन र अमेरिका) चलिरहेको छ । यही समय नेपालमा राष्ट्रिय सुरक्षा व्यवस्था, विकास व्यवस्था, न्याय व्यवस्था, सामाजिक व्यवस्था, स्वास्थ्य व्यवस्था लगायत सार्वजनिक विषय अलपत्र छन् । चालकविहीन गाडीझैँ देखिएको छ, नेपाल ।
हामी नेपाली नागरिकता बोकेर हिँड्ने, तर यो समुदायको भनी चिनाउने अनि कसरी मुलुकको विकास हुन्छ ? नेपालमा बीपी र महेन्द्र मिलेर सबैलाई नेपाली पढ्न लगाए । मधेसमा बस्नेले पनि नेपाली सिके । यो किन गराएका होलान्, सोच्न आवश्यक छ । जसले नेपालीकरण गराउने काम भयो । विचार साहित्यकारले दिए होलान् तर नेपाली भावना र सबैलाई एककठ्ठ गर्ने काम नेपाली नागरिकताले गरेको छ । नेपालमा हिन्दीमा निस्कने पम्प्लेटहरू बीपीले नेपालीमा निकाल्न थाले । भारतमा नै रहेर पनि नेपालीमा निकाले । बीपीले आफू बसेको घरमा नै प्रेस राखेर नै नेपालीमा पम्पलेट निकाल्ने गर्थे । त्यसको कारण हो, सबै भाषाभाषी, जाति, धर्मलाई एक सूत्रमा बाँध्ने । नेपाली हौँ भन्ने भावना बढाउने जसले राष्ट्रियतालाई बलियो पार्छ । खण्डित कार्यमा गराउने काम नेपालमा पसेका विदेशी वा विदेशरूपी नेपालीहरूले सोसियल इन्जिनियरिङ गरिरहेका छन् ।
यहाँको भनाइमा ०६२/६३ को आन्दोलन र त्यसको उपलब्धिले हामी झन् पछाडि धकेलिएका छौँ भन्ने हो कि ? के हो, स्पष्ट पारिदिनुस् न ?
यसमा कुनै शंका छ र ? हामी झट्ट हेर्दा अघि बढेको जस्तो देखिन्छाैँ, तर सबै हिसाबले पछाडि हिँडेका छाैँ । यसको अर्थ संविधान र अन्य उपलब्धिलाई कम आँकलन गरेको होइन । त्यसलाई ‘एक्ट’ गर्नेहरू ठीक भएनन् । त्यसलाई गलत ढंगले अघि बढायौँ र द्वन्द्वमा जे अपनायौँ, त्यही प्रयोग गर्दै गएको देखिएको छ । हामी अग्रगमनतर्फ छैनौँ । झन् पछाडि धकेलिएका छौँ । विकास भनेको कबिलाकरण (ट्राइबलाइजेसन) होइन । आधुनिकीकरणतिर उन्मुख हुने त्यो पनि विगतको परम्परालाई सम्मान गर्दै हो । त्यसैले हामी विकासमा निकै पछि परेका छौँ ।
हामी हाम्रै इतिहास पढ्दैनौँ अनि ठूला गफ गरिरहन्छौँ । हामी ‘लोकरिझ्याइँ’ हुने कुरा गर्छौँ । अमेरिकी अध्येता एवं राजनीज्ञि निक्सनले भनेका छन्, ‘राजनीतिशास्त्रको पनि शास्त्र हो, इतिहास । इतिहास पढ्नैपर्छ, विगतलाई आत्मसात् गर्नैपर्छ । अनि राष्ट्रिय विकासको धारणा अब्बल बनाउँदै जाने हो ।’ यहाँ नेपाली नागरिकता लिने अनि आफू पहाडे, मधेसी, यो वा त्यो जात, समुदाय भन्ने कार्य अन्त्य गर्नुपर्छ । नेपाली हो भनेर भाषण गर्न सक्नुपर्छ । ‘आइडेन्टिटी पोलिटिक्स’लाई परिवर्तन गर्न सकेमात्र मुलुकको राजनीतिमा केही स्थिरता देखिन्छ ।
हामी आधारभूत रुपमै जडसूत्रवादीतिर उन्मुख भइरहँदा मुलुकको विकासमा धब्बा लाग्नेछ । प्रकृतिमा अमिबा होस् या ब्याक्टेरिया भाइरस उनीहरूले समेत स्थान पाएको हुन्छ भने यहाँ मानिसले स्थान नपाएको वा अवसर नपाएको भन्दै त्यसमा नै अडेर वकालत गर्ने होइन । समग्र मुलुकहित हेरेर अघि बढ्न आवश्यक छ । जडसूत्रवादी धारणा त्यागेर अघि बढ्न आवश्यक छ । ग्लोबल सिटिजनको कुरा गर्ने अनि जडताको संस्कृति ? राम्रो कुरा होइन । यसले कबिलाकरण गर्छ । अधिकांश राजनीतिक दलका नेताहरूको सोसल इन्जिनियरिङ जातपातको आधारमा विदेशीले गरिरहेका छन् । त्यसमा सचेत भएर अघि बढ्न आवश्यक छ ।
यहाँको भनाइलाई आधार मान्ने हो भने हामीकहाँ पूरै विदेशीकै राज छ, नेपाली नेता त गोटीमात्र हुन् भन्ने देखियो नि ?
मैले सबै नेता त्यस्ता छन् भन्न खोजेको होइन । अधिकांश नेता गोटी भइरहेका छन्, बुझेर वा नबुझीकन । त्यो त देखिएकै छ । नाम नै किन लिन प¥यो र ? यसमा मैले दुई कारण देखेको छु । यहाँको ‘सोसियल इन्जियिरिङ’ विदेशीले गरिरहेका छन् । त्यसमा एक्ट गर्नेहरू धेरै नेता नै छन् । दक्षिण एसियामा दुई ‘नेभिगेसन’ छ । चीन र भारतको ‘डाइरेक्ट टसल’ अनि अमेरिका र चीनको ग्लोबल रूपमा देखिएको ‘टसल’ । त्यहीभित्र अडेको विश्व व्यवस्थामा परिवर्तनको नयाँ संकेत । जसले गर्दा नेपाल त्रिशक्तिको बीचमा रह्यो ।
सात समुन्द्रपारिको अमेरिका, भारत र चीनको प्रत्यक्ष उपस्थिति यहाँ छ । उनीहरू आमने–सामने हुँदा नेपाल रणनीतिक प्वाइन्ट अर्थात् सामारिक क्षेत्रमा छ । दुवै शक्तिमा ‘इनसर्कल’ छ, नेपाल । यो चासोको विषय हो । १६ औँ १७ औँ १८ औँ र १९ औँ शताब्दीको अन्त्यसम्म पनि विश्वको चासो तिब्बतमा थियो । चासोका तीन कारण व्यापार, धर्म, संसारको उचाइमा रहेको मुलुक । चीनमा जब तिब्बत जोडियो । त्यो चासो नेपालमा पोखियो । अनि, नेपालमा आँखा परेको हो । तिब्बतको ब्लुवाटर (सबैभन्दा अधिक पानीको रिजर्भ) तिब्बत हो । सबै नदीको हेड तिब्बत हो । त्यसलाई सुरक्षा दिने पर्खाल नेपाल हो । नेपालबाट नै तिब्बतलाई जोड्ने हो । हरेकले हरेकलाई यहाँ रहेर चेक गर्न खोजेको छ ।
भारत चीनले, चीनलाई भारत र अमेरिकाले । त्यसको बीचमा इन्डो प्यासिफिक रणनीति–आईपीएस) र चीनले अघि बढाएको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआराई)को चेपुवामा पनि हामी नै छौँ । त्यसको चेपुवामा दक्षिण एसिया नै रहेको भए पनि हामी पनि अछुतो हुने कुरा एन । नेपालमा भीमसेन थापाको समयमा मात्र स्थायित्व थियो । त्यसपछि कसैले पनि त्यो तय गर्न सकेन । बाहिरको ‘थ्रेट’ रोक्न सकेनन् । बाह्य ‘थ्रेट’ कूटनीतिक र रणनीतिक चाल रोक्न सकिन्छ, लठैत पाराले रोक्न सकिँदैन । ज्ञान चाहिन्छ, ज्ञानका लागि अध्ययन अनुसन्धान व्यापक भएको खै ?
तपाईं ‘फल्ट-लाइन’देखि भू-राजनीतिक चेपुवासम्मका धारणा राख्नुभयो, अब गर्ने चाहिँ के त ?
जब बौद्धिक व्यक्तित्वभन्दा लठैतहरू नै राजनीतिमा आउँछन्, बिचौलियाहरू राजनीतिमा आउँछन्, अनि कसरी मुलुक अघि बढ्न सक्छ ? त्यस्ता प्रवृत्ति रोक्नुपर्छ । हो, केही राम्रा नेताहरू चिन्ता गरिरहेका छन् । उनीहरू भन्दैछन्, ‘हामी भड्खारोमा जाँदै छौँ ।’ यसरी भनिरहँदा पनि नेतृत्वले अझै पनि सरकारमा बौद्धिक व्यक्तित्व नलगीकन आफैँ सर्वज्ञानी हुने प्रवृत्ति छ । नेपाल ‘स्प्रिअलिजम’बाट बनेको र अडेको मलुक हो । जेनेभामा शिवको मूर्ति छ । वार्साको लाइब्रेरीमा नेपाली धर्मसंस्कृति, युनेस्को अगाडि बुद्ध । अनि हेरौँ, मुस्लिम र हिन्दूसमेत मिलेर बसेको हाम्रो विगत । यो सबै पुरातनबाट आएको हो । हामीले त्यसलाई ‘क्यास’ गर्न सकेनाँै । हामीले ‘सफ्ट पावर’ र हामीभित्रको शक्तिलाई चिन्न सकेनौँ ।
हामीले जसरी अर्काका लागि लड्न ‘मसल्स’ प्रयोग गर्यौँ, त्यो अझै पनि जारी छ । हामी स्वतन्त्र रहनुमा ‘स्प्रिचुअल’ सोच र अन्याय सहन नसक्ने कारण नै हो । राजनीति आफैँमा ‘स्पेसलाइज्ड’ विषय हो । यो मूर्खहरूले चलाउने होइन । अध्ययन नगरेका मानिसले आफैँलाई चलाउन सक्दैन भने मुलुक कसरी चलाउन सक्छन् ? त्यही हुनाले व्यापारी, धार्मिक, विदेशी सबै यसमा सबै पसे । ‘एन्टी-इन्टएक्चुअल पोलिटिकल कल्चर’ अर्थात् अनपढहरूको राजनीतिक संस्कृति बढेर गयो । भ्रष्टाचारी, जाली नोटको कारोबार गर्ने, अवैध धन्दा गर्ने, कालो धनलाई सेतो बनाइदिन सक्नेहरू राष्ट्रिय राजनीतिमा उदय भए, जसको सजाय हामी नेपालीले भोग्नुपरेको छ ।
यस्तो राजनीतिमा यहाँको पार्टी नेपाली कांग्रेस कहाँ छ नि ?
यो भू-राजनीतिमा नेपाली कांग्रेस एकदम अव्यवस्थित ‘आइडोलोजिकल’ स्कुललाई बोकेर राष्ट्रिय राजनीति धान्न खोज्दै छ । जुन कुरा दिगो हुने देखिँदैन । कांग्रेसभित्र नेतृत्व क्षमता नभएका मानिसहरू छन्, जसको ‘स्कुल अफ थट्स’ नै छैन । स्कुलिङ भएका कारण नै सुकरेट, एरिस्टोट, प्लेटो जन्मिएका हुन् । मुर्खबाट हुने भए विज्ञ वा विद्वान् किन खोज्दै हिँड्ने ? स्कुल नहुँदा प्रशिक्षण कहाँ गर्ने ? बीपीले समाजवादको कुरा अघि ल्याए । त्यही विश्व परिवेशमा बिकिरहेको छ । तर कांग्रेसले त्यसलाई छोडेको देखिन्छ । बीपीको ‘भिजन’मा सान्दर्भिक हुँदै अघि बढ्ने हो । बीपीको भिजनलाई क्यास गरेर कांग्रेस अघि बढ्नु आवश्यक छ । जुन उद्देश्यले कांग्रेस आयो, तर अहिले खोइ त्यो छैैन । अपवित्र बनाउने काम लठैतहरूले गरिरहेका छन् । यसमा सचेत हुन आवश्यक छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया