इकागज आर्काइभ
राजा महेन्द्रको सम्बन्धमा बीपीले नेगेटिभ कुरा गरेको मैले कहिल्यै सुनिनँ
नेपालमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाका जेठा छोरा प्रकाश कोइराला गिरिजाप्रसाद कोइराला र राजा ज्ञानेन्द्रको मन्त्रिपरिषद्मा सात-सात महिना मन्त्री भए । आफूलाई संवैधानिक राजतन्त्रवादी बताउने कोइरालाले इकागजको एक घण्टा लामो संवादमा २०१७ सालको ‘कू’को केन्द्रमा आफ्ना बुवा र राजा महेन्द्रको सम्बन्धबारे केही बोले, केही खोले । ‘बोल्ने कुरा केही छैन’ भन्दै सुरुमा बोल्न तर्किएका उनले ‘मुलुक अत्यन्तै ठूलो संकटबाट गुज्रिरहेको महसुस गरिरहेको छु’ भन्दै प्रभाव र हस्तक्षेपका सन्दर्भमा बारम्बार ‘हिस्दुस्तान’ शब्द उच्चारण गरे । प्रस्तुत छ, पूर्वकांग्रेसी नेता कोइरालासँग विकास थापा र विमल आचार्यको संवाद :
तपाईं हिजोआज आफैँले आफैँलाई के सोधिरहनुभएको छ, मनमा खेलिरहेका प्रश्न के छन् यहाँका ?
मुलुक कतातिर जान थालेको होला ? किन देशमा यत्रो खराबी हुँदा पनि चुप बसेका छौँ हामी ? यस्तै यस्तै ।
अनि आफ्नै प्रश्नमा आफ्नै जवाफ नि ? कि नाजवाफ हुनुहुन्छ ?
मुलुकको स्थिति म राम्रो देखिरहेको छैन । दलहरू पूर्ण रूपले असफल भएको देखिरहेको छु । मुलुक अत्यन्तै ठूलो संकटबाट गुज्रिरहेको महसुस गरिरहेको छु । मुलुकमाथिको ठूलो क्राइम हो यो । विश्वमा नेपालको जे पहिचान हिजो थियो, त्यो इज्जत-फिज्जत अब केही बाँकी छैन ।
यस्तो स्थिति अहिले अचानक आएको हो कि इतिहासको निरन्तरता हो ? संकटको जग पनि त होला ?
मुलुक यति बिग्रेको पहिला कहिल्यै थिएन ।
अब हामी एकैचोटि पुराना दिनतिर जाऔँ । सायद तपाईंको जीवनको पहिलो सम्झना २००७ सालतिर हुनुपर्छ...
हो, अलिअलि मात्र ।
यहाँलाई २००७ सालको क्रान्तिको के सम्झना छ ?
हाम्रो परिवारै राजनीतिक थियो । घरको माहोलबाट मैले केही परिवर्तन हुँदै छ भन्ने चाल पाएको थिएँ । म चार वर्षको मात्रै भएको हुँदा थप धेरै सम्झना चाहिँ छैन ।
क्रान्तिको नेतृत्व आफ्नो बुवाले गरिरहेको थाहा थियो ? अथवा पछि कहिले थाहा पाउनुभयो ?
हाम्रो परिवार धेरै ठूलो थियो । धेरै पछिसम्म पनि संयुक्त परिवार हो, हाम्रो । घरमा आइमाई नै आइमाई मात्रै, कि त हामी केटाकेटी मात्रै । मलाई दुई वर्ष हुँदासम्म पनि आफ्नो आमा को हो भन्ने थाहा थिएन । म कहिले हजुरआमासँग कहिले नोना, सुशीला, रोसा आमाहरूसँग सुत्थेँ । बुवाहरू घरमा नबस्ने हुँदा मलाई अलिकति चाहिँ थाहा थियो । स्कुल-छिमेकमा पनि तेरो बुवा यस्तो उस्तो भनेर कुरा हुन्थ्यो ।
कस्तो कुरा ?
बुवालाई प्रधानमन्त्रीबाट हटाउँदा म विराटनगरमा ८ कक्षामा पढ्थेँ । हजुरबुवाले खोलेको आदर्श स्कुलमा म पढ्थेँ । ‘बीपी खराब नै हो । राजाले ठीक गर्यो’ भन्थे धेरैले ।
तपाईंको किशोर मनले के भन्थ्यो नि ?
घरमा एउटा र बाहिर अर्कै सुन्थेँ म । ममा खुल्दुली हुन्थ्यो, खास के होला त भनेर ।
बुवा प्रधानमन्त्री हुँदा तपाईं काठमाडौँ आउनु भएन ?
छुट्टीमा कहिलेकाहीँ आउँथेँ । एक-दुई पटक आएँ ।
आउँदाका सम्झना के छन् ?
प्रधानमन्त्री निवास त्रिपुरेश्वरमा थियो । राजा महेन्द्रसित बीपीले भेटेको याद छ । हिन्दुस्तानका प्रधानमन्त्री जवाहरलाल नेहरुको नेपाल भ्रमण हुँदै थियो । त्यो भ्रमणलाई सफल पार्ने हिसाबले बीपी र राजाको पटकपटक भेट भएको मलाई सम्झना छ । सिंहदरबारमा उहाँलाई कहाँ राख्ने, ब्यांकेटमा कसरी प्रबन्ध गर्ने, यस्ता कुरा भएको मलाई याद छ ।
राजा र प्रधानमन्त्री सँगैसँगै पुल अवलोकन गर्न जाँदा तपाईं पनि सँगै हुनुहुन्थ्यो, हैन र ?
हो, त्रिपुरेश्वर नजिकको अहिले न्यु रोड भन्छन् नि, त्यसको पश्चिमतिर एउटा पुल बन्दै थियो । मोटामोटी त्यही एरिया हो, कुन हो त बिर्सेँ मैले । पुल अवलोकन गर्न भनेर राजा महेन्द्र र मेरो फादर (बुबा) जाँदा म पनि थिएँ त्यसबेला ।
त्यति सानो बालक उहाँहरूसित सँगै हुँदा के अनुभूति भएको थियो ?
मलाई के अप्ठेरो परेको थियो भने राजा महेन्द्र एकातिर, नयाँ मान्छे उहाँ राजा भन्ने थाहा पाएँ । राजा एकातिर म बीचमा छु, त्यो नै मलाई अप्ठ्यारो लागेको थियो । मैले सुरक्षित फिल गरेको थिइनँ । सिंहदरबारको बैठक कसरी सजाउनेलगायतका कुरा भएको थियो उहाँहरूबीच ।
संयुक्त राष्ट्रसंघको मुख्यालयमा एक महिना गएर बस्नुस्, अनि थाहा हुन्छ नेपाल कहाँ छ ? कहीँ केहीमा छैन नेपाल ।
सरकार गठन गर्न ढिलो भएको थियो, के सुन्नेभएको थियो तपाईंले ?
धेरै सम्झना त छैन । यति सम्झना छ कि प्रथम आम निर्वाचन भएको थियो । नेपाली कंग्रेसले दुई तिहाइबाट जितेको थियो । दुई तिहाइ हुँदा त तीन-चार दिनमा चट्ट सबै कुरा हुनुपर्ने हो नि । भएन । आपसमा खिचातानी चल्यो होला भन्ने अनुमान गर्न सकिन्छ ।
घरमा बुवाले के भन्नुहुन्थ्यो ?
अरू त थाहा छैन, त्यसबेला कंग्रेसको नेतृत्वको होडबाजी देखिएपछि मेरो आमा चिन्तित हुनुहुन्थ्यो । आमाले मेरो फादरलाई के भन्नुहुन्थ्यो भने ‘सुवर्णजीलाई प्रधानमन्त्री बनाइदिनस् र तपाईं पार्टीको काम गर्नुस् । सामाजिक काम गर्नुस् । झगडाफगडा नगर्नुस् । यसले पार्टीभित्र तिक्तता ल्याउँछ ।’
अनि बुवाले के भन्नुभयो ?
त्यो आमाको प्रस्ताव न थियो । सत्तामा जाँदा मनमुटावसहित जानु हुँदैन भन्ने सुझाव दिनुभएको न हो । मेरो आमा गान्धी पोलिसीबाट अलि बढी प्रभावित हुनुहुन्थ्यो ।
परिवारका अरू सदस्यले केही सल्लाह दिनुभको थियो कि ?
धेरै त सम्झना छैन मलाई । तर मेरो परिवारमा आमाको धारलाई मन पराएका थिएनन् ।
पुस १
तपाईंले प्रजातन्त्र खोसिँदै छ, बुवालाई हटाइँदै भन्ने थाहा पाउनुभएको थियो ?
म स्कुलबाट बाहिर निस्किँदाखेरि आदर्श विद्यालयको गेटको ठ्याक्र्याक्क अगाडि चिया पसल थियो । त्यहाँ धेरै जना चिया पिउँथे । त्यो पसलमा बसेकाहरूको मेलै टीकाटिप्पणी सुनेँ— ऊ हेर हेर, त्यसैको बुवा जेल पर्यो । मैले कू भन्ने शब्द पनि सुनेँ । मलाई कू भनेको के हो भनेर थाहा थिएन । उनीहरूको बोलीमा अलिकति गिज्याइजस्तो थियो । ‘ठीकै भयो, जेलै पर्नुपर्थ्यो’ भन्ने आवाज पनि सुनेँ । मलाई त्यति दुःख चाहिँ लागेन ।
किन दुःख लागेन ?
घरमा सधैँ राजनीतिक माहोल भको हुनाले । घर नै आमसभाजस्तो हुन्थ्यो । धेरै मानिस आइरहन्थे, गइरहन्थे । घरका लोग्नेमान्छेहरू कहाँ छन्, के गर्छन्, थाहै हुँदैनथ्यो । जेल परे, आन्दोलन गरे यस्तै कुरा बच्चादेखि सुनेको हुनाले होला, मलाई खासै ठूलो कुरा होइन होला भन्ने लागेको हुनसक्छ । मातृका बाबु जेल जानुभको सुनिरहेको थिएँ म । केही अनौठो, केही विचित्र, केही नराम्रो त भयो, जुन मैले बुझिरहेको छैन भन्ने महसुस भएको थियो मलाई ।
बुबालाई दुःख दिने भनेर राजासँग रिस उठेन किशोर उमेरको तपाईंलाई ?
घरमा निराश वातावरण थिएन । रिसभन्दा पनि मलाई अचम्म लागेको थियो । कुरा त के थियो भने जेल गएकामा समर्थन गरेको मात्र सुनेँ मैले चिया पसलमा । चिया पसलमा प्रजातन्त्रलाई चोट पर्यो भन्ने आवाज मैले सुनिनँ । बीपीलाई समर्थन गर्ने आवाज पनि सुनिनँ ।
तिनीहरूलाई केही जवाफ दिनु भएन त ?
कहाँ दिनु, तर्सिसकेको थिएँ म त ।
अब अहिलेको आँखाले हेर्दा २०१७ सालको कू के रहेछ त ?
कंग्रेसले दुई तिहाइ ल्यायो । अनएक्स्पेक्टेड (अनपेक्षित) रूपमा ल्यायो भनौँ । पार्टीभित्र नेतृत्व चयनमा धेरै समय नलाग्नुपर्ने थियो । र, क्याबिनेट फर्मेसनमा पनि त्यत्रो समय नलाग्नुपर्ने हो । यो सब लम्बिएको राजालाई पनि मन परेको थिएन । राजाले कहिले तुलसी गिरीलाई फोन गर्ने, कहिले सूर्यबाबु (सूर्यप्रसाद उपाध्याय)लाई फोन गरेर छिटो गर्नुपर्यो भनेर भन्न थालेका थिए ।
आदर्श स्कुल अगाडिको चिया पसलमा ८ कक्षामा पढ्ने प्रकाशले के सुन्यो भने— यसकै बाबुलाई हो राजाले जेल हालेको । त्यहाँ राजाले बेठीक गरे भन्ने आवाज मैले एक जनाको पनि सुनिनँ ।
कू जस्तो कठोर कदम किन चालियो ?
राजा महेन्द्रलाई चिन्ता थियो । उहाँ त नेसनलिस्ट (राष्ट्रवादी) मान्छे हो । उहाँले के हेर्नुभयो होला भने हिन्दुस्तानको भूमिका र प्रभाव बढ्दै गएको लाग्यो होला उहाँलाई ।
महेन्द्र नेसनलिस्ट थिए भन्नुभयो, बुवाभन्दा पनि नेसनलिस्ट भन्न खोज्नुभएको हो ?
हेर्नुस्, म कसरी हेरिरहेको छु भने । २००७ सालमा परिवर्तन त भयो तर क्रान्ति भएको थिएन, कम्प्रोमाइज (सम्झौता) भयो । नेपालमा अहिलेसम्म कुनै क्रान्ति नै भको छैन । अहिलेसम्मका सबै कम्प्रोमाइज हुन् । राजा त्रिभुवन दिल्ली गए । उनलाई भारतीय दूतावासले दिल्ली लग्यो । मातृका बाबु, बीपी बाबु सबै दिल्ली पुग्नुभयो । त्यो सम्झौता कस्तो भएको छ भने त्यो एग्रिमेन्टबाट न मातृका, न बीपी सन्तुष्ट हुनुहुन्थ्यो । मातृका बाबुले त आफ्नो किताबमा लेख्नुभएको छ, हैदराबाद हाउस डाकियो दिल्लीमा । एग्रिमेन्टको दस्तावेज देखाइयो र साइन गर्नुपर्यो भनियो । मातृका बाबुले एकपटक एग्रिमेन्ट पढ्न दिनुस् भन्नुभयो । पढ्नसमेत दिइएन । यो लेख्नुभको छ, उहाँले । त्यो सम्झौतापछि हिन्दुस्तानको प्रभाव ह्वात्तै बढ्यो । मोहनशमशेरको नेतृत्वमा क्याबिनेट बन्यो । प्रतिपक्ष भनेको कंग्रेसबाट बीपी र गणेशमानसहित केही मन्त्री हुनुभयो । इन्डियाको मान्छे पनि क्याबिनेटमा राखियो ।
इन्डियाको मान्छे...
इन्डियाको सिफारिस भनौँ न । राजा त्रिभुवनको सेक्रेटरियट पनि हिन्दुस्तानकै थियो । हिन्दुस्तानको बढ्दो इन्टेस्ट महेन्द्रलाई मन परिरहेको थिएन ।
कू-को मूल कारण हिन्दुस्तानको प्रभाव बढेकै भएर मात्र हो त ?
हो, हिन्दुस्तानको प्रभाव कम गर्छु भनेर राजाले सत्ता सुरु गरेका हुन् । उनी उसको (भारतको) प्रभावबाट धेरै नै चिन्तित थिए ।
बीपीलाई नहटाई देश बच्दैन भन्ने भयो उसो भए राजालाई ?
हेर्नुस्, यसमा धेरै कुरा छन् । बीपी र महेन्द्र मिलेको पनि देखिन्छ । इजरेलको मुद्दामा उहाँहरू एक हुनुभयो । हिन्दुस्तानले इजरेललाई मान्यता दिन चाहिरहेको थिएन । नेपालले आफ्नै अडान लियो ।
उहाँहरूबीच अरू के-के कुरामा सहकार्य भयो ?
धेरै कुरामा भयो नि । विराटनगरमा पढ्दा म बिदामा दुई-तीन महिनासँगै बस्दा राजा महेन्द्रको सम्बन्धमा बीपीले नेगेटिभ कुरा गरेको मैले कहिल्यै सुनिनँ ।
यसलाई परिस्थितिको सही आँकलन गर्न नसकेको भनेर बीपीको कमजोरीका रुपमा पनि त भन्न सकियो नि ?
विभिन्न सांस्कृतिक कार्यक्रममा राजा, रानी, बुवा, आमासँगै म पनि हुन्थेँ । उहाँहरूबीच राम्रो सम्बन्ध थियो । यसलाई कसैको कमजोरी भन्नभन्दा परिस्थितिअनुसार बुझ्नुपर्छ ।
बीपी र महेन्द्रलाई धेरैले ‘एकै जंगलका दुई सिंह’ भन्छन् नि ?
विश्वबन्धु दाइ (थापा) ले के भन्नुभएको छ भने उहाँ हाइली एम्बिसियस (धेरै महत्वाकांक्षी) मान्छे । बीपी पनि एम्बिसियस मान्छे नै हो । दुई तिहाइ जितेर आएको मान्छे । त्यो (दुई सिंह भन्ने कुरा) हुन सक्छ ।
खास के हो त ?
त्यही नै, राजामा हिन्दुस्तानको प्रभाव बढेकामा धेरै चिन्ता बढेको थियो भन्ने मेरो व्यक्तिगत बुझाइ छ । क्याबिनेटको निर्णय इन्डियन एम्बेसीमा पुग्दो रहेछ । राजाले यो देखिरहनुभएको रहेछ । बहुदलीय व्यवस्था आएपछि भारतको प्रभाव ह्वात्तै बढेको त म देखिरहेको छु । गिरिजाबाबुको क्याबिनेटमा पनि म मन्त्री भइसकेको मान्छे ।
महेन्द्रतिरै फर्कौ न, उनका कमजोरी के देख्नुहुन्छ तपाईं ?
हाइली एम्बिसियस मान्छे । यही नै हो ।
नेपालमा अहिलेसम्म कुनै क्रान्ति नै भको छैन । अहिलेसम्मका सबै कम्प्रोमाइज हुन् ।
त्यति एउटा मात्रै कमजोरी ? २०१७ सालमा प्रजातन्त्र खोस्नु उनको कमजोरी थिएन र ?
हेर्नुस्, उनले सायद त्यसो नगरेको भए बेटर हुन्थ्यो कि ? मैले आफ्नो फादरलाई जोगाउन खोजेको हैन । बीपीमा अन्तर्राष्ट्रिय झुकाव बढेको भनेर ठान्नु महेन्द्रको त्यहाँनेर गल्ती देखिन्छ । जसरी राजा नेसनलिस्ट हुनुहुन्थ्यो, बीपी पनि उसरी नै नेसनलिस्ट हुनुहुन्थ्यो ।
को बढी ?
दुवै बराबर ।
राजा महेन्द्रले मुलुकका लागि के गरे त ?
कूटनीतिक रूपमा यत्रो सम्बन्ध विकास गरे । नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन राजा महेन्द्रको जति योगदान कसैको छैन ।
पञ्चायतको ३० वर्ष र त्यसयताको यो ठीक ३० वर्षबारे तपाईंको बुझाइ के हो ?
पञ्चायती ३० वर्षे कालको तुलना यो ३० सँग गर्न सकिँदैन । त्यहाँ नेसन बिल्डिङ भको छ । यता नेसनलाई कमजोर पार्ने काम भको छ । पूरै हिन्दुस्तानको डिक्टेसन (निर्देशन) मा चल्न थाल्यो नेपाल । नेपाल सार्वभौमिक स्वतन्त्र राष्ट्र हो कि हैन भन्ने भइसकेको छ । बहुदलीय व्यवस्थाले सुवर्ण अवस्थामा नेपाललाई ल्याउँछ भन्ने विश्वास भको मान्छे म आफैँ पनि हुँ । बहुदल चल्न थालेको छैन, एक डेढ वर्षमै मलाई थाहा भइसक्यो कि यो बहुमत प्राप्त सरकार पनि चल्दैन । मध्यावधिमा जानुपर्छ । गठबन्धन बनाउनुपर्छ । खालि सत्ताको मात्र चिन्ता छ । जनताको चिन्ता त छँदै छैन ।
र, यहाँहरू जस्ताको साथ लिएर राजा ज्ञानेन्द्रले पनि त चलाउन सक्नुभएन नि ?
चलाउन दिनुभयो तपाईंहरूले ? कमसेकम तीन वर्ष कुर्न त सक्नुहुन्थ्यो । जम्मा तीन वर्ष मागेको, डेढ वर्ष पनि चलाउन दिनुभएन तपाईंहरूले । तपाईंहरू राजालाई तीन वर्ष पनि चलाउन नदिने अनि ३० वर्षमा देशलाई यो खराब स्थितिमा पुर्याइदिने ?
अझै अलिकति पुरानै कुरातिर फर्कौं, एकचोटि बीपीले ‘बच्चा बेलामा म यिनीहरूसँगै बस्न पाइनँ, मसँगै भको भए प्रकाश अर्कै हुने थियो’ भन्नुभएको रहेछ । के भन्नुभएको होला ?
हाम्रो नर्मल लाइफ (सामान्य जीवन) थिएन नि । घरमा बुवा छैन । को हो आमा भन्ने दुई वर्षसम्म मलाई थाहा थिएन । घरमा आइमाई नै आइमाई । कोही जेलमा छ, कोही कहाँ छ, कोही कहाँ छ, केही थाहै छैन । बुवाले एक दिन मलाई के भन्नेभयो भने ‘ए प्रकाश, कागज-कलम लिएर आइज ।’ लिएर उभिएँ । यस्तै कोठमा थियौँ । पर्दा थिएन । भन्नुभयो, ‘त्यो दृश्य हेरिरहेको छस् बाहिर ? तँ घरभित्र छस् । त्यहाँ रूखहरू छन् । ल यो कोर्, लेख्’ भन्नुभयो । मैले ‘के लेख्ने ? के कोर्ने ?’ भनेँ । उहाँले ‘त्यो दृश्यलाई यसमा लेख् न’ भन्नुभयो । भनाइको तात्पर्य के भने ‘यो आर्टिस्ट हुने हो कि के हुने हो’ भनेर उहाँ मलाई जाँच्दै हुनुहुँदो रहेछ । हामी सानोमा विराटनगरमा भयौँ । पछि उहाँ जेलमा पर्नुभयो । कहिले प्रवासमा भयौँ । फादरको एब्सेन्स (अनुपस्थिति) खड्किन्थ्यो । असुरक्षित महसुस पनि हुन्थ्यो ।
यहाँको हजुरबुवा कृष्णप्रसाद कोइरालादेखि लगातार सय वर्ष राजनीतिको केन्द्रमा छ, कोइराला परिवार ? अब कोइराला परिवार केन्द्रबाट परिधितिर जाँदै छ कि कसो हो ?
हेर्नुस्, अब यो किसिमको राजनीति काम छैन । म त मनीषा (छोरी)लाई पनि यही भन्छु । आफ्नै खुट्टामा उभिएर गर्नुस्, जे गर्नुहुन्छ ।
सुरुमै यहाँले धेरै चिन्ता गर्नुभएको थियो, विश्वमञ्चमा नेपालको इज्जतफिज्जत गुम्यो भनेर...
संयुक्त राष्ट्रसंघको मुख्यालयमा एक महिना गएर बस्नुस्, अनि थाहा हुन्छ नेपाल कहाँ छ ? कहीँ केहीमा छैन नेपाल । अन्तर्राष्ट्रिय फोरमहरूमा २०, २२ वटामा त हुटिङफुटिङ भइरहेको हुन्छ कि हुँदैन ? त्यहाँ नेपाल कहाँ छ ? राजदूतको डिग्निटी छैन । गुरु हिन्दुस्तानले जे भन्छ, नेपाल त्यही हो भन्न थालेका छन् सबैले । अमेरिकाले हिन्दुस्तानको नजरबाट हेर्छ, नेपाललाई ।
अहिले यतिबेला ‘राजा आऊ, देश बचाऊ’ नारा सुनिन थालेको छ, किन हो यो आन्दोलन ?
नेसन बचाउन । अहिलेसम्म नेपालमा कहिल्यै स्वतःस्फुर्त क्रान्ति भएको छैन । यो पहिलो क्रान्ति हुँदै छ । अहिले हेर्नुस्, हरेक सहरमा एक मात्र झन्डा छ । नेपालको झन्डा छ । त्यहाँ कुनै दलको झन्डा छैन । दलको झन्डा निषेध गरिएको छ । मुलुकलाई बर्बाद पारिसकिएकाले यो राष्ट्रबचाउ आन्दोलन हो ।
आफ्नै कुर्सी र परिवार बचाउन नसक्ने राजाले देश बचाउलान् त ? राजा भनेर पूर्वराजा वा अरू कोहीलाई बोलाइएको हो ?
गिरिजाबाबुलाई मैले २०६१/६२ सालमै भनेको थिएँ । यसले नेपाललाई बर्बाद त पार्छ पार्छ, नेपाली कंग्रेस पनि डुब्छ भनेको थिएँ । किसुनजी, रामबाबु प्रसाईंले कंग्रेस छोड्नुभयो । आखिर भयो यही पनि ।
राजा महेन्द्रको सम्बन्धमा बीपीले नेगेटिभ कुरा गरेको मैले कहिल्यै सुनिनँ ।
कंग्रेस कहाँ छ आज ? कंग्रेसलाई के सुझाव छ यहाँको ?
अब कुनै विकल्प नै छैन । कंग्रेस बीपीको बाटोमा जानैपर्छ ।
बीपीको बाटो भन्नाले ?
कन्स्टिट्युसन मोनार्की (संवैधानिक राजतन्त्र) मै जानुपर्छ ।
यहाँको भाइ शशांक कोइराला पनि यस्तैयस्तै कुरा गरिरहनुभको छ, यहाँ त कांग्रेस महामन्त्री अर्थात् आफ्नो भाइको प्रमुख राजनीतिक सल्लाहकार नै हुनुहुन्छ कि क्या हो ?
(हाँसो) म रिपब्लिकन हैन । शशांक, शेखर जो होला । म उनीहरूलाई सबैलाई सधैँ भन्छु कि उपन्यासको अन्तिम पृष्ठ लेख्ने होइन । नयाँ लेख्ने पो लेखक । नयाँ परिस्थिति आउँदै छ । तयार भएर बस भनेको छु । अब यी आयातित सबै एजेन्डा फेल भएर गइसके ।
बीपीको दुई तिहाइको सरकारपछि अहिले दुई तिहाइको सरकार छ, अवरोध महेन्द्र भए, अहिले के देख्नुहुन्छ ?
नेपाल व्यवस्था र सरकार रिमोटबाट चलिरहेको छ । रिमोटमा चल्ने सरकारको पतन कसरी हुन्छ ? तासको पत्ता जसरी झर्छ यो ।
यहाँले यो व्यवस्था नै खराब भनिरहनुभको छ, व्यवस्था खराब हो कि यसका पात्र ?
हेर्नुस्, राजा वीरन्द्रले धेरै सोचविचार गरेर बहुदलीय व्यवस्था दिएको हो नि । यसमा म कहाँ हुन्छु त भनेर परिपक्व निर्णय लिएका हुन्, उनले । बहुदलपछि राजा र सरकारबीच विश्वासको वातावरण भएन । नागरिकता, टनकपुरलाई लिएर राजाले सरकारलाई सम्झाएका छन् । किसुनजी अन्तरिम कालको प्रधानमन्त्री भएपछि दुई-तीन महिनापछि राजासित ब्रिफिङमा जाँदा भन्नुभएछ- विकासको मूल फुट्यो, अब विकास गर्न पर्यो । यसका लागि पैसा चाहिन्छ । त्यसैले नेपालको आर्मी यत्रो ठूलो छ । आर्मी घटाएर विकास गर्ने हो कि भन्ने प्रस्ताव गर्नुभयो । किसुनजीले यो प्रस्ताव दिल्लीबाट आएपछि गर्नुभएको रहेछ । आर्मी मुलुकलाई किन आवश्यक छ भनेर उसले शिक्षादीक्षा दिएको रहेछ । यो त मलाई थाहा भएको कुरा भयो । यस्ता कति छन् छन् । म गिरिजाबाबु र राजा दुवैको क्याबिनेटमा थिएँ । दुवैमा सात—सात महिना मन्त्री भएँ । दुई क्याबिनेटको तुलना गर्दाखेरि नेसनप्रति प्रतिबध्दता म राजाकोमा देख्थेँ, यता देख्दिनथेँ । ज्ञानेन्द्रले तीन वर्ष चलाउन पाको भए देखाइदिने थिए । राजाले सत्ता किन लिए कारण त केही होला नि, के राजा पागल थिए र ?
राजाको धेरै गुणगान गाउनु भयो । बीपी मेलमिलापको नीति लिएर नेपाल आएपछि पनि त राजाले राम्रो गरी हेर्नु भएन नि उहाँलाई । बीपीलाई गरेको व्यवहार आम जनताले रुचाएका थिएनन् । त्यसलाई के भन्नुहुन्छ ?
उहाँ नेपाल आउँदा बीपीमाथि अदालतमा धेरै खाले चार्ज थिए । फौजदारी चार्ज नै २० वटा थिए । अधिवक्ता गणेशराज शर्मालाई उहाँले के भन्नुभयो भने ‘नेपालको जुडिसियरी सिस्टम (न्यायप्रणाली) स्वतन्त्र छ ?’ उहाँले यो सोधेरै न्याय दिन सक्छ कि सक्दैन भन्न त खोज्नु भएको हो नि उहाँले । त शर्माजीले के जवाफ दिनुभयो भने ‘हिन्दुस्तानभन्दा उच्च जुडिसियरी छ नेपालमा ।’ र, त्यो शर्माजीले बोल्नुभएको सात दिनपछि कोर्टले बीपीलाई न्याय दिएको छ । बीपीलाई फाँसी दिनुपर्छ भन्ने सूर्यबहादुर थापाहरू थिए । बीपी र वीरेन्द्रबीच पनि विश्वासको वातावरण हुन सकेन । राम्ररी वार्ता हुनै दिएनन् । जनमतसंग्रह बीपीको कारण भयो । सुधारिएको पञ्चायत आयो । बीपीले स्वागत । एउटै कुरा बहिष्कार गर्नुभयो । दललाई छुट थिएन । झन्डा र चुनाव चिह्न माग्नुभयो बीपीले । तर, यी दुवै बाहिरबाट बढी प्रभावित हुने रहेछन् ।
(*शीर्षक सम्पादन गरिएको)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया