वार्ता

इकागज संवार्ता

'एमाले दक्षिणपन्थी भासमा गएको पतनोन्मुख पार्टी हो'

हरिबहादुर थापा |
कात्तिक २५, २०७८ बिहीबार ८:४९ बजे

बहुदलयता जो संसदीय निर्वाचन चुनाव जित्दै माननीय बन्थे । उनको पार्टी एमाले पटक–पटक सत्तारुढ भइरह्यो, उनी चाहिँ माननीयमै मात्र अल्झिए । अर्थात् कहिल्यै मन्त्री हुन पाउँदैन थिए । अनि सधैंभरि प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका सदस्यमै सीमित हुन्थे । उनी २०४८, २०५१, २०५६, २०७४ मा मकवानपुर प्रतिनिधि सभा सदस्य भएका थिए । मन्त्री हुने अवसर नमिलेकै कारण उनका हकमा प्रयोग हुने शब्द बन्यो, ‘सधैंका माननीय’ । तर एमाले विभाजनपछि नेकपा समाजवादीतिर पुगेका विरोध खतिवडालाई स्वास्थ्य मन्त्री हुने अवसर मिलेको छ । भन्छन्, ‘पहिला त, वरिष्ठ व्यक्तिहरू मन्त्री बन्नु राम्रो लाग्यो, तर कनिष्ठले पनि उछिनेपछि चाहिँ ‘फिलिङ’ फरक हुँदो रहेछ ।’ उनै खतिवडासँग मन्त्री बनेपछिको अनुभव, प्राथमिकता र नयाँ पार्टी अघि बढाउने सवालमा केन्द्रित रहेर इकागजका निम्ति हरिबहादुर थापाले गरेको कुराकानी :

तपाईं लामो समय केवल माननीय सांसद र अनि लेखा समितिको सदस्यमै सीमित हुनुभयो, तपाईंलाई त मन्त्री हुन पनि पार्टी विभाजन हुनुपर्ने स्थिति आयो, कारण के होला ?
मन्त्री र पार्टी विभाजन हुनुबीच कुनै साइनो–सम्बन्ध छैन । पार्टी एउटा मोडमा थियो र कुनै पनि बेला ‘क्र्यास’ हुने स्थितिमा थियो । उक्त पार्टी ढिलो–चाँडो विभाजन हुन्थ्यो नै । त्यहाँभित्र जुन स्थिति थियो, धेरै पहिला नै विभाजन हुनुपथ्र्याे । तैपनि आफूले जन्माएको पार्टीको माया–मोहले गर्दा थेगियोस्, टिकोस् भन्ने चाहना थियो । त्यसमा नेताबाट सन्तुलित व्यवहार होस्, पार्टीका जिम्मेवारी र अवसर गुटलाई नभइकन पार्टीका तमामलाई होस् । अनि पार्टी विधि–विधान र पद्धतिअनुरूप चलोस् भनी हामीले धेरै प्रतीक्षा गर्‍यौँ । तर पार्टी अध्यक्षमा घमण्डको सिङ–जुरो उम्रियो, जसले गर्दा पार्टी एकीकृत रहन सकेन ।


पटक–पटक सांसद भएपछि मन्त्री बन्ने आकांक्षा स्वाभाविक हुने नै भयो, सांसदको कुर्सीबाट मन्त्रीको कुर्सीको फरक चाहिँ के पाउनुभयो ?
खोइ, मैले पहिला–पहिला त मन्त्री बन्ने आकांक्षा राखे जस्तो राख्दैन । नत्र कोही त एक चोटि माननीय भएपछि मन्त्री हुन शिरदेखि पाउसम्मकै बल लगाउँदै दौडिरहेको देखेकै हुँ । मैले तेस्रो चोटि सांसद हुँदाताक पनि मन्त्री हुने बेला भएको छैन भन्ने लाग्थ्यो । मलाई मभन्दा वरिष्ठ नेताहरू जाऊन् भन्ने लाग्थ्यो । संविधानसभापछिका मन्त्रिपरिषद्‌मा जुन ढंगले मन्त्री बनाउने गलत परम्परा विकास भयो । त्यतिखेर चाहिँ मलाई लाग्यो कि मैले आकांक्षा नराख्ने होइन कि मैले राख्नुपर्छ ।

ती दृश्य देखेपछि मात्र ‘फिलिङ’ फरक आएको हो । अन्यथा, मैले पार्टीमा होस् या मन्त्रिपरिषद्‌मा त्यसरी मैले पाउनुपर्छ भनेको थिइनँ । २०५१ मा एमालेको अल्पमत सरकार, त्यसपछि गठबन्धन सरकार बन्दा पनि त्यस्तो अपेक्षा राखेको थिइनँ । एमाले समग्र हुँदा राम्रैसँग गएको थियो । जब भद्रगोल हुन थाल्यो, तपाईंले भने जस्तै आकांक्षा राख्नु स्वभाविकै थियो । एक चोटि सांसद भएका वा दुई चोटि भएकाले त सिंगै महाभारत नै पल्टाएर आएजस्तो प्रवृत्ति देखाउँथे । दुई चोटि सांसद भइसकेँ, अब पनि मन्त्री हुन नपाउने आवेग, उत्तेजना, घुर्की, धम्की दिएको देख्दाखेरि म जस्तो शान्त मानिसले मन्त्री हुुने चाहना राख्नु अस्वाभाविक होइन ।

एमालेको नीति बेठीक होइन । तर, त्यसको नेतृत्व जबसम्म यही रहिरहन्छ, तबसम्म स्थिति यस्तै हुन्छ । 
 

तपाईं लेखा समितिमा रहँदा सरकारी संयन्त्रले काम गर्न सकेन भनी हरेक मन्त्रालयका उच्च अधिकारीको सातो खानुभयो, मन्त्रीको कुर्सीमा पुगेपछि कर्मचारीका क्रियाकलाप चाहिँ कस्तो पाउनुभयो ? 
कर्मचारीतन्त्र भनेको कुनै पार्टीले आफूले चाहे जस्तो होस् भनी चाहेर सम्भव छैन । जे जस्ता छन्, तिनीहरूलाई परिचालन गर्ने हो । कर्मचारीतन्त्र भनेको मूल नेतृत्वले कसरी चलाउँछ भन्नेमा भर पर्छ जस्तो मलाई लाग्छ । म त भर्खर मात्र मन्त्रीको कुर्सीमा पुगेको हुँदा कुनै निष्कर्षमा पुगेको छैन । तर, मन्त्रालय सम्हालेपछि मलाई असहयोग गरेको महसूस गर्नुपरेको छैन । पछि घटनाक्रमले भयो भने म जान्दिनँ ।

तपाईंले लेखा समितिको प्रसंग उठाउनुभयो, हामीले कर्मचारीलाई बेरुजु र अनियमितताका पाटो समाउँदै हपारेका थियौं । थोरै सजगता अपनाउँदा पनि पचास प्रतिशतभन्दा बढी बेरुजु कम हुन्छ । कहीँ भ्रमण गयो भने कागजात पेस गरेपछि त्यो राफसाफ भइहाल्छ । कुनै काम गर्‍यो, बिल पेस नगरेपछि बेरुजु हुने भयो । स–साना काम नगरिँदा पनि बेरुजु बढेका छन् । कतिपयमा अस्पष्ट छन् भने स्पष्ट मात्र पारिदिएको खण्डमा पनि त्यस्तो भद्रगोल देखिँदैन । त्यस्ता काम भोलि गरौंला, पर्सि गरौँला भन्दै बासी हुँदै पछि बेरुजुमा पुुगेका छन् । त्यसमा हरेक मन्त्रालयले आफ्ना मिटिङहरूमा एउटा एजेन्डा बेरुजु फछ्र्याैटलाई बनाइदिने हो भने यसरी हल्लाखल्ला गर्नुपर्ने स्थिति नै आउँदैन । लेखा समितिमा रहँदा सरकारी संयन्त्रमा जे देखेँ, त्यसमा शतप्रतिशत सुधार गर्न त सम्भव छैन, कम गर्न सकिन्छ ।

तपाईंले लेखा समितिमा रहँदा देखेका विकृति मन्त्रालयमा दोहोरिन नदिन कुनै प्रयत्न थालिसक्नुभयो कि ?
मैले तपाईंसँग ढाँटेर कुरा गर्नुहुन्न । म भर्खर मन्त्री भएको हुँदा त्यो पाटोमा प्रवेश गर्न पाएको छैन । म खालि विभाग, महाशाखादेखि मैले गर्नुपर्ने काम–कर्तव्यका विषय बुझ्दै त्यसभित्र मैले गर्न सक्ने सुधारका एजेन्डा बनाउँदै छु । म सुधारका सम्भावना कहाँ–कहाँ छन् र हाल भएका जनशक्ति र पुँजीबाट के गर्न सकिन्छ ? यस्ता पक्षमा म अलिकति बुझ्ने÷हेर्ने क्रममा नै छु । स्वास्थ्य मन्त्रालय फेरि धेरै ठूलो रहेछ ।

तपाईंले विगतमा सरकार–सरकारी संयन्त्र, संसद्–संसदीय समितिप्रति जवाफदेही भएन भनी पटक–पटक प्रश्न उठाउनु भएको थियो, अब तपाईं मन्त्री हुनुभएको छ, व्यवहार चाहिँ कस्तो हुन्छ ?
म संसद् र संसदीय समितिमा लामो समय क्रियाशील रहेर आएको हुँदा समितिका पुराना निर्णय–निर्देशन पेन्डिङमा छन् भने अध्ययन गर्छु । त्यसमा म्याद गुज्रेका छैनन् भने कार्यान्वयन गर्छु । म मन्त्री भएपछि समितिको निर्देशन प्राप्त नभएको हुनाले हुन्छ या हुन्न भन्ने ठाउँ रहेन । तर, म जुन संस्था संसदीय समिति मात्र संसद्‌बाट उठेका विषय सरकारले लागू गर्नुपर्छ भन्ने मान्यता राख्ने व्यक्ति हुँ । कुनै निर्देशन कार्यान्वयन गर्न नसकिने रहेछ भने चित्तबुझ्दो कारणसहित सम्भव छैन भनी बुझाउने प्रयत्न गर्नेछु ।

स्वास्थ्य मन्त्रालय त प्राविधिक मन्त्रालय पनि हो, तपाईं कसरी अघि बढ्नुहुन्छ ?
मैले कर्मचारीतन्त्रलाई परिचालन गरी अघि बढ्ने हो । जहाँ पनि कर्मचारीतन्त्रबेगर सरकार चल्न सक्दैन । सरकारका हात–गोडा भनेकै कर्मचारी संयन्त्र हुन् । त्यसकारण त्यो कर्मचारीतन्त्र ठूलो छ कि सानो छ कि सक्षम छन् कि अक्षम भन्ने होइन । जे छन्, तिनै पुँजी हुन्, तिनैलाई परिचालन गर्ने हो । उनीहरूसँग भएका क्षमताको उच्चतम प्रयोग गर्ने हो । उनीहरूले जे कर्तव्य पूरा गर्छु भनी सरकारी सेवामा प्रवेश गरेका हुन्, त्यसप्रति उनीहरूलाई दायित्वबोध गराउने नै हो । 

मन्त्रालय बुझिसक्नुभयो होला, तपाईंका प्राथमिकता चाहिँ के–के छन् ?
मेरो मन्त्रालयको हिसाबले प्राथमिकता भनेकै कोभिड–१९ सामना गर्ने, खोपको व्यवस्थापन गर्ने हो । नागरिकलाई खोप उपलब्ध गराउन नसकेको खण्डमा सरकारको आलोचनाको विषय हुन्छ । त्यसो हुँदा मन्त्रालय त्यो जिम्मेवारी पूरा गर्न लागिपरेको छ । खोपका विषयमा प्रधानमन्त्रीको गहिरो चासो छ । बजेटले तय गरेका काम पनि समयमै पूरा गर्नुपर्ने हुन्छ । अर्काे कुरा सेवाग्राहीले पाउनुपर्ने चुस्त–दुरुस्त छन् कि छैनन्, छैनन् भने के कारणले छैनन् भन्नेमा ध्यान केन्द्रित गर्नेमा छौं । 

संविधानसभापछिका मन्त्रिपरिषद्‌मा जुन ढंगले मन्त्री बनाउने गलत परम्परा विकास भयो । त्यतिखेर चाहिँ मलाई लाग्यो कि मैले आकांक्षा नराख्ने होइन कि मैले राख्नुपर्छ ।

खोपका सवालमा तपाईंहरू लक्ष्यअनुरूप हुनुहुन्छ कि हुनुुहुन्न ?
हामी लक्ष्यअनुरूप नै चलिरहेका छौं र लक्ष्य पूरा पनि गर्छाैं । हामी लक्ष्यभन्दा केही प्रतिशत माथि नै जान्छौँ, मुनि हुँदैनौं । मुलुकमा भित्रिएको खोप, लगाइसकेको खोप, सम्झौता–समझदारीअनुरूप पाइप लाइनमा भएका खोप भित्रिइसकेपछि पर्याप्त हुन्छ । हामीलाई लक्ष्य प्राप्त गर्न समस्या छैन । अब खोपकै लागि लाइनमा बस्नुपर्ने या मारामारी गर्नुपर्ने स्थिति छैन । अब १८ वर्षभन्दा माथिकालाई खोप लगाइसकेपछि बिस्तारै स्कुल जाने बालबालिकालाई खोप लगाउने तयारी छ ।

नयाँ पार्टीको रणनीति
एमाले विभाजन गरी नयाँ पार्टी खोल्नुभएको छ, त्यो पार्टीलाई स्थापित गर्न सकिन्छ भन्नेमा तपाईंहरू कत्तिको विश्वस्त हुनुहुन्छ ?
हामी उच्च मनोबलकै साथ पार्टी संगठन विस्तार गर्दै छौं । पार्टी भनेको विचारले स्थापित हुने हो । प्रारम्भमा कति भीड हुन्छ र अन्तिममा कति भीड हुन्छ भन्ने हिसाबबाट होइन । हिजोका दिनमा कति ठूला भनिएका पार्टीहरू सकिएको उदाहरण छ र नयाँ पार्टी स्थापित हुँदै ठूलो भएको पनि देखिएकै छ । सही विचार, सही नेतृत्व, सही कार्यान्वयन तीन तत्वको तालमेल मिलेको खण्डमा पार्टीहरू फस्टाउँछन् । त्यसरी नमिल्दा लोप हुँदै पनि जान्छन् । यसकारण हामी हाम्रो विचारमा ठीक बाटोमै छौं । सुरुआती चरणमा ठूलो पार्टीबाट निस्कँदा केही खिन्न महसूस हुनु एउटा कुरा हो । हामी अलग भएपछिको छोटै अवधिमा पनि प्रगति नै गरिरहेका छौं । उल्टो चक्र घुम्ने स्थितिमा छैनौँ ।

तपाईंहरूको सत्तारुढ गठबन्धन चुनावमा पनि यसरी जान्छ कि छुट्टाछुट्टै किसिमले जान्छ ?
चुनावी गठबन्धन तत्कालीन आवश्यकताले तय गर्ने हो । नत्र निर्वाचन आयोगमा दर्ता भएका पार्टीहरूले आफूलाई बलियो बनाउँदै प्रतिस्पर्धामा जाने रणनीति नै बनाएका हुन्छन् । हाम्रो संविधानले तय गरेको निर्वाचन संरचना हेर्दा कुनै पनि पार्टीको बहुमत ल्याउन सक्दैन । त्यसो हुँदा चुनावअघि गठबन्धन गर्ने कि चुनावपछि भन्ने फरक त्यति मात्र हो । चुनावी परिणाम आएपछि भएका शक्तिहरूबीच गठबन्धन गर्ने कि नतिजाकै लागि विचार मिल्ने पक्षहरू गठबन्धन गरी बहुमतका निम्ति प्रयत्न गर्ने या चुनाव आ–आफ्नै ढंगले लड्दै परिणामपछि गठबन्धन गर्नैपर्ने हुन्छ ।

चुनावी पद्धतिकै कारण कसैको बहुमत आउने सम्भावना नै छैन । गएको संसदीय चुनावमा न एमाले बहुमतमा थियो, न माओवादी बहुमतमा । प्रत्यक्ष चुनावमा एमालेले ८० सिट ल्यायो, माओवादी ३६ सिटमा थियो । समानुपातिक मिलाउँदा एमाले १२१ सिटमा पुग्यो, माओवादी ५३ सिटमा थियो । कम्युनिस्ट पार्टीका निम्ति त्यत्रो भेल आउँदा त बहुमत आएन । २०६४ को चुनावमा माओवादीको भेल आयो, त्यति हुँदाहुँदै पनि बहुमत आएन । ठूलो संख्यामा समानुपातिक राखिएको हुँदा बहुमत आउने सम्भावना नदेखिएको हो । गएको चुनावमा एमालेले प्रत्यक्षमा ८० सिट जित्दा समानुपातिकमा कति पायो भने जम्मा ४१ सिट । जबकि कांग्रेसले प्रत्यक्षमा जम्मा २३ सिट जितेको थियो, तर समानुपातिकमा ४० सिट पायो । यसैबाट देखिन्छ कि बहुमत पुग्न नदिन समानुपातिक काफी देखिन्छ ।

तपाईंहरूको पूर्वपार्टी एमालेलाई हेर्ने दृष्टिकोण के हुन्छ ?
त्यो एमाले दक्षिणपन्थी भासमा गएको पतनोन्मुख पार्टी हो भन्ने हाम्रो निष्कर्ष हो । एमालेको नीति बेठीक होइन । तर, त्यसको नेतृत्व जबसम्म यही रहिरहन्छ, तबसम्म स्थिति यस्तै हुन्छ । पार्टीका प्रतिवेदन कार्यान्वयन नहुने, विधानअनुरूप नचलेपछि पतनोन्मुख हुँदै गएको छ । पार्टीको नीति एकातिर, नेताको लहडमा चल्ने पार्टी बनेको छ । त्यसो हुुँदा त्यो पार्टी दुर्घटनाउन्मुख भएको हाम्रो निष्कर्ष हो ।

आउँदो महाविधेशनसँगै एमालेमा फरक नेतृत्व आयो भने एकता हुने सम्भावना छ ?
नयाँ नेतृत्वले कसरी लैजान्छ भन्नेमा भर पर्छ । 

त्यसो भए, एमालेसँग तपाईंहरूको विचारमा नभएर नेतृत्वसँग असन्तुष्टि हो ?
त्यसमा लगभग पचास–पचास प्रतिशतबाट हेर्दा हुन्छ । महाधिवेशनबाट पारित नीति, सिद्धान्त र विचार लागू गरिएन । अब चाहिँ हामी नीति, सिद्धान्त र विचार व्यवहारमै लागू गर्छौं । कुनै पनि कम्युनिस्ट पार्टीमा माक्र्सवाद र लेनिनवाद फरक छैन, टाउकामा हेर्दा ।

नेपालमा त्यसलाई लागू गर्ने क्रममा कम्युनिस्ट पार्टीभित्र विवाद उत्पन्न भएका छन् । माओवादी सशस्त्र युद्धमा गयो, फर्केर आयो । हामी झापामा सशस्त्र क्रान्ति गर्‍यौँ, फर्केर आयौं । समग्र रूपले हेर्दा विचार–दर्शन एकै हो भने पनि कार्यान्वयन गर्ने, व्यवहारमा उतार्ने र आचरणमा जाँदा ठूलो भूमिका खेल्छ ।

हामी हिजो बसेको पार्टी एमाले विचार दृष्टिकोण, सिद्धान्त, पारित प्रतिवेदन, विधान र कम्युनिस्ट आन्दोलनको दृष्टिकोणबाट च्युत भएको हुँदा अलग पार्टी बनाउँदै अघि बढेका हौं । त्यसो हुँदा तत्कालै एमालेसँग एकता वा गठबन्धन गर्ने सम्भावना छैन ।


Author

हरिबहादुर थापा

संसद्, शासन र राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x