हरारीसँग वार्ता :
विज्ञान र इतिहासको कुरा भन्ने नयाँ तरिका ‘सेपियन्स’को औपन्यासिक रूप
‘सेपियन्स : मानिसको संक्षिप्त इतिहास’ संसारकै सर्वाधिक बिक्री भएका पुस्तकमध्ये पर्दछ । अहिले त्यो कृतिलाई चित्रात्मक उपन्यास (ग्राफिक नोबल) का शृङ्खलाका रूपमा पुन:संरचना गरिएको छ । इतिहासकारका रूपमा यो किताबका लेखक युवल नोहा हरारी वैज्ञानिक समुदाय र सर्वसाधारण जनताबीचको दूरी घटाउन चाहन्छन् । यसपटक उनी चित्रकथामार्फत थप बढी पाठकलाई आकर्षित गर्ने आशामा छन् । महामारीपछिको युगबारे टिप्पणी गर्दै उनले भने, ‘हामीसँगै वैज्ञानिक औजारहरू छन्’, तर ती औजार प्रयोग गर्न ‘हामीसँग राजनीतिक विवेक भएजस्तो लागेन ।’ कोभिड-१९ महामारी फैलिएपछि त्यो पुस्तकको निष्कर्षमा हरारीले केही हेरफेर गर्न चाहेका छन् ? के संसार चेप्टो बन्दै छ ? अथवा अर्कै रूप ग्रहण गरेको छ ? हरारीले ग्लोबल टाइम्सका पत्रकारहरू ली एसिन र पाइ युनयीसँग सविस्तार अन्तर्वार्तामा आफ्ना विचार व्यक्त गरेका छन् ।
तपाईंको पुस्तक प्रकाशनपछि अरू देशले दिएका प्रतिक्रियाभन्दा फरक चीनबाट कुनै विशेष प्रतिक्रिया पाउनुभएको छ कि ?
विभिन्न देशका मानिसहरूले उस्तै प्रतिक्रिया दिँदा मलाई आश्चर्यचकित बनायो । त्यसले संसारभरका जनताको चासो र चिन्ता उस्तै उस्तै विषयमा भएको जनाउँछ । मानिसहरू आफ्नो भविष्यप्रति चिन्तित छन् । जलवायु परिवर्तनजस्ता विषयले उनीहरूलाई सोचमग्न बनाएको छ । कृत्रिम बौद्धिकताको उदयले उनीहरूलाई सोच्न कर लगाएको छ । म जहाँ जाँदा पनि चीन होस् वा ब्राजिल अथवा युरोप, जहीँ पनि यस्तै विषयमा मानिसहरूले जिज्ञासा राख्छन् । उनीहरू मानिसको विगत र प्राचीनकालबारे पनि सोध्छन् । किनभने आज संसारमा राज गरेका सबै पहिचानहरू जसले आज हामीलाई परिभाषित गरिरहेको छ जस्तै चिनियाँ, इजरायली, अमेरिकी आदि राष्ट्रियतासँग सम्बन्धित पहिचान अथवा मुसलमान, इसाई वा बौद्ध आदि धार्मिक पहिचान, ती सबै निकै नवीन कुरा हुन् ।
यी सबै पहिचान त बितेका ५ हजार वर्षमा मात्र देखापरेका हुन् । त्यसमा पनि अधिकांश त बितेका १ हजार वर्षमा देखापरेका हुन् । त्यसकारण हामी १० हजार वर्षअघि कृषि क्रान्तिमा फर्केर हेर्छौँ अथवा ५० हजार वर्षअघि ढुङ्गे युगमा फर्केर हेर्छौँ भने त्यो युगमा हामीले न चिनियाँ देख्छौँ न इजरायली न त अमेरिकी नै । न त मुसलमान, न यहुदी न बौद्ध नै देख्छौँ । मानिसका निकै भिन्न खालका पहिचान थिए । भन्नुको तात्पर्य, निकै अघिको समयलाई फर्केर हेर्दा हामीले आजको संसारलाई फरक कोणबाट हेर्न सक्छौँ । यो कोण आजको कुनै पनि पहिचानभन्दा गहन छ ।
सेपियन्सबारे चित्रात्मक उपन्यासको शृङ्खला बनाउन के कुराले तपाईंलाई उत्साहित गर्यो ? यो शृङ्खलाबाट तपाईंले कुन समूहका पाठकलाई आकर्षित गर्ने आशा गर्नुभएको छ ?
अझ व्यापक पाठकसम्म पुग्न यो उपाय प्रयोग गरिएको हो । विज्ञानका पछिल्ला खोज र इतिहास सबैका लागि सान्दर्भिक छ । तर, सबैजना विज्ञानका पुस्तक पढ्दैनन् अथवा पढ्न मन लाग्दैन । त्यसकारण हामीले धेरै मानिससम्म पुग्ने उपाय खोजेका हौँ । विज्ञान र इतिहासका कुरा भन्ने नयाँ तरिकाको प्रयोग पनि गर्न खोजेका हौँ । विषयवस्तु फेरि पनि विज्ञान हो । विषयवस्तु अझै पनि गम्भीर छन् र कतिबेला त वियोगपूर्ण पनि । तर, कथा भन्ने शैली भने फरक छ ।
उदाहरणका लागि एउटा खण्ड त असमानता र शोषणको इतिहासबारे छ । यो निकै वियोगपूर्ण र गम्भीर विषय हो । तर, यो कुरा भन्न हामीले काल्पनिक पात्र गुप्तचर लोपेजलाई प्रयोग गरेका छौँ । उनी प्रहरीमा अपराध अनुसन्धान अधिकारी हुन्छिन् । प्रहरीको काम अपराध अनुसन्धान गर्नु हुन्छ । सिङ्गो इतिहासमै सबभन्दा ठूलो अपराध-मानिस मानिसबीच असमानता र शोषणको अनुसन्धान गर्ने जिम्मेवारी लोपेजलाई दिइन्छ । उनी अनुसन्धान गर्र्दै जान्छिन् : अपराधका निम्ति कसलाई आरोप लगाउने ? मानव समाजमा असमानताका कारण र स्रोत के हुन् ?
त्यहाँ हामी असमानताका स्रोतबारे पछिल्ला वैज्ञानिक विचार पस्किन्छौँ । तर, निकै गम्भीर वा कुनै भारी प्राज्ञिक तरिकाबाट ती कुरा प्रस्तुत गरिनेछैन । बरु, एकप्रकारले रोचक साहसिक कथाको शैलीमा ती कुरा प्रस्तुत गरिनेछ ।
कोभिड-१९ महामारीपछि तपाईंका कृतिहरूका निष्कर्ष वा विश्लेषणमा कुनै खालको परिवर्तन वा समयानुकूल गर्न चाहनुभएको छ कि ?
हेरफेरको बारेमा मैले सोचेको छैन । तर, महामारीले वास्तवमा हाम्रो वैज्ञानिक र प्राविधिक शक्ति तथा हाम्रा राजनीतिक सीमितताबीच गहिरो खाडल देखाएको छ । इतिहासका यसअघिका युगहरूमा महामारी सामना गर्न मानिस निरीह थिए । जस्तै चौधौं शताब्दीमा ब्ल्याक डेथ महामारीले एसिया, युरोप र उत्तर अफ्रिकाको कुल जनसङ्ख्याको १÷४ देखि आधा जनसङ्ख्या मारिएको थियो । कसैलाई पनि के भएको थाहा थिएन ।
भाइरस वा किटाणुबारे कसैलाई थाहा थिएन न त रोग प्रतिरोधी क्षमताको विषयमा नै केही थाहा थियो । त्यत्तिबेला मानिसहरू त्यो अवस्थालाई भगवानको सजाय अथवा कालो जादु ठान्थे । उनीहरूको हातमा केही पनि थिएन ।
तर, अहिले कोभिड-१९ को सन्दर्भमा भाइरस र त्यसको शृङ्खला, प्रजाति आदि पत्ता लगाउन केही साता मात्र लाग्यो । त्यो रोग कसरी लाग्छ र एक जना व्यक्तिबाट अर्को व्यक्तिमा कसरी सर्छ भन्ने कुरा बुझ्न पनि धेरै समय लागेन । हामीलाई त्यो रोगबाट जोगाउने खोपको उत्पादन थाल्न लगभग एक वर्षमात्र लाग्यो ।
महामारी रोक्न अहिले हामीसँग वैज्ञानिक शक्ति छ । तर, हामीसँग राजनीतिक विवेकको कमी भएजस्तो लाग्छ । महामारी सुरु भएको झण्डै दुई वर्षयता हामीसँग अझै पनि एक प्रकारले विश्वव्यापी कार्ययोजना छैन । संसारभर महामारी कसरी रोक्ने र त्यसका परिणामसँग कसरी सामना गर्ने भन्ने विषयमा अझै पनि हामीसँग कुनै कार्ययोजना छैन । वैज्ञानिकहरूले त उपकरण बनाउने हुन् । ती उपकरणको प्रयोग कसरी गर्ने भन्ने कुराको निक्र्योल गर्ने राजनीतिक नेताहरूले हो । तर, उनीहरूले निकै राम्रो निर्णय गरेको देखिएन । त्यसैकारण हाम्रो वैज्ञानिक सामथ्र्य र विवेक तथा हाम्रो राजनीतिक सीमितताबीच यो असन्तुलन बनेको हो ।
तर, सबैजना विज्ञानका पुस्तक पढ्दैनन् अथवा पढ्न मन लाग्दैन । त्यसकारण हामीले धेरै मानिससम्म पुग्ने उपाय खोजेका हौँ । विज्ञान र इतिहासका कुरा भन्ने नयाँ तरिकाको प्रयोग पनि गर्न खोजेका हौँ ।
यो अवस्थाले अझ अब्बल विश्वव्यापी सहकार्यको आवश्यकतालाई जोड दिएको छ किनभने कोभिड-१९ सङ्कट मूलत: विश्वव्यापी समस्या हो । कुनै एउटा देश आफैले यो समस्या समाधान गर्न सक्दैन । हामीले आफ्नो देशका सबै नागरिकलाई खोप लगाए पनि र उनीहरू सबै सुरक्षित भए पनि जबसम्म अरू देशहरूमा भाइरस फैलिन छोड्दैन, भाइरस कुनै न कुनै तरिकाबाट उत्परिवर्तन हुन छोड्ने छैन जसले खोपलाई निष्प्रभावी बनाउँछ । भाइरस थप सङ्क्रामक र घातक रूपमा देखापर्छ ।
त्यसकारण हामीलाई विश्वव्यापी सहकार्य आवश्यक छ । कोभिड-१९ भन्दा अझ जटिल एक्काइसौं शताब्दीका अन्य प्रमुख चुनौती सामना गर्न पनि हामीलाई विश्वव्यापी सहकार्यको खाँचो छ । जलवायु परिवर्तनबारे विचार गर्ने हो भने त्यो अझ ठूलो र अझ जटिल चुनौती हो । हामीले अनियन्त्रित प्रविधि जस्तै कृत्रिम बौद्धिकता (एआई) को उदयबारे विचार गर्ने हो भने त्यसका धेरै सम्भावना पनि छन् । तर, मानिसको लागि ठूलो खतरा पनि निहीत छ । प्रविधिको विकास असल प्रयोजनको निम्ति मात्र गर्ने, कुनै खराब प्रयोजनको निम्ति नगर्ने कुराको सुनिश्चितताको एउटै उपाय भनेको कुनै खालको विश्वव्यापी सहमति र नियमनबाट मात्र हुन सक्छ । यदि हामीले कोभिड-१९ मा सहमतिमा पुग्न नसके एआईको विषयमा कुनै सहमतिमा पुग्न सक्ने सम्भावना अझ न्यून हुन्छ । त्यसले अवस्थालाई अझ जटिल बनाउँदैन ?
तपाईंले वैज्ञानिक समुदाय र सर्वसाधारण जनताबीचको दूरी कम गर्ने चाहना व्यक्त गर्नुभयो । महामारीको क्रममा राजनीतिले विज्ञानलाई प्रायश: अपहरण गरेको देख्दा तपाईंलाई कस्तो लाग्यो ?
एउटा कोणबाट मैले यसलाई बुझ्दा यो नै हाम्रो इतिहास हो । यो नै मानिसको चरित्र हो । यो सधैं यस्तै हुँदै आएको छ । वैज्ञानिक सत्यहरू कतिबेला राजनीतिक प्रयोजनको लागि असहज हुने गरेको छ । मानिसहरू त्यही भएर वैज्ञानिक सत्यलाई बङ्ग्याउने प्रयास गर्छन् । इतिहासमा यस्तै हुँदै आएको छ । त्यही भएर कोभिड-१९ मा मात्र यस्तो किन भयो भनी मलाई आश्चर्य लागेको छैन ।
सत्य र आख्यान तथा मानिसले बनाएका कथाहरूबीचको प्रतिस्पर्धामा सत्यलाई दुई वटा ठूला बेफाइदा छन् ।
पहिलो, सत्य सधैँ पीडादायी हुन्छ । मानिसहरू आफू, आफ्नो देश वा आफ्नो विश्वबारे सत्य जान्न चाहँदैनन् किनभने त्यो सत्य कहीँ न कहीँ उनीहरूले मान्दै आएका विश्वास वा राजनीतिक दृष्टिकोणसँग ठोकिरहेका हुन्छन् । त्यसकारण उनीहरू सत्यमा पुग्न चाहँदैनन् ।
दोस्रो, सत्य जटिल हुन्छ । महामारीकै कुरा गरौँ न । महामारीजस्तो कुनै कुरा बुझ्न निकै जटिल हुन्छ । मानिसको रूपमा हाम्रो बनोट वास्तवमै त्यो बुझ्नको निम्ति बनेको होइन । हामी ठूलठूला कुरा बुझ्छौँ । हामी ठूला प्राणी हौँ । तर, भाइरस बुझ्न ? एक शताब्दीअघिसम्म हामीलाई भाइरस नामको केही कुरा छ भन्ने कुरा पनि थाहा थिएन । भाइरस प्राणी होइन । त्यसले खाँदैन । त्यसले पुन:उत्पादन गर्दैन । भाइरस एउटा जैविक चिज हो जो जोसँग हाम्रो आफ्नै शरीरका आफ्नै कोषको कार्यप्रणालीलाई अपहरण गर्ने अनौठो क्षमता हुन्छ । अपहरण गरेर भाइरसले हाम्रा कोषलाई आफ्नै प्रतिभाइरस उत्पादन गर्न लगाउँछ । त्यही फैलिएर साना कोषलाई सङ्क्रमित बनाउँछ ।
यो बुझ्न ज्यादै जटिल छ । त्यो भन्दा सजिलो त कसैले आविष्कार गरेको कुनै षड्यन्त्र सिद्धान्तमा विश्वास गर्न थप सजिलो हुन्छ । मानिसहरू त्यस्तै षड्यन्त्र सिद्धान्तमा आकर्षित हुन्छन् । त्यस्तै कथा र आख्यान सुन्न र बुझ्न मन पराउँछन् । किनभने तिनलाई बुझ्न सजिलो हुन्छ । हामी आफैँले त्यसलाई अझ रोचक बनाउन सक्छौँ । हाम्रा राजनीतिक विश्वाससँग मेल गर्न तिनलाई त्यही अनुसार प्रस्तुत गरिएको हुन्छ । तर, त्यस्तो आविस्कार खतरनाक हुन्छ । समयक्रममा हामीसँग विज्ञानलाई अझ राम्ररी बुझ्ने क्षमताको मात्र विकास गर्नेछैनौँ । त्यत्तिले मात्र पुग्नेछैन । हामीलाई मानिसलाई विज्ञानमा विश्वास पनि गराउनुपर्छ ।
त्यसको निम्ति संस्थागत पहल हुन जरुरी छ किनभने तपाईंले सबै प्रश्नका उत्तरको लागि आफैले अनुसन्धान गर्न सक्नुहुन्न । मैले विद्यावरिधि गरेको छु । मैले पुस्तक लेखेको छु । मैले पुस्तक लेखेको छु । तर, मलाई भाइरसबारे थाहा छैन । त्यसको निम्ति मैले अन्य मानिसका कृतिमा भर पर्नुपर्छ । ती व्यक्तिहरूलाई मैले व्यक्तिगत रूपमा चिनेको छैन । त्यसो भए मैले उनीहरूलाई कसरी विश्वास गर्न सक्छु ? मैले उनीहरू आबद्ध भएको संस्थालाई विश्वास गर्ने हो । त्यो संस्था विश्वविद्यालय हुन सक्छ, पत्रिका हुन सक्छ अथवा कुनै प्राज्ञिक जर्नल हुन सक्छ । मैले संस्थामाथि विश्वास गरेँ र त्यो संस्थाले नयाँ रोगव्याधि अथवा खोप वा अन्य कुनै कुराबारे कुनै रिपोर्ट प्रकाशित गरे मैले त्यसमा विश्वास गर्छु किनभने मलाई त्यो संस्था भरपर्दो हो भन्ने थाहा हुन्छ ।
समयान्तरमा स्वतन्त्र अनुसन्धान निकाय र प्रकाशन संस्था हुन जरुरी हुन्छ जसले अनुसन्धान गरेर सत्य प्रकाशित गर्छ । त्यस्तो खोज अनुसन्धानबाट निकालिएका सत्य केही राजनीतिक शक्तिको निम्ति अपाच्य भए पनि तिनले सार्वजनिक गर्छ । हामीलाई थाहा छ, केही कुरा तीतो हुन्छ । पीडादायक हुन्छ । तर, उनीहरूले सत्य बोल्ने हुनाले हामीले त्यस्ता संस्थाहरूलाई विश्वास गर्नुपर्छ ।
विज्ञानलाई राजनीतिकरण गर्ने, विज्ञानबारे हल्ला फैलाउने र हल्लामा विश्वास गर्ने मानिसको भविष्यबारे तपाईंको धारणा आशावादी छ वा निराशावादी ?
म वस्तुवादी बन्ने प्रयास गर्छु । मलाई थाहा छ, मानिसले विज्ञानलाई सधैं राजनीतिकरण गर्यो । एक सय वर्षअघि फर्केर हेरौँ, त्यतिबेला पनि अहिलेका सबै तथाकथित वैज्ञानिक जातीय सिद्धान्त थिए । कथित वैज्ञानिकहरूले गोरा नश्ललाई काला नश्लभन्दा अब्बल तथा एसियालीहरूभन्दा युरोपेलीहरू अब्बलका रूपमा प्रस्तुत गरे । यो विज्ञानको पूर्ण बङ्ग्याइ थियो । तर, अझै पनि केही मानिस, केही वैज्ञानिकहरू समेत यो कुरामा विश्वास गर्छन् । उनीहरू त्यसैलाई वैज्ञानिक सत्य ठान्छन् । भन्नुको तात्पर्य, विज्ञानलाई राजनीतिकरण गरेको कुरा कुनै नवीन विषय होइन ।
मेरो विचारमा आजको अवस्था पचास वर्ष वा एक सय वर्षअघि भन्दा खासमा राम्रो भएको छ । विज्ञानको राजनीतिकरण कति हानिकारक हुन सक्छ भन्ने पाठ महामारीले मानिसलाई सिकाएको म आशा गर्छु । किनभने विज्ञानको एकपटक राजनीतिकरण हुने बित्तिक्कै मानिसले तथ्यमाथि विश्वास गर्न छोड्छन् । कुनैबेला उनीहरूले साँचो कुरा भने पनि तपाईं त्यसमा ढुक्क हुन सक्नुहुन्न । तपाईंले खोप त पाउनुहुन्छ तर त्यो खोप प्रभावकारी हो वा होइन भन्ने कुरा तपाईंलाई थाहा हुन्न ।
नयाँ रोगव्याधि फैलिएकोबारे तपाईंले समाचार पढ्नुहुन्छ तर, तपाईंलाई त्यो समाचार विश्वासिलो हो वा होइन, निश्चित हुँदैन । जलवायु परिवर्तनको सन्दर्भमा हामी यही अवस्थामा सामना गरिरहेका छौँ । हामी अहिले जलवायु परिवर्तनको निकै जटिल परिस्थितिमा आइपुग्यौँ । किनभने मानिसहरूले धेरै वर्षसम्म जलवायु परिवर्तनका वैज्ञानिक ढाँचा र वैज्ञानिक सत्यलाई नकार्दै बसे ।
विज्ञानको राजनीतिकरणको विषयमा सोच्ने जो कोहीले पनि महामारी र जलवायु परिवर्तनका यी उदाहरणमाथि विचार गर्नेमा म आशावादी छु । विज्ञानलाई राजनीतिकरण गर्दा अल्पकालीन रूपमा तपाईंलाई लाभ हुन सक्छ । तपाईंलाई असहज भएका निश्चित वैज्ञानिक सत्य बङ्ग्याउँदा तपाईंलाई फाइदा हुनसक्छ । तर, दीर्घकालमा त्यसले तपाईंलाई मात्र होइन, सिङ्गो मानव समाजकै हानि गर्छ । तसर्थ, मानिसले यस्तो गल्ती नगर्ने आशा गरौँ ।
अवस्था अझै पनि उत्तिकै खराब छ । तर, आजभन्दा पचास वर्ष अथवा एक सय वर्ष अथवा एक हजार वर्ष अघिभन्दा आजको अवस्था केही राम्रो भएको छ । हामीले आज बिहान के भयो भन्ने आधारमा नभई लामो समयावधिको पुनरावलोकन गर्ने हो र शताब्दियौं अवधिमा समीक्षा गर्ने हो भने हामीले आजको संसारमा यसअघिको इतिहासको तुलनामा कम मात्र हिंसा भएको पाउँछौँ । संसारका धेरै ठाउँमा अझै पनि लडाइँ चालु छ । म इजरायलमा बस्छु । म मध्यपूर्वबाट आएका हुँ । त्यसकारण मलाई संसारमा अझै पनि लडाइँ चालु रहेको कुरा राम्ररी थाहा छ । तर, विगतको कुनै पनि कालखण्डभन्दा अहिले त्यस्तो लडाइँ न्यून भइसकेको छ ।
म इजरायलमा बस्छु । म मध्यपूर्वबाट आएका हुँ । त्यसकारण मलाई संसारमा अझै पनि लडाइँ चालु रहेको कुरा राम्ररी थाहा छ ।
त्यस्तै यदि हामीले रोगव्याधिको कुरा गर्ने हो भने बितेका दुई वर्षमा पक्कै पनि हामीले भयानक समय भोग्यौँ । तर, ब्ल्याक डेथजस्ता विगतका महामारीको तुलनामा बितेका दुई वर्षमा भोगेको समय केही पनि होइन । विगत र अहिलेको मुख्य भिन्नता भनेको अहिले हामीसँग वैज्ञानिक ज्ञान छ जसबाट हामीले जे भइरहेको छ, त्यसको प्रभावकारी प्रतिरोध गर्न सक्छौँ । यसबाट हामीले सन्तोष अनुभव गर्नु मुख्य कुरा होइन । त्यसले हामीलाई अझ जिम्मेवार बनाउनुपर्छ । परिस्थितिलाई अझ सुधार गर्न हामीले अझ मिहिनेतका साथ काम गर्नुपर्छ ।
हामी जिम्मेवार बन्नुपर्छ र विवेकपूर्ण निर्णय गर्नुपर्छ । त्यस अर्थमा खासमा तपाईंले म आशावादी छु वा निराशावादी भन्न सक्नुहुन्न । म दुवै देखिन्छु । यो कुरा हामीले के निर्णय गर्यौँ भन्ने कुरामा निर्भर हुन्छ । हामीले असल निर्णय गर्यौँ भने संसारको अवस्था राम्रो बन्छ ।
एक जना इतिहासकारका रूपमा केही मानिसले खतरनाक निर्णयहरू गर्ने गरेको कुरामा म पूर्णत: सचेत छु । हामीले मानिसको मूर्खतालाई न्यूनाङ्कन गर्न सक्दैनौँ । मानिसको मूर्खता इतिहासको सबभन्दा बलियो शक्तिमध्ये एउटा हो । इतिहासलाई फर्केर हेरौँ र मानिसका निर्णयलाई हेरौँ । उदाहरणका लागि दोस्रो विश्वयुद्धको निर्णय । उनीहरूले किन त्यो युद्धको थालनी गरे ?
दोस्रो विश्वयुद्धपछि धेरै देशहरूले आफ्नो अवस्थामा सुधार गर्ने हो भने हामीलाई युद्ध गर्न नहुने कुरा बुझे । तथापि, यस्तो भयानक सङ्कटका अरू ऐतिहासिक उदाहरणको संसारमा कमी छैन । यसो हुनुको कारण प्रकृतिको नियम होइन । बरु मानिसका खराब निर्णय हो । इतिहासमा जे भयो, एक्काइसौँ शताब्दीमा नहोला भनेर हामी ग्यारेन्टी गर्न सक्दैनौँ ।
केही पर्यवेक्षकहरू विश्वव्यापीकरणको कारण संसार थप चेप्टो (बहुध्रुवीय) बन्दै गएको विश्लेषण गर्छन् । तथापि, महामारीको समयमा विभिन्न देश, सभ्यता र आदिवासी समूहहरूबीच दूरी र अन्तरविरोध अझ फराकिलो र गहिरो भएको देख्यौँ । तपाईंलाई के लाग्छ ? के संसार चेप्टो बनेको हो अथवा केही अर्कै भइरहेको छ ?
मेरो विचारमा अघिल्ला दशकहरूमा नै संसार चेप्टो (बहुध्रुवीय) बन्न थालेको हो । अहिले यसले अर्कै रूप लिइरहेको छ । मेरो विचारमा देशहरूबीचको दूरी पछिल्ला दसकमा कम भएको थियो । तर, अहिले फेरि त्यो दूरी बढ्न थालेको छ ।
हामी संसारका समाजहरूभित्र र समाजहरू तथा देशहरूबीच धेरैभन्दा धेरै असमानता देखिरहेका छौँ । यो निकै ठूलो खतरा हो । महामारीको समयमा हामीले केही व्यापारिक संस्था, केही उद्योगहरूले निकै राम्रो समय व्यतित गरेका र उनीहरू विगतको तुलनामा बढी मूल्यवान भएका पनि देख्यौँ । जब कि अर्थतन्त्रका क्षेत्र, व्यापारिक संस्थाहरू र देशहरूले खराब अवस्था सामना गरिरहेका छन् ।
हामी अहिले संसारमा विश्वव्यापी असमानताको उदय भइरहेको देख्दैछौँ । विश्वव्यापी असमानता विभिन्न तरिकाले सिङ तिखार्दै छ । उदाहरणका लागि हामीले देख्दैछौँ- स्वचालन क्रान्ति (अटोमेसन रेभोल्युसन) र कृत्रिम बौद्धिकता क्रान्ति (एआई रेभोल्युसन) को नेतृत्व निकै सानो सङ्ख्याका देशहरूले गरिरहेका छन् । जब कि अधिकांश देशहरू ती क्रान्तिमा कहाँ हो कहाँ पछाडि छन् । मानिसले उन्नाइसौँ शताब्दीको औद्योगिक क्रान्तिमा देखेका कुरा फेरि देख्नुपर्ने खतरा अद्यापि छ ।
उन्नाइसौँ शताब्दीमा केही देशहरूमा औद्योगिकीकरण भयो । रेल र पानी जहाजजस्ता आधुनिक उद्योग र आधुनिक हतियार र उस्तै वस्तुबाट ती देशहरूले ठूलो शक्ति आर्जन गरे । तिनै कुराको प्रयोग गरी उनीहरूले बाँकी संसारमाथि हमला गरे र कब्जा जमाए । मुख्यत: पश्चिम युरोप, संयुक्त राज्य अमेरिका र जापानसहित निकै सानो सङ्ख्याका देशहरूले उद्योगको शक्तिलाई बाँकी संसारमाथि कब्जा जमाउने र दोहन गर्न प्रयोग गरे । फलत: विभेदको खाडल कम गर्न अन्य देशहरूलाई एक शताब्दीभन्दा लामो समय लाग्यो ।
अहिले फेरि त्यो चक्र दोहोरिँदै छ । अहिले एआई, रोबोटिक्स र जैविक प्रविधिको प्रयोगबाट त्यो अवस्था दोहोरिँदै छ । आजका ती उद्योगहरू विगतको वाष्प इन्जिन र रेलभन्दा कैयौँ गुणा ठूला छन् । फेरि पनि केही सीमित देशहरू अरू सबै देश र सिङ्गो पृथ्वीमाथि दमन र दोहन गर्ने स्थानमा पुग्दैछन् । भलै अहिले त्यो स्थानमा पुग्ने देशहरू हिजोभन्दा फरक हुन सक्छन् । यो पटक यो असमानताको खाडल पुर्न असम्भव हुनसक्छ । किनभने एक्काइसौँ शताब्दीको नयाँ प्रविधिले निकै सानो ठाउँमा, निकै थोरै मानिसको हातमा शक्ति केन्द्रीकरणलाई टेवा पुर्याउँछ ।
इतिहासको अधिकांश कालखण्डमा शक्तिको मूल स्रोत भूमि थियो । भूमि त्यस्तो कुरा हो जसलाई हामी एकै ठाउँमा केन्द्रीकरण गर्न सक्दैनौँ । भौतिकरूपमा जमिनलाई एकै ठाउँमा जम्मा गर्न सकिँदैन । उद्योग कलकारखानाको विकास भएका दुई शताब्दीमा शक्ति केन्द्रीकरण गर्न सजिलो भयो । तर, अझै पनि सबै कलकारखाना, मेसिन र सबै ठाउँका खानीलाई एकै ठाउँमा जम्मा गर्न सकिन्न ।
आज संसारको शक्तिको मूलस्रोत भनेको तथ्याङ्क (डाटा), सूचना (इन्फरमेसन) र सूचनाको विश्लेषण गर्ने क्षमता हुन् । सूचनालाई एकै ठाउँ, एकै देश र एउटा संस्थामा केन्द्रीकरण गरी त्यसको सम्पूर्णत: विश्लेषण गर्न सकिन्छ । त्यसले मानिसको इतिहासमा अहिलेसम्मकै सबभन्दा ठूलो शक्तिमा असन्तुलन निम्त्याउँछ ।
सूचनाको केन्द्रीकरणबारे बोल्दै केही विश्लेषकहरूले ‘विज्ञानमा आधारित शीतयुद्ध’को पनि कुरा गरिरहेका छन् । चीनको दृष्टिकोणमा संयुक्त राष्ट्र अमेरिकाले सबै उच्च प्रविधि आफैसँग राख्न चाहेको र उच्च प्राविधिक क्षेत्रमा चीनको विकासलाई रोक्न खोजेको छ । हामी अब वैज्ञानिक शीतयुद्ध वा वैज्ञानिक अलगाव (डिकपलिङ) तिर गइरहेको धारणासँग के तपाईं सहमत हुनुहुन्छ ? सर्वसाधारण जनतामा यसको के प्रभाव पर्ला ?
हो, मेरो विचारमा नयाँ शीतयुद्धको खतरा बढ्दैछ । अबको शीतयुद्ध विज्ञानमा आधारित शीतयुद्ध हुनेछ । त्यो डिजिटल शीतयुद्ध पनि हुनेछ । पाँच वर्षअघि शीतयुद्धको सम्भावना त देखिन्थ्यो । तर, त्यो निकै टाढाको कुरा जस्तो लाग्थ्यो । अहिले त्यो दिनानुदिन नजिकिंदै आइरहेको देखिन्छ ।
विज्ञानको क्षेत्रमा मात्र प्रतिस्पर्धा सीमित छैन । संसारमा सूचनाको प्रवाहमाथि कसले नियन्त्रण गर्ने भन्ने प्रतिस्पर्धा पनि सघन छ । किनभने सूचनाको प्रवाहमाथि नियन्त्रण गर्नु भनेको सि·ो संसारमाथि नियन्त्रण गर्नु हो । यदि हामी त्यस्तो खालको नयाँ शीतयुद्धमा प्रवेश गरे युद्धमा कसले जित्ला, त्यसले धेरै ठूलो अर्थ राख्दैन । जो जिते पनि हार भने मानवताको हुनेछ । त्यसकारण अबको शीतयुद्ध पहिलेको भन्दा खतरनाक हुने देख्छु ।
एक पटक हतियारको प्रतिस्पर्धामा हामी फस्यौँ भने, मानौं कृत्रिम बौद्धिकतायुक्त हतियारको प्रतिस्पर्धामा फस्यौँ भने त्यसलाई नियमन गर्न सकिन्न । त्यस्तो प्रतिस्पर्धाको प्रभावलाई कुनै पनि हालतमा सीमित बनाउन सकिन्न । हामीले स्वचालित हतियार प्रणाली, हत्यारा रोबोटको विकास गर्नु खतरनाक भएको कुरा बुझ्दाबुझ्दै पनि कुनै व्यक्तिलाई सधैंभरि पछ्याइरहने वा निगरानीमा राख्ने प्रविधिको विकास गर्नु निकै खतरनाक कुरा हो । त्यसो गर्नु भनेको एक प्रकारले डिजिटल तानाशाही शासनमा बस्नु जस्तै हुनेछ । हामीले गर्ने कुनै पनि काममाथि निगरानी गरिनेछ । हाम्रा क्रियाकलापको अभिलेखीकरण र विश्लेषण गरिनेछ ।
यो सबै कुरा बुझेर तपाईंले ‘यस्तो हुनु त राम्रो होइन’ भन्नुभए त्यो पक्कै असल विचार त हो । यद्यपि, तपाईं डरबाट मुक्त भने हुन पाउनुहुनेछैन : हामीले त्यसो ध्वंसात्मक प्रतिस्पर्धा गर्न नचाहे पनि उनीहरू भने त्यसकै तयारी गरिरहेको हुनेछ । तर, हामी उनीहरूलाई आफुभन्दा अघि पठाउन त कुनै हालतमा तयार हुने छैनौँ । हामी पछाडि पर्ने त कुरै हुन्न । त्यसकारण हामीले पनि त्यो काम उनीहरूले भन्दा अगाडि नै गर्न तम्सिन्छौँ ।
सत्य सधैँ पीडादायी हुन्छ । मानिसहरू आफू, आफ्नो देश वा आफ्नो विश्वबारे सत्य जान्न चाहँदैनन् किनभने त्यो सत्य कहीँ न कहीँ उनीहरूले मान्दै आएका विश्वास वा राजनीतिक दृष्टिकोणसँग ठोकिरहेका हुन्छन् । त्यसकारण उनीहरू सत्यमा पुग्न चाहँदैनन् ।
अर्को पक्षले पनि यसरी नै सोच्नेछ । परिणामत: हत्यारा रोबोट जस्ता हतियारको प्रतिस्पर्धा सुरु हुनेछ । त्यसमा कुनै बन्देज हुनेछैन । कुनै पनि खालका नियमनकारी कानुन बनाउने प्रयास भए सहमतिमा हस्ताक्षर गरे पनि हामीले उनीहरूलाई विश्वास गर्न सक्ने छैनौँ । उनीहरूले कुनै गोप्य प्रयोगशाला विकास गरेको छैन भन्ने कुरामा हामी कसरी ढुक्क हुन सक्छौँ ? त्यसकारण हामीले नै त्यस्तो प्रयोगशालाको विकास गर्न खोज्छौँ ।
परिणामत: यस्ता प्रविधि मानिसको हितको निम्ति प्रयोग गर्नुको सट्टा मानिसको स्वतन्त्रता नष्ट गर्ने विनाशकारी हतियारको रूपमा प्रयोग हुन थाल्नेछ । त्यसले सिंगो मानव जातिलाई नै पनि नष्ट पार्न सक्छ । यसो हुन नदिने एउटा उपाय भनेको नेतृत्वमा रहेका देशहरूबीचको तनाव समाप्त गर्नु हो ।
नि:सन्देह प्रतिस्पर्धा छ । प्रतिस्पर्धा भनेको संसारको एउटा अपरिहार्य पक्ष हो । संसारबाट हामीले प्रतिस्पर्धा हटाउन सक्दैनौँ । तर, प्रतिस्पर्धा र युद्धबीच निकै ठूलो भिन्नता छ । प्रतिस्पर्धीलाई हेर्ने र संसारलाई हेर्ने दृष्टिकोणमा जस्तो भिन्नता हुन्छ, त्यस्तै भिन्नता हुने गर्छ-प्रतिस्पर्धा र युद्धबीच । यदि हामीले चीन र संयुक्त राष्ट्र अमेरिकाबीच नयाँ शीतयुद्ध हुन दियौँ भने त्यो मानव जातिका लागि विनाशक हुनेछ । कृत्रिम बौद्धिकता (एआई) जस्ता कुराको विकासले मात्र त्यस्तो असजिलो अवस्था आउने होइन, बरु जलवायु परिवर्तनजस्ता अन्य खतरा प्रकोप रोक्न प्रभावकारी कदम चाल्न नसक्दा पनि मानिसले त्यो दुरावस्था भोग्नुपर्ने हुन्छ ।
विश्वव्यापी सहकार्य बिना हामीले जलवायु परिवर्तनको समस्या समाधान गर्न सक्दैनौँ । यदि चीन र संयुक्त राष्ट्र अमेरिका तथा अन्य देशहरू नयाँ शीतयुद्ध अथवा नयाँ हतियारको प्रतिस्पर्धामा संलग्न भए जलवायु परिवर्तन रोक्न कसरी मिलेर काम गर्ने भन्ने विषयमा कुनै पनि अर्थपूर्ण सहमतिमा पुग्न निकै कठिन हुनेछ ।
तपाईंले विज्ञानमा आधारित शीतयुद्ध रोक्ने एउटै उपाय भनेको (देशहरूबीचको) तनावपूर्ण सम्बन्ध समाप्त गर्ने भन्नुभयो । त्यो कसरी गर्ने ? तपाईंसँग केही सुझाव छ ?
म राजनीतिको विज्ञ होइन । त्यसकारण कस्तो सहमति गर्ने अथवा उनीहरूले के गर्न सक्छन् भन्ने विषयमा मसँग कुनै व्यवहारिक सुझाव छैन । तर, फेरि पनि बृहत् कोणबाट हेर्दा मेरो विचारमा दुवै पक्षले अहिलेको यो समयमा आफुले चाल्ने कुनै पनि कदममा मानिसको अस्तित्वको प्रश्न निर्भर रहने कुरा बुझ्न जरुरी छ । यो पुरानो खालको राजनीति मात्र होइन । प्रश्न मानिसको भविष्य रहन्छ वा रहँदैन, रहे कस्तो खालको भविष्य रहनेछ भन्ने हो । मेरो विचारमा हामीले बुझ्नुपर्ने न्युनतम बुझाइ भनेको जो हाम्रो प्रतिस्पर्धी वा विपक्षी हुन्, उनीहरू हाम्रा शत्रु नै हुनुपर्छ भन्ने होइन ।
समस्या समाधानको अवस्थामा पुग्ने एउटै उपाय भनेको एक अर्कोको दृष्टिकोणको कदर गर्न जान्नु हो । हाम्रो व्यवस्था तिम्रोभन्दा अब्बल हो, त्यसैले हामी जस्तै हुन तिमीहरूले आफ्नो व्यवस्थामा परिवर्तन गर्नुपर्छ भन्ने सोच नै बद्ल्न आवश्यक छ ।
केही मानिसहरू संसारको आजको भूराजनीति आफैँ पुन:आकार लिने प्रक्रियामा अघि बढिरहेको बताउँछन् । महामारीले यो प्रक्रियालाई अझ तेज बनाएको छ । विश्वको राजनीतिक ढाँचामा महामारीले पारेको प्रभावबारे तपाईंको धारणा राख्न चाहनुहुन्छ ?
प्रकारान्तरले महामारीको प्रभाव महामारी वा भाइरसमा मात्र निर्भर हुने गर्दैन । त्यसको प्रभाव मुलत: हामीले गर्ने निर्णयमा निर्भर रहन्छ । हामीले महामारीको लागि विदेशीहरू, अल्पसङ्ख्यक वा अरू कसैमाथि दोषारोपण गर्न सक्छौँ । संसारमा तनाव बढाउन मद्दत गर्न सक्छौँ । सहकार्य गर्न अस्वीकार गर्न सक्छौँ । खुला रूपमा सूचना आदानप्रदान गर्न तयार नहुन सक्छौँ । स्वास्थ्य सामग्री वा खोप जस्ता कम मात्रामा उपलब्ध स्रोतमा होडबाजी गर्न सक्छौँ ।
हामी यही दिशामा अघि बढ्यौँ भने, हामीले लिने निर्णय यस्तै भए महामारीको प्रभावस्वरुप संसार थप विभाजित हुनेछ । संसार थप तनावपूर्ण हुनेछ । संसार नयाँ शीतयुद्धको दिशामा अघि बढ्नेछ । हिंसा बढ्नेछ ।
तर, हामीले महामारीप्रति फरक धारणा वा फरक ढङ्गले प्रतिक्रिया जनाउन सक्छौँ । सहकार्य नै महामारीसँग लड्ने सबभन्दा उत्तम उपाय भएको कुरा हामीले बुझ्नुपर्छ । विदेशीहरूमाथि दोषको भारी थोपर्नुभन्दा हामीले उनीहरूसँग सहकार्य गर्न आवश्यक छ । उनीहरूलाई विश्वास गर्नु पर्छ । उनीहरूसँग पनि सूचना आदानप्रदान गर्नुपर्छ । त्यस्तो सम्बन्धले मात्र विश्वव्यापी योजना बन्न सक्छ । कम मात्रामा उपलब्ध स्रोत आदानप्रदान गर्ने तरिका निकाल्न सकिन्छ ।
महामारीले अर्थतन्त्रमा पारेका प्रभाव सामना गर्न हामी सक्नेछौँ । त्यसले संसारलाई थप सद्भावपूर्ण र शान्तिपूर्ण स्थान बनाउने छ । सद्भावपूर्ण र शान्तिपूर्ण विश्वमा भविष्यका आइलाग्ने चुनौती सामना गर्न सहज हुनेछ । भविष्यमा आइलाग्ने त्यस्ता चुनौती जलवायु परिवर्तन वा एआईको उदय कुनै पनि हुनसक्छ । मुख्य कुरा महामारीको प्रभाव होइन, तिनलाई हामीले कसरी सामना गर्छौँ भन्ने कुरा हो ।
स्रोत : ग्लोबल टाइम्स
नेपाली अनुवाद : नीरज लवजू
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया