‘संसद् र पार्टीमै अल्पमतमा परिसक्दा पनि प्रधानमन्त्रीको दम्भ हेर्नुस् त कस्तो छ ?’
प्रतिनिधिसभामा विरलैमध्येका एक सांसद हुन्– विरोध खतिवडा । जो २०४८ देखि निरन्तर ४ पटक सांसद भए, संविधानसभा सभासद् बाहेक । पहिलो कार्यकाल सभामुख दमननाथ ढुंगाना र खतिवडाबीच जुहारी चलिरहन्थ्यो । अनि सभामुख नामअनुरूप दमन गरिरहन्थे, उनी पनि नामअनुरूप नै विरोध । संसद्लाई रोचक बनाउन उनको भूमिका काफी रह्यो । दुर्भाग्य चाहिँ उनी सदस्य रहेको प्रतिनिधिसभाले कहिल्यै पूरा आयु पूरा गर्न पाएनन् । अनि उनको हकमा दुर्भाग्य भन्नुपर्छ, उनले कहिल्यै मन्त्री बन्न पाएनन् । नेकपाको दुई तिहाइ सरकार हुँदा पनि नाम मन्त्रीको सूचीमा दर्ज भएनन् । यतिखेर ठूलो नेकपातिर छन् । भन्छन्, ‘इतिहासदेखि हाम्रो पार्टीले नेता भन्दै आएको केपी शर्मा ओलीबाहेक सबै नेताहरू यतै छन् । नेताहरू जति यतै मूलधार पनि यही ।’ प्रतिनिधिसभा विघटन र पार्टी विभाजन सन्दर्भमा इकागजले खतिवडासँग गरेको कुराकानी ।
प्रतिनिधिसभा सदस्य भएर कहिल्यै पनि कार्यकाल पूरा गर्न नपाउँदा र बीचैमा भंग हुँदा मनस्थिति कस्तो बन्छ ?
पूर्ण आयु हुँदा स्वाभाविक रूपमा राम्रो हुने नै भयो । प्रतिनिधिसभाका हकमा मात्र हरेक संघसंस्थाले संविधान-विधानले तोकेको जीवन पाउँदा राम्रो हुन्छ । खुसीका सवाल पनि । प्रतिनिधिसभा भंग, संवैधानिक वा असंवैधानिक बाटो हुँदै अन्तिममा अदालत प्रवेश गर्नु हाम्रै नालायकीको कारण हो । अदालत प्रवेश गरेपछि कहिले प्रतिनिधिसभा ब्युँत्याउने त कहिले नब्युँत्याउने प्रक्रिया पहिला पनि भएकै हुन् । विगतमा प्रतिनिधिसभा विघटनका शृंखला चलिरहे ।
तपार्ईं त कानुनकै विद्यार्थी र प्रतिनिधिसभाका चार पटक सदस्य भएका नाताले विगत यो विघटनमा के फरक पाउनु हुन्छ ?
विगतको र यो यसमा फरक छ । पहिला संविधानमै प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्न पाउने अधिकार थियो । कुन-कुन स्थिति र कस्तो-कस्तो अवस्थामा हुने या नहुने व्याख्या थिएन । त्यो संविधानमा प्रधानमन्त्रीले चाहेमा गर्न सकिने व्यवस्था थियो । उता, अदालत गएपछि कुनै बेला त्यही धारा व्याख्या गर्दै विघटन भएका छन् भने कुनैमा पुनस्थापना । संसद्बाट सरकार बन्न सक्ने अवस्थामा रहेसम्म विघटन सम्भव छैन भन्ने व्याख्या अदालतबाट गर्दै पुनस्थापना भयो । त्यो बेला धाराको थप व्याख्या गर्नुपर्ने अवस्था थियो । अदालतले गर्यो, त्यो उचित वा अनुचित आ-आफ्नै कोणबाट टीकाटिप्पणी भयो पनि । संविधानसभाले संविधान निर्माण गर्दा त्यही हन्डर र ठक्करबाट चेत्दै प्रधानमन्त्रीलाई त्यो अधिकार दिइएन । चुनावसँगै सुरक्षा, कर्मचारी परिचालन, राज्यको ध्यान, चुनाव खर्च निम्ति राज्यको ढुकुटी जान्छ नै । चुनावको मिति घोषणा भएपछि केही समय मानिसहरू अनावश्यक तनावमा पुग्छन् ।
यो अवस्था आइपुग्नुको कारण चाहिँ के हो ?
कारण स्पष्ट छ । सरकार संविधान र विधानअनुरूप नचल्दाको परिणाम हो । यो विघटन पुग्नुमा सरकार संविधानअनुरूप नचल्नु हो ।
इतिहासदेखि हाम्रो पार्टीले नेता भन्दै आएको केपी शर्मा ओलीबाहेक सबै नेताहरू यतै छन् ।
पार्टी विभाजन हुनुमा चाहिँ कारण के हो ?
पार्टी भनेको विचार मिलेकाहरू एक ठाउँमा बस्नु हो, व्यक्ति वा समूहहरू । त्यसलाई सञ्चालन गर्ने विधि र विधान बनाइएको हुन्छ । मानिसलाई विचारले नै सम्बन्ध जोड्छ । त्यो सम्बन्ध एकले अर्कालाई सम्मान गर्दाका बखतसम्म टिक्छ र त्यसो नभए टुट्छ । सम्बन्धहरू मूल्य-मान्यतामा आधारित भए टिक्छ । पूर्व र पश्चिमका मानिसहरू न एकै कलेजमा पढेका हुन्छन्, न एकै विद्यालयमा । धेरै कुरा नमिले पनि मानिसहरूलाई विचारले एक पार्टीमा ल्याउँछ । कसैले कसैलाई हप्काएर वा दप्काएर पार्टी चल्दैन । आफूलाई चलाउन हामीले जे नियम बनाएका छौं, नियमले चलाउँछ । जस्तो संसद्मा हामी कानुन बनाउँछौं । संविधान बनाउँछौं । त्यो बनाउँदाका बखतसम्म संसद्लाई शब्द काट्ने-थप्ने अधिकार हुन्छ । त्यो पारित नहुँदासम्म थपघट गर्न सक्छौं । ज्यानमारा आजीवन कैद लेख्न पनि सक्छौ, फाँसी पनि लेख्न सक्छौं । जब त्यो कानुन हुन्छ, तब त्यही कानुनले तपाई-मलाई पनि शासन गर्छ । कानुन नबन्दासम्म म शासन गर्छु । कानुन बनेपछि त्यसले शासन गर्छ । म त्यो कानुनको शासनभित्र हिँड्नुपर्छ । मैले कानुन उल्लंघन गरेमा मलाई गिरफ्तार आउँछ । हिजो मैले लेखेको कानुनअनुरूप मलाई कहाँ गिरफ्तार गर्न पाइन्छ भनेर पाउँछु र ? त्यसैगरी पार्टीका विधान र पध्दति जे बनाइएको छ, त्यसभित्र हिँडेको खण्डमा सहज रूपले अघि बढ्छन् । तर, जब त्यसमा उल्लंघन हुन थाल्छ, तब मनमुटाव-टकराव बढ्दै जान्छ । त्यसले दूरी बढाउँछ, त्यसपछि दमन, धम्की, विभाजनका भाका आउँछन् । त्यसमा बलियाले नियम मिच्छ । त्यो मिचेपछि असन्तुष्ट बढ्दै जान्छन् । त्यो स्थितिमा एकै ठाउँमा बस्न सक्ने स्थिति हुन्न । त्यसमा नयाँ ढंगबाट अघि बढ्नैपर्ने हुन्छ ।
विभाजन चाहिँ कुर्सीको लडाइँ भन्छन् नि ?
सबै मानिसहरू नेताहरू दौडिएका कुर्सीका लागि हो भन्छन् । म त हो भन्छु । किनभने हामीले बनाएको नेकपा, कांग्रेस हुन् अरू पार्टी के लागि हुन् त ? तिनीहरू जनतासँग मत मागिरहेका हुन्छन् । त्यो के का लागि भन्दा कुर्सीकै लागि हो । सरकार बनाउन मत माग्नु भनेको कुर्सीमा बस्ने अधिकार माग्नु होइन र ? यो नेताहरूको कुर्सीको लडाइँ हो त ? पार्टीभित्रका लडाइँमा कुर्सीका कुरा आउँछन् । कुर्सीको झगडा स्वाभाविक हो । कल्पना गरौं, घरमा दुई जना पाहुना बोलाइयो । एउटा शुध्द दाल-भात र अर्को को अघिल्तिर माछा-मासुका परिकार र दही-दूध पनि राखिदिनुभयो । एकै टेबुलमा बसेका छन् । एउटालाई अपमान भयो कि भएन ? तपाईंले खान बोलाएको थिएँ, दाल-भात दिएकै थिए ? मैले कहाँ अपमान गरे ? तपाईं भन्न सक्नुहोला । सुन्नेले पनि हो नै भन्ला । बोलाएर खान दिएपछि भएन र भन्लान् । तर एउटै टेबुलमा एउटालाई माछा-मासुसहितका परिकार र अर्कोलाई दाल-भात मात्र खाँदा चाहिँ कस्तो पीडा हुन्छ होला ? यसलाई हेर्दा सामान्य तर यो अपमान हो ।
वरिष्ठ मानिसलाई भुइँमा राख्दै कनिष्ट मानिसलाई मञ्चमा राखियो भने के हुन्छ ?
त्यसो भए, प्रधानमन्त्रीले तपाईंहरूमाथि अपमान भएको हो ?
कुनै ठाउँमा मैले बोलाए, म चाहिँ टक्क कुर्सीमा बस्ने । अरूलाई चाहिँ चौरको भुइँमा बस्नुस् भनेको खण्डमा मान हुन्छ कि अपमान ? त्यहाँ कुर्सीका कुरा हुन्छ कि हुन्न ? वरिष्ठ मानिसलाई भुइँमा राख्दै कनिष्ट मानिसलाई मञ्चमा राखियो भने के हुन्छ ? त्यहाँ मानिसलाई अपमान गर्यो भनी चित्त दुःखाइ हुन्छ । यसले मन फाँट्छ, कही व्यवहारले, कहीँ विधि-विधान उल्लंघनले । नेकपामा पनि त्यही भएको हो । अर्को चाहिँ विभिन्न कारणले एकीकृत भएको पार्टीमा आ-आफ्ना स्वाभिमान, हैसियत हुन्छन् । पार्टीमा एक नम्बरवाला भन्नेहरूले तिनलाई सन्तुलन मिलाउन वा संवेदनशीलता बुझ्न सकेन भने कमजोरी हो । दुई पार्टीको एकीकरण गर्ने अनि एकीकरणको भावना-मर्मलाई लत्याई दिएपछि त्यस्तै हुन्छ । कांग्रेस पनि गिरिजाप्रसाद कोइरालाको ‘डोमिनेसन’का कारणले फुट्यो ।
त्यसो भए, नेकपा विभाजनमा पनि प्रधानमन्त्रीको तुजुक र दम्भले काम गरेको हो ?
हो, मैले त्यस्तै देखिरहेको छु । प्रतिनिधिसभा भंग गरेपछि राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा पनि प्रधानमन्त्री दम्भ टुटेको देखिएन । केन्द्रीय समितिका ४४१ सदस्यमध्ये उहाँसँग जम्माजम्मी १२० जना रहे, ३१० जना भन्दा बढी यता आएको तथ्य हाम्रासामु छन् । तर प्रधानमन्त्री भन्दै हुनुहुन्छ, ‘मेरो लोकप्रियताले प्राप्त मतलाई, मेरो लोकप्रियता होइन भन्नेहरूले आफ्नो लोकप्रियता प्रमाणित गरून् ।’ प्रधानमन्त्रीमा यस्तो भ्रम भएपछि के हुन्छ ? पार्टी सगठन, असंख्य नेता-कार्यकर्ताको खटाइले प्राप्त मतलाई मैले पाएको हुँ कसरी भन्ने ? यसरी घमण्ड पलाउनाले पनि पार्टी फूटका घटनाहरू हुन्छन् । आफू संसद् र पार्टीमै अल्पमतमा परिसक्दा पनि प्रधानमन्त्रीको दम्भ हेर्नुस् त कस्तो छ ?
प्रतिनिधिसभा विघटनले मलाई त्यति पीडा भएन । तर, पार्टी विभाजन भएको दृश्यले चाहिँ मलाई पीडा भयो ।
तपाईं चार पटक प्रतिनिधिसभामा पुग्नुभयो, कार्यकाल पूरा गर्न नपाउँदा पीडा हुन्छ कि हुन्न ?
म चाहिँ धेरै पटकको भुक्तभोगी भएर हो कि के हो ? प्रतिनिधिसभा विघटनले मलाई त्यति पीडा भएन । तर, पार्टी विभाजन भएको दृश्यले चाहिँ मलाई पीडा भयो । पार्टी एकतापछि जुन ऊर्जा थपिएर अलि लामै अवधि कम्युनिस्ट पार्टीको सरकार जाला र यसले मुलुकलाई अलि योगदान देला भन्ने लागेको थियो । अनि हामीलाई पनि अरू पार्टीको सरकार र कम्युनिस्ट पार्टीको सरकार फरक हुन्छ भन्ने अनुभूति दिलाउन सकुँला भन्ने लागेको थियो । त्यसलाई आउँदो पुस्ताले निरन्तरता दिनेछन् भन्ने लागेको थियो । कम्युनिस्ट पार्टीको राम्रो जग बसाएर बिदा हुनुपर्छ सोचेको थिए । त्यसमा धक्का लाग्यो । अब कसैको बहुमत आउनेवाला छैन । तर पनि ऊर्जा कहाँनेर थपियो भने हाम्रो नेकपामा दुई तिहाइभन्दा बढी केन्द्रीय सदस्यहरूको उपस्थिति रह्यो । इतिहासदेखि हाम्रो पार्टीले नेता भन्दै आएको केपी शर्मा ओलीबाहेक सबै नेताहरू यता नेकपा रहे । अझ एकीकृतपछिका नेताहरू पनि यतै रहे । नेताहरू जति सबै नेकपातिर देख्दा यही पार्टी मूलधार हुनेछ ।
तपाईंले भने जसरी कम्युनिस्ट पार्टी भविष्य अप्ठ्यारोमा परेको हो ?
हेर्नोस्, अब कसैको पनि बहुमत आउँदैन । आखिर यिनै पार्टी आउने हुन् । अलिकति दक्षिणपन्थी भनिएका र लोप हुन थालेका पार्टीहरूको केही सिट आउन सक्छ । साना पार्टीहरूको केही सिट आउन सक्छ ।
त्यसो भए फेरि दुई तिहाइबाट ‘हंग पार्लियामेन्ट’कै यात्रामा हो ?
संसदीय कालखण्डमा एमाले, कांग्रेस, राप्रपा त्रिशंकु थियो भने लोकतन्त्रकालमा कांग्रेस, एमाले र माओवादी बन्यो । अलि-अलि संख्या तल-माथि होला । एकताबेगर अघि बढ्दा अब चार शक्ति देखा पर्न सक्छन् । पहिलो दोस्रो कांग्रेस र नेकपा हुन्छ, तेस्रो चौथोमा हाल विभाजित नेकपा र मधेसवादी दल हुन सक्छन् । मैले चुनावी तस्बिर त्यस्तै देखिरहेको छु ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया