वार्ता

घरभित्र व्यवहार नबदलेसम्म लैंगिक समानता र महिला सशक्तीकरणका प्रवचन खोक्रा लाग्छन्

इकागज |
पुस ५, २०७८ सोमबार ११:३६ बजे

सुनिल नन्दा, इण्डिया स्कील्सका पूर्व सीईओ हुन् । उनी अहिले सामाजिक अभियन्ताका रूपमा कार्यरत छन् । उनीहरूले नेपाल इन्टरनेट फाउण्डेसनसँगको सहकार्यमा  काभ्रे (नमोबुद्ध), रसुवा (उत्तरगया) लगायतका जिल्लामा भारतमा ‘सेल्फी विद् डटर’ अभियानझैं घरमा छोरीहरूको नेम प्लेट राख्‍ने, महिलाहरूको महिनावारी चार्ट राख्‍ने तथा महिलामा आउनसक्ने समस्याबारे परिवारमा छलफल गर्ने अभियान चलाइरहेका छन् । भारतमा यो अभियानका लागि सेल्फी विद् डटर फाउण्डेसन निकै लोकप्रिय छ । गत साता राजधानीमा आयोजित सेल्ल्फी विद् डटरका उत्कृष्ट सेल्फी विजेतालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले सम्मानित गर्दै लैंगिक सशक्तीकरणका लागि आमा,छोरी, दिदी,बहिनीहरूको पहिचान, सम्पत्तिमा अधिकार, सीप विकास र उद्यमशीलतामा जोड दिइन् । उक्त अभियानका अभियन्ता सुनिल जगलानलाई लैंगिक सशक्तीकरणका क्षेत्रमा गरिएका कामका लागि भारत सरकारले दुईओटा राष्ट्रिय सम्मान मार्फत् विभूषित गरिसकेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जगलानको यो कार्यको धेरै मञ्चमा प्रशंशा गरेका छन् । दक्षिण एसियाभर लैंगिक उत्थानका सम्बन्धमा उस्तै सवालहरू रहेको बताउने अभियानका वरिष्ठ सल्लाहकार नन्दासँग इकागजले कुराकानी गरेको छ । नन्दाले पेनाल रिफर्म इन्टरनेशनलको दक्षिण एसिया क्षेत्रीय कार्यालयको निर्देशकका रूपमा नेपालमा यसअघि चार वर्ष काम गरेका थिए । प्रस्तुत छ नन्दासँगको कुराकानीः

नेपालमा लैंगिक सशक्तीकरणको क्षेत्रमा काम गर्दा कस्तो लागिरहेको छ ? 


यो पटक म नेपालमा आएर एक साता बिताएँ । हामीले यहाँ ग्रामीण क्षेत्रमा भ्रमण गरेर त्यहाँ विभिन्न सरोकारवाला समुदायसँग भेटघाट गर्‍यौं । उनीहरूसँग खासगरी छोरीहरूको सशक्तीकरणका सम्बन्धमा सघन छलफल गर्‍यौं । भारतमा सेल्फी विद् डटर फाउन्डेसनमार्फत् काम गर्दाका हाम्रो अनुभवले यसलाई राष्ट्रिय अभियान बनाउन सकिन्छ भन्ने लाग्छ । भारतमा ‘बेटी बचाऊ, बेटी पढाऊ’ राष्ट्रिय अभियानको रूपमा अघि बढाइएको यहाँलाई थाहै छ । भारतमा मात्र होइन, भारतबाहिर पनि यसबारे राम्रो प्रतिक्रिया प्राप्त गरेका छौं । प्रतिष्ठित सञ्चारमाध्यमले यसलाई राम्रो स्थान दिएका छन्, यसबारे चलचित्रहरू बनेका छन् । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले धेरै पटक उनको ‘मनकी बात’ मा यसबारे चर्चा गरेका छन् । यो फाउण्डेसनको सुरुवात भारतमा राष्ट्रपति भवनमा भएको थियो । हाम्रो अनुभवले यो क्षेत्रभर लैंगिक सशक्तीकरणमा काम गर्न सक्छौं भन्ने लाग्छ । यो अत्यन्त पवित्र अभियान हो र यसले धेरै ठूलो सशक्तीकरण सिर्जना गरेको छ । नेपालमा सेल्फी विद् डटर फाउण्डेसनले नेपाल इन्टरनेट फाउण्डेसनसँग सहकार्य गरेको छ । हामीले काभ्रेमा नमोबुद्ध नगरपालिकाको बोहरे र रसुवा जिल्लाको उत्तरगयाबाट नेपालमा यो कार्यक्रमको सुरुवात गरेका छौं । यहाँ हामीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी तथा काठमाडौँ र त्रिभुवन विश्वविद्यालयका स्रोत व्यक्तिहरूसँग भेट्यौं । यहाँका नागरिक समाज– जेसिज, रोटरी इन्टरनेशनल, चेन नेपाल, टेवा लगायतसँग भेट्यौं र उनीहरूको समीक्षा सुन्यौं र केही पृष्ठपोषण लियौं । यो अभियान विभिन्न गाउँहरूमा विद्यालयमा सुरुवात भएको थियो र हामीले उत्साहजनक प्रतिक्रिया पाएका छौं । 

भारतको अनुभव नेपालका लागि पनि अनुकरणीय हुनसक्छ ? 

पक्कै पनि उस्तै सामाजिक–आर्थिक स्थिति र उस्तै चिन्तन र परम्परा रहेकोले हाम्रो छिमेकी देशहरूमा यो अभियान अनुकरणीय हुनसक्छ । नेपालमा हामीले हाम्रो साझेदार नेपाल इन्टरनेट फाउण्डेसनसँग मिलेर गएको जुन महिनाको ९ तारिखमा यसको शुभारम्भ गरेका हौं । कोभिड–१९ महामारीको जटिल अवस्थाका कारण भर्चुअल माध्यमबाट गरिएको उद्घाटनमा नेपालकी महिला, बालबालिका र ज्येष्ठ नागरिक मन्त्री तथा भारतीय समकक्षी सहभागी थिए । त्यसयता छोटो समयमा हामीले राम्रो सचेतनाको विकास गर्न सकेका छौं । हामीले अर्को एक–दुई वर्ष कार्यक्रम कार्यान्वयनका लागि दुई–तीनवटा डेमोन्स्ट्रेसन केन्द्रहरू निर्माण गर्नेछौं । सचेतना, सामाजिक रूपमा दबाब सिर्जना गरी महिलाहरूको सशक्तीकरणमा ध्यान दिनेछौं । हाम्रो अभियानमा घरमा छोरीहरूको नेमप्लेट राख्‍ने र अर्को घरमा महिला सदस्यहरूको महिनावारी चार्ट राख्‍ने र नियमित महिनावरी भए/नभएको र केही समस्या भएमा समयमा उपचारका लागि परिवारमा छलफल हुने र अर्को महत्वपूर्ण अभियानचाहिं ‘छोरी पञ्चायत’ यसमा छात्रा (छोरी)ले नेतृत्व गरेका हुन्छन् र त्यो पञ्चायतमा युवा र प्रौढहरू पनि सहभागी हुन्छन् तर सिङ्गो पञ्चायतको सञ्चालन छोरीहरूले नै गर्छन् । र पञ्चायतको प्रमुखलाई हामीले ढाका टोपी लगाएर पञ्चायत सञ्चालन गर्न लगायौं । यहाँ ढाका टोपी पुरुषले मात्र लगाउनुपर्छ भन्ने परम्परा छ । पञ्चायत प्रमुखको आइकनका रूपमा हामीले यो अभ्यास गर्‍यौं । यो तीनै अभियानको उद्देश्य भनेको छोरीहरूको विवाहलाई ढिलाइ गराउने हो । विभिन्न कारणले महिलाहरूको छिटो विवाह हुनेगर्छ र चाँडै बच्चा भएपछि उनीहरूले आफ्नो शिक्षा वा पेशा अगाडि बढाउन सक्दैनन् । हामी अभियानका माध्यमबाट आम मानिसहरूलाई परामर्शसँगै लैंगिक सशक्तीकरणका पक्षमा जागरूक बनाउन सक्छौं । 

यो नेपालमा जरा गाडेर बसेको समस्या भएका कारण राष्ट्रिय स्तरबाटै यो अभियान अघि बढाउनुपर्छ भन्ने लाग्दैन । जस्तो भारतमा ‘बेटी बचाउ, बेटी पढाउ’ राष्ट्रिय कार्यक्रमको रूपमा रहेको छ । यसमा गैरसरकारी संस्थाहरू, नागरिक समाज, सञ्चार क्षेत्रदेखि सबैले कसरी सहकार्य गर्न सक्छन् ? 

यो वास्तवमा राष्ट्रपति वा प्रधानमन्त्रीको तहबाट लिनुपर्ने पहल हो । यहाँले भनेजस्तै दक्षिण एसियाली देशहरूमा यो समस्या जरा गाडेर बसेको छ । समाजले सहजै परिवर्तन रुचाउँदैन । त्यसैले यस्तो अभियान र सामाजिक दबाबको आवश्यकता छ । त्यसकारण सबैले दबाब बढाउँदै जानुपर्छ भन्ने त हो, तर सबैभन्दा पहिला त महिलाले उनीहरूले आफ्नो सशक्तीकरणका बारेमा बुझ्नुपर्‍यो र उनीहरूले आवाज उठाउनुपर्छ । उनीहरूले सशक्त आवाज नउठाएसम्म परिवर्तन सम्भव हुँदैन । महिलाहरूलाई पनि पुरुषलाई सरह कानुनी अधिकार, मानव अधिकार, सम्पत्तिको अधिकार छ । तर त्यो अधिकार उनीहरूले कहिले उपभोग गर्ने ? त्यत्तिकै त कसैले दिदैंन । त्यसकारण उनीहरू आफैं सचेत भएर दबाब सिर्जना गर्नुपर्छ । भारतमा हामीले यस्तै अभियान चलायौं र सफल पनि भयौं । 

यहाँसँग सीप विकासमा काम गरेको अनुभव पनि छ । महिला सशक्तीकरणका लागि उनीहरूमा सीप विकास पनि त्यत्तिकै आवश्यक छ नि ? 

हामीले महिला उद्यमी संघसँग यसबारे छलफल गरेका छौं । महिलाहरूमा परम्परागतमात्र होइन नयाँ प्रविधि सहितका र विद्यमान एवं उदीयमान आवश्यकताका क्षेत्रमा सीप विकास गराउनुपर्छ । परम्परागत भन्दा पनि धेरै माग भएका क्षेत्रका सीप सिकाउनुपर्छ । महिला शिक्षित भए, सीपयुक्त भए भने उनीहरूको आर्थिक सशक्तीकरण हुन्छ र यसले महिला सशक्तीकरणको गति तीव्र हुन्छ । महिला आर्थिक रूपमा सशक्त भएनन् भने उनीहरू परिवारमा पुरुष सदस्यमा आश्रित हुनुपर्छ । त्यसले गर्दा फेरि पुरुषको प्रभुत्व हुन्छ र महिलाले आफ्नो अधिकार उपभोग गर्न पाउँदैनन् । यहाँ समुदायको सहयोग र सरकारको पहलसँगै लैंगिक सशक्तीकरणको पाटोमा रूपान्तरण ल्याउन सकिन्छ । 

छोरीको नाममा नेमप्लेट राख्‍ने भनेको त सम्पत्तिको अधिकारको सांकेतिक पाटो मात्र हो नि ? यसले कसरी ठूलो परिवर्तन ल्याउँछ र ?

सबैभन्दा पहिले हामीले नमोबुद्धकी प्रिसा नामक बालिकाको घरमा नेमप्लेट लगायौं । प्रिसाका अभिभावक सन्तोष र गिता सिलवाल यसका लागि खुसीसाथ तयार भए । उनीहरूका दुईओटा सन्तान छोरा र छोरी छन् । उनीहरूसँग जे सम्पत्ति छ, त्यो उनीहरू आधा–आधा आफ्ना सन्तानलाई दिन चाहान्छन् । जब एउटा घरमा यो वातावरण तयार हुन्छ भने त्यो टोल र समुदायका अरु घरमा पनि कुरा हुन थाल्छ । उनीहरूले सोच्‍न थाल्छन् । नेपालको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको यो अभियान सबै घरमा लागू गर्ने र कानुन नै ल्याएर छोरा र छोरीलाई सम्पत्तिमा समान अधिकार दिनुपर्ने व्यवस्था गर्न तयार रहेको हामीले पायौं । वास्तवमा अहिलेसम्म महिलाहरूको अधिकार, सशक्तीकरणको धेरै फोरममा चर्चा हुन्छ तर आफ्नो घरमा कोही परिवर्तन हुन चाहँदैन भने त कसरी परिवर्तन आउन सक्छ । घरभित्र व्यवहार नबदलेसम्म लैंगिक समानता र महिला सशक्तीकरणका प्रवचन खोक्रा लाग्छन् ।

यहाँ छोरी पञ्चायतको प्रभावकारिता रहला ? 

नेपालमा नेतृत्व तहमा अत्यन्त कम महिला छन् । हामीले के देख्यौं भने कानुनले महिला मेयर भए पुरुष उपमेयर या उपमेयर महिला भए पुरुष मेयर हुने व्यवस्था छ । तर अधिकांश डेपुटी मेयर महिला छन् । उनीहरूलाई खास अधिकार छैन । डेपुटी मेयरसँग खासै अधिकार नभएको हाम्रा सरोकारवालाहरूले बताउँछन् । यो द्वुविधापूर्ण स्थिति छ । नमोबुद्धकी डेपुटी मेयरसँग हामीले कुरा गर्‍यौं । उनी धेरै दक्ष र महिला सशक्तीकरणको पक्षमा आक्रामक छिन्, तर उनीसँग यसमा थप काम गर्नका लागि अधिकार छैन । त्यसकारण छोरी पञ्चायतमा हामीले पञ्चायतको प्रमुख छोरीलाई बनाउँछौं । उनीहरूले समुदायका सदस्यहरूको सहभागितामा पञ्चायत गठन गर्छन् र त्यसको नेतृत्व गर्छन् । यदि उक्त समुदायमा कुनै छोरीको विवाह २० वर्षभन्दा छिटो भयो भने उक्त पञ्चायतले उनीहरूलाई दण्ड गराउन पहल गर्छ । यसरी विवाह गराउनेलाई तीन वर्ष जेल वा पाँच लाख रुपैयाँ सजाय हुन्छ । छोरीको शिरमा हामीले ढाका टोपी लगायौं । ढाका टोपी पञ्चायतको विशेष बैठकमा छोरीहरूले लगाउँछन् र पञ्चायतको सञ्चालन गर्छन् । 

भारतमा पनि पुरुषहरूको चिन्तन समान छ । हामीले हरियाणामा यो अभियान सञ्चालन गर्दा र आज निकै ठूलो परिवर्तन भएको छ । हरियाणाको मुस्लिम समुदायमा हामीले परिवर्तन ल्याउन सक्यौं । भारत सरकारले यो परिवर्तनको महशुष गरेको छ र सहयोग प्राप्त भएको छ । नेपालमा पनि लैंगिक सशक्तीकरणको पक्षमा जबर्दस्त काम गर्न सकिन्छ किनकी यहाँ पनि भारतमा जस्तै पृष्ठभूमि, पुरुषहरूको प्रभुत्व, चालचलन, व्यवहार र पम्परा कायम छ । यसलाई हामी सबै मिलेर परिवर्तन गर्नुपर्छ । 
 


Author

थप समाचार
x