वार्ता

इकागज संवाद

कतारको विकासबाट हामीले सिक्‍नैपर्छ

सुरक्षागार्डमा पनि नेपालीको सेवा सुविधा निश्‍चित रूपमा राम्रो छ

चन्द्रशेखर अधिकारी |
पुस २०, २०७७ सोमबार १६:४५ बजे

डा.नारदनाथ भारद्वाजले पत्रकारिता गरे, प्राध्यापन गरे, इतिहासमा विद्यावारिधि गरे र एक वर्षअघि उनी कतारका लागि नेपाली राजदूत भएका छन् । नेपाल-कतार सम्बन्ध, त्यहाँ नेपाली कामदारको अवस्था र रोजगारीको व्यवस्थाबारे इकागजका चन्द्रशेखर अधिकारीसँग संवाद गर्दै उनले भने, ‘कतारमा जनता र सरकारबीचको सहकार्य निकै राम्रो छ । यो प्रकारको सहकार्य हामी सबैले सिक्न जरुरी छ ।’ प्रस्तुत छ, भर्चुअल भलाकुसारीको सार :

पत्रकारिता, अध्यापन अनि अहिले दुई मुलुकको पुलको भूमिका निर्वाह गर्ने जिम्मेवारीमा हुनुहुन्छ । कस्तो अनुभव गरिरहनुभएको छ ?
म जे काम गरे पनि भित्रैदेखि गर्ने हुनाले होला, राम्रो महसुस गरिरहेको छु । कूटनीतिकतर्फ यो मेरो पहिलो अनुभव हो । कूटनीतिमा मेरो सैध्दान्तिक ज्ञान थियो । सोही कारण म अपरिचित पनि रहिनँ । तर अभ्यस्त थिइनँ । अहिले प्राक्टिकल फिल्डमा छु । कूटनीति भनेको समन्वयकारी भूमिका पनि हो । हामीले कतार सरकारसँग मिलेर आफ्नो मुलुक र जनताको हितमा काम गर्ने हो । त्यहीअनुरूप काम गरिरहेको छु । मेरो टिम पनि राम्रो छ । कतार पश्चिम एसियाको आर्थिक महाशक्तिका रूपमा उदाउँदो मुलुक हो । हामीले यो मुलुकलाई रोजगारी दिने मुलुकका रूपमा मात्र हेर्न हुँदैन । यो मुलुकले गरेको चामत्कारिक विकास र जनतासँग राज्यले गरेका सहकार्य पनि महत्वपूर्ण छन् ।
 
सुनेको कतार र देखे-भोगेको कतारबीच के फरक पाउनुभयो ?
सैध्दान्तिक ज्ञान र व्यावहारिक अनुभवमा फरक हुन्छ नै । त्यो फरक यहाँ आएपछि झन् स्पष्ट भएँ । यहाँको सरकारले जनतासँग कसरी आफू देखिने भनेर गरेको कार्यले त्यसलाई मद्दत पुगेको छ । जनतामाथि सरकारले राखेको सहयोगात्मक भावना अभूतपूर्व लागिरहेको छ । यहाँको संस्कृति भिन्नै भए पनि यहाँ नेपाली कामले जनभावनालाई प्रतिविम्बित भएको देख्दै छु । यहाँ एक किसिमले हाम्रो जनजीवनबीच निकै राम्रो निकट सम्बन्ध रहेको पाएँ । यो क्षेत्रमा आपसी सद्‍भाव खल्बलिइरहने भए पनि कतारले त्यसमा आफूलाई निकै माथि राखेको छ । पहिले जुन किसिमको चिन्ता हुन्थ्यो, अहिले हुँदैन ।


कतार र हाम्रो सम्बन्ध भनेको हिमाल र समुद्रको जस्तो हो । एकअर्कामा अन्तर्निहित हुन्छ । कतार अरब महासागरको एक छेउमा रहेको प्रायद्विप मुलुक हो । हामी सगरमाथाको मुलुक । हामीले हिमालको पानी यहाँ ल्याउन सक्छौं । हाम्रै पानी बगेर यहाँ पुग्दा समुद्र भरिएर सतह बढेका छन् । पर्यावरणमा आएको परिवर्तनले हिमालको हिउँ पग्लिएर यो क्षेत्र प्रभाव परेको अवस्था पनि छ । यस्ता विषयमा अरब र नेपाली जनताको भावना जोडिएको छ । त्यो सन्देश हामीले यहाँ दिइरहेका छौं । एकअर्काको भावना र संवेदनशीलतालाई बुझेर सहकार्य र परस्पर लगानी, भेटघाट र शृंखला चलाएको छु । 

कतार सरकारले नेपाली नागरिकलाई कसरी हेर्ने गरेको छ ?
कतारले नेपालीलाई आफ्ना नागरिक सरह नै हेरेको छ । झन् अहिले कोभिडको समयमा औषधि उपचारमा देखाएको तदारुकता, रोजगार गुमाउनेप्रति देखाएको सद्‍भाव साँच्चै बिनाभेदभावको छ । फोक्सो पनि काम नलाग्‍ने भएर उपचारार्थ रहेकाहरूलाई गरेको सहयोग र देखाएको सद्‍भाव उदाहरणीय छ । कोभिडले उद्योग बन्द भए पनि त्यस्तालाई व्यवस्था गर्ने काम हामीले पनि गर्‍यौं र कतार सरकारले पनि गरेको छ । कतारी च्यारेटीले खाना नै खुवाएका थिए । नेपाली गैरआवासीय (एनआरएन) पनि त्यसमा काम गरेको थियो । कोभिडको डरलाग्दो महामारीमा पनि कतारमा रहेका नेपाली भोकै हुने स्थिति आएन । बेरोजगार बनेका, कामको कन्ट्र्याक्ट अवधि सकिएका १२ हजार नेपालीलाई भने गत जुन २० देखि नेपाल पठायौं । अहिले त्यस्तो अवस्था छैन । त्यसपछि पनि लगातार सहकार्य हुँदै गर्दा ३४ हजारभन्दा बढी नेपाली नागरिक उध्दार भए ।

नाकाबन्दीको मार खेपेको कतारले आफ्नो काममा कुनै हार मानेन । २०२२ मा विश्‍वकप आयोजना गर्दैछ । चानचुने कुरा पक्कै होइन ।

कतारमा अहिले नेपालीहरूको अवस्था कस्तो छ ?
कोभिड-१९ विरुध्द प्रभावकारी ढंगले काम हुन थालेको छ । जसले गर्दा यहाँ संसारका सबै स्थापित पध्दति  प्रयोग भएको छ । यहाँका नियम नेपाली समुदायमा प्रचार गरेका छौं । उल्लंघनका घटना भएनन् । कोरोना लगभग नियन्त्रणमै देखिन्छ । निर्माण परियोजना बिस्तारै खुल्दैछन् । घर फर्कनुपर्नेलाई काम दिलाउन पहल गर्‍यौँ ।

श्रम मन्त्रालयले कतार चेम्बरसँग मिलेर रिकरुटिङ प्लेटफर्ममा इन्टर्न गराउने काम भए । एक स्थानमा  काम नभएकालाई अर्को स्थानमा जानसमेत स्वीकृत दिने र काम गराउने कार्य भएका छन् । अफिसियल फेसबुकमा राखेर सहयोग गरेको छौं । अहिलेको अवस्थामा रोजगारको स्थितिमा भिन्‍न र फरक ढंगले हेरेको छैन । यहाँ भ्याक्सिन आएमा सबै नेपालीले लाउन पाउनेछन् । व्यवहारमा कत्ति पनि फरक दृष्टिले हेरेको पाइनँ ।

नेपाल आएकाहरू फर्कन पाउँछन् त ?
कतिपय पुनः काममा आउनेगरी गएका छैनन् । काम सकेका वा सक्न केही महिना बाँकी भएकाहरू हतारिएर फर्केका हुन् । यहाँ नै १२/१३ वर्ष काम गरेर आफ्नै ढंगले व्यवसाय सुरु गर्ने मानिस छन्, नेपालमा । खासगरी भन्‍नुपर्दा फर्कनेहरू दुई किसिमका छन् । बिदामा पठाएका मानिसहरू श्रम मन्त्रालयमा निवेदन दिनेबित्तिकै विशेष अनुमतिको आधारमा आउन पाउनेछन् । यो कार्य गत १५ नोभेम्बरसम्म थियो ।

अहिले त कतार आउनलाई भिसा खुला भएको छ । बिदामा नगएका र नयाँ नै कामदार पनि आउन पाउने स्थिति छ । नेपालबाट कोभिड परीक्षण गरेर जाने हुँदा एक साता क्वारेन्टिन बसेपछि काममा जान पाउँछन् । कोभिड परीक्षण र होटल खर्च बढेको हो । अन्य उस्तै छ । हामीले प्रमाणीकरण खुला गरिसकेका छौं । त्यसैले अब नेपाली आउन सक्छन् ।

कामदारको प्रमाणीकरण दूतावासले मात्र गर्ने हो ?
हामीले नै यहाँको समस्या हेर्ने भएपछि माग आउँदा कस्तो माग आयो ? कुन क्षेत्रमा बोलाइएको हो ? काम गर्न हुन्छ कि हुँदैन ? त्यो सबै हेरेर हामीले स्वीकृत दिएपछि प्रक्रिया अघि बढ्छ । कम्पनीको विगत र विद्यमान अवस्था बुझेर मात्र त्यसमा हामी सहमति दिन्छौं । अझ हामी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) अनुरूप छ कि छैन भन्‍ने पनि हेर्छौं । र, त्यो हेरेर प्रमाणीकरण दिने गर्छौं । कतिपय समस्या समाधान नभएको भेटियो भने त्यो समाधान गरेर आएपछि मात्र अन्तिम स्वीकृत दिने गर्छौं । 

नेपालीलाई कतारी सरहको हैसियत-सुविधा भन्‍नुभयो तर यहाँ पारिश्रमिक त त्यस्तो धेरै भएको पाइँदैन नि ?
सम्झौताअनुरूप नै काम र पारिश्रमिक दिन्छन् । यहाँ सबै खालका काम छन् । फरकफरक पारिश्रमिक छ । तर नराम्रो छैन । सामान्य काममा मात्र होइन, नेतृत्व स्तरको काम पनि गरिरहेका छन् । त्यसका पनि औषधोपचार, कामदारको सुरक्षाको जिम्मा यहाँको सरकारले लिएको छ ।

कतारी सहासिक र लग्जरी यात्रा रुचाउँछन् । त्यसमा हामी  तयार र इमानदार देखिनु पर्‍यो । एउटै पर्यटकबाट कुम्ल्याउने भन्‍ने सोच बन्द गर्नुपर्‍यो ।

कतारमा सुरक्षागार्डमा नेपाली लैजाने विषय पनि उठ्दै आएको छ, यसमा सम्भावना कस्तो छ ?
यसले अन्तिम रूप अझै लिएको छैन । सरकार टु सरकार सहमति गरेर ल्याउने प्रस्ताव नेपालको छ । त्यही आधारमा आउँदा सहज होला भन्‍ने छ । तर, कताकति कम्पनीहरूमार्फत आउनुपर्ने कुरा उठेको छ । यदि त्यस्तो भएमा कतार सरकारले तोकेको कम्पनीले त्यो अवसर पाउन सक्ला वा नेपाल र कतारका सरकारले सहमति गरेर कुनै कम्पनीलाई प्रक्रियाको जिम्मा लाउन सक्ला । यसमा कतारको उत्तर हामी पर्खिरहेका छौँ ।

डर के छ भने यो राम्रो कमाइ हुने हो यस्ता कम्पनीले कामदारसँग अवैध रूपमा धेरै पैसा लिन सक्ने हुनाले यसमा कतार र नेपाल सरकार दुवै सचेत बनेका हुन् । १०/१२ लाख तिरेर मात्र जान पाउने अवस्था निम्त्याउन सक्छन् । त्यसैले  जीटूजीको प्रसंग उठेको हो ।  ३४ वर्ष उमेरभित्रका युवालाई कतारले लैजान खोजेको हो । युवा ल्याउने भएपछि बहालवाला सेना, प्रहरी पनि जागिर छोडेर आउन सक्छन् भने फ्रेस युवा पनि आउन सक्नेछन् । यसका लागि उनीहरूले उचाइ, तौल, छाती सबैको मापदण्ड तय गरेका हुन सक्छन् ।

कति युवाहरूलाई यस्तो अवसर दिन लागिएको होला ?
दुई सयबाट सुरु गर्ने भनिएको छ । यो बढ्दै जाने प्रक्रिया हो । औपचारिक रूपमा सुरक्षा क्षेत्रमा ल्याउन थालेपछि त्यो प्रक्रिया बढ्दै जाने हो । कतारले मल्टिनेसनल फोर्स निर्माण गर्न खोजेको देखिन्छ । विभिन्‍न देशका नागरिकहरू यसमा लिएर आफ्नो सुरक्षाका लागि राख्‍न खोजेकोझैँ लाग्छ । यो कतार सरकारको जागिर नै हुने हुनाले सेवा सुविधा पनि निश्‍चित रूपमा राम्रो हुने देखिन्छ । अनि नियुक्तिमा पनि त्यही अनुरूपको प्रक्रिया छ । उनीहरूका क्याडरहरू नै नेपाल आएर त्यस्ता युवा छनोट गर्नेछन् ।

त्यसो भए त गोर्खा भर्ती जस्तै रहने भयो नि ?
करिबकरिब त्यस्तै होला । सिंगापुर, ब्रुनाई पुलिसजस्तो हो । त्यही सिलसिलाको यो पनि हुन सक्छ । प्रहरी फोर्समा आवश्यक संख्या नियुक्ति गरेर ल्याउन सक्छ । नेपालीलाई त्यसका लागि उत्तम ठानेर ल्याउन सकेको छैन । यहाँ अहिले सुडान, फिजीका युवाहरू काम गर्छन् । त्यसलाई विस्तार गर्दै लैजान लागेको देखिन्छ । 
 
आर्थिक कूटनीतिको विषयमा के हुँदै छ ?
विभिन्‍न तहमा छलफल भएको छ । केही क्षेत्रमा सहकार्य गर्ने कुरा भएका छन् । मन्त्रीस्तरमा छलफलहरू भएको छ । कृषिको आधुनिकीकरण कुरादेखि लिएर कतारमा बजार दिनेसम्मको विषयमा पनि छलफल भएको छ । चामलमा रुचि देखिएको छ । बंगलादेश र भारतबाट ल्याएकाले नेपालबाट पनि त्यसमा काम गर्न सक्छन् । हामीले पनि चामल दिन सक्ने कुरा उठाएका छौं । यहाँको ऊर्जामन्त्रीले पनि कृषि मल लगायतमा काम गर्न सक्ने भन्‍दै कतारबाट पनि सम्‍भव हुने सुझाउँदै हुनुहुन्छ । उहाँ कतार पेट्रोलियमको सीईओ पनि हुनुहुन्‍छ। पेट्रोलियम क्षेत्रमा पनि सहकार्य हुन सक्छ।

एलएनजी ग्यास एलपीजीभन्दा क्‍वालिटीको हुन्छ । बंगलादेश निर्यात भइरहेको छ । त्यसमा पनि काम गर्न सकेमा राम्रो हुने थियो । हामीले पत्राचार गर्न सके त्यसमा काम हुन्‍छ । त्यो त हाम्रो निम्ति ठूलो उपलब्धि हुने विषय छ, त्यसमा सहकार्य सम्‍भव छ ।  यो विषय हामीले नेपाल सरकारलाई जानकारी गराएका छौँ । कृषिको क्षेत्रमा नेपालले काम गरेमा कतारले लगानी गर्न पनि सक्छ । कतारीहरू टर्की, इरान, सेन्ट्रल एसिया, थाइल्यान्डमा कृषि, पर्यटन, जलविद्युत् खनिजमा केन्द्रित गरेको छ । यसैले नेपालबाट नसक्ने भन्‍ने हुँदैन ।

पर्यटनको क्षेत्रमा के सोच्‍नुभएको छ ?
पर्यटनको क्षेत्रमा कतारीले नेपालसँग सहकार्य गर्ने बताउँदै आएको छ । खासगरी तीनवटा क्याटागोरीमा धार्मिक, लग्जरी र एडभेन्चरमा पर्यटनमा विकास गर्न सक्नुपर्छ । त्यसमा पनि काम गर्न आवश्यक छ । सांस्कृतिक विकास गर्न पनि आवश्यक छ । पर्यटनमाथिको व्यवहारमा पनि ध्यान दिनुपर्ने सुझाव नेपाल पुगेर आउनेहरूको छ । कतारी र अन्य अरब मुलुकको पर्यटनमा फरक हुन्छ । हलाल गरेको मासु चाहिन्छ ।

त्यही अनुरूपको रेस्टुरेन्टहरू आवश्यक पर्छ । फुडको सर्टिफिकेटवाला होटल चाहियो । थाइल्यान्ड जाने कतारीलाई नेपाल आकर्षण गर्न सहासिक र लग्जरी पर्यटनमा जोड दिनुपर्छ । इमानदारी देखिनु पर्‍यो । एउटै पर्यटकबाट कुम्ल्याउने भन्ने सोच बन्द गर्नुपर्‍यो । त्यसमा ध्यान दिएमा कतारबाट नेपालमा पर्यटक बढ्नेछ । नेपालमा रहेका कतारी राजदूतले पनि नेपालको राम्रो प्रचार गरिरहेका छन् । यो राम्रो पाटो हो ।

यहाँ त राजनीतिक नियुक्तिबाट राजदूत हुनुभएको, मन्त्रालयसितको सहकार्य कस्तो पाउनुभएको छ ?      
परराष्ट्रसँग राम्रो सहकार्य छ । तर, अन्य मन्त्रालयँग सहकार्य खासै जमेको छैन । अन्य मन्त्रालय जस्तै  श्रम, अर्थ सहितले परराष्ट्रमार्फत नै कूटनीतिक कार्यको न्तर्क्रिया भए राम्राे हुनेछ ।  त्यसमा सहकार्य आवश्यक रहन्छ । त्यस्ता विषयमा सहकार्य हुन नसकेको हो कि झैँ लाग्दै छ । खासमा भन्‍नुपर्दा कृषि, श्रम, अर्थलगायतसँग सहकार्य परराष्ट्रमार्फत भएमा राम्रो हुनेथियो ।  सायद यो सबैतिरको कमजोरी होला । यहाँ बसेर मैले त सम्भावना बताउने हो । त्यसको कार्यान्वयनका लागि दौडने हो । तर, निर्णय त काठमाडौँमा हुनुपर्छ ।

हाम्रो भिजिबिलिटी बढेको छ । दृष्टिकोणमा केही सुधार भएको छ ।

सहकार्य भए यहाँ धेरै थोक भित्रिन सक्छ । यहाँ फ्रान्सको पानी पिउँछन् । हामीले किन दिन नसक्ने ? त्यसका छलफल गरेर उनीहरूलाई लगानी गराएर बिक्री गर्न सकिन्छ ।  हाम्रो स्प्रिङ वाटर हो । यस्ता विषयमा हामीले कुरा गरेका हुन्छौँ तर काम अघि बढ्दैन । भोलिवाद छ हाम्रोमा । अहिले गर्न नसके भविष्यमा त सुमद्रमै प्युरिफाई गरेर पानी उपयोग गर्ने प्रविधि उपयोग गर्न सक्छ ।

आफू आउँदा र अहिले के भिन्‍नता पाउनुभएको छ ?
म आएपछि उल्लेखनीय परिवर्तन नै आयो भन्ने दाबी त गर्न सक्दिनँ । बीचमा धेरै समय काम गर्न पाएको छैन । पहिलो तीन महिना परिचयात्मक भेटघाटसँगै केही कामको थालनी गरेँ । डिसेम्बरबाट कोरोना भाइरस सुरु भयो । जनवरी, फेब्रुअरी हुँदै अहिले अक्टोबरदेखि बल्ल काम सुरु हुन थालेको छ । केही कार्य अघि बढेका पनि छन् । समुदायसितका कुरा भएका छन् ।

कोभिडका कारण थाँती रहेका काम अघि बढेका छन् । कूटनीतिक भेटघाट सुरु भएको छ । हाम्रो भिजिबिलिटी बढेको छ । दृष्टिकोणमा केही सुधार भएको छ । उच्च तहको कुराको विषयमा नेपालीहरूले कतारको विकास निर्माण र संरचनामा एउटा निर्माणमा योगदानमा मुक्त कण्ठाले प्रशंसा गरेको छु । कतार सरकारबाट राम्रो सद्‍भाव पाएको छु । 

कतार सरकार अन्य खाडी मुलुकभन्दा अलिकति अगाडिझैँ देखिन्छ नि ?
प्रशंसनीय नै छ, कतारको काम गराई । कतार विश्वकपको तयारीमा निकै जुटेको छ । आगामी वर्ष (२०२२) उसले २२औँ विश्‍वकप आयोजना गर्दै छ । खाडी क्षेत्रमा यो पहिलो पटक आयोजना हुन लागेको हो । त्यो पनि कतारले गर्न लाग्‍नु चानचुने होइन । यही विश्‍वकपसँग जोडिएका अन्य धेरै परियोजना छिटो सक्नुपर्ने बाध्यता भएकाले कामदार ल्याउन आवश्यक नै छ कतारलाई ।

यहाँ कूटनीतिमा रुचि राख्‍ने र अध्यापनमा लामो समय बिताउनु भएको व्यक्तिका रूपमा पश्‍चिम एसियाको राजनीतिलाई कसरी बुझ्नुभएको छ ? 
कूटनीतिमा अन्तरिक गतिशीलता हुन्छ । मध्यपूर्व (पश्चिम एसिया) को राजनीतिमा को निर्णायक हो भन्‍ने सोच देखिन्छ । साउदी, इरान र कतार आ-आफ्नो प्रभाव बढाउनेमा पनि प्रतिशपर्धा स्वभाविक हो ।  कतार र यूएईको बीचमा पनि को निर्णयकर्ता भन्ने होला । तर, कतारले जुन छोटो अवधिमा तीव्र विकास गरेको छ । अन्तर्राष्ट्रिय छवि उचालिँदै गएको छ । उसको भूमिकाबाट अलिकति प्रसंग नहुने देशले नाकाबन्दीको प्रतिबन्धमा पनि खेपेको छ ।

आफ्नो अर्थतन्त्रलाई सक्रिय बनाएर सशक्त आर्थिक शक्तिका रूपमा प्रस्तुत गर्न कतारले यो बीचमा धेरै गरेको पाएको छु । कतारले २०२२ मा विश्‍वकप आयोजना गर्दैछ । चानचुने कुरा पक्कै होइन । नाकाबन्दीको मार खेपेको कतारले आफ्नो काममा कुनै हार मानेन र अघि बढ्यो । पाँचवटा अत्याधुनिक र लोभलाग्दा स्टेडियम बनाइसकेको छ । अन्य तीनवटा पनि अन्तिम चरणमा छन् ।

यही बीचमा मेट्रो रेलले सबै स्टेडियम जोडिसकेको छ । कुनै पनि खेलका लागि अर्कोमा २० मिनेटमा एकबाट अर्कोमा पुग्न मिल्ने बताएको छ । खेलाडी र दर्शकको आवासका निम्ति होटल पनि बनाएको छ । कैँयन् धमाधम निर्माण भइरहेका छन् । यसबाट पनि स्पष्ट हुन्छ, खाडीमा कतार शक्तिशाली खेलाडी बनेको छ । अफगानिस्तानमा तालिवान र अमेरिकी वार्ता होस् कि गाँजामा प्लेस्टेनको कजमा सपोर्र्ट, सबै गर्दै आएको छ ।

जीसीसी पनि बिस्तारै कतारलाई नाकाबन्दी कम गराउँदै गएको छ । कुवेतको भूमिका र सहजीकरणले राम्रो परिणाम निस्केको देखिन्छ । खाडीमा अन्य शक्तिभन्दा कतार कम होइन भन्‍ने सन्देश दिएको छ । हुन पनि कतार महत्वपूर्ण मुलुक बन्दै छ । आर्थिक महाशक्ति नै राजनीतिमा सक्रिय रहेपछि अन्तर्राष्ट्रिय शक्ति बन्‍ने हो ।


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x