संवार्ता : नीलाम्बर आचार्य
मार्क्सको शिक्षाअनुसार नै ३० वर्षअघि कम्युनिजम छाडेको हुँ
यी सबै दलले महाधिवेशन पार्टीको आवश्यकता हो भन्ने बुझेर गरेका होइनन्, बाध्यताले गरेका हुन्
नीलाम्बर आचार्य आजभन्दा ६१ वर्ष पहिले बीपी सरकारका बेला पढ्न रुस पुगे । इन्जिनियरिङ पढ्न गएका उनी बिदामा नेपाल आए, पञ्चायती व्यवस्थाले गर्दा उनकै शब्दमा नेपाल ‘उराठ’ देखे । अनि राजनीतितिर चासो बढेपछि उनले पत्रकारिता पढ्न थाले । पत्रकारिता पढेर आएर उनी यहाँ पत्रकार बन्न चाहन्थे । ‘गोरखापत्र’मा विज्ञापन शाखामा नियुक्ति पाएपछि दुई महिनामै राजीनामा गरे तर पत्रपत्रिकामा भने लामै समय उनले लेख लेखे । आचार्य पूर्वमन्त्री हुन्, पूर्वराजदूत हुन्, पूर्वसभासद् हुन् तर पूर्व विशेषण जोड्न नपर्ने गरी पूर्वलेखक भने होइनन् । ‘प्रजातन्त्रमा संक्रमण : द्वन्द्व, अवरोध र अप्ठ्याराहरू’ तथा ‘समय चेतना’ पुस्तक लेखेका छन्, रुसी साहित्य नेपालीमा अनुवाद गरेका छन् । उनले जीविकाका लागि अदालती वकालत पनि गरे । ४८ वर्षको उमेरमा ०४८ सालमा उनले कम्युनिस्ट पार्टीको सदस्यता त्यागे । त्यसयता स्वतन्त्र नागरिकका रुपमा बाँकी जीवन बिताउने निर्णय गरे । त्यसयता उनी कुनै दलमा आबद्ध त भएनन् तर मानिस स्वभावैले सामाजिक प्राणी मात्र होइन, राजनीतिक प्राणी पनि हो । उनी राजनीति, कूटनीतिको साक्षीका रुपमा रहेकै छन् । कांग्रेस र एमाले सरकारबाट उनले श्रीलंका र भारतका लागि राजदूत पद पनि प्राप्त गरेका छन् । त्यसैले यहाँ अवसरवादबारे प्रश्न त छुट्ने कुरै भएन, राजनीतिक दर्शन र दिशाबारे यहाँ सोधिएको छ । बानेश्वरथित आफ्नो निवासमा किताब मिलाइरहेका, तिनैमा घोरिइरहेको अवस्थामा इकागजका विमल आचार्य र अनिष भट्टराईले उनीसित विविध विषयमा कुराकानी गरेका थिए । संवादको दोस्रो शृंखला यहाँ प्रस्तुत गरिएको छ । पहिलो शृंखला 'त्यसबेला पनि काम नलाग्ने पत्रकारहरू थिए, अहिले पनि छन्' उनको अध्ययन र अनुभव पनि भएको विषय पत्रकारितासँग सम्बन्धित थियो ।
राप्रपा, एमाले, कांग्रेस, माओवादीका महाधिवेशन लगालग सम्पन्न भए । देशका ठूला पार्टी यिनै हुन् । महाधिवेशन हेर्दा हाम्रा दलहरू कहाँ छन्, कता जाँदै छन् ?
महाविधेशन हुनु राम्रो हो तर यी महाधिवेशन किन भए भन्नेमा ध्यान दिनुपर्छ । महाधिवेशन यसकारण भए कि कानुनले महाधिवेशन गर्न बाध्य पारेको छ । पार्टीको स्तर बढाउन, लोकतान्त्रिक बनाउन, पार्टीको ताजकीको आवश्यकता बोध गरेर महाधिवेशन गर्नुपर्थ्यो । बदलिँदो अवस्थाअनुसार पार्टीले अपनाउनुपर्ने कार्यदिशा तय गर्न महाधिवेशन हुनुपर्थ्यो । तर यी सबै दलहरूले महाधिवेशन पार्टीको आवश्यकता हो भन्ने बुझेर गरेका होइनन्, बाध्यताले गरेका हुन् । महाधिवेशन गरेँ है भन्नलाई महाधिवेशन गरेका हुन् । महाधिवेशनमा कुनै परिवर्तनको एजेन्डा नै आएन । ५/५ वर्षमा महाधिवेशन गर्नुपर्ने छ भनेर संवैधानिक व्यवस्थाका कारण महाधिवेशन गरियो ।
महाधिवेशनमा (न)आएका विचारमा विचार गरिदिनुस् न ।
महाधिवेश स्थलमा गएर हतारमा छलफल गरेर विचार र दर्शन टुंग्याउँछु भन्ने होइन । महाधिवेशन अगाडि नै छलफल गरेर विषयमा बहस गरेर, कतिपय टुंग्याएर महाधिवेशन हलबाट औपचारिकता दिनुपर्ने हो । महाधिवेशनस्थलमै भएका छलफल पूरा नहुन सक्छन् । स्थानीय तह, प्रदेश तहबाट मुद्दाहरूमा छलफल चलाएर माथि आएर छलफल गरेर व्यापकता दिनुपर्थ्यो । यसले वैचारिक लोकतन्त्रलाई बढावा दिनुका साथै कार्यकर्ताको प्रशिक्षणमा पनि सहयोग पुर्याउने थियो ।
मैले राजदूत पद मागेर गएको होइन । मलाई जाऊ भने, म गएँ । मैले कम्युनिस्ट आन्दोलन छाडेकै हुँ । तर कुनै दुश्मनी त छैन नि ।
चामत्कारिक नेतृत्व आएर सबै समस्या हल गर्छ भन्ने हुँदैन । इमानदारी नेताहरूको जमातमै सिर्जना हुनुपर्छ । नेतृत्व मात्र इमानदार हुनुपर्छ भन्ने सोच पुरानो हो र अपुरो हो । एउटा मान्छेले देश, पार्टी बनाउन सक्दैन, देश बनाउन पूरा समाज नै चाहिन्छ ।
महाधिवेशन हेर्दा अब आउने विभिन्न तहका चुनावतिर पनि तिनले चियो गरेको देखिन्छ ?
देखिएन । अब चुनाव आउँदै छ । चुनावमा आफ्ना पार्टीका एजेन्डा के हुन सक्छन् भनेर सबैलाई स्पष्ट देखाउन सक्नुपर्थ्यो । समीक्षा हुनुपर्थ्यो । चुनावलाई केन्द्रविन्दुमा राखेर पार्टीका कार्यक्रम तयार पार्न सक्थे । कार्यकर्ताहरूलाई प्रशिक्षित बनाउन सक्थे । वैचारिक, संगठनात्मक र कार्यकर्ताको प्रशिक्षण हुने गरी महाधिवेशन गर्न सक्नुपर्ने हो ।
नेतृत्व निर्वाचित होस् या वाचित, नयाँपन पाउनुभयो ?
नेताहरू व्यक्तिवादी भए भनिन्छ । हामीले आफ्नो देशको अवस्था पनि बुझ्नुपर्यो । संस्कृति बुझ्नुपर्यो । हामी निर्गुणभन्दा पनि सगुणका उपासक छौँ । हामी के हेर्छौं भन्दा चित्र प्रस्तुत भएपछि मात्र उसको चरित्रप्रतिको विचार बनाउँछौं । यो यस्तो चरित्र, विचारको छ भनेर नै विचार बनाइने हो । तर हामीले चरित्रको आकांक्षा एउटा राख्छौं तर मान्छे छान्दा त्यस अनुरूपको छान्दैनौं । व्यक्तिले कस्तो विचार राख्छ, कस्तो आचरण राख्छ, कस्तो स्वभावको छ भन्ने नै हेरिँदैन । विचार नगरी नेता छान्नाले गुनासो आफैँप्रति गरिरहेका हुन्छौँ ।
म जबज निकट छैन । जनताको जनवाद भनेको के हो ? सीधै बहुदलीय जनवाद भने ठीक नि ।
हामीसँग जे स्रोत-साधन छ, त्यसैलाई सक्दो प्रयोग गरेर अघि बढ्ने हो । नभएको कुरा हामीकहाँ छैन, अमेरिकामा यो छ, बेलायतमा यो छ, चीनमा यस्तो छ भनेर मात्र हुन्न । प्रविधि आउला, शैली आउला, साधन आउलान्, तर मानिस त हाम्रै प्रयोग गर्ने हो । हामीसँग जस्तो जनशक्ति छ, त्यहीलाई लिएर अघि बढ्ने हो । यस्तो भएन, उस्तो भएन भन्नुभन्दा जे छ त्यसैको अधिकतम उपयोग गर्नुपर्छ । गुनासै-गुनासोले योगदान दिँदैन ।
दलहरूको विचारधारा र काम-कारबाहीमा सामञ्जस्य छ वा के छ ?
विचार र व्यवहारमा, बोली र कर्ममा ठूलो अन्तर छ । संसदीय प्रणालीमा विश्वास गर्ने, बहुलवादमा विश्वास गर्ने कांग्रेस, एमाले छन् । अर्को बहुलवादमा विश्वास नगर्ने, जनगणतन्त्रको धारमा लैजाने भन्ने विप्लव, मोहन वैद्यको कुरा छ । प्रचण्डले त पुरानो आफ्नो विचार पनि छाड्न सकेनन्, नयाँबाट पनि सुविधा पाइन्छ भन्दै दुवै डुंगामा खुट्टा राखेका छन् ।
तपाईंको सुझाव कुन डुंगामा दुवै खुट्टा टेक्नुपर्छ भन्ने छ त ?
अहिले दुईवटा मात्रै पार्टी प्रमुख हुन्, नेकपा एमाले र कांग्रेस । त्यसैले अरु पार्टीप्रति त्यति चिन्ता गर्नुपर्ने, ध्यान दिनुपर्ने आवश्यकता छ भन्ने लाग्दैन । यी दुई पार्टी कसरी बढ्छन्, त्यसले नेपालको भविष्य निर्धारण गर्छ । अरु पार्टीले पनि रोल खेल्लान्, भत्काउलान् । त्यति बेला मात्रै साना पार्टीप्रति चिन्ता गर्नुपर्ने होला ।
आजभन्दा ३० वर्ष पहिले २०४८ सालमा तपाईंले कम्युनिजम, साम्यवाद ढोंग हो भन्नुभएको थियो । अनि स्वतन्त्र नागरिक बन्ने घोषणा गर्नुभयो । ३० वर्ष अगाडिको त्यो निर्णय अहिले कत्तिको उचित लाग्छ ?
त्यो सही निर्णय रहेछ भन्ने ठान्छु । त्यही निर्णयमा म अझै अडिग छु ।
त्यसबेला तपाईंको प्रधान असन्तुष्टि केमा थियो ?
पहिलो कुरा के बुझ्नुपर्यो भने दर्शन र राजनीतिलाई जोड्नुपर्यो । तपाईं दार्शनिक हुनुहुन्छ भने तपाईंले १/२ सय वर्षपछिको सोच राख्न सक्नुहुन्छ । तर यदि तपाईं राजनीतिज्ञ हो भने, अहिले जे सम्भव छ त्यसअनुसारको सोच राख्नुपर्यो, कार्यक्रम बनाउनुपर्यो । मार्क्सको शिक्षाअनुसार नै ३० वर्षअघि मैले कम्युनिजम छाडेको हुँ । पुँजीवादी व्यवस्थाले सामन्ती वर्गलाई हटायो, उत्पादन, प्रविधिको विकास गर्यो तर यसमै विरोधाभाष पनि ल्यायो । यही विरोधाभाषले नै यसलाई समाप्त पार्छ । पुँजीवादले गर्नुपर्ने कार्यक्रम सकिएपछि मात्रै समाजवादको बाटो सुरु हुन्छ । सामन्तवाद भन्दा त राम्रो हो पुँजीवाद । अहिले ल्याउन सकिने परिवर्तन नल्याई छलाङ मात्र मार्ने सपना चाहन्छौं भन्ने त्यो कल्पनावाद ‘युटोपिया’ हो ।
म कम्युनिस्ट बन्ने बेला विश्व साम्यवादी व्यवस्थामा गइरहेको छ भन्ने थियो । दुईवटा शिविर भएकाले पुँजीवाद राम्ररी विकास नभएको देशमा पनि समाजवादी क्रान्ति ल्याउन सकिन्छ, आयो भने चाहिँ जोगाउन सकिन्छ किनकि बाह्य समाजवादले त्यसको रक्षा गर्छ ।
बीपी प्रधानमन्त्री भएको दिन महत्वपूर्ण होला कि राजासँग मेलमिलाप गर्नुपर्छ भनेको दिन महत्वपूर्ण होला ? स्वतन्त्रता खोसिएको पुस १ बिर्संदै गएर पुस १६ सम्झिरहनु अब ?
बाह्य साम्राज्यवादले प्रहार गर्छ । विश्वमा दुई ध्रुवबीच टक्कर चलिरहेको बेला, समाजवाद बलियो हुँदै जाँदा पुँजीवाद राम्रो नभएको देशमा पनि समाजवाद आउन सक्छ भन्ने थियो । तर स्थिति फेरिँदै गयो । चिज के हो भन्दा कम्युनिस्ट पार्टीप्रति मेरो विरोध होइन । मैले सोचेँ, त्यो मेरो बाटो होइन । किनकि कम्युनिस्ट पद्धतिमा स्वतन्त्रता छैन, आलोचना गर्ने अधिकार छैन, बहुलवाद छैन । कमीकमजोरीबाट सिक्नुपर्यो नि त । यो राजनीति ठीक होइन भनेपछि मैले छाडेको हुँ ।
नेपालका कम्युनिस्ट पार्टीहरूले अब आफैंलाई कम्युनिस्ट भनिरहन सुहाँउछ ? नाम फेर्नुपर्छ भन्ने लाग्छ ?
नाम त फेर्लान् । तर भयंकर प्रतिक्रियावादी, भयंकर उग्र-चरमपन्थी भए भने नाम फेरेर के हुन्छ त ? त्यसैले नाम फेरेर हुने केही होइन । कम्युनिस्ट नलेखे पनि कम्युनिस्ट पार्टी त छ नि, नारायणमान बिजुक्छेको- नेपाल मजदुर किसान पार्टी । उहाँ त कम्युनिस्ट नै हो । त्यसैले अब मैले नाममा जोड गर्न छाडेँ । खान नपाउनेको पनि नाम ‘धनबहादुर’ हुन सक्छ ।
कांग्रेस र एमाले दुई ठूला पार्टी । यी दुईबीच व्यवहारमा अर्थात् सरकारमा के फरक पाउनुहुन्छ ?
कांग्रेसको दृष्टिकोणमा राजनीतिक स्वतन्त्रता प्रमुख हो । एमालेको दृष्टिकोणमा समानता प्रमुख हो । यी दुवै महत्वपूर्ण हुन् । स्वतन्त्रता जोगाउन समानता आवश्यक छ । ठूलो असमानता भएको ठाउँमा स्वतन्त्रता रहँदैन । असमानता पनि कम गर्नुपर्यो, सामाजिक रूपमा कुनै असमानता लागू हुनुहुँदैन । सामाजिक न्यायलाई स्थापित गर्नुपर्यो ।
वामपन्थी, दक्षिणपन्थी भन्नु नै पुरानो भइसक्यो । अब २१ औं शताब्दिको दृष्टिकोण बोकेर बढ्नुपर्यो नि । अझै पनि उही शीतयुद्धकालीन सोचाइ बोकेर काम छैन । जीवनका विभिन्न पक्ष हुन्छन् ।
तपाईं बिरामी पर्दा सामान्य उपचार, तपाईंको शिक्षामा पनि सरकारले केही सहयोग गरिदिनुपर्यो । राजनीतिक पक्ष बलियो हुनुपर्छ भन्ने चाहिँ कांग्रेसको सोचाइ हो । आर्थिक-सामाजिक पक्ष बलियो हुनुपर्छ भन्ने चाहिँ एमालेको सोचाइ हो । मूल विचार यही हो । व्यवहारमा भने खास ठूलो अन्तर छैन । कांग्रेस र एमाले दुवैको राजनीतिक, आर्थिक, सामाजिक सबै पक्षलाई जोडेर देशमा दलहरू बलियो बन्दै आम नागरिकलाई झनै बलियो बनाउनुपर्छ ।
वामपन्थ छाडेको व्यक्ति तपाईंलाई केपी शर्मा ओलीले भारतका लागि राजदूत बनाउनु भयो । के एमाले नेतृत्वले तपाईंको विचारमा केही प्रश्न गरेको थिएन ?
त्यस्तो केही प्रश्न गरिएन । मैले राजदूत पद मागेर गएको होइन । मलाई जाऊ भने, म गएँ । मैले कम्युनिस्ट आन्दोलन छाडेकै हुँ । तर कुनै दुश्मनी त छैन नि ।
अहिले वैचारिक रूपले तपाईं कांग्रेस निकट कि एमाले निकट ?
वैचारिक रूपमा म कांग्रेस निकट छु । तर के भने लोकतान्त्रिक विचार कांग्रेसको मात्र त होइन । एमालेले पनि लिएको छ ।
तपाईं ‘वाम लोकतान्त्रिक’ ?
अहिले वामपन्थी, दक्षिणपन्थी भन्नु नै पुरानो भइसक्यो । अब २१ औं शताब्दिको दृष्टिकोण बोकेर बढ्नुपर्यो नि । अझै पनि उही शीतयुद्धकालीन सोचाइ बोकेर काम छैन । जीवनका विभिन्न पक्ष हुन्छन् । समयअनुसार कुनै पक्ष बलियो हुन्छ भने अर्को पक्ष कमजोर बन्छ ।
म राजदूत भएर श्रीलंका गएँ, कांग्रेसको सरकारको पालामा । भारत जाँदा एमालेको सरकार थियो । मैले पद मागेको होइन, अब म गरौं के ?
कुनै बेला राष्ट्रियताले महत्व पाउला । कुनै बेला एकताले पाउला । कुनै बेला विकासले महत्व पाउला । तर कुन बेला केलाई जोड दिने भन्ने हो । स्थिति, परिस्थितिअनुसार एउटा विषयमा बढी ध्यान दिनुपर्ने हुन सक्छ । म यो विचार, त्यो विचार भनेर ठमठम्ती बस्नुभन्दा दिल र दिमाग खुला राख्नुपर्छ । पढ्नु, चिन्तन गर्न भनेको झ्याल-ढोका बन्द गर्नु होइन, खुला राख्नु, खुला ढंगले सोच्नु र व्यवहार गर्नु हो ।
२०४७ को संविधान बन्दा कानुनमन्त्री हुनुहुन्थ्यो । त्यतिबेला छोटै समयमा संविधान बन्न सक्यो । मन्त्रिपरिषद्बाट मनोनीत भएर पछि संविधानसभामा सभासद् पनि हुनुभयो । अहिलेको संविधानमा ‘समाजवादउन्मुख’ भनेर लेखिएको छ, हामी साँच्चै कतातिर उन्मुख छौँ ?
समाजवाद भन्नु र साम्यवाद भन्नुमा फरक छ । राजनीतिक रूपले चाहिँ त्यो शासन प्रणाली ठीक होइन । समानता होस्, सबैले खाना पाओस्, नाना पाओस्, स्वास्थ्यमा हेरचाह होस्, अन्याय नहोस्, अन्यायमा परेकाले न्याय पाऊन् भन्ने सोच त नराम्रो होइन । तर आजको भोलि छलाङ मारेर एकदम ‘स्वर्ग’ बनाइदिन्छौं यो भूमिलाई भनेर झुक्याउनु भएन ।
आजको भोलि छलाङ मारेर एकदम ‘स्वर्ग’ बनाइदिन्छौं यो भूमिलाई भनेर झुक्याउनु भएन ।
विचार र वादका कुरा संविधानमा नपरेकै राम्रो हुन्थ्यो । कसैले समाजवाद भन्ला, कसैले पुँजीवाद भन्ला, कसैले के वाद भन्ला । समाजवादको परिभाषा त बेग्लाबेग्लै छ नि । पुँजीवादी राष्ट्रमा पनि समाजवाद छ । समाजवादी राष्ट्रमा पनि पुँजीवाद छ । कम्युनिस्ट पनि समाजवादीबाट नै छुट्टिएर बनेको हो नि, इतिहास हेर्दा पहिला त सोसल डेमोक्रेटिक पार्टी थियो । अहिले डेमोक्रेटिक सोसलिजम भनेको छ नि । म डेमोक्रेटिक सोसलिजमको निकट हुँ ।
विचारले डेमोक्रेटिक सोसलिस्ट हुँ भन्नुभयो । बीपीको त्यही प्रजातान्त्रिक समाजवाद र मदन भण्डारीको जनताको बहुदलीय जनवादबीचको रौँचिरा के हो ? कांग्रेस र एमालेले बीपी र मदनका यिनै विचारमा आफूहरू छौँ भन्छन् ।
म जबजमा निकट छैन । जनताको जनवाद भनेको के हो ? जनता, जन भनेको के हो ? सीधै बहुदलीय जनवाद भने ठीक नि । तर, नाममा, शब्दमा म विवाद गर्न चाहन्नँ तर त्यसले दिने सन्देश के हो भन्ने पनि हेर्नुपर्यो नि । कुनै समय बीपीबाट मेलमिलाप आयो, त्यो जहिलेसुकैको सत्यता त होइन । कुन चरणमा आएको हो, त्यही चरणको सान्दर्भिकताका रूपमा हेर्नुपर्यो । बीपी प्रधानमन्त्री भएको दिन महत्वपूर्ण होला कि राजासँग मेलमिलाप गर्नुपर्छ भनेको दिन महत्वपूर्ण होला ? स्वतन्त्रता खोसिएको पुस १ बिर्संदै गएर पुस १६ सम्झिरहनु अब ?
यो ‘समाजवादउन्मुख’ मुलुकमा शिक्षा-स्वास्थ्यमा अपार व्यापारीकरण भइरहेको छ । आमनागरिकले सामान्य उपचार नपाउने, नेताहरू तिनै गरिबको कर लिएर उपचारका लागि विदेश जाने । शिक्षा-स्वास्थ्य नाफावालको कब्जामा जाने । स्वार्थ बाझिने गरी सिधै व्यवसायीहरू समानुपातिक सांसद र मन्त्री हुने । शिक्षा-स्वास्थ्यमा राज्य अगुवा हुुनुपर्छ भन्ने त कम्युनिस्टको पनि कखरा नै होला । गणतन्त्रपछि शिक्षा, स्वास्थ्य मन्त्रालय हाँक्ने पनि कम्युनिस्ट र परिवर्तनकारी भनिएका शक्ति नै बढी छन् । तर उनीहरूले शिक्षा, स्वास्थ्यको क्षेत्रमा समाजवादउन्मुख प्रस्ताव ल्याएको, प्रस्ताव अरुले फेल गराएको पनि थाहा नै छैन । नागरिकको खुसीका लागि काम भएको छैन, किन ?
सोचे जति भएको छैन । तर हामी त पञ्चायतमा संघर्ष गरेका मान्छे भयौं । वित्पात फरक, ठूलो फरक देख्छौं । सासै फेर्न गाह्रो थियो, कुन दिन घरबाटै घिसारेर लैजालान् भन्ने थियो । १० वर्षे माओवादी जनयुद्धका बेला एउटा आउँथ्यो खान माग्थ्यो, अर्को आएर ‘किन खान दिइस्’ भन्दै मार्थे ।
हामी देशको ऐतिहासिक गतिशीलता हेदैनौं, अरु घटनासँग नजोडी हेर्छौं । टपक्क एउटा घटना लिएर यो भएन भनिदिन्छौं । हामी कुन अवस्थाबाट कुन अवस्थामा आयौं हेर्दैनौं । ‘हिजोको भन्दा केही भएन’, ‘गणतन्त्र ल्याएर केही भएन’ भनेर भन्छन् । बर्माको व्यवस्थालाई ठीक ठान्नुहुन्छ ? हिजो कुन अवस्थाबाट आएका थियौं त्यो हेर्नुहोस् न । किरियापुत्री घिसारेर मारिन्थे । पढाउँदा-पढाउँदै मारिन्थे ।
विचार र वादका कुरा संविधानमा नपरेकै राम्रो हुन्थ्यो ।
कहालीलाग्दो अवस्थाबाट यहाँ आएका छौं । हिजो विदेश जान सुविधा पाएकालाई मात्रै थियो, आज लाखौं युवा विदेशिएका छन् । हिजोको अवस्था भन्दा त आज धेरै फरक छ नि । विद्यालय, कलेज, उद्योग, बाटोघाटो त हिजोका भन्दा फरक छन् नि । हामीले गरिबी उन्मूलन कार्यक्रम अगाडि बढाउन सकेनौं, स्रोत साधनको उपयोग गर्न सकेनौं, कमीकमजोरी धेरै नै छन् । जो सत्तामा आए, उनीहरूले पुरानै व्यवस्था, भ्रष्टाचारलाई नै बढाए । अहिले गल्ति भएका छन् तर भएका उपलब्धिलाई बेवास्ता गर्नुभएन । वर्षौंबाट न्याय नपाएका छन्, रोजगारी नपाएका छन् । अब हामीले यता ध्यान दिनुपर्यो । अहिले राजनीति त आफ्नो रहनसहन सुधार्ने बाटो भयो । हामीले त राजनीतिलाई सेवा मान्थ्यौं ।
२०४७ पछि मैले पनि विभिन्न अवसर पाएँ । तर मानिसहरू रातारात कसरी घर बनाउँछन्, गाडी किन्छन् मैले बुझेको छैन । देख्छौँ कि उसको आम्दानी धेरै छैन, त्यही पनि उसले घर-गाडी किन्दा हामी सम्मान गर्छौं । उसलाई प्रश्न गर्दैनौं, उल्टै प्रशंसा गर्छौं- खुब कमायो भन्दै ।
नागरिकले न्यूनतम सेवा-सुविधाको अपेक्षा राख्दा गणतन्त्र ल्याइदियौँ त भनेर कहिलेसम्म टार्ने ? सामाजिक न्याय र अधिकार माग्नु, प्रश्न गर्नु व्यवस्था विरोधी भइहाल्नु हो र ? राष्ट्र खतरामा छ, लोकतन्त्र खतरामा छ, मेरो ज्यान खतरामा छ, विदेशी षड्यन्त्र छ भनेर नेताहरूले आफ्नो अक्षमता ढाक्न खोजेको देखिन्छ । चीजमा छिर्ने कहिले ?
हामीले आचरण ठीक पार्न सकेनौं । मुलुकको पद्धतिको रक्षा त जनताले गरिहाल्छन् नि किनकि राजनीतिक परिवर्तन त जनताले ल्याएको हो नि । खतरा छ भने किन सुदृढ पार्न सकेनौं ? आफू टेस्टेड भइसक्ने, सुदृढ पार्न नसक्ने अनि बाटो पनि नछाडिदिने ?
चिज के हो भन्दा कम्युनिस्ट पार्टीप्रति मेरो विरोध होइन । मैले सोचेँ, त्यो मेरो बाटो होइन । किनकि कम्युनिस्ट पार्टीमा स्वतन्त्रता छैन, बोल्ने अधिकार छैन, बहुलवाद छैन ।
पटकपटक टेस्टेड हुने, प्रधानमन्त्री बन्ने अनि ‘अब हामी देशलाई यस्तो बनाउँछौं, यस्तरी सुधार्छौं,’ भन्ने ? नयाँलाई बाटो खोलिदिनुपर्यो नि । आआफ्नो अनुभवबाट युवा पिँढीलाई सिकाउनु पर्छ । यो-यो कारण देशलाई खतरा छ भन्दै भावनामा खेलेर सत्तामा बस्ने होइन ।
युवालाई बाटो छोड्नुपर्छ भन्नुभयो । तपाईं ८० वर्ष पुग्दै हुनुहुन्छ, तपाईं अब कुनै कार्यकारी भूमिकामा बस्नुहुन्छ कि हुन्न ?
भारतका लागि राजदूतको जिम्मेवारी लिनुअघि नै मेरो मनस्थिति म अब पूर्ण लेखपढ र चिन्तनतर्फ लाग्छु भन्ने थियो । दुई वर्ष जति बसेर आएपछि चिन्तनमै लाग्छु भन्ने थियो । भोलि म यस्तै गर्छु भनेर भन्न पनि नसकिने रहेछ । भारतको राजदूत बन्छु भन्ने सोचेको पनि थिइनँ । तर बन्नुस् भनेपछि मैले नाइँ भन्न सकिनँ । प्रलोभन भन्नुहोस् वा आकर्षण भन्नुहोस्, मैले नाइँ भन्न नसकेकै हो । अब राजकीय कार्यकारी जिम्मेवारी लिने बेला मेरो होइन । तर, भोलि कुनै सरकार वा कसैले मेरो अनुभवअनुसार केही काम सघाउनुपर्यो भन्यो भने म गर्दिनँ भन्न सक्दिनँ होला । राज्यले ममा लगानी गरेको छ भने मैले विज्ञता र अनुभव दिनुपर्छ । तर, चिज के हो भन्दा मैले कुनै जिम्मेवारी लिन्छु भनेर कहिल्यै माग गरेको छैन । अब पनि जिम्मेवारी लिने उमेर नै छैन । ७९ वर्ष लागिसकेँ । यतिसम्म गर्नुपर्ने काम त गरिसकेँ । अब म स्वतन्त्र रूपमै मन लागे पढ्छु, लेख्न मन लाग्दा लेख्छु ।
राजनीतिक रूपमा त मैले २०४८ मै छाडेको हुँ । काम गर्दिनुहोस् अनि त्यसबापत सुविधा लिनुहोस् भनेपछि मैले नाइँ भनिनँ । मैले कहिल्यै कुनै पद मन्त्री, सांसद, राजदूतको माग गरिनँ । स्थितिले मलाई संविधान बनाउने बेला आवश्यक ठानेर मनोनीत गरेपछि म संविधानसभा गएँ । साझा मनोनयन गर्नुपर्थ्यो तर दलगत गरे । त्यसो गर्नुहुँदैन थियो । अब यसलाई तपाईं दलगत भन्नुहोस् वा जेसुकै भन्नुहोस्, मन्त्रिपरिषद्ले निर्णय गरेको हो । म श्रीलंका गएँ, कांग्रेसको सरकारको पालामा । भारत जाँदा एमालेको सरकार थियो । अब म गरौं के ?
त्यही त तपाईंलाई अवसरवादी पनि भन्दा रहेछन् नि त ?
अवसरवाद भनेर मैले अवसरका लागि पार्टी फेरेर त बसेको छैन नि । मेरो पछिल्लो पार्टी त कम्युनिस्ट पार्टी नै हो नि, ०४८ मा छाडेँ । मेरो बाटो कम्युनिजम होइन भन्ने लागेर छाडेँ । कम्युनिजम मान्नुहुन्छ अनि बहुलवाद मान्नुहुन्छ भने तपाईंसँग मेरो राम्रो सम्बन्ध रहन्छ । बहुलवाद मान्नुहुन्न, कम्युनिजम मान्नुहुन्छ भने मसँग नमिल्न सक्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया