वार्ता

सन्दर्भ: नेपाल नर्सिङ्ग दिवस

नर्सको सबैभन्दा ठूलो समस्या आकर्षक पारिश्रमिक नपाउनु हो

नेपालमा श्रमशोषण भएर नर्स विदेशिदा पनि बहस हुँदैन

अतिन आचार्य |
माघ १५, २०७८ शनिबार ७:२९ बजे

काठमाडौँ- अस्पतालमा बिरामी पुग्नेबितिकै सबैभन्दा अगाडि नर्स आइपुग्छन् । बिरामीको घाउमा मल्हम लगाउनेदेखि हरेक क्रियाकलापमा उनीहरू सहभागी हुन्छन् । कोभिड महामारीमा निरन्तर सेवा दिनेमा उनीहरू अग्रपङ्तिमा छन् । कति संक्रमित भए त कतिले ज्यानसमेत गुमाएका छन् । नर्सिङ दिवसका सन्दर्भमा नेपाल नर्सिङ संघकी अध्यक्ष प्रा. मनकुमारी राईसँग इकागजकर्मी अतिन आचार्यले गरेको कुराकानीः

मुलुक कोभिड-१९ को तेस्रो लहरमा छ । तपाइहरू संक्रमण र संक्रमितको बिचमा हुनुहुन्छ । यो पटक कतिको डर लागिरहेको छ ?


पहिलो र दोस्रो महामारीमा डराउनुपर्ने थियो । अहिले खासै डराइरहनुपर्ने अवस्था छैन । अहिले देखिएको संक्रमणले गम्भीर नबनाएकाले त्रसित भइहालेका छैनौँ । काम गरिरहेका छौँ, अस्पतालमा बिरामी र संक्रमितको सेवामा छौँ ।

मुलुकले फेरि एकपटक महामारीको दलदलमा छ । यसपटक कति नर्सहरू संक्रमित भएको जानकारी तपाइहरूलाई प्राप्‍त भएको छ ?

कूल संख्याको ५० प्रतिशत नर्स संक्रमित भइसकेका छन् । लाइसेन्स प्राप्‍त नर्सहरू एक लाख छन् । धेरैलाई सामान्य रुघाखोकी जस्तो लक्षण देखिएकाले होम आइसोलेसनमा बसेका र परीक्षण गराएका पनि छैनन् । संक्रमित भएकाहरू पनि चाँडै निको भइरहेका छन् । 

सबैभन्दा बढी पीडित नर्स भएका छन् । यस्तो समयमा नर्सहरूले कसरी सेवा दिइरहेका छन्?

अस्पतालमा गएर खटिने नर्सहरूले पहिलो र दोस्रो लहरमा आफ्नो सुरक्षाका लागि पीपीई जस्ता स्वास्थ्य सामग्री पाएका थिएनन् । अहिले भने सहज रूपमा उपलब्ध छ तर, संक्रमित भएर सेवा दिन सकेका छैनन् । यसपटक धेरै नर्सहरू संक्रमित भएका छन् । तर, डबल ड्युटी गरेर र बिरामीहरूको सेवा गर्न टाढा भएका छैनन् ।

नेपालमा नर्सको सबैभन्दा ठूलो समस्या के होला जस्तो लाग्छ ?

आकर्षक पारिश्रमिक नपाउनु नै हो । समयमा पाएका पनि हुँदैनन् थोरै भएकाले ओभरटाइम गर्न बाध्य छन् । उनीहरूमा कामले परेको मानसिक तनाव (सरकारी वा निजी)अस्पताल प्रशासन र राज्यले कहिले चासो राखिएको पाइएन ।

नर्सहरूले जोखिम भत्ता पाएका छैनन् भन्ने छ । यसरी त तपाईहरू माथि विभेद भयो भन्ने लाग्दैन ?

सरकारी अस्पतालका नर्सहरूले पाएका छन् । केहीले पाएका छैनन् भन्ने सुनिएको छ । भत्ता निकासामा ढिलो भएकै हो, व्यवस्थापनमा कमजोरी छ । केही निजी अस्पतालले दिए केहीले दिएका छैनन् । शोध-भर्ना नपाएका र अहिले फेरि संघ, प्रदेश र स्थानीय सरकारलाई जिम्मा दिँदा तारतम्य नमिलेकाले यस्तो भएको हुन सक्छ । नर्स मात्र नभइ डाक्टरहरूले समेत पाएका छैनन् ।

अस्पतालले आवश्यक स्वास्थ्य सेवा सामग्री उपलब्ध गराएनन् भन्ने छ किन यस्ता समस्याहरू बारम्बार दोहोरिरहन्छन् ?

पहिलो लहर र दोस्रो लहरमा सामग्रीको समस्या थियो । बाहिरबाट ल्याउनु पर्ने भएकाले पनि अभाव भएको हुन सक्छ । दोस्रो लहरमा सामग्री आयो तर, व्यवस्थापनमा गाह्रो भयो । तेस्रोमा सामग्री हुँदा पनि सामग्री वितरणमा समस्या भएको जानकारी पाएका छौ । मुख्यतया राज्यको जिम्मेवारी हुन्छ ।

नर्सहरूले समयमा पारिश्रमिक पाएनन् भन्ने छ । यसलाई कसरी लिनुहुन्छ ?

पारिश्रमिक नपाएको विषय नौलो कुरा होइन । स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकेका छौँ । विभिन्न ठाउँमा कोर्डिनेसन हुन नसकेको जानकारी प्राप्‍त भएको छ । सम्बन्धित निकायलाई सहजीकरण गर्नलाई भनिसकेका छौँ । कहाँ समस्या भएको छ त्यस विषयमा अध्ययन गरिरहेका छौँ ।

लाखौ रुपैयाँ खर्च गरेर नर्स बन्छन् । तर, थोरै पारिश्रमिक लिएर काम गर्न बाध्य छन् । स्वास्थ्य संस्थाले श्रम शोषण गरेको जस्तो भएन र यसमा तपाई के भन्नु हुन्छ?

श्रम शोषण भएकै छ । नर्सलाई जागिर खान जाने समयमा स्वास्थ्य संस्थालाई सेवा सुविधाको बारेमा प्रश्‍न राख्‍नलाई आग्रह गर्छौँ । बाध्यताले काम गर्न जानुहुन्छ । पछि बढाउने आश्‍वासन पाएर काम गर्छन् । संस्था र कामदारको समझदारीमा काम हुन्छ । संघलाई रिपोर्ट गर्नुभन्दा उजुरी गर्दैनन् । संघले बुझ्न जाँदा कानुन सम्मत तलब पाएको देखिन्छ । नर्सलाई अनुभव चाहिएको र संस्थालाई कामदार चाहिएको छ । यसमा दुवै पक्ष जिम्मेवारी देखिन्छ ।

बिरामीसँग समिपमा रहने नर्सहरू नै हुन् । तर, उनीहरूको पारिश्रमिक थोरै छ । अस्पताल / राज्य दुवैले विभेद गरेको भएन र ?

स्वास्थ्य संस्थामा नर्स र डाक्टरको पढाइ फरक हुन्छ । डाक्टरले बिरामीको बारेमा डिसिजन गर्छ भने बाँकी कुराहरू नर्सले गर्ने हुन् । कस्तो स्याहार चाहिन्छ भनेर नर्सले गर्छन् । कामको प्रकृति पनि फरक छ । डाक्टर र नर्सले अध्ययन गर्नुपर्ने क्षेत्रहरू आ-आफ्नो हिसाबले फरक-फरक छ । अस्पतालमा धेरै समय बिताउनेमा नर्स हुन्छन् । नर्सहरूको पारिश्रमिकको कुरामा परिश्रम अनुसार तलब कम भएकै छ । यसमा राज्य गम्भीर हुनैपर्छ महामारीमा सबैभन्दा पीडित नर्स बनेका छन्  ।

लाखौ रुपैयाँ खर्च गरेर नर्स बन्छन् । तर, समयमा जागिर पाउँदैनन् भन्ने छ । यसलाई कसरी सम्बोधन होस् भन्ने चाहनुहुन्छ  ?

सरकारले कति नर्स चाहिन्छ त्यसको निर्धारण गर्नुपर्छ । कति संख्यामा उत्पादन गर्ने, कस्तो अस्पतालमा नर्स चाहिने भनेर वस्तुस्थिति अध्ययन गरिनुपर्छ । त्यसरी अध्ययन गरेर उत्पादन भएमा श्रम शोषणको कुरा आउँदैन थियो ।  अस्पतालमा बिरामी र नर्सको संख्या मिलेको छैन । बिरामीको संख्याअनुसार नर्स राखिएको छैन । एक जना नर्सले कस्तो बिरामी, कति वटा बेड र कति जना नर्स हेर्नुपर्छ टुंगो लगाएर मात्र काम गर्नुपर्छ । सरकारले विश्‍व स्वास्थ्य संगठनको अनुसार काम गर्नुपर्ने प्रक्षेपण गरेको छ । गत वर्षदेखि सरकारले अध्ययन गरिरहेको छ ।

राज्यले नर्सहरूको बिमा जस्ता सुविधा गरेको छैन भन्ने गुनासो भन्ने आइरहन्छ । वास्तवमा नर्सहरूले सुविधाबाट वञ्चित भएकै हुन त ?

कोभिड बिमाको तालमेल नमिल्दा पाएका छैनन् । सरकारी अस्पतालमा काम गर्नेहरूको बिमा भएको छ । निजीमा काम गर्नेहरूको नगरेको भए सबैको गरिदिन आग्रह गरिसकेका छौ ।

निजी तथा सरकारी अस्पतालले नर्सिङ काउन्सिल अनुमति (लाइसेन्स) प्राप्त नर्सलाई प्रशिक्षार्थी नर्सका रूपमा काम लगाउने प्रचलन छ भन्ने छ ।  श्रम शोषणमा परेको गुनासो आइरहन्छ नर्सहरू श्रम शोषणमा परेकै हुन त ?

लाइसेन्सबिनाको नर्सले काम गर्न पाउँदैनन् । लाइसेन्स पाएका नर्सहरूलाई भोलियन्टेरको रुपमा काम गराएको रिपोर्ट पर्‍यो भने त्यस्ता अस्पतालमा हामी छापा मारिहाल्छौ । सुनिन्छ श्रम शोषणका कुराहरू यथार्थमा त्यस्तो भेटेमा कारबाही प्रक्रिया अगाडि बढाउँछौँ ।

सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत श्रमिकले पाउने पारिश्रमिक बैंक खातामार्फत अनिवार्य भुक्तानी गर्नुपर्ने भनिए पनि त्यो कार्यान्वयन हुन सकेको छैन भन्ने छ  नि ?

अस्पताललाई बैंक खातामार्फत अनिवार्य भुक्तानी गर भनेर निर्देशन दिएको छ । फ्लोअप गर्नुपर्ने अवस्थामा कोभिडको कारणले अनुगमन भएको छैन । हामीले चासो गरेपछि सरकारले निर्देशन पनि दिएको छ । नगरेका धेरै अस्पताललाई स्पष्‍टीकरण सोधिएको छ ।

महामारीमा नर्सहरूलाई पढाउने काम भइरहेको छ होला चिकित्सा जस्तो क्षेत्रमा अनलाइन शिक्षा प्रभावकारी होला र ?

केही समय अघि त भौतिक रूपमा पढाइ भएको थियो । कोभिडले अनलाइन पढाउन सुरु भएको हो । अभ्यासमा गरिने शिक्षा भएकाले यस्तो शिक्षा प्रभावकारी मान्न सक्दैनौ । यस विषयमा सरकारलाई सोध्नुपर्छ । अनलाइन शिक्षा सैद्धान्तिक रुपमा ठिक हो तर, व्यवहारिक ज्ञानको रुपमा यसलाई प्रभावकारी मान्न सकिन्न ।

नर्सिङको पेशालाई कतिको सम्मान गरेको पाउनु भएको छ ?

पहिलेको तुलनमा राम्रो गरेको पाइन्छ । समाजमा विगतमा भन्दा अहिले परिवर्तन भएको छ । परिवारले पनि मेरो छोरी र बहिनी यही पेशामा लागोस भन्ने चाहेको बुझ्न सकिन्छ । सेवा सुविधाको दृष्‍टिकोणले यसलाई अझै पनि सुरक्षित मान्न सकिदैन ।

राज्यले नर्सलाई गर्ने व्यवहार कस्तो पाउनु भएको छ ?

राज्यले सम्मान गरेको छ । जसरी दिनुपर्ने हो त्यसरी दिन सकेको छैन । स्वास्थ्य क्षेत्रका लागि ठूला-ठूला विश्‍वविद्यालय खोल्ने अनुमति दिएर पढ्ने अवसर दिएका छन् । विभिन्न कार्यक्रम दिएको छ । मात्र दरबन्दी कम दिएको छ ।

पछिल्लो समय धेरै नर्सहरूमा मुलुक छोडेर जाने क्रम बढेको छ । यसलाई कसरी लिनुहुन्छ ?

नर्सले मुलुक छोडेर जाने कुरा ठूलो बहसको विषय हो । तर, जुन रुपमा बन्नुपर्थ्यो अझ बन्न सकेको छैन । राज्यले नर्सलाई व्यवस्थापन गर्न सकेको छैन । मुलुकमा रोजगार नपाएकाले बाहिर गएका छन् । राम्रो अवसरको खोजीमा छन् । दक्ष जनशक्ति बाहिरिन्छन् । आगामी दिनमा काम गर्ने मानिस अभाव हुन सक्छ ।

विदेश र नेपालमा नर्सलाई गर्ने व्यवहारमा कस्तो फरक पाउनु भएको छ ?

राज्य र नागरिकको चेतनामा भर पर्छ । धेरै पैसा खर्च गरेर पढेकाहरू बेरोजगार भएको गुनासो छ । उनीहरूले भनेको जस्तो काम पाएका छैनन् । कतिपय ठाउँमा नकरात्मक कुराहरू पनि सुनिन्छ । कामको चाप बढी भएर पनि समस्या हुन सक्ने हुन्छ ।

अन्त्यमा आज नर्सिङ दिवस हो । नर्सिङ पेशामा आवद्ध नर्स र राज्यलाई केही भन्न चाहनुहुन्छ ?

महामारी भएकाले सरकारको निर्देशन मानेर धेरै कार्यक्रमहरू हामीले रद्द गरेका छौ । थोरै संख्याको उपस्थितीमा रहेर वृक्षरोपण गर्दैछौ । महामारीमा खटिएका नर्सहरूको लागि सेवासुविधा प्राप्‍त नगरेमा व्यवस्था गराउन पहल गरिरहेका छौ । समस्याहरू छन भने राख्‍नुहोस र नकरात्मकता नराखी सेवा गर्नूहोस । नर्सहरूको कामलाई कदर गर्छौ । राज्यले नर्सलाई तोकेको सेवा सुविधा प्रदान गरोस् । राज्यले विदेशीने नर्सलाई रोकेर राम्रो सेवा सुविधा प्रदान गर्नुपर्छ । दरबन्दी सिर्जना गरेर सरकारी अस्पतालमा काम गर्ने अवसर दिनुपर्छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x