डा.श्यामसुन्दर यादवलाई प्रश्नः सिनेट बैठक बोलाउन के गरिरहनु भएको छ ?
फाइल तस्बिर
काठमाडौँ - धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जिम्मेवारी डा. श्यामसुन्दर यादवले सम्हालिरहेका छन् । सरकारले प्रतिष्ठानका विवादित उपकुलपति डा. ज्ञानेन्द्र गिरीको स्थानमा यादवलाई तदर्थ जिम्मेवारी दिएको हो ।
१० गते प्रतिष्ठानमा डा.यादवसहित कोष तथा लेखा नियन्त्रक कार्यालय सुनसरीका प्रमुख चिरञ्जिवि अधिकारी पुगिसकेका छन् । उनीहरू यतिखेर विभागीय प्रमुखसँग छलफलमा छन् । तर, सरकारले पठाएको १२औं तहको कर्मचारी पुगेसँगै प्रतिष्ठानका पदाधिकारीले अदालतमा मुद्दा पनि दायर गरेका छन् ।
सिनेटको बैठकले मात्र पदाधिकारीहरूको अधिकार खोस्न सक्छ । तर, सिनेटको बैठक बस्न नसक्दा सरकारले यादवलाई जिम्मेवारी दिएको छ । बैठक कहिले बस्ने अझै अन्यौल कायमै छ । प्रतिष्ठानको जिम्मेवारी पाएका उनै डा. यादवसँग इकागजकर्मी अतिन आचार्यले गरेको कुराकानीः
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्नु भएको छ । प्रतिष्ठानको गिरेको साँख फर्काउन कसरी काम गरिरहनु भएको छ ?
प्रतिष्ठानमा उपस्थित भएपछि विभागीय प्रमुखहरूसँग छलफल गरिरहेको छु । प्रतिष्ठानकै विभिन्न प्राज्ञिक क्षेत्रका व्यक्तिहरूसँग के गर्न सकिन्छ भनेर निरन्तर संवाद गरिरहेको छु । उच्च तहमा रहेका कर्मचारीसँग अन्तक्रिया गरेर सबैको सुझाव लिने काम भइरहेको छ । अस्पतालको मुख्य-मुख्य समस्याहरू के-के हुन त्यसको अध्ययन गरिरहेको छु । मुख्य कुरा यहाँको समस्याको पहिचान गर्ने काम भइरहेको छ । कोभिड उपचार केन्द्रको व्यवस्थापनको बारेमा स्वास्थ्य मन्त्रालयमा जानकारी गराइसकिएको छ ।
विभागीय प्रमुखहरूबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?
कर्मचारीहरूको भनाइ सुन्दा प्रतिष्ठानलाई निकास दिनुपर्ने छ । सिनेटको बैठकको माग गरिरहेका हुन्छन् । बैठक नबसेमा समाधान हुन सक्दैन । स्वायत्त संस्था भएकाले मन्त्रालयले हस्तक्षेप गरेको छैन । प्रतिष्ठानका केही कर्मचारीले मन्त्रालय र सरकारलाई गुहारेका थिए । सोही अनुरुप यो काम भएको छ । निकास दिनका प्रतिष्ठानमा पुगेको हो । निकासको बाटो पहिल्याउन सरकारलाई बारम्बार आग्रह भइरहेको छ । सबै समस्याको समाधान मन्त्रिपरिषद्ले गर्छ र मैले पुलको काम गर्ने हो ।
प्रतिष्ठानमा पुगेपछि सिनेट बैठक बसाउन कतिपटक आग्रह गर्नुभयो र कहिले बस्छ ?
सिनेट बैठकलाई मन्त्रालयमा निरन्तर सम्पर्क गरिरहेको छु । यस विषयमा स्वास्थ्य राज्यमन्त्रीलाई अवगत गराइसकेको छु । छिटोभन्दा छिटो सिनेट बैठक बसाएर समाधान गर्ने प्रयासमा छु । मैले एक सातामा होस भन्ने चाहेको हो तर त्यो अधिकार म सँग छैन । स्वास्थ्य मन्त्रीले गर्ने हो,यसै साता मिति तोकिदिनु होस भनेर भनिरहेको छु ।
प्रतिष्ठानमा के- कस्तो समस्या पाउनु भयो ?
नयाँ समस्या केही देखिएको छैन । सबैले पुरानो समस्या भएर अवगत गराउनु भयो । भारत सरकारको स्वामित्त्वमा रहँदा राम्रो थियो । तर, जब नेपाल सरकारको स्वामित्त्वमा आयो त्यसपछि समस्याको चाङ्ग चुलियो । सरकारले नयाँ ढंगबाट गर्न खोजेको काम छ यसलाई राम्रोसँग गर्न खोजेमा राम्रो होला भन्ने लाग्छ । अन्य ठाउँबाट भन्दा यहाँ प्रशस्त दक्ष जनशक्ति छन् ।
समय-समयमा प्रतिष्ठानमा भ्रष्ट्राचार भएको घट्ना सार्वजनिक भइरहन्छ । पदाधिकारी पनि आर्थिक अनियमिततामा मुछिएका कुराहरू आइसकेका छन् । यस विषयमा कतिको चाँसो राख्नुभएको छ?
कुनै पनि फाइल अध्ययन गर्न पाएको छैन । सिधा भाषामा झुठ नबोली भन्नुपर्दा फाइलको विषयमा अनियमितताको विषयमा केही ध्यान दिएको छैन । कर्मचारी साथीहरूले पनि यसमा ध्यान दिएका छैनन् । मेरो ध्यान अस्पताल र पढाइ बन्द नहोस भन्नेतिर छ ।
कर्मचारीहरू तथा स्वास्थ्यकर्मीहरूबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
प्रशासनका कर्मचारीले मेरो नियुक्ति वैधानिक हो कि होइन भनेर प्रश्न गरिरहेका छन् । प्रत्यक्ष रुपमा मलाई नभने पनि आशय प्राप्त भएको छ । मैले बुझाउने कोशिश गरिरहेको छु । सरकारको निर्देशनअनुसार म यहाँ आएको हो । सरकारलाई गुहार्ने पनि केही गर्न खोज्दा हस्तक्षेप पनि भयो भन्न मिल्छ र ? अस्पताल र कलेजको प्रशासन तथा आर्थिक क्षेत्रलाई सुधार गर्नेगरी जिम्मेवार लिएर आएको छु ।
तपाइको कामलाई लिएर कर्मचारीले सहयोग नगर्ने भएका छन् हो ?
मैले सबलाई अनुरोध गरिरहेको छु । म काम गर्न आएको हो, भीसी बन्न आएको होइन भनेर भनिसकेको अवस्था छ । भीसीहरूले अदालतमा मुद्दा दायर गरेका छन् । अदालतले जे निर्णय गरे पनि सहजै स्वीकार्ने छु । अदालतले उहाँहरूको पक्षमा निर्णय गरेमा एक सेकेण्ड पनि यहाँ बस्दिन । तर, कसैले गर्न लागेको काममा हस्तक्षेप हुनुहँदैन । म सचिवस्तरको कर्मचारी हो, सरकारले भनेको निर्देशन मानेर यहाँ आएको हुँ ।
लामो समयदेखि प्रतिष्ठानमा भएको बेथिति अन्त्य गर्न स्वास्थ्यकर्मी र कर्मचारीले विरोध गरिरहेका छन् । उहाँहरूबाट कस्तो प्रतिक्रिया पाउनु भइरहेको छ ?
आन्दोलनरत पक्षको भनाइ तपाइले केही न केही निकास निकाल्नुपरो भनेर भनिरहनु भएको छ । सिनेट बैठक बसाइदिनुहोस भन्नु भएको छ । मेरो पनि त्यसमा ध्यान छ । विभिन्न विकल्पको खोजी भइरहेको छ । वहाँहरूले सकरात्मक रुपमा लिनु भएको छ । विद्यार्थी लगायत सम्पूर्ण चिकित्सकको सुझाव लिएको छु । दुवैले जे गर्न सकिन्छ त्यो गर्ने हो । छिटो समाधान गरेर निकास दिने चाहना छ । यदि त्यसो भएन मानिसहरू समस्यामा खेल्ने हुन्छन् ।
स्थानीय निकायका प्रतिनिधि तथा नागरिक समुदायसँग छलफलमा बसिसक्नु भएको छ । उहाँहरूलाई कसरी बुझाइ रहनु भएको छ ?
स्थानीय जनप्रतिनिधिहरूको सहयोग राम्रो छ । काम गर्न आउनु भएको हो भने अगाडि बढ्नुहोस भन्ने छ । उहाँहरूले परिवर्तन चाहनु भएको छ । यसको आफ्नै नियम विधान भएकाले त्यसलाई टेकेर काम गर्नुपर्ने हुन्छ । यहाँको विषयलाई समाधान गर्न चाहेकाले सरकारले मलाई पठाएको छ । सबैलाई चाँसो छ,यसलाई उहाँहरूले बुझ्नुपर्ने हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया