मैले खोल्ने पार्टीको नाम कम्युनिस्ट हुँदैन (अन्तर्वार्ता)
मेरा निम्ति समाजवादको स्वाद चखाउने अवसर राम्रोसँग प्राप्त हुनेछ
कुनै बेला नेपाली राजनीतिका ‘दबंग नेता’ वामदेव गौतम एमाले विभाजनसँगै अत्तोपत्तोमा रहेनन् । न एमालेतिर देखिए न एकीकृत समाजवादीतिर, न माओवादी केन्द्रतिरै जान तम्सिए । राजनीति हो, कतै नदेखिएपछि धेरैले ठान्ने भए, ‘हराए’ । हुन त, एमाले उनका निम्ति विधानतः पदीय हैसियतमा रहन मिल्दैन । किनभने ७० वर्ष काटेकाहरू केन्द्रीय सल्लाहकार परिषद्मा मात्र रहन सक्छन्, बढी भएमा परिषद्कै अध्यक्ष मात्र । तर, वृद्ध उमेरमै भए पनि गौतम जोस मरेको देखिँदैन । अझै पनि ‘मार्क्सवादी’ पार्टीको जग हाल्ने प्रयत्नमा देखिन्छन्, यद्यपि निर्णयकै तहमा पनि देखिँदैन । सकारात्मक–नकारात्मक जे रूपमा भए पनि सधैँ 'न्युजमेकर' भइरहने नेता गौतमसँग भावी योजनाबारे इकागजका विनोद देवकोटाले गरेको कुराकानी :
तपाईं राजनीतिक रूपमा निष्क्रिय जस्तै भएर बस्नुभएको छ । राजनीति तातो नै छ, तपाईं चाहिँ तातो राजनीतिमा कतै देखिनुहुन्न, के गरिरहनु भएको छ ?
- अझै मेरो पार्टी सदस्यता एमालेको खातामा छ । मैले एमालेबाट राजीनामा दिएँ । केपी ओलीले हो कि कमिटीले छलफल गरेर अस्वीकृत भएको निर्णय गर्नुभएछ । यो अस्वीकृत भन्नुको अर्थ मैले किन छोडे ? राजीनामा किन दिएँ ? भन्ने सम्बन्धमा मैले भनेका विषयहरू पनि स्वीकृत हुन्छन् भन्ने कसैले काइते कुरा गर्यो होला । त्यसो भएर स्वीकृत गर्नुभएन । त्यो मेरो निम्ति स्वीकृत र अस्वीकृतको कुनै अर्थ राख्दैन । मैले एक पटक पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएँ है भनेपछि भयो–भयो । तर, एउटा कम्युनिस्ट पार्टीको सदस्य भएको नाताले कि त मैले अर्को कुनै मार्क्सवादी पार्टी गठन गर्नुपर्यो र मेरो सदस्यता त्यहाँ राख्नुपर्यो वा अरु कुनै कम्युनिस्ट पार्टीमा प्रवेश गर्नुपर्यो । मैले मैले पार्टी सदस्यताबाट राजीनामा गरेको छैन । कम्युनिस्ट पार्टीको सदस्य भएपछि त्यसको सिद्धान्तले कुनै न कुनै कमिटीमा बस्नैपर्छ भन्छ । कुनै कामको जिम्मा लिनैपर्छ । नियमित रूपमा सदस्यता शुल्क तिनैपर्छ । कुनै जिम्मेवारी लिएर प्रतिस्पर्धात्मक किसिमले पूरा गर्छु भनेर काममा लाग्नुपर्छ । यी कम्युनिस्ट पार्टीका चरित्र हुन् । कम्युनिस्ट पार्टीका सदस्यले यो काम गर्नुपर्छ । मैले जहिलेदेखि सदस्यता लिएँ (२०२२ सालदेखि) त्यसबेलादेखि मैले त्यसलाई कहिले पनि उल्लंघन गरेको छैन ।
अब के गर्ने त ?
- कि मैले पार्टी निर्माण गर्नुपर्यो। त्यसका निम्ति वातावरण हुनुपर्यो । साथीहरूले साथ दिनुपर्यो । कि चाहिँ म कुनै कम्युनिस्ट पार्टीमा प्रवेश गर्नुपर्यो । कम्युनिस्टभन्दा अर्कोमा नाम कम्युनिस्ट नभए पनि मार्क्सवादी पार्टी हुनुपर्छ । त्यसमा म प्रवेश गर्नुपर्यो । त्यसो भएपछि म सक्रिय रहन्छु । राष्ट्रिय सभा सदस्यका हिसाबले निर्वाचनमा मेरो कुनै भूमिका हुँदैन ।
त्यसो भए, तपाईं कुनै कम्युनिस्ट पार्टी प्रवेशको तयारीमा हुुनुहुन्छ कि नयाँ पार्टी खोल्नेमा ?
- यदि मैले स्थानीय तहको निर्वाचनसम्म पनि बाँकी रहेका विषय मैले टुंग्याउन सकिनँ भने कसैलाई पनि समर्थन हुँदैन । मेरोतर्फका मानिसहरूलाई देशैभरि लाखौँ व्यक्तिहरूले मलाई जान्दछन्, चिन्दछन् र माया गर्दछन् । उनीहरूको मप्रतिको दृष्टिकोण सकारात्मक छ । अब वामदेवले के भन्छ भन्ने पनि होला । त्यस्तो अवस्थामा आफूलाई जे ठीक लाग्छ त्यही गर्नुस् भन्नुपर्छ । तर, म त्यो भनिरहेको छैन ।
स्थानीय तहको मात्रै होइन प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन पनि निकट आउँदैछ । यहाँका समर्थक, शुभचिन्तक र आम जनतालाई के भन्ने त ? त्यहाँसम्म पनि अनिर्णित त हुनुहुन्न होला ?
- मेरो योजना माघभरिमा कुनै एउटा मार्क्सवादी पार्टीको जग हाल्ने विचार छ । मेरो प्रयत्न जारी छ ।
नयाँ पार्टी बनाउने तयारीमा हुनुहुन्छ ?
- हो । नयाँ पार्टी ।
माघभित्रै यहाँको नेतृत्वमा नयाँ पार्टी आउने अपेक्षा गर्न सकिने भयो ?
- माघभित्रै त भन्न सकिन्न ।
घोषणासम्म हुन्छ कि ?
- आगामी स्थानीय तहको निर्वाचनभन्दा पहिले मेरो नेतृत्वमा एउटा पार्टी घोषणा हुन्छ ।
भनेपछि नयाँ पार्टी निर्माणको व्यापक तयारी गरिरहनु भएको छ ?
- तयारी गरिरहेको छु ।
कस्तो पार्टी बनाउने तयारी छ ?
- नयाँ पार्टीको नाम चाहिँ कम्युनिस्ट पार्टी हुँदैन । नाम प्रजातान्त्रिक मिलाएर राख्नपर्छ । त्यो मार्क्सवादी–लेनिनवादी पार्टी हुन्छ । सबै उद्देश्य, लक्ष्य र क्रियाकलापहरू कम्युनिस्ट पार्टीका सदस्यहरूको जस्तै नै हुन्छ । तर, कम्युनिस्ट पार्टी नेपालमा धेरै बदनाम हुनेगरी देखा परे । नेताहरूले त्यहाँ पुर्याए । अब कम्युनिस्ट पार्टी केवल आन्दोलन गर्ने, राज्यसत्ता कब्जा गर्ने र मानिसहरूलाई अनेक किसिमले मार्ने मात्रै होइन । कम्युनिस्ट पार्टी त एउटा संस्कृतिको नाम हो । उसले समाजवादी संस्कृति, साम्यवादी संस्कृतिको आजैदेखि अभ्यास गर्नुपर्छ । सिकाउनुपर्छ । जनताबीच आफूलाई त्यसैगरी प्रस्तुत गर्नुपर्छ । त्यो पटक्कै देखिएन । संविधान नमाने पनि हुने, ऐन काुनन नमाने पनि हुने भएको छ । संसदीय व्यवस्था भएको हाम्रो देशमा अहिलेको सम्पूर्ण संस्कृतिको केन्द्रबिन्दु के हो ? कसले संस्कृतिको केन्द्रबिन्दु भनेर अवलम्बन गर्या छ र ? त्यो संसद् कसरी चल्नुपर्छ ? त्यसका नियमहरू के हुन्छन् । तिनको पालना गर्नुपर्छ भन्ने मतलब छैन । कुनै एउटा पार्टीलाई चित्त बुझेन, उसले हामीले भनेको काम नहुँदासम्म कसैलाई संसदबाट निस्कासित गर्नुपर्ने, कसैलाई आजीवन काराबास दिनुपर्नेजस्ता आरोप लगाउनसमेत तयार हुनुपर्ने ? होइन भने हामी संसद् चल्न दिन्नौँ भनिराख्या छन् । यस्तो अवस्थामा कम्युनिस्ट आन्दोलनमा संस्कृतिको ह्रास भयो । बोल्दाखेरि पनि दुर्वचन बोल्ने, अरुलाई पनि दुर्वचन आरोप लगाउँदा पनि कुनै तथ्य नचाहिने सिधै आरोप लगाए भइहाल्ने ? कम्युनिस्ट–कम्युनिस्टको बिचमा भिडन्त गराउने ? यस्तो स्थितिमा कतिपय नेताहरू/कतिपय मूल नेताहरू रहेको हुनाले म त्यो खोल निकालेर अर्को एउटा इमान्दारीसाथ जनताले सोझै बुझ्न सक्ने त्यस्तो खोल ओढेर काम गर्न चाहन्छु ।
एमाले एक बनाउने अभियान चलाइरहनुभएको थियो, त्यो अब सम्भव छैन भनेर नयाँ पार्टी बनाउनेतिर लाग्नु भएको हो ?
- होइन, सम्भव छ । त्यो त मेरो मूलमन्त्र हो । राजतन्त्र समाप्त गरेर गणतन्त्र घोषण गर्दा मेरो पार्टीमा गणतन्त्रको प्रस्ताव राख्ने व्यक्ति म हुँ । कमरेड केपी ओलीसहितका अरु चार जनाले केपी ओलीले भनेर गणतन्त्रको प्रस्तावमा फरक मत राख्न लगाउनुभयो । आफूले पक्षमा समर्थन गर्नुभएन । मैले संघीयतामा जानुपर्छ भनेर प्रस्ताव राखेँ । संविधान सभामा जानुपर्छ भनेपछि मलाई कारबाही गरियो । नयाँ नेपाल निर्माणको अहिलेको अवस्थाको निम्ति मेरो योगदान छ । म त्यस्तो किसिमको पार्टी निर्माण गर्छु । जसमा यी सबै पक्षमा जनतालाई सिकाउन र बुझाउन सकियोस् । एउटा राम्रो स्थिर एकता गर्न सकियोस् भन्ने पक्षमा छु । त्यसरी नै जाने हुनाले मैले सकेको गर्ने हो । कामना हो मेरो । म यसो गरुँला भन्ने सपनाजस्तो छ । त्यो परिणत हुन्छ कि हुँदैन हेर्न बाँकी छ ।
नयाँ पार्टी बनाएर पनि कम्युनिस्ट एकतामै जोड दिने हो ?
- पहिले कम्युनिस्टहरू एक ठाउँमा आउनुस् भन्ने हो । फेरि कम्युनिस्ट पार्टी बनाउने, त्यो पार्टीमा जाने त गर्दिनँ । बृहत् परिवर्तनसहित, संरचनात्मक परिवर्तनसहित जाने भयो भने सँगै जान सकिन्छ । होइन भने कार्यगत एकता गरौँ । वामपन्थी पार्टीहरू जो समाजवादका पक्षमा हुनुहुन्छ । जो आफ्नो आदर्श साम्यवादलाई मान्नुहुन्छ । उहाँहरूको बीचमा कार्यगत एकता गरौँ । अब नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुन सक्दैन । त्यो विगतको घटनाले पनि साबित गरिसक्यो । त्यसरी विचार, नीति सबै विषय यहाँसम्म कि त्यसको पृष्ठभूमिको सम्बन्धमा पनि स्पष्ट दृष्टिकोण कायम भएपछि मात्रै एकता हुन्छ । त्यसो नगरीकन एकता हुन सक्दैन । तर, कार्यगत एकता गरेर जान सकिन्छ । त्यसका निम्ति मैले देखेको सपना एकदिन नेपालमा सबै कम्युनिस्टलाई मिलाएर (मिल्न सक्ने जति कम्युनिस्ट छन्) एउटै पार्टी बनाऔँ भनेर लागेको थिएँ । नेकपा निर्माणमा म धेरै सक्रिय भएर लागेको थिएँ । खुसी पनि भएको थिएँ । गणतन्त्र आइसकेपछि अब कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्नुपर्छ भनी लागेको हुँ । हरेकले आफ्नो व्यक्तिगतरूपमा काम गर्ने हो । आफ्नो क्षमताअनुसार काम गर्ने हो । त्यो गरियो । अब अबको हकमा कार्यगत एकता गर्ने, मिल्न सक्नेहरूसँग साझा उद्देश्य राखौँ । त्यसका निम्ति चुनावमा पनि सँगै जाऔ । सरकार पनि सँगै निर्माण गरौँ । त्यो सरकार साँच्चिकै समाजवादी सरकार, समाजवाद निर्माणको सरकार बन्ने गरी जाऔँ भन्ने हो ।
नेकपा एकता कायम रहन सकेन । एमाले पनि विभाजन भयो । एक पक्षले नयाँ दल बनायो । अरु पनि नयाँ दल बनिराख्या छन् । यस्तो अवस्थामा फेरि नयाँ दल बनाएर जनमत तयार गर्ने आधार कहाँ देख्नुभयो ?
- कम्युनिस्ट आन्दोलनमा यति धेरै विकृतिहरू छन्, त्यस्तो अवस्थामा कम्युनिस्ट आन्दोलन नाम मात्रै हुने हो । तर, हुने त कम्युनिस्ट आन्दोलनले जे प्राप्त गर्छ त्यही गरेर जाने हो । त्यो सम्भावना मैले देखेको छु । मैले सम्भावना देख्ने हो । मैले जुन वर्ग र तहलाई लक्षित गरेको छु, पार्टीमा ल्याउन त्यसको बीचमा सबभन्दा पहिले म जान्छु । एउटा अभियान लिएर म जान्छु । त्यो ‘टार्गेट’ पक्षले समर्थन गर्यो भने मात्रै पार्टी निर्माण हुने हो ।
जुन तह र वर्गको कुरा गर्नुभयो नि । त्यो भनेको को हो ? आमजनता हुन् कि अहिले भएका पार्टीभित्रकै पनि कतिपय ? कसलाई इङिगत गर्नुभएको ?
- स्वतन्त्र व्यक्तिहरू पनि हुन सक्छन्, अरु पार्टीमा रहेका, एमाले, माओवदी, एकीकृत समाजवादीभित्र रहेका वा अरु कुनै कम्युनिस्ट पार्टीभित्र रहेका, यहाँसम्म कि कांग्रेसभित्र रहेका कैयन व्यक्तिहरू, जो नेपालको विकासको निम्ति सँधैभरि चिन्तित छन् । जो चाहिँ अहिलेसम्म भएका कामहरूमा आलोचनात्मक दृष्टिकोण राख्छन् । हो त्यो पङित मैले बनाएको छु । त्यसपछि शारीरिक श्रम गरेर बाँच्नु परेका र मानसिक श्रम गरेर बाँच्नु परेको नेपाली श्रमजीवी वर्गका जनता नेपालको जनसंख्याको ९० प्रतिशतभन्दा धेरै छ । तिनीहरू यी यतिखेर भएका पार्टीहरूमा सबै पार्टीमा संगठित छैनन् । जस्तो एमालेको आठ लाख सदस्य, माओवादीको सात लाख पार्टी सदस्य छन् । कांग्रेसको ९÷१० लाख सदस्य छन् । अरुको त लाखै पुगेको छैन । लाखै पुगे पनि कति भयो ? २५/३० लाख ।
नेपालको जनसंख्या झण्डै तीन करोड छ । (करिब आठ लाख अपुग) त्यसभित्र संगठित र कुनै पार्टीमा संलग्न नभएका तर, विभिन्न किसिमले भोट हाल्ने र बाहिबाट समर्थन गर्ने व्यक्तिहरू बाँडिएका छन् । पार्टीमै सदस्य भएर नगएको पंङ्ति नेपाली जनताको तीन चौथाइभन्दा धेरै छ । त्यत्रो जनआधार छ । जहाँ मैले विश्वास लिन सके भने म सफल भइहाल्छु । मतदाताकै संख्या दुई करोड बढी होला । मत हाल्न सबैले नपाए पनि परिपक्व व्यक्तिको संख्या ठूलो छ । यसबीचमा पार्टी निर्माण गरेर जनताबीच जाने प्रशस्तै सम्भावना छ । त्यहाँबाट उठेर फेरि खडा हुने, नेपाललाई समाजवादको स्वाद कस्तो हुन्छ भनी जनतालाई चखाउने अवसर मेरा निम्ति राम्रोसँग प्राप्त हुने सक्ने देखेको छ ।
मुलुक चाहिँ स्थानीय तहको निर्वाचन, गठबन्धन, एमसीसीलगायत विषयले राष्ट्रिय राजनीति तातिएको छ नि।
- स्थानीय तहको निर्वाचन गर्नैपर्छ । तर, निर्वाचन ऐन र नेपालको संविधान बाझिएको पाइयो । बाझिएको हकसम्म संविधान लागू हुन्छ । ऐन अमान्य हुन्छ भनी संविधानमै छ । गठबन्धनका नेताहरूले एउटा निकास निकाल्नु भयो भन्ने विवरण आइरहेका छन् । ऐन संशोधन गरेर संविधान बमोजिम बनाई जेठभित्र निर्वाचन गर्ने । त्यही भएर उहाँहरूलाई अविश्वास गरेर अन्यथा सोच्न र प्रचार गर्नुपर्ने केही जरुरी छैन ।
एमसीसीबारे पनि निकै बहस भइरहेको छ नि । यसबारे यहाँको धारणा के हो ?
- एमसीसीका अनेर्कौ प्रावधानहरू नेपालको राष्ट्रियता, नेपालको असंलग्न परराष्ट्र नीति र सार्वभौमिकतासित मेल खाने खालका छैनन् । हामी नेकपामा छँदाखेरि नै पार्टीभित्र छलफल गरेर केन्द्रीय कमिटीले एउटा कार्यदल बनाएर अध्ययन गरेका थियौँ । अध्ययन कमिटीले नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र असंलग्न परराष्ट्र नीतिसित बाझिने विषय छन् भनी प्रतिवेदन पनि दियो । त्यसमा संशोधान गरेर मात्रै कार्यान्वयन गर्नुपर्छ भनी निर्णय आएको थियो । अझै पनि त्यसमा कुनै परिवर्तन त भएको छैन । परिस्थिति आज पनि त्यस्तै छ । यो सम्झौता संशोधन नभइकन कार्यान्वयन गर्नु हुँदैन ।
यो पनि
माघमै नयाँ पार्टी घोषणा गर्ने तयारीमा वामदेव
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया