वार्ता

‘अमेरिका र चीन प्रतिवादमा उत्रिनुले अप्ठ्यारो परिस्थितिको संकेत गर्छ, नेपालको होसियारी आवश्यक’

इकागज |
फागुन ७, २०७८ शनिबार १४:२८ बजे

डा. भेषबहादुर थापा, यतिखेर प्रदर्शित ‘अपरिपक्व’ कूटनीतिमा चिन्तित देखिन्छन् । कूटनीतिक सेवा र अर्थनीति निर्माणमा पूरै जीवन लगाएका डा. थापा कलिलै उमेरमा अर्थसचिव र अर्थमन्त्री हुँदै नेपालमा विदेशी सहायता भित्र्याउन लागिपरेका थिए । पछि अमेरिका र भारतका लागि राजदूत हुँदै कूटनीति वृत्तमा जम्न पुगे । जतिखेर उनी अर्थसचिव या मन्त्री भए, त्यतिखेर विश्व शीतयुद्धमा थियो । विश्व दुई धुव्रमा विभाजित थियो । तर नेपाल असंलग्न परराष्ट्र अभियानमा संलग्न हुँदै आफूलाई सुरक्षित राखेको थियो । कूटनीति–अर्थनीतिका ज्ञाता डा. थापासँग नेपालमा हालैका दिनमा कूटनीतिक सम्बन्धमाथि भइरहेको राजनीति कसरी हेर्नु भएको छ भनी इकागजले गरेको संक्षिप्त कुराकानी:

तपाईं कूटनीति र अर्थनीति दुवैको अनुभवी हुनुहुन्छ, जसरी हिजो मात्रै चीन र अमेरिकाको खुला अभिव्यक्ति आएका छन्, यसलाई तपाईंले कसरी अध्ययन गरिरहनु भएको छ ?


यो हामी कहाँ कूटनीति सञ्चालनमा देखापरेको अपरिपक्वताका कारण उत्पन्न परिस्थिति हो । कूटनीतिमा यस्ता विचलित स्थितिले हामीलाई समस्यातर्फ धकेल्छ । मुलुक कूटनीतिक क्षेत्रमा विचलित हुने दिशामा अघि बढिरहेको देखिन्छ । यस्तो स्थिति उत्पन्न हुनु मुलुकका निम्ति प्रत्युत्पादक ठहरिन्छ । हामी यसमा होसियारीका साथ अघि बढ्ने काममा लागेनौं भने साँच्चै नै अप्ठ्यारो स्थिति हुन्छ । हेर्नुहोस्, नेपालमा २००७ मा प्रजातन्त्र स्थापनापछि परराष्ट्र नीतिमा जुनसुकै सरकार होस् या जुनसुकै व्यवस्था होस्, नेपाल असंलग्न नीतिमा हिँड्यो । तर, हाम्रो मुलुकका हकमा विदेशीहरूबाट यसरी अभिव्यक्ति आउनु भनेको अप्ठ्यारो परिस्थितिकै संकेत हो । यसमा नेपाल होसियार हुनुपर्ने अवस्था आइसकेको छ ।

तपाईं लामो समय योजना–अर्थसचिव, अर्थमन्त्री, राजदूत गरी अर्थनीति–कूटनीतिमै जीवन बिताउनुभयो, अमेरिकी सहायता सम्झौता एमसीसीमा उत्पन्न विवादलाई चाहिँ कसरी हेर्नुभएको छ ?

एकातिर पूर्वाधार विकासका लागि उत्तरी छिमेकी चीनको ‘बेल्ट एन्ड रोड इनिसियटीभ’ (बीआरआई) मा नेपाल संलग्न छ भने अर्कातिर अमेरिकाको एमसीसी छ । बीरआरआई होस् या एमसीसीको विषयलाई लिएर नेपाल तनावको अवस्था आउनु भएन । अर्काे त, नेपाल असंलग्न नीतिबाट विचलित हुनुपर्ने अवस्था सिर्जना भयो भने नेपाल बडो कठिन अवस्थामा पुग्छ । शक्ति राष्ट्रका आ–आफ्नै प्रतिस्पर्धा छन्, त्यस्तो प्रतिस्पर्धाको उल्झनमा हामी पर्नुहुँदैन ।  

यो यस्तोमा नेपालले के गर्नुपर्छ भन्ने तपाईंलाई लाग्छ ?

यो राजनीतिक दल र तिनका नेताका कारण उत्पन्न परिस्थिति हो । उनीहरू सत्तामा हुँदा एकथरि व्यवहार गर्ने र सत्ताबाहिर पुगेपछि अर्काेथरि गर्ने गर्छन् । यो नै समस्याको जड हो । उनीहरूबाट जुन अपरिपक्व व्यवहार हुँदैछ, यसबाट पछि हट्दै मुलुककै हितमा सोच्‍नुपर्छ ।

कूटनीतिमा आन्तरिक घरेलु राजनीति मिसाउनु हुँदैन । 

राष्ट्रिय हितका निम्ति दलहरूले कूटनीतिक शैलीकै मर्यादा र व्यवहार प्रदर्शन गर्नुपर्छ । विगतमा परिपक्व कूटनीति सञ्चालन गरेकै कारणले नेपालले इज्जत कमाएको थियो । अब पनि नेपालले त्यो इज्जत जोगाएर अघि बढ्नुपर्छ ।

विगतमा पनि कूटनीति अप्ठ्यारा आउँदा तपाईंले भूमिका प्रदर्शन गर्नुभएको थियो, यतिखेर हामीसँग कूटनीतिमा परिपक्वपन प्रदर्शन गर्ने नेतृत्वको अभाव भएको हो या नजानेर यस्तो भएको हो ? 

कूटनीति व्यवहार प्रदर्शन गर्न नजानेको भन्दा पनि आन्तरिक व्यवहारले कूटनीतिमा आँच आउने काम कुनै पनि राजनीतिक दलले गर्नु हुँदैन । यस्तो एकांगीपन कुनै पनि जिम्मेवार पार्टी, नेता मात्र होइन कि व्यक्तिले पनि गर्नु हुँदैन । राष्ट्रिय हितलाई वादविवादभन्दा माथि राख्नुपर्छ । नेपालले हालसम्म गरिआएको कूटनीतिक व्यवहार हेर्नुपर्छ । खासगरीकन शीतयुद्धदेखि हालसम्म नेपालले निरन्तर असंलग्न हुँदै आफ्नो इज्जत बढाएर र जोगाएर राखेको थियो । ती इतिहास अध्ययन गरेर नेपालको इज्जत कसरी बढाउने लाग्नैपर्छ । घरेलु व्यवहारमा आपसी मनमुटाव पार्टीभित्र होस् या बाहिर होस्, त्यसले कूटनीतिमा प्रभाव पार्न दिनुहुन्न । आपसी मनमुटाव देशभित्रै सल्टाउनुपर्छ । तिनको मनमुटावले कूटनीतिमै कसरी आँच पार्न नदिने र कसरी सुधार गर्ने भन्नेमा सबैले शान्त भएर सोच्‍नुपर्छ ।

विगतमा चीन र अमेरिका दुवैका कारण नेपालमा अप्ठ्यारो परिस्थिति पैदा भएको छ कि छैन ?

विगतमा यसरी खुला ढंगले अप्ठ्यारो स्थिति आएको थिएन । भित्रभित्रै सुक्ष्म हिसाबमा केही भए होलान्, तर देखिने गरी चाहिँ यस्तो भएको थिएन । नेपालमा कूटनीतिमा विदेशी प्रवक्ता अगाडि आउँदै राष्ट्रको धारणा यो हो भनी बोलेको पनि थाहा छैन । 

हाम्रा दल र नेताहरुको अपरिपक्वपन हो या तिनले कूटनीतिमा पनि राजनीति गर्न खोजेका हुन्, तपाईंलाई के लाग्छ ?

अलि–अलि दुवै कुरा देखिन्छ । तर कूटनीतिमा आन्तरिक घरेलु राजनीति मिसाउनु हुँदैन । 

यसरी कूटनीतिका विषयलाई राजनीतिकरण गर्दै जाँदा मुलुक विदेशीको क्रीडास्थल हुन सक्ने सम्भावना रहँदैन र ?

त्यो दिशातिर मुलुक अघि नबढोस् भन्ने चाहना हरेकले राख्नुपर्छ । यो तवरको वादविवाद निम्त्याउँदै आफैँ अप्ठ्यारो अवस्थामा पुग्ने व्यवहार देखिएको छ, त्यसबाट सबै सतर्क र होेसियार हुनुपर्छ । यस्तो स्थितिलाई अघि बढाउने होइन कि पछि हट्नेतिर लाग्‍नुपर्छ ।

तपाईं अर्थसचिव र अर्थमन्त्री हुँदा देशमा सहायता भित्र्याउन खुब लाग्नुभयो, यतिखेर आएको सहायताभित्रको राजनीतिलाई चाहिँ कसरी हेर्नुभएको छ ?

म जतिखेर अर्थसचिव वा मन्त्री भए, त्यतिखेरको अवस्था नै अर्कै थियो । त्यो शीतयुद्धको बेला थियो । शक्तिशाली राष्ट्रले अन्य राष्ट्रलाई आफ्ना पक्षमा पार्ने अभियान चलाएका थिए नै । नेपाल कतैतिर पनि लागेन । दुवै धुव्रबाट सहायता लिएकै हो । अनि त्यो बेलामा चीन त्यति शक्तिशाली थिएन । त्यतिबेला पनि चीनले नेपालमा सकारात्मक भूमिका खेलेको थियो । हाम्रो असंलग्न नीतिलाई मान्यता दिएको थियो । त्यतिखेर नेपालकै व्यवहारबाट कमाएको इज्जतमा वादविवाद निम्त्याउँदै संकट पार्ने स्थितिबाट नेपाल आफैँ पछि हट्नुपर्छ । 
 


Author

थप समाचार
x