वार्ता

यस्तो छ भक्तपुरको रानीपोखरी

नीरज लवजू |
फागुन १७, २०७८ मंगलबार १३:३ बजे

हिजो सोमबार दिउँसो रानीपोखरी पुग्दा उनी सजिएकी थिइन् । नसजिऊन पनि किन ? मंगलबार आज रानीपोखरीको घुम्टो उघारिने तिथि जो तोकिएको छ । मङ्गलबारको विशेष दिनमा कुनै पनि कमी नहोस् भनी पोखरी पुनःनिर्माणको काममा खटिएका जो कोही पनि तदारुकताका साथ लागेका थिए । 

वरपर ज्यामीहरू रानीपोखरीलाई अझ सुन्दर बनाउन लागिपरेका थिए । कोही पोखरीको पूर्वी कुनाको दुधपाटीको छानामा घाँस उखेल्दै थिए । कोही भर्खर बनिसकेको सुन्दरतम ह्वाँह्वाँ पाटी छेउछाउ थुप्रिएको माटो पन्छाउँदै थिए त कोही पोखरीको बाहिरी डिलमा कुचो लगाउँदै थिए ।


चारैतिर उभिएका रूखले पोखरीलाई अझ मनमोहक बनाएको थियो । उत्तर र पूर्वतिरका दुई वटा पाटी र दुई वटा प्रवेशद्वारमा टाँगिएको सुनौलो किनारासहितको रातो झल्लरले जो कोहीको पहिलो नजर तान्‍न खोजिरहे जस्तो लाग्थ्यो । रानीपोखरीको दैलोमै उभिएको ह्वाँह्वाँ पाटीको अद्भुत वास्तुले पोखरीमा न्यानो स्वागत भइरहेको अनुभव हुन्छ । 

०००
तीन वर्षअघि पहिलो पटक रानीपोखरीमा पाइला टेक्दा भार्वाचोकी लक्ष्मीकेशरी खत्रीलाई मनभित्र थोरै चिसो पसेको थियो । त्यत्तिबेला पोखरी पोखरीजस्तो थिएन । पोखरी कुनै घना जङ्गल जस्तो थियो । पोखरी भनिए पनि कतै पानी देखिएको थिएन । मान्छेभन्दा अग्ला अग्ला नर्कट र गुजुल्टिएका घाँसले पोखरीलाई डरलाग्दा बनाएको थियो । पोखरीको चारैतिर हिँड्न मिल्ने बाटो थिएन । जताततै माटोका ढिस्का र घाँसको जंगल मात्र थियो ।

२०७६ साल असार १ नेपाल सेनाले ऐतिहासिक रानीपोखरी पुनःनिर्माण र संरक्षणको लागि भक्तपुर नगरपालिकालाई हस्तान्तरण गरेको लिखित सम्झौतापछि नै रानीपोखरी पुनःनिर्माणको काम थालनी भएको थियो । भक्तपुरको इतिहास र संस्कृतिसँग अन्योन्यास्रित रूपमा जोडिएको नेपालभाषामा ‘न्हु पुखु’ अर्थात् ‘नयाँ पोखरी’ भनिने यो पोखरी २०३० को दसकदेखि भक्तपुर नपालाई हस्तान्तरण नगर्दासम्म झन्डै पचास वर्ष नेपाली सेनाको नियन्त्रणमा थियो । भक्तपुरका प्रजापति समुदायको दिवाली पुजा (दुगु पुजा) गरिने रानीपोखरीमा वर्षको त्यही एक दिनबाहेक अरू दिन प्रवेश निषेधित थियो । 

‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ भन्‍ने मूल मन्त्र बोकेर सम्पदा, संस्कृति र इतिहास जर्गेना अभियानमा लागेको भक्तपुर नपाका जनप्रतिनिधिले २०७५ चैत १८ गते नेपाली सेनाका तत्कालीन सेनापति पूर्णचन्द्र थापालाई भेटेर रानीपोखरी संरक्षणको विषयमा छलफल गरे । भक्तपुर नपाले सम्पदा संरक्षणमा गर्दै आएका उदाहरणीय काम देख्दै सुन्दै आएको सेनाले रानीपोखरीको कलेवर फेर्ने प्रस्तावमा सहमत जनायो र संरक्षणको लागि भक्तपुर नपालाई हस्तान्तरण गर्‍यो । त्यहीँबाट सुरु भयो, रानीपोखरीलाई नवीन जीवन दिने अभियान । 

तर, दसकौंदेखि उपेक्षा र अलगाव भोग्दै आएको यो सम्पदाको पुनःनिर्माण कम चुनौतीपूर्ण भने थिएन । त्यत्तिबेला रानीपोखरीमा जमेर बसेको लेउ र झाडीजस्तै बाक्लो थियो पोखरीलाई नयाँ जीवन दिने चुनौती पनि । तर, झाडी फाड्न कोही अघि नसरी पनि भएको थिएन । 

“घना झाडी लठ्ठीले फाड्दै काम सुरु गर्‍यौँ”, रानीपोखरी पुनःनिर्माणमा सुरुदेखि काम गर्दै आएकी लक्ष्मीकेशरीले भनिन् । “वरपर जताततै माटोको थुप्रो थियो । पोखरीको पिँधमा हिलो जमेको थियो”, तीन वर्षअघिको कुरा सम्झँदै उनले सुनाइन् ।

लक्ष्मीकेशरीजस्तै पोखरी पुनःनिर्माणमा सुरुदेखि हात खियाउँदै आएकी लक्ष्मी दथेपुथे रानीपोखरीको नयाँ रूप देखेर आफैँ दङ्ग छिन् ।  “पहिला मानिसहरू ‘भूत पोखरी’ भन्थे । अहिले त साँच्चै रानी बस्ने रानीपोखरीजस्तै भएको छ”, सन्तोषको मिठो मुस्कान ओठमा पोतेर उनले भनिन् । 

रानीपोखरी पुनःनिर्माणको काम सुरु गर्दा बुढापाकाहरू त्यो पोखरीमा भूत भएको सुनाउँथे । “यताउता एक्लै नजानु । पोखरीमा भूत बसेको छ । भित्र तान्ला नि’ भन्थे । कोही कोही ‘भक्तपुरको भूत पोखरी भनेको यही हो ?’ पनि आउँथे । अहिले त महलजस्तै भएको छ”, दथेपुथेले भनिन् । 

लक्ष्मीकेशरी र लक्ष्मीजस्तै सुुमित्र न्याईच्याई, पञ्चलक्ष्मी सुवाल र राधिका कासुलालगायतले रानीपोखरीलाई पुरानो रुग्नताबाट अहिलेको सुन्दर रूपवती बनाउन धेरै मिहिनेत गरे । “काम गर्न सामान नभएको बेलामा बाहेक तीन वर्षदेखि हामी नियमित रूपमा रानीपोखरीमा काम गरिरहेका छौँ”, सुमित्रा न्याइच्याईले भनिन् । 

“अब त हामी जुनसुकै ठाउँको पोखरी बनाउन पनि सक्छौँ जस्तो लाग्छ”, भक्तपुरकै भाज्यापोखरी पुनःनिर्माणमा पनि काम गरिरहेका उनीहरूले आत्मविश्वाससहित सुनाए । “पहिला ‘भुतपोखरी’ भन्थे, अहिले साँच्चै रानीपोखरी बनेको छ”, कपडाले टाउको छोपेका, हातमा पञ्जा लगाएका र मुखमा मास्क लगाएका महिला कर्मीहरूले सन्तोषपूर्वक सुनाए । 

रानीपोखरीलाई नवीन जीवन दिने उनीहरूले रानीपोखरी मात्र बनाएनन् । पोखरी पुनःनिर्माणको क्रममा धेरै कुरा सिके पनि । उनीहरूमध्ये अधिकांश महिला पोखरी पुनः निर्माणको काममा लाग्नुअघि घरायसी काममै व्यस्त हुन्थे । 

“खाना पकायो, खायो । खेत गयो । ऊनी टोपी र पञ्जा बुन्यो । यस्तो काम गर्थ्यौँ । यहाँ आएपछि धेरै नयाँ साथी पनि बनायौँ । जनप्रतिनिधि र समाजका अगुवाहरूसँग पनि परिचित हुने अवसर पायौँ”, लक्ष्मीकेशरीले भनिन् ।
पोखरी पुनः निर्माणमा संलग्न हुँदै आएका कृष्णप्रसाद दुमरुले रानीपोखरी पुनःनिर्माणको निम्ति स्थानीय जनताले पनि अतुलनीय योगदान गरेको बताए । पोखरीको बीचमा अवस्थित नागको प्रतिमा प्रतिष्ठान गर्न भक्तपुर नपा वडा नं १ का युवा र विद्यार्थीहरूको अग्रसरता रह्यो ।

त्यस्तै बेलाबेलामा वडाका विभिन्‍न समुहको सक्रियतामा पोखरी पुनःनिर्माणमा देखाएको अग्रसरताकै परिणाम मधुरो बनिसकेको दियो आज धपक्कै बलेको छ । हरेक वर्ष रानीपोखरीमा दिवाली पुजा गर्न आउने प्रजापति समुदायका महिलाहरूले पनि पोखरी पुनःनिर्माणका निम्ति श्रमदान गरे । पोखरी पुनःनिर्माणको पनि कुनै पनि ठुलो खालका मेसिन प्रयोग गरिएन । माटो पनि डोकोमा ओसारियो । ज्यामी र कर्मीको श्रमबाटै सबै काम सम्पन्‍न गरियो । 

०००
रानीपोखरीलाई रूपवती बनाउन भक्तपुर नगरपालिकाअन्तर्गत तीन वटा उपभोक्ता समितिले काम गरेको भक्तपुर नपा वडा नं १ का वडाध्यक्ष श्याम खत्रीले भने । रानीपोखरी पुनःनिर्माणको लागि श्यामसुन्दर बाटीको अध्यक्षतामा बनेको उपभोक्ता समितिले कुल २ करोड ३६ लाख १२ हजार ७८८ रुपैयाँ ८५ पैसा लागत इस्टिमेटको काम सम्पन्‍न गर्‍यो । त्यस्तै पोखरी परिसरकै ऐतिहासिक ह्वाँह्वाँ पाटी पुनःनिर्माणको लागि राजन कोजू अध्यक्ष रहेको उपभोक्ता समितिले ६१ लाख १९ हजार ५७२ रुपैयाँ ९८ पैसाको लागत इस्टिमेटको आयोजना सम्पन्‍न गर्‍यो ।

पोखरीको उत्तर र पूर्वी दिशामा रहेका दुई वटा पाटी र दुई वटा प्रवेशद्वार निर्माणको लागि पुण्यराम गारुको अध्यक्षतामा रहेको उपभोक्ता समितिले कुल ६२ लाख ५० हजार ८७८ रुपैयाँ ३७ पैसा बराबरको निर्माण कार्य सम्पन्‍न गरेको छ । 

नेपाल सेनाले ऐतिहासिक पोखरीको संरक्षणको लागि भक्तपुर नगरपालिकालाई हस्तान्तरण गरे पछि नगरपालिकाले इतिहासविद् डा.पुरुषोत्तम लोचन श्रेष्ठको अध्यक्षतामा दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालयका प्रमुख सरस्वती सिंह, इतिहासकार विश्वमोहन जोशी, भक्तपुर नपाका सम्पदा शाखाका आर्किटेक्टहरू सुर्यभक्त खर्बुजा र रामगोविन्द श्रेष्ठ सम्मिलित अध्ययन समिति गठन गर्‍यो । सो समितिले पोखरी र वरपरका सांस्कृतिक एवम् ऐतिहासिक सम्पदाको अध्ययन गरी प्रतिवेदन तयार गरी २०७७ साउन २९ गते नगरपालिकालाई बुझायो । सोही प्रतिवेदनको आधारमा पुनःनिर्माण कार्य अघि बढाइयो ।

पोखरी र वरपरका सम्पदाका अतिरिक्त अहिले उत्तर र पूर्वमा अवस्थित दुई वटा पाटी र दुई वटा प्रवेशद्वार भने अहिले थपिएको भक्तपुर नपाका उपप्रमुख तथा आर्किटेक्ट रजनी जोशीले बताइन् । “पुरानो सम्पदा संरक्षणका अतिरिक्त हामीले नयाँ सम्पदा पनि थपेका छौँ”, जोशीले भनिन् । थपिएका प्रवेशद्वार र पाटीले पोखरीमा थप सुन्दरता थपिएको छ ।

०००
सामान्यतः रानीपोखरी भन्‍ना साथ मानिसहरू काठमाडौँको ऐतिहासिक रानीपोखरी सम्झन्छन् । तर, तत्कालीन कान्तिपुरका राजा प्रताप मल्लले काठमाडौँमा रानीपोखरी बनाउन चालिस वर्षअघि नै भक्तपुरमा रानीपोखरी बनेको थियो । इतिहासकार डा. पुरुषोत्तमलोचन श्रेष्ठ भक्तपुरको रानीपोखरी नेपाल सम्बत ७५० (विसं १६८७) मा भक्तपुरका तात्कालीन राजा जगज्योतिर्मल्लले बनाएको बताउँछन् । रानीपोखरी नजिकका तःपुखु (सिद्धपोखरी), नःपुखु र भाज्यापुखुभन्दा पछि बनेको नयाँ पोखरी भएकोले यो पोखरीलाई ‘न्हु’ अर्थात् ‘नयाँ’ पोखरी पनि भनिएको हो ।

तत्कालीन मल्ल राज्यहरूबीचको आपसी प्रतिस्पर्धा र वैमनस्यताको कोपभाजनमा रानीपोखरी पनि परेको थियो । कान्तिपुरका राजा प्रताप मल्लले भक्तपुरमाथि हमला गर्दा चारैतिर पर्खालले घेरिएको भक्तपुर भित्र प्रवेश पनि गर्न नसके पछि रिसले नगर क्षेत्रबाहिरको रानीपोखरीमा तोडफोड गरेको बताइन्छ ।

रानीपोखरीको दक्षिणीतिर रहेको ह्वाँह्वाँ पाटीका केही भग्नावशेषबाहेक पूर्ण रूपमा ध्वस्त भइसकेको थियो । पाटीका बुट्टेदार प्रस्तर सबै जमिनमुनि गाडिएका थिए । इतिहासकारहरूको ऐतिहासिक अध्ययन पछि भूमिभित्र अधिनस्थ भएका सम्पदा उत्खनन गरेर अहिले पुरानै वास्तुमा नयाँ ह्वाँह्वाँ पाटी पनि पुनःनिर्माण भएको छ । मल्लकालमा अर्को राज्यबाट भक्तपुर आएका पाहुनालाई दरबारमा स्वागत गर्न सो पाटीमा राख्ने चलन रहेको इतिहासकारहरूको भनाइ छ । फरक वास्तुकलाको दुई तल्ले पाटीको माथिल्लो तल्ला खुला आराम कक्ष जस्तो देखिन्छ भने तल्लो तल्ला घोडा बाँध्न मिल्ने तबेला जस्तो भएको स्थानीयको भनाइ छ ।

०००
इतिहासमा आफ्नै विशिष्टता बोकेका ऐतिहासिक सम्पदाको संरक्षण नेपाली मौलिकताको संरक्षण र प्रवद्र्धन गर्नु हो । झन्डै रसातलमा भासिसकेको भक्तपुरको रानीपोखरीको पुनःजीवनको यात्रा सम्पदा संरक्षण अभियानमा अनुकरणीय उदाहरण हो । ‘भूतपोखरी’देखि रानीपोखरीसम्मको यो यात्रामा गुजुल्टिएका धेरै गाँठा छन् । तर, आज रानीपोखरीले पाएको नवीन जीवनले इतिहासको नयाँ अध्याय थपिएको छ । भक्तपुरले यसरी नै ‘कोमा’मा पुगिसकेका धेरै सम्पदालाई नयाँ जीवन दिएको छ । ऐतिहासिक सिद्धपोखरीदेखि अहिले निर्माणाधीन भाज्यापोखरीसम्मको यो क्रम अझ रोकिने छाँट छैन । अझै पनि बनाउनुपर्ने, पुनःनिर्माण गर्नुपर्ने कयौं भौतिक र अभौतिक सम्पदाका लागि जनताका प्रतिनिधिदेखि अध्येतासम्म, जनतादेखि ज्यामीसम्म लगातार लागिरहेका छन् ।


Author

थप समाचार
x