पर्सा घटना
राजनीतिमा अपराधीकरण : पूर्वमन्त्री मातृका यादव
सुरक्षा हेर्छु भन्ने एसपीले मुद्दाको जाहेरी नलिने पनि हुन्छ ?
पूर्वमन्त्री तथा नेकपा नेता मातृका यादव वीरगन्ज धर्नामा छन्, नेकपा कार्यकर्तालाई नेकपा कार्यकर्ताले नै हत्या गरेपछि । उनी भन्छन्, ‘राजनीतिको खोल ओढेर हत्या–हिंसामा लाग्ने र त्यस्तालाई माथिबाट संरक्षण गर्ने श्रृंखलाको पछिल्लो रुप हो ।’ नेकपा पर्साको विन्दवासनी गाउँपालिकाको शपथ ग्रहण (गत विहिबार) कार्यक्रममा दुई पक्षबीच भएको झडपमा घाइते मुकेश चौरसियाको मृत्यु भएपछि शव अझै परिवारले बुझ्न मानोका छैनन् । प्रहरीले किटानी जाहेरी बुझ्न नामानेपछि परिवारले उनको शव बुझ्न अस्वीकार गरिरहेका हुन् । पार्टीको गाउँपालिका कमिटी सचिवसमेत रहेका चौरसियाको शव नारायणी अस्पतालमा राखिएको छ ।
झडप भएकै दिन प्रहरीले नेकपा पर्साका नेता राजकुमार गुप्तासहित ४ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएपनि माथिको टेलिफोन आएको भन्दै छोडेको आरोप धर्नामा बस्नेको छ । कुटपिटमा संलग्न व्यक्ति वीरगन्ज–११ स्थित गुप्ताको निवासमा बसिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको टोली उनको घरमा पुगेर पक्राउ गरेको चारघण्टामा नै छाडेको भनिएको छ । चौरसियाको मृत्यु भएपछि उनका परिवारले १२ जनाविरुध्द किटानी जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय पुगे पनि जाहेरी लिन प्रहरीले अस्वीकार गरेपछि धर्ना र आन्दोलन जारी रहेको पूर्वमन्त्री एवं नेकपा नेता मातृका यादवले इकागजलाई बताए । जाहेरीमा संविधानसभाका पूर्व सदस्य राजकुमार गुप्ताको नाम उल्लेख भएकाले प्रहरीले जाहेरी लिन अस्वीकार गरेको हो । यो घटना ‘सुनियोजित’ भएको यादवको दावी छ । छ दिनदेखि जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना दिइरहेका छन् र आन्दोलनको घोषणा समेत गरेका छन् । पीडितको परिवारले न्याय पाउन पर्ने धारणा पूर्वमन्त्री यादवको छ । उनै यादवसँग वीरगन्ज घटनाबारे इकागजले गरेको कुराकानी :
वीरगन्जको घटना कसरी हुन पुग्यो ?
यो सुनियोजित घटना हो । सपथग्रहणमा सहभागी हुन पुगेका समूहमाथि राजकुमार गुप्ताको केही मानिस गएर आक्रमण गरेका हुन् । हत्या गर्ने मनसायले आक्रमण भएको हो । अन्य कारण भए विवाद हुन्थ्यो । छलफल हुन्थे । तर, त्यहाँ सिधै लाठीले टाउकैमा प्रहार गरिएको छ । त्यही आक्रमणमा मुकेश चौरासिया घाइते भए । उनलाई तत्काल उपचारका लागि लगियो । घाइते चौरासियाको भोलिपल्ट निधन भएको हो । अन्य घाइतेको पनि उपचार भइरहेको छ ।
यसलाई यहाँले कसरी लिनु भएको छ ?
यो राजनीतिमा अपराधीकरणको पछिल्लो उदाहरण हो । यस्ता घटना पहिले पनि हुने गरेको हो । राजनीतिको खोल ओढेर हत्या-हिंसामा लाग्ने र त्यस्तालाई माथिबाट संरक्षण गर्ने श्रृंखलाको पछिल्लो रुप हो । यस्ता घटनाको छानबिन हुनुपर्ने थियो । तर, भएको छैन । यहाँ त अनौठो के छ भने किटानी जाहेरी समेत लिन अस्वीकार गरिएको छ । जाहेरी लिएर छानबिन गर्ने र मुद्दा चलाउन आवश्यक थियो । तर त्यस्तो भएको छैन । छानबिन गरेर कोही निर्दोष ठहरिए छाड्न सकिन्थ्यो । तर जिल्लाको शान्ति सुरक्षा हेर्छु भन्ने एसपीले मुद्दाको जाहेरी नलिने पनि हुन्छ ? यो विषयले नै स्पष्ट पार्छ कि यो नियोजित घटना र राजनीतिमा अपराधीकरण हो ।
सत्तारुढ दलकै कार्यकर्ताको हत्या हुँदा पनि किन प्रहरीले उजुरी लिन अस्वीकार गरेको र यहाँहरु धर्ना लगायतका कार्यक्रम गर्न किन बाध्य पारेको ?
यो सरकार के हो ? कसरी चलेको छ ? के गर्दैछ ? त्यो आमजनताले बुझ्ने कुरा हो । कुनै गुट÷गिरोहको सरकार हो कि जनताको सरकार हो ? यो विषयमा आफैंमा सोचनीय छ । गृहमन्त्री रामबहादुर थापाले जाहेरी दर्ता हुन्छ भन्नु भएको थियो । पर्साको सिडियोले पनि जाहेरी लिन प्रहरीलाई निर्देशन दिए । तर एसपीले जाहेरी लिन अस्वीकार गरे । यसको कारण के त भन्दा गृहमन्त्री भन्दा ‘माथि’ अरु कसैको इशारामा एसपी चलेका छन् । नत्र जाहेरी दर्ता गर्नुको कारण के ? अपराधीलाई सिँधै बचाउने कार्य भएको स्पष्ट छ । जसले कम्युनिष्टको राजनीतिक संस्कारमाथि प्रश्न चिन्ह खडा गरिदिएको छ ।
राजनीतिको खोल ओढेर हत्या–हिंसामा लाग्ने र त्यस्तालाई माथिबाट संरक्षण गर्ने श्रृंखलाको पछिल्लो रुप हो ।
अब यहाँहरू के गर्नुहुन्छ ?
हामी आन्दोलनमा छौं । यस क्षेत्रका ३७ जना नेताहरुले मुद्दा दर्ता हुनुपर्यो भनेर माग राख्दा समेत एसपी टसमस गर्दैनन् । हामीले त राजनीतिमा अपराधीकरण नहोस् भन्दै कोही व्यक्तिले राजनीतिको नाममा खुलेआम अपराध गर्छ भने त्यस्तालाई कारबाही गर्नपर्छ भन्ने हो । यसमा छानबिन हुनुपर्छ । हामीले मृतकलाई शहिद घोषणा गर्नुपर्यो । उसको परिवारलाई सरकारले हेरिदिनुपर्यो । घाइतेहरुलाई निःशुल्क उपचार लगायतका माग गरेका छौं । तर यहाँ कुन गिरोह लागेको छ वा सत्तारुढभित्रको गुट केही गर्न मानिरहेका छैनन् ।
यहाँको कुराले स्पष्ट हुन्छ कि वर्तमान सत्तारुढ नेतृत्व राजनीतिमा अपराधीकरणको संरक्षणमा देखिने गरी नै लागेको हो ?
त्यो देखिने कुरा हो । यस्ता कुरा भनिरहनु पर्दैन । नेकपा कार्यकर्ता गाउँस्तरको एक सचेत नेताको खुलेआम हत्या हुँदा उनको हत्याको ढाकछोपमा गृहमन्त्रीभन्दा माथिका मानिस लागि पर्छन् भने के भन्ने ? यो उनको हत्या र हत्या र बचाउन भएको प्रयासले पुष्टि गर्छ ।
यहाँको सत्तारुढ दलको प्रमुख र सरकार प्रमुख नै हत्यारालाई बचाउन लागि परेको भन्ने संकेत हो ?
गृहमन्त्रीले जाहेरी लिने भन्ने तर एसपीले लिन नमान्नुको कारण संरक्षण पक्कै गृहमन्त्री भन्दा माथिकै त होला । नत्र किटानी जाहेरी समेत लिनकिन अस्वीकार गर्नु ? अपराधीहरुलाई बचाउने काम भएको छ । अनि तिनै अपराधी मानिस नेता बनेर हिंडेको छ । मैले यो विषयमा नेताहरुलाई भनिरहेको छु । निवेदन नै हालेको छु । यस्ता घटना पटक-पटक भएका छन् । यो कम्युनिष्टको संस्कार होइन यसले कम्युनिष्टलाई पातालमा पुर्याउँछ भन्दै आएको छु ।
‘कमरेड’को हत्या गर्ने हत्यारा कसरी ‘कमरेड’ हुन्छ ।
सत्तारुढ दलका कार्यकर्ता एकबाट अर्कोको हत्या हुँदा न्याय पाउँदैन भने जनताले के आश गर्ने, अब ?
गुट वा गिरोहले सरकार चलाएपछि यस्तै हुन्छ । पार्टीले सरकार चलाउन पर्ने हो । तर, त्यसो भइरहेको छैन । सत्तारुढ दलमा के भइरहेको छ सबैलाई थाहा छ । के भन्नु मैले ? जनताले यही कार्य गर्न कम्युनिष्ट नेतृत्वलाई सत्तामा लागेको होइन ? यो सरकार बनेपछि यस्तो हुन्छ भन्ने सोच पनि थिएन । जनतामा किन निराशा छाएको छ नेतृत्वमा बस्नेले सोच्नु पर्दैन ? जनताको सरकार भएको आभास दिन सक्नुपर्छ । हाम्रो पार्टीको मानिसले यसमा काम गर्न आवश्यक छ । हामीले बुझ्नै पर्छ, ‘कमरेड’को हत्या गर्ने हत्यारा कसरी ‘कमरेड’ हुन्छ । त्यसमा सरकारले गम्भीर छानबिन गरेर दोषीलाई बचाउने होइन पूर्ण कारबाही गर्नुपर्छ । अन्यथा आममानिसमा हामीप्रतिको दृष्टिकोण परिवर्तन भएर जानेछ । घटना भएको आठ दिन भइसकेको छ । माथिबाट मान्छे पठाएर छानबिन गराउनुपर्नेमा यहाँ त प्रदेश कमिटि समेत बोलेको छैन ।
अव के गर्ने योजना छ ?
हामी संघर्षमा छौं । अन्य थुप्रै प्रक्रिया छन् । हामीले माग राखेर सरकारलाई ज्ञापन दिएका छौं । पार्टीमा पनि त्यो दिइसहेका छौं । यसबाट केही भएन भने अर्को प्रक्रियामा हामी जानेछौ । हत्यारालाई कारबाही गराएर छोड्नेछौं । अराजक हुने छूट कसैलाई छैन । प्रहरीमा रहेर जनताको जाहेरी नलिनेलाई पनि यसै छाड्ने छैनौं । नेतृत्वमा रहनेले यस्ता घटनालाई सामान्य नठानोस् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया