वार्ता

‘विकल्प रहेसम्म कुर्सीमा बसिरहने मनोविज्ञानले कांग्रेसमा महाधिवेशन गर्नमै समस्या उत्पन्‍न भयो’

मधुसुधन भट्टराई |
फागुन ६, २०७७ बिहीबार १२:२ बजे

‘समयमै महाधिवेशन गर्न नसकेपछि मुलुककै पुरानो दल नेपाली कांग्रेसको वैधानिकता समाप्त हुने हो कि ?’ आमआशंका छ । विधानतः एक वर्ष थप गर्न पाइने प्रावधान पनि यही फागुनमै सकिँदैछ । पार्टीकै अस्तित्व र वैधानिकता समाप्तिको आशंकाबीच कांग्रेसको बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ ७-१० मा गर्ने प्रस्ताव महामन्त्री पूर्णबहादुर खड्काबाट भएको छ । प्रस्तावबारे छलफल गर्न बिहीबार पनि केन्द्रीय समिति बैठक बस्दैछ । कांग्रेस महाधिवेशन हुन नसक्नुको कारणकै सेरोफेरोमा केन्द्रित रहेर कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य प्रदीप पौडेलसँग इकागजका मधुसुधन भट्टराईले संवादको सार :

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति  फागुन ७ बाट एकै पटक भदौ ७ सम्म सार्नुको कारण के हो ?
नेपाली कांग्रेसको विधानले पार्टी महाधिवेशन ५ वर्षभित्र गर्ने पर्ने व्यवस्था गरेको छ । त्यो समयभित्र अधिवेशन हुन सकेन । हामीले संविधानको सहयोग लिएर महाधिवेशन गर्ने मिति ६ महिना बढाएका छौं । तर महाधिवेशनको तयारी धेरै अगाडि बढेको छैन । महाधिवेशन सम्पन्‍न गर्ने तयारी गर्न पनि लामो समय लाग्‍ने स्थिति छ । तर, अब थपेको समयभित्र महाधिवेशन सक्नैपर्ने वाध्यकारी अवस्थामा हामी छौं । त्यो मितिभित्र महाधिवेशन हुनुपर्छ । कार्यतालिका प्रकाशन गर्ने मात्रै होइन, त्यसलाई कार्यान्वयन गर्ने वाध्यकारी निर्णय गरी अगाडि बढ्नुपर्छ । जसरी पनि हामीले अब तोकिएको समयमा महाधिवेशन सम्पन्‍न गर्नुपर्छ ।


कांग्रेसमा महाधिवेशनका मिति तोक्दा र सार्दा यो यो पटक अवश्य हुन्छ भन्‍ने गरिन्छ, गतवर्ष यो फागुन ७ मा मिति तोक्दा पनि त्यसै भनिएको थियो, कतै यो पटक पनि त्यस्तै हुने त होइन ?
विकल्प रहेसम्म कुर्सीमा बसिरहने मनोविज्ञानले कांग्रेसमा महाधिवेशन गर्नमै समस्या उत्पन्‍न भएको हो । हामीसँग त्यो विकल्प छैन । अब साढे ५ वर्षभन्दा बढी समय हामीले थप गरेर हुने अवस्था संविधानतः छैन । संवैधानिक व्यवस्था साढे ५ वर्षभन्दा बढी नभएको र हामीसँग यो ६ महिना अन्तिम समय भएको कारणले यो समयभित्र वैधानिक पक्षबाट हामी महाधिवेशन गर्न वाध्य हुन्छौं । विगतमा जस्तो विकल्प नभएकाले यो पटकको कार्यतालिका कार्यान्वयन नगरी सुखै छैन ।

महाधिवेशनको मिति सार्न बुधबार बोलाइएको केन्द्रीय समिति बैठक समयमा बस्न सकेन, नेताहरूबीच नयाँ मिति कहिले तोक्ने भन्‍ने विषयमा तत्काल मतैक्यता हुन सकेन ? कारण के थियो ?
महाधिवेशन मितिबारे त्यस्तो विमति थिएन । तर, महाधिवेशनको कार्यातालिकामा जुन-जुन तहका अधिवेशन असार र साउनमा परेको छ, त्यो सारेर जेठमा गरौं भन्‍ने केही नेताहरूको भनाइ थियो । किनकि असार र साउन बर्खा हो । बर्खामा अधिवेशन गर्ने विषय त्यति व्यवहारिक हुन सक्दैन । तसर्थ असार र साउनमा अधिवेशन गर्ने कार्यातालिका नराखौं भन्‍ने प्रस्ताव थियो । त्यो प्रस्तावबारे छलफल जारी छ । टुंगिएको छैन । यही विषयमा मात्रै केही समस्या देखिएको हो । महाधिवेशनको तिथि मितिका विषयमा खासै समस्या छैन ।

महाधिवेशनपूर्व अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाको व्यवस्थापनलगायत मिलाउनुपर्ने धेरै विषय छन्, कसरी मिलाउने भन्‍नेमा केही छलफल भएको छ त ?
मिलाउन बाँकी धेरै विषय छन् । नेपाली कांग्रेसको मुख्य विषय क्रियाशील सदस्यता हो । क्रियाशील सदस्यतासम्बन्धी धेरै समस्याहरू छन् । नयाँ सदस्यता वितरणमा धेरै समस्या देखिएका छन् । कतिपय जिल्लामा संगठन समायोजन र अन्य पार्टीबाट आउनुहुने साथीहरूको समायोजन भएको छैन । समायोजन टुंगिएका जिल्लामा पनि विवाद अझै बाँकी छ । धेरै जिल्लामा नवीकरणको काम भएपनि नयाँ वितरणको काम बाँकी छ । जटिलता टन्‍नै छन् । अन्य पार्टीबाट आउनु भएका साथीहरूको व्यवस्थापनको विषय छ । विधिवत अधिवेशन सम्पन्‍न गर्ने प्रक्रिया अगाडि बढाउने विषय छ । थुप्रै समस्या बाबजुद पनि हामीले समयमै अधिवेशन सम्पन्‍न गर्ने बाध्यकारी अवस्थामा हामी छौं । तसर्थ ‘फास्ट-ट्रयाक’मा काम गरेर भएपनि काम सम्पन्‍न गर्नैपर्ने छ ।

यहाँले समायोजनको कुरा गर्नुभयो, तीन जिल्लाको समायोजन नै बाँकी छ । ७ जिल्लाले समायोजनमा असन्तुष्टि जनाएर पुनरावेदन दिएका छन् । सोलुखुम्बुमा समायोजन सकिएपनि सदस्यताका फाराम पठाइएको छैन । कारण के हो ?
यहाँले भनेजस्तै समस्या धेरै प्रकारका छन्, सोलुखुम्बुकै विषयमा त सदस्यताको फाराम दिइसकेको भन्‍ने कुरा हिजो बुझिएको छ । तपाईँले उठाउनु भएको समस्यालाई हामीले छिटो भन्दा छिटो निप्ट्यारा गरेर अगाडि बढ्नुको कुनै विकल्प छैन । यसमा मुख्य दायित्व मूल नेतृत्वको हुन्छ । हामीले अधिवेशन गर्ने उद्देश्यका लागि मूल नेतृत्वलाई सहयोग गर्नुपर्छ । र, समयमा अधिवेशन सम्पन्‍न गर्नुपर्छ ।


यहाँहरूले महाधिवेशनको तयारी गर्दै-गर्दा मुलुकको राजनीतिक अवस्था जटिल अवस्थामा पुगेको छ । प्रमुख प्रतिपक्षी दलको हैसियतमा कांग्रेसले जसरी मुलुकलाई सही ट्रयाकमा ल्याउन प्रयास गर्नुपर्ने हो, त्यसरी गर्न नसकेको गुनासो पनि आइरहेको छ नि ?
हामीले अधिवेशनलाई प्राथमिकतामा नराखेको कारणले, समयमा अधिवेशन नगर्न नसकेकाले हामी यो अवस्थामा आइपुगेका हौँ । अब जे जस्ता समस्या भएपनि, अन्य जतिसुकै विषय भएपनि अधिवेशनकै विषयलाई प्राथमिकतामा राखेर जसरी पनि यो समयमा अधिवेशन सम्पन्‍न गर्नुपर्ने हुन्छ । यो हाम्रो अस्तित्वसँग, हाम्रो भविष्यसँग जोडिएको विषय भएकाले यसको अब कुनै पनि विकल्प छैन ।   
 


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x