वार्ता

अन्तर्वार्ता

हाम्रो अर्थतन्त्र धानेको खाडी-मलेसिया क्षेत्र गौण अनि छिमेक, युरोप-अमेरिका मात्र प्रधान भयो कि ?

चन्द्रशेखर अधिकारी |
कात्तिक १७, २०७७ सोमबार १०:३१ बजे

खाडी राष्ट्रहरूको ‘किङ’ परिचय बनाएको छ, साउदी अरेबियाले । साउदी र नेपालबीचको सम्बन्ध खाडी राष्ट्रकै पुरानोमध्येको हो । सन् १९७७ मा अन्य खाडी मुलुकहरू कतार, युएई, बहराइनपछि साउदीसँग नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको हो । त्यस क्षेत्रको इरान, कुवेत, इजिप्ट, इजरायललगायतसँग नेपालको सम्बन्ध पहिले नै स्थापित थियो । नेपाल र साउदीबीच धार्मिक सम्बन्ध पनि छ । साउदीको विकासमा लाखौँ नेपालीले पसिना बगाएका छन् । नेपालमा पनि साउदीबाट रेमिट्यान्स मात्र होइन, अन्य सहयोगसमेत आइरहेको छ । पछिल्लो समय साउदीले नेपाललाई सहुलियत ऋण प्रदान गरेको छ । नेपाल र साउदी अरेबियाको सम्बन्ध, नेपालीका समस्या, रोजगारीको अवस्थालगायतका सवालमा साउदीमा साढे तीन वर्षदेखि कार्यरत नेपाली राजदूत प्रा.डा. महेन्द्र पी सिंहसँग इकागजका चन्द्रशेखर अधिकारीले गरेको भर्चुअल कुराकानीको सारसंक्षेप : 

अध्यापन क्षेत्रबाट एकाएक कूटनीतिक जिम्मेवारीमा जानुभयो, साउदी अरेबिया जानुभएको पनि साढे तीन वर्ष कटिसक्यो, यो समयलाई यहाँले कसरी हेर्नुभएको छ ?
हो, म यो जिम्मेवारीमा आएको साढे तीन वर्ष भयो । यहाँ आउँदा थप जानकारी भयो साउदी अरेबिया साँच्चै नेपालको मित्रराष्ट्र रहेको पाएँ । नेपालको शुभचिन्तक मुलुकका रूपमा पाएँ । अनि हाम्रो पुरानो सम्बन्धसँगै धार्मिक सम्बन्ध पनि । यहाँ मक्का-मदिना छ । हामीकोमा पनि ठूलै मुस्लिम समुदाय छ । त्यो समुदाय मक्का-मदिना आउँछ, जसले हाम्रो सम्बन्धलाई अटुट र अविछिन्न पारेको छ ।


गैरमुस्लिम राष्ट्र नेपालप्रति साउदीको धारणा निकै राम्रो पाएको छु । हामी नेपाली चार लाखको हाराहारीमा यहाँ छौँ । सबै नेपाली यहाँ साना-ठूला काममा छन् । सानो समुदाय मात्र आफ्नो व्यापारमा छ । साउदीबाट नेपालमा रेमिट्यान्स पनि राम्रै जान्छ । खाडीबाट जाने रेमिट्यान्समा साउदी पहिलो नम्बरमा पर्छ । नेपालमा भूकम्प आउँदा म यहाँ आएको थिएँ । मेरो एक अनुरोधमा साउदीले साढे तीन अर्ब रुपैयाँ सहुलियत ऋण दिएको थियो । गत वर्ष उक्त सम्झौता पनि भयो । उनीहरू त्यसभन्दा दोब्बर तेब्बर रकम दिन तयार छन् ।

यहाँ हामीले दुईपक्षीय सम्बन्धसँगै आफ्ना नागरिकको समस्या समाधान गर्ने, उनीहरू अन्यायमा परे त्यसविरुद्ध लड्नेजस्ता कार्य गरिरहेका छौँ । विभिन्न कारणले यहाँ रहेका नेपालीहरूको मृत्यु भएमा उनीहरूका आफन्तलाई खबर गर्ने र मृतकले पाउने रकम लिइदिनेजस्ता काम पनि भएका छन् । २५ प्रतिशत मृत्यु त आत्महत्या नै हो । कोही काममा पर्दा नै दुर्घटनामा परेका छन् । दुर्घटनामा परेकाको क्षतिपूर्तिमा पनि दूतावास लागिरहेको छ । म आउँदा आठ सयको संख्यामा यस्तो थियो । अहिले त्यसलाई घटाइएको छ ।

धेरै गर्न बाँकी नै छ, सबैभन्दा ठूलो काम महिला श्रमिकका कारण अड्किएको श्रम-सम्झौता गर्नु छ ।

हामी ठूलो देशमा रहे पनि हरेक स्थानमा पुगेर मुद्दामा जाने र त्यो क्षतिपूर्ति व्यहोर्ने कार्य भइरहेको छ । तीन सय ५० मुद्दा फछ्र्यौट गरिसकेका छौँ । त्यसबाट आएको १६/१७ करोड रुपैयाँ क्षतिपूर्ति रकम आफन्तलाई पठाइसकेका छौँ । थप त्यति नै रकम अन्यका लागि आउने प्रक्रियामा छ । कतिपयले त आउने रकम नै बिर्सिसकेका थिए । म यहाँ आएपछि न्यूनतम पारिश्रमिक आठ सय र खाना दुई सय रियाल थियो । तर त्यसमा पनि भ्याट लाग्ने भएपछि सरकारसँग पहल गरेर एक हजार र खानाको तीन सय पुर्‍यायौँ । अब एक सय ५० जनाजतिको मात्र मुद्दा बाँकी छ । यसबीचमा हामीले उध्दार पनि गर्‍यौँ । १८ हजार नेपालीलाई स्वदेश फर्काएका छौँ । त्यसबाट महामारीको चरम समयमा १५ सय नेपालीलाई खाने-बस्ने ब्यवस्था यहाँको गैरसकारी निकाय र गैरआवासीय नेपालीसँग मिलेर व्यवस्थापन गर्‍यौँ । 

यहाँले यति धेरै काम गर्दागर्दै पनि श्रम सम्झौता त हुन सकेको छैन नि, होइन र ?
हो, श्रम सम्झौता साउदी अरेबियासँग छैन । यहाँ झण्डै चार लाख नेपाली काम गर्छन् । तर, श्रम सम्झौता भएको छैन । यो पाटोले हामीलाई पनि घोचेको छ । हामीले कुन आधारमा अधिकार खोज्ने भन्नेमा पनि परेका छौँ । श्रम सम्झौताको सबै तयारी भइसकेको छ । तर, सामान्य विषयमा कुरा मिलाएर राजनीतिक भ्रमण भएको खण्डमा त्यो समस्या समाधान गर्दै सम्झौता गर्नुपर्नेछ । त्यसपछि साउदी अरेबियामा नेपाली कामदारलाई थप सहज हुनेछ । साउदीमा कामदारलाई बाहिर हल्ला गरिएको जस्तो असहजता भने छैन । यहाँ नेपालीहरू राम्रै काम गरिरहेका छन् ।

श्रम सम्झौता अड्किएको कुन विषयमा होला ?
श्रम सम्झौता अड्किएको मुख्य पाटो भनेको महिला कामदारको विषय हो । यहाँ महिलालाई घरेलु कामदारका रूपमा ल्याउने विषय उठ्दै आएको छ । तर, संसदीय टोलीले अध्ययन नै गरेर महिला कामदार पठाउन नहुने सुझाव सरकारलाई दिएको छ । यस विषयमा छलफल भइरहेको छ । यो समस्या समाधान हुन्छ तर राजनीतिक भ्रमण भएको खण्डमा त्यो निर्णय हुनेछ । सम्झौता पनि हुनेछ । यसलाई ठूलो रूपमा लिनु हुँदैन । साउदीमा अन्य संगठित क्षेत्रमा नेपाली महिलाले काम गरिरहेका छन् । अस्पताल, विद्यालय वा कम्पनीहरूमा नर्सको रूपमा होस् या कार्यालय सहयोगीका रूपमा काम गरिरहेका छन् । घरेलु कामदारका रूपमा पनि कुवेत वा अन्य मुलुक भएर यहाँ आएका छन् । खाडीको अन्य मुलुकमा भिजिट भिसामा आएर त्यहाँको नातेदारसँग यहाँ आउन सक्छन् । महिला कामदार पठाउन सक्रिय गिरोहले त्यो बाटो पनि तय गरेका हुन्छन् । यसबाट पनि हामीले बुझ्न आवश्यक छ ।

उसो भए घरेलु कामदारको ट्राफिकिङ भइरहेकै छ ?
छ नि । अधिकांशले दिल्ली वा कुनै रुटबाट कुवेत पुर्‍याउँछन् । त्यहाँबाट आफन्तमार्फत साउदी लैजाने गरेका छन् । कतिपयलाई यसबारेमा जानकारी नै हुँदैन । समस्यामा परेको थाहा पाएपछि दूतावासको सम्पर्कमा आउँछन् । त्यस्तालाई हामीले अनेकन् उपाय गरेर उद्धार गर्छौं । तरकारी, दूध किन्न जाँदा वा बच्चालाई विद्यालय पुर्‍याउन जाने समय बाटोमा कुरेर भए पनि दूतावासमा ल्याएर नेपाल फर्काउने काम गरेका छौँ । यही कोभिड १९ को समयमा ४०/५० जनालाई त्यसरी ल्याएर हामीले नेपाल पठाएका छौँ । हुनत यो समयमा ५ सय जति महिला कामदारलाई नेपाल फर्कायौँ । 

अहिले कोभिड-१९ ले कत्तिको समस्या पारेको छ ?
कोभिड १९ को आरम्भमा त हामीलाई हम्मेहम्मे नै पारेको थियो । अहिले त व्यवस्थापन हुँदै गएको छ । २८ हजारभन्दा बढी नेपालीले स्वदेश फर्कन पाऊँ भनेका थिए । नेपालतर्फ लकडाउन अनि उडान बन्दले तत्काल पठाउन सक्ने अवस्था थिएन । साउदीमा पनि कोभिडको महामारी बढेपछि कैँयन् नेपाली कामदार कामविहीन भए । ती नेपालीलाई सम्बोधन गर्न हामीले हदैसम्म प्रयास गर्‍यौँ । यहाँ मात्र होइन, खाडीका सबै स्थानमा त्यस्तो भयो । सबै राजदूतहरू लगातार छलफलमा रहेर हामीले समाधान गरेका थियौँ ।

नेपालमा कुन मालिकले मजदुर मर्दा साउदीमा दिनेझैँ ठूलो रकम दिन्छ ?

नेपाल फर्काउन नसकुन्जेल हामीले यहाँ दुखमसुखम व्यवस्थापन गरेका थियौँ । १८ हजारलाई स्वदेश फर्काउने काम चानचुने थिएन । प्राथमिकता अनि व्यवस्थापन सबै कार्य टिमवर्कबाट सम्पन्न भयो । अब यहाँबाट नेपाल जान चाहने खासै छैनन् । अर्थात् त्यस्तो हाहाकार छैन । कसैलाई जागिरबाट निकालेको समस्या, कसैको भिसा सकिएको समस्या थियो । हामीले दूतावाबासबाट २ हजार किमी पूर्व र १५ सय किमी पश्चिमसम्म जानुपर्ने अवस्था छ । हुनत कन्सुलेटले पनि जेद्दा क्षेत्र हेरेको छ । त्यसबाट पनि सहजता मिलेको छ । हामीले सबै समस्या समाधानका लागि सेल्टरको स्थापना गर्‍यौँ । १०/१२ जना त आश्रय लिइरहेका हुन्छन् । हामीले १५ सयलाई आवासको व्यवस्थासमेत मिलाएका थियौँ । यो कोभिड चरम उत्कर्षमा पुग्दा ७० जना नेपालीको मृत्यु भयो । कोभिड, आत्महत्या र दुर्घटनामा मृत्यु भएकाहरूको शव नै यो समयमा दुई सय पाँच पुगे । ती सबै शवलाई हामीले तीन-चार महिना लगाएर पठायौँ । कोरोना शवको व्यवस्था साउदीमा नै भयो । अब यहाँ ५/७ वटा मात्र शव छ  । एउटा शव नेपाल पठाउन तीन लाख रुपैयाँभन्दा बढी लाग्छ । 

यहाँले त फाँसीको फैसला भएका र जेलमा परेका नेपालीलाई पनि छुटाउनुभयो, होइन र ?
केही त्यस्ता काम भए । वकिलहरूको सहायतामा मुद्दा लडेर नेपाल पठाउने काम गरेका हौँ । दोषी नै भए पनि लामो समय सजाय भोगिसकेकालाई हामीले फर्काउन पहल गरेका हौँ । फाँसी हामीकोमा नभएकाले त्यस्तोमा पर्नेलाई पनि हामीले छुटाउन पहल गरेका थियौँ । सफल पनि भयौँ । १८ वर्षदेखि बेपत्ता भएकालाई पनि खोजेर पठाउने काम गर्‍यौँ । अनेकन् अनुभव भयो । म पढाउने मानिस यो दूतावास नै अर्को विश्वविद्यालयजस्तो भयो । मेरा लागि अनेकन् अनुभव भए । कूटनीतिसँगै मानव सेवा गरेको अनुभव भएको छ । जी-२० को सदस्य मुलुकमा मातृभूमिको प्रतिनिधित्व गरेर आएर गरिएको काममा म निरन्तर छु । अझै केही काम गर्न बाँकी नै छ । सबै भन्दा ठूलो काम श्रमसम्झौता गर्नु छ । अहिले कोभिडको मार नपरेको भए श्रम सम्झौता भइसक्ने थियो । 

यहाँले परराष्ट्र मन्त्रालयको भूमिका कस्तो पाउनुभएको छ ?
म राजनीतिक कोटाबाट राजदूत नियुक्त भएर आएको भए पनि मन्त्रालयको पूर्ण समर्थन र सहयोग पाएको छु । म राजनीतिक कोटाबाट आएको भन्ने नै अनुभव गर्न पाएको छैन । म आफैँ पनि घुलमिल धेरै हुने र टिमवर्कमा विश्वास गर्ने भएकाले हो । यो म आफूले मात्र गर्ने कार्य होइन, टिम वर्क हो । मैले एक्लै गर्न सक्ने केही छैन । सबै मिलेर गर्ने हो । त्यो असाध्यै राम्रो सहकार्य भइरहेको छ ।

नेपाली महिलालाई कुवेत हुँदै दलालहरूले साउदी पुर्‍याउने गरेका छन् ।

हामी अहिले यहाँ कामदारबाहेक आर्थिक कूटनीतिमा जोड गर्दै दुई देशीय लगानीको सहकार्यमा लागेका छौ । मैले अहिले यहाँ फिजीको पानी पिइरहेको छु । हाम्रो पानी, अर्गानिक तरकारी पनि साउदी भित्र्याउन सकिन्छ । यसका निम्ति हामी लागिपर्न आवश्यक छ । त्यो सबै कार्य राजनीतिक भ्रमणले गराउने हुनाले त्यसकै पर्खाइमा छौँ । यहाँ आउँदा राजदूत चढ्ने गाडी नै पुरानो भइसकेको थियो । मैले गाडी मागेँ, दुईवटा गाडी स्वीकृत भयो । ३० वर्ष पुरानो घर थियो । निकै पुरानो भएकाले मिलाउने काम भयो । सबै मिलेर काम भएको छ । अलि अलि समस्या हुनु विश्वव्यापी हो । हुन त अमेरिकी कूटनीतिज्ञ भनेर चिनिएका हेनरी किसिन्जर करिअर डिप्लोम्याट थिएनन् । उनी पनि प्राध्यापक नै थिए ।

 
कोभिड-१९ भएको त धेरै भएको छैन । किन राजनीतिक भ्रमण यसअघि नै भएन त ?
यसअघि हामीले आधार तय गर्ने र समस्या समाधान गर्ने पाटोमा काम गर्‍यौँ, जसले गर्दा हामीले श्रम सम्झौतासमेत हुने तहमा पुर्‍यायौँ । जब राजनीतिक भ्रमण गर्ने र श्रम सम्झौता गर्ने तयारी थियो, त्यसपछि कोभिड १९ को मारमा पर्‍यौँ । जसले गर्दा कैँयन् कार्यमा ढिलाइ भएका छन् । अब बिस्तारै नेपालीहरू बिदामा घर गएका पनि फर्कन थालेका छन् । कोभिडको असर कम हुन थालेको छ । अब यही बीचमा राजनीतिक भ्रमण गरेर कैँयन् समस्यामा स्पष्ट पार्दै सहकार्य अघि बढाउन आवश्यक छ । यसमा हाम्रो अहिलेको पहल रोजगारीका नयाँ क्षेत्र पहिचान गरेर थप नेपालीलाई यहाँ भित्र्याउनु हुनेछ र यस्तो पहलकदमीले छिट्टै मूर्त रुप पनि लिनेछ ।

साउदीले नेपालमा पहिले पहिले अनुदान सहयोग नै गरेको थियो, अहिले त खासै देखिँदैन नि ?
साउदीले नेपालमा सहयोग गर्दै आएको थियो । पछि त्यसमा कमी आएको उनीहरू नै स्वीकार गर्छन् । किनकि हाम्रा लागि भनेर छुट्याएको रकमसमेत हामीले ल्याउनसकेका रहेनछौँ । पछिल्लो समयमा त्यसले गति पाउन थालेको छ । साउदीको ब्याज दर निकै सस्तो हुनाले सहुलियत ऋण लिन पनि सक्छौँ । बाग्मती सिँचाइ, जलविद्युत्मा समेत अनुदान र सस्तो ब्याज दरमा ऋण दिएको साउदीसँग अब त्यस्ता सहयोग लिनुपर्छ । यहाँ नेपाललाई राम्रो इज्जत दिने हुनाले हामीले भेटवार्ता पनि पाएका छौँ, सहज भएको छ । म यहाँ आउँदा दुई वर्षदेखि राजदूत थिएनन् । कार्यवाहकले चलाएका थिए । कार्यवाहकले राम्रो गरे पनि उहाँको र राजदूतको सम्पर्कमा फरक पर्ने हुनाले त्यसमा हामी सधँै सचेत रहेर दूतावास खाली नराखी काम गर्न आवश्यक छ । नेपालप्रति निकै सकारात्मक पाएको छु । यहाँको राजाले ग्रिटिंस गर्ने गरेका छन् । 

यहाँका अनुसार राजनीतिक भ्रमण नै नेपाल-साउदी सम्बन्धको टर्निङ पोइन्ट हो त ?
टर्निङ पोइन्टभन्दा पनि राजनीतिक भ्रमण आवश्यक छ । धेरै कुरा राजनीतिक भ्रमणले खुला गर्ने स्पष्ट छ । डेढ दशकदेखि खासै राजनीतिक भ्रमण हुन सकेको छैन । औपचारिक केही भ्रमण भए पनि कूटनीतिक स्तरमा प्रभाव पार्ने खालका भ्रमण भएका छैनन् । सांसदहरू, पूर्व मन्त्रीहरू र अन्य क्षेत्रका मन्त्रीहरूले भ्रमण गरेका छन् । तर कार्यकारी प्रमुख, परराष्ट्रमन्त्रीबाट खासै त्यो स्तरको भ्रमण नभएकाले पनि त्यसमा ध्यान जान जरुरी छ । यो विषयमा मबाट यहाँ घचघच्याउने काम भएको छ भने काठमाडौँमा भएको साउदी राजदूतले पनि नेपालतर्फ घचघच्याउने काम भएको छ ।

यस क्षेत्रमा रोजगारीमा २५/३० लाख छन् । कोभिड, आत्महत्या र दुर्घटनामा मृत्यु भएकाहरूको शव नै यो समयमा दुई सय पाँच पुगे । हरेक शव पठाउन तीन लाख रुपैयाँभन्दा बढी लाग्छ । अब यहाँ ५/७ वटा मात्र शव छन् ।

यहाँको प्रिन्सले नेपाल भ्रमण गरेर उच्च सम्मान पाउनुभएको पनि हो । तर हाम्रोबाट त्यो स्तरको भ्रमण भएको छैन । हाम्रा लागि स्वभावैले छिमेक कूटनीति प्रधान हुने नै भयो । तर, नेपालको अर्थतन्त्र धानेको खाडी-मलेसिया क्षेत्र राजनीतिक तहमा कम महत्व र प्राथमिकतामा परिरहनु हुँदैन । नेपालीको काम र कमाइमा यत्रो टेवा पुर्याएको यस क्षेत्रलाई गौण र छिमेक, युरोप-अमेरिकालाई मात्र शक्तिशाली ठान्नु हुँदैन जस्तो लाग्छ । त्यसैले राजनीतिक भ्रमणमा जोड दिनुपर्छ । यहाँबाट पनि परराष्ट्र मन्त्री नेपाल आउने र  नेपालबाट पनि परराष्ट्रमन्त्री यता आउने वातावरण बनाउने प्रयास भइरहेको छ । 

 यहाँ राजनीतिक उच्च स्तरको भेटघाटमा कत्तिको सहजता छ त ?
नेपालप्रतिको सद्भाव भएकाले भेटघाटमा समय लिएर जाँदा कुनै समस्या छैन । राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र सबैसँग भेट्न सकिन्छ । राजासम्म भने विशेष अवसर पार्नुपर्छ । अन्यमा समस्या छैन । अझ भनौँ, राजाबाहेक अन्यसँग भेटघाट गर्न सहज छ । हामीलाई निकै इज्जत गरेका छन् । यस क्षेत्रले हाम्रा २५/३० लाख मानिसलाई रोजगारी प्रदान गरेको छ । रेमिट्यान्स मात्र होइन अन्य सहयोग पनि जाने गरेको छ ।

साउदीमा मृत्यु भएका नेपालीमध्ये २५ प्रतिशत आत्महत्या हुने गरेको छ ।

यस क्षेत्रको नकारात्मक सन्देश मात्र हामीकोमा गएको छ । नकारात्मक कार्य अन्यत्र भएको छैन र ? नेपालमा कुन मालिकले कुन मजदुर मर्दा यहाँ दिनेझै ठूलो रकम उपलब्ध गराउँछ ? दुर्घटनामा परे शव पठाउने काम मालिकले गर्छ । त्यो कति महँगो कार्य हो, मैले माथि उल्लेख गरिसकेँ । त्यस्तो कोणबाट पनि हेर्न आवश्यक छ । मालिक र कामदारको विभेद जहाँ पनि हुन्छ । हामीले राम्रा पक्षलाई छोप्ने र नकारात्मक मात्र प्रचार गर्ने विषयमा भने कहिलेकाहीँ चित्त दुखाउँछन् । 

 खाडी क्षेत्रका अन्य राजदूतहरूसँग यहाँको अन्तरक्रिया कस्तो हुने गरेको छ ?
पहिले पनि हामी छलफल गर्ने गरेका थियौँ । यस क्षेत्रको समान समस्या हुने हुनाले छलफल हुने गरेको हो । तर, कोभिड १९ ले झन् यसलाई घनीभूत बनायो । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नै पनि हामी सबैसँग तीनपटक भर्चुअल छलफल गरिसक्नुभयो । हामी आफैँ पनि छलफल गरिरहेका छौँ । व्यक्तिगत चासो देखाएर काम भएका छन् । खाडी प्लस मलेसियाका राजदूतसमेत रहेर हामी छलफल गरिरहेका हुन्छौँ । कोभिड बढ्दै गर्दा अवस्था भयानक थियो तर पार लागेको छ । 

साउदी र कतारबीचको समस्या हुँदा यहाँहरूलाई कत्तिको असहजता हुन्थ्यो ?
कूटनीतिक भमिकामा रहेकाले चासो राख्नु स्वाभाविक हो । चासो रहेको हुन्थ्यो तर हामीले उनीहरूको दुई मुलुकबीचको समस्याबारे बोल्ने कुरा आउँदैन । तर यहाँको अवस्थाबारे परराष्ट्रलाई जानकारी दिने गरेका थियौँ । समस्या आरम्भ हुँदा के के न होलाजस्तो अवस्था सञ्चार माध्यममा आएका थिए । तर, हामीले सूक्ष्म विश्लेषण गरेर परराष्ट्रलाई आफ्नो कूटनीतिक च्यानलमार्फत जानकारी गराएका थियौँ । 

साउदीमा नेपालले आफ्नै भवन बनाउने विषय कहाँ पुग्यो ?
भवन बनाउने विषय अघि बढेको छ । जग्गा खरिद गर्ने विषय आएपछि कूटनीतिक क्षेत्रमा हामीले जग्गा हेर्न पुग्यौँ । बजेटसमेत तय भएको छ । हामीले यहाँ पाँच-छ महिनाअघि यो कार्य अघि बढाएका छौँ । सरकारको जग्गा हुनाले यहाँ बिचौलिया पनि नलाग्ने हुनाले सीधा सरकारसँग जग्गा किन्ने काम अघि बढेको छ । दुई दिनअघि मात्र जग्गा हेरेर उपयुक्त भएको जानकारीसहित पत्र परराष्ट्रलाई पठाएका छौँ । खासगरी मैले उनीहरूलाई हामी साउदीसँग स्थायी सम्बन्ध राख्न चाहन्छौँ । त्यसैले यहाँ स्थायी बासस्थानका लागि जग्गा खरिद गर्न भन्दै कुरा अघि बढाएका थियौँ । त्यहीअनुरूप जग्गा हेरेर ३६ सय स्क्वायर मिटरको एरिया उपयुक्त रहेको भन्दै मन्त्रालयलाई जानकारी दिएको छु । साउदीले कूटनीतिक क्षेत्र घोषित गरेकाले त्यहाँ नै जान हामी हित ४० बढी मुलुकलाई घचघच्याई पनि रहेको छ । साउदीले हामीलाई निकै इज्जत गर्छ । शान्ति सेनामा कम्बिनेसन भएको र हाम्रो उपस्थितिले पनि नेपालले इज्जत आर्जन गरेको छ ।


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x