वार्ता

अन्तर्वार्ता

ओली सुध्रिएर आत्मआलोचनासहित राजीनामा दिए पार्टी एकता सम्भव छ

इकागज |
फागुन १३, २०७७ बिहीबार १०:५१ बजे

एक समूहले अर्को समूहले सिद्‍याउन लागि परेका सत्तारुढ नेकपामा फेरि पार्टी एकताको बहस सतहमा आएको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाका पक्षमा फैसला गरेपछि नेकपा दाहाल-नेपाल समूह खुशियाली मनाउँदै नयाँ सरकार गठनसँगै प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुने भनेर लागेको छ । तर झण्डै दुई तिहाई बहुमत पाएको पार्टी फुटाएर नयाँ सरकार बनाउनेभन्दा पार्टी एकता जोगाएर अघि बढ्‌नुपर्नेमा कार्यकर्ताले दबाब दिन थालेपछि नेताहरुलाई पार्टी एकता बचाउनुपर्ने दबाब परेको हो । पार्टी एकता बचाउन भन्दै उपाध्यक्ष वामदेव गौतम अभियान नै चलाइरहेका छन् । तर अवस्था भने जटिल छ । नेकपाको पार्टी एकता के हुन्‍छ ? भन्‍ने विषयमा नेकपा दाहाल-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठसँग इकागजले गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश : 

प्रतिनिधि सभा पुनःस्थापना भयो अब पार्टी एकता जोगिने सम्भावना कत्तिको छ ?
पार्टी फुटिसकेको छैन् । निर्वाचन आयोगका कारण हामीले एक जनालाई कारवाही मात्रै गरेका हौँ । प्रतिगामी कदम चाल्ने, संविधान मिच्‍ने, प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यबाट हटाएका मात्रै हौँ । बाँकी त पार्टी एकतामै छ नि । तर यसलाई जोगाउने विषयमा हामीले मात्रै निर्णय गरेर पुग्दैन् ।


त्यो भनेको प्रधानमन्त्री पदबाट ओलीले राजीनामा दिनैपर्छ ?
ओलीले राजीनामा दिनैपर्छ । राजीनामा नदिएसम्म पार्टी एकताको विषयमा अघि बढ्‌नै सक्दैन् । संविधान मिच्‍ने, संसद विघटन गर्ने प्रतिगामीलाई राखेर कसरी पार्टी एकता जोगिन्‍छ ? त्यसैले प्रधानमन्त्री ओलीले पहिला राजीनामा  दिनुपर्छ । ओलीले राजीनामा दिएपछि पार्टी एकता बचाउन सकिन्‍छ । राजीनामासँगै आत्मआलोचना पनि गर्नुपर्छ । ओली सुध्रिएपछि पार्टी एकता पनि जोगाउन सकिन्‍छ । फेरि नेकपाकै नेतृत्वमा सरकार पनि बनाउन सकिन्‍छ ।

सरकार बनाउने विषयमा कांग्रेससँग कुरा भइरहेको छ नि होइन र ?
छलफल सुरु भएको छ । हिजो अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेरै छलफल गर्नु भएको छ । अब पनि ओलीको प्रतिगमन सच्चिएन भने के गर्न सकिन्‍छ र ? संविधान मिच्‍ने, व्यवस्था मास्‍ने, जनताको जनमतलाई कदर नगर्नेलाई प्रधानमन्त्री राखिरहन सकिँदैन । त्यसैले पहिले प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्छ । त्यसपछि बाँकी कुरा गर्न सकिन्‍छ ।

वामदेव गौतम फेरि पार्टी बचाउन लागि परेका छन् । तपाईहरुसँग पनि कुरा भयो भन्‍छन् नि ?
उहाँ लागिरहनु भएको छ । हामीले आह्वान गर्दा उहाँ आउनु भएन् । अहिले छुट्टै धारमा आफ्नै अभियान भनेर लाग्‍नु भएको छ । तर हामीसँग कुरा भइसकेको छैन । अब कुराकानी हुन्‍छ होला । तर उहाँलाई हामीले आह्वान गरिरहेकै छौँ । पार्टी एकता जोगाउन ठूलो समस्या छैन् । मुख्य कुरा ओलीको प्रतिगामी कदम सच्याउनुपर्छ । उहाँले आत्मालोचना गर्नुपर्छ ।

तपाईहरूलाई पार्टी एकता बचाउनुपर्ने दबाब परेको हो ?
दबाबभन्दा पनि पार्टी एकता जोगाउनुपर्छ भन्‍ने हो । लामो संघर्ष, छलफल, बहस र जनताको पनि आवश्यकता हेरेर पार्टी एकता गरिएको थियो । पार्टी अहिले पनि एउटै छ । एक जनालाई कारबाहि मात्रै गरिएको हो । त्यसैले पार्टी फुट्‌नुभन्दा पार्टी एकता जोगिएकै राम्रो । तर अहिलेलाई ओलीले राजीनामा नदिएसम्म केही हुँदैन् ।


Author

थप समाचार
x