वार्ता

अन्तर्वार्ता

म नैतिकतासँग डराउँदिन, पार्टी एकता सम्भव तर जटिल

इकागज |
फागुन १३, २०७७ बिहीबार १३:४६ बजे

प्रतिनिधि सभा विघटन गर्ने निर्णय सर्वोच्च अदालतले बदर गरेपछि पनि कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएर संसद ‘फेस’ गर्ने बताएका छन् । नैतिक रूपमै राजीनामा दिनुपर्ने प्रश्‍न उठेका बेला ओली समूहको स्थायी कमिटी बैठकले सर्वोच्चको फैसला कार्यान्वयन गरेर अघि बढ्‌ने निर्णय गरेको छ । प्रधानमन्त्री ओलीले फैसला कार्यान्वयन गर्ने बताएकाले राजीनामा आउने सम्भावना कम रहेको ओली समूहका नेता तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ बताउँछन् । संसदमा अविश्वासको प्रस्ताव सामना गर्ने तयारी गरेका ओली पक्षका नेताहरू यतिबेला फेरि पार्टी एकताको पक्षमा जोड दिइरहेका छन् । उपाध्यक्ष वामदेव गौतमले चलाएको अभियानलाई थप प्रभावकारी बनाएर दाहाल-नेपाल समूहलाई एकतामा ल्याउनुपर्ने ओलीको आन्तरिक गृहकार्य थप बढ्दो छ । यसका लागि ओली समूहले स्थायी कमिटी बैठक सारेर आन्तरिक छलफललाई तीब्रता दिएको छ । यसै विषयमा ओली पक्षका नेता नेम्वाङसँग इकागजले गरेको कुराकानीको सम्पादित अंश :

आज बस्‍ने भनिएको स्थायी कमिटी बैठक आकस्मिक स्थगित गर्नुपर्ने कारण के हो ?
स्थगित होइन । केही दिन पर सारिएको हो । मुख्य-मुख्य विषयमा हिजो छलफल भइसकेकाले अब केही दिन पर सार्दा पनि फरक नपर्ने भएकाले बैठक सारिएको मात्रै हो । आन्तरिक छलफल गर्नुपर्ने भएकाले बैठक सारिएको हो । अरु कारण होइन ।


नैतिक रुपमा हारिसकेपछि राजीनामा दिन कामचलाउ प्रधानमन्त्री ओली डराएका हुन् ?
प्रधानमन्त्रीले हिजोको बैठकमा स्पष्ट शब्दमा सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्छु भन्‍नु भएको छ । त्यही अनुसार प्रतिनिधि सभाको अधिवेशन आह्वान गर्नुहुन्‍छ । अदालतको आदेश कार्यान्वयन गर्छु भन्‍नु डराएको हो र ? अदालतको आदेश कार्यान्वयन गर्न प्रतिनिधि सभाको अधिवेशन आह्वान गर्नुपर्छ । प्रधानमन्त्रीले आदेश कार्यान्वयन गर्छु भनेपछि थप कुरा भनिरहनुपर्छ र ?

तपाईं पनि ओलीसँगै हुनुहुन्‍छ, अब नैतिकताको ख्याल गर्नु पर्दैन् र भन्या ?
प्रधानमन्त्रीको कुरा मैले भन्‍न सक्दिन् । तर अदालतको फैसला कार्यान्वयन गर्छु, प्रतिनिधि सभाको अधिवेशन बोलाउँछु भन्‍नु नैतिकता होइन र ? जहाँसम्म मेरो नैतिकताको प्रश्न छ, म नैतिकतासँग डराउँदिन । जे-जे कुरा भएको छ । त्यही अनुसार स्पष्ट भनेको छु । प्रतिनिधि सभा विघटनको विषयमा मैले यसअघि नै भनिसकेको छु । अहिले यति भन्‍छु, प्रधानमन्त्रीले अदालतको फैसला कार्यान्वयन गर्छु भन्‍नु भएको छ ।

त्यसो हो भने राजीनामा दिनेभन्दा सरकार कसरी बचाउने भन्‍ने तपाईंहरू चिन्ता हो ?
सरकार बचाउनेभन्दा पनि अरु दलसँग पनि छलफल गर्नुपर्छ । सल्लाह गर्नुपर्छ । सबैको धारणा बुझेर, आवश्यकता हेरेर प्रधानमन्त्रीले निर्णय गर्नुहुन्‍छ । सरकारका विषयमा सबै दलसँग आन्तरिक छलफल भइरहेको छ ।

सरकार बचाउन पार्टी एकतामा जोड दिनुपर्ने तपाईंहरूको बाध्यता हो ?
म सधै पार्टी एकताकै पक्षमा छु । सरकार बचाउन मात्रै होइन, बनाउन पनि पार्टी एकता चाहिन्‍छ । पार्टी एकता नभई अहिलेको यो उपलब्धी आएको होइन । त्यसैले पार्टी एकतालाई अघि बढाउन आवश्यक छ । तर पहिलेको भन्दा अवस्था जटिल छ ।

दाहाल-नेपाल समूहले पार्टी एकता जोगाउन ओलीले पहिला प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ भन्दैछन् नि ?
मलाई कोही व्यक्तिको बारेमा टिप्पणी गर्नु छैन् । मलाई कोही व्यक्तिको टिप्पणीका बारेमा पनि भन्‍नु छैन । तर म पार्टी एकताको पक्षमा छु । तर पहिलेभन्दा एकताको कुरा जटिल बनिसकेको छ । पार्टी एकता असम्भव छैन । तर अब सहज देखिदैन् ।


Author

थप समाचार
x