वार्ता

सडक र सत्ताका कम्युनिस्ट मिले भने हाम्रो गणितको कुरै हुँदैन

चन्द्रशेखर अधिकारी |
फागुन १३, २०७७ बिहीबार १६:१९ बजे

जनता समाजवादी पार्टी (जसपा)सँग नेकपा दाहाल-नेपाल समूहले नयाँ सत्ता समीकरणबारे वार्ता गरेको छ । प्रतिनिधिसभामा जसपाका ३४ सांसद छन् । तीमध्ये दुई निलम्बनमा छन् । बाँकी ३२ सांसद र नेकपाको दाहाल-नेपाल समूहको सहकार्यबाट सरकार बन्‍न सक्ने अवस्था रहेको छ । ‘मुलुक संसद्को गणितमा प्रवेश गरेको छ । त्यहाँ रस्सा कसीको खेल सुरु हुनेछ,’ जसपाका अध्यक्ष उपेन्द्र यादव भन्छन्, ‘नेकपा कम्युनिस्टको खोल ओडेको कम्युनिस्ट हो । दुई तिहाइको बहुमत पाउँदासमेत आफ्नो पार्टी र सरकार चलाउन नसक्नेहरू यो मुलुकको भारबाहेक अरु केही होइनन् ।’ मुलुकको राजनीति र कूटनीति, विदेशी शक्तिको स्वार्थ अनि यी सबमा जसपाको भूमिकामा केन्द्रित रहेर उनै यादवसँग इकागजका चन्द्रशेखर अधिकारीका प्रश्‍न : 

यहाँहरू त सत्ता समीकरणको खेलमा लागिसक्नु भएछ नि ?
सत्ता समीकरणको फोहोरी खेल पुनः सुरु भएको छ । कुरा गर्न आएपछि हामी कुरा नगर्ने भन्ने त हुँदैन । हुन पनि अब सबैको नजर संसद्तिर सोझिएको छ । किनकि सर्वोच्च अदालतले संविधानको रक्षा गर्दै लोकतन्त्रको पक्षमा फैसला गरिदिएको छ । हामीले उक्त निर्णयको स्वागतसमेत गरिसकेका छौँ । त्यही कारण ठूलो दल रहेकाहरू हामीसँग कुरा गर्न आएका छन् । हामी जोड-घटाउमा अटाउँदा सरकारमा जाने हो । अन्यथा सरकारमा जानुपर्छ भन्‍ने पनि छैन । सरकारलाई समर्थन गरेर सत्ताबाहिर पनि रहन सक्ने स्थान हुन्छन् । फैसलापछि फेरिएको राजनीतिक परिस्थितिमा सरकारमा जान पनि सकिने अवस्था छ । अब कस्तो समीकरण बन्छ, त्यसमा निर्भर गर्छ । हामी मात्र होइन, सबै दल एकअर्कामा समीकरणबारे छलफल गरिरहेका छन् ।


त्यसो भए अब बन्‍ने सरकारमा यहाँहरू पनि सामेल हुनुहुन्छ ?
त्यो त सरकारको समीकरण कस्तो बन्छ ? सम्मानित हुने अवस्था रहन्छ कि रहँदैन ? हामी त्यो समीकरणमा आवश्यक हुन्छौँ या हुँदैनौ ? अहिले नै कसरी भन्ने तर हाम्रो सांसद संख्याको पनि नयाँ समीकरणमा एउटा माने राख्‍ने खालको नै छ । मुलुकको संविधानलाई सर्वमान्य बनाउनेतर्फ ध्यान जान्छ कि जाँदैन ? हाम्रा पुराना माग सम्बोधनको आधार के रहन्छ ? हामीले त सर्वोच्च अदालतको फैसलालाई स्वागत गरिसकेका छौँ । त्यो भनेको संविधानवादमा हामी प्रतिबद्ध छौँ भन्‍ने हो । अदालतले पनि लोकतन्त्र र गणतन्त्रको पक्षमा फैसला गरेको छ । हामी यो फैसला र अब मुलुकमा दम्भ र हठको राजनीति नहोला भन्‍नेमा अलिक उत्साही पनि छौँ ।

दाहाल-नेपाल समूह, कांग्रेस र जसपाको सरकार बन्‍न सक्छ ।

यहाँहरू त अल्पमतमा रहेर पनि मुलुकको नेतृत्व खोजिरहनु भएको छ, भनिन्छ नि ?
कांग्रेसको अवस्था हामीले पहिले नै देखिसकेका छौँ । नेकपाको अवस्था पनि देखियो । हुनत नेकपाबारे सबै जानकार थियौँ नै । तर पनि ठूलो जनमत ल्याएर सरकारमा रहेकाले केही गर्छ कि भन्‍ने लागेको छ । असली कम्युनिस्टसमेत नरहेका निकम्मा हुन् अहिलेको नेकपा । उनीहरू मुलुक र जनताका लागि बोझ मात्र हुन् । दुई तिहाइको बहुमत पाएर पनि दल र सरकार चलाउन नसक्नेहरू भनेको मुलुक र जनताका लागि बोझबाहेक अरु केही होइन । त्यसैले अब हामीले नेतृत्व लिएर सरकार चलाउन पर्छ । हुनत, हाम्रो पार्टी संख्याको हिसाबमा सानो होला तर सहज रूपमा सरकार चलाउने हैसियत राख्छौँ । समीकरणको खेलमा हामी पनि रहन्छौँ तर हामी फोहोरी खेलमा नै प्रवेश गर्दैनौँ । 
 
यहाँका नेताहरूले आजको भेटमा त्यस्तै कुरा राख्नुभएको हो त ?
म त अहिले काठमाडौँबाहिर छु । तर हाम्रो नेतृत्व पंक्तिसँग सरकार जोडघटाउका लागि छलफल गर्न आएको थाहा पाएँ । नयाँ परिस्थितिमा हामी पनि उत्साहित छौँ ।  तर सत्तामा रहेका नेकपा वा सडकमा रहेका कुन नेकपासँग मिल्ने भन्‍ने हो । फेरि यी कम्युनिस्ट नै होइनन् अनि उनीहरू मिलेर अघि बढे भने सबैले दुई वर्ष कुर्नेबाहेक केही छैन । त्यो असम्भव पनि छैन । आपसमा आत्मालोचना गरेर सहकार्य गर्न पनि सक्छन् । त्यस्तो पृष्ठभूमि छ भनेर कुरा नै नगर्न पनि भएन । हाम्रा नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतोसँग दाहाल र नेपाल समूहको भेटभाट भएको छ । अन्यसँग पनि भेटघाट हुन्छ नै ।

हामीले त सर्वोच्च अदालतको फैसलालाई स्वागत गरिसकेका छाँै । त्यो भनेको संविधानवादमा हामी प्रतिबद्ध छौँ भन्‍ने हो ।

यहाँहरू पनि यहाँकै शब्दमा ‘फोहोरी खेल’मा नै त प्रवेश गर्नुहुने भयो नि ?
सर्वोच्चको फैसला संविधानवाद र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्ष आएसँगै खेल त संसद्‍मा हुने त हो । त्यहाँ त गणितकै खेल न हुन्छ । त्यसलाई फोहोरी खेलका रूपमा नै चित्रण गरिएको छ । त्यसैकारण हो सत्तामा रहन र जान जस्तोसुकै हतकण्डा गर्ने । हामी त्यस्तो पक्षमा छैनौँ । सम्मानित रूपमा मुलुकको संघीयता बलियो बनाउने र विकास कार्यमा लाग्‍ने भए मात्र जाने हो । हाम्रो चाहना भनेको लोकतन्त्रलाई संस्थागत गरेर अघि बढाउने हो । यत्रो मत पाएर पनि न दल चलाए न त पार्टी अनि हामी थोरै मत पाउनेहरू सत्तामा नेतृत्व गर्न तम्सनु परेन त ? तर, यथार्थ के हो भने सत्ता र सडकमा रहेको दुवै कम्युनिस्ट भनिनेसँग हाम्रो सहकार्यले सरकार नै बन्‍ने अवस्था भने छैन । यसका लागि हामीले अन्य दल अर्थात् कांग्रेसलाई पनि ल्याउन पर्छ ।

यहाँको कुराले त कम्युनिस्टहरू औपचारिक रूपमा नै फुटेको बुझिन्छ नि ?
मैले त फुटेको खण्डमा भनेको हो । अहिले त त्यो परिदृश्य स्पष्ट छैन । यतिबेला सडक र सत्ता दुवैमा कम्युनिस्ट छन् । उनीहरू मिल्न पुगे भने यो गणितको कुरा हुँदैन । नपुग्दा मात्र गणितको कुरा हामीले गरिरहेका हुन्छौँ । गणितमा पूर्ण हुँदा पनि सत्ता र दल दुवै हाँक्न नसकेकाले हामीले कुरा गरिरहनु परेको हो । अँध्यारो सुरुङमा नै मुलुकलाई प्रवेश गराउन खोज्‍ने काम पनि उनीहरूले गरेका हुन् । फुटेर गणितकै कुरा हुँदा दाहाल-नेपाल समूह, कांग्रेस र जसपाको पनि सरकार बन्‍न सक्ने देखिन्छ तर सडक र सत्तामा रहेका कम्युनिस्ट मिलेर वर्तमान प्रधानमन्त्रीलाई पाखा लगाएर अघि बढ्ने अवस्था पनि रहला नि । 


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x