वार्ता

इकागज संवादमा शर्मा

विदेशमा प्राज्ञिक कर्म गर्नेहरू त्रिवि-स्वयंसेवक

‘टीयु इज नट डेड’ भनेर देखाउनु छ

चन्द्रशेखर अधिकारी |
फागुन १९, २०७७ बुधवार १८:५३ बजे

त्रिभुवन विश्‍वविद्यालय (त्रिवि) का प्राध्यापकहरूलाई बुझ्नेहरूले सोध्छन्- यहाँको जर्नल आर्टिकल कहाँ पढ्न पाइन्छ ? यहाँका पुस्तक कुन-कुन छन् ? नयाँ पुस्तक आउँदै छ कि ? यस्तै-यस्तै । अधिकले यस्ता प्रश्‍न झेल्न खोज्दैनन्, उम्किन्छन् र भन्छन्, ‘पढाउँदा-पढाउँदै भ्याइएको छैन । केही पुस्तकको सम्पादनसम्म गरेको छु ।’ अनि सुरु हुन्छ आलोचना यस्तो-उस्तो । धेरैको रोग नै यही हो । 

नेपालको बूढो र ठूलो सञ्‍जाल भएको विश्‍वविद्यालय हो, त्रिवि । कुनै बेला अध्ययन-अनुसन्धानमा अब्बल त्रिवि अहिले खासै गणनामा आउँदैन । अध्ययन-अनुसन्धानका लागि त्रिविले खर्च पनि नगरेको होइन । तर, खै त देखिएको ? विश्‍वविद्यालय भनेको त अध्ययन-अनुसन्धान गर्ने थलो हो । कुनै नेताको दौराको फेरो समात्‍नमा व्यस्त हुने थलो होइन । राजनीति गर्ने अब्बल व्यक्ति जन्माउने थलो हो तर राजनीतिको प्रभाव देखाउने थलो होइन ।


त्यसो त, त्रिविभित्र आलोचना मात्र होइन केही गरौँ भन्‍नेहरू पनि छन् । अनि केही गर्न अघि सर्नेहरूमा ऊर्जा थप्‍न लागिपरेका छन्, न्युयोर्कस्थित स्टोनी ब्रुक विश्‍वविद्यालयका सहप्राध्यापक डा. श्याम शर्मा । अनौपचारिक समूहमार्फत त्रिविभित्र र बाहिरका एक सय सह-प्राध्यापक र उप-प्राध्यापकलाई स्वयंसेवी रूपमा अनुसन्धान सहकार्य गराएका छन् । उनीहरूले यही अनौपचारिक समूहबीच रहेर फरक क्षेत्रका ८० जर्नल आर्टिकल नै तयार गरिसकेका छन् । यसरी तयार आर्टिकल विश्‍वका विभिन्‍न अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित हुनेछ । स्टोनी ब्रुकका ग्राजुयट कार्यक्रमका निर्देशकसमेत रहेका शर्माले त्रिविमा अनौपचारिक समूह बनाएर विगत पाँच वर्षदेखि काम गर्दै आएका छन् । ‘विक-डेज’ अमेरिकालाई दिए पनि ‘विक-एन्ड’ आफ्नो जन्मभूमिलाई भन्दै उनी भन्छन्, ‘हामीले समूहमा सहकार्य गरेका छौँ ।’ उनै शर्मासँग इकागजका चन्द्रशेखर अधिकारीले गरेको भर्चुअल कुराकानी :

त्रिविका धेरै प्राध्यापकहरू यहाँसँग स्वयंसेवी रूपमा नै आबद्ध भएर अध्ययन-अनुसन्धानमा व्यस्त रहेको सुनिन्छ नि ?

मसँग उहाँहरू भन्दा पनि म उहाँहरूसँग आबद्ध भएको चाहिँ हो । त्रिविमा पढियो । त्यसकै आधारमा आफूले अमेरिका आएर पढ्ने अवसर पाएँ । यहाँकै विश्‍वविद्यालयमा पढाउन पाएँ । यतै बसेँ । तर आफ्नो मातृ विश्‍वविद्यालयबारे आलोचना र निराशाका कथा सुनेर बसिराख्नुभन्दा केही सहकार्यको थालनी गरौँ न भन्‍नेसोच आयो । पाँच वर्षदेखि लगातार सहकार्यमा काम गर्दा पछिल्लो कार्यको पनि केही सकारात्मक नतिजा आएको छ । भविष्यमा झन् आउने आशा छ । विश्‍वविद्यालयमा अध्यापन गर्ने भनेको पुस्तक पढाउने र व्याख्या गर्ने मात्र होइन । अध्ययन, शोध र प्रकाशनमा पनि उत्तिकै पोख्त हुनुपर्छ । त्यसैले बाहिर सिकेका केही अनुभव अनौपचारिक समूहमार्फत बाँड्ने र सहकार्य गर्ने काम भएको हो । यतिबेला हामी ८० जना एकबद्ध भएर तत्परतासाथ काम गरिरहेका छौँ ।

यहाँले आफू मियोका रूपमा रहेर कसरी ८० जना अनुसन्धानकर्ता चयन गर्नुभयो ?

त्रिविको एउटा बढ्दो समुदायले पहिलेदेखि नै अनौपचारिक सहकार्यका रूपमा काम गरिरहेका छन् । त्रिविमा विभिन्‍न विभाग छन् । अनुसन्धान केन्द्र र पाँच दर्जन बढी आंगिक कलेज पनि छन् । मुलुकभर गरेर आठ हजार बढी त स्थायीरूपमा प्राध्यापनमा संलग्‍नहरू नै होलान् । यस्तो ठूलो ‘रिसोर्स’ भएको विश्‍वविद्यालय ओझेलमा पर्नै हुँदैन । यहाँबाट अध्ययन-अनुसन्धान र अन्तर्राष्ट्रिय स्तरको प्रकाशन आउनुपर्छ । अनुसन्धान र प्रकाशनतर्फ अझ राम्रो कसरी गर्न सकिन्छ भनेर छलफल गर्दा यो कार्यक्रम विकास भयो । आफ्ना आर्टिकल तयार गर्न लाग्नु भएका साथीहरूले निकै मेहनत गर्नुभएको छ । अर्को कुरा, म मियो होइन । सबै आ-आफू नै आफ्नो लागि मियो हुनुहुन्छ । उहाँहरूबीच सहकार्य गराउनमा मजस्तै अरू १५ जना साथीहरू लाग्नुभएको छ । समूह समूहमा काम भएको छ । विशुद्ध स्वयंसेवी रूपमा ठूलो काम यो अनौपचारिक समुदायले गरिरहेको छ ।

 

आलोचना गर्ने र अर्ति दिने सस्ता काम हुन्, हाम्रो मूल्य कामको परिणाममा हुन्छ, त्यो देखाउनु पर्छ, अरूले पनि सिक्दै जान्छन् ।

२०२० को अगस्टमा ‘ग्रासरुट कम्युनिटी’भित्र रिसर्चमा चासो राख्नुहुने साथीहरूले यसरी काम गरौँ भनेर एउटा प्रशिक्षण तयार गर्नुभयो, जुन छ महिनाको कठोर तर धेरै फलदायी यात्राका रूपमा यो साता समापन हुँदै छ । त्रिविका रेक्टर प्रा.डा. शिव भुसाल र अरू प्राज्ञिक नेतृत्वमा हुने विज्ञहरू अनि पहिलेदेखि संलग्न सञ्जालमार्फत कलेज प्रमुखहरूसँग अध्ययन-अनुसन्धान गर्न चाहनेबाट दरखास्त माग्यौँ । स्वयंसेवी समूहमा आबद्ध हुन २१५ जनाले दरखास्त दिनुभयो । हामीले तत्परतको आधारमा एक सय जना छनौट गर्‍यौँ । सय जना चयन भएर त्यसबाट २० जना विभिन्‍न कारणले बाहिरिनु भयो । पुनः अर्को चरणमा जोडिन सक्नुहुनेछ ।

यहाँको भनाइअनुसार औपचारिक सहकार्यबाट भन्दा पनि अनौपचारिक सहकार्यबाट नतिजा निकाल्न सहज हो ?

पक्कै । अनौपचारिक प्रयासको योगदान अनुपम हुन्छ भन्‍नेयो समुदायले देखाएको छ, जुन त्रिविको नेतृत्वमा हुने विद्वानरूले समुदायलाई हौसला दिन स्मरण गराउने गर्नुहुन्छ । त्रिविभित्रको प्रशासनिक झमेला, राजनीतिक खेल, अनि आबद्धतातिर समय खर्चिनुभन्दा समूहमा अनौपचारिक रूपमा काम गरिरहेका छौँ । त्यस्तै विभागहरूसँग मात्र मिलेर पनि काम गर्न सकिन्थ्यो । तर त्यो भन्दा धेरै प्रभावकारी सबै विधा, क्याम्पस, र पृष्ठभूमिका साथीहरूलाई समेट्नु हुँदो रहेछ भन्‍नेपनि यो समुदायले देखाएको छ । हामीले अनलाइन एजुकेसन आउनुभन्दा पाँच वर्षअघि नै भर्चुअल रूपमा यसरी काम गर्न थाल्यौँ । वेबिनार गर्न थाल्यौँ । सेमेस्टर प्रणालीको अध्यापन कसरी थप प्रभावकारी बनाउने भन्‍नेबारे तालिम र अभ्यास गर्‍यौँ । समयमा असाइनमेन्ट पूरा नगर्ने र समय पनि दिन नसक्नेलाई केही ‘एल्लो कार्ड’ अनि पछि ‘रेड कार्ड’ देखाउने भनेजस्ता आफैँलाई र एकअर्कालाई जिम्मेवार बनाउने अनेकन् उपाय अपनाउँदै ‘ग्रास रुट कम्युनिटी’ले ‘त्रिवि इज डेड’ भन्‍नेहरूका लागि गतिलो जवाफ चरितार्थ गरेको छ ।

यसो हेर्दा त त्रिवि र स्टोनी ब्रुक विश्‍वविद्यालयबीच नै सहकार्य भएझैँ देखिन्छ नि ?

त्यो होइन । यति मात्र हो त्रिविमा अध्ययन र अध्यापन गराएका एकजना नेपाली यहाँ पनि अध्यापन गर्छ । र, उसले पाँच दिन (विक डेज) यो विश्‍वविद्यालयलाई दिइरहेको छ भने ‘विक-एन्ड’को केही घण्टा त्रिविमा रहनु भएका सिनियर र सहकर्मीहरूसँग यस्तो अनुभव बाँड्ने काम मात्र गरेको हो । मेरा लागि यसप्रकारको छैटौँ अनौपचारिक सहकार्य हो, यो लेखनसम्बन्धी अहिले भइरहेका सहकार्य । विभिन्‍न समूह र प्रोजेक्टमा संलग्‍न भएर नेपालका साथीहरूले नै धेरै काम गर्नुहुन्छ । त्यति हो कि त्रिविमा भएका राम्रा कामतिर आँखा नलगाउने, अनि यसमा भएका जे-जे विकृति छन् तीबारे मात्र नकारात्मक कथानक बुनिराख्‍ने चलनको हाबी भएको हो । मैले भने यसमा हामी कोही पनि नाइके छैनौँ- मलिलो माटोमा फैलिएका भूमिगत जराहरूको सञ्‍जाल जस्तै फैलिएको समुदायमा एक ठाउँ जोडिएका हौँ र त्यहाँ धेरै नै लगाव भएका विद्वान्हरू हुनुहुन्छ ।

नेपाल सरकारले यहाँ यतिबेला ‘ब्रेन गेन सेन्टर’ नै तय गरेर विश्‍वभर छरिएर रहेकालाई एक गर्ने काम पनि गरेको छ नि ?

हो, सरकारले ‘ब्रेन गेन सेन्टर’ (बीजीसी) स्थापना गरेको छ । संसारभर छरिएका नेपालीहरूमा भएको बौद्धिक र पेसागत सीपलाई साथीहरूले नेपालमा कसरी लगानी गरिरहेका छन्, अरूबारे कसरी जानकारी पाउने, बाहिरका हामीलाई स्वदेशमै डटेर काम गर्ने सह-विज्ञहरूसँग कसरी जोड्ने, हामीले गरेका योगदानलाई कसरी पहिचान र प्रवद्र्धन गर्ने भन्नेबारे एउटा श्‍वेतपत्रलाई म र काठमाडौँमा प्राज्ञिक क्षेत्रमा सक्रिय मधुकर पाण्डेजीले बुझाएका थियौं ।

 

जान्नेले सुनाउने मात्र हो भने घरको छतमा उभिएर गफ दिँदै पौडी खेल्न सिकाए जस्तो मात्र हुन्छ ।

२०१९ को मे महिनामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीजीसँग उहाँको कार्यालय र निवासमा भएका छलफलपछि अमेरिकामा कार्यरत अरू प्राध्यापकहरू प्रेम भण्डारी, केशव पोखरेल, कृष्ण विष्ट र उत्तम गौलीको सहयोगमा परराष्ट्रका सहसचिव कुमार खरेल (हाल डीसीस्थित दूतावास नियोग उपप्रमुख) र उपसचिव मोति श्रीसले त्यो मोडललाई प्राविधिक सहयोगी विक्रम श्रेष्ठको सहयोगमा अहिलेको वेबसाइटमा उतार्नु भएको हो । मोती श्रीसपछि सेन्टरको संयोजन सन्तोष गौतमले गर्नुभएको छ । त्यसपछिका दिनमा मैले एउटा वेबिनर सिरिजमा पनि सन्तोष गौतमजीलाई सहयोग गर्ने मौका पाएँ ।

तर, मलाई विज्ञहरूले सहयोग गर्ने ठाउँ र बेलामा गर्ने अनि अरू बेला चाहिँ अध्ययन अनुसन्धान, सेवा, र तालिम आदिमा धेरै काम र थोरै कुरा गर्नुपर्छ, काम सकेपछि मात्र कुरा गर्नुपर्छ भन्‍नेलाग्छ । बीजीसीले धेरै विज्ञहरूलाई जोड्ने, देश फर्केका साथीहरूलाई अघि सार्ने, बाहिरकाहरूले समाजलाई दिएको योगदानलाई उजागर गरिदिने काम गर्दै जानेछ भन्‍नेमेरो आशा छ । म त सरकारलाई समेत यो गरेन, त्यो गरेन भनेर आलोचना गर्ने समयलाई सहयोग र सिर्जनात्मक सुझाव दिनमा खर्च गर्नुपर्छ भन्छु खास गरी हामी बाहिर हुनेले । आलोचना गर्ने र अर्ति दिने सस्ता काम हुन्, हाम्रो मूल्य कामको परिणाममा हुन्छ, त्यो देखाउनु पर्छ, अरूले पनि सिक्दै जान्छन् ।

बीसीजी यहाँको पनि आइडियामा अघि बढेको बुझियो । तर, बीसीजीमा भन्दा पनि यता त्रिविमा कसरी काम भइरहेको छ त अहिले ?

म आबद्ध समुदाय देशैभर फैलिएको समुदाय छ । त्यसको ऊर्जालाई थप मलजल गर्ने कार्य त्रिवि नेतृत्वबाट भएको छ । समुदायिक नेतृत्वको पनि निकै महत्वपूर्ण भूमिका हुँदो रहेछ । जस्तो नेपालमा समयसीमा राखेर काम गर्ने बानी म अलि कम देख्छु- कुरा गर्ने, ठूला योजना बनाउने, सुझाव र अर्तिबुद्धिका ठेली नि तयार गर्ने अनि कार्यान्वयन के भयो भनेर हेर्दा छैन । त्यसमाथि अध्यापनरत साथीहरूले समय निकालेर खोज-अनुसन्धान गर्ने र त्यसलाई प्रकाशन गर्ने कुरामा त झन् थरी-थरीका बाधाहरू । अनि अर्को कुरा थोरै र खासगरी काठमाडौँ केन्द्रीत, पुरुष, बाहुन क्षत्री अनि केन्द्रीय क्याम्पसका विद्वानहरूले अवसर र उत्पादनमा वर्चश्‍व जमाउने, दूरदराजका र पृथक् पृष्ठभूमिका साथीहरूलाई त्यो स्तर कायम गर्न अवसर, सहयोग, र प्रोत्साहन नहुने । 

 

केही वर्ष अघिसम्म ‘थेसिस’ नै चोरेको वा किनेर बुझाएको सुनिन्थ्यो । अहिले ‘जर्नल आर्टिकल’ पनि त्यस्तै गरेको सुन्दा दुःख लाग्छ ।

यी कुरा सम्बोधन गर्न यो अभियानमा संयोजकहरूले धेरै उपायहरूको प्रयोग गरेका छन् । काम सकेर मात्र भेट गर्ने, एक अर्कालाई सहयोग गर्ने, समावेशितालाई गुणस्तरको आधार बनाउने आदि । अहिलेको अभियानको समूह संयोजक केन्द्रीय क्याम्पसका उपप्राध्यापक रेश्मा तुलाधर हुनुहुन्छ भने संयोजकहरूमा देशैभरिबाट जम्मा नौ जना महिला र अरू छ जना पुरुष हुनुहुन्छ । विभिन्‍न ‘टपिक’ छानेर ‘पेपर’ लेख्‍न दबाब दिने, ती ‘पेपर’मा ‘फिडब्याक’ दिने र सबैलाई समावेश गर्दै अन्तर्राष्ट्रिय ‘जर्नल’मा छाप्ने जसले गर्दा केही न केही भइरहेको सन्देश दिने मात्र होइन, अध्ययन अनुसन्धानमा खार्ने काम पनि भएको छ । सहभागीहरूमा पनि महिला, जनजाति, दलित, मधेसवासी आदि सबै पृष्ठभूमिका साथीहरूको राम्रो संख्या र अझ राम्रो परिणाम छ । महिला साथीहरूको संख्या जस्तै कामको गुणस्तर पनि निक्कै अघि छ । यो आफैँमा प्रेरणाको स्रोत हो, किनकि अवसरले मानिसलाई कसरी बनाउँछ त्यो मलाई भारतको प्रवासी समाज, नेपालको अनकन्टार गाउँ र अमेरिकाका विश्‍वविद्यालयसम्मको यात्राले निकै घनिष्ट रूपमा सिकाएको छ ।

यहाँले अध्ययन-अनुसन्धान भनेको प्राध्यापनमा लाग्‍नेहरूका लागि महत्वपूर्ण कडी हो भनेर देखाउन खोज्‍नेभयो र त्यहाँ सहमत भएर आउनुभयो ?

निश्चय नै । अध्ययन-अनुसन्धानविनाको विश्‍वविद्यालय कसरी विश्‍वविद्यालय रहन्छ र ? त्यो आवश्यक छ । त्रिविमा त्यो नभएको होइन । त्यहाँ अभाव छ त प्रेरणाको । त्यसमा हामीले केही जोड गर्‍यौँ । कसैले अतिकम विकसित मुलुकहरूमा केही गर्न सकिन्छ कि भनेर आर्टिकल लेख्यौँ । धेरैले तालिम दिने काम गरेका छौँ । यसअघि दक्षिण एसियाका पाँच मुलुकमा यस्तै ‘प्रोजेक्ट’ नै गर्‍यौँ । यसका कुनै सहायता परियोजना छैनन् । यो विशुद्ध ‘भोलेन्टियर’ काम हो । हामीले यसमा जान्‍नेले सुनाउने, नजान्‍नेले ‘वात्त’ परेर सुन्‍नेमात्र होइन, सबै उत्तिकै क्रियाशील हुनुपर्छ भनेर काम गराएका छौँ । जान्‍नेले सुनाउने मात्र हो भने घरको छतमा उभिएर गफ दिँदै पौडी खेल्न सिकाए जस्तो मात्र हुन्छ । उत्तिकै सक्रिय रहने सिकाउनेले आफैँ पनि ‘पेपर’ तयार गर्दा राम्रो हुन्छ, जुन हामीले गर्ने गरेका छौं । त्यही संस्कारको विकास गर्न खोजेका हौँ । 

त्रिविमा त अन्तर्राष्ट्रिय स्तरका सिनास र सेडा जस्ता अनुसन्धान क्षेत्रमा काम गर्ने निकाय पनि छन् । उनीहरूसँग पनि सहकार्य हुन्छ कि ?

ती विभागहरूमा रहनु हुनेहरू यो समुदयको कामलाई अवलोकन गर्न अनि हौसला दिन आउनुहुन्छ । ‘यस्तो सामुदायिक र सेवामूलक’ पद्धतिले आफ्ना कार्यालयलाई दबाब दिएको स्वीकार्नु हुन्छ । अब आफूले गर्ने कुनै काममा अहिले तालिम प्राप्त साथीहरूलाई अघि सार्ने कुरा गर्नुभएको छ । यसअघिका शिक्षण-केन्द्रित तालिमहरूबाट तयार प्रशिक्षकहरूलाई त्रिविले धेरै ठूला औपचारिक अभियानमा प्रयोग गरिसकेको छ । अनुसन्धान र प्रकाशनमा तालिमको प्रचलन अझै नयाँ छ । यसमा पनि संस्थाले समुदायको प्रेरणा र दबाबलाई त्यसरी नै अँगाल्ने सम्भावना जत्ति पनि छ । आखिर उहाँहरूलाई पनि त ‘टीयु इज नट डेड’ भनेर देखाउनु छ नि ।

यहाँले यता त्रिविको विभाग र अयोगबाट आएका अध्ययनहरू नियाल्नु भएको छ ?

निश्चय पनि । कतिपय त ‘डेटा’ नै कपी गरेको काण्डमा परेका समाचार पनि पढे । धेरै ठाउँमा अनुदान लिने र अध्ययन गर्ने भन्दा पनि झारा टार्ने काम भएका छन् । हाम्रो धर्म सत्य खोज्‍नु हो, सत्य बोल्नु हो । हामीले ढाँट्दा बिरामी मर्छ, ठग्दा एउटा मात्र पुल भात्किँदैन, पुलका मोडल नै निकम्मा हुन्छन् र भविष्यमा अरूले गरेका काम बेकाम हुन्छन् । हामीले नीति र दर्शन, शिक्षा र बजार, नक्सा र इतिहास, कृषि र पर्यावरणलाई शिरमा राख्‍ने हो, समाजलाई बाटो देखाउने हो, यस्ता कुरासँग खेलबाड गर्नेले अर्कै पेसा अपनाउनु पर्छ । केही वर्ष अघिसम्म ‘थेसिस’ नै चोरेको वा किनेर बुझाएको सुनिन्थ्यो ।

अहिले ‘जर्नल आर्टिकल’ पनि त्यस्तै गरेको सुन्दा दुःख लाग्छ । त्यस्तो अबका दिनमा नहोस् भनेर हामी सबै ‘ग्रास रुट’देखि तालिममा लागेका हौँ । बढुवा हुनका लागि लेख्‍ने होइन, लेखेर बढुवा हुने सोच राख्नुपर्छ, बढुवा समाजलाई गर्न नखोज्‍ने ले खोज गरेको दाबी गर्नु हुँदैन, त्यो लाभलिप्सा मात्र हो । त्यस्तै लामो समय प्राध्यापनमा बिताउँदैमा प्राध्यापक हुने होइन । प्राध्यापनसँगै अध्ययन र अनुसन्धानमा गरेको योगदानका आधारमा प्राध्यापक बढुवा हुनुपर्छ । विश्‍वविद्यालयहरूले पनि निजामती कर्मचारीलाई जसरी स्टाफ कलेज स्थापना गरेर प्रशिक्षण दिइएको छ, त्यस्तै गरी अध्ययनको क्षेत्रमा पनि प्रशिक्षणका लागि यस्तो प्रशिक्षण केन्द्र आवश्यक छ । म संलग्‍न समुदायले गरे जसले पनि केही दिन सक्छ, अरूलाई दिँदा आफू बनिन्छ भन्‍नेसानो तर धेरै महत्वपूर्ण पाठ सिकाएको छ । हाम्रा संस्थाहरूले निःस्वार्थ र समाज-निर्देशित काम गर्ने विद्वान् साथीहरूलाई समयमै पहिचान र प्रवर्धन गर्न थाल्नुपर्छ । म यसमा आशावादी छु । 


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x